https://twitter.com/Chirvir

Tweet me @chirvir







Friday, May 18, 2018

मोदी भ्रमणःकारण र परिणाम


बासु श्रेष्ठ
भर्जिनीया

सत्र बर्षसम्म भारतीय प्रधानमन्त्रीको नभएको भ्रमणको क्षतिपूर्ति भारतका बर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले चारबर्षको अवधिमा तीन पटक नेपाल भ्रमण गरेर पुरा गरेका छन् । छिमेकी पहिला भन्ने नाराकासाथ सन् २०१४ मे २६ मा भारतको प्रधानमन्त्री पदमा आसिन भएका मोदीले तेश्रो पटक हालै नेपालको भ्रमण पुरा गरे । यद्यपी यो भ्रमणलाई धार्मिक भ्रमणको नाम दिइएको थियो ।

नरेन्द्र मोदीले नेपालको पहिलो भ्रमण सन् २०१४ को अगस्तमा गरेका थिए । त्यसबेला उनले नेपालको सँबिधान सभालाई सम्बोधन गर्ने मौका समेत पाएका थिए । नेपालको आन्तरिक मामिलामा कदापी हस्तक्षेप नगर्ने, नेपालले अबलम्बन गरेको मार्गमा सदा साथ र सहयोग हुने वचन दिँदै पञ्चेश्वर आयोजना लगायत अन्य योजनाकोलागी सहयोगको थैली खोलेर स्वदेश फर्किएका थिए । नेपाली जनताको अपार समर्थन देखेर मोटरकेडबाट ओर्लिएर जनतासँग हात मिलाउन पुगेका मोदी रातारात नेपालीमाझ लोकप्रिय भएका थिए । किनभने उनले दिएका र बोलेका वचनहरु आकर्षक र बिश्वासिलो थियो ।

तर नेपालीहरुको उनीप्रतिको श्रद्धामा स्खलन त्यतिखेर भयो जब उनले नेपालले जारी गर्न लागेको सँबिधानप्रति खुल्ला हस्तक्षेप गरे । २०१५ सेप्टेम्बर २० मा जारी गरिन लागेको सँविधानमा चित्त नबुझाएर हस्तक्षेपकारी दूत पठाएका थिए । सोहि सालको अप्रील महिनामा महाभूकम्पले थलथलिएको नेपाल बिरुद्ध सँविधान जारी भएको तेश्रो दिनदेखी अर्थात सेप्टेम्बर २३ बाट नाकाबन्दी लगाएर पहिलो भ्रमणमा गरेका सम्पूर्ण वाचाहरुलाई तिलाञ्जली दिएर नेपालीको मनमा घृणाका पात्र भए । त्यस उप्रान्त आजसम्म मोदीले नेपालीको सम्मान फिर्ता पाउन सफल भएका छैनन् ।

यहि घृणालाई पखाल्न या भनौँ पश्चाताप गर्नकोलागी उनले ओलीलाई स्थानिय, प्रान्तीय र सँघिय चुनावदेखि प्रधानमन्त्री पदमा नियुक्त भएसम्म पटकपटक फोन गरिरहे । मोदीको यसरी बहुधा फोन पाउने नेपालको पहिलो व्यक्ति ओली नै हुनुपर्छ । अनि सदाको झैँ ओलीलाई भारत भ्रमणको निम्ता दिए । यदि ओली नाकाबन्दीताका झैँ आफ्नो देश, जनता र वचनप्रति पक्का रहेका भए उनले यस पटक आफ्नो विदेश भ्रमण चीनबाट नै गर्ने थिए । सारा नेपालीको विश्वास पनि यहि थियो । तर उनी मोदीको अगाडि नौनी झैँ गले । जे होस्, कुनै कुटनैतिक मर्यादाको बन्धनमा परेर ओली पहिले भारत गए होलान् भन्ने हामी शँकाको लाभ दिउँ । र यसको रेसिप्रोकेटमा तेश्रो पटक मोदीले नेपालको भ्रमण गरे त्यो पनि नवसँविधानले व्यवस्था गरेको नवप्रदेश नम्बर २ को जनकपुरबाट ।

