https://twitter.com/Chirvir

Tweet me @chirvir







Thursday, June 9, 2022

उहिलेका बाँसबारी र अहिलेका बन्चरे डाँडाबासीहरु

 

बासु श्रेष्ठ

उडब्रिज, भर्जिनिया

मेरो जन्मघर महाराजगन्ज, बाँसबारीमा भएको हो | मेरो घरको उत्तरपश्चिममा विसं २०२२ मा छालाजुत्ता कारखाना निर्माण भयो | चीनको सहयोगमा निर्मित उक्त कारखानाले झन्डै ५०० जनालाई रोजगारी दियो | बिहान नौबजे काम शुरु हुने समय नौ बजे, दिउँसो खाजा खाने समय एक बजे र काम समाप्तीको समय पाँच बजे टांगटांग टांगटांग घन्टी बज्थ्यो भने प्रत्येक घण्टा समय जनाउने घन्टी बज्ने गर्थ्यो र टोलबासीकालागी त्यहि घन्टी समयको सूचक हुन्थ्यो | बिहान कारखानाका कर्मचारीहरु मेरो बारीको छेउबाट लाम लागेर काममा जान्थे भने बेलुका त्यसै गरि लाम लागेर फर्कन्थे | घन्टीको आवाज नसुनेकाले या सुन्न नपाएकाले यो लाम देखेर समय खुट्याउँथे | सवारी साधनको सुविधा नहुनेहरु यो बाटो प्रयोग गर्थे भने अर्को दिशाका मजदुरहरु लिनपुर्याउन ट्रकहरु उत्तरमा बुढानिलकण्ठ तथा दक्षिणमा जावलाखेल (शायद) सम्म पुग्थे | बिहान बेलुका यी ट्रकहरु आउनेजाने गर्ने समय शुन्यप्राय: सडक भरिभराउ हुन्थ्यो | अनि खहरे सुके झैं सामसुम्म हुन्थ्यो |

उता बाह्रबजे टुंडिखेलमा मध्यान्हको सूचक तोप पड्किन्थ्यो| त्यो तोपको आवाज बाँसबारीसम्म सुनिन्थ्यो | हामीभन्दा पनि हाम्रा अग्रजहरु सोहि सूचक अनुसार चल्थे | यो लेख्दा अहिले आफैंलाई अचम्म लाग्छ |

सो कारखाना संचालनमा सहयोगार्थ आएका चिनिया कर्मचारीहरुकोलागी कारखानाको ठिक दक्षिणपट्टि झन्डै २५ वटा सानासाना आवासगृह बनाइएका थिए | ति चिनियाहरू जे पनि खाने भएकाले मेरा केहि साथीहरु काग, चिल आदिको शिकार गरेर तिनलाई दिन्थे | सट्टामा माओका हत्केलाजत्रो देखि लिएर सानासाना ब्याज तथा पाउरोटी आदि दिने गर्थे | हामी त्यो खाएर, लगाएर हिँड्ने गर्थ्यौँ | पछि यो वितरण अनि पहिरनमा सरकारले रोक लगाएछ | यतिबेला म जनकपुर गईसकेको थिएँ |

हाल उक्त बाँसबारी छाला तथा जुत्ता कारखाना निजीकरणको नामबाट खोष्टाको मोलमा बिक्री भएर विसं २०५२ बाट शहिद गंगालाल हृदय केन्द्र अस्पतालले विस्थापन गरेपछि ईतिहास भैसकेको छ |

तर, छालाजुत्ता कारखानाले बाँसबारीबासीलाई दिएको परोक्ष दुखको भने सरकारले कुनै वास्ता गरेन | किनभने उक्त कारखानाबाट फालिएका आलो छाला, बेलुका प्रशोधनबाट निस्किएको दुर्गन्धमिश्रित धुँवा तथा प्रशोधन गरि फालिएको रगत मिसिएको रातो पानी नजिकको खहरेमा फालिनाले टोलबासी दिक्क मान्थे | यो खहरेको दुषित पानी मण्डीखाटार हुँदै शायद धोबीखोलामा मिसिन्थ्यो | त्यस खहरे छेउछाउका बालीनाली नष्ट हुन्थे |

विशेष गरि बेलुकाको खाना खान बस्ने बेलामा यो दुर्गन्ध टोलका घरघरमा प्रवेश गर्थ्यो | त्यतिमात्र नभई कारखानाको पछाडि पूर्वपट्टी पर्खालबाहिर प्रशोधनपछि फालिएका आलो छाला तथा अन्य अङ्गहरू जस्तै भुँडी, हाडहरु स्थानीय कुकुर तथा चिल, कागहरू लगायत अन्य चराहरुले बोकेर घरका छाना, पाली, आँगनमा ल्याउने, खसाल्ने गर्नाले थप फोहोर र दुर्गन्धको त्रासमा बस्नुपर्ने हुन्थ्यो |

र त त्यतिबेला कसैले बाँसबारीको नाम लिँदा त्यो छाला गन्हाउने टोल? भनेर हियाउने आशयले भन्थे |

कारखानाकोलागी उतिबेलाको शहर असन, इन्द्रचोक, ठमेल, क्षेत्रपाटी लगायतका भित्री शहरबाट राँगाको मासु ब्यापारीहरुबाट किनिएको कच्चा पदार्थको रुपमा छाला लगायतका अन्य भागहरु ट्रकमा ओसारिन्थ्यो | त्यसबाट चुहिएको रगत सडकमा पनि देख्न पाइन्थ्यो | तर पछि यसलाई छोपेर, प्लाष्टिकमा राखेर ल्याउने व्यवस्था चाहिं गरियो |

कारखानाबाट टोलबासीले पाएको यो दुखको बारेमा कतै गुनासो, उजुरवाजुर गरेको मैले कहिल्यै अनुभव गरिनँ | गरेको भए पनि मैले थाहा नपाएको हुनसक्छ | तर अवस्थामा सुधार नआएकोले त्यस पंचायतकालमा उजुर नसुनिएको वा उजुर गर्ने आँट कसैले नगरेको हुनसक्छ |

तर परिस्थिति ठ्याक्कै उस्तै नभए पनि अहिले सिसडोल र बन्चरे डाँडाका बासिन्दाहरुले फोहोर ब्यबस्थापनप्रति गरेको प्रतिरोधले मलाई त्यो बाल्यकालमा पुर्यायो | ति बासिन्दाहरुको जागरुकतालाई मैले कताकता आफ्नो बाल्यकालको सोहि समस्यासँग जोडेर हेर्दा प्रशंसा गर्न बाध्य भएँ | भलै त्यहाँ डम्पिङ्ग साइटको नाममा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्न खोजिएको भएपनि समयमा योजना पुरा नगरेर स्थानीयबासीलाई सरकारले परोक्ष दुख दिएको छ |

अहिलेको यो डम्पिङ्ग साइट र छाला कारखानाको त्यो डम्पिङ्ग साइटमा भने केहि फरक छैन | फरक के भने त्यतिबेला बाँसबारीबासीले सहे | अहिले बन्चरे डाँडाबासीहरु बिरोधमा बन्चरो लिएर उर्लिएका छन् | यसलाई त्यहाँका जनतामा आफ्नो स्वास्थ्य लगायत हक अधिकारकोलागी प्रतिकार गर्न जागरुक भएको मैले ठानेको छु | तथापी, फोहोरमा राजनीति गर्ने किराहरुको प्रवेश भएको समेत पनि हुनसक्छ | यस कुरामा चाहिँ ति बासिन्दाहरु सजग रहनुपर्छ | साथै स्थानीय सरकार, केन्द्रीय सरकार तथा सबै सरोकारवालाहरुपनि यसप्रति चनाखो रहनु पर्छ भन्ने मलाई लाग्छ |

फोहोर व्यवस्थापनकै वाचा गरेर मेयर पदमा विजेता बालेन साहलाई यो चुनौतिको रुपमा पहाड भएर खडा भएको छ | अहिले शायद यो समस्या सोचेजस्तो सहज रहेनछ भन्ने अनुभूति हुँदैहोला | तर, समाधान गर्न असम्भव भने पक्कै होइन | मात्र सम्बन्धित निकाय, जनताको एकापसमा संयोजनको, बुद्धिमत्ताको र प्रतिबद्धताको अति आवश्यक छ |

फोहोरको यो फोहोरी राजनीति यथाशक्य चाँडो सुल्झियोस भन्ने सम्बन्धित सम्पूर्णमा शुभकामना |