https://twitter.com/Chirvir

Tweet me @chirvir







Monday, December 26, 2016

हामी, बाँसबारी छाला जुत्ता कारखाना र माओ |

हामी, बाँसबारी छाला जुत्ता कारखाना र माओ |

आज डिसेम्बर २६ माओ त्से तुड़्गको जन्मदिनपनि रहेछ। त्यसैले उनि सम्बन्धि आफ्नो बाल्यकालको सम्झना आयो।
शायद २२ २३ सालको कुरा हुँदो हो। बाँसबारी छाला जुत्ता कारखाना चीनको सहयोगबाट भर्खर सॅचालनमा आएको थियो। यो कारखाना मेरो घरबाट पाँच मिनेटको दूरीमा थियो। कारखाना पुग्न त्यसको दक्षिणपट्टि रहेको चौर भएर जानु पर्थ्यो। त्यहि चौरको पश्चिमपट्टि भने पर्खाल लगाईएको थियो। त्यस पर्खालभित्र चीनबाट छाला कारखाना सॅचालनकोलागी सहयोगार्थ आएका चिनिया कर्मचारीहरु बस्थे।
यो जुत्ता कारखाना संचालनमा आएपछि हामी बाँसबारीका वासिन्दामा भने दुर्गन्ध त्रासले वास गरेको थियो | विशेष गरि बेलुका खान खान बस्दा कारखानाबाट आलो छालाहरू प्रशोधन गरिंदा त्यसबाट निस्किएको दुर्गन्ध घरघर पसेर आतंक झैँ मच्चिन्थ्यो | त्यसकारण त्यस समय भन्दा अगाडी या पछाडी खाने पनि गर्नु पर्थ्यो | तर जतिबेला खाएपनि दूर्गंधको प्रकोप भने रही नै रहन्थ्यो | अर्को कुरा कारखानाको पछाडी त्यसै फालिएका कम नलाग्ने आलो छालाहरु भुस्याहा कुकुरहरुले घर घर बोकेर आउँदा अर्को दूर्गंध आतंक फैलने गर्थ्यो | यो भयो हामी टोलवासीहरुले भोग्नु परेको भोगाई |
कतिले त छाला गन्हाउने टोलमा घर? भनेर होच्याउने या जिस्काउने गर्थे | तर यो बाँसबारी अहिले छुन नसकिने भएको छ जग्गाको हिसाबले |
यसका साथै यस कारखानाले जुत्ता संस्कारमा ल्याएको परिवर्तन र आर्थिक देनपनि उत्तिकै छ | धनीमानीहरुले मात्र लगाउने या विदेशको विशेष गरि बाटा जुत्ताको बजार रहेको शहरहरुमा विस्तारै बाँसबारी जुत्ताले प्रतिस्थापन गर्न खोज्यो | त्यसैगरी जुत्ता नलगाउनेहरुकोलागि पनि किफायती या सस्तो भएकोले लगाउने चलन बढ्दै जान सहयोग पुर्याएको थियो | यसले देशको आर्थिक ढुकुटीमा पक्कै मद्दत गरेको थियो होला भने रोजगारीको समस्यापनि केहि हदसम्म कम नै गरेको थियो होला | लौ, कुरा अन्तै तिर पो लाग्न थाल्यो | जे होस्, प्रसंगमा फर्कौं |
हामी भुराहरु त्यो चौरमा खेल्न जाँदा ति चिनिया कर्मचारीहरुले  खानकोलागी पाउरोटिहरु दिने गरेर हामीलाई पल्काएका थिए| त्यसको साथै माओको सा...नो तक्मा देखि हत्केलाभन्दा ठुला तक्माहरुपनि दिने गर्थे। हामी ति तक्मा असाध्य रमाईलो मान्दै ओजपूर्ण लगाएर घर, स्कुल आउजाउ गर्थ्यौं। हामीलाई के र किन तक्मा लगायौं भन्ने विषयमा रत्तिपनि ज्ञान थिएन। अपितु त्यो एक बाल लहड या फैसनमात्र थियो।
