https://twitter.com/Chirvir

Tweet me @chirvir







Thursday, November 4, 2010

हामी सबैको नासो: अमेरिका नेपाल सोसाईटीप्रतिको चासो

संयोग कै कुरा हो नोभेम्बर २ मा हुने अमेरिकाको मध्यावधि चुनावको ठिक दुई दिन अघि अर्थात अक्टोबर ३१ का दिन अमेरिकाकै राजधानीमा रहेको नेपालीहरुको सबै भन्दा पुरानो संस्था अमेरिका नेपाल सोसाइटीको सभापति लगायत केहि अन्य पदको निर्वाचन हुने भएको छ | फरक यत्ति हो, अमेरिकाको राष्ट्रपतिहरु (कोहि अपवादको रुपमा विशेष परिस्थितिको कारणले मनोनयनको आधारमा बाहेक) मतदानव्दारा छानिएका छन् भने अमेरिका नेपाल सोसाइटीको सभापति पदको भने मनोनयनको आधारमा छनौट हुँदै आएकोमा सौभाग्यवश ४४ वर्षको इतिहासमा दोश्रो पटक चुनाव हुँदै छ | संस्था या व्यक्तिले समुदायमा गर्ने गतिविधिप्रति टिका टिप्पणी हुनु स्ववाभिकै हो | स्थापनाकालदेखि झन्डै तीस वर्ष कुनै उल्लेखनीय काम नगरी निर्विवाद रहँदै आएको यो संस्थाले बढ्दो जनसंख्याको क्रममा जब केहि कार्यक्रमहरु गर्न थाल्यो तब यसप्रति विभिन्न प्रकारका टिका टिप्पणी हुन थाले | दशैं तिहार मेलाले संस्थाप्रति आकर्षण बढाएको क्रममा सन् २००१ पछि अमेरिकाबाट नेपालको लागि या नेपालबाट अमेरिकाको लागि राजदूतको स्वागत कार्यक्रम तथा नेपालबाट आउने मन्त्री या राजनैतिक दलका नेताहरुको स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजनाले केहि सिमित व्यक्तिहरुको यस संस्थाप्रति आकर्षण बढेको पाइएको भए ता पनि कतिपय व्यक्तिहरु संस्थाले आफ्नो मूल लक्ष्य गुमाएको भन्ने आरोप लगाउन थाले | अझ पदावधिको बांडफांड पछि त यो संस्था तटस्थ व्यक्तिहरुको माझ ज्यादै नै आलोचित बन्न पुग्यो | तर अहिले आएर संस्थामा राजनीति भएको या पदकोलागि फोहरी खेल देखेका तटस्थ व्यक्तिहरुको लागिपनि शायद यही चुनावको कारणले हुनु पर्छ संस्थाप्रति केहि चासो जागेको देखिएको छ | प्रजातान्त्रिक मुलुकमा रहेर प्रजान्तान्त्रिक अभ्यास हुन नसकेको यस संस्थामा निर्वाचनको कारणले तटस्थ व्यक्तिहरुको समेत चासो जाग्नु संस्थाको लागि पक्कै सुखद तथा खुशीको कुरा हो | त्यसैको फलस्वरूप स्थानीय एक तटस्थ संचारमा ति दुइ सभापतिका उम्मेदवार एकै ठाउँमा राखेर यस्तो प्रकारको पहिलो एक छलफल कार्यक्रमपनि गरेको थियो | यति लामो ईतिहासमा अहिलेसम्म दुइ पटक बाहेक चुनाव किन भएन त भन्ने प्रश्नको उत्तर खोज्दा एउटा सहज उत्तर भेटिन्छ: एक- त्यतिबेला नेपालीहरुको सिमित संख्या र दोश्रो- स्वयमसेवक भएर संस्थालाइ नेतृत्व दिन चाहने व्यक्तिको खाँचो | त्यसै भएर आपसी सल्लाहको आधारमा यसपछि उ र उ पछी उ को आधारमा व्यक्तिहरुको चयन हुँदै संस्थाले यहाँसम्मको यात्रा तय गरेको हो | तर बढ्दो जनसंख्याको क्रममा यसप्रतिको चासोमा वृद्धि हुनुका कारणले सन् २००८-२०१० को पदावधिकोलागि संस्थाका आन्तरिक पदाधिकारीहरु नै सभापति पदकोलागि प्रत्यासी भए ता पनि प्रजातान्त्रिक ढंगबाट चुनाव हुन नदिई पदावधि बाँडफाँड गरि एक वर्ष एक जना र अर्को वर्ष एक जना सभापति हुने गरि निर्वाचनकोलागि पुगेका मतदाताहरुको खिल्ली उडाउँदै आन्तरिक निर्णय गरियो | संस्थाको ईतिहासमा दोश्रो पटक हुन लागेको चुनावलाइ यसरी टारियो भने संस्थाप्रति अलिकति