https://twitter.com/Chirvir

Tweet me @chirvir







Sunday, August 21, 2011

हरितालिका (तीज)


आउँदो शुक्रबार अर्थात अगस्त ३१ तारिख
  तदनुसार भाद्र १४, २०६८ का दिन हरितालिका तीज  पर्व हो । यस पर्वको महत्व र कारण बारेमा प्रकाश पार्नु यस लेखको आशय होइन किनभने यस चाडको बारेमा पाठकहरु आँफै जानिफकार हुनुहुन्छ । अपितु यस लेखको आशय तीजको आलोचनात्मक विवेचना गर्नु हो।
संसारको कुनैपनि समाज पुरुष प्रधान समाज रहि आएको छ | नारीलाई सर्वदा भोगकोमात्र विषय मानेर पुरुषहरु सदा आफु माथि रहने प्रपन्च चलाई रहे । यसबाट हाम्रो नेपाली समाजपनि अछुतो रहेको छैन । र यसरि आफु माथि रहि रहने प्रपन्चको उदाहरण हो हरितालिका । पार्वतीले शिवको आराधना गरेको धार्मिक आडमा हिन्दु नारीहरु असल श्रीमान् पाउन या श्रीमानको सुस्वास्थ्य तथा दिर्घायूको कामना गरि हरितालिका जस्तो कडा व्रत बस्छन् । हुन त समयसंगै यसमा विस्तारै केहि सुधार या परिवर्तन आएको देखिएको छ तरपनि यो व्रत कति कडा छ भन्ने कुरा या त व्रत महिमा गाउने पण्डितलाई थाहा छ या त व्रत गर्ने महिलाहरुलाई थाहा छ । यसरी कडा व्रत बसेर पाएको श्रीमानको महत्व बढ्ने नै भयो । तर विचरा महिलाहरु उनै श्रीमानको खटनमा परेर दिन काट्न बाध्य हुन्छन् । प्रचलन बमोजिम व्रतको अन्त्य गर्न श्रीमानको पुजा आराधाना गर्नु पर्ने हुन्छ र श्रीमानको पाउ धोएर त्यसको पानी पिउनु पर्ने हुन्छ । श्रीमान नहुने नारीहरुको लागी भिन्दै व्यवस्था गरिएको छ । श्रीमान् भनाउंदा पुरुषहरु भने गमक्क परेर श्रीमतितर्फ आफ्नो पाउ तेर्स्याउंछ मानौ उ भगवान नै हो । तर कसरी उ भगवान वा सो सरह भएको छ भन्ने कुरामा ध्यान कहिल्यै दिंदैन । न त भगवानमा हुने सद्गुण नै आफुमा समाहित गर्छ | फलतः पाउको पानी खाएकी श्रीमतिले एक्कैछिन पछि लात्ति खान बेर लाग्दैन । विचरी नारी भगवानको प्रसाद लात्ति नै हो भन्ने ठानेर चुपचाप सहेर बस्छिन् या त मेरो कर्मै यस्तो भनेर सहन्छन् । हुन त अपवादको रुपमा कतिपय शिक्षित व्यक्तिहरुले यस्तो प्रथाको अन्त्य गरिसकेको हुनुपर्छ तर पनि कैयौ शिक्षित व्यक्तिहरु श्रीमतिले तीजको व्रत बसोस् र आफ्नो पाउको पानी खाओस् भन्ने चाहना पालेको पाएको छुँ। एकजना मित्रले गतवर्षको तीजमा श्रीमतिले व्रत नबसेकोमा गुनासो गर्दै 'व्रत त बस्दिन' भन्दै मेरी श्रीमतिले व्रत बसेर पाउको पानी खाए न खाएको सोधे । मैले मेरी श्रीमतिले व्रत बस्न छोडेको २९ वर्ष भयो भनेँ । वास्तवमा भएको त्यहि थियो । विहे गरेको वर्ष मेरी श्रीमतीले तीजको व्रत बसिन् र मेरो पाउको पानी खान तयार भईन् । मलाई अति ग्लानी र शरम लागेर आयो । मैले अर्धाङ्गिनीको रुपमा अँगालेको श्रीमतिलाई मेरो पाउको पानी खान दिनु जस्तो शरमलाग्दो अरु केहि देखिनँ र भनेँ 'आजदेखि यो व्रत बस्नु पर्दैन।' तिनले व्रतको पक्षमा र व्रतको महिमा गाएर जित्न खोजिन् तर मैले भनेँ 'यो व्रत जब मेरैलागी हो भने मैले भनेपछि छोड । मेरो सुस्वास्थ्यको कामना गर्न व्रत नै बस्नुपर्छ भन्ने छैन, मात्र कामना गरे पुग्छ, रह्यो दिर्घायुको कामना, यो न त व्रतले, न त कामनाले नै कुनै असर गर्छ । समय आएपछि कसैको केहि लाग्दैन' भनेर तिनको व्रतमा पुर्णविराम लगाई दिएँ ।
श्रीमतिलाई आफ्नो अर्धाङ्गिनी मान्ने हामी कतिले आउँदो तीजमा आफ्नो पाउको पानी ख्वाउन तयार भएका छौ?  श्रीमतिलेमात्र श्रीमानको सुस्वास्थ्य र दिर्घायुको कामना कहिले सम्म गर्ने? श्रीमान र श्रीमति एकै सिक्काको दुईपाटो या एकै रथका चार पांग्रा भएपछि के श्रीमानले श्रीमतिकोपनि सुस्वास्थ्य र दिर्घायुको कामना गर्नुपर्दैन? के त्यस्तो भएको कतै उदाहरण छ ? होईन भने ऋषि पंचमी झैँ पुरुषहरुलेपनि राम्रो र असल श्रीमति पाउन अथवा श्रीमतिको सुस्वास्थ्य र दिर्घायुको कामना गर्न कुनै षष्ठि या सप्तमीको साईत जुराउने हो कि ?


