https://twitter.com/Chirvir

Tweet me @chirvir







Sunday, September 4, 2011

बाबुराम र आशाहरु

पढाईमा सर्वदा पहिलो हुने बाबुराम भट्टराई गणतन्त्र नेपालको चार वर्षको अवधिमा चौथो तथा माओवादीको तर्फबाट दोश्रो प्रधानमन्त्री बनेका छन् । २०४६ को आन्दोलनपछि देशमा देखा परेका विकृति, असुरक्षा, महँगी, कानुनको मान मर्दन र भ्रष्टाचार माओवादी आन्दोलनले अझ पराकाष्टामा पुर्याएको थियो । जनतामा हाहाकार मच्चिएको र अविश्वासमा वृद्धि भएको समयमा देशले कुनै राजनैतिक पुर्वाग्रह विना एक स्वच्छ व्यक्तिको खोजी गरिरहेको थियो । गणतन्त्र नेपालको पहिलो अर्थमन्त्रीको रुपमा देखा परेका विव्दान डा. बाबुराम भट्टराईले क्षणिक रुपमा गरेका सुकर्मबाट जनता प्रभावित भएका थिए । र जनताका आँखाहरुले यिनै बाबुराम भट्टराईलाई पछ्याउँदै थियो । परिणामतः विभिन्न राजनैतिक खेल र गोटिचालपछि उनि देशका प्रधानमन्त्री भएका छन् । उनलाई सफलताको कामना ।
Affiliate Program ”Get Money from your Website” तर उनलाई सफलताको कामनामात्र गरेर के हामीले आफ्नो उत्तरदायित्व पुरा गरेको ठहरिने छ ? शान्ति,सुरक्षा तथा राष्ट्र् विकासको अभिष्ट पुरा गर्न तथा अभिवृद्धि गर्न के तिनमाथि आँखा र आशामात्र गाडेर हुन्छ त ? के उनिसँग जादुको छडि छ र उनले छु मन्तर गर्दैमा सबै समस्याहरु निराकरण होस् ? यसमा हामी जनता, दलका नेता, प्रशासन तथा सुरक्षा निकायका अँगहरु सबैले उत्तिकै र समान रुपमा उनको होस्टेमा हैँसे गर्नुपर्छ । यसो नगरे बाबुराम विचरा बाबुराम बन्न बेर लाग्दैनन् ।
देशमा नै जडान गरिएको मोटरको प्रयोग गर्नु, सरकारी फजुल खर्च कटौति गर्नु, शान्ति र सुरक्षा तथा सेना समायोजनका विषयलाई तिब्रतर अगाडि बढाउनु एक सरकार प्रमुखको उत्तरदायित्व हो । यो हुनैपर्ने गुण हो । र यस्तै गुण सम्पुर्ण जनतामापनि हुनैपर्ने हो । तर बाबुरामले यहि गर्दा चर्चाको विषय बन्यो । बाबुराम मरुभूमिमा पानीको थोपा भईदिए । सबैका आशाका केन्द्र बने र बनेका छन् । तर बाबुरामले झेल्नुपर्ने समस्या या विकृतिको बारेमा भने कसैले चिन्ता लिएको देखिँदैन । उनको समस्या आफ्नै श्रीमति लगायत आफ्नै दलका नेताह्रु, मधेसी मोर्चा अनि काँग्रस तथा एमाले हुनसक्छन् । यिनिहरु बाबुरामकोलागी चुनौती भएर उभिन सक्छन् । एकातिर यो चुनौति छ भने अर्काेतिर जनताको आशाका केन्द्र बनेर जनता चुनौति बनेका छन् । तरबारको धारमा अडेका छन् । दुईमध्ये एकतर्फ चुके कि असफल प्रधानमन्त्रीको नाममा दरिन बेर लाग्दैन ।
त्यसो त नकारात्मक सोचाई राख्नेहरु तथा राजनैतिक पूर्वाग्रह राख्नेहरुले बाबुराम कार्यपद्धतिलाई स्वाँग रचेको या प्रचारमुखी भएको या ढ्वाँग फुकेको भन्दै उनको खुट्टा तान्ने प्रवृत्तिहरुपनि देखा नपरेको होईन र यो आश्चर्यजनकपनि होईन । तर यो प्रवृत्ति जतिसके छिटो अन्त्य भए राम्रो हुने थियो । झन् राजनैतिक पूर्वाग्रह राखेर अब हाम्रो देश कदापी चल्दैन । जुन देशमा एकशय भन्दा बढि दलहरु छन्, जुन देशमा कुन दल कतिबेला के कारणले फुट्छ या जुट्छ कुनै निश्चय छैन त्यस देशमा राजनैतिक पूर्वाग्रहले कदापी प्रश्रय पाउनु हुँदैन ।
