https://twitter.com/Chirvir

Tweet me @chirvir







Thursday, January 27, 2011

एएनएको सम्मेलन कहाँ ?

गत वर्ष बोष्टनमा सम्पन्न भएको एएनएको वार्षिक सम्मेलनपछि छताछुल्ल भएको आर्थिक अनियमता र सँस्थालाई भएको झण्डै ८६ हजार डलरको नोक्सानपछि स्वभावतः सँस्थाको साखमा मनग्गे हानी पुगेको छ । अझ सँस्थाका पदाधिकारीहरुबिच को कायम रहने को नरहने या कसले कसलाई कसरी कारवाहि गर्ने भन्ने कुराको विवादले २८ वर्षे एएनएको ईतिहासमा नराम्रो दाग लागेको छ भन्दा जोसुकैलेपनि मँजुर गर्नेछन् ।
सँस्थाले बेहोर्नु परेको घाटाको कारण कुनैपनि जिम्मेवार पदाधिकारीहरुले नैतिक जिम्मेवारी समेत नलिई एक अर्कामा आरोप प्रत्यारोपमा अल्झिएर एएनएका शुभचिन्तकहरुलाई अझ अन्धकारमा राख्ने विवादलेपनि सँस्थाकै भविष्यप्रति शँका उठ्ने सम्भावनालाई नकार्न सकिन्न ।  
माथिका कारणले गर्दा अबको सम्मेलन कहाँ हुने हो भन्नेपनि प्रश्न उठ्नु स्वावाभिक हो । विवादित सँस्थामा कसैले हात हाल्न चाहँदैन । यसको उदाहरण हो कोलोराडोको रक्की माउण्टेन फ्रेण्डस् अफ नेपाल नामक सँस्था । बोष्टन सम्मेलनको अन्त्यमा आगामी वर्ष कोलोराडोमा सम्मेलन हुने भनि निधो गरिएको थियो । आगामी २९ औँ सम्मेलनको जिम्मा लिने रक्कि माउण्टेनलाई त्यसबेला एएनए भित्र के कस्तो खिचडि पाकिरहेको छ या पाक्ने छ भन्ने के थाहा  तर समय वित्दै गएपछि भित्रका सम्पुर्ण समस्याहरु सार्वजनिक भएर छताछुल्ल भएपछि रक्की माउण्टेनले सो सम्मेलन नगर्ने निधो गरेको छ । त्यसकारण एएनएका सभापति अब सो सम्मेलन वासिँगटन डिसी या यसको वरपर गर्ने गराउने तरखरमा जुटेका छन् । सोकोलागी तिनले उपसभापति तथा कन्भेनरको खोजीपनि शुरु गरिसकेका छन् । स्मरणीय रहोस् एएनएका उपसभापति नै सम्मेलनको कन्भेनर हुने व्यवस्था एएनएको विधानले गरेको छ । आर्थिक अनिमियतता र नोक्सानको घटनापछि एएनएका उपसभापति तथा बोष्टन सम्मेलनका कन्भेनर मेदिनी अधिकारीले राजिनामा दिएपछि सो पद रिक्त हुन आएको हो । तर अर्काे प्रश्न के पनि छ भने के सभापतिलाई उपसभापति मनोनयन गर्ने अधिकार विधानले दिएको छ  
जे होस् अर्कोतर्फ भने रक्की माउण्टेन सम्मेलन आयोजकबाट पछि हटेपछि कोलोराडोकै नेपाली घर नामक सँस्था आयोजक बन्न अघि सरेकोपनि थाहा हुन आएको छ । यदि यस सँस्थाले आयोजना गर्ने मौका पायो भने एएनएका सभापतिको केहि हदसम्म नाक रहने अनुमान गर्न सकिन्छ । किनभने कोलोराडोमा हुने भनिएको सम्मेलन अन्त कतै हुनुले निकै थप प्रश्नहरु निस्कन सक्छन् अथवा आर्थिक अनिमियतताको बारेमा थाहा नहुनेहरुलेपनि थाहा पाउने हुनसक्छन् ।
 नेपाली घर भनेको कोलोराडोमा दुईवर्ष अघि रक्की माउण्टेनको निर्वाचनमा विवाद आएर बाहिरिएका व्यक्तिहरुले खोलेको सँस्था हो । स्वभावैले कोलोराडोका समुदाय यो र त्योमा विभाजित भएको छ । यस्तो अवस्थामा नेपाली घरले आयोजना गर्ने सम्मेलन कति सफल हुने हो त्योपनि अहम् प्रश्नको रुपमा रहेको छ ।
 जे होस् एएनएको दुषित आर्थिक कारोवारको कारणले या त पूर्व घोषित आयोजक परिवर्तन हुने पक्का छ या त सम्मेलन स्थल नै परिवर्तन हुने पक्का छ । जम्मा सात महिना बाँकि रहेको सो सम्मेलन कहाँ र कसले गर्ने भन्ने अन्यौल अझै रहेको छ । जबकि यसबेलासम्म सम्मेलनको तयारीकोलागी पाईलाहरु चालीसकेको देखिनुपर्ने थियो ।