मोदीको भ्रमण जनकपुरबाट हुनुमा पहिलो कारण उनले मधेशवादीहरुलाई खुशी तुल्याउनु नै हो । किनभने नेपालको सँविधानमा शुरुमा रहेको भारतीय असन्तुष्टि भनेकै मधेशवादीहरुप्रतिको समर्थन थियो । र यसकोलागी नेपालमा नाकाबन्दी समेत लगाईयो । तर, सँविधानप्रति आफ्नो कुनै प्रभाव नपरेको तर उल्टै नाकाबन्दीबाट आफुलाई आईलागेको नकारात्मक परिणामले मोदी पछि हट्न बाध्य भए । अपितु उनी मधेशवादीहरुलाई खुशी नै राखेर आफ्नो समर्थन जारी छ है भन्ने उदेश्यले जनकपुरबाट भ्रमण थालेका हुन् भनेर अनुमान गर्न सकिन्छ भने दोश्रो कारणमा उनको जनकपुर भ्रमणको पुरानो अभिलाषा हो । तर, यो अभिलाषापनि राजनैतिक कारणबाट नै प्रेरित थियो भन्ने स्पष्ट छ ।

एक सजग नेपालीको दृष्टिकोणमा मोदीको भ्रमण जनकपुरबाट आरम्भ हुनै हुँदैनथ्यो, विशेषतः अहिलेको अवस्थामा । बिगतका केहि बर्षहरुमा तराईमा जेजति उत्पात भएका थिए र सँविधानको निहुँमा भारतको मधेशप्रतिको सदाशयता स्पष्ट हुँदाहुँदै पनि नेपाल सरकारले मोदीलाई जनकपुरबाट भ्रमण गर्ने स्विकृति दियो । स्विकृति के भन्नु, भारतले पठाएको आईटिनरीमा नेपाल सरकारले हस् भनेर ल्याप्चे ठोक्यो । ओली सरकारले चाहेको भए सुशील कोईरालाले गरे झैँ तर्कसँगत आँट गरेर भारतको यस आईटिनरीलाई अस्विकृत गर्नसक्थ्यो ।

यो स्वागतसम्म त ठिक थियो तर परराष्ट्र् मन्त्रालयले कसले के कहिले र कसरी बोल्ने भनेर प्रदेश उपर कुनै अँकुश या नियन्त्रण लगाउन सकेन । या निर्देशन जारी गर्न सकेन । जसको कारणले उनै विदेशी पाहुना मोदीको अगाडी देशको आन्तरिक मामिलालाई उचालेर लाजको पसारो बनाए मुख्यमन्त्री राउतले । मोदीमा राउतको यो एक प्रकारको उजुरी थियो । यो एक प्रकारको परालम्बनको द्योतक थियो । हामी अझै तिम्रो मुख ताक्दै छौँ है भन्ने सन्देश, अनुरोध या अनुनय विनय थियो । यदि परराष्ट्र् मन्त्रालयले विगतका ईतिहासलाई सम्झिएर सजगताकासाथ पाईला चालेको भए यो अवस्था कदापी आउने थिएन होला । यस्तै विवादको आशँकाको कारणले हुनसक्छ तत्कालिन प्रधानमन्त्री सुशील कोईराला सरकारले मोदीको जनकपुर भ्रमण रद्ध गर्न बाध्य भएको थियो । त्यसबेला त अझ प्रदेश सरकारको गठन भएको थिएन तर मोदी भने दश हजार साईकल लिएर आउँदै थिए ।

