https://twitter.com/Chirvir

Tweet me @chirvir







Friday, January 28, 2022

अनि म छुच्चोमा गनिन्छु

बासु श्रेष्ठ

उडब्रिज, भर्जिनिया

कुरा २०२६ २०२७ को हुनुपर्छ । शायद म त्यतिखेर कक्षा चार या पाँचमा थिएँ होला । जनकपुरको बाह्रबिघाको पश्चिम साँधमा रहेको जानकी हाई स्कूलको विद्यार्थी थिएँ । डेराबाट स्कूल जान झण्डै आधाघण्टा पैँतालिस मिनेट लाग्ने दुई बाटाहरु थिए । एउटा सोझो र भित्रिबाटो जुन केहि पोखरीको डिलैडिल र बस्ती भएर बाह्रबिघाको बाहिर तर ठिक पूर्वतर्फ र जनकपुर अँचल अस्पतालको उत्तरपट्टि पुर्याउँथ्यो । अनि बाह्रबिघाको बिचैबिच भएर स्कूल प्राँगणमा प्रवेश गरिन्थ्यो । अर्काे बाटो थियो, बजारको बाटो । अर्थात स्टेशन रोड भएर जनक चोक हुँदै जानकी मन्दिरको प्राँगण हुँदै जनकपुर अँचल अस्पतालको दक्षिणबाट बाह्रबिघा प्रवेश गर्ने अनि पश्चिमउत्तर हुँदै स्कूलको प्राँगणमा प्रवेश गर्ने । यि दुई बाटो घरस्कूल आउजाउ गर्ने दिन अनुसार फरकफरक हुन्थे । आईतबार देखि शुक्रबार विहानसम्म पहिलो बाटो हुने गथ्र्याे भने शुक्रबार आधा बिदा पछि रल्लिँदै घर जाने हुँदा बजारको बाटो जानकी मन्दिरको प्राँगण हुँदै ढिलै गरि घर गईन्थ्यो ।

जानकी मन्दिरको अगाडि ठुलो चोक छ जसलाई अहिले ढलान गरिएको छ । त्यस चोकसँगै पूर्वतर्फ उद्यान थियो र छ । अनि चोकको उत्तरतर्फ प्रहरी चौकी तथा मिठाईका पसल थिए भने चोकको दक्षिणतर्फ पनि मिठाई तथा किराना पसल लहरै थिए । त्यसताका मन्दिरको चारैतर्फ ईँट ओछ्याइएको हुन्थ्यो । र यो चोकमा विभिन्न प्रकारका झिना मसिना सामान तथा पुजा सामाग्रीका पसल लगायत मानिसहरु भेला हुनेदेखि जादुखेला देखाउने र हेर्नेका भिड लागीरहन्थ्यो ।

एक शुक्रबारको दिन सँधैजस्तो आधा दिनपछि स्कूल छुटेपछि साथीहरुसँग रल्लिँदै जानकी चोकको बाटो समातेर घरतिर लागियो । तर, जानकी मन्दिरको चोकमा डमरु बजाएर दर्शक तानेर जादुखेला देखाउने र गोलबन्दि गरेर बसेको भीडले हामीलाई आकर्षित गर्याे । यस्तो पहिलापहिला पनि देखिएको भएपनि यस पटक खोई कुन आकर्षणले हो हामी भिडभित्र पस्यौँँ। पस्ने ठाउँ साँघुरो भएकोले कोहि कताबाट पसे भने म कतैबाट पसेँ । शायद खेलको बिच भागमा हामी पुगेछौँ । फुच्चे भएकोले खस्याकखुसुक गरेर पहिलो लहरमा पुग्दा एउटा कालो कपडाले सम्पूर्ण शरीर छोपेर कसैलाई लमतन्न सुताइएको रहेछ । यता एउटा डमरुवालाचाहिँ ड्रम्ड्रम् गर्दै डमरु बजाउँदै गोलचक्करभित्र हिँड्दै यो बच्चा सुतेको छ तर मरे सरह छ । तपाईँहरुले दिनुभएको पैसाले यो बच्चा उठ्ने छ भन्दै सबैका सामु थैली फैलाउन थाल्यो । 

