https://twitter.com/Chirvir

Tweet me @chirvir







Friday, May 27, 2011

सँचार र दायित्व


सँचारको विकास र यसको महत्तामाथि केहि भनिरहनु पर्दैन । यो सबैले बुझेको कुरा हो । छोटो शब्दमा भन्ने हो भने सँचार विना अहिलेको सँसार कल्पना गर्न सकिन्न । त्यसैले सँचारलाई सरकारदेखि व्यापारी, उपभोक्ता लगायत उत्पादक सबैले आफ्नो गन्तव्य पहुँचको माध्यम बनाएका छन् । अनि सरकारको गन्तव्य जनता हुन्, व्यापारी तथा उत्पादकको गन्तव्य उपभोक्ता अर्थात जनता हुन् त्यस्तै राजनैतिक दलको गन्तव्यपनि जनता नै हुन् । सबैको गन्तव्य आखिर जनता नै हुन् र त्थस्तै सँचार माध्यमको गन्तव्यपनि जनता नै हुन् । हरेक कुराको बटम लाईन जनता नै हुन् । तर प्रश्न उठ्छ कसले जनताको बारेमा कति सोचेको छ ?
यस लेखमा हलसालै घटित केहि घटनाहरुको आधारमा सँचारप्रति लक्ष्य गरिएको छ । माथि नै भनिए झैँ सँचार, उत्पादक अनि व्यापारीका गन्तव्य एउटै हुन् अर्थात जनता भनौ पाठक । उत्पादक तथा व्यापारीका आफ्ना सेवा तथा उत्पादन जनतासम्म पुर्याउने प्रमुख माध्यम हो सँचार । तर दुबैथरिले आफ्ना गन्तव्यप्रति के कस्तो उत्तरदायित्व निर्वाह गरेको छ भन्ने ठुलो प्रश्न छ । दुखको कुरा मूलतः नेपालका सँचार र उत्पादक अनि व्यापारीहरुले यस उत्तरदायित्वप्रति केहि बढि नै उदासिनता देखाएका छन् । यसको विपरित सबैले जनतालाई नै दुहुनो गाई या सिल्ली बनाएका छन् ।
बिना पिँधका समाचार
उदाहरणकोलागी सँचारमा प्रकाशित हुने कतिपय विज्ञापनहरु झुटो तथा भ्रामक हुन्छन् । त्यहि विज्ञापनको आधारमा पाठकहरु ठगिन्छन् । हालै चावहिलमा एक नक्कली कार्यालयमा आवश्यकताको विज्ञापन गरेर रोजगारीको अवसरको खोजिमा रहेका बेरोजगारहरुबाट शुल्क लिएर ठग्ने काम भई रहेको पाईयो । यदि सो विज्ञापन प्रकाशन गर्ने सँचारले प्रकाशन गर्नु अघि त्यस विज्ञापनको आधिकारिकता बुझेर प्रकाशन गरेको भए सोहि पत्रिकाको आफ्नै बेरोजगार पाठक ठगिनबाट बञ्चित हुने थिए होला । तर यहाँ त पैसाको कुरा छ । जस्तो विज्ञापन आएपनि छापिदिने पत्रिकालाई पैसा आए पुग्यो । आफ्नै पाठक ठगिए ठगिउन् । ठगिका विज्ञापन प्रकाशन गरेर आफ्नै पाठकहरुप्रति घात गरेको ठहरिन्छ । यस्तै विज्ञापन धेरै छापिएर पाठकहरु ठगिइन थाले भने सँचारको साखमा नै आँच आउने या विश्वसनियतामाथि प्रश्न उठ्न सक्छ भनेर सँचार आफै सजग नहुनु राज्यको चौथो अँगको उपाधिको उपहास गर्नुमात्र हो भन्दा अत्युक्ति नहोला ।
त्यस्तै वैदेशिक रोजगारीको अवसरको लालसा दिएर छापिने कतिपय विज्ञापनबाट बेरोजगारबाट ग्रसित थुपै्र युवाहरु ठगको पँजामा परेर अझ बढि आपतमा परेको समाचार हामीले सुन्दै पढदै आएकै छौ । यसमापनि सँचारले त्यसरी प्रकाशनकोलागी आएको विज्ञापन कत्तिको विश्वसनिय छ, विज्ञापनदाता आधिकारिक हो कि होईन, त्यस्तो कारोबार गर्न ईजाजत प्राप्त छ छैन आदिको खोजखबर नगरी आएको विज्ञापन प्रकाशन गरेर पैसा सोहोर्न हतार गर्दा आफ्नै पाठक ठगिनमा सहयोग गरेको छ । सँचार माध्यममा नैतिकता छ भने त्यस ठगीको उत्तरदायित्व उसलेपनि लिन जान्नुपर्छ । यदि आफ्नो पाठकप्रति उत्तरदायित्व वहन गर्ने नैतिक सोच छ भने उसले आत्मालोचना गर्नुपर्छ । किनभने उसकै कारणले उसमाथि विश्वास गरेर पढने कुनै एक पाठक ठगीको शिकार भयो । यो नैतिकताको शिक्षा कहिले लिने र विज्ञापन प्रकाशनमा सावधानी कहिलेदेखि अपनाउने ?
