https://twitter.com/Chirvir

Tweet me @chirvir







Friday, September 22, 2017

राजा महेन्द्र कानो छ भन्दा

सँस्मरणः




बासु श्रेष्ठ
उडब्रिज, भर्जिनीया

अहिले म कुरा बुझ्दैछु । म त्यतिबेला पदेसी रहेछु । अर्थात मदेसमा बस्ने पहाडी । पहाडबाट मदेस झरेको पहाडी । त्यसैले मधेसमा मलाई सबैले पहडिया भन्थे र मपनि उनिहरुलाई निर्धक्क मदेसी भन्थेँ । तर त्यहाँ न कुनै रीस हुन्थ्यो, न राग हुन्थ्यो न त कुनै वैरभाव नै हुन्थ्यो । बरु अँगालो हालेर मदेसी र पहाडी बोली बोल्दा आत्मियतामा अझ बृद्धि हुन्थ्यो । दिनभर स्कुलमा या खेत चहुर, पोखरी या खलिहान अनि बाग (आँपको विशाल बगैँचा) मा सँगै हुन्थ्यौँ । तर त्यतिबेला म पहाडीको पहाडी नै रहेँ र त्यहाँबाट पहाडी नै भएर निस्किएँ । अहिले पो आभास हुन थाल्यो म त त्यतिबेला दुबै रहेछु अर्थात पदेसी । मदेसीपनि र पहाडीपनि ।

खासमा माथिको घटनाहरु जनकपुर तथा लुम्बिनी अँचलका विभिन्न गाउँहरुमा बस्दाको अनुभूति हो । बुवाको जागिर नापीमा थियो । जागीर अनौठो प्रकारको थियो । अहिले अचम्म लाग्छ । तर त्यतिखेर यसप्रति कहिल्यै ध्यान पुगेन ।

हरेक हिउँदमा शहरबाट हामी गाउँ पस्थ्यौँ । नापीकोलागी । प्रत्येक गाउँमा एक महिनाको बसाई हुन्थ्यो । मेरो बुवा अन्य पाँचसात जना अमीन र टोलीप्रमुखको जत्थामा सम्मिलित हुनुहुन्थ्यो । यो टोलीको काम प्रत्येक गाउँमा गएर नापी गर्ने हुन्थ्यो । र वर्षा लागेपछि शहर फिर्ता आईन्थ्यो र हिउँद नलागेसम्म जनकपुर या बुटवलमा नै बसिईन्थ्यो ।

यसरी प्रत्येक गाउँमा नापीकोलागी बस्दा म त्यहि गाउँको स्कुलमा पढ्न जान्थेँ । न भर्नाको कचकच न फिसको । काठमाण्डुबाट आएको सेतो छाला भएको पहडिया, त्यसमाथि अमीन सापको छोरो भएकोले असाध्य मानमनितो र माया पाईन्थ्यो । भनि रहनु परेन मेरो उमेरपनि सानै थियो । यि सबैको सँयोजनले गर्दा म ति जुनजुन गाउँमा गएपनि पुल्पुलिएको हुन्थेँ ।

एउटा गाउँमा पसेर झिटी गुण्टा राम्रोसँग फुकाउन नपाउँदै अर्काे गाउँमा जानकोलागी झिटीगुण्टा बाँध्ने समय भईसक्थ्यो । एक महिना बित्न कति नै लाग्दो रहेछ र? यदि प्रतिक्षा नगर्ने हो भने । तर म भने यस गाउँको अपनत्व अर्काे गाउँमा पस्ने बित्तिकै बिर्सिसक्थेँ । तिनिहरुप्रति म निर्घिणी हुनाको कारण चाहिँ शायद म सानै भएकोले होला । तर मेरो बुवाआमा भने पछिसम्मपनि छोडिएका ति गाउँहरुका कुरा गर्नुभएको सुन्ने गर्थेँ ।

