https://twitter.com/Chirvir

Tweet me @chirvir







Thursday, November 1, 2012

स्याण्डीले ल्याएको बाढी र गौरको बाढी

basu
बासु श्रेष्ठ
टिभीमा स्याण्डी हरिकेनको कारणले हेर्दा हेर्दै पानीको सतह बढेको देख्दा २०३६ सालमा आफैंले भोगेको एउटा घटनाको सम्झना भयो |
गौर, रौतहट, २०३६ आषाढ मसान्तको दिन | राष्ट्रिय वाणिज्य बैंकको खाताबन्दिको दिन | बेलुका सम्पूर्ण कर्मचारीहरु खातावंदिको काम सकेर पार्टी हुने गर्छ | त्यसदिन पकाउने जिम्मा लिनेहरु पकाई रहेका हुन्थे भने हामी खातावंदी सम्पन्न गरेर पार्टीकोलागी तयारीमा थियौं | दिनभर पानी परि रहेको थियो मूसलधार | वार्षिक नाफा नोक्सानको काम सकेर हामी बाहिरका निम्तालुहरु सहित मिलेर बेलुका पार्टीको रमाइलो गर्न थाल्यौं | बाहिर मूसलधार पानी | भित्र भोज, भतेर र जाँड पानीको रमाइलो | तर अतिवृष्टि र बाढीको आशंकामा पार्टी छोट्याईयो | तै पनि रातको ११ बजि सकेको थियो | अफिसबाट बाहिर सडकमा निस्कँदा पानी कुर्कुच्चा डुबाउने भइ सकेको थियो | संधै हिंड्ने बाटो भएकोले पानीमाथि पनि सजिलै टेक्दै घर पुग्दा सबै जना सुति सकेका थिए | त्यसैले एउटा तन्ना लिएर पिंडीमा भएको खाटमा सुत्ने तरखर गरेँ | तर अविरल वर्षात र आसन्न बाढीको आशंकाले तुरुन्तै निदाउन भने सकेको थिइनँ | पानीको सतह भने कुर्कुच्चा माथि पुगी सकेको थियो | स्मरण रहोस् तराइमा गर्मी हुने भएकोले सबैको घरमा एउटा न एउटा खाट राखिएको हुन्छ ताकि साँझ बिहान त्यसमा बसेर भलाकुसारी गर्न सकियोस |
गौर बजारको एकातिर बागमती नदि र अर्को तर्फ बकैया नदि छ | अनि ति दुवै नदीमा भारतले आफ्नो तर्फ बाँध बनाएको र आफु खुशी पानी छोड्ने/नछोड्ने गर्ने गरेकोले त्यहाँ वर्षेनी वर्षातको समयमा बाढी आउने भएकोले गौरका घरहरु (हुने खानेहरुको) प्रायश अग्लो बनाइएको हुन्छ | जमिनको सतहबाट झन्डै ४-५ फिट अग्लो हुन्छ | त्यस्तै म बसेको यो घरपनि अग्लो थियो |
तन्नाको भरमा खाटमा एकछिन निदाए पनि बिउँझेर हेर्दा पानीको सतह अलिकति माथि बढेको थाहा हुन्थ्यो | यो भन्दा बढी नभए हुन्थ्यो भन्ने कामना गर्दै आँखा झिमिक्क लागेपनि फेरी बिउँझदा सतह पहिलेको भन्दा माथि भइ सकेको हुन्थ्यो | अहिले टिभीमा प्रत्यक्ष प्रसारण हेरे जस्तो | मन ढक ढक गर्थ्यो | रोक्ने उपाय केहि थिएन सिवाय चिताउनु बाहेक | तर रातभर अविरल पानी पर्दै रह्यो | पानी पर्दै रह्यो, बाग्मती र बकैयामा पानीको मात्रा बढ्दै रह्यो र त्यो पोखिएर गौर बजारमा फैलँदै गयो र म बसेको घरको पिंडिमा पनि पस्न दुइ इन्च बाँकी रह्यो |
