https://twitter.com/Chirvir

Tweet me @chirvir







Friday, June 14, 2024

बाटो विहीन गन्तव्यहरु

बासु श्रेष्ठ

हाल: काठमाडौँ

नेपालका सडककोलागी नवचालक म आफन्तसहित चर्चामा रहेको सुकुटे बीच 'बाटो राम्रो रहेको' जानकारीको आधारमा सपत्नी गईयो। किनभने नेपालका थुप्रैसडक खण्डहरु या त आँशिक रुपले होस् या पूर्णतया होस् सडकहरु घाईते भएका नै हुन्छन्। प्रायश: मानिसहरुलाई यो दुरावस्था यति सामान्य लागिसकेको छ कि बाटोको अवस्था सोधे 'राम्रो छ, सवारी साधन चल्न सक्छन्' भन्ने जस्ता जवाफ पाइन्छ। तर, कतिपय सडकहरु सवारीसाधन चलाउन योग्य पटक्क हुँदैनन्। सम्भवत: तिनले सद्दे देखेको भोलीपल्ट नै सडक कुरुप बनेको हो कि? त्यो पनि सम्भव छ। खन्न, खोस्रिन कुनै समय नलाग्ने तर बनाउन बर्षौं लगाउने प्रवृत्तिले जरो गाडेको रहेछ।

जे होस् , अन्तरिक पर्यटकले धानेको, कोदारीबाट ४५ किमी वर, बुढानिलकण्ठबाट ७६ किमी पर अनि दोलालघाटबाट २० किमी पर सुनकोशीको तीरमा रहेको यो स्थललाई किन 'बीच' भनियो भन्ने प्रश्न अनुत्तरित नै छ। तर, दुई पहाडको खोंचमा रहेको यो क्षेत्रमा सानाठूला, नयाँ पुराना गरि झण्डै १७ वटा रिसोर्टहरु रहेछन्। नेपाल चीन जोड्ने तथा ऐतिहासिक अनि व्यापारिक दृष्टिले महत्वपूर्ण अरनिको राजमार्गको यो खण्डखण्डमा देखिने र भोगिने दूराबस्था जेजति छ बुझिनसक्नु छ। भक्तपुरसम्म ब्यबस्थित सडक लगभग साॅगाबाट अनावश्यक तथा अर्थहीन तरिकाले असॅख्य स्थानमा खुँडेर खण्डित गरिएको छ। यसकासाथै सडक निर्माण तथा चौडा गर्ने उदेश्यकालागी सडक भताभुङ्ग गरिएका असॅख्य ठाउॅले आवागमनमा प्रत्यक्ष बाधा त पुगेकै छ। यसले समय र अर्थतन्त्रमा अथाह नकारात्मक प्रभाव पनि पारेको छ जुन सरकारको किताबमा कहिल्यै पर्दैन।

अर्थतन्त्रमा पर्ने नकारात्मक सामान्य उदाहरणका रुपमा: सडक दूरावस्थाको कारणले दुई मिनेटको दूरी पार गर्न बीस मिनेट लाग्नसक्छ। यो बीस मिनेटमा गति कम हुनाको कारणले ईन्धनको खपत बढि हुन्छ। खाल्डाखुल्डीमा सवारी साधन ठोक्किने या खसेर भौतिक क्षति हुन्छ र मर्मत आदिकोलागी ईन्धनसरह पार्ट्सहरु बिदेशबाट आयात गरिनुपर्छ। सडक दाॅयाबाँया बसोबास गर्ने बस्तीबासीहरुलाई धूलो र धूॅवाको प्रदूषणले स्वास्थ्यमा पार्ने प्रतिकूल असर लगायत सवारी साधन मर्मत आदिको ज्याला आदि सबैलाई आर्थिक दृष्टिकोणमा परिणत गर्दा परिणाम भयावह र सोचनीय हुन आउॅछ।

जे होस्, धुलिखेलपछि केराघारीसम्म शायद लगभग सात किलोमिटर सडकको अवर्णनीय दूर्दशा छ। उकालीमा रहेको यो खण्ड धूलो, हिलो, खाल्डाखुल्डी बाहेक केही छैन। कुनै खण्डमा छेउतिर निर्माण काम त भैरहेको छ। तर, न अगाडी काम छ, न पछाडी। वैकल्पिक तथा अस्थायी लेन सिर्जना गरेर आवागमनमा सहजता पुर्याउन सहजै सकिन्थ्यो। तर यस्ता सामान्य बिषयमा निर्माण व्यवसायी तथा सम्बन्धित निकायहरुको ध्यान नपुग्नु दुखदायी छ। यसतर्फ तिनका लापरवाहीले तिनका स्तर उजागर गरेको छ। कमसेकम आन्तरिक पर्यटनको भए पनि गन्तव्यको रुपमा स्थापित यस्ता स्थल जोडिने सडकहरु छिटोभन्दाछिटो सम्पन्न गरेर ति पर्यटन व्यवसायीहरूलाई सहयोग गर्नुपर्ने सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार किन अन्धो र बहिरो भएर बसेको छ? यो भन्दा महत्वपुर्ण त चीनसंग जोड्ने मैत्री तथा व्यापारिक राजमार्ग हो। यसको महत्तालाई मात्र ध्यान दिएको भए शायद यो अवस्था आउने थिएन कि?

