https://twitter.com/Chirvir

Tweet me @chirvir







Friday, July 22, 2011

क्रुज यात्रा

बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया




कि वेष्टबाट देखिएको पानी जहाज
  
काम काम काम, कति काम, आराम पाउन जानुपर्यो कुनै धाम । धाम भन्नाले कुनै तिर्थ धाम नभई कतै नयाँ ठाउँमा गएर भ्रमण विशेषको आशय थियो । अनि यसै आशयले यस वर्षको गृष्मकालीन सप्ताहान्त समुद्रमा मनाउने निधो गरियो । आकाशमा उडेकै हो, भुँइमा गुडेकै हो । बाँकि एउटा पानी जहाजमा समुद्रको यात्रा गर्ने रहर थियो । यो रहरपनि पुर्याउने रहर जागेर आयो यस पटक र जुर्यो पनि । तसर्थ क्रुजमा जाने निधो गरि कार्निभल कम्पनीको ईमेजिनेशन नामक पानी जहाजमा मायामीबाट शुरु हुने जुलाई ४ देखि जुलाई ८ सम्मको क्रुज यात्रा अनलाईनबाट बुक गरियो र सोहि अनुसार जुलाई ४ तारिखका दिन बिहान अमेरिकन एयरलाईन्सको हवाई जहाज मार्फत ल्फोरिडाको मायामीमा ओर्लिएपछि एयरपोर्टबाट सि पोर्टसम्मको यात्रा बसबाट गरियो | अनि अध्यागमनको प्रक्रियापछि सिधै पानी जहाजमा अवतरण गरियो । अध्यागमनको कार्यालय रहेको भवनसँगै भर्याँगको माध्यमले पानी जहाजसँग जोडिएको हुँदो रहेछ । घुमाउरो भर्याँग पछि जहाजमा प्रवेश गरियो । अध्यागमनको प्रक्रिया पुरा गर्न बसेको लाईन हेर्दा मानौ कुनै कुम्भ मेला भर्न जम्मा भएका हुन् कि भन्ने भान पर्थ्यो । अध्यागमन तथा सुरक्षा पार गर्नेहरु एकनासले माथि गई रहेका छन् भने त्यहि प्रकार झुण्डका झुण्ड सो प्रक्रियाकोलागी लाईनमा थपिँईदै छन् । ओहो यत्तिका विध्न मानिस, एउटै जहाजमा त हो ? तर हो रहेछ । जहाजमा यात्रीमात्र २६०० हुँदा रहेछन् भने जहाजका कर्मचारीमात्र ९२० रहेछन् । विशालकाय जहाजमा ति कर्मचारी झण्डै २४ सै घण्टा अनवरत चलायमान देखिन्थे ।
अध्यागमन तथा सुरक्षाको प्रक्रियापछि जहाजको कोठाको साँचो अर्थात कार्ड कि लिनकोलागी कम्तीमा ५० डलर प्रतिव्यक्ति धरौटि राख्न पर्ने रहेछ । यसरी लिएको कार्ड कि पचास डलर भएको क्रेडिट कार्डपनि हुँदो रहेछ । अनि जहाजमा कोशेलीको रुपमा कुनै सामान किन्नु परेमा या केहि रुपमा खर्च गर्नुपरेमा यहि कार्ड चलाउनु पर्ने रहेछ । जहाजमा नगद कारोबार नहुने रहेछ । सो कार्ड चलाएपछि रहेको बाँकि पैसा यात्राको अन्तिम दिन फिर्ता दिईने रहेछ । कार्ड किबाट धरौटि राखिएको पैसा भन्दा बढि खर्च भएमा अन्तिम दिन हिसाब किताव फर्छ्यौट गर्नुपर्ने रहेछ । अन्यथा बाहिर निस्कन समस्या पर्ने रहेछ ।
