https://twitter.com/Chirvir

Tweet me @chirvir







Thursday, August 15, 2024

धार्मिक नेतृत्वमा समाज सुधारकको सम्भावना

 धार्मिक नेतृत्वमा समाज सुधारकको सम्भावना 

बासु श्रेष्ठ 

हाल: काठमाडौँ 


अहिले काठमाडौँ पशुपति क्षेत्रमा जारी एक महिने कोटी होमको विशेष चर्चा छ | यो कोटीहोम मानवसेवा फाउन्डेसनकोतर्फबाट गरिएको हो | महायज्ञ अवधिभरी एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण,  वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने भनिएको छ | कुनै सङ्घसंस्थाको सहायतार्थ यस्तो धार्मिक कार्यको अनुष्ठान गरिएको यो पहिलो पटक भने होइन | तर यस स्तरको र पशुपति क्षेत्र विकास कोषको परिसरमा गरिएको भने पहिलो नै हुनुपर्छ |


यस महायज्ञमा नेपालबाट वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, भारतबाट राधिका दासी तथा बेलायतबाट श्री राम कथावाचक चन्द्रकला सखी लगायतले कथावाचन गर्ने जनाइएको छ । यीनका कथा वाचन सुन्न र धर्म, भजन किर्तनमा लिप्त हुन हज्जारौंको संख्यामा दिनहुँ सहभागी भैरहेका छन् | अपवादका रुपमा सिने कलाकारहरु आफ्नो आगामी चलचित्रको बिज्ञापन गर्न समेत पुगेका छन् | किनभने यीनले त्यहाँ अपार जनसमूहका बीच आफ्ना भनाई राख्न पाउँछन् | तर यो सुविधा आयोजकले के कसरी दियो त्यो गर्भकै बिषय हो |


यी वाचनकर्ताको मूल उदेश्य हो अनुष्ठानको उदेश्य पुरा गर्नु अर्थात आयोजककोलागी बढी भन्दा बढी चन्दा सङ्कलन गरिदिनु हो | यसबापत वाचकले पनि निश्चित रकम पारिश्रमिक स्वरूप लिने गर्छन् | जति बढी सङ्कलन भयो उति दुवै पक्षलाई फाइदा | तर कबूल गरिएको रकम सङ्कलन नभएको खण्डमा चाहीं आयोजक घाटामा पर्न जाने हुन्छ र यो मैले देखेको छु | कथा वाचकले कबूल गरेको रकमको प्रतिशत लिने हो, सङ्कलित रकमको होइन | तसर्थ, यस्ता आयोजनामा बढी भन्दा बढी नगद सङ्कलन भएको राम्रो ठहरिन्छ | 


जे होस्, चाहेमा यी कथावाचकहरु धार्मिक प्रवचन दिनुका साथै समाज सुधारकको भूमिका पनि सहजै खेल्न सक्छन् | हिन्दु धर्म त्यो पनि नेपालका अनुयायीहरुमा अलि बढी अन्धविश्वासले ग्रस्त देखिन्छ | पूजाआजा धर्मको नाममा मूर्ति त के प्रकृतिलाई नै समेत हानी पुर्याउने, वातावरण दुषित बनाउने, फोहोरमैलाको कारण बन्ने आदि सजिलै हुने गरेको पाइन्छ | यसका उदाहरणहरु बाटो हिंड्दा नै पनि प्रशस्त देख्न पाइन्छ | काठमाडौँमा बग्ने नदीको हालत पनि देखि नै रहेका छौ | जबकि हाम्रो धर्मले प्रकृतिलाई पनि देवताको रुपमा पुज्ने गर्छ |

 

तर बिडम्बना के भने हामी जसलाई पूजा गरिरहेका हुन्छौं, उसैलाई हानी पुर्याईरहेका हुन्छौं | एक शनिवार, पीपलको रुखको फेदमा बाक्लो धुँवा आइरहेको देखेँ | स्वभाविक कौतुहलतावश नजिक गएर हेर्दा कसैले पीपल रुखलाई आरतीको बत्ती बालेको रहेछ | ति अज्ञात भक्तजनको बुद्धिप्रति आक्रोशित हुनु बाहेक अन्य उपाय थिएन | बत्तीलाई सक्दो शमन गरेर म आफ्नो बाटो लागें | तर यो घटना मेरो मानसपटल अटल भएर रहेको छ |

