https://twitter.com/Chirvir

Tweet me @chirvir







Saturday, December 25, 2010

देशप्रेमकोलागी सीमाना चाहिंदैन

बासु श्रेष्ठ
भर्जिनीया

विभिन्न पत्रपत्रिका या इण्टरनेटहरुमा प्रकाशित लेख या विचारहरुप्रतिको टिका टिप्पणीमा पाठकहरु सँलग्न भएका हुन्छन् । नेपाल सम्बन्धि प्रकाशित लेख या समाचारहरुका बारेमा प्रकाशित हुने टिका टिप्पणीमा विशेष गरि विदेशमा बस्ने पाठकहरुले नेपालको बारेमा आफ्नो धारणा राख्दा देशमा बस्ने केहि पाठकहरुले तिनिहरुप्रति बेग्लै प्रकारको आक्रोस व्यक्त गर्ने गरेको पाईएको छ । अर्थात विदेशको ठेगाना दिएर देश सम्बन्धि लेख समाचारप्रतिको टिप्पणी लेख्ने टिप्पणीकारको देशभित्रको ठेगाना दिएर देशभक्त भनाउन चाहने केहि व्यक्तिहरुले आलोचना गरेका हुन्छन् । तिनको भनाईमा विदेशमा बस्नेहरुले राष्ट्र्को बारेमा सोच्ने या बोल्ने अधिकार छैन । ुराष्ट्र्को बारेमा बोल्न या सोच्न देशभित्रै बसेको हुनुपर्छ । विदेशमा बसेर मोज गर्ने अनि देशको बारेमा खोक्रो कुरा नगरु भन्ने जस्ता प्रतिकारात्मक टिप्पणीहरुले विदेशमा बसेर देशप्रति चिन्तित हुनेहरुको मनमा ठेस पुर्याएका हुन्छन् । यस्ता नकारात्मक टिप्पणीमा सोहि टिप्पणीकार या तिनका जस्तै वर्गको बाहेक कसैको सहमति हुन्न या हुँदैन भन्ने कुरामा दुई मत छैन ।  

आखिर विदेशिएका आफ्नै दाजुभाई दिदिबहिनीप्रति देशभित्रका ति व्यक्तिहरुको किन आक्रोस्  के देशभित्र बसेमात्र देशभक्त भईन्छ  अनि देशभित्र हुँदैमा त्यस्ता व्यक्तिहरुले के विदेशिएका हामीले आफ्नो पेशागत काम बाहेक जतिबेलापनि देशको बारेमा सोचे जस्तो सोचेका हुन्छन्  बरु तिनिहरु कति बेला कसरी कुन विदेशमा उडौँ भन्ने ध्याउन्नमा लिप्त भएका हुन्छन् । कैयौपटक भिसाको आवेदन अस्विकृत या अर्थाभाव अथवा भनौ विदेशिने चाँजोपाँजो नमिलेर देशमा नै अड्किएको अनुभव गर्नेहरुको आक्रोस हो यो । यसरी देशमा नै अड्किनेहरुको विदेशिएकाहरुप्रतिको आहारिसेपन हो भन्नु बाहेक अरु कुनै कारण देखिँदैन ।

विदेशिनु कसैको रहर हुँदैन तर विदेशिनु मानविय गुण हो जसले सदा आफ्नो असल र सफल भविष्यकोलागी अध्ययन अथवा अर्थोपार्जन गर्न चाहन्छन् । जहाँ सुनौलो भविष्य देखिन्छ त्यतै लाग्नु कसैको अपराध होईन । जन्मेको ठाउँमा नै आफ्नो र परिवारको भविष्य उज्जवल भए को किन आफ्नो गाउँ छोडेर जिल्लाको सदरमुकाम या शहरी क्षेत्रमा जान्छन् ? किन फेरि त्यहाँबाट अर्को विकसित शहर या राजधानी पस्छ ? अनि किन फेरि त्यहाँभन्दा अर्को अझ विकसित ठाउँको खोजीमा हुन्छ ? अमेरिका पसेका कतिपय हाम्रै नेपालीहरु अझै उचित अवसरको खोजीमा कहिले यो राज्य या कहिले अर्को राज्यमा सरिरहेका हुन्छन् । आफ्नो तथा परिवारको भलोकोलागी उचित स्थान र अवसर खोज्नु मानवीय गुण हो । त्यसकारण नेपालमा बसेर कुन बेला कसरी कुन विदेशमा उडौँ भन्ने विचार बोकेकाहरुप्रति मेरो भन्नु केहि छैन । तर भन्नु के छ भने तिनले आफ्नो मनको कुरापनि बुझ्न जान्न पर्यो र वास्तविकता बुझेर मात्र बोल्नु पर्यो ।  

