https://twitter.com/Chirvir

Tweet me @chirvir







Saturday, May 26, 2012

अनेसासको मतदाता नामावलीमा धाँधली?

यदि तपाईंलाई अनेसासको चुनावमा कसले चासो राख्ला र भन्ने सोच्नु भएको छ भने तपाईंको सोचाई गलत रहेछ भन्ने ठान्नु होस् | अनेसासको मतदाता नामावलीमा तपाईं हामीले चासो नराखे पनि अनेसासमा चासो राख्नेहरुले यसको मतदाता नामावलीमा चासो राख्दा रहेछन | त्यतिमात्र होइन, धाँधली गर्ने र गरेरै चासो राख्दा रहेछन भन्ने कुरा हालसालैका केहि गतिविधिले प्रष्ट परेको छ |
२० वर्षे अनेसासको इतिहासमा दोश्रो पटक हुन लागेको चुनावमा अपूर्ण नै सहि मतदाता नामावली प्रकाशित भए पछि त्यसमा आफ्नो पकड कसरि बनाउने र आफ्नो पक्षमा मत झार्ने भन्ने विचारले नक्कली इमेल एकाउन्ट खडा गरिएको वा मृत्यु भै सकेका सदस्यको नामबाट समेत इमेल फेर्ने वा इमेल एकाउन्ट खडा गरिएको व्यहोरा थाहा हुन आएको छ |
आफ्नो इमेल अध्यावधिक गर्न सदस्य नामावली प्रकाशित गरिएपछि प्राप्त केहि अनुरोधको आधारमा सच्याउँदै जाने क्रममा मृत्यु भैसकेको व्यक्ति (छन्त्याल थर) को नाममा समेत अनुरोध आएपछि अध्यावधिक गरि रहेका अनेसासका वर्तमान अध्यक्ष ज्ञानेन्द्र गदाल झस्किएका हुन् | एक कुराकानीमा हामी नेपालीहरु जाली काम गर्न कत्तिको उद्द्यत रहेछौं भन्ने कुरा प्रमाणित हुन्छ भन्दै यसैको कारणले पहिलो पटक प्रकाशित नामावली नै कायम राख्ने निर्णय गरिएको बताए |
हालसम्म ५५२ सदस्यको नाम रहेको यस मतदाता नामावली अझ कतिको नाम छुटेको छ स्पष्ट थाहा नभएको कुरा पनि गदालले बताए |
अनेसासमा जे जस्तो कमी कमजोरी भए पनि यस प्रति जान चासोमा वृद्धि हुँदै गएको कुरालाई ध्यानमा राख्ने हो र फर्जी मत रोक्ने हो भने वैज्ञानिक र सटिक मतदाता नामावली तयार पर्ने समय आइ सकेको छ | प्रत्येक सदस्यलाई सदस्यता नम्बर प्रदान गर्ने, सोको लागि जन्म मिति तथा अन्य कुनै बलियो परिचय पत्रको आधारमा मतदाता नामवलीमा दर्ता गर्ने परम्परा समयमै नबसाले ढिलो हुने कुरा पक्का छ | के अनेसास यसो गर्न तयार हुन्छ होला ? यो कुरा आगामी निर्वाचित केन्द्रिय कार्य समिति र बोर्ड अफ ट्रष्टिमा निर्भर हुने हुँदा के हुने छ आगामी दिनले नै देखाउने छ |