थप तक्मा पाउने अर्को कारणपनि थियो। हाम्रो घरको उत्तरपूर्व पाँच मिनेटको दूरीमा रहेको पाखोमा एक विशाल बरको रुख थियो। यस रुखमा चील, गिद्ध, कागहरुको नियमित बास हुन्थ्यो। यहाँ आएर मेरो केहि साथी विशेष गरी विष्णु यि चील, गिद्ध या काग गुलेली हानी मार्ने या घाईते बनाएर ति चिनियाहरुलाई दिन लग्थे। पुरस्कार स्वरुप भनौँ जेसुकै वापत होस् ति तक्माहरु पाउॅथे। साथमा हामीलेपनि पाउँथ्यौं। अनि कसको तक्मा ठुलो या धेरै छ भन्ने एक प्रकारको प्रतिस्पर्धा हुन्थ्यो।
२४सालमा मैले काठमाण्डौ छोडें । अनि २८ सालमा फर्किॅदा यि तक्माहरु ईतिहास भैसकेका रहेछन्। कसैले घरमा लुकाएर राख्ने बाहेक कसैको छातिमा देखिएन। जनकपुर जाँदा छोडिएका ति मेरा तक्माहरु २८ सालमा फर्किॅदा खै गर्ने बुध्दि र स्मरण पक्कै थिएन । तर, अहिले सम्झॅदा शायद घरकाहरुले फालि दिएको हुनुपर्छ भन्ने मलाई लाग्छ।
र ति तक्मा त्यसरी फालिनु या ईतिहास हुनुको कारण अहिले सम्झिॅदा पक्कै सरकारले बन्देज लगाएको हुनुपर्छ । यसलाई अलि गहिरिएर अहिले बिचार गर्दा मलाई के लाग्छ भने चिनिया सरकारको सहयोगमा बनेको त्यो ऐतिहासिक जुत्ता कारखाना नेपाल सरकारको स्वामित्वमा नआएसम्म चिनिया कर्मचारीहरुले गरेको क्रियाकलापलाई नरोक्ने। तर, कारखाना नेपाल सरकारको स्वामित्वमा आएर चिनियाहरु फर्किने बित्तिकै ति तक्माहरुमा बन्देज लगाईने ध्येय थियो होला र सोहि मुताबिक गरिएको हुनुपर्छ भन्ने अनुमान गर्छु म ।
कारखाना ईतिहासको गर्भमा गएपनि कारखानाको त्यस भवनमा अहिले गड़ूगालाल अस्पतालले बास गरेको छ। चिनिया बस्ने ति क्वार्टरहरुमा अस्पतालका कर्मचारी बस्दा हुन्। चील गिद्ध बस्ने त्यो बुढो रुख अझै छ, तर ति विस्थापित भएर विचरा भएका छन्।
जे होस्, अहिल ति दिन सम्झिंदा चीनले माओको कति प्रचार प्रसार गरेका रहेछन् भन्ने सानो उदाहरणको रुपमा यसलाई लिन सकिन्छ | हामीभन्दा जेठाबाठाहरुले माओका रेड बुकहरु कति पढे हुन् | र कालान्तरमा आएर देश त माओकै नाममा द्वन्दमा समेत पर्यो | भलै यो द्वन्द मेरो बाल्यकालको सम्झनासँग कुनै तादात्म्य राख्दैन |
माओको जन्मदिन आजै परेकोले प्रसंगवस नोस्टाल्जिक भई यो सानो संस्मरण बाँड्न चाहें |