हामीले श्रीमान श्रीमतिलाई पुग्दो धरौटि एटिएम मेशिनमार्फत राखेर पाएको कार्ड लिँदै जहाजमा प्रवेश गर्यौं । ठुलो सुटकेश कोठामा नै आउने भएकोले हाते सुटकेशमात्र लिएर कोठामा प्रवेश गर्यौं । कोठा नँ यु २५ । अर्थात अपर डेकको रुम नँ. २५ । कोठामा प्रवेश गर्ने वित्तिकै हाते सुटकेश त्यतिकै छोडेर खाना (लँच)कोलागी दशौँ तल्लामा पुग्यौँ । मेरी बास्सै, कति मानिस रहेछन् यहाँ त । फेरि स्विमिँग पूलपनि रहेछ । हट बाथ लिने पनि रहेछ । ओहो....यहाँ त सानो तिनो मेला पो रहेछ । बाजाको धुनमा एकथरि नाचि रहेका छन, अर्काथरि खाई रहेका छन्, कोहि त्यहिँको बारमा बसेर वाईन, लिकर या मार्गरिटा घुट्क्याउँदै मुखबाट धुँवा उडाईरहेका छन् । स्विमिँग पूलको पानीमा आनन्द लिईरहेका लगायत पूलबाट निस्केर छेवैको लामो मेचमा छोप्नै पर्ने मात्र छोपेर घाममा लम्पसार परेर कोहि उत्तानो, कोहि घोप्टो पल्टेका छन् । यो आफ्नै र अलग प्रकारको सँसार लाग्यो । यो रमिता देखेर लागेको भोकपनि कम पो हुँदै गयो । कता हेरौं कता हेरौं । आँखा अलि बढि चाहिँ स्विमिँग पूल या यसको छेउछाउ नै बढि दौडिन्थ्यो । कालो चश्मा थियो मेरो आँखामा । जता हेरेपनि एकातिर हेरेको जस्तो गरे हुने । तर साथमा श्रीमतिपनि थिइन् । अलि होस् त पुर्याउनै पर्यो । श्रीमतिको मर्यादापनि त राख्नु पर्यो नि । तर कहाँबाट आए त यि सब ? के यि सबै मायामीबाटै चढेका हुन् त ? त्यसो भए कसरी यति चाँडै यि सबै गर्न भ्याए ? तर होईन रहेछ । पछि कुरा बुझ्दा यिनिहरु त बहामाजबाट आएका रहेछन् । यो जहाज बहामाज, मायामी, की वेष्ट अनि कोजुमल (मेक्सिकोको सबै भन्दा ठुलो पूर्वी सामुद्रिक टापु) को बिच ओहोर दोहोर गर्दो रहेछ । कोजुमललाई मेक्सिकोकै हालको पर्यटन क्षेत्र क्यानकुनले प्रतिस्थापन गरेको रहेछ । नत्र अहिले जति क्यानकून प्रसिद्ध छ त्यति नै प्रसिद्ध कोजुमल रहेछ । अर्थात क्यानकून कोजुमलको सौता । गल्फ अफ मेक्सिकोमा पर्ने क्यानकून उत्तरी भागमा पर्दो रहेछ भने कोजुमल भने ६० किमी दक्षिणी भागमा पर्दो रहेछ । तर क्यानकून मेक्सिकोको मूख्य भूभागसँग आबद्ध छ भने मुख्य भूभागबाट २० किमी टाढा कोजुमल टापु रहेछ । कोजुमल ४८ किमी लामो अनि १६ किमी चौडाइमा फैलिएको रहेछ । हाम्रो क्रुजको अन्तिम पुग्ने विन्दुपनि कोजुमल नै हो ।
जे होस् बफेको लाईनबाट आफुलाई चाहिने खाना लिएर टन्न भएपछि अर्को एकतल्ला माथि गइयो । ओहो, यो त बाल सँसार रहेछ । बाल बालिकाहरुलाई हुने गरि पानीका विभिन्न खेल तथा मनोरँजनका साधनहरु जुटाईएका थिए । बालकहरुको हाँसो र खितखितले यस तल्लाको वातावरण गुँजिएको थियो । अभिभावकहरु भने आफ्नो सन्तानको मुहारमा हाँसो र खुशी अनि चँचलता देखेर मख्ख परेर मुसुक्क हाँस्दै हातमा जे छ त्यहि खाई रहेका थिए । सन्तानको मुहारमा हाँसो र चँचलता देखेपछि अभिभावकहरु सँसारको सबैभन्दा ठुलो सुख अनुभूति गर्छन शायद ।
त्यहाँबाट भएका भर्याँग पछ्याउँदै जाँदा अर्को तल्लामा पुगियो । यो चैँ ओलम्पिक ट्रयाक रहेको ठाउँ रहेछ । झण्डै ओलम्पिक ट्र्याकको आकारमा अण्डाकार धावन मार्ग बनाईएको रहेछ । कूल लम्बाई १४९ मीटर । यस ट्रयाकमा दौडिएपनि वाक गरेपनि हुने रहेछ । यो चाहिँ जहाजको अघिल्लो भागपट्टि पर्दो रहेछ ।
यहाँबाट जहाज अगाडि बढेको त देखिन्छ तर कुन दिशामा गईरहेको छ भन्ने भेउ पाउन गाहारो । किनभने गोलाकारको रुपमा देखिने क्षितिजको विचमा आफु भएको अनुभव हुँदो रहेछ । त्यसकारण नक्सा नहेरी जहाजको दिशा निर्देश थाहापाउन गाहारो हुने रहेछ । आकाश नीलो, पानी नीलो अनि यि दुई विशाल नीलोको बीचमा एक सानो बिन्दुको रुपमा आफुलाई पाउँदा मन रोमाञ्चित हुँदो रहेछ । विशाल क्षितिजको कारणले गोलाकारको रुपमा देखिने क्षितिजको यस्तो दृश्य जमिनबाट शायदै देखिन्छ ।
८५५ फिट लामो तथा १०३ फिट चौडाईको जहाज २१ नट्स प्रतिघण्टाको दरले अगाडि बढ्ने रहेछ । २१ नट्स सामुद्रिक गति हो भने यसलाई पृथ्वीमा नापिने गतिमा परिवर्तन गर्दा झण्डै २४.१७ माईल प्रति घण्टा हुने रहेछ । यसरी १५९ माईल लामो की वेष्टसम्मको यात्रा यहाँको विहान ७.३० बजे पुगीयो । मायामीबाट अघिल्लो दिन बेलुका ४ बजे प्रस्थान गरेको हाम्रो पानी जहाजलाई १५.३० घण्टा लागेको थियो । की वेष्ट घुम्नकोलागी जहाजमा नै पाईने विभिन्न प्रकारका प्याकेजहरु पाईएपनि हामी भने उपलब्ध गराइएको ट्र्लीबाट शहर घुम्न गयौँ । क्यूबाबाट ९० माईल उत्तरमा पर्ने यस टापुलाईपनि पर्यटकिय दृष्टिले हेरिँदो रहेछ । क्यूबाबाट अमेरिका पस्ने नजिकको अमेरिकी भूभाग यहि भएकोले होला शायद क्यूबाबाट अमेरिकी सपना बोकेर हिँडेकाहरुको पहिलो गन्तव्य नै यहि स्थान हुँदो रहेछ । तर अमेरिकी अध्यागमन तथा सामुद्रिक सुरक्षा अँगहरुको कडा निगरानीले कतिपय डुँगाहरु विच समुद्रबाट नै क्युबातर्फ फर्किन बाध्य हुँदा रहेछन् ।
अर्काे कुरा अमेरिकाको सबैभन्दा पुरानो राजमार्ग जसलाई सँख्याको आधारमा रुट १ को नामले चिनिन्छ (र  जुन अमेरिकी राज्यहरु दक्षिणमा ल्फोरिडा, जर्जिया, साउथ क्यारोलाईना, नर्थ क्यारोलाईना,  भर्जिनीया, वासिँगटन डीसी, मेरिल्याण्ड, पेन्सिल्भेनिया, न्यु जर्सी, न्यु योर्क, कनेक्टिकट, रोड आईल्याण्ड, म्यासाच्युसेट्स, न्यु ह्याम्सायर तथा उत्तरी राज्य मेनमा गएर टुँगिन्छ) पनि यहिँबाट शुरु हुने रहेछ र यस स्थानलाई जिरो