प्रकाशित समाचार आदिहरुको आधारमा भन्ने हो भने मोदीको यस पटकको भ्रमणमा जहाँजहाँ मोदी पुगे त्यहाँत्यहाँ सुरक्षाकोलागी भारतीय सुरक्षा दस्ताको बाहुल्यता र प्रधानता रह्यो । यो देशकोलागी अति नै लज्जास्पद र सार्वभौकिताप्रतिको प्रश्न हो । किनभने मोदीको उपस्थिति रहेको विभिन्न स्थानहरुमा प्रेस पास पाएका नेपाली सँचारका पत्रकारहरुलाई निषेध गरिएको थियो भने भारतीय पत्रकार र क्यामेरामेनको भने निर्बाध प्रवेश र छायाँकनको सुविधा पाएका थिए । उदाहरणकोलागी काठमाण्डौँ महानगरपालिकाबाट गरिएको अभिनन्दन समारोहमा नेपाली प्रेस पास पाएका सँचारकर्मीहरुको प्रवेशमा रोक लगाईयो । प्रवेश पास दिने, तर प्रवेश नदिने सरकारको यो दोधारे निति बुझ्न कठिन छ । सरकारले प्रेक्षालयमा स्थानाभावको कारणले रोक लगाईएको भन्ने लँगडो र हाँसो उठ्दो कारण सार्वजनिक गरेको छ । तर प्रश्न के उठ्छ भने राष्ट्रिय सभा गृहको सो प्रेक्षालयमा कति मानिस अट्छन्, को कति कहाँ र कसरी बस्छन् भन्ने योजना नै गर्न सकेको थिएन? विदेशी पाहुनाको अभिनन्दन गर्न सक्नेले यति सामान्य योजना बनाउन नसक्नु लाजमर्दो विषय होईन? यदि योजना अनुसार भएको थियो भने बढि पास कसरी वितरण गरियो? दुबै दृष्टिबाट सरकार र अभिनन्दन समारोहका आयोजक चुकेका छन् ।

त्यसैगरि मुक्तिनाथ पुजाको भिडियो लाईभ रेकर्ड गर्ने अनुमति भारतीय क्यामराले कसरी पायो? के मुक्तिनाथको पुजाको खुल्ला तस्बिर या भिडियो कहिल्यै सार्वजनिक भएको थियो?

अर्को कुरा, नाकाबन्दीको घाउ अझै आलो छ भन्ने देखाउन विवेकशील दलको ललितपुरमा रहेको मुख्य कार्यालयमा एउटा कालो ब्यानर राखियो । मलाई जहाँसम्म लाग्छ यो ठाउँ मोदीको भ्रमणको बाटोमा पर्दै परेन । तर पनि माथिको आदेशमा भनेर प्रहरी आएर त्यो ब्यानर झिक्यो । यसले सरकारको उपस्थिति र सरकारको चनाखोपन त देखियो तर यो चनाखोपन प्रतिगामी, उल्टो र अनुत्पादक थियो । किनभने उता जनकपुरमा मोदीको अभिनन्दन समारोहमा भने फ्रि मधेसको दुईदुईवटा ब्यानर देखाईएको थियो । अर्कोतिर मोदी-ओली बसेका मञ्चमा राष्ट्रिय झण्डाको बिजोग थियो । तर ति ब्यानरधारीहरुलाई कारवाहि या नियन्त्रणमा लिन माथिको आदेश पटक्कै जाँदै गएन न त स्थानिय प्रशासन र प्रहरीले आफ्नोतर्फबाट कुनै सजगता या सक्रियता देखाए ।

अन्त्यमा, भ्रमणको कारण जे भनिए पनि मोदीले नाकाबन्दी ठिक थिएन भन्ने दुई शब्द बोल्ने हिम्मत गरेनन् र नेपालीको पुनः मन जित्ने मौका गुमाए । यता, ओली सरकारले पनि आफ्नै चीन भ्रमणमा बाधा पुर्याउने नियतले भारतले छ्वास्स पठाएको आईटिनरीमा ल्याप्चे हान्दै मोदीको धुमधामसँग स्वागत गरेर नेपालीहरुको ओलीप्रति रहेको सद्भाव कायम राख्ने मौका गुमाए । अब यस्तो नाबालकपनको अबस्था देशमा कहिल्यै नआओस् । छिमेकी पहिला भन्ने नारा लिएका मोदीको छिमेकी नितिबाट छिमेकी राष्ट्र्हरु कति प्रभावित छन् भन्ने कुरा भुटान बाहेक अन्य सबै सार्क राष्ट्र्लाई हेरे पुग्छ । त्यसकारण, मोदी शतप्रतिशत विश्वास गर्न लायकका होईनन् भन्ने देखिन्छ र नेपालले सोहि अनुसार सतर्कता र सजगताकासाथ पाईला चालोस् भन्ने कामना गर्नु अत्यूक्ति नहोला ।


