https://twitter.com/Chirvir

Tweet me @chirvir







Wednesday, May 9, 2012

नोमोफोविया


 
बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया

के तपाई नोमोफोवियाबाट ग्रसित हुनुहुन्छ ? अहिले यदि तपाईको खल्तिमा मोबाईल फोन छ भने पक्कैपनि यो रोगबाट ग्रसित हुनुहुन्छ । No Mobile Phone Phobia हो यसको पुरा अर्थ । अर्थात मोबाईल फोन नहोला कि भन्ने डरले त्रसित व्यक्ति नै यस रोगबाट ग्रसित हुनु हो । र यो रोगको रोगीको सँख्या दिनहुँ बढदैछ भन्ने ल्फोरिडामा गरिएको एक अध्ययनले देखाएको छ ।
जहाँ जाँदापनि साथै लग्नु, अझ भनौँ भने बाथरुममा लघुशँका होस् या दीर्घशँका गर्न पसेको होस् उसले मोबाईल फोन बोकेकै हुन्छ । मानौँ उ अत्यन्त जरुरी फोनको प्रतिक्षामा छ या मोबाईल फोन छोड्ने कुनै सुरक्षित ठाउँ नै छैन । मोबाईलमा मसँग कुरा गर्ने अर्को तर्फको व्यक्तिले सौच गरी ल्फस गरेको आवाजपनि मैले सुनेको छुँ । अर्थात ति व्यक्ति सौच र फोन दुबै एकैपटक गरिरहेको पाएको छुँ । कतिजनाले लघुशँका गर्दागर्दै मैले गरेको फोनको उत्तर दिएको अनुभव गरेको छुँ । ति व्यक्ति न त करोडौँको कारोबार गर्ने व्यक्ति हुन् न त छिन् छिनमा फेरिइरहने राजनैतिक दलको नेता या कार्यकर्ता हुन् जसले मोबाईल एकछिन छोडेको खण्डमा पहिरो नै जानेछ । न त ति कुनै शेयर बजारसँग आबद्ध छन् जसले छिन छिनको खबर थाहा पाई राख्न परोस् । तर ति कसैले मोबाईल छोडेका हुन्नन र छोड्न चाहँदैनन् पनि ।
केहि वर्षअघिसम्म म मोबाईल फोनको सौखिन थिइनँ । थुप्रैले मोबाईल बोक्दापनि आफुलाई कहिल्यै रहर लागेन । तर घरको सल्लाह र यसको उपयोगितालाई ध्यानमा राखेर अन्ततोगोत्वा लिएँ । जुन दिन देखि मोबाईल मैले बोकेँ त्यस दिन देखि दिनको पचास पटक खल्तीबाट झिक्दै हेर्दै, खल्तीमा राख्ने गरेको छुँ । कसैको फोन नआए किन कसैको फोन आएन भनेर ओल्टाई पल्टाई कतै रिँगर अफ छ कि भन्दै हेर्नु, त्यसै कतै मिस कल छ कि भनेर हेर्नु, कण्ट्याक्ट व्यक्तिहरुको नामावली स्वार्रररर स्वार्रररर तलमाथी गर्दै हेर्नु, अनि खल्तिमा राख्नु, फेरी झिक्नु आदि मोबाईलप्रतिको आशक्ति हो । कतिपटक कतै जाँदा मोबाईल छुट्यो भने सँसार नै बिते सरह या आफ्नो मुटु नै छोडे सरह यथाशिघ्र फर्केर मोबाईल लिन पुगेको छुँ । आखिर न कसैको फोन आएको हुन्छ न त कसैलाई गर्नु नै परेको हुन्छ । त्यसैले यो शरीरको यस्तो अभिन्न अँग भएको छ कि यो विना अपूर्ण अनुभव गरिन्छ । यसै अनुभवलाई मोनोफोविया भनिन्छ ।
फेरी मोबाईल फोनले हामी सबैलाई व्यक्तिवादीपनि बनाएको छ भन्ने हामीले कत्तिको अनुभव गरेका छौँ कुन्नी । किनभने दुईचार जना बसेर केहि गफ या कुराकानी गरिरहेकोमध्ये अधिकाँशहरु मोबाईल हातमा लिएर स्वार्ररररर स्वार्र्रररर चलाई रहेको हुन्छ । या टेक्स्टिँग गरिरहेको हुन्छ । यो एक प्रकारले सामुन्ने बस्ने व्यक्तिप्रतिको अनुभिरुचीको नमूना हो ।
मोबाईल फोन आफन्तसँग सम्पर्कमा रहिरहने उत्तम साधन भएकोले नै यसो भएको होला । कुनैपनि भिड या सडकमा हेर्नुस्, दुखेको कानमा हात राखेर सञ्चोका अनुभूति गरेझैँ सबैले कानमा हात पुर्याएका हुन्छन् । कसैले जनै झुण्ड्याए झैँ दुबै कानमा एयरपिस घुसाएका हुन्छन् त कसैले निलदन्त (ब्लु टुथ) कानमा मुन्द्रि झैँ घुसारेका हुन्छन् । अनि एक्लै बरबर गरिरहेका हुन्छन् । मानौँ सबैलाई एक्लै बोल्ने रोगले सताएको छ ।
अहिले त झन् स्मार्ट फोनको नाममा आईफोन, विण्डोज फोन, एण्ड्रेइड आदि आदिले झन सबैलाई व्यक्तिवादी बनाएको छ । साथमा कोहि नचाहिने । टाढाकोसँग मोबाईलमा कुरा गर्यो या गीत सँगीत सुन्यो ।
जे भएपनि मोबाईल फोन अहिलेको समयमा सबैको प्रिय र अभिन्न अँग भएको छ । अनि आफ्ना सम्पुर्ण सूचनाहरु, फोटोहरु, गीतसँगीतहरु यसैमा सँचय गरेका हुन्छन् । अनि यस्तो अभिन्न अँग कतै छुट्ला कि या हराउला कि या कसैले चोरी गर्ला कि भन्ने त्रासले सबैलाई सताएको हुन्छ र यहि त्रास नै नोमोफोविया हो