आस्था या लगाव राख्नेहरुकोलागि 'कहीं नभएको जात्रा, दुखद र लाज मर्दो'को विषय बन्यो | लामो समयदेखि यस क्षेत्रमा बस्दै आएकाहरुलाई समेटेर जानु पर्नेमा ति व्यक्तिहरु टाढा हुँदै जानु यस्ता क्रियाकलापको प्रतिफल थियो | नयाँ नेपाली आप्रवासीहरुको दिनहुँ वृद्धि भै रहेको क्रममा यस संस्थाले त्यस्ता नयाँ व्यक्तिहरुको उपस्थितिमा आफुले गरेका कार्यक्रमहरु सफल भएको मान्दै पुराना सदस्यहरु पाखा लाग्दै गएको चाल नपाउनु संस्थाको कमजोरीको रुपमा लिन सकिन्छ | फलस्वरूप संस्थाको आजीवन सदस्य संख्यामा उल्लेख्य वृद्धि हुनु पर्नेमा हालसम्म कूल १२२ मात्र आजीवन सदस्य हुनु नैराश्यताको द्योतक हो भन्न सजिलै सकिन्छ | (हेर्नुहोस्) अर्को कुरा संस्थाको सदस्यता के का लागि भन्ने पनि अहम् प्रश्न रहेको छ | परिवारको २०.००, व्यक्तिको १०.०० तथा आजीवन सदस्य शुल्क १००.०० डलरमात्र हुँदाहुँदै पनि यसको सदस्य संख्या ज्यादै न्यून रहेको छ | 'कार्यकारी पदको लागि हुने चुनावमा मताधिकारकोलागि सदस्यता' भन्ने हो भने निर्वाचन नै हुन पाउँदैन | अनि संस्थाको उद्देश्य अनुरुप हुने गरेका कामहरु या त ज्यादै न्यून छ या त छंदै छैन या त राजनैतिक विचारले अभिप्रेरित भएका छन | त्यसकारण यसप्रति नैराश्यता बढ्नु स्वभाविक हो | तर यस पटक आगामी दुइवर्षे पदावधिकोलागि संस्थाप्रति बढेको आकर्षणको कारणले स्वयमसेवकको खाँचो अनुभूति भएन भने अर्को तर्फ यसैको परिणाम स्वरूप हुन लागेको चुनावले यस क्षेत्रका तटस्थ व्यक्तिहरुहरुकोपनि चासो बढेको छ | यो चासो संस्थाकोलागि सकारात्मक र सुखद संकेत हो भने नव निर्वाचित पदाधिकारीहरुले वृद्धि भएको यस्ता गुनासो तथा चासोलाई महत्व दिई निरपेक्ष संस्थाको रुपमा बढी भन्दा बढी जनसमुदायलाइ समेटेर सामुहिक नेपाली तथा नेपालको हितमा अर्थात विशुद्ध सामाजिक कार्य गर्ने छ भन्ने सबैले आशा लिएका छन् | केहि सकारात्मक कार्यहरु: अमेरिकी प्रवासमा आएका नवागन्तुक नेपालीहरुलाई विशेष गरी चाड पर्वमा आफ्ना आफन्तको सम्झनाको सहारा बनेर आउनेहरुकोलागि दशैं तिहार मेलाको आयोजना एउटा उल्लेखनीय कार्य मान्नै पर्ने हुन्छ | सेल रोटि लगायत अन्य नेपाली परिकारहरु मेलामा उपलव्ध गराउनुका साथै वर्षमा एकदिन भएपनि जमघट र भेटघाट हुने थलो उपलव्ध गराएर प्रशंसनीय कार्य गर्दै आएको छ | त्यस्तै संस्थाबाट नेपाल र अमेरिकाविच सम्बन्ध राम्रो कायम गर्ने एउटा उल्लेखनीय काम पनि भएको छ | त्यो हो नेपालकोलागि मनोनित अमेरिकी राजदूतको स्वागत कार्यक्रम | आफ्नो कार्यकालकोलागि जुन देशमा जान लागेको हो त्यसै देशका मानिसहरुले आफ्नै देशमा शुभकामना दिने तथा स्वागत कार्यक्रम गर्नुले त्यस्ता कुटनितिज्ञहरुमा पक्कै एउटा सकारात्मक संदेश दिने गर्छ | जसले दुइ देशको सम्बन्धमा केहि न केहि सुखद सम्बन्धका असर छोड्छ | हालसम्म नेपालको लागि तीन राजदूतहरुलाई स्वागत कार्यक्रम गरि सकिएको छ | तर अफसोचको कुरा, माथिका काम र विगतमा यदाकदा एक दुई सांस्कृतिक कार्यक्रमहरु बाहेक सोसाइटीको उद्देश्य अनुरुप नेपाली भाषा तथा संस्कृतिको उत्थान, संरक्षरण तथा सम्वृद्धिमा संस्थाले आफ्नो समय कहिल्यै खर्चिएको उदाहरण देखिंदैन | केहि सुझावहरु: झन्डै ५५ ५६ संस्थाहरु रहेको यस क्षेत्रमा