Thursday, May 3, 2018

तास खेलेको हेर्दा भर्ना छुट्यो

जनकपुरबाट २०३२ मा एसएलसीको जाँच दिएर गौर सरेको तीनचार महिनापछि भएको रिजल्टमा म तेश्रो श्रेणीमा पास भएछु । त्यसैले केहि दिनपछि काठमाण्डौँमा कलेज पढ्ने तयारीकोलागी आवश्यक प्रमाणपत्रहरु लिन जनकपुर गएँ । हाम्रो स्कुलबाट झण्डै ६०-६५ विद्यार्थीले दिएको एसएलसीमा टेष्टको जाँचमा पाएको नम्बरको हिसाबले पहिलो, दोश्रो, तेश्रो र चौथोहरुमात्र पास भएका रहेछन् । अर्थात त्यतिकामा जम्मा चारजनामात्र पास । टेष्टमा म चौथो भएको थिएँ । यस अघिका कक्षाहरुमा म औसत विद्यार्थी थिएँ । तर एसएलसीको त्रासले मलाई मेहनती बनाएको थियो र धन्न सफलता मेरो हात लागेको थियो ।
डाक्टर बन्ने धोको र रहर बोकाइएको थियो । तर हातमा भने पुँजी थिएन । के जातिको उखान भने झैँ चाहिँ थियो । तर पनि आवश्यक प्रमाणपत्रहरु बनाएर काठमाण्डौँ गएँ र महाराजगँज क्याम्पसमा भर्ना हुनकोलागी आवेदन भरेँ । त्यतिबेला प्रवेश परिक्षा दिनुपर्ने थियो र गोरखापत्रमा प्रकाशित भए अनुसार मेरो केन्द्र थियो अमृत साईन्स कलेज । सो कलेजको कक्षाका बेन्चहरु पहिलो लहरबाट पछिल्ला लहरहरु उकालो लाग्दै जाने हुँदा रहेछन् र मचाहिँ त्यहि उकालोको पछिल्लो लहरमा परेको थिएँ । अर्थात डाँडाको टुप्पोमा बसे झैँ । सबैले सबैलाई देखिने । जे होस् टेष्टको परिक्षा केहि हप्तामा गोरखापत्रमा प्रकाशित भयो । नेपालमा त्यसताका भर्खर कम्प्युटरको प्रयोग भएको थियो र यो टेष्ट परिक्षाको परिणामपनि सोहि कम्प्युटरले गरेको भन्ने हल्ला सुनिन्थ्यो ।
टेष्टको परिणाममा म पास भएछु । तर, मलाई मैले दिएका उत्तरहरुको आधारमा मलाई बायोलोजी समूह अन्तर्गत अस्कल क्याम्पसमा भर्ना हुने गरि परिणाम प्रकाशित गरिएको रहेछ । यसै गरि विज्ञानका विभिन्न समूहमा भर्ना हुने गरी गोरखापत्रमा परिणाम प्रकाशित भएको थियो ।
आफु भर्ना हुन खोजेको महाराजगँज मेडिसिन क्याम्पसमा, परिणामले अस्कल जान भन्यो । तर पनि बायोलोजी समूहपनि विज्ञान अन्तर्गत र पछि मेडिसिनमा जान पाईन्छ भन्ने सल्लाह पाएकोले यस तर्फ भर्ना हुन सुरसार कसेँ ।
बाआमा गौरमा, आफु बसेको पुख्र्यौली घरमा हजुरबाहजुरआमासँग । पैसा माग्दा गौरबाट मगाउनु पर्छ भन्ने जवाफ पाए अनुसार गौरमा बाआमालाई चिठ्ठि लेखेँ । अब पैसा कुर्नु र भर्ना हुनु बाहेक गर्नु केहि थिएन ।
छिमेकी साथीको घरमा दिनदिनै तास खेलाईन्थ्यो । कुनै नाफा नोक्सान या व्यवशायीक प्रयोजनले होईन । टोलेहरु फुर्सदिलो भएपछि जमघट हुने र फिटौँ फिटौँ भन्दै अखाडा जमीहाल्थ्यो । तर यो दैनिकी भई सकेको थियो भने मेरोपनि दिन काट्ने मेलो बन्दै थियो ।
तास खेलेको हेर्दै चिया चमेनापनि त्यहिँ गरेर बेलुका घर गएर हजुरआमाको होटेलमा भात लुँड्यायो । घुप्लुक्क सुत्यो, भोली त्यहिँ पुग्यो । यसो गरुन्जेल पैसा आउन ढिलो भएको, भर्ना हुने म्याद सकिन लागेको तर्फ म उति चिन्तनशील भईनँ । अर्थात कलेज भर्ना हुनप्रति म उदासीन बन्दै पढाईप्रति बेवास्ता गर्न थालेँ । किनभने दिनभर तासमा रत्तिने मेरा आफ्नै बाल्यकालका दौँतरीहरु थिए । यिनलाई पढ्नु पर्दैन भने मलाईमात्र किन? भन्ने जस्ता भावनाले समात्न थालेको थियो ।
तर, जबजब भर्ना हुने समय अन्तिम हुन लाग्यो मेरो घैँटोको ढोका कसरी हो आफँै खुल्यो र पैसाको जोहो गर्न चलमलाउन थालेँ । केहि आफन्तका घरमा ढोका ढकढक्याएँ । कसैले हिजोमात्र आएको भए...., कसैले ठ्याम्मै छैन भने । अहिले सम्झन्छु, १७-१८ वर्षको अल्लारे केटोलाई कसले र किन पैसा सापट दिन पत्याउँदो हो? दोष तिनका थिएन । दोष मेरै थियो काँचो उमेर हुनु र समयमै बुद्धि नपुर्याउनु ।
अब अन्तिम सहाराको रुपमा मेरो डा. मामा र बाल विशेषज्ञ योगेन्द्रभक्त श्रेष्ठको घर गएँ । अरुसँग पैसा माग्ने, आवतजावत गर्ने क्रममा भर्नाको म्याद सकिई सकेको थियो । मामालाई सबै बृतान्त सुनाएँ । दुई छोराका बाबु र पढाईको महत्व बुझेका मामाले तुरुन्त चाहिने पैसा दिए र म अस्कल पुगेँ । त्यहाँ भर्ना हुने कार्यालयमा भाई, तपाईको ठाउँमा त अरु नै भर्ना भईसक्यो । अब साउने सेमेष्टरमा प्रयास गर्नु भने । बिवाद, अनुनय, बिनय, अनुरोध, तर्क बितर्क गर्ने मेरो प्रकृति थिएन । अर्थात सोझो भएकोले म बिना टिकटको चिठ्ठि झैँ लुरुक्क फर्किएँ ।
भोलीपल्ट मामाघर गएर भएका घटना भनेँ । मामाले त्यहिँ भात खुवाउन लगाई आफ्नै गाडीमा राखेर कान्ती बाल अस्पताल लगे । मलाई बाहिर नै राखे । मेरो टेष्टको नम्बर मागे अनि भित्र गए । दश पन्ध्र मिनेटपछि रातारातो अनुहार बनाउँदै मेरो नम्बर टिपेको कागज मेरै हातमा राख्दै ल केहि लागेन, जाओ जनकपुर जाओ भन्दै मेरो गर्दनमा हात राखेर बाहिर घचेटे । टन्न बिरामीहरु पालो कुरेर बसिरहेका ठाउँमा मामाले गरेको त्यस ब्यवहारमा आफैँ लज्जित हुँदै घर फर्किएँ ।
अब काटमाण्डौँ बस्ने जरुरी थिएन । माघे सेमेष्टर शुरु नै भएको थिएन भने साउने सेमेष्टर त कता हो कता । बरु गौर जान्छु अनि फेरि साउने सेमेष्टरकोलागी आउँछु भन्दै गौर पुगेँ । केहि दिनपछि साउने सेमेष्टरकोलागी काठमाण्डौँ नगएसम्मकोलागी भन्दै राष्ट्रिय वाणिज्य बैँकमा अस्थायी जागीरे भएँ र २०४३ सालसम्म जागीरे भएको भएँ ।
यसरी तास खेलेको हेरेर मेरो जीवनको बाटो नै मोडियो र आज यस ठाउँमा छु ।


यस अघिका प्रसङ्ग यस लिङ्कमा पढ्नु होला: https://myv4.blogspot.com/2016/03/blog-post_31.html


Wednesday, March 21, 2018

स्वास्थ्य क्षेत्रमा हेलचेक्र्याईका नमूना


@chirvir

केहि दिन अघिमात्र काठमाण्डौँको एक अस्पतालमा देब्रे घुँडाको उपचार गर्नुको सट्टा दाहिने घुँडाको उपचार गरिएको समाचारले सबै जना छक्क र त्रसित भएका थिए । तर यस्तो उल्टो र गलत उपचारका घटनामा यो पहिलो भने होईन । यसभन्दा पहिले पनि निकै यस्ता दुर्घटनाहरु भई सकेका छन् र कतिले ज्यानपनि गुमाई सकेका छन् ।

२०४६ को आन्दोलनपछि च्याउ सरह खुल्लम्खुल्ला खुलेका अस्पताल, कलेज, विद्यालयहरु स्थापना त भएका छन् तर केहीमा बाहेक यिनमा हुनुपर्ने गुणस्तर भने न्यून भन्दा न्यूनपनि छैन । किनभने यि सबै व्यवशायिक उदेश्यमामात्र निहित भएर स्थापना भएका हुन् । अर्कोतिर, यसका उत्पादक विद्यार्थीहरु जसोतसो कलेज विद्यालय उत्तिर्ण हुने र पैसा कमाउने हतारमा हुन्छन् । फलस्वरुप न कारखाना गतिलो, न त उत्पादन नै । जसले गर्दा सेवाग्राही तथा उपभोक्ताहरु ठगी, नक्कली तर महँगोको मारमा पर्न बाध्य भएका छन् । र सबैभन्दा उदेक लाग्दो बिषय त के भने अनुगमन गर्ने सरकारी निकायहरुको उदासिनताले समेत उपभोक्ता वर्ग यि सबैका चपेटामा परेका छन् ।

विदेश जाने रहर गर्ने विद्यार्थीहरुलाई आकर्षित गर्न या भनौँ विदेशमा नै अध्ययन गरिएको भान दिन विदेशी नाममा खुलेका यि कलेज तथा स्कूलहरुले मूलतः यिनका तथा यिनका बाबुआमाको आँखामा छारो हाल्ने काम गरेर पैसा कमाउने बाहेक आफ्नो उत्पादनको गुणस्तरमा ध्यान दिएको पटक्कै भेटिँदैन, पाईँदैन । अन्यथा सेवाग्राहीले किन यसरी दुःख र महँगी खेप्न परेको छ?

अस्पताल तथा अन्य स्वास्थ्य क्षेत्रमा भएका चरम लापरवाही तथा सेवाग्राहीप्रतिको चरम अवहेलनाका थुप्रै समाचारहरु आई नै रहेका छन् । तर हालैका दुई घटनाले यो लेख लेख्न बाध्य तुल्यायो ।

पहिलोः
मेरी श्रीमति काठमाण्डौँ बसाईको क्रममा तीलगँगा आँखा अस्पतालमा आँखाको उपचार गराउन गईन् । डा. सन्दुक रुइतबाट सन्चालित यो अस्पताल सेवाकोलागी लोकप्रिय छ | यस अस्पतालमा उपचार गराउनेहरु गर्व गर्दछन् र यहि गौरवता अनुभव गर्न उनीपनि त्यहाँ पुगेकी थिइन् |