व्यापारिक तथा आर्थिक दृष्टिले नेपालको अर्को लाइफ लाइन राजमार्ग पूर्व पश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड तथा त्रिभुवन राजपथको थानकोट नौबिसे सडक खण्ड जीर्ण र यातायातकोलागी अनुपयुक्त भएको कैयौँ बर्ष भैसकेको छ। यसबाट भैरहेको क्षति अतूलनीय र अवर्णीय छ। तर सरकार मूलत: सङ्घीय सरकारको अकर्मण्यताले आर्थिक नोक्सानकासाथै मानवीय क्षति भोगिरहनु परेको छ। यस सडक खण्डमा गतबर्ष काठमाण्डौॅबाट सौराहा हुॅदै बुटवल, स्याङ्जा, पोखरा काठमाण्डौॅको यात्रामा भोग्नुपरेको सडकीय सजायँले फेरि दोहोर्याएर यात्रा गर्ने बिचार र ऑट पटक्कै आएको छैन।

हुन त, वैकल्पिक साधनमा हवाई यात्रा पनि गर्न सकिन्छ, तर, स्थलमार्गमा पाईने रमणीय दृश्यावलोकन आदिको हवाई यात्रामा सम्भव छैन। र म यिनै दृश्यहरुको लोभी हुॅ। साथै स्थानीय ब्यापारमा सानो तथा झिनो योगदान पुर्याउन सकिन्छ। तर हवाई यात्रा पनि सबै स्थानमा उपलब्ध छैन र उपलब्ध गराउन सम्भव पनि छैन।

यसैगरी गतबर्ष चालकसहित भाडाको गाडीमा नगरकोटको यात्रा गर्दा पनि भक्तपुरको सैनिक इलाकापछि नगरकोटको रिसोर्टसम्म मुश्किलले केही किमी सडकमात्र स्तरीय पाएँ। बाँकि खण्ड खाल्डाखुल्डीले भरिपूर्ण थिए। धुलो र धुवाँका कारणले पहाडी क्षेत्रको स्वच्छ हावा पनि वर्जितसरह थियो। अरु त अरु, मूल सडकबाट छुट्टिएर रिसोर्ट जोड्ने सडक समेत दूर्दशामा थियो । स्वाभाविक रुपले यो सडकको भित्री खण्ड रिसोर्टको स्वामित्वमा देखिन्छ। स्थापनाकोलागी करोडौँ खर्च गर्नसक्ने रिसोर्टले यो सानो सडक खण्ड बिजोग अबस्थामा राख्नुको औचित्य बुझिनसक्नु छ। नगरकोटबाट फर्किएको केही अवधिपछि त्यस भक्तपुर नगरकोट सडकखण्डका वासिन्दाले तत्कालीन मन्त्री नारायणकाजी श्रेष्ठसँग वादविवाद भएको समाचार हेरेको थिएँ। अहिले त्यो खण्डको हालत यथावत छ या आवश्यक मर्मत गरियो थाहा हुनसकेन।

यसैगरि केहि हप्ता पहिले मेरा आत्मीय मित्रसँग ललितपुर जिल्लाको लाँकुरी भन्ज्याङ्ग जाने निधो गरियो। स्वभावत: बाटोको अबस्था राम्रो छ भन्ने जानकारी पाएपछि हुँईकिएर गइयो। उकालो चढ्ने क्रममा हाम्रो गन्तव्य पुग्न झन्डै तीन किमी सवारी साधन चलाउन योग्य थिएन। झन् रातो माटो रहेको खोस्रिएको सडक(?) र त्यसमाथि पानी पर्न थालेपछि त यात्रा खतरापूर्ण हुन थालेको अनुभव गरियो र निर्दिष्ट गन्तव्य नपुगीकनै फर्किन बाध्य भइयो।

यसका अतिरिक्त बाटामा पर्ने कतिपय स्थानमा पर्यटक स्थल तथा धार्मिक स्थल स्थापना त भएका छन् तर, तिनलाई पहुँच दिने सडकको चाहीॅ ब्यबस्था स्तरीय छैन। अझ, ति सडक नै होईनन् जुन फगत डोजरले खनेर रेखाङ्कनमात्र गरिएको हुन्छ। स्थानीय नेता तथा मन्त्री, साॅसदहरु आफ्ना मत सुरक्षित गर्न यस्ता झिनामसिना कामद्वारा 'ल हेर, मैले ल्याएको विकास' भन्ने झुटो, अपूरो र अधुरो योजना ल्याउॅछन्। तर, निर्माण व्यवसायी, स्थानीय सरकार तथा सवारी चालकका मनपरि र लापरवाहीको कारणले ति रेखाङ्कनले सडकको प्रमाणपत्र पाउनु अघि नै सवारी साधन चलाईदिन्छ। फलतः हुने दूर्घटना तथा तिनले हुने मानवीय क्षतिको दुखदायी समाचार सुन्नसमेत हामी अभ्यस्त भएका छौॅ। तसर्थ सरकार तथा निर्माण व्यवसायीहरुले सडकको पूर्णतया निर्माण सम्पन्न नभएसम्म सवारी आवागमन रोकिनुपर्छ।

मैले माथि उल्लेख गरेको विवरण निसन्देह प्रतिनिधि विवरण हुनसक्छ। देशभर यस्तो दुरावस्था असंख्य होलान् भन्न सकिन्छ। यो सबै खुद्रे विकासको सोच, जसलेपनि निर्माण ठेक्का पाउने परिपाटी र हतारमा मत तान्ने स्वार्थको कारणले हो जुन यथाशक्य बन्द गरिनुपर्छ।