ड्रम्ड्रम् डमरुको आवाज, सबैले आआफ्ना ईक्षा अनुसारको पैसा खल्तीबाट झिक्दै दिँदै गरेको देखेर मलाई पनि दिउँदिउँ लाग्यो । मैले दिएको पैसाले सुतेको मानिस कसरी उठ्दो रहेछ भन्ने थाहा पाउन म उत्सुक भएँ । तसर्थ घरबाट खाजा खान दिएको एक मोहर मैले पनि त्यस थैलीमा हालिदिएँ । अरु दिन भएको भए म यो पैसाले अलि पर जनक चोकको कुनै पसलबाट खाजा किनेर खाईसकेको हुने थिएँ । तर, आज यो जादुखेलामा हालेँ । किनभने मलाई त्यो सुतेको व्यक्ति उठेको हेर्नु थियो र त मोहर उसका थैलीमा हालेको थिएँ ।

जादुखेलाका नाईकेले नानाभाँति बोलेर अनेक प्रकारका कथा ठट्टा सुनाएर, कहिले यो तानेर या लुकाएर हामीलाई भुलाईरह्यो । निकै लामो समयसम्म पनि त्यो सुतेको व्यक्ति पूर्व घोषणा अनुसार उठेन । म भने कतिखेर र कसरी उठ्ला भनेर एकाग्र भएर त्यहि कालो कपडालाई हेरिरहेको थिएँ । हेर्दाहेर्दा त्यस नाईकेले के उद्घोष गर्याे कुन्नी, सबैजना लाखापाखा लाग्नथाले । हुँदाहुँदा मानिसकोे गोलबन्द भिड खुकुलो भएर म र त्यो जादु नाईकेमात्र रह्यौँ । सबै गएर पनि म नगएको अनि कालो कपडालाई हेरिरहेको देखेर मलाई के भयो, किन नगएको भनि सोध्यो । मैले आफ्नो असन्तोष पोख्दै त्यो मान्छे उठेन, मेरो पैसा फिर्ता दे भनेर बाझ्न थालेँ । उसले यो खेला हो र अरु कुन्नी केके भन्यो मैले बुझिनँ या बुझ्ने कोशिस नै गरिनँ । किनभने मेरोलागी उसले झुटो बोलेको थियो । झुटो बोलेर मेरो खाजाको पैसा लिएको थियो । तसर्थ मेरालागी या त त्यो मान्छे उठ्नु पर्याे या मेरो पैसा फिर्ता दिनु पर्याे । म यो कुरामा अडिग भई नै रहेँ र मैले आफ्नो पैसा फिर्ता मागी नै रहँे । पैसा फिर्ता गर्न उ जति चाम्रो हुन्थ्यो म उति दुरुह बन्दै तैँले किन ढाँटिस्, मेरो पैसा फिर्ता दे भनिरहेँ । 

आखिर खेलावालाले हार खायो । उसले सुतेकोलाई उठाउने भनेको त फगत एउटा खेल र नितान्त झुटो भएकोले के उठाउन सक्थ्यो र? त्यसमाथि बालहठ तर यथार्थ चाहने मलाई चित्त बुझाउने उसको हातमा एउटै उपाय थियो मेरो मोहर फिर्ता दिने र अन्ततोगोत्वा दियो पनि।

त्यसपछि म त्यस्ता जादुखेला हेर्न भीडमा कहिल्यै सामेल भईनँ किनभने ति ठग हुन् भन्ने मेरो मानसपटलमा छापा बनेर रह्यो जबकि त्यो तिनका पेट पाल्ने विधि थियो भन्ने बुझ्न मैले वयस्क नै हुनुपर्याे । तर, अहिलेसम्म त्यसरी अनुचित या भ्रममा राखेर या ढाँटेर कसैले कुनै काम गर्छ भने त्यो मेरोलागी असह्य हुने त्यो बानी ममा अझै छ र प्रतिकारमा बोलेकै हुन्छु अनि म छुच्चोमा गनिन्छु ।