https://twitter.com/Chirvir

Tweet me @chirvir







Monday, November 18, 2013

सँविधान सभाको अन्तिम चुनाव

बासु श्रेष्ठ
अमेरिका

अनेक शँका उपशँकाको बावजुद देश आखिर चुनावमय नै भएको छ । सारा नेता देखि कार्यकर्ता हेलिकप्टर, मोटर, मोटरसाईकल, साईकल अनि रिक्सा चढेर भोट मागेपछि अहिले देश विशाल यात्रा थाल्नुअघि मनग्गे आराम गरेजस्तो शान्त रहेको छ । यस्तो अवस्थामा अब चुनाव रोकिँदैन भनेर सबै ढुक्क भएका छन् । अब यो चुनाव भएरै छोड्छ र देशले तिब्र गति लिनेछ भन्ने बलियो आशा सबैमा पलाएको हुनुपर्छ । सँविधान सभाको चुनाव आफैँमा अपूर्व हो तर झन दोश्रो पटक चुनाव हुने भनेको त आश्चर्यकै रुपमा लिईनु पर्छ ।

तर अलिअलि शँका उपशँका अझै बाँकि नै छन् । विरोधको कारणले अन्तिम घडीमा चुनाव रोकियो भन्ने मात्र सूचना जारी गरियो भने के होला? देश कतातिर जाला? भन्ने प्रश्नले कतिलाई दिग्भ्रमितपनि बनाई रहेको होला । किनभने बैद्य बा अझैपनि बम आतँकमा लागीरहेका छन् र निरपराध व्यक्तिहरुको हत्या गर्न या घाइते बनाएर चुनाव विथोल्न उद्यत भएकाछन् । तर जनता, दल र सरकारको मुडचाहिँ चुनावोन्मुख नै भईसकेको छ भन्ने कुरा छर्लँग देखिन्छ । अर्को कुरा देश आस्थाको बन्दि बनेको धेरै भईसक्यो । यसरी देश कहिल्यै अगाडि बढ्दैन भन्नेमा नेपाली जनताले राम्रोसँग बुझिसकेका छन् र कुनै एकदलको विरोधमा अब देशलाई रोक्न तयार छैनन् । अपितु शतप्रतिशत दलहरुलाई साथ लिएर चुनाव भएको भए त्यो अझ सुखद हुनेथियो । यो दुखद पक्ष हो । तर बसमा एक दुई सिट खाली छ भन्दैमा लामो दुरीको बस रोकी राखे गन्तव्यमा कहिल्यै पुगिँदैन । अहिलेको अवस्थालाई यसैगरी बुझे हुन्छ ।

२००७ सालमा त्रिभुवनले वचन दिएको सँविधान सभाको सपना २०१७ मा नै तुहिएको थियो । त्यसपछिका विभिन्न आन्दोलनहरु हुँदै माओवादी आन्दोलन र ठुलो रक्तपातपछि नेपालीले परिवर्तनको रुपमा पाएको पहिलो सँविधान सभाको चुनावमा बडो उल्लासकासाथ सहभागी भएका थिए । पहिलो चुनाव २०६४ चैत्र २८ मा भएको थियो । तर दुर्भाग्य माल पाएर चाल नपाएका दलका नेताहरुले त्यस अपूर्व सँविधान सभाको उदेश्य पुरा नै नगरी आपसी कलहमा त्यसको विसर्जन गरिदिए । त्यसैले केहि व्यक्तिहरुमा पहिलेकोजस्तै हुने हो कि भन्ने सँशय र निराशाको केहि पाटोले छोपेकोपनि पाईन्छ । त्यसमाथि बैद्य दलहरुको आतँकको एकपाटोलेपनि सर्वसाधारणलाई शँकाको बादलले छोपेको पाईएको छ । तापनि विरलै हुने सँविधान सभाको चुनाव त्योपनि दोश्रोमा सहभागी हुन अधिकाँश नेपालीहरु हौसिएका नै देखिएको छ । त्यसकारण यस चुनावकोलागी देखिएको जागरुकताको तुलनामा नैराश्यता न्यून नै छ भन्दापनि हुन्छ ।

केहि त्रास र व्दिविधामा रहेका मतदाताहरुलाई मतदानको पक्षमा ल्याउन विरोधीपक्षहरुलाई कारवाहि गरेर सरकारले आफ्नो उपस्थिति देखाउनै पर्छ । त्यस्तै अन्य दलहरुलेपनि त्यस्तो विरोधको प्रतिकार गरेर मतदाताहरुको मनोबल बढाउने काम गरे सहभागितामा सजिलै वृद्धि हुनेछ ।

हुन त यो सँविधान सभाको चुनाव रोक्न बैद्य दलहरुमात्र होईन अन्य वादहरुपनि चाहन्छन् भन्ने पाईएको छ । अनलाईनमा भेटिएको एक विद्वान व्यक्ति यो सँविधान सभा भारतको डिजाईन अनुसार भएकोले ’यो चुनाव रोकिनु पर्छ’ भन्ने तर्क गर्दैथिए । मैले उसो भए बैद्यहरुले गरेको विरोध ठिक हो त भनेर सोद्धा उनले कुरा अन्तै मोड्दै तिनका कुरा अर्कै हो भन्थे । फेरी भारतले यो सँविधान सभा मार्फत एक तराईको मुद्धा बनाएर नेपाललाई टुक्र्याउने योजना रहेकोपनि बताए । मैले फेरी त्यसो त सबै मधेसी दलहरुले दुई मधेसको घोषणा पत्र ल्याएका छन् त (मैले जानेबुझे अनुसार) भनेर उल्लेख गर्दा उनले तिनिहरुलाई विश्वास गर्न नसकिने भन्ने बताए र च्याटबाट अलप भए ।
भनाईको तात्पर्य सँविधान सभाको चुनाव नहोस् भन्नेमा नेकपा माओवादीमात्र होईन अन्य केहि अन्य वादीहरुपनि चाहन्छन् । तर यो अभिष्ट पुरा हुने चाहिँ देखिन्न । अब मुलुकले चुनावको बाटोमा गाडि राखिसक्यो र त्यसका यात्रु नेपाली जनता तथा दलहरुका नेता र कार्यकर्ताहरु त्यस गाडिमा सवार भईसकेका छन् र ईन्जिन स्टार्टपनि भैसक्यो । अब स्टियरिँग समातेर एक्स्लेटर थिच्नमात्र बाँकि छ जुन भोली मँसिर ४ मा हुँदैछ ।

अब को निचोड के हो भने सँविधान सभाको यो निर्वाचनमा कुन दलले हार्यो या कुन दलले जित्यो भन्ने होईन कि राष्ट्र्ले हार्यो कि जित्यो भन्ने प्रश्नलाई मूल मुद्धा बनाएर सँविधान निर्माण गर्नेतर्फ लाग्नु सबै दलको बुद्धिमत्ता ठहरिने छ । कुरा के पक्का छ भने जनताले कुनैपनि दललाई बहुमत नदिई सबै मिलेर समस्या समाधान गर्नु भन्ने सन्देश दिनेछन् र यसैलाई सबै दलहरुले शिरोधार्य गरेर देशलाई अगाडि बढाउन् भन्ने हाम्रो कामना छ ।