माईल नामले चिनिँदो रहेछ । सन् १९२६ मा पुरा भएको यो सडकको कूल लम्बाई २३७७ माईल अर्थात ३८२५ किमी रहेछ । हेक्का रहोस् विभिन्न राज्यका भूभागमा यहि सडकलाई अन्य कुनै नँबर या नामलेपनि चिनिन्छ । यससँग अलि बढि चासो भएको कारण के पनि हो भने आफु बसेको घरसँगै यो बाटो रहेकोले पनि हो र यसको ऐतिहासिक कारणपनि हो । बिजोर नम्बरको उत्तर दक्षिण लम्पसार भएर सुतेको यस सडकको आर्थिक तथा सामाजिक योगदान निकै ठुलो रहेको छ । अमेरिकामा सबै राजमार्गहरुलाई मूलतः दुईभागमा विभाजन गरिएको हुन्छ । पहिलो जोर नम्बरका राजमार्ग जुन पूर्व पश्चिम फैलिएका हुन्छन्् भने विजोर नम्बरका राजमार्गहरु उत्तर दक्षिण फैलिएका हुन्छन् । जसले गर्दा दिशा निर्देशकोलागी सजिलो हुने गर्दछ ।
यसरी की वेष्टको स्वभ्रमणपछि फेरि ट्र्लीमा बसेर जहाज फर्कियौँ । कार्ड कि र सुरक्षा अधिकारी मार्फत प्रवेशकोलागी अनुमति प्राप्त भएपछि अस्थायी सँसारमा पुनः प्रवेश गर्यौँ । अब जहाज कोजुमलकोलागी ठिक दुईबजे यहाँबाट प्रस्थान गर्यो । झण्डै ११ घण्टाको यात्रा हो यो । आन्ध्र महासागरको एक हिस्साको रुपमा रहेको गल्फ अफ मेक्सिकोमा यात्रा गर्दा यो ११ घण्टाको यात्रा नपत्याउने किसिमले बित्यो । किनभने जहाजमा विभिन्न मनोरँजनात्मक कार्यक्रमहरु, किनमेलकालागी करमुक्त पसलहरु, क्यासीनो, बार, स्विमिँग पूल या कोठामा बसेर टिभी कार्यक्रमहरु हेरेर समय गएको पत्तै नपाईने रहेछ । कोठामा आएर सुत्ने भनेको असाध्य थाकेपछि या रातीको १२ १ बजेतिरमात्र हो । यसरी कोजुमलमा जहाजले दिनको १ बजे डक गर्याे र कोजुमल भ्रमणमा जाने ईच्छुकहरुलाई रातको नौबजेसम्म जहाज प्रवेश गर्ने सूचना जारी गर्याे । कोजुमलमा विभिन्न प्रकारका भ्रमण प्याकेज पाईने भएपनि हामीले स्नोरल्किँग, विच पार्टि र सेल अवे प्याकेज लियौँ । मेक्सिकोको कर मुक्त पसलको माझ हुँदै एउटा सानो डुँगा जसमा ६० देखि ७० मानिस अटाउँथेमा चढ्यौँ र स्नोल्र्किँगकोलागी बढ्यौ । स्नोरल्किँग भनेको आँखामा पानी चश्मा, मुखमा सास फेर्ने नली, खुट््टामा पौडने पँजा लगाएर पानीमा पौडिने रहेछ । १५ देखि २० फिट गहिरो तर पिँध देखिने नीलो पानीमा पौडि खेल्दा विभिन्न प्रकारका माछा तथा सामुद्रिक जीवहरु देखिने रहेछ । आफु र श्रीमति पौडी खेल्न नजान्ने भएकोले यसकोलागी आँट गरिएन । बरु डुँगामा नै बसेर अरुले गरेका रमितामा ताली बजाएर बसियो । तिरेको पैसाको तिन भागमा एक भाग यसरी डर छेरुवा भएर खेर फालियो । तर यो हाम्रो आफ्नै छनौट थियो । कसैसँग केहि गुनासो थिएन र रहेन । मैले त्यहिँ एउटा जोक बनाएँ र भनेँ “वी अलवेज स्नोर अन द बेड । सो वी डण्ट वाण्ट द स्नोरल्किँग ।” सबै गललल हाँसे ।