हरेक महिना एक स्कुलबाट अर्काे स्कुल सर्ने क्रममा एकपटक जनकपुरबाट पूर्व पर्ने एउटा गाउँ तथा रेल्वे स्टेशन समेत भएको महिनाथपुरमा भएको घटना अझै ताजै छ । अन्य गाउँमा जस्तै त्यस गाउँकोपनि स्कुल गएँ । कुन कक्षा भने सम्झना छैन । म शायद आठ नौ वर्षको हुँदो हुँ । स्कुलको त्यस कक्षाको ब्ल्याकबोर्डमाथि तत्कालिन राजा महेन्द्रको फोटो झुण्ड्याईएको थियो । एकदिन विषय र सन्दर्भ सम्झना छैन तर पढाउने गुरुले महेन्द्रको फोटो देखाउँदै यो राजा कानो छ भने । किन हो मलाई त्यो भनाई सह्य भएन । मैले त्यस गुरुसँग हाम्रो राजालाई किन कानो भनेको? भनेर बाझ्न थालेँ । उनले पहिले मलाई सम्झाउन थाले । म शिक्षकसँग बाझेको देखेर सारा कक्षा स्तब्ध भयो । गुरुसँग त्यसरी बाझ्नु सामान्य घटना थिएन । त्यसको सजायँ सबैले अनुभूत गर्न सक्ने थियो । तर मलाई गुरुले छुने त के हप्काउने आँट सम्म गरेनन् । अहिले सम्झँदा यसका दुई कारण हुन सक्छन् । पहिलो म गोरो छाला भएको अमीनको पहाडी छोरा र दोश्रो, महेन्द्रको पक्षमा मैले बोल्नु र त्यसको विपक्षमा शिक्षक जानु भनेको पँचायत र महेन्द्रको उत्कर्षको समयमा आफैलाई समस्यामा होम्नु जत्तिकै थियो होला । अन्यथा जनकपुरमा पाठ बुझाउन नसकेर कैयौँ पटक लठ्ठिको स्वाँठ खाएको मैले त्यहाँपनि सजिलै कडा सजाय पाउन सक्ने थिएँ । तर मलाई केहि गरिएन ।

गाउँगाउँको भ्रमणले म अवधि र मैथिली भाषा राम्रै बोल्न सक्ने भएको थिएँ । यहाँसम्म कि घरमा जग्गाजमीनको समस्या लिएर आउने स्थानिय मधिसेहरु र बुबाको बिच दोभाषेको काम समेत गरिदिन्थेँ । उनिहरु गएपछि घरमा नेपाली नै बोलिन्थ्यो । घरबाट बाहिर निस्कने बित्तिकै स्थानिय भाषा विशेष गरी अवधि या मैथिली बोल्ने गर्थेँे ।

यसरी सर्ने क्रममा हामी जनकपुरको डाँकुहरुको नामुद गाउँ झिँझापनि पुग्नु पर्ने भएको थियो । यो गाउँ डाँकुहरुको गाउँ थियो । वरपरका गाउँहरु या सिमापारी समेत गएर डकैती गर्नेहरुको त्यो बस्ती झिँझा नामले प्रख्यात थियो र यो नामबाट जोपनि त्रसित थिए । तर, जागिरको क्रममा बुवाहरुको टोलीपनि सोहि गाउँमा जानु पर्ने भएकोमा मेरो बुवा त्रसित हुनुहुन्थ्यो । त्यसकारण, बुवाले आफुलाई नजिकको अर्काे गाउँमा जाने पारेर यो गाउँ छल्नु भयो । तर, दुरी भने खास्सै टाढा नभएकोले हाम्रो परिवार लगायत अन्य अमीन टोलीका परिवारहरु त्रसित नै रहन्थे ।

तर, जब त्यस गाउँको नापी सकिएर अर्काे गाउँ जाने समयमा ति झिँझा गाउँका डाँकु भनिनेहरुले त्यस गाउँमा कार्यरत अमीनहरुको विभिन्न उपहार दिएर भब्य बिदाई गरेको सन्दर्भ हाम्रो परिवार र बुवाका साथीहरुमा पछिसम्मपनि चलिरहेको म सम्झन्छु ।

यहि क्रममा मैले केपनि देखेको छु भने गाउँगाउँमा ठुलाबडा भनाउँदा जमिन्दारहरुले गरीबहरुप्रति गरेको शोषण । त्यतिबेला मैले यहि हो भनेर अनुभूत नगरेपनि अहिले सम्झँदा ति हरवाह चरवाह भजाउँदाहरुले मालिकले पकाएको भातको माड र मालिकको घरबाट मारिएको मुसा खाएर आफुलाई धन्य ठान्ने विचराहरुप्रति ति धनि जमिन्दारहरुबाट शोषण पक्कै गरिएको हो । मलाई लाग्छ तिनै जमिन्दारहरु अहिले मधिसेको हकहितकोलागी आवाज उठाएर आन्दोलन गर्दैछन् । समय परिस्थिति अनुसार ति हरवाह चरवाहहरुप्रति व्यवहार फेरिएको भए बेग्लै कुरा । तर यसमा कुनै परिवर्तन भएको छैन भनेर ठोकुवा गर्न नसकेपनि आशँका चाहिँ पक्कै छ । त्यसकारण तराई मधेशकोलागी भएको यो आन्दोलन नेता भनाउँदाहरुकैलागी या सिमित वर्गकोलागीमात्र हो भन्दा केहि फरक पर्दैन । हालै भएको प्रदेश २ को निर्वाचनमा मधेशवादी दलहरुको पराजयलेपनि यहि जनाएको छ ।