Sunday, October 2, 2016

छक्का पन्जाले दुखायो भुँडी

धेरैपछि गत महिना प्रियंका कार्कीद्वारा अभिनित माला हेरेपछि आज अर्को चलचित्र छक्का पन्जा हेर्ने अवसर जुट्यो |
भिन्तुना इन्टर्नेशनलद्वारा भर्जिनियाको लोमेन्स प्लाजामा प्रस्तुत गरिएको यो हास्य चलचित्र हास्य कलाकार दीपा श्री निरौलाद्वारा निर्देशन गरिएको हो | अन्य हास्य कलाकारहरु जितु नेपाल, शिवहरि पौड्याल, दीपकराज गिरी, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, नम्रता सापकोटा आदि कलाकारले अभिनय गरेका छन्। यसो भन्दा यो चलचित्र हास्य कलाकारको सँगम भने हुन्छ |




वैदेशिक रोजगार र यसले भित्र्याएको दुष्परिणाम तथा कुप्रवृत्तिलाइ कथावस्तुको मूल आधार बनाइ निर्माण गरिएको यो चलचित्रमा कुनैपनि कलाकारले आफ्नो अभिनयमा चुकेका छैनन् | त्यसैगरी पहिलो पटक निर्देशनमा ओर्लिएकी दीपाश्रीले पनि सफलतापूर्वक निर्देशन गरेकी छिन् भन्दा अतिशयोक्ति नहोला |
चलचित्रभित्र नाटक गर्ने प्रियंका कार्की कतै कतै सबल र सचेत नारीको रुपमा देखा परेकी भएकी पनि चलचित्रको अन्त्यमा तिनले गरेको नाटक बारेको पर्दा खुल्दा भने पहिले देखिएको तिनको नारीवाद र सचेतता फिक्का पर्न जान्छ | यस बारे निर्देशन, लेखनमा ध्यान नपुर्याएको जस्तो देखिन्छ |
तर थुप्रै हास्य उखान टुक्काहरुलाई संवाद बनाएर दर्शकलाई हँसाउन सक्नु संवाद र पटकथाको खुबी मान्नु पर्ने हुन्छ |
छायांकनकोलागी ड्रोन समेत प्रयोग गरिएको यस हास्य चलचित्रमा कुशल छायाँकन, कुशल संवाद, कुशल सम्पादन र कुशल अभिनयको सङ्गम हो भन्न सकिन्छ |
दुइ घण्टा १० मिनेट अवधिको यो चलचित्रमा खट्किने एउटा विषय चाहिं द्वन्द हो | अर्थात् लोग्ने स्वास्नी बिचका झगडा | एक अर्कालाई थप्पड हान्ने दृश्यले भने अमेरिकामा हुर्कीई रहेका बालबालिकामा सकारात्मक संदेश जान्छ भन्न सकिन्न | चलचित्र हेर्न आफैसँग लग्न बाध्य अभिभावकहरु ति बालबालिकाबाट अबोध प्रश्नको सामना नगर्लान भन्न सकिन्न | तसर्थ, चलचित्रको प्रचार प्रसार गर्दा नै अभिभावकहरुलाई यसबारे केहि सचेत गराउन सके तिनले सावधानी अपनाउंथे होलान् | यस अघि प्रदर्शन गरिएको माला चलचित्रमा बालबालिकाहरु डराएर अभिभावकहरु प्रेक्षालय छोडेर बाहिर निस्कन परेको कुराको साक्षी यो लेखक रहेको छ | त्यसकारण आयोजकहरुले यस बारेमा ध्यान पुर्याउन् भन्ने चाहेको छु |
जे होस्, भिन्तुना इन्टरनेशलले नियमित रुपमा नेपाली चलचित्र प्रदर्शन गर्ने जमर्को गरेको कुरा यससँग सम्बद्ध सुरेश सापकोटाले बताएका छन् | हाम्रो शुभकामना सहित |



Friday, April 15, 2016

खोई अनलाईन समाचारको विश्वसनियता?

बासु श्रेष्ठ
भर्जिनिया
  
एउटै समाचारको श्रोत र एउटै फोटो राखेर दुई भिन्दाभिन्दै समाचार दुई अनलाईनमा प्रकाशित हुनुले के जनाउँछ?

(जूम गरिएको फोटो)
 माथिको फोटो राखेर राससको हवाला दिँदै अनलाईन खबरमा अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाहभन्ने शिर्षकमा समाचार प्रकाशित गर्याे । पुरा समाचारकोलागी लिँकमा क्लिक गरेर हेर्नुहोस्ः http://www.onlinekhabar.com/2016/04/415142/

                                                            (जूम नगरिएको फोटो)
तर अर्काेतिर सेतोपाटीले भने यहि फोटो जूम नगरी राखेर छोरीले नै अन्माईन् आमाशिर्षकमा राससकै श्रोतमा सुरुँगा, झापाको भनेर बेग्लै समाचार प्रकाशित गरेको छ । पुरा समाचारकोलागी लिँकमा क्लिक गर्नुहोला http://setopati.com/samaj/45168/

