https://twitter.com/Chirvir

Tweet me @chirvir







Monday, August 24, 2015

फेरी सरोजकै कुरा

बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया


सन् १९९७ को कुरा हो महिना चै विर्सेँ । सन् १९९४ मै अमेरिका आईसकेको मैले सरोज खनालपनि टेक्ससको अमेरिका पसे रे भन्ने सुनेँ । सरोज खनाललाई व्यक्तिगतरुपमा नचिनेको, उनको एउटै चलचित्र नहेरेको भएपनि उनको बारेमा भने मैले सुने पढेको थिएँ । यस हिसाबले उनी नेपाली चलचित्र जगतमा र नाट्य क्षेत्रमा चर्चित र स्थापित व्यक्ति थिए । केहि महिनापछि उनी भर्जिनीया सरेको सुनेँ । त्यसैताका हाम्रो अपार्टमेण्टमा हरि शिवाकोटी न्यूयोर्कबाट आएर बसेका थिए । उनले सरोज खनाललाई भेट्न जान राईड मागे । मलाईपनि सरोज भेट्ने लालसा भएकोले हुन्छ भनेर राजेश चालिसेको अपार्टमेण्टमा गयाँै । नेपालको चर्चित कलाकार, मात्र पढेको भरमा बुझेका व्यक्ति र थुप्रैका फ्यान सरोज खनाल आफ्नो अगाडि पाउँदा हो र भने जस्तै भयो । चिनाजान, कुराकानी, खानपानको क्रममा जब उनी यतै बस्नेगरी आएको थाहा पाएँ मैले उनलाई सोधेको थिएँ यस्तो व्यक्ति किन यहाँ? उनले दिएको जवाफ अझै मेरो कानमा गुँजीरहेको छ र शायद गुँजिई रहने छ । मेरो प्रश्नको जवाफमा उनले भनेका थिए ‘म जति माथि पुग्नुपर्ने थिएँ त्यहाँ पुगेँ र त्यहाँबाट झर्न नपरोस् भनेर त्यसलाई छोडेर म यता आएको हुँ ।’
रहँदाबस्दा सरोजको घरमा आउने जाने लगायत व्यक्तिगत सम्बन्ध नै कायम हुनपुग्यो । सरोजसँगको सम्बन्धलाई मैले सदा गौरवकासाथ लिएको छुँ । समुदायका विभिन्न कार्यक्रम लगायत उनी आफैँ सामेल भएको युनाईटेड नेपालकोतर्फबाट गरिने कार्यक्रमहरुमा सहभागिताको कारण भेटघाट जारी नै रहन्थ्यो । यहि भेटघाटको क्रममा उनकी धर्मपत्नी सूर्यमाला शर्मासँगपनि स्वाभाविक रुपले चिनजान भएपछि उनीप्रति मेरो सम्बोधन सदा भाउजु नै रह्यो । र केपनि थाहा भयो भने अमेरिकाको बसाईमा भाउजुको रत्ती मन छैन । मात्र सरोजको करबलले अमेरिकी बसाई लम्बिएको रहेछ । अन्ततगोत्वा, सरोज नेपाल फर्किए र यसबारे थुपै समाचारहरु प्रकाशित भए र उनीसँग सम्बन्धित कुनैपनि समाचार बनि नै रहेको छ । र हालै कान्तिपुरमा प्रकाशित ‘सूर्यमालाका कारण पश्चाताप’ शिर्षकको एक समाचारमा सरोजले गरेका कुरा सत्य हुन् भन्ने मलाई लाग्छ ।
मलाई लाग्छ सरोजमा कलाकारिताको पुट भएकोले उनी कलाकारिता बिना आफु अधुरो ठान्छन् । उनी मौका पाउने वित्तिकै आफ्नो कला प्रदर्शन गर्न कदापी पछि हट्दैनन् । यहाँसम्म कि साहित्यकार वसन्त चौधरीको काव्य यात्रा कार्यक्रममा समेत कवितामा अभिनय गरेर दर्शकलाई मनोरँजन दिए भने आफ्नो चाहनाको तुष मेटे । तर त्यहाँपनि कान्तिपुरको समाचारमा झैँ भाउजु सूर्यमालाको उपस्थिति थिएन ।
१७ १८ वर्षको अमेरिकी बसाईपछि उनले स्थायी रुपले नेपाल फर्किने निर्णय गरे । तर त्यसको मतलब उनले अमेरिकालाई परित्याग गरे भनेर बुझ्नु गलत हुनेछ र नेपालका धेरै मिडियाले यसै अनुरुप बुझेर समाचार प्रसारण गरे । पाठकलेपनि स्वभाविकवश सोहि बुझेर केहि नमीठा, तीता तर भद्र विरोधको आवाजपनि उराले । उनी चाहे अमेरिकाको ग्रीनकार्ड होल्डर हुन् चाहे अमेरिकी नागरिक भईसकेका हुन्, नेपाल बस्ने या अमेरिका बस्ने उनको निजी विचार र अधिकार हो । हामीले त उनीबाट के लिने र के सिक्ने भन्नेमात्र कुरा हो ।