दुई पटकको सोधपुछ पछि उनले आफ्नो पालोमा आफुमा भएको समस्या भनेपछि रगतको रिपोर्ट लिएर आउने सल्लाह पाईन् र पछि बोलाईएको दिन रिपोर्ट लिएर अस्पताल पुगिन् । सम्बन्धित काउण्टरमा रिपोर्टहरु दिँदै थप पैसा कति तिर्नु पर्छ भनेर जानकारीकोलागी अनुरोध गरिन् । काउण्टरका उपबुज्रुग र बेसोमति कर्मचारीले एकहजार पचास दिनुस् भन्दै एउटा रसिद दिएर यसको रिपोर्ट ल्याउनुस् भनेछन् । फेरि रिपोर्टको कुरा सुनेर अलमलमा परेकी उनले थप बुझ्न खोज्दा झर्काे मान्दै तपाई अर्काे बिल्डिँगमा जानुपर्छ भनेछन् । भिडको माझमा त्यहाँ अझ अलमल गर्नुको सट्टा त्यहाँबाट निस्किएर एउटा गार्डलाई कागजपत्र देखाउँदै कता जानुपर्छ होला भने जिज्ञासा राखेपछि उनले कागजपत्र हेर्दै ल, तपाईलाई त फेरि रगत जाँच्ने रिपोर्ट पो मागेको छ । तर तपाईँको रिपोर्ट त हातमै छ । त्यसै तपाईँसँग पैसा लिएछ । जानुस् फिर्ता माग्नुस् भन्ने सल्लाह दिएपछि फेरि काउण्टरमा गएर बिस्तृत भनेर पैसा फिर्ता माग्दा हाकिमको तोक लगाउनु पर्ने भनेपछि तोक लगाउने हाकिमको कोठा खोज्दै तोक लगाएर पुनः त्यहि काउण्टरमा आएर पैसा फिर्ता लिन पाईछन् । आफुले भूल गरेकोमा किञ्चित दुख तथा क्षमा मान्न नजान्ने ति कर्मचारीले के कति गल्ती गरेका होलान्, के कति व्यक्तिहरुले दुख पाएका होलान् सहजै अनुमान गर्न सकिन्छ । सेवाग्राहीप्रति के कस्तो व्यवहार गरिनुपर्छ भन्ने सामान्य औपचारिकता नसिकाउने अस्पताल प्रशासन तथा ११/१२ पास या कुनै कलेजबाट उत्तिर्ण भुतपूर्व सो विद्यार्थीले स्कूल कलेजबाट के कस्तो सिक्यो होला सहजै अनुमान गर्न सकिन्छ । र यो साह्रै बिरक्त लाग्दोमात्र नभएर स्वास्थ्य जस्तो क्षेत्रमा यस्ता लापरवाही अति सम्बेदनशील बिषय हो ।

हेक्का के रहोस् भने उनको आँखा जाँच्ने सबै चिकित्सक तथा परिचारिकाहरुको व्यवहार र बोलीचाली भने असाध्य राम्रो र पेशागत (प्रोफेशनल) रहेको उनले पाइन् | साथै अस्पतालको परिसर लगायत जता गएपनि ज्यादै सफा सुग्घर रहेको तिनले पाइन् |