पक्कैपनि समाचार प्रकाशित गर्ने हतारमा यस्तो भएको हुनुपर्छ । तर यसले पाठकमा कस्तो असर पर्न जान्छ भन्ने कुरा विचारणीय छ ।

Thursday, March 31, 2016

एसएलसी नोष्टाल्जिया

एसएलसी नोष्टाल्जिया

बासु श्रेष्ठ

आजदेखि शुरु भएको एसएलसी जाँचले २०३२ सालको माघमा ३१९९८ 'आर' सिम्बल लिएर जनकपुरको सरस्वती हाई स्कुल केन्द्रमा आफुले दिएको जाँचको सम्झना हरेक वर्ष झैँ यसपालीपनि गरायो | फरक, त्यो फलामे ढोका छिर्न जाँच दिएको यस पटक ४० वर्ष ३ महिना भएछ | तरपनि किन हो हिजोमात्र जाडोको कुहिरो छिचोल्दै त्यो जाँच दिन गए झैँ लाग्छ |

जनकपुर शहरको केहि किलोमिटरको दूरीमा तीन हाई स्कुल रहेका छन् | पहिलो, बाह्र बिघाको बाहिर मध्य-पश्चिममा रहेको जानकी हाई स्कुल, दोश्रो बाह्रबिघाको बाहिर उत्तर-पूर्वमा रहेको सरस्वती हाई स्कुल अनि यसै स्कुलको पूर्वपट्टी रहेको पोखरीको पारीपट्टी कन्या हाई स्कुल रहेका छन् | यति सानो परिधि भित्र तीनतीन हाई स्कुल शायदै अन्त कतै होला कि भन्ने लाग्छ | यि तीनै हाई स्कुलका बिच एकापसमा कुन स्कुलको हेड सर कडा छन् र कुन स्कुलबाट धेरै विध्यार्थी पास हुन्छन् भन्ने विषयमा अघोषित प्रतिस्पर्धा थियो | तर, यस विषयमा प्रायशः कन्या स्कुल नै कमजोर देखिन्थ्यो | शायद कन्या स्कुल अलि लिबरल भएकोले हो कि?

२०२८ सालमा लागु भएको नयाँ शिक्षा पद्धतिको हामी दोश्रो ब्याच थियौं | पहिलो ब्याच चितवन र भरतपुरपछि दोश्रो ब्याचको रुपमा धनुषा र महोत्तरी (शायद)मा लागु भएको थियो | धनुषा जिल्लाको पहिलो ब्याच चितवन र भरतपुरसँग आफ्नै प्रकारको अघोषित शैक्षिक प्रतिस्पर्धा थियो | त्यसैले यो ब्याचप्रति हाम्रा गुरुहरुको भरोसा र आश थियो |

मेरो स्कुल थियो जानकी हाई स्कुल र जानकी हाई स्कुलबाट म लगायत झण्डै ६५ जना एसएलसी जाँचमा सम्मिलित भएका थियौं | हाम्रो केन्द्र थियो सरस्वती हाई स्कुल | त्यस स्कुलका हेड सरपनि आफ्नो हेड सर उपेन्द्र झा झैँ सार्है कडा सरमा गनिन्थे | केन्द्रको सुपरिन्टेन्डेट उनै हुने हुनाले हामी अलि थर्कमान नै थियौं |

यो एसएलसीमा नयाँ शिक्षा र पुरानो शिक्षाका दुवै एकै पटक समावेश भएका थिए | परिक्षा हलमा एउटा बेन्चको एक छेउमा नयाँ शिक्षा, अर्को छेउमा पुरानो शिक्षा अनि तिनको ठिक अगाडी र पछाडी विपरित शिक्षा प्रणालीको विध्यार्थी पार्ने गरी सिट प्लान गरिएको थियो | तर मेरो एकजना साथीले मसँग उनको सिट पार्न अर्को ठाउँमा टाँसिएको आफ्नो सिट प्लान उप्काएर म बस्ने बेन्चमा ल्याएर अर्कोसँग साटासाट गरे | उनले पहिले नै मसँग बस्ने र मेरो सहयोग लिने भनेका थिए | ति साथीसँग अरु त अरु सुपरिन्टेन्डेटलेपनि केहि नबोली नदेखे झैँ गरे | म पनि साथीलाई सहयोग हुन्छ भने राम्रै हुन्छ भनेर खुशी नै मानेको थिएँ | फेरी कथम् चिट सार्नु परेको खण्डमा त्यस साथीको आड भरोस पनि हुने भएको थियो | जाँचमा उनले प्राय: सबै विषयको उत्तर मबाट हुबहु सारेको हुनाले या दुवै जना पास या दुवै जना फेल भन्ने मैले अठोट गरिसकेको थिएँ | तर त्यसो भएन |

मेरो स्कुलबाट जम्मा ४ जना मात्र उत्तीर्ण भए | त्यस चारजनामा आफुपनि परेकोमा खुशी नहुनुपर्ने कारण नै थिएन | टेष्टको जाँचमा उत्तीर्ण नम्बरको आधारमा पहिलो, दोश्रो, तेश्रो र चौथो भएकामात्र एसएलसीमा पास भएछन् | त्यसमध्ये एक म परेको थिएँ | मुकुन्द घिमिरे, शत्रुघ्न यादव, अखिलेश सिंहपनि सँगै पास भएका थिए | यसरी टेष्टमा पहिलो र दोश्रो भएका दोश्रो श्रेणी र तेश्रो र चौथो भएका तेश्रो श्रेणीमा पास भयौं | देशभरी कूल विध्यार्थीको ३१.०९% मात्र पास हुनेमा आफु पर्नु भाग्यमानी नै ठान्नु परेको थियो |

तर अर्को वर्ष एसएलसी उत्तीर्ण गर्ने मेरा कतिपय साथीहरु अहिले कोहि अध्यापनमा छन् या कोहि न्यायाधिस भएका छन् त कोहि सम्पादक तथा अन्य सम्मानजनक पेशामा पुगेका छन् | त्यसैले ति साथीहरुको प्रगतिप्रति मलाई गौरवको अनुभूति हुन्छ |

तर दूर्भाग्य, मैले यो जाँच पास गरेको खुशियाली यि साथीहरुसँग मनाउने मौका मिलेन | किनभने जाँचको लगत्तै र रिजल्ट आउनु पहिले नै बुवाको जागीरले गौरतिर हिँड्नु परिसकेको थियो |

एसएलसीको रीजल्ट मैले गौरमा पुगेको केहि महिनापछि असार या साउनतिर थाहा पाएँ | गोरखापत्र आउन दुईहप्ता लाग्ने | त्यसबेला संचारको छरितो एकमात्र माध्यम आवा (आकाशवाणी) महँगो थियो | त्यसकारण गोरखापत्र कुर्नै पर्ने भयो | स्थानीय पुस्तकालयमा संधै जाने गरेकोले एकदिन गोरखापत्र आइपुगेको थाहा भयो | गोरखापत्र हातमा लिएपछि पो सारा शरीर सुस्त, मुटुको चाल तिब्र अनि आँखा रसाएर शरीर कामेजस्तो अनुभव हुन थाल्यो | जाँचमा राम्रै गरेकोले माथिल्लो श्रेणीबाट आफ्नो नम्बर खोज्न शुरु गरेँ | यो क्रममा पहिलो, दोश्रोमा नभेटेपछि आश मार्दै अन्तिममा हेर्दा आफ्नो नम्बर टकरक्क देखें | विश्वास भएन | फेरी हेरेँ | आफ्नै नम्बर हो | फेरी हेरेँ | हो म पास भएछु | अब यसपटक चाहि खुशीले मुटु बाहिर आउला झैं भयो | तुरुन्त पुस्तकालयबाट निस्किएर दौडेर घर गएँ अनि आमालाई यो खबर सुनाएँ | खुशी नहुने कुरै थिएन | आमा सगुनको तयारी गर्न थाल्नु भयो | म भने फेरी एक पटक पुस्तकालय गएर हो कि होइन निर्क्यौल गर्न गएँ | घरबाट दश मिनेटको दूरीमा रहेको त्यो पुस्तकालय र घरको ओहोरदोहोर मैले त्यो दिन कम्तीमा तीनचार पटक गरेँ हुँला |

यस पछि मैले देखेका सपना के कसरी पुरा भए भएनन् कुनै अर्को प्रसँगमा उल्लेख गरुँला | तर आज देखि शुरु भएको एसएलसीले मलाई प्रत्येक वर्ष झैँ माथिका सम्झना ताजा गरिदिएको छ | तपाईकोपनि केहि सम्झना बाँड्ने कि?