त्यस रीतले परेको पानी विहानी पख रोकियो | गौर बजारको सडक जलमग्न भइ सकेको थियो | वरपर रहेका पोखरी र बाटो सरावर भयो | कता बाटो, कता पोखरी, कता खाल्डो कता खुल्डी | ट्युववेल धाराको टुप्पी मात्र देखिन्थ्यो | तल्लो तहमा बनेका घरहरुको आधा पर्खाल पानीले भिजाई सकेको थियो | आँखाले भ्याएर देखेसम्म जताततै जलमग्न देखिन्थे | घरका छाना, अग्ला वस्तुहरु सामुद्रिक टापु जस्ता देखिन्थे |
बिहान भए पछि अफिस त जानै पर्यो | सानो ठाउँ भएकोले दश पन्ध्र मिनेट हिंडे पुगिने ठाउंमा अफिस थियो | तर सधैं हिंडी रहेको बाटो पानीले छोपिएर जलमग्न भए पनि पानीमा हेलिँदै बाटो हिँड्न कुनै समस्या भने परेन | पानीको सतह भने छाति सम्म आउने थियो | सधैं पाइन्ट शर्टमा अफिस जाने बबुरोले तराईमा चल्तीमा रहेको लुंगी र गन्जी लगाएर हातमा एउटा लठ्ठी लिएर पानीमा हेलिँदै अन्दाजको भरमा पाइला चाल्दै अफिसतिर लागियो | दुलो दुलोमा पानी छिरे पछि सर्प, भ्यागुताहरुपनि ज्यान रक्षाकोलागि पानी पानी दौडी रहेका देखिन्थे भने कति पटक त्यस्ता सर्पहरु सुलुलुल्लु बगेर आफ्नै अगाडी आइ पुग्थे | त्यसैबेला हातमा भएको लठ्टीले सर्पको टाउकोमा स्वाँ…ट हिर्काएर धपाईन्थ्यो | जस्तो सुकै विषालु सर्पले पनि पानीमा टोक्न सक्दैन भन्ने भनाइ सुनेकोले डर मान्नु पर्दैनथ्यो | तरपनि सर्प भनेको सर्प नै हो | लट्ठीको चोटले पानी भित्र पसेको सर्प भित्रभित्रै खुट्टामा बेरिन आउने हो कि भन्ने डरले जिउ सिरिंग हुन्थ्यो | त्यसमाथि पानीको चिसोले परेको असर त छँदै थियो |
जे होस बल्ल बल्ल अफिस पुग्दा बैंकको ढुकुटीमापनि पानी पसी सकेको रहेछ | ढुकुटी भित्र रहेको सेफमा राखिएको नोटका बिटाहरू पानीमा भिजि सकेका रहेछन लफ्रक्क | धरौटीमा राखिएका सुन चाँदीका गहनाहरुपनि भिजेका | धन्न त्यो दिन घाम लागेको थियो | असाध्य पानी परेपछि घाम लाग्ने प्रकृतिको नियम हो शायद | शोधभर्नाको रुपमा |
त्यसैले भिजेका ति नोटहरूलाई पंजीकृत गर्दै कौशीमा दिनभर सुकायौं धान सुकाए झैँ | वल्टाई पल्टाई गर्दै, मन्द मन्द चलेको हावाले नोट उडाउला कि भनेर सावधान हुँदै, या कुनै नोट यता उति होला कि भनेर सावधान हुँदै बेलुका बटुलेर ढुकुटी दाखिला गर्यौं |
त्यो वर्ष गौरका व्यापारीले नोक्सान सहनु पर्यो | सोहि मुताबिक बैंकलेपनि नोक्सान वेहोर्नु पर्यो | किनभने बैंकमा धितो राखिएको गोदामका अन्नहरु जस्तै धान, चामल, रहर, मुसुरो, आलस आदि सब बाढीमा डुबेको थियो | व्यापारीको ति अन्न डुबे पछि बैंक
को डुबे सरह नै थियो | विमाबाट शोधभर्ना लिने भनेको बेग्लै कुरा हो |
यो बाढीको असर आउँदो निकै वर्षसम्म रहे पनि दुर्भाग्यवश गौरले प्रत्येक वर्ष यस्तै दुर्दशा भोग्नु पर्थ्यो | तर अन्य वर्षहरुमा चाहिं यो सालको बाढी जस्तो थिएन | अर्थात् अहिले सम्मको ठुलो बाढी |
अहिले कतै बाढी आएको या वर्षातले ल्याएको आपति देख्न सुन्नासाथ मलाई यो गौरको घटनाको सम्झना आइ हाल्छ | तर आज चाहिं तपाईंहरुसँग यो सम्झना बाँड्न मन लागेर बाँडेको हुँ |