https://twitter.com/Chirvir

Tweet me @chirvir







Tuesday, June 2, 2015

दूतावास चुकेकै हो त?

गत सालको डिसेम्बर महिनातिर हुनुपर्छ म सच्चिएर आएको पासपोर्ट लिन दूतावास पुगेको थिएँ | एमआरपीको महत्व बुझेर समयमै आवेदन हालेको थिएँ | पहिलो पटक गलत जन्म मितिकासाथ हाजिर भएको पासपोर्टलाइ फेरी सच्याउन पठाइएको थियो | त्यो बिचमा देश बाहिर जान अस्थायी पासपोर्टकोलागी थप पैसा तिर्नु परेको थियो | जेहोस पासपोर्ट आएको खवर पाएपछि म दूतावास गएको बेलामा त्यहाँका अधिकारी मित्र जितबहादुर कार्कीले मलाई सोध्नु भएको थियो " एमआरपीको चाप बढ्दो छ, परे हामीलाई सहयोग गर्नुहुन्छ?" मैले केहि नसोची लगत्तै जवाफ दिएँ "अवश्य" | र त्यसको केहि पछि दूतावासलाइ परे हामी सबै सहयोग गर्न तयार हुनुपर्छ भनेर एउटा लेखपनि लेखें | तर कार्कीजीबाट या दूतावासको तर्फबाट मैले व्यक्तिगत रुपमा सहयोगको अनुरोध सुनिन | किनभने सँस्थागत रुपमा एनआरएनको तर्फबाट सहयोग मिलेको थाहा भयो | हो यहि विषय नै यस लेखको रचना गर्भ हो |

एमआरपी बनाउने कार्यमा दूतावासको कार्य चापलाइ कम गर्नकोलागी एनआरएनको तर्फबाट महिनाको १५ शय डलर उपलव्ध गराउने सहमति भएको रहेछ | एक व्यक्तिलाइ भर्ति गरेर सो उपलब्ध रकम तलबको रुपमा उपलब्ध गर्ने गराउने दूतावास र एनआरएन अमेरिका सहमत भएको रहेछ | हालसालै एनआरएन अमेरिकाबाट कार्यकाल सकिएका लोकनाथ तिवारीका अनुसार यो निर्णय शायद मार्च महिनातिरको हुनुपर्छ | तर हालसम्म दूतावासले यसतर्फ पाईला नचालेको गुनासो लोक तिवारीले यस लेखकसँग गरे | म आश्चर्यमा पर्नु स्वभाविक हो | लोक भलाईकोलागी आएको यस्तो सहयोगमा दूतावासले यथाशिघ्र पाईला चाल्नुपर्थ्यो | या कुनै बाधा व्यवधान भए सोहि अनुसार जानकारी दिइनु पर्थ्यो भन्ने मलाई लाग्यो | यसकोलागी मैले दूतावासका परिचयमा रहनु भएका मित्र नारायण मैनालीसँग फोनमा सम्पर्क गरेर चासो राख्दा वहाँले सो बारेमा कुराकानी भएको स्विकार्दै 'स्थानाभावको कारणले बरु स्थानीय समुदायहरु सप्ताहन्तमा आएर सहयोग गरे बढि प्रभावकारी हुने देखेको' कुरा भन्नु भयो | त्यसकारण दूतावासबाट सहयोगकोलागी आव्हान भएको खण्डमा हामी तत्पर रहनु पर्छ भन्ने सुझाव वासिंगटन डिसी क्षेत्रमा बस्ने नेपालीहरुलाई दिन चाहन्छु |

तर कारण जे जस्तो भएपनि कामको चापलाई सकेसम्म छिटो छरितो ढंगले कम गरे दूतावासको कार्य क्षमता देखिईन्थ्यो भन्ने यस पंक्तिकारको सोचाई रहेको छ | यस मामिलामा दूतावास चुकेको भन्दै यस क्षेत्रका बुद्धिजीवीहरुले यो पंक्तिकारसँग गुनासो गरेका छन् |