Quality advertising. Big traffic. Increase sales. Promote your website. Advertise your product to shoppers.

Friday, August 12, 2011

सँस्था बोक्ने कि चढ्ने?


कुनै पनि सामुहिक कार्य सफलता पुर्वक सम्पन्न या सँचालन गर्न सँस्थाको स्थापना गर्न जरुरी हुन्छ यसै प्रयोजनको लागी हामीले कतिपय सँस्थाहरु स्थापना भएको देखेका छौ कुनै सँस्था दिर्घकालीन हुन्छ कुनै अल्पकालीन सँस्थाको अवधि जति भएपनि उद्देश्य एउटै हो सामाजिक स्वार्थकोलागी सामुहिक रुपमा काम गर्नु सम्पन्न गर्नु सामान्यतयाः नितिगत कुरा गर्दा सँस्था स्थापनाको कारण माथि भने झै भएपनि व्यक्तिगत स्वार्थ या आफ्नो व्यक्तिगत अभिष्ट पुरा गर्न पनि सँस्थाको स्थापना गरिएको पनि पाईन्छ
सँस्था मार्फत सामाजिक कामहरु गर्दै जाँदा कामगर्ने व्यक्ति सँस्था दुबै चर्चित हुँदैजान्छ समाजले सँस्था या व्यक्तिलाई कुनै कुनै दिन पुरस्कृत गर्छ यसमा समय भने अवश्य लाग्न सक्छ तर निस्वार्थ भावनाले प्रेरित भएर गरेको कामको मूल्याङ्कन कुनै कुनै दिन अवश्य हुन्छ यस मूल्याङ्कन पुरस्कारको लोभ काम गर्ने व्पक्तिमा पटक्कै हुनुहुँदैन यदि भयो भने त्यसलाई निस्वार्थपरक समाज सेवा भन्न मिल्दैन कर्म गर्नु फलको आशा नगर्नु भन्ने गीताको सारलाई मनन गर्ने हो भने यो भनाई यस लेखको आशयमा लागु हुन्छ अर्थात परिणाम या पुरस्कारको मोहमा गरिएको काम दुखदायी हुन्छ किनभने कसैले फलको आशा गरेको यदि त्यस्तो आशातीत फल प्राप्त नभएमा त्यस व्यक्तिमा निराशा बढ्छ निराशा बढेपछि त्यसको कारणहरु खुट्याउन तिर लाग्छ अनि अनुमानको आधारमा फलानो या ढिस्कानोले गर्दा यसो भएको हो भन्ने तर्क चल्न सक्छ फलानो ढिस्कानो सँगको दूरी बढ्न सक्छ फलत एक्लिएको महशुस गर्न थाल्छ या एक्लो पर्न थाल्छ परिणाम फलको आशामा गरेको कामले फल नदिएपछि या नपाए पछि विभिन्न समस्या दुःखहरु आईपर्न सक्छ
माथि नै भने झैं निस्वार्थपरक कार्यको एक एकदिन मूल्याङ्कन हुन्छ त्यस्तो समाजसेवी एक एकदिन पुरस्कृत हुन्छ हुनुपनि पर्छ
तर समाजमा यस्ता मानिस या समुह पनि देखिन्छ जो सँस्थाको नाममा आफ्नो मात्र स्वार्थ हेर्ने गर्छन आफ्नो स्वार्थ वा प्रयोजनकोलागी सँस्थाको नाम अगाडि बढाएर स्वार्थसिद्ध गर्न खोज्छन् त्यसै सँस्था मार्फत आफुलाई समाजमा अगाडि ल्याउने या आउने धृष्टता गर्छन् यो साह्रै निकृष्ट कार्य हो भन्नुमा अत्युक्ति नहोला चाडै नाम कमाउने या चाँडै प्रसिद्ध हुन चाहनेले सँस्था काँधमा बोक्ने काम नगरी सँस्थाको काँध चढेर लोकपियता कमाउन खोज्छन् यस्तो लोकपि्रयता क्षणिक हो भन्ने कुरामा यस्ता व्यक्तिहरु अन्धा हुन्छन्