यसरी अधिकाँश समय जनकपुरमा नै बसोबास गरेको मैले त्यहिँबाट २०३२ सालमा एसएलसी दिएको केहि महिनामा नै बुवाको सरुवा रौतहटको सदरमुकाम गौर सरुवा भयो र मपनि त्यतै लागेँ । यसरी २०३३ सालको जेठ महिनादेखि २०३८ साल जेठ महिनासम्म गौरको बासिन्दा रहँदा भएँ । यसर्थमा म २०२४ सालमा तराई झरेर २०३८ सालसम्म पदेसी हुँदा भएँ ।

Monday, February 13, 2017

बँक पक्राउ परेपछि |

आजको कान्तिपुरमा प्रकाशित 'लभ ईन काश्मिर' शीर्षकको ब्लगमा क्लास बँक गर्ने बारेको लेख पढेपछि बाल्यकालमा आफुले बँक गरेको सम्झना टड्कारो भएर आयो । यस्ता बँकको बारेमा थुप्रै समाचार तथा लेखहरु पढेको भएपनि आज कुन्नी किन हो आफुले गरेका ति बँकको सम्झनामात्र आएन कि लेखेर तपाईहरुलाईपनि शेयर गर्न मन लाग्यो । पढेर तपाईहरुले मप्रतिको धारणा जेजस्तो बनाउनुस् स्वतन्त्र हुनुहुन्छ ।
म र मेरो टोले साथी उ ले गर्ने बँक आजकलका प्रेमी प्रेमीकाको कारण जस्तो चाहिँ थिएन । बँक भन्ने शब्दको उत्पत्ति नै भएको थिएन कि । बल्कि हामी भाग्थ्यौँ । म चेतभवनको नवजिवन विद्याश्रममा पढथेँ । कक्षा ६ मा । मेरो साथी उ क्षेत्रपाटीको जेपी हाईस्कूलमा पढ्थ्यो । उपनि ६ कक्षामा नै । कसोकसो एकदिन हामीले सल्लाह गर्याैँ क्लास नगई घुम्न जाने । मेरो बुवाआमा जनकपुरमा भएको हुँदा घरमा सोझा हजुरबा हजुरआमालाई छल्न ढाँट्न सजिलो थियो । तर उलाई भने त्यस्तो थिएन । तरपनि हामीले यस्तो निर्णय लियौँ ।
बाँसबारी घर भएका हामीमध्ये सामान्यतया म चेतभवनको स्टपमा बसबाट ओर्लिएर स्कूल जान्थेँ भने उ लैनचौरको स्टपमा ओर्लिएर क्षेत्रपाटी पुग्थ्यो । तर बँक गर्ने दिनमा भने म लाजिम्पाटमा या शँकर होटेलमा ओर्लिने गर्थेँ । अर्थात चेतभवनभन्दा एक स्टप अगाडी या पछाडि । उ भने लैनचौरमा नै ओर्लिईन्थ्यो । अनि त्यहाँ भेटेर आफ्नो गन्तव्यतिर हानिन्थ्यौँ । अक्सर नजिकै रहेको भारतीय दूतावासमा गएर दिनभर चाकलचुकल या यस्तै खेलेर स्कूल छुटेको समुहमा मिसिन दूतावासको लाजिम्पाटको व्दारबाट निस्किएर त्यहिँबाट बस चढेपछि हामी स्कूलबाटै भर्खर निस्किएका जस्ता हुन्थ्यौँ । या कहिले लैनचौरबाट विभिन्न बाटो हुँदै स्वयम्भू अनि त्यहाँबाट निर्माणाधिन चक्रपथ हुँदै एयरपोर्ट अनि पाखापाखाबाट गुह्यश्वरी, चावेल हुँदै स्कूलबाट घर पुग्ने समयमा टुप्लुक्क पुग्थ्यौँ ।
यसैगरी कहिले विश्वज्योति या जयनेपाल सिनेमाहलमा दिन बित्थ्यो । दुबैले पुरा टिकट किनेर हेर्न पैसा नपुग्ने हुँदा एउटा टिकट किन्ने अनि पहिला एकजना पस्ने । अर्काे बाहिर बस्ने । हाफ टाईममा पालो साट्ने । अर्थात भित्र पसेको अब बाहिर बस्ने, बाहिर बसेको चाहिँ सिनेमा हेर्न भित्र पस्ने । यसरी दुबैले आधाआधा सिनेमा हेरपछि घर जाने क्रममा एकार्काको छुटेको भाग सुनाउने गरेर एउटा सिनेमा पुरा गथ्र्याैँ । तर कहिलेकाहिँ हाफटाईममा मौका मिले दुबै भित्रै हुन्थ्यौं । यस्तो भएको मौकामा चाहिँ दुबैले दुबैलाई कथा भन्नुपर्ने स्थितिको अन्त्य हुन्थ्यो र साह्रै दँग पथ्यौँ ।
यसरी क्लास बँक गरेपनि हाम्रो एउटा सिद्धान्त भने थियो । त्यो थियो आईतवार चाहिँ स्कूल जाने । किनभने आईतवार हप्ताको पहिलो दिन र हप्ताको पहिलो दिन स्कूल जानुपर्छ भन्ने हाम्रो आफ्नै केटौले मान्यता थियो । तर, आईतवार सरबाट पाईने गोदाईबाट भने त्राहित्राहि हुनुपथ्र्याे । उलाई त के गर्थ्यो कुन्नी । सम्झना भएन । तर मलाई भने सरले क्लासमा देखेपछि हाजिर लिने समयमा 'मेरो प्यारो साथी बासु' भनेर बोलाउँथ्यो । म भने सँकुचनमा परेर 'यस् सर' भन्न पाउँदा नपाउँदै मेरो कन्चटको रौँ तानिई सकेको हुन्थ्यो । बाँयापट्टि केटिको लहरमा हाँसो चल्थ्यो भने मेरो मनमा ग्लानीको आगो रन्कन्थ्यो । र भोलीदेखी फेरी टाप ।
त्यो नवजीवन स्कूल निशुल्क भएपनि पढाई र कडाई राम्रो थियो । अहिले मलाई अलि ग्लानी नै हुन्छ । त्यहाँ सँस्कृत लगायत सामान्य पढाई बाहेक कारपेण्ट्र्री तथा अन्य व्यावशायिक शिक्षा र प्रयोगात्मक शिक्षा पनि दिईन्थ्यो । यि दुबै विषयमा भने म कक्षा टप थिएँ । भलै अरु मूख्य विषयमा भने सामान्य पासमात्र हुन्थेँ ।
यसरी हप्ताको पाँचदिन बँक गर्ने बानी हामीलाई परिसकेको थियो । एकदिन सँधैको झैँ बँक गरेर स्कूलबाट घर पुग्ने समयमा साँखुल्ले भएर घर पुग्यौँ । मपनि उकै घर गएको थिएँ । उ भित्र पस्यो । उको बुवा (मपनि बुवा नै भन्थेँ) भने उलाई कुरेर बस्नुभएको रहेछ । उभित्र पस्ने बित्तिकै एक लपटा हान्दै 'तँ आज स्कूल नगएर कहाँ गएको थिईस्' भनेर सोध्नुभयो । आज नमज्जाले भेद खुलेको रहेछ । हामी स्कूल नहुँदा बुवा उको स्कूलमा जानुभएको रहेछ र उ स्कूलमा नभएको थाहा पाएर रीसले आगो हुनुभएको रहेछ । उको घरभित्र पस्ने मेरो आँट आएन । नत्र मैलेपनि लपटा खान बेर थिएन । उले स्पष्टिकरण दिई रहेकै बेलामा मैले आफ्नो घरको बाटो तताएँ । म आफ्नो घरमा भने अझै भाले नै थिएँ । सोझा र नातीलाई माया गर्ने हजुरआमा बालाई नातिको करतुतबाट अनभिज्ञ मलाई सदा झैँ खाजाले स्वागत गर्नुभयो । मलाई आज भने कताकता ग्लानी भयो ।
यहि गाली र ग्लानीको कारणले अब उपरान्त क्लास छोडेर नभाग्ने भयौँ त्यहाँ उपरान्त असल विद्यार्थीका रुपमा पढदा भयौं ।

(उ मेरो बाल्यकालको असाध्य मिल्ने साथी भएकोले उको नाम सार्वजनिक नगरेको हुँ)