हामी भूतप्रेत मन्साउने, ग्रहदशा शान्त पार्ने तथा देवतालाई चढाउने नाममा टपरी या दुनामा खानेकुराहरु राखेर दोबाटो चौबाटोमा राख्छौं | तर ती खानेकुराहरु छरिएर वरपर फोहोर हुने, दुर्गन्ध फैलिनेप्रति रत्ती सजग हुँदैनौं | यो हाम्रो धर्मान्धता हो |


म यी प्रभावकारी कथावाचकहरुले यस्ता विकृतिका विरुद्ध श्रोता भक्तजनहरुलाई सजग बनाउन् भन्ने आग्रह गर्दछु | त्यसै गरी, पुरेत, पण्डितहरुले पनि धर्मको माध्यमबाट आआफ्ना ठाउँबाट भक्तजनहरुलाई अन्धविश्वास, छुवाछुत तथा अन्य विकारहरुबाट मुक्त गराउन सक्छन् जुन सरकार तथा सरकारका कानुन नीति नियमले पनि सकिरहेका छैनन् |


बागमती फोहोर, रुग्ण र जीर्ण हुनुमा म पनि दोषी छु | तथापी, ममाथि घटेको घटनाभन्दा पहिले नै बागमतीको दुर्गति आरम्भ भैसकेको थियो | तर त्यस कुकृत्यमा म पनि धार्मिक बाध्यताको कारणले समावेस भएँ |


बागमती किनारको पशुपतिस्थित किरियापुत्री घरमा १३ दिन बुवाको किरिया बस्ने क्रममा त्यस रुग्ण नदीमा मैले दिनहुँ पितृको नाममा कपडा बगाएँ, (पानी भए त बग्नु, फालें भन्नु उचित होला) अन्नादीहरु फालें, फलादी फालें र थप फोहोर बनाएँ | यो उपक्रममा मलाई अति ग्लानी भैरहेको थियो | तर आफूभन्दा जेठाबाठाहरु, विद्वान पुरेतहरुसँग युगौँदेखि चल्दै आएको यस रीतप्रथाको बिरुद्ध बोल्न असमर्थ रहें | विदेशबाट आएर किरिया बसेको मलाई नास्तिक भयो, विदेशी भयो, भ्रष्ट भयो भन्ने आक्षेपबाट बच्नुकासाथै आमाको मन पनि दुखाउन चाहिनँ | तसर्थ, १३ दिनका हरेक दिनका हरेक क्रियाकलापमा बागमतीसँग मनमनै क्षमा माग्दै यी कृत्य गर्दैरहें |


यी र यस्ता अन्धविश्वासहरु हटाउन शिक्षा नै महत्वपूर्ण हो र यसले बिस्तारै निर्मूल गर्दै जाने छ भन्ने निकै वर्ष पहिलेको मेरो विश्वास असफल भएको छ | शिक्षा नै अपूरो, अधूरो र शिक्षकहरु पनि सोहि अनुसारका भएको पाएको छुँ | र त, आजका युवाहरुमासमेत अन्धविश्वास र रुढिवादीले झन् जरा गाडेको पाइन्छ | 


तर पछि शिक्षामात्र यी अन्धविश्वास हटाउन पर्याप्त छैन यसलाई धर्मले नै काट्नु पर्छ र यो नै प्रभावकारी हुन्छ भन्ने मेरो निर्क्यौल योगमाया उपन्यास पढेपछि आएको हो | योगमायाका अनिगिन्ती अनुयायीहरु योगमायाले महिलाको पक्षमा उठाएको आवाजको पक्षमा त लागे | तर, धर्मको नाममा हुने या भैरहेका पश्चगामी अन्धविश्वासका बिपक्षमा यस सुधारको पक्षमा बोलेको पाइन्न | धार्मिक प्रवचन दिएर असँख्य अनुयायी बटुल्न सक्ने वक्ता आफु पनि सजग भएर धर्ममा रहेको या धर्मको आधारमा उत्पन्न गरिएका अन्धविश्वास तथा रुढिवादीलाई धार्मिक प्रवचन मार्फत चिर्न, फाल्न या कम गर्न सक्छ | तर त्यो गरेको पाइँदैन | जुन दुखद कुरा हो | अब सबै धर्म गुरुहरुको ध्यान यता पनि जाओस् |