स्नोरल्किँगपछि डुँगामा रहेको सँगीत बज्न थाल्यो अँगे्जी । अनि बियर, मार्गरिटा, जुस, सोडा पिउँदै गीतको धुनमा नाच्न र गाउन थाले । झण्डै १५ मिनेटपछि डुँगाले किनार लियो । अर्थात बीचमा रोक्यो । हामी सबै ओर्लिएर स्विम सुट लगाएर नीलो र कँचन पानीमा हाम्फाल्दै, छेउ आउँदै बियरका गिलास समाउँदै गर्न थाल्यौँ । यो क्रम एक घण्टाकोलागी थियो र टोली नेताले समाप्तिको घोषणा गरेपछि सबै डुँगामा बस्यौँ र अस्थायी निवास पानी जहाजतर्फ फर्कियौँ ।

क्रुजको जाने र आउने सामुद्रिक बाटो
 जहाजमा केहि सोधपुछको क्रममा मैले त्यहाँका कर्मचारीलाई जहाज चलाउने क्याप्टेनको केबिन हेर्न पाइन्छ कि पाईदैन भनेर सोधेको थिएँ । मैले सोधेको व्यक्ति फिलिपिनो रहेछ । उसले भन्यो 'लास्सी डे, लास्सी डे, यु गो कस्टमर सर्भिस, राइट योर नेम ।' अरु त बुझियो तर 'यो लास्सी डे' भनेको बुझिनँ । सातै डेका नाम मलाई थाहा छ । त्यसबाहेक टुडे र यस्टरडे पनि थाहा छ । । यो कुन अर्को नयाँ डे आयो समुद्रको बीचमा ? फेरी दही, मठ्ठा जस्तै कतै लस्सी त भनेको होइन ? यो त झन् अप्रासाँगीक कुरा भयो । रनभूल्ल पर्दै फेरि कोट्याएर सोधेँ । बल्ल बुझियो । लास्ट डे भनेको रहेछ । अर्थात क्रुजको अन्तिम दिन मैले चाहेको हेर्न पाईने रहेछ । दँग पर्दै कस्टमर सर्भिस डेस्कमा अरुले पालो उछिन्लान भनेर हतार हतार गयौँ र आफुले चाहेको अनुरोध गरेँ । हुन त लास्सी डे नै रहेछ, नामपनि लेखाउनै पर्ने रहेछ तर.....प्रतिव्यक्ति ५५ डलरपनि बुझाउनु पर्ने रहेछ । जम्मा जम्मी आधा घण्टाको जहाजको भित्री क्रियाकलाप हेर्न महँगो पर्ने भयो । यो प्याकेजलाई 'विहाइण्ड द टुर' भन्दा रहेछन् । आ...होस् को गई रहोस् । गइएन । दुईजनाको ११० डलर बचाईयो । तर क्याप्टेनको केबिनबाट सामुद्रिक दृश्य र केबिन हेर्ने रहर भने काँचै फिर्ता आयो ।
यसैगरि अर्को दिन जहाजको सेतो रँगको ड्रेसमा रहेको एकजनालाई जहाजको तत्काल अवस्थिति, जहाजको गतिका बारेमा केहि सोधपूछ गरेँ । जानेको भन्यो र नजानेकोमा फलानोसँग सोध्नु भन्यो । यो पनि फिलिपिनो नै हुनुपर्छ भन्ने अन्दाज गर्दै 'व्हेर आर यु फ्रम ?' भनेर सोधेँ । उ चाहिँ 'नट इण्डिया' भन्छ । मैले तिमी इण्डियाको हौ ? भनेर सोधेकै छैन । किन नट इण्डिया भन्छ यो भन्दै म जिल्ल परेँ र भनेँ 'आई एम नट सेयिँग यु आर फ्रम इण्डिया, बट आइ एम आस्किँग यु व्हेर आर यु फ्रम ।' उसले यस यस भन्दै 'यु नो दार्जिलिँग, असम, सिलिगुढि, भुटान भन्दै उत्तरी पूर्वी भारतको भौगोलिक नामहरु लिँदै त्यतातर्फ लग्यो र भन्यो मिजोरम । मैले अब बल्ल बुझेँ । उसले नर्थ इण्डिया भनेको रहेछ । अर्थात उ भारतको मिजोरम राज्यबाट आएको रहेछ । एकछिनको भलाकुसारी पछि उसको हातमा भएको फोनको घण्टी बज्यो र 'आइ हेभ टु गो, नाईस टकिँग टु यु' भनेर कामतर्फ लाग्यो । आफु भने नट र नर्थको कथा सम्झँदै ब्रेकफास्टको बफेतर्फ लागियो ।
जहाजमा सबै प्रकारका मानिस । बच्चा, बुढा, बुढि युवा, तरुना तरुनी । मोटा, पातला । काला, गोरा, स्पानिस, एशिएन, अफ्रिकन, अमेरिकन सबै । नेपालीमा हामीमात्र थियौँ कि ? कोहि क्यानाडाबाट आएका, कोहि अमेरिकाकै विभिन्न भागबाट आएका । त्यसैगरि जहाजका कर्मचारीहरु अधिकाँश फिलिपिनो, अनि भारतीयहरुको बाहुल्यता देखियो । डिनरमा लिएको फोटो आफुलाई मन परेकोले अर्डर गर्दा सँजय नामक भारतीयसँग कुरा गर्न पुगियो । सोधिहाल्यो उसलेपनि अनुहार एउटै क्षेत्रको देखेर । 'व्हेर आर यु फ्रम ?' मैले सगौरव 'वि आर फ्रम डिसी' भनेँ । उसले 'नो नो ओरिजीनल्ली' भनेर सोध्यो । मलाई उसको ध्येय थाहा थियो र मैले जानी जानी त्यहि उत्तर दिएको थिएँ । तर यस पटक चाहिँ 'ओरिजीनल्ली फ्रम नेपाल' भनेपछि 'ओ वि हयाभ ए नेपाली टू हु वर्कस् हियर । कम आफ्टर थर्टी मिनेट टु पिकअप द फोटो, हि विल अल्सो बि हियर ।' ओके भनेर आधा घण्टापछि फर्किदा फोटोपनि लियौँ र भेट्यौँ योगेशजीलाई जो यस जहाजमा फोटोग्राफर रहेछन् । चार वर्ष भएछ उनले काम गरेको । प्रत्यक ८ महिनामा नेपाल जाने र दुई तीन महिनापछि फेरि ८ महिनाकोलागी जहाजमा फकिर्ने गर्दा रहेछन् । क्रुजमा काम गर्ने सबैको नियम नै यहि रहेछ । नित्य नै यहि रहेछ ।
जहाजभित्र खानपिनसहित मनोरँजनकोलागी झण्डै पाँचशय मानिस अटाउने एउटा छुट्टै रँगमँच तथा प्रेक्षालय हुँदो रहेछ । त्यस्तै विहान ७.३० मा खुलेर चार बजे विहान बन्द हुने क्यासिनो, विहान दश बजेदेखि राती दुईबजेसम्म चल्ने पाँचवटा बार, वयस्कहरुकोलागीमात्र अलग्गै स्विमिँग पूल, तीनवटा विशाल बफे बार जहाँ ब्रेकफास्ट, लँच अनि डिनर एकनासले उपलव्ध भईरहन्छन् । कर मुक्त पसल, लुगा फाटो तथा गहना पसल, गिफ्ट शपपनि रहेछन् । वयस्ककोलागीमात्र एकल व्यक्तिको हास्य कार्यक्रम दिनमा तीनपटकसम्म प्रस्तुत हुँदो रहेछ । डान्स ल्फोर, क्याफे, अन्य रेष्टुरेण्ट आदिपनि उपलव्ध रहेछन् । अर्काे अर्थमा एउटा सानोतिनो बजार जुन समुद्रमाथि चलायमान भई रहन्छ ।