हालको एसएलसीको प्रारूप केहि फेरिएको भएपनि यसको महत्व र चर्चा उत्तिकै छ | त्यसैले आजदेखि यो जाँचमा संग्लग्न हुने बहिनी भाईहरु लगायत सबैलाई उज्ज्वल भविष्यकोलागी मेरो शुभकामना |

Friday, March 25, 2016

बिमा भुईचालो

बासु श्रेष्ठ
उडब्रिज, भर्जिनीया


मानिसले कुनैपनि क्रय विक्रय या अन्य कारोबार सबैभन्दा पहिले आफ्नै समुह या समुदायबाट आरम्भ गर्छ । त्यसपछि वस्तु या सेवाको प्रकार र प्रभावले समुदाय या समुह बाहिरपनि त्यस्तो कारोबार हुनपुग्छ । यसको मूल कारण हो भाषा र सम्बन्ध । किनभने कुनै व्यक्तिले केहि वस्तु या सेवा बेचविखन गर्न स्वाभाविकरुपले आफ्नै चिनेजानेका या उसको मार्फत प्रचार प्रसार आरम्भ गर्छ । र यसो गर्दा अन्य भाषाको प्रयोगपनि गर्नुपर्दैन र कारोबार सहज हुन्छ । लिनेदिने दुबैले वस्तुको प्रकार तथा आवश्यकताको आधारमा कारोबार गर्छन् ।


यसरी गरिने कारोबारका वस्तुहरु असल र राम्रापनि हुन सक्छन् भने नराम्रा र नक्कलीपनि हुनसक्छन् । वस्तु या सेवा जेजस्तो भएपनि चिनजानका मार्फत आफु सामु आएपछि नाता या सम्बन्धअनि विश्वसनियताको आधारमा कारोबार हुन्छ । कसैले लोभ लालचमा परेर कारोबार गर्लान् या कसैले राम्रो अध्ययन र अनुसन्धान गरेर निर्णय गर्लान् र सोहि अनुसार वस्तु या सेवाको चर्चा परिचर्चा हुन्छ भई कारोबारमा बृद्धि हुने या खुम्चिने गर्छ ।


प्रसँग हो अहिले अमेरिकी नेपाली समाजमा चर्चामा रहेको जिवन बिमा । अधिकाँश बिमितहरु नेपालीबाट नै ठगिएको अनुभव गर्दै आफ्नो तीतो सामाजिक सँजाल लगायत केहि अनलाईन सँचारका सतहमा पोख्दै आएका छन् । आर्थिक दृष्टिले आज गाहारो भएपनि भविष्य सुनिश्चित हुन्छ भनेर हिजोसम्म ढुक्क हुनेहरु रातारात अनिश्चितताको खाल्डोमा जाकिएको अनुभव गर्दैछन् ।


जिवन बिमालाई लगानी ठानेर त्यसको प्रतिफलको आशा गर्नु नै तिनको अपराध हो भन्दा अतिशयोक्ति नहोला । बिमा र लगानी दुई अलग शब्द, दुई अलग अर्थ लाग्ने र दुई अलग क्षेत्रसँग सम्बन्धन राख्दछ । बिमितहरुले बिमा एजेण्टसँग अधिकाधिक प्रश्न गरेर, यथेष्ट अध्ययन तथा शोध गरेर आफ्नो धनको सुरक्षाको सम्भाव्यता आदिको बारेमा बुझेको भए आज आएर आत्तिनु पर्ने अवस्था आउने थिएन होला । तर माथि नै भनिए झैँ एकै भाषा बोलिने, एकै देशको र एक समुदायको र अझ नजिक या आफन्त व्यक्तिको अनुरोधमा र विश्वासकै आधारमा वस्तु या सेवाको कारोबार गरेकोले यो अवस्था आएको हो । त्यसो भन्दैमा वस्तु या सेवा खराब नै छ भन्नपनि सकिन्न । तर, मानिसहरुमा देखिएको कौतुहलता हेर्दा भने अधिकाँशहरु राम्रोसँग अध्ययन नगरी कारोबार गरेका रहेछन् भन्ने स्पष्ट हुन्छ ।