थुप्रै अरुजस्तै सरोजपनि अमेरिका पसे । किनभने यो देश नै यस्तै छ । क्यानाडा लगायत अन्य देशका थुप्रै गायक तथा कलाकारहरु हलीउडमा जमेका छन् । धेरैले ग्रीनकार्ड लिएका छन् । युवा गायक जस्टिन विवर समेत क्यानाडाका हुन् र अमेरिकी ग्रीनकार्ड होल्डर हुन् । त्यसैगरी हलिउडका थुप्रै कलाकारहरु जस्तै आर्नाेल्ड, चार्लिज थेरोन, ब्रुस विलिस, सिल्भस्टर स्टालन लगायत विख्यात गायक कार्लाेस् सान्तना, ग्लोरिया स्टेफन, जन लेनन अनि बब मार्लेहरु समेत अमेरिकामा सरेका छन् । त्यसकारण कलाकारले जहाँ जसरी आफुलाई प्रदर्शन गर्ने मौका पाउँछ त्यहाँ त्यसैगरी रमाउन दिनुपर्छ ।
सरोजका छोरा बुहारी यतै छन्, भविष्यमा सन्तान वृद्धि पक्कै होलान र तिनलाई भेट्न या अमेरिकी सरकारको तर्फबाट पाउने सुविधा उपभोग गर्न पनि अवश्यै समय समयमा आई नै हाल्छन् । १६ १७ वर्ष अमेरिकाको सेवा गरे वापतको कानुनतः पाउने सुविधा लिनु सरोजको अधिकारको कुरा हो । फरक कति भने उनको अधिकाँश समय अब नेपालमा वित्ने भयो । अर्थात १७ १८ वर्षको अवधिमा उनी छोटो समय नेपाल जान्थे भने अब छोटो समयकोलागी अमेरिका आउँछन् होला । उनले अमेरिका छोड्ने अघिल्लो दिन मसँग फोनमापनि भनेका भनेका थिए ‘यो वर्षको अन्तिममा आउने छु ।’
देश प्रेम देशको सिमानाभित्र बसेरमात्र हुन्न । देश छोड्नेले देशको माया गर्न पाउने अधिकार हुन्न भन्नु परिवारको माया लाग्यो भन्दैमा तिनलाई छोडेर कहिल्यै कतै नजा भन्नु हो । जुन कदापी सम्भव छैन । परिवारको माया लाग्दैमा लालनपालन भरणपोषणको समस्या समाधान हुँदैन । माया लाग्यो भनेर घर नछोड्न सम्पन्न हुनुपर्याे, होईन भने जागीर या व्यवशाय गर्न घरबाट निस्कनु पर्याे । त्यसको व्यवस्था गर्न घरको धुरी छोड्नै पर्छ । सामान्य चराचुरुँगी या जनावरहरु त परिवारको पेट भर्नकोलागी गुँडगुफा छोडेर निस्कन्छन् भने हामी त मानिस हौँ । त्यसैले देश छोड्नु अलि ठुलो परिवेश हो भने गुँडगुफा या घर छोड्नु सानो परिवेश हो । तर कुरा एकै हो ।
अमेरिकामा लामो बसाई गरेर नेपाल फर्कने थुपै्र छन् । कतिपय अमेरिकामा राम्रो पदमा राम्रो तलब भएपनि नेपाल फर्किएका छन् । तिनको चर्चा कहिल्यै भएन । किनभने उनिहरु सर्वसाधारण हुन् । चर्चा त चर्चित व्यक्तिको नै हुन्छ । जसरी सरोजको भएको छ । तर एउटा कुरा निर्धक्क के पनि भन्न सकिन्छ भने ति सबै फर्किनेहरु नेपालमा आफ्नोलागी कुनै न कुनै अवसर देखेर या पाएरै गएका हुन् । देशभक्तिकोमात्र कारण भने पक्कै होईन । यो तीतो स्तयपनि हो । त्यति हुँदाहुँदै अमेरिकाको तुलनामा नेपालमा भोग्नु पर्ने असुविधाहरुलाई बेवास्ता गर्नुपनि एक प्रकारको आँट नै हो भन्ने मलाई लाग्छ ।
अमेरिकाको स्थायी बासिन्दा भएपछि दुबै देशमा पालोपालो आउने जाने गर्ने थुप्रै नेपालीहरु छन् । त्यसकारण सरोजलेपनि त्यसो गरे भन्दैमा कसैले अन्यथा लिनु पर्दैन । बरु सरोजको कलाकारिता हेर्न पाईयो भनेर खुशी मनाए हुन्छ भने हामी अमेरिकावासीहरु उनको सँगत र कलाकारिताबाट बँचित भयौँ भन्छौ । तर समय समयमा भेट भईहाल्छ भनेरपनि ढुक्क छौँ । सरोज र सूर्यमाला दुबैको कलाकारितामा अभिवृद्धि होस् भन्ने कामना ।

