https://twitter.com/Chirvir

Tweet me @chirvir







Thursday, August 2, 2012

नेताहरुलाई प्रश्न |


बासु श्रेष्ठ


आदरणीय नेताहरु,

देशमा परिवर्तनकोलागी आन्दोलन गर्नु भयो, त्यसकोलागी हामीले पनि साथ दियौं | तर सुखद परिणाम भोग्न भने अझै पाएका छैनौं | यो तपाईंहरुकै अकर्मन्यताले हो भन्दा कस्तो लाग्छ ?

चार चार वर्ष संविधान सभाको नाममा देश र हामीलाई भुल्याउनु भयो | देशको अमूल्य समय, हाम्रो अमूल्य भावना र अरवौं रुपैयाँसंग खेल्नु भयो | अलिकति पनि पश्चाताप  तपाईंहरुमा दोषको भागी बन्न कहिले सिक्ने ? एकार्कालाइ दोष दिएर आफु चोखो बनेर हामीलाई कस्तो शिक्षा दिन खोजेको हो ?

सविधान निर्माणमा असफल भएपछि के हामीप्रति तपाईंहरुले जिम्मेवारी महसुश गरेर "हामीले विरायौं" भनेर माफ माग्ने आँट र आफ्नो उत्तरदायित्व देखाउन सक्नु भयो ? यहि हो तपाईंहरुको उत्तरदायित्व  ?

संविधान सभाकोलागी त्यत्तिका संसदहरुलाई समेत आफ्नो कठपुतली बनाउनु भयो |  तपाईंहरुको लिंडे ढिपीले उनीहरु रित्तो हात घर फर्किन बाध्य भए | र हामी "हिस्स बुढी हरियो दाँत" भयौं | छ अलिकति पनि पश्चाताप तपाईंहरुमा ?

एउटा अन्तर्वार्तामा माधव नेपालजीले संविधान नबन्नाको कारण 'संविधान सभालाई गार्जियनशिपको कमी थियो' भन्नु भयो | के वहाँले २०४७ को संबिधान बने ताकाको जस्तै गार्जियनशिप खोज्नु भएको हो ? यदि त्यसो हो भने तपाईंहरु आफु कमजोर भएको अनुभव गर्नु भएको हो ?

देश चलाउन कुरा गरे जति सजिलो छ रहेन छ भनेर बुझे पनि पछि हट्न नसकेर तपाईंहरु देशलाई बन्धक बनाउदै हुनुहुन्छ | हो कि होइन ?

वर्षौं देखिको एक्लो पारिवारिक (तथाकथित) अभिभावकलाइ  त्यागेर हामी मध्यबाट नै तपाईंहरुलाइ त्यो अभिभावकत्व सुम्पेका थियौं आत्मविश्वासका साथ | तर त्यसको लायक हुनुहुन्न रहेछ भन्ने भान हामीलाई दिंदै हुनुहुन्छ | कुरा साँचो हो

बारम्वार छिमेकी राजदूत तपाईंका घर दैलो मात्र नभई बेडरुममा नै पस्न पाउनाका कारण के होला ? के त्यस्तो राष्ट्रको पक्षमा उचित सम्बन्ध छ भनि दिनु हुन्छ कि ?

हामी हाम्रो देशको समस्यामा कोहि विदेशी बोल्न आए तपाईंहरुले "हामी हाम्रो समस्या हामी आफैं सुल्झाउन काबिल छौं, यो समस्याबाट तपाईंहरु टाढै बस्नुसधन्यवाद" भनेको सुन्न चाहन्छौं | छ त्यो आँट र हिम्मत तपाईंहरुमा ? र हामी तपाईंहरुले त्यसो गर्नु भएको हेर्न सुन्न आतुर छौं | कहिले आउने हो त्यो समय ? भन्न सक्नुहुन्छ ?

कि विदेशीको साथ र सहयोग बिना तपाईंहरु केहि गर्न सक्नु हुन्न ? हामीले दुइ राष्ट्र बिच हुने द्विपक्षीय सम्बन्धको बारेमा कुरा गरेका होइनौ |

देशको अन्तरिक मामिलामा विदेशीकोको हस्तक्षेप, उपस्थितिको औचित्य के हो हामीलाई भनि दिनु हुन्छ कि ?