अर्कातिर, वस्तु या सेवाको बारेमा त्यसरी प्राविधिक प्रश्न गर्ने, जटिलताबारे बुझ्ने, शँका उपशँका निवारण गर्ने भनेको तत्सम्बन्धी ज्ञान भएकाहरुलेमात्र गर्छन् । सामान्य प्रकारका मानिसहरु विक्रेताले जे भन्यो त्यसैको आधारमा कारोबार गर्छन् । त्यसैले विक्रेतामा नैतिक आचरण भएन भने मानिसहरु ठगिन सक्छन् ।


भनिन्छ, पैसाको मुख कालो हुन्छ । त्यसैले पैसाको कारोबार गर्दा यथेष्ट विचार पुर्याउनु पर्ने हुन्छ । एक या दुईपटकको कारोबारको कुरा नभई महिनै पिच्छे अनवरत रुपमा पैसा बुझाई रहनु चानचुने कुरा होईन । त्यसमाथि आफ्नो आम्दानीको ठुलो हिस्सा बुझाउँदै जानु भनेको आफ्नो गाँसबासबाट कटौती गर्नु हो । नेपाली रुपैँयाको दाँजोमा क्रय शक्ति बलियो रहेको एक एक डलरको महत्व बढि हुनेगर्छ । तरपनि भोलीको सुरक्षा या प्रतिफलकोलागी कसैले महिनाको १४०० डलरसम्म तिर्ने गरेको मैले थाहा पाएँ । पछि तिर्न नसक्ने भएपछि केहि रकम घटाईएको भएपनि अब त्यो मासिक रकम त्यस व्यक्तिलाई समस्या हुँदै गएको थाहा पाएको छु । अहिले सबैभन्दा बढि विरोधको स्वर सुनिएको बिमाको मासिक शुल्क कम्तीमा दुईशय पर्ने मैले थाहा पाएको छु । मलाई मेरै नजिकको मित्रले बिमा खरिद गर्न पटक पटक गरेको अनुरोध मैले नकार्दे आएको कारण हो म प्रत्येक महिना त्यति रकम बुझाउन असमर्थ छु भन्ने कुरामा स्पष्ट थिएँ र छु | त्यसैगरी म भविष्यको प्रतिफलतर्फ लालायित भईन र यसलाई मैले लगानीको रुपमापनि कहिल्यै हेरिनँ । साथै म अरुलाई आफ्नो प्रोडक्ट बेच्न सक्ने क्षमता नभएको अर्थात् अरुलाई कन्भिन्स गर्न नसक्ने तथा ठान्दै यसलाई पन्छाउँदै आएँ ।


तर, मैले गरेको सोच या सावधानी तथा सजगता नगर्नेहरु आज अन्यौलको भूमरीमा परेका छन् र काननुी उपचार खोजीरहेका छन् । तर, कानुनको देशमा बसेर आफुले दस्तखत गरेको कागज आफैले राखेर मैले कुरा नबुझी मलाई फलानोले झुक्यायो भन्ने आरोप अपराध प्रमाणित हुन्छ हुँदैन त्यो भविष्यकै कुरा हो । अर्कोतर्फ आफन्त या नजिकको व्यक्ति भएको नाताले करकापमा परेर महिनाको ४-५ शय तिर्ने सम्झौता गरेपनि केहि महिनापछि त्यस सम्झौतालाई रद्ध गरेको भन्नेपनि सुनेको छु । केहि महिना तिरेको पैसा फिर्ता पाए पाएनन् त्यो भने थाहा हुन सकेन । त्यसैगरी, कम्तीमा १२५ डलर खेर गयो भन्नेपनि थुप्रै भेटेको छु ।