Wednesday, July 8, 2015

पैँचो मागेको खुट्टा


बासु श्रेष्ठ
उडब्रिज, भर्जिनीया
अमेरिका


मैले कतै पढेको या सुनेको थिएँ । त्यो के भने, हिरोशिमा र नागाशाकिमा अमेरिकाले विध्वँसकारी दुई बम खसालेपछि तहसनहस भएको जापानलाई अमेरिकाले केकस्तो सहयोग चाहिन्छ भनेर सोधेको जवाफमा हामीलाई प्रविधि देउ, त्यसैको भरमा हामी उठछौँ भनेको थियो रे । कुरो कत्तिको सत्य हो ईतिहास खोतले थाहा भईहाल्छ । तर कुरोको चुरो भने सान्दर्भिक छ हाम्रो देश नेपालको सन्दर्भमा ।

नेपालमा गएको दुई विध्वँसकारी भूकम्पले जेजति हानी नोक्सानी गर्यो त्यो सबैको सामू छ । यो नोक्सानको मौद्रिक रुपमा राष्ट्र्यि योजना आयोगले खर्ब रुपैयामा परिणत गरेको छ । राष्ट्र निर्माण गर्न लम्केका हातहरु पुननिर्माण, पुनस्र्थापनामा लाग्नु पर्ने भएको छ । त्यसकोलागी सरकारले सारा शक्ति राष्ट्र्हरुको सामू हात फैलाएको छ । टोपी खोलेर विश्वसामू थापेको छ । जसरी भूकम्प लगत्तै पिडितहरु सरकार या अन्य सहयोगको मुख ताकेर बसेका थिए त्यसैगरी अहिले नेपाल विश्वसामू मुख ताकेर बसेको छ ।

दैवी प्रकोपले ध्वस्त भएको देशलाई बाह्य सहयोग अपरिहार्य हुन्छ । त्यसमाथि नेपालजस्तो विश्वको गरीब राष्ट्र्हरुको नेतालाई त झन् चाहिने नै हुन्छ । तर यस्तो सहयोग कतिसम्मकालागी या कुन कुन क्षेत्रकालागी भन्ने प्रश्न चाहिँ अहम् ठहरिन्छ । तर बुझ्नुपर्ने के हो भने सहयोग भनेको सदाकालागी होईन । यसको समय र सीमा हुन्छन् । दिनेले दिई रहन सक्दैन । त्यस्तै माग्नेलेपनि मागीरह्यो भने उ पिडित नभई माग्ने ठहरिन्छ । कतै हामी माग्नेतर्फ उन्मुख त भएका छैनौँ?

यसै मेसोमा भर्खर सम्पन्न भएको 'नेपालको पुनर्निर्माणकालागी अन्तर्राष्ट्रिय सम्मेलन २०७२' मार्फत नेपालले झण्डै चारशय अर्ब रुपैँयाको सहयोगको वचन पायो । हामी दँग छौ सहयोग ओईरिएकोमा । तर यो सहयोगको उपयोग कसरी हुन्छ भन्ने कुरामा हामी अर्थात योजनाकारहरु कत्तिको सचेत र सजग छन् उनै जानुन् । शुन्य भ्रष्टाचारको आधारमा जनता तथा सहयोगी राष्ट्र्हरुको मन जितेर प्राप्त सहयोग शतप्रतिशत योजनामा कार्यान्वयन हुन्छ कि हुँदैन । उनै जानुन् । तर जनताकोमाझ भने शँकाको अवस्था सँधै नै रहिरहनेछ । भ्रष्टाचारको शिखर चढ्दै गरेको र विश्वसनियता गुमाउँदै गएका अस्थिर सरकार तथा कर्मचारीतन्त्रले मन, वचन र कर्मले काम गरेर ति दागहरुको सफाई गर्ने मौका भने यहि हो ।