यसै प्रसङ्गमा मैले सुनेको कुरा यहाँ उल्लेख नगरी रहन सकिएन कुरा कत्तिको सत्य हो त्यो मलाई थाहा भएन तर हावा नचली पात हल्लिदैन भन्ने उखान सम्झेर भन्न लागेको हुँ

आफुले आफुलाई नै पुरस्कृत गराएर चर्चामा आउनकोलागी अहिले काठमाण्डौमा बतासे सँस्थाको सहारा लिने प्रवृत्ति चलेको भन्ने मैले सुनेको छुँ तपाई त्यस सँस्थासँग सम्पर्क गरेर आफैलाई पुरस्कृत गराउने मनशाय भन्नहोस् त्यस सँस्थाले मागेको भनेको जति खर्च दिनुहोस् अनि त्यस सँस्थाले एक समारोहको आयोजना गरि कुनै मन्त्री या चर्चित व्यक्तिबाट तपाईलाई सम्मानित या पुरस्कृत गरिदिन्छ तपाई रातारात चर्चित व्यक्ति बन्नुहुन्छ अर्थात कोहि कोहि व्यक्ति नामको यति भोका हुन्छन् कि खोक्रो मानपदवी आफैंले आफलाई दिएर चर्चामा आउन चाहन्छन्
भनाईको तात्पर्य सँस्था स्थापनाको मुलभूत उद्देश्य सामाजिक कार्य भएपनि यस उद्देश्यमा विकृति आएको पाईन्छ व्यक्तिगत स्वार्थ व्यक्तिगत चर्चाको मोहमा सँस्थाको आड लिएर आफ्नॊ अभिष्ट पुरा गर्ने प्रवृत्ति बढेको पाईन्छ एकथरि निस्वार्थ भावनाले सँस्थालाई काँधमा बोकेर सामाजिक कार्य गर्छन् भने अर्काेथरि सँस्थाको काँध चढेर रातारात चर्चित बन्ने मोहमा डुबेका हुन्छन्
यस लेखले कसलाई निर्दिष्ट गरेको होला भन्ने तपाईलाई खसखस लागेको भने आफ्ना मित्रहरुसँग खासखुस गर्नुहोला खसखस मेटिन सक्छ