तर त्यसो भनेर बिमा कारोबार पटक्कै खराब होईन । बिमाबाट लाभान्वित हुनेहरु थुप्रै छन् । सबैलाई थाहा भएकै कुरा हो बिमा भनेको आफुलाई आईलाग्न सक्ने सम्भावित आपतकालिन आर्थिक सँकटबाट बच्ने उपाय हो । थोरैथोरै तिरेर आफ्नो आर्थिक अवस्थालाई सहयोगी हुनु पक्कै राम्रो कुरा हो । अमेरिकामा कतिपय बिमा अनिवार्य हुन्छन् जस्तै हालै अमेरिकी सरकारले लागु गरेको स्वास्थ्य बिमा जसलाई ओबामा केयरपनि भनिन्छ लगायत गाडि बिमा तथा घर बिमा । तर जिवन बिमा चाहिँ ऐच्छिक हो । तर लगानी भने पक्कै होईन । खराब के हो भने यसकोलागी तिरिने चर्को मासिक प्रिमियम र यसको बारेमा विस्तृत जानकारीको अभाव र अज्ञानता । यसको प्राविधिकता, यसको विशालता र जटिलताबारे पूर्ण ज्ञानको अभावमा बिमा एक समस्या नै हुनसक्छ जसरी अहिले धेरै नेपालीहरुलाई अनुभव भई रहेको छ । तर यो भन्दापनि जटिलता मासिक प्रिमियमले उत्पन्न गरेको हो ।


पिरामिड व्यवस्था अन्तर्गत चर्को मासिक प्रिमियमले एजेण्टलाई बढि फाईदा पुग्ने भएकोले स्वभावतः एजेण्टले ग्राहकलाई पिरामिड व्यवस्थामा चर्कै प्रिमियममा सदस्य बनाउँछ । यो उसको धर्म हो । पेशा हो । नियत हो । बिमा सम्बन्धि पूर्णतया जानकारी नलिई एजेण्टबाट देखाईएको प्रतिफलको प्रलोभनमा पर्नु ग्राहककै कमजोरी हो भन्न सकिन्छ ।


यहि अज्ञानता र अन्यौलका कारण यो विषय दिन पर दिन जनचासोको विषय बन्नाको मूल कारण हो सम्बद्ध व्यक्ति वा सँस्थाबाट हालसम्म कुनै स्पष्टोक्ति सार्वजनिक नहुनु ।


त्यसकारण, यदि बिमा बिक्रेताहरुले समयमा नै उचित ढँगले सम्बोधन गरेको खण्डमा अहिले बिमितहरुमा देखिएको व्यापक जनचासो अनावश्यक ठहरिन पनि सक्छ । हुनसक्छ कतिपयले लहैलहैको भरमा नै 'म ठगिएँ' भन्ने सोचेका होलान् । त्यसकारण, यथाशिघ्र यो अन्यौल निर्मूल गर्ने जिम्मा बिमा बिक्रेताहरुको नै हो ।

विशेष गरि नेपाली समुदायमा पिएफएको ज्यादा चर्चा भएको अहिलेको यो सन्दर्भमा पिएफए र यिनका एजेण्टहरुको दायित्व हुन आउँछ । मैले यो सँस्थासँग आबद्ध केहि मेरा मित्रहरुसँग यसबारे चासो राख्दा अहिलेसम्म कारोबार गरिएका कुनैपनि बिमाहरु शतप्रतिशत ठिक छन् र कसैलाई झुक्याईने काम गरिएको छैन भन्ने जवाफ पाएँ । 'त्यसो भए समाजमा भएका अन्यौलको बारेमा किन मौन रहेको त
?' भन्ने पश्नको उत्तरमा 'आफुलाई यस बारे बोल्ने अख्तियार नभएको' भन्ने जवाफ यस लेखकले पायो ।


मैले व्यक्तिगत तवरले अनुभव गरेको एउटा प्रसँग केपनि हो भने पिएफएको वेबसाईट तथा यिनका एजेण्टहरुको फेसबुक या वेबसाईटमा अध्ययन गर्दा कुन बिमित व्यक्तिले कहिले कति बिमाको फाईदा कसरी पायो भन्ने जानकारी भन्दापनि कसरी बढिभन्दा बढि आय आर्जन गर्ने भन्ने नै बढि प्रचार प्रसार गरिएको पाईएको छ । जसको सोझो अर्थ हुन्छ, तपाई पैसाको श्रोत खोज्नुस् र धनी बन्नुस् ।