तर, मलाईचाहिँ सबैभन्दा वेश के लाग्थ्यो भने माथि जापानले भनेको प्रसँग नेपालले विश्वकासामू उठाएको भए कति राम्रो हुन्थ्यो? नगदको सट्टा प्रविधि मागिनुपथ्र्याे भन्ने मलाई लागेको छ । यसरी पाएको प्रविधिले देश आत्मनिर्भर हुन धेरै समय लाग्दैनथ्यो । पाएको सोहि प्रविधिका उत्पादनहरु सहयोग दिने तिनै राष्ट्र या अन्य राष्ट्र्हरुमा निर्यात गर्न सकिन्थ्यो । उनिहरुका प्रविधि, उनिहरुकै देशमा आयात गरेर नेपालजस्तो देशलाई सहयोग गर्न पाउँदा पक्कै खुशी नै हुने थिए होलान् । केहि वर्षपछि नेपाल आत्मनिर्भर भएको देखेपछि उनिहरुका आत्मालेपनि शान्ति पाउँदा हुन्, आफुले गरेको सहयोगप्रति गौरव गर्दा हुन् ।

तर, हामीले यो सबै मौका गुमायौँ । र फगत टोपीमा परेको सहयोगमा हामी आत्मनिर्भरको विपरित परनिर्भरोन्मुख भईरहेका छौँ । यसरी पैँचो मागेको खुट्टाले हामी कति दिन हिँड्न सक्छौँ कुन्नी ।

(हिमालखवर २०-२६ असार, २०७२ मा प्रकाशित)




Tuesday, June 2, 2015

दूतावास चुकेकै हो त?

गत सालको डिसेम्बर महिनातिर हुनुपर्छ म सच्चिएर आएको पासपोर्ट लिन दूतावास पुगेको थिएँ | एमआरपीको महत्व बुझेर समयमै आवेदन हालेको थिएँ | पहिलो पटक गलत जन्म मितिकासाथ हाजिर भएको पासपोर्टलाइ फेरी सच्याउन पठाइएको थियो | त्यो बिचमा देश बाहिर जान अस्थायी पासपोर्टकोलागी थप पैसा तिर्नु परेको थियो | जेहोस पासपोर्ट आएको खवर पाएपछि म दूतावास गएको बेलामा त्यहाँका अधिकारी मित्र जितबहादुर कार्कीले मलाई सोध्नु भएको थियो " एमआरपीको चाप बढ्दो छ, परे हामीलाई सहयोग गर्नुहुन्छ?" मैले केहि नसोची लगत्तै जवाफ दिएँ "अवश्य" | र त्यसको केहि पछि दूतावासलाइ परे हामी सबै सहयोग गर्न तयार हुनुपर्छ भनेर एउटा लेखपनि लेखें | तर कार्कीजीबाट या दूतावासको तर्फबाट मैले व्यक्तिगत रुपमा सहयोगको अनुरोध सुनिन | किनभने सँस्थागत रुपमा एनआरएनको तर्फबाट सहयोग मिलेको थाहा भयो | हो यहि विषय नै यस लेखको रचना गर्भ हो |

एमआरपी बनाउने कार्यमा दूतावासको कार्य चापलाइ कम गर्नकोलागी एनआरएनको तर्फबाट महिनाको १५ शय डलर उपलव्ध गराउने सहमति भएको रहेछ | एक व्यक्तिलाइ भर्ति गरेर सो उपलब्ध रकम तलबको रुपमा उपलब्ध गर्ने गराउने दूतावास र एनआरएन अमेरिका सहमत भएको रहेछ | हालसालै एनआरएन अमेरिकाबाट कार्यकाल सकिएका लोकनाथ तिवारीका अनुसार यो निर्णय शायद मार्च महिनातिरको हुनुपर्छ | तर हालसम्म दूतावासले यसतर्फ पाईला नचालेको गुनासो लोक तिवारीले यस लेखकसँग गरे | म आश्चर्यमा पर्नु स्वभाविक हो | लोक भलाईकोलागी आएको यस्तो सहयोगमा दूतावासले यथाशिघ्र पाईला चाल्नुपर्थ्यो | या कुनै बाधा व्यवधान भए सोहि अनुसार जानकारी दिइनु पर्थ्यो भन्ने मलाई लाग्यो | यसकोलागी मैले दूतावासका परिचयमा रहनु भएका मित्र नारायण मैनालीसँग फोनमा सम्पर्क गरेर चासो राख्दा वहाँले सो बारेमा कुराकानी भएको स्विकार्दै 'स्थानाभावको कारणले बरु स्थानीय समुदायहरु सप्ताहन्तमा आएर सहयोग गरे बढि प्रभावकारी हुने देखेको' कुरा भन्नु भयो | त्यसकारण दूतावासबाट सहयोगकोलागी आव्हान भएको खण्डमा हामी तत्पर रहनु पर्छ भन्ने सुझाव वासिंगटन डिसी क्षेत्रमा बस्ने नेपालीहरुलाई दिन चाहन्छु |

तर कारण जे जस्तो भएपनि कामको चापलाई सकेसम्म छिटो छरितो ढंगले कम गरे दूतावासको कार्य क्षमता देखिईन्थ्यो भन्ने यस पंक्तिकारको सोचाई रहेको छ | यस मामिलामा दूतावास चुकेको भन्दै यस क्षेत्रका बुद्धिजीवीहरुले यो पंक्तिकारसँग गुनासो गरेका छन् |

त्यसैगरी नेपालमा महा भूकम्प गएको एक हप्तासम्मपनि दूतावासकोतर्फबाट कुनै सार्वजनिक सूचना या विज्ञप्ति या शोक संदेश जारी गर्न नसक्नुलेपनि अमेरिकावासीहरु आश्चर्य भएका छन् | के र कुन कारणले अमेरिका बस्ने नेपालीहरुको अभिभावकत्व दूतावासले पुरा गर्न सकेन भन्ने खुल्दुली सबै नेपालीलाइ लागेको छ | नेपालमा आफन्त या नातेदारहरुको व्यग्र चिन्ता लिएर बसेका अमेरिकावासी नेपालीहरुले समयमा या आपत पर्दा दूतावासले गहन र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न नसकेको गुनासो गरेको सुनियो |

यसैगरी अमेरिकाको संसदमा नेपालको भूकम्प र यसबारे नेपाललाइ गरिने र गर्नुपर्ने सहयोगको सुनुवाइमा दूतावासको प्रतिनिधि नहुनुलेपनि नकारात्मक प्रचार गर्न सहयोग पुर्यायो | जुन देशकोलागी कसैले सहयोगकोलागी छलफल या चर्चा चलाई रहेको छ त्यस छलफलमा त्यस देशको प्रतिनिधिको उपस्थिति नहुनुको अर्थ हुन्छ त्यस छलफलप्रति देखाएको उदासीनता | यस्तै अर्थ लगाएका छन् यस क्षेत्रका केहि वुद्धिजिविहरु | सो सुनुवाइको लिंक यहाँ छ : http://foreignaffairs.house.gov/hearing/subcommittee-hearing-everest-trembled-lessons-learned-nepal-earthquake-response

महाभूकम्पपछि भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीबाट ५७ जना उद्धारकर्ताहरु लगायत उद्धार र राहतका सामानहरु लिएर नेपाल गई एक हप्ता राहत कार्य सम्पन्न गरि फर्किएकालाइ स्वागत गर्ने समयमापनि दूतावासको कुनै प्रतिनिधि उपस्थित नभएको गुनासो सुनियो | तर त्यसो भन्दैमा दूतावासको प्रतिनिधि जहाँ पायो त्यहाँ पुग्ने/जाने भन्ने पनि हुँदैन | औपचारिक निम्ता र जानकारी बिना अधिकारिक रुपमा दूतावासका प्रतिनिधि पुग्नु अशोभनीय र अमर्यादित नै हुन्छ | तर त्यस कार्यक्रममा दूतावासको प्रतिनिधिको खोजि भएको थियो भन्ने जानकारी यस लेखकले पाएको थियो | दूतावासलाई औपचारिक जानकारी काउन्टीको तर्फबाट दिइएको भए पक्कै कोहि प्रतिनिधि त्यस अवसरमा पुग्ने थियो भन्ने यस लेखकको विश्वास छ | अपितु स्थानीय नेपली जनसमुदाय स्वस्फुर्त रुपमा नेपालको झण्डा लिएर तिनलाई स्वागत गर्न एका बिहानै पुगेका थिए | यत्रो जनसमुदायका विच फर्किएका ति उद्धारकर्ताहरुले दूतावासको प्रतिनिधि खोज्नु स्वभाविक थियो |

दूतावासप्रति व्यक्त गरिएको धारणा कुनै व्यक्तिगत नभई सँस्थागत कमि कमजोरीप्रति चर्चा चलाउन खोजेको हुँ | दूतावासका लगभग सबैसंग मेरो व्यक्तिगत चिनाजान र सम्बन्ध रहेको छ | त्यसकारण कसैबाटपनि यस टिप्पणीलाई व्यक्तिगत रुपमा लिइने छैन भन्ने बिश्वास गरेको छु |