छाता संगठनको रुपमा आफुलाई स्थापना गराउन पहल गर्नुपर्छ | ति संस्थाहरुको उद्देश्यलाइ बुझेर तिनलाई अमेरिका नेपाल सोसाइटीले के कस्तो सहयोग गर्न सक्छ भन्ने विषयमा कार्यगत योजना बनाउनु पर्छ | वर्गीय, जातीय तथा नेपालको स्थान विशेष नामको आधारमा स्थापना भएका संस्थाहरुसंग त्यस्तै अनुरुपका इक्षा बोकेका व्यक्तिहरुको सम्बद्ध हुनु आआफ्नो चासो र रुचिको विषय भए पनि त्यसबाट निरपेक्ष भएर बस्न चाहनेहरुकोलागी भने अनेसो सार्वजनिक थलो हो | त्यसकारण अमेरिका नेपाल सोसाइटीले सबै प्रकारका व्यक्ति र संस्थालाइ ओगट्ने क्षमता राख्नु पर्छ भन्ने सबैको आवाज रहँदै आएको छ | कुनै राजनैतिक आग्रह-पूर्वाग्रह बिना अन्य संस्थाहरुसंग कार्यगत एकता तथा नेतृत्व प्रदान गर्नाले समाजमा 'हामी एक छौं' भन्ने सबल संदेश दिन सफल हुने छ | निर्वाचनकोलागि आफ्नै नियम त छंदै छ | संस्थाको आय भन्नु सदस्यता शुल्क हो | तर सदस्यता बन्न कुनै सिमित अबधि तोकेर संस्थाले आफ्नै खुट्टामा बन्चरो हानेको छ | उदाहरणकोलागि यस पटकको निर्वाचनकोलागि सदस्यता लिने समय समाप्त भै सकेको छ | तर चुनाव हुने वातावरणले चुनावमा सहभागिता जनाउन चाहने तर सदस्यता लिन चुकेकाहरुकोलागि त्यस सिमित अवधिले वन्चित त गर्यो नै | यि सदस्यहरुबाट आउने सदस्य शुल्क संस्थाले गुमायो पनि | बरु चुनावकै दिनसम्म पनि चुनाव स्थलको एउटा छेउबाट सदस्यता लिएर अर्को छेउमा मतदान गर्न पाउने व्यवस्थाको सोच राखेको भए बढी भन्दा बढी मानिसको सहभागिता हुने त थियो नै, चुनाव रोचक पनि हुने थियो र साथसाथै संस्थाको आयमा पनि वृद्धि हुने थियो | यो संस्था कुनै राजनैतिक विचारधाराबाट अभिप्रेरित नभएकोले मतदाताहरु तथा उम्मेदवारहरुपनि सोहि किसिमको हुने हुनाले सदस्यता प्रदान गर्न उदारता अपनाउनु पर्छ भन्ने तर्क गरिएको हो | संस्था तथा समाजको हितमा यस्तो लचकता हुनु राम्रो हो भन्ने यस लेखको आशय हो | अमेरिकीहरुको अग्रसरतामा स्थापित यो संस्थामा अहिले नेपालीहरुको वर्चस्वमा वृद्धि भएको छ | अमेरिकी नागरिकहरुको सहभागितामा न्यूनता आएको छ | स्थानीय अमेरिकीहरुको सहभागिताले दुइ देशका जनताविच आपसी सद्भाव तथा सहयोगमा वृद्धि गराऊन मद्दत गर्दछ | त्यसकारण, कार्यकारी पद लगायत सदस्यहरुको संख्यामा अमेरिकीहरुलाई पनि सम्मिलित गराउन वृहत कार्य योजना बनाउनु पर्छ | अझ भन्ने हो भने स्थापनाकालको जस्तो स्थानीय अमेरिकीलाई नै संस्थाको केहि प्रमुख पदको भार ग्रहण गर्न दिएमा दुइ समुदायवीच राम्रो सामन्जस्यता हुने थियो भन्ने लागेको छ | स्थानीय व्यक्तिहरुलाइ नेपाली संस्थामा प्रवेश दिने या स्थान दिने यो सोचाई अमेरिकामात्र होइन संसारका जुनसुकै कुनामा बसेर संगठित भएका नेपाली संगठनहरुमापनि लागु गर्न सकिन्छ | जे होस् यो लेखक आफैं पनि यस पटक चासोकासाथ केहि लेख्ने या छलफल गर्ने गराउने कार्य गरेको छ | सोसाइटीप्रति बसेको नकारात्मक धारणा समाजबाट हटोस, नवनिर्वाचित पदाधिकारीहरुले सोसाइटीको मात्र निहित उद्देश्य र स्वार्थ अनुरुप काम गरुन् या गर्न सफल हुन् र बढी भन्दा बढी जनसमुदाय यसमा संलग्न होस् भन्ने हेतुले यो लेखको जन्म भएको हो भन्दै आउँदो तिहारको उपलक्ष्यमा सम्पूर्ण पाठकहरुमा शुभकामना ! अस्तु |