त्यसैगरी नेपालमा महा भूकम्प गएको एक हप्तासम्मपनि दूतावासकोतर्फबाट कुनै सार्वजनिक सूचना या विज्ञप्ति या शोक संदेश जारी गर्न नसक्नुलेपनि अमेरिकावासीहरु आश्चर्य भएका छन् | के र कुन कारणले अमेरिका बस्ने नेपालीहरुको अभिभावकत्व दूतावासले पुरा गर्न सकेन भन्ने खुल्दुली सबै नेपालीलाइ लागेको छ | नेपालमा आफन्त या नातेदारहरुको व्यग्र चिन्ता लिएर बसेका अमेरिकावासी नेपालीहरुले समयमा या आपत पर्दा दूतावासले गहन र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न नसकेको गुनासो गरेको सुनियो |

यसैगरी अमेरिकाको संसदमा नेपालको भूकम्प र यसबारे नेपाललाइ गरिने र गर्नुपर्ने सहयोगको सुनुवाइमा दूतावासको प्रतिनिधि नहुनुलेपनि नकारात्मक प्रचार गर्न सहयोग पुर्यायो | जुन देशकोलागी कसैले सहयोगकोलागी छलफल या चर्चा चलाई रहेको छ त्यस छलफलमा त्यस देशको प्रतिनिधिको उपस्थिति नहुनुको अर्थ हुन्छ त्यस छलफलप्रति देखाएको उदासीनता | यस्तै अर्थ लगाएका छन् यस क्षेत्रका केहि वुद्धिजिविहरु | सो सुनुवाइको लिंक यहाँ छ : http://foreignaffairs.house.gov/hearing/subcommittee-hearing-everest-trembled-lessons-learned-nepal-earthquake-response

महाभूकम्पपछि भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीबाट ५७ जना उद्धारकर्ताहरु लगायत उद्धार र राहतका सामानहरु लिएर नेपाल गई एक हप्ता राहत कार्य सम्पन्न गरि फर्किएकालाइ स्वागत गर्ने समयमापनि दूतावासको कुनै प्रतिनिधि उपस्थित नभएको गुनासो सुनियो | तर त्यसो भन्दैमा दूतावासको प्रतिनिधि जहाँ पायो त्यहाँ पुग्ने/जाने भन्ने पनि हुँदैन | औपचारिक निम्ता र जानकारी बिना अधिकारिक रुपमा दूतावासका प्रतिनिधि पुग्नु अशोभनीय र अमर्यादित नै हुन्छ | तर त्यस कार्यक्रममा दूतावासको प्रतिनिधिको खोजि भएको थियो भन्ने जानकारी यस लेखकले पाएको थियो | दूतावासलाई औपचारिक जानकारी काउन्टीको तर्फबाट दिइएको भए पक्कै कोहि प्रतिनिधि त्यस अवसरमा पुग्ने थियो भन्ने यस लेखकको विश्वास छ | अपितु स्थानीय नेपली जनसमुदाय स्वस्फुर्त रुपमा नेपालको झण्डा लिएर तिनलाई स्वागत गर्न एका बिहानै पुगेका थिए | यत्रो जनसमुदायका विच फर्किएका ति उद्धारकर्ताहरुले दूतावासको प्रतिनिधि खोज्नु स्वभाविक थियो |

दूतावासप्रति व्यक्त गरिएको धारणा कुनै व्यक्तिगत नभई सँस्थागत कमि कमजोरीप्रति चर्चा चलाउन खोजेको हुँ | दूतावासका लगभग सबैसंग मेरो व्यक्तिगत चिनाजान र सम्बन्ध रहेको छ | त्यसकारण कसैबाटपनि यस टिप्पणीलाई व्यक्तिगत रुपमा लिइने छैन भन्ने बिश्वास गरेको छु |

No comments: