https://twitter.com/Chirvir

Tweet me @chirvir







Friday, October 26, 2012

फेरी अनेसो र फेरी चुनाव


बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया

ठिक दुई वर्षपहिले अर्थात सन् २०१० मा गठित अमेरिका नेपाल सोसाइटि (अनेसो)को कार्यकारी पदाधिकारीको अवधि समाप्त हुने क्रममा यस पटकपनि सो कार्यकारी पदाधिकारीको चुनाव हुने बेला आईपुगेको छ । अर्थात चुनाव यहि अक्टोबर २७ का दिन बेल्सभिल, मेरील्याण्ड स्थित नेपालीहरुको आफ्नै मन्दिरको हातामा हुने भएको छ । त्यसपटक अक्टोबर ३१ का दिन चुनाव भएको थियो भने यस पटक अक्टोबर २७ कादिन हुँदैछ ।

तर त्यसबेलाको चुनावभन्दा यस पटकको चुनावको वातावरण तातेको अनुभव गरिएको छ । किनभने त्यस बेला अनेसोका सभापतिकोलागी दुई प्रत्यासी थिए भने यस पटक तीन प्रत्यासी देखिएका छन् । हालका तीन मध्येका एक प्रत्यासी अनेसोको सँचार प्रमुख रहिसकेका प्रकाश नेपाललाई नाजा (नेपाल अमेरिका जर्नलिष्ट एशोसिएसन)को तत्कालिन अध्यक्षबाट राजिनामा दिएर सभापतिका प्रत्यासी बनेका नगेन्द्र पौडेलले विगतको चुनावमा पराजित गरेका थिए भने अर्का एक प्रत्यासी श्रीधर कँडेल कोषाध्यक्ष पदमा पराजयी भएका थिए । तेश्रो प्रत्यासी हुन वर्तमान कार्यकारीका उपसभापति ठाकुर पुडासैनी ।

यसैगरी द्वितीय उपसभापति तथा महासचिव पदकालागी पनि निर्वाचन हुने भन्ने सूचना अनेसो चुनाव समितिले जनाएको छ । जसमा उपसभापतिकोलागी सीता पाण्डे तथा अभिप्राय सुवेदी र महाससचिव पदकालागी श्याम लिम्बु तथा विनय अर्याल प्रत्यासी रहेको सो सूचनाले जनाएको छ ।

स्थापना कालदेखि अर्थात सन १९६७ देखि सन् २००८ सम्मको कार्यकारी पदमा एक न एकजना अमेरिकीको उपस्थिति रहने गरेको प्रथा सन् २०१० देखि रोकियो । तथापी बेन्जामिल डेभिस सल्लाहकारको रुपमा रहेको अनेसोको वेबसाईटमा उल्लेख छ । स्मरणीय रहोस् अमेरिका नेपाल सोसाईटिको स्थापना नेपालबाट विभिन्न योगदान दिएर फर्किएका अमेरिकीहरुको तदारुकता तथा सद्भावनामा स्थापना भएको हो । तर यसपटकपनि स्थानिय अमेरिकीहरुको कुनै सँलग्नता देखिएको छैन । कारण हामी नेपालीहरुले उनिहरुलाई सँलग्न गराउन नसकेको हो या उनिहरुको चासोमा कमी आएको हो या अनेसो अब आफैँ सक्षम भईसकेको छ भनेर आफ्नो सँलग्नता जनाउन छाडेका हुन् त्यो भने स्पष्ट भएको छैन । तर दुई देशका नागरिक विच आपसी सहयोग, सद्भाव र भाईचारालाई निरन्तरता दिन र कायम राख्ने हो भने उनिहरुको सँलग्नताको खाँचो छ र यो आगामी पदाधिकारीहरुले बुझ्नु पर्ने विषय हो ।

विगतको चुनावताकापनि मैले एक सुझात्मक लेख लेखेको थिएँ । त्यसकोलागी यहाँ क्लिक गर्नुहोला । त्यस लेखमा मैले सँस्थाको सदस्यताको विषयमा चर्चा गरेको थिएँ । झण्डै तीस पैतिस हजार नेपालीको बसोबासको अनुमान गरिएको यस क्षेत्रमा नेपालीहरुकै सबैभन्दा पुरानो सँस्थाको आजिवन सदस्य हाल १३४ मात्र हुनु अति उदेक लाग्दो विषय भएको छ । विगतको चुनावमा १२२ सँख्या रहेकोमा दुईवर्षभित्र मात्र १२ जनाको वृद्धि हुनु अनेसोका पदाधिकारीहरुकोलागी शोचनीय विषय हो । हेर्नुहोस् http://americanepalsociety.org/id5.html | यसले के जनाउँछ भने यस सँस्थाप्रति सबैले देखाउनु पर्ने चासो देखाएका छैनन् । कारण अनेक मध्ये एक) सँस्थाका पदाधिकारीहरु चाहिनेमात्रामा सक्रिय नहुनु २) सँस्थाको क्रियाकलापमा जनमुखी र जनचासो नसमेटिनु ३)सँस्थामा नेपाली शैलीको राजनिती हावी हुनु आदि हुनसक्छन् । तथापी सोहि वेबसाईटमा (हेर्नुहोस् http://americanepalsociety.org/sitebuildercontent/sitebuilderfiles/ans_combined_membership_2012_pdf.pdf) सन् २०११ २०१२ को सदस्य सँख्या भने ५८८ देखाईएको छ । यो आजिवन सदस्य सँख्या नभई आवधिक सदस्य सँख्यामात्र भएकोले के अनुमान गर्न सकिन्छ भने चुनावमा आफ्नो पक्षको मत बटुल्न आफन्तजनहरुलाई सदस्य बनाउन प्रत्यासीहरु कम्मर कसेर लागेकोले यसो भएको हो । तर कारण जे भएपनि आर्थिक हेराईले अनेसोलाई नै फाईदा पुगेकोमा अन्यथा लिनु हुँदैन भन्ने यस पँक्तिकारको राय छ ।