व्दन्दकालले थलथलिएको देश जसरी तसरी यहाँसम्म आईपुगेको छ । अर्थको हिसाबले बाहिरबाट आउने पैसाको आधारमा देश चलेको छ भन्ने कुरा अर्थ विव्दानहरुले नै सकारेका छन् । अहिले नेपालमा आएको नयाँ नयाँ प्रविधिहरुको प्रयोगकोलागी के नेपालमै बसेकाहरुको आर्थिक स्तरले सम्भव भएको हो त यो सम्भव भएको हो विदेशिएकाहरुबाट देशभित्र पसेको रेमिट्यान्सले । किनभने विदेशिने नेपालीले आफुसँग सर्वस्व बोकेर गएको हुन्न । आफ्नो जहान परिवार या नातागोता या सम्पति आदि छोडेको हुन्छन् । उनिहरुकोलागी आफुले सक्दो पैसा पठाईरहेका हुन्छन् जसले गर्दा दुईबिच आपसी सम्बन्ध कायम भईरहेको हुन्छ । अनि कसरी बिर्सन सक्छ देश ? अशान्ति, असुरक्षा तथा अन्यौलले देशमा छाडिएका नातागोताहरुलाई पर्ने अप्ठ्याराहरुप्रति कसरी आँखा चिम्लेर बस्न सक्छ ? अशान्ति, असुरक्षा तथा अन्यौलको विरोधमा आवाज निकालेपनि त्यो विरोध सौम्य र भद्र छ । हिँसा र नोक्सान रहित छ । आक्रोश भएपनि सुझात्मक छ । कमसेकम देशमा हिँसा, हत्या, तोडफोड या टायर बाल्ने जस्तो विरोध त गरेका छैनन् । सार्वजनिक सम्पत्ति तथा जनधनको नोक्सान त गरेका छैनन् । त्यसैले परदेशमा रहेरपनि देश निर्माणको काममा अपरोक्ष प्रकारले सँलग्न भएकाहरुले आफ्नो देशको बारेमा बोल्न माटोमै फर्किनुपर्ने जस्तो लँगडो तर्क कसैले नगरे हुन्थ्यो ।

मेरा मित्रका भाईले म अमेरिका आउने समयमा तयारी गर्दै गर्दा 'के जानु अमेरिका' भनेका थिए । त्यतिबेला मैले सहज रुपमा लिएको थिएँ । किनभने म कुनै रहरले घरपरिवार छोराछारी छोडेर हिँडन लागेको थिईनँ । तर केहिपछि तिनलेपनि अमेरिकाकोलागी भिसा आवेदन दिएछन् । तीनचार पटकसम्मपनि नपाएपछि अहिले उनि देशमा नै चित्त बुझाएर बसेका छन् । त्यस्तै 'देश छोड्नु परेको अवस्थामा म अन्तिम हुनेछु' भनेर ढ्वाँग फुक्ने एकजना मेरा मित्रका मित्र अहिले विदेशको माटोमा टेकिसकेका छन् । मेरा ति मित्रले आफ्नो त्यो मित्रको बोली र व्यवहारप्रति विश्वास गर्न गाहारो मानिरहेका छन् । तर सत्यपनि तिनकै आँखा अगाडि छ । यो हुनै नसक्ने या हुनै नपर्ने घटना त होईन । ति विदेशिने मित्रको कुनै यस्तो बाध्यता थियो होला जसले गर्दा तिनलाई अन्त्यमा हार खाएर विदेशिनु पर्यो । तिनको त्यो बाध्यता आम नेपालीको बाध्यता हो । ढिलो चाँडो जसरी पनि विदेशिने विदेशीई रहेका छन् । त्यसैगरि 'देशको बारेमा बोल्न देशभित्रै आईज अनि देशको बारेमा बोल्' भन्ने ति पनि मौका पाउने बित्तिकै विदेश उड्ने छन् भने तिनले किन अहिले विदेशिएकाहरुप्रति नकारात्मक धारणा बनाउने ? के देशकोलागी बोल्न देशको सिमानाभित्रै बस्नु पर्ने ? तिनका अनुसार त मातृभक्ति देखाउन आमाकै भुँडीभित्र पस्नु पर्यो । बाहिर निस्केर के को मातृभक्ति ?   

तर आज ति देशकोलागी बोल्न देशमै आईज भन्नेहरु मौका पाउने बित्तिकै विदेशिएपछि तिनकोपनि आफ्ना अग्रजहरुको झै चाल हुन्छ । विदेश बसेर देशकोलागी केहि बोल्न थालिहाल्छ । अनि तिनको उछितो काट्छन् देशमा बसेर अड्किएको ठान्नेहरुले । त्यसकारण बोली र व्यवहारमा तालमेल गर्न जान्नुपर्छ । बोल्दा या भन्दा या लेख्दा तार्किक र सत्य तथ्यको आधारमा गर्नुपर्छ । हि्रतिक रोशन काण्डमा दिनभर विरोधको आगो फैलाएर बेलुकि घरमा हिन्दी सिनेमा या टिभी सिरियल हेर्ने विरोधी राष्ट्र्भक्तको उदाहरण दिँदा कस्तो हुन्छ ? यो आफैँमा विरोधाभास भएन र ?

विदेशिनु अपराध होईन र विदेशबाट राष्ट्र्प्रेम दर्शाउनु या राष्ट्र्कोलागी चिन्ता गर्नु त झन् असल कुरा हो । त्यसैले देशमा अड्किएकाहरुले आफु विदेश जान नपाएको रिस पोख्न 'देशको बारेमा बोल्न देशभित्रै आईज' भन्न छोड्नु पर्दछ । यो अमीलो अँगुरको कथा झै मनमा लिएर विदेशको लालसा पाल्ने ति देशभक्तहरुलाई हामीले झै विदेशिनु नपरोस् भन्ने कामना पनि छ ।