विश्वपरिक्रमाको गताँकमा आनन्दराम पौडेलको चिन्तन मनन स्तम्भअन्तर्गत प्रकाशित एक लेख पढदै जाँदा म नराम्ररी झस्किएँ र झस्किएको छुँ र कुरा प्रष्ट नभएसम्म झस्किई रहनेछु । लेखमा भनिएको थियो आनन्दजीका केहि साथीहरु जलेश्वर महात्तरी गएका रहेछन् । र ति जाने साथीहरुले नेपालको भूभागमा रहेको विजुलीका खम्बा खम्बामा भारतीय झण्डा फहराएको देखेछन् । अझ जनकपुर उद्योग वाणिज्य महासँघको कार्यालयमा नै अग्लो झण्डा पोलमा भारतीय झण्डा फहराएको देखेछन् । (यो लेख लेखुन्जेल मैले आनन्दजीसँग सम्पर्क तथा चिनाजान गरेर यसबारेमा बुझ्दा झण्डै दुईमहिना पहिला वहाँका साथी घुम्न गएको बेला देखेका रहेछन् । तर यस्तो सम्वेदनशील विषय किन मिडियामा आएन भन्ने कुराले मलाई घच्घच्याई रहेको छ)
के आनन्दजीले त्यस लेखमा बकवास गर्नुभएको हो ? या वहाँलाई घुमेर आउने ति साथीहरुले बकवास सुनाएका हुन् ? कुरा पत्याई नसक्नु छ तर असम्भवपनि छैन जस्तो लाग्छ बितेका घटनाक्रमहरु हेर्दा । किनभने मधेशवादीहरु भनाउँदाहरुले गरेका बोलेका व्यवहारहरु समाचारमा पढेकै हो, सुनेकै हो । मधेश विरोधमा उठ्ने औला काटिईने धम्की होस् या तीन महिनाभित्र तराई नेपालबाट छुट्टिने भनाईका धम्की होस् । अझ त्योपनि बहालवाला मन्त्रील समेत बोल्नुको पछाडि यिनिहरुको बकवास हो भन्न सकिन्न । कसैको आड या भरोसा नपाए राष्ट्र् विखण्डित गर्ने कुरा यसरी खुलेर बोल्ने हिम्मत गर्ने थिएनन् होला भनेर कसरी आशँका नगर्नु ? त्यसमाथि यस्तैहरुको काँध चढेर बनाएको सरकारले त्यस्ता राष्ट्र् विरोधी वक्ताहरुलाई कारवाहीको कुनै छनक समेत नदिनु जस्ता घटनाले उनिहरुमा हिम्मत बढेको छ भनेर कसरी नभन्नु ?
जस्तोसुकै प्रजातान्त्रिक मुलुक होस् या तानाशाहि मुलुकमा होस् देश विखण्डनको माग पूर्णतया राष्ट्र्घातीको रुपमा लिईन्छ । सँसारकै सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुक भारतमै पञ्जावकोलागी छुट्टै राज्यकोे माग होस् या विश्वका अन्य कुनैपनि कुनामा यस्तो माग चलेको होस् लाई निरँकुशताकासाथ दबाइएको छ । यहाँ निरँकुशताको अर्थ रक्षात्मक दृष्टिले भनिएको हो । हुन त नेपालमा छुट्टै राज्यको माग लिएर कुनै हतियार उठेका त छैनन् तर भौगोलिक परिस्थितिले गर्दा हतियार नै नउठाई यसलाई पुरा गर्न नसक्लान् भन्ने पनि छैन ।
मञ्चु्रियामा जापानले आधिपत्य जमाउन दशौँ वर्ष लगाएर जापानी सेना या जासुुसहरु हजामको रुपमा पसे । जब सबै परिस्थिति आफ्नो अनुकूल भयो तब जापानले मञ्चुरिया उपर हमला गर्याे । यथेष्ट सँख्यामा जापानीहरु त्यहाँ भैसकेकोले मञ्चुरियाको केहि लागेन र सजिलै जापानको अधिनमा पुग्यो ।
लेण्डुपहरु छैनन । अहिलेको काल, समय र परिस्थितिले लेण्डुप बन्न र बनाउन सजिलो छैन । तर लेण्डुप प्रवृत्ति भने विभिन्न रुप लिएर हाम्रै वरपर घुमिरहेका छन् भन्ने अनुभुति हुन्छ । कतै यसैको परिणति त होईन नेपालको भूभागमा विदेशी झण्डा विना कारण फरफराई रहेको ? आखिर कुरा के हो ?