हलै प्रकाशित अनुजा बानियाको समाचारले नैतिकतामाथि विश्वास गर्ने सम्पूर्ण पाठकहरुले एक सुखद सास फेरे । विश्वासै गर्न गाहारो भएपनि प्रकाशनमा आएको विषयलाई आधारमा राष्ट्र्पति तथा प्रधान न्यायधिश समेत शिकार भए । हर्ष सुब्बाको नाममा प्रकाशित समाचार आखिर नक्कली ठहरियो । सँचारले क्षमा माग्नु पर्याे । तर क्षमा मागे पनि त्यस समाचारबाट प्रभावित कतिपय घटनाहरुलाई फिर्ता गर्न सकिँदैन । यदि यसप्रति पहिले नै सजगता, सतर्कता अनि अनुसन्धान र खोजविन गरेको भए यो अवस्था आउने नै थिएन । यसबाट सम्पूर्ण पाठकहरुमा परेको नकारात्मक असरले पत्रिकाको आधिकारिकतामाथि सजिलै आँच आउँछ ।
यस्ता पिँधबिनाका समाचार छापिएर देशमा आँधि बेहरी आएर जन धनको क्षति भएको उदाहरणपनि थुप्रै छन् । ह्रितिक रोशनको काण्ड होस् एक प्रमुख उदाहरण हो । बतासे पत्रिकाले चलाएको बतासको भरमा केहि मानिस अकालमा मरे, सार्वजनिक सम्पत्तिको नाश भयो, सरकारले क्षतिपूर्ति व्यहोर्नु पर्याे । रोशनको नाममा दिनभर भारत विरोधि उग्र नारा लगाउनेहरु बेलुकि घरमा गएर हिन्दि सिरियल हेरेर या गीत सुनेर सुते । यो हाँसो लाग्दो राष्ट्र्रवाद थियो जसको न कुनै आधार थियो न कुनै कारण । तर बतासे पत्रिकाले गर्नु क्षति गरेरै छोड्यो । यदि पत्रिकाले जनता, देश तथा सरकारप्रति जिम्मेवारको बोध गरेको भए यो अवस्था आउने नै थिएन । मलाई थाहा छैन यदि त्यस पत्रिकाले आम माफि मागेर चोखिने काम गर्याे कि गरेन ।
हुन त सँसारका केहि नाम चलेका पत्र पत्रिकाहरुपनि यस्तो झुटो समाचारको शिकार भएको पाईएको छ । ति पत्रिकाका सम्वाददाता या लेखक पत्रिकाकोलागी एक भरपर्दाे सूत्रको रुपमा स्थापित भैसकेपछि कहिले काहिँ उप्रतिको विश्वासको आधारमा बतासे खबर छापिने हो । तर त्यसैलाई नजीर या उदाहरण बनाएर आफ्नो गल्ति ढाकछोप गर्ने या न्यूनीकरण गर्नु लाजमर्दाे कुरा हो । अरुलेपनि त गल्ति गरेकै छ भनेर आफु बच्न चाहनुपनि निर्लज्जताको द्योतक हो ।
विज्ञापन होस या समाचार होस् या सँचारमा प्रकाशन हुने कुनैपनि सामाग्रीले पाठक उपभोक्तामा कस्तो असर पर्न जान्छ भन्ने पुर्व सोच बनाउनै पर्छ र त्यसरी प्रकाशन भएको सामाग्रीले पर्ने कुनैपनि नकारात्मक असर या परिणामको सँचारले नैतिक जिम्मेवारी लिनैपर्छ भन्ने आचार सँहितामा उल्लेख गरिनु आवश्यक भईसकेको छ जस्तो लाग्छ ।
किन यस्तो हुन्छ र यसको रोकथाम के ?
२०४६ सालपछि सँचारमा आएको विकासको लहर नेपालकोलागी एक उपब्धिको रुपमा हेरिएपनि माथि भनेजस्तै देखिएका लापरवाहीले सँचारको गुणस्तरमा साँचो विकास भएको पाईदैन । सहस्र खुलेका सँचार माध्यमहरुमा कार्यरत सम्पादक, पत्रकार, समाचारदाता, समाचारवाचक लगायतका सबैमा उचित र आवश्यक शिक्षा, तालिम तथा प्रयोगात्मक व्यवहारको कमी पाईन्छ । ति मध्ये धेरै थोरै विश्वविद्यालयबाट शिक्षा हासिल गरेका होलान् । अन्यथा धेरैजसो कुनै एक ईन्स्टिच्युटबाट छ महिने या यस्तै आवधिक कोर्स पुरा गरेर सँचारसँग आबद्ध हुनपुग्छन् । तिनले समाचार कसरी बनाउने भन्ने त सिके होलान् तर कस्तो, किन, के होला भन्ने जस्ता आदि प्रश्नका जवाफ भने हुँदैन । परिणामतः जेपनि प्रकाशित या गर्ने या लापरवाहिकासाथ समाचार प्रकाशन हुन्छ ।
सरकारले सँचार माध्यम स्थापनाकोलागी कडा तथा जिम्मेवार बनाउने नियमको व्यवस्था गर्नुपर्ने हुन्छ । अनि निश्चित स्तरको शिक्षा मापदण्ड तय गरि त्यसभित्र पर्नेहरुहरुलाईमात्र सँचारसँग आबद्ध हुन पाउने व्यवस्था गर्नुपर्ने देखिन्छ ।