एक असल अगुवा पाएको खण्डमा पिछुवाहरुलेपनि सोहि अनुरुप र अनुकुल अनुसरण गर्नुपर्दछ । तर यो कठिन चाहिँ अवश्य छ । असम्भव भने होईन । हाम्रो जस्तो नातावाद र फरियावादले गाँजेको सँस्कृतिमा हुर्केका हामीले राष्ट्र्को अभिष्ट पुरा गर्न आआफ्नो ठाउँबाटपनि उत्तिकै योगदान दिन सक्नुपर्छ बाबुराम भट्टराई बनेर । यदि उनकै श्रीमतिले उनलाई सहयोग गरिनन् भने, यदि उनकै दलका नेताहरुले उनलाई सहयोग गरेनन् भने, यदि उनकै नातेदारहरुले मेरो यो मान्छे या त्यो मान्छेलाई यसो गरिदिनु पर्याे या त्यसो गरिदिनु पर्याे भन्न छोडेनन् भने, यदि हामीले बाबुराम भट्टराईका निति निर्देशनको अक्षरशः पालना गरेनौँ भने, कर्मचारीतन्त्रहरुले अनुसरण गरेनन् भने, सुरक्षाकर्मी तथा तिनका मन्त्रीहरुले तिनलाई अगुवा मानेर राष्ट्र् निर्माणमा निस्वार्थ अगाडि बढेनन् भने बाबुराम भित्ते प्रधानमन्त्री मात्र बन्न कुनै बेर छैन ।
माथी नै भने झैँ राष्ट्र् निर्माणकोलागी जसरी एक निष्ठावान र स्वच्छ व्यक्तिको हामीले चाहना गरेको छौँ त्यस्तै छवि हामी आम नेपाली र उनको सहयोगीहरुमापनि हुनैपर्छ । नत्र हामी निष्ठावान र स्वच्छ व्यक्तिको चाहना चाहिँ गर्ने तर त्यस्तो प्रवृत्ति आफैँमा छैन भने आफ्नो दोहोरो चरित्र भएको भेउ नपाउने ठालु र स्वार्थी ठहरिने छौँ ।
भारतले खुल्ला अर्थतन्त्र निति अँगाल्नुभन्दा पहिले जब जब म भारत पुग्थेँ मलाई एक प्रकारले आनन्द लाग्थ्यो । भारत मेरो देश नभएपनि भारतको त्यस नितिको मनमनै सह्राहना गर्दथेँ । र मनमा नेपालमापनि यस्तै भई दिए हुन्थ्यो जस्तो लाग्थ्यो । किनभने त्यसबेला भारतमा भारतीय उत्पादन बाहेक विदेशी सामानहरु केहिपनि नपाईने । पाईए पनि कालोबजारमा अबैध र अति महँगोमा । साईकल, रिक्सा, एम्बेसडर कार, ट्र्क, साबुन, स्याम्पु, औषधि, लुगा कपडा, फलाम छड, सिमेण्ट । भनौँ प्रयोगमा आउने जेजति पनि भारतमा नै उत्पादित । अहिलेको खुल्ला अर्थतन्त्रमा पाईला हाल्न भारतकोलागी त्यो एक पूर्वाधार थियो । आफु भित्रभित्र दह्रो भईसकेपछिमात्र खुला अर्थतन्त्रको बाटो अबलम्बन गर्याे । हो यस विदेशी उत्पादनमा प्रतिवन्धको कारणले जनतामा भने एक प्रकारको वैदेशिक उत्पादनप्रतिको मोह बढाएको थियो । यो स्वाभाविक पनि हो । चाईनिज सामानहरु किन्न सीमा पार गरि नेपाल आउँथे । अबैध तरिकाले भारत लैजान्थे । हामी नेपाली भने जापानीज घडी या विदेशी पहिरनकासाथ भारतको कुनैपनि हिस्सामा पुग्दा हाम्रो पहिरनमा लोभी नजरले हेर्थे या किन्न लालायित हुन्थे । तर तिनकालागी अब त्यो दिन रहेन । हिजो तिनिहरुले गरेको योगदानको फलस्वरुप आज भारत विश्वको एक सबल आर्थिक राष्ट्र्को रुपमा खडा भएको छ । विश्वमा भारतले कस्तो छवि बनाएको छ भनेर सबैलाई थाहा नै छ । यो त्यसबेलाको सरकारको कडा निति, नितिलाई अबलम्बन गराउने कडा कानुन, र कानुन र निति दुबैलाई अबलम्बन गर्ने जनता, तथा दलका नेताको योगदानले सम्भव भएको हो ।
अहिले नेपालमा सबैको आशाका केन्द्र बनेका बाबुराम भट्टराई प्रधानमन्त्री बनेका छन् । उनले बोले गरेका सबै कुरा तथा नितिहरुले हेडलाईन बनोस् भन्ने चाहना छ । शान्ति, सुरक्षा, सेना समायोजन, आर्थिक विकास, महँगी नियन्त्रणका समस्याहरु सबै रातारात समाधान होस् भन्ने चाहना राखेका छन् । तर यसकोलागी हामी सबैले आआफ्नो क्षेत्रबाट समान रुपमा योगदान पुर्याउनपनि जान्नुपर्छ । विकासकोलागी केहि दुःख तथा सकस सहनुपर्छ भने त्यसकोलागी तयार हुनुपर्छ । त्यसैगरि मधेसी मोर्चा जसको काँध चढेर माओवादीको तर्फबाट बाबुराम प्रधानमन्त्री बनेका छन् तिनलेपनि सहर्ष र सौहार्द्रताकासाथ सहयोग गर्नुपर्छ । बाबुराम भट्टराई एक निमित्त या प्रतिनिधिमात्र हुन् । बाबुरामको ठाउँमा अन्य कुनै राम भएपनि देश विकासकोलागी अग्रसर र तत्पर व्यक्ति छन् या आउँछन् भने हामी सबैले सहयोग गरेनौँ भने जो आएपनि भित्ते प्रधानमन्त्रीको रुपमा ईतिहासमा नाम लेखाएर जानेछन् जुन राष्ट्र्कोलागी अति दुर्भाग्यको विषय हुनेछ । यो कदापी नहोस् ।