माथि उल्लेखित रमाईला प्रसँगहरु बाहेक एउटा मन छुने प्रसँगः— सामान्यतयाः अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई बाटोघाटो हिँडदा पोशाकमा कोहि सैनिक भेट्यो भने ‘थ्याँक यु फर योर सर्भिस’ भन्न सिकाएका हुन्छन् । यो देशप्रेम र सेवकप्रतिको आदरको एक उदाहरण हो । यो देशप्रेम र देश सेवकहरुप्रतिको सम्मान जहाजभित्र पनि अनुभव गरिँदा मेरो मन छोयो । कमेडी शो (वयस्ककोलागीमात्र) होस् या अन्य मनोरँजनात्मक कार्यक्रम होस् तिनको अन्त्यमा कार्यक्रम सँचालकले दर्शकहरुलाई लक्षित गरेर ‘सैनिक सेवामा कार्यरत या कार्यरत भै सकेको कोहि दर्शकहरु यदि यहाँ हुनुहुन्छ भने तपाईले देशकोलागी गर्नुभएको सेवाकोलागी धन्यवाद भनेर’ उद्घोष गर्ने गर्दछ । अझ कहिले कहिले ति सेनाहरुलाई आआफ्नो ठाउँमा उठ्न लगाएर बाँकि अन्य दर्शकहरुबाट ताली बजाई अभिवादन गर्न लगाउने गरेको पनि पाइयो । देश सेवाकोलागी ज्यान हत्केलामा राख्न चाहने वर्तमान या भूतपूर्व सैनिकहरुकोलागी गरिएको यो सामुहिक सम्मान आफैँमा गौरवशाली अनुभव गरेँ । यसरी साधारण जनताबाट सामान्य अवस्थामापनि आफुले गरेको सेवाको कदर भएको पाउँदा ति सेनाहरुको छाति ठुलो भएको म आफैले अनुभव गरेँ । यस्तो सम्मानले ति सैनिकहरुले आफुले गरेको कामप्रति कति गौरव गर्दाहुन् सहजै अनुमान गर्न सकिन्छ ।

क्रुजको चौथो दिन जहाज मायामी फर्कने उपक्रममा उत्तरतर्फ हान्निई सकेको थियो । गल्फ अफ मेक्सिकोबाट सिधा उत्तर नभइ घुमाउरो बाटो लिएर मायामीकोलागी रातको दश बजे प्रस्थान गर्यो । अब भने यो जहाज कहिँ रोकिईने छैन । बुधबार राती हिँडेको यो जहाज अब शुक्रबार विहान ८ बजेमात्र रोकिने छ । कोठामा टिभि हेर्दा जहाज बाँकटे हान्दै कि वेष्ट र क्युबाको राजधानी हवानाको बीचमा पर्ने सामुद्रिक मार्ग समातेर हिँडेको देखिन्छ । गति उहि हो २१ नट्स प्रतिघण्टा । अर्थात जमीनको भन्दा ढिला । जहाजबाट ओर्लिएर घचेटौँ जस्तो । तर अब निस्कनकोलागी तयारी पनि गर्नुपर्यो नि भन्दै धमाधम सुटकेसहरु तयार गर्नपट्टि लागियो र सुतियो ।
मायामी पुगेपछि मायामी एक्सकर्सन प्याकेज किन्न पाईने रहेछ । आफ्नो ल्फाईट बेलुका चार बजेमात्र भएकोले झण्डै आठ घण्टा कसरी विताउने होला भन्ने विचारले मायामीपनि घुमिने, समयपनि विताईने भन्ने सोचेर सो प्याकेज लिन खोजेको त अप्ठ्योरोमा फलेको फर्सी झै पो रहेछ । सो प्याकेज आठ बजे शुरु हुने तर आफुभने ८ बजे मायामी पुगिने । लौ भएन । अब एयरपोर्टमा बस्ने कि त आफ्नै हिसाबले मायामी घुम्ने विचार गरियो । पानी जहाजले ८ बजे मायामीमा डक गरेपछि जहाजबाट निस्कन आफ्नो समुहको नाम नबोलाएसम्म कुरी रहनुपर्ने रहेछ । राम्रो व्यवस्थापनको कारणले निस्कँदा धक्कम धक्का नहोस् र निकास सुचारु होस् भन्ने हेतुले यसो गरिएको रहेछ । आफ्नो समुहको पालो आएपछि सहजै ढँगले सुरक्षा र अध्यागमनको बिन्दु पार गरेर एयरपोर्ट जाने बस चढेर एयरपोर्ट पुग्यौँ ।