आफ्नो पक्षमा बोले विदेशी सहयोग, विपक्षीको पक्षमा बोले विदेशी हस्तक्षेप भन्ने नकच्चरो बानी र केटाकेटीपन कहिले छोड्ने ?

दलगत स्वार्थभन्दा माथि उठेर देश र हाम्रो बारेमामात्र सोच्न र काम गर्न तपाईंहरुले जिम्मा लिनु भएको कि दलको र आफ्नोमात्र पोषणकोलागी यो नाटक रच्नु भएको ?

हाम्रो अगाडी देशकोलागी रुने, तर पर्दा पछाडी आफ्नैलागी रुने बानी छोड्ने कि नछोड्ने ?

हालै तपाईंहरुले मुलुकका पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री र पूर्वप्रधानन्यायाधीशलगायतलाई आजीवन इन्धन खर्च, सेवासुविधा र आवास खर्च दिने निर्णय गरेपछि हामी जनता अवाक भएका छौं | अवाक भएपछि एकछिन बोल्न सकिन्न | त्यही बोल्न नसकेको मौनता हो अहिले | हामीले बोल्यौं भने कस्तो हुन्छ तपाईंलाइ थाहै छ | राज्य संचालनमा सहभागी राष्ट्र सेवकहरुको सुरक्षा र नियमले पाउने भत्ता  आदि पक्कै पाउनु पाउनु पर्छ | त्यो उचित हुनु पर्छ | त्यसमा शंकै छैन | तर आजीवन इन्धन खर्च, सेवा सुविधा र आवास जस्ता थप खर्चले  राज्यको ढुकुटीले कहिलेसम्म धान्न सक्छ ?|

त्यस्तो सुविधा पाउन कति दिनको मन्त्री भएको हुनु पर्ने ? एक दिन या शय दिन या कति  ? यत्रो पार्टी रहेको देशमा जहाँ सत्ताकोलागी मरीहत्ते गर्ने दलहरु  सरकार बनाउन जुन दलले पनि अर्को दलको मुख हेर्नु पर्ने र सहयोग लिनु पर्ने अवस्थामा अनुमान लगाउनुस  कति मन्त्री, कति प्रधान मन्त्री हुनेछन | ति सबले देशकोलागी मरी हत्ते गर्ने भए त केहि छैन | तर यहाँ त सत्ता र पैसाको लोभमा मन्त्री बन्ने छन् र बनेका छन् | त्यस्तालाई किन आजीवन पोस्ने हाम्रो करको पैसाले ? काम नै नगरी माममात्र खाने तपाईंहरुको यो बानी कहिले जाने ?

तपाईंहरु पार्टी खोल्न, पार्टी जोड्न र फुटाउनमा नै व्यस्त हुने हो भने त्यही काममा व्यस्त भएँ भन्नु, हामीले केहि गर्ने छौं देश चलाउन | छोड्नुस सत्ता र सत्ताको लोभ |

राष्ट्रले सुगम मार्ग कहिले भेट्ने हो ? तपाईंहरुको देश चलाउने यो केटाकेटीपन कहिले जाने हो ? हामीले राष्ट्र विकासको सपनालाइ दिवा स्वप्न मानेर कहिलेसम्म बस्ने हो ? जवाफ छ ?

कालगतिले या आपसी द्वन्दमा मृत्यु हुनेहरुलाई समेत जथाभावी शहिद घोषणा गर्दै आफ्नो स्वार्थकोलागि देशको ढुकुटी कहिले सम्म रित्याउने काम गर्नु हुन्छ ?

सबै भन्दा पहिले  ढाँटन कहिले देखि छोड्ने ? एकार्कालाई दोष दिएर हामीलाई कहिलेसम्म मूर्ख बनाउने ?

यी माथिका प्रश्नको जवाफ दिने आँट कसैमा छ ? छ भने कृपया यसैमा र तपाईंहरु सबैको एक मुखले बोल्नु होला | अनि देशको जय हुन बेर लाग्दैन |

धन्यवाद |