तरपनि यो चुनावको तापकक्रम किन बढ्यो त भन्ने प्रश्न सजिलै उठ्नसक्छ । यि पदाधिकारीहरुलाई सँस्थाको तर्फबाट न कुनै आय छ, न कुनै प्रत्यक्ष फाईदा छ । नितान्त आफ्नो समय खर्चिनु पर्ने थाहा हुँदाहुँदै किन केहि सिमित व्यक्तिहरुको चासोमा वृद्धि भएको छ त भन्ने प्रश्नको उत्तरमा के चाहिँ अनुमान गर्न सकिन्छ भने सँस्था आफैँ पुरानो भएकोले यसको आफ्नै प्रकारको गरिमा छ । अनि यस्तो सँस्थाको पदाधिकारी भएमा अलिकति नामपनि चल्छ, अलिकति चर्चाको विषय भईन्छ भन्ने बाहेक अन्य सटिक र गतिलो उत्तर भेट्न गाहारो हुन्छ । यसै सन्दर्भमा अहिलेका वर्तमान प्रत्यासीहरुबाटपनि अनेसोलाई अझ कसरी सँगठित र प्रभावकारी बनाउने, कसरी बढिभन्दा बढि जनसहभागिता जुटाउने, कसरी यस क्षेत्रमा रहेका झण्डै ६० सँस्थैसँस्थाहरुको माझ सक्रिय समन्वय गराउने भन्ने कसैको एजेण्डा सुनिएको छैन ।

तर दुईवर्ष पछाडी फर्केर अनेसोको मूल्याँकन गर्न निवर्तमान सचिव मुक्ति दवाडीलाई अनुरोध गर्दा उनले यस कार्यकालमा पहिलो पटक उच्च माध्यमिक विद्यालयका नेपाली विद्यार्थीहरुविच नेपाल सम्बन्धि हाजिर जवाफ प्रतियोगिता, नेपाली वर्णमालाको क्यालेण्डर प्रकाशन, अनेसो र राजदुतावासविच पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना गर्नुका साथै नियमित समर पटलक पिकनीक र नेपालबाट आएका राजनैति व्यक्ति तथा मन्त्रीहरुसँगको एकाध राजनैतिक छलफल गरेको उल्लेखनीय उपलब्धिको रुपमा बताए । यस बाहेक अमेरिकी सरकारबाट कर दर्ताबाट खारेजीमा परेको यस सँस्थालाई पुनर्दर्ता गरिएको, कर विभागमा सन् २०१० तथा २०११ को आय विवरण प्रस्तुत गरिएको जस्ता उल्लेखनीय कार्य सम्पादन गरेको उनले बताए । स्मरण रहोस् अनुप पहाडीको कार्यकालदेखी हुँदै आएको दशैँ तिहार मेला जहाँ नेपाली परम्पराका नाचगान, सेल, रोटी अचार आदि उपलब्ध गराएर विदेशमा एक दिन र एकछिन भएपनि घरदेशको सम्झना विर्साईदिने कार्यक्रम सबैमाझ लोकप्रिय भएको थियो । तर यसपटक भने नेपालीहरुको उल्लेखित मन्दिरको प्राँगणमा निशुल्क समोसा, सेल रोटी अचार उपलब्ध गराउनुकासाथै यस लेखको चर्चाको विषय बनेको चुनावपनि सम्पन्न हुँदैछ ।

जे होस् अमेरिका नेपाल सोसाईटि (अनेसो) हामी नेपालीहरुको विदेशमा स्थापित सबैभन्दा पुरानो सँस्था हो । यो हाम्रो नासो हो । यदि यसको नेतृत्व सबल र सक्षम व्यक्तिको हातमा गए यसले हाम्रो घरदेशसँग परदेशमा बसेका हामीलाई जोड्ने राम्रो र बलियो पूलको काम गर्न सक्छ । स्थापनाकालदेखी अहिलेसम्म विभिन्न कारणले यसप्रति सिमित बाहेक बहु जनचासोमा कमी आएतापनि यसको ठिक उल्टो अनेसोप्रति जनचासोमा अभिवृद्धि होस्, आगामी नेतृत्वले कौशलता र सक्षमताकासाथ सँस्थालाई सबैको बनाउन सकोस् र यो सँस्था विदेशमा बस्ने नेपालीहरुकोलागी एक गौरवको विषय होस् भन्ने कामना गर्दै भर्खर वितेको दशैँ र आउँदो तिहारकालागी शुभकामना । अनि आगामी पदाधिकारीहरुलाई कार्यकालको सफलताको कामनापनि ।
(यो लेख तयार गर्दा गर्दै सभापतिका प्रत्यासी प्रकाश नेपाल तथा महासचिवका प्रत्यासी बिनय अर्यालले आफ्नो नाम मतदानपत्रबाट झिक्न निर्वाचन आयुक्त कृष्ण सबलाइ अनुरोध गरेको थाहा हुन आएको छ | यस सम्बन्धमा पुष्टि गर्ने क्रममा आयुक्त कृष्ण सबका अनुसार ति दुवै प्रत्यासीले समाजमा मतैक्यताकोलागि यसो गरेको भन्ने अनुरोध आफुलाई प्राप्त भएको जानकारी यस पंक्तिकारलाइ दिए |)