एयरपोर्ट पुगेर चेक इन गर्न खोज्दा 'टू अर्लि' भन्यो । उडानको पाँचघण्टा अगाडि मात्र हुन्छ रे । अब के गर्ने ? मायामी त घुम्नै पर्यो । तर यो सामान के गर्ने र कहाँ राख्ने भन्ने प्रश्नले छोडेन । यहि सोचलाई एकछिन थाति राखेर वेष्ट पाम बीचमा बस्ने मेरा मित्र सुन्दर जोशीलाई आफु एयरपोर्टमा भएको कुरा भनेँ । (नभनुँ पनि कसरी ? पछि मित्रले थाहा पाए पछि 'फ्लोरिडासम्म आएर मलाई फोन नगर्ने ?' भन्ने वहाँको घुर्की सुन्नु पर्थ्यो | हुन त वहाँ वेष्ट पाम वीच अर्थात मायामीबाट दुइ घण्टा उत्तर बस्नु हुन्छ |)  कुराकानीको बिचमा वहाँले म एकजना भाईलाई सोध्छु, यदि उनको फुर्सद छ भने उनले तपाईलाई मायामी शहर घुमाईदिनु हुनेछ । मैले अप्ठ्यारो मान्दै होइन, अब नचिनेको मानिसलाई किन दुख दिईरहनु भनेँ । साथीले एकछिनपछि फोन गर्छु भन्नु भयो र एकछिनपछि वहाँको फोन आयो । वहाँले चुडामणि खनाल नामको भाई आउनुहुन्छ । वहाँले तपाईलाई घुमाईदिनु हुन्छ भन्नुभयो । हस् भनेर चुडाजीको फोन नम्बर लिएको मात्र थिएँ चुडामणिजीको फोन आइ हाल्यो । ओहो अतिथि सत्कारकोलागि कत्रो अग्रसरता | वहाँले 'म आउँदै छुँ' भन्नु भयो र आधा घण्टामा हामीलाई लिन एयरपोर्ट आईपुग्नु भयो । अनि मायामीको बे साईड तिर घुमाउन लग्नुभयो भने घरमा लन्चकोपनि व्यवस्था गर्नुभयो । पाँचदिनपछि नेपाली मसला र स्वादको खाना खाईएको थियो । खसीको मासु र भात अनि चरेसको थालमा । स्टिलका भाँडाहरुले प्रतिस्थापन गरिसकेको चरेसको थालमा खाना नखाएको एक युग भैसकेको थियो । आफ्नो बाल्यकाल सम्झेँ । गहिरो र गह्रौ अनि सुनौलो टल्किने चरेसको थाल । एकदम रमाईलो मानी खायौँ । मायामीको त्यस क्षेत्रमा बस्ने नेपाली जम्मा ८ ९ परिवार रहेछन् । धेरैजसो विद्यार्थी । अनि चुडाजी चाहिँ वहाँ सबैलाई चाहिएको सहयोग गर्दै हिँडने । सोहि दिनपनि कसैलाई अपार्टमेण्टकोलागी वहाँको सहयोगकोलागी चुडाजीकै घरमा आएका दुई भाईसँग मेरो भेट भएको यिथो । त्यसैगरि कसैलाई एकबाट अर्को अपार्टमेण्ट सर्न वहाँको मदतकोलागी फोनमा कुरा भई रहेको मैले सुनेको थिएँ । समाजसेवी मन र उदारताको उदाहरण थियो ।
लँच खाईसकेपछि एकछिन आरामकासाथ गफ गरेपछि हामी एयरपोर्टकोलागी प्रस्थान गर्यौँ । ४.४० को अमेरिकन एयरलाईन्सको हवाई जहाज चढेर भर्जिनीया तर्फ लागेपछि 'ला...भ्याकेशन त सिद्धियो पो' भन्ने सोचले झल्याँस्स पार्यो । तर मीठा सम्झनाले डोर्याई रह्यो र रहेको छ |