दोश्रोः
अझ माथिको भन्दा पनि चरम लापरवाहीको यो अर्को नमूना हो । हालै एक महिला गर्दनको नसा दुखेकोले डाक्टरलाई देखाउन गईन् । डाक्टरले चलनचल्तीको डाक्टरी अक्षरमा नभई स्पष्ट DIPLAR लेखेको प्रेस्क्रिप्सन दिएछन् । नजिकैको श्रीराम फार्माबाट औषधि किनेर घर आई खान थाल्दा गर्दन निको हुनुको सट्टा नदुखेको व्यथाले समातेछ । शरीरमा असहजता, बढि पिसाब लाग्ने आदि हुन थालेपछि आफन्तले औषधि र प्रेस्क्रिप्सन भिडाएर हेर्दा DYTOR औषधि पो दिईएको रहेछ । अलि लेखपढ गर्न जान्ने आफन्त भएको कारणले सो औषधि खान त रोकियो र शारिरिक क्षति हुन पाएन । तर, तिनि या तिनका आफन्त लेखपढ गर्न नजान्ने या कम्प्युटरबाट शोधखोज गर्न नजान्ने भएको भए त्यस गलत औषधिले के कति शरीरमा क्षति पुर्याउँथ्यो अकल्पनिय छ । तर यसको जिम्मेवार को हो? औषधि पसल र औषधि बिक्रेता नै हो । गलत औषधि दिएको जानकारी दिन ति महिला औषधि पसल गएको जस्तो चाहिँ देखिन्न । तर मलाई लाग्छ उनि जानु पर्थ्यो र खबरदारी गर्नु पर्थ्यो । नजानुको कारण या त्यस औषधिको रसिद नलिएको कारणले या आउजाउको समस्याले गुनासो तथा खबरदारी गर्न गाहारो मानिएको हुनसक्छ । कतिपयले टाढा बसाई गरेकाले 'आ... होस्' भनेर नीच मारिदिन्छन् तर यो औषधि पसलेको लापरवाही जारी नै रहन्छ र अन्जानमा कतिले शारिरिक तथा आर्थिक क्षति अनि मानसिक तनाव ब्यहोरी रहेका हुन्छन् ।

असँख्य मात्रामा विदेशिएका नेपालीहरुलाईमात्र ध्यानमा राख्ने हो भने नेपाल स्वास्थ्य पर्यटनको सम्भावना रहेको देश हो । किनभने स्वास्थ्य क्षेत्रमा निजि क्षेत्रबाट अपार लगानी गरिएको छ । नयाँनयाँ प्रबिधि अपनार्ईएको समाचारमा पढ्न पाईन्छ । र विदेशमा भएका प्रबिधिबाट नेपालमा नै उपचार हुन्छ भने थुप्रै नेपालीहरु उपचार गराउन आउने छन् । किनभने, बिदेशी मुद्राको दाँजोमा नेपाली मुद्रा सस्तो छ, भाषामा सहजता छ र आफ्नै माटोमा उपचार गराउन पाउने भए बिदेशमा हुने महँगो र भाषिक असहजताका बिच किन उपचार गराउँथे? सस्तो तथा उच्चस्तरीय उपचार उपलब्ध भयो भने बिदेशिएका नेपालीमात्र होइन बिदेशीहरु नै पनि उपचार गराउन आउने छन् र यसैलाई स्वास्थ्य पर्यटन भनिन्छ |

तर, यि असहजताका साथै रहर हुँदाहुँदै कतिपयले बिदेशमा नै उपचार गराउनाका मूल कारण अस्पतालहरुको लापरवाही, बिरामीहरुप्रतिको अवहेलना तर पैसा चाहिँ खनखनी गनेर लिने प्रवृत्तिले नै हो । यदि स्वास्थ्यकर्मीहरु तथा स्वास्थ्यसेवा प्रदायकहरु आफ्नो पेशा र व्यवशायको उच्चतम विश्वास र उच्चतम गुणस्तर निर्माण गर्नुका साथै सेवाग्राहीमुखी हुन चाहने प्रबल ईच्छा छ भने यसतर्फ उन्मुख हुने बित्तिकै नेपाल स्वास्थ्य क्षेत्रकोलागी एक गतिलो गन्तब्य बन्न सक्ने निश्चित छ ।

Sunday, January 14, 2018

पराजुली, अदालत र म

पराजुली, अदालत र म

बासु श्रेष्ठ
उडब्रिज, भर्जिनीया

म २०३२ सालमा जनकपुरबाट एसएलसी दिएर रौतहटको गौरमा बुवासँगै सरेको थिएँ । हामी बसेको घर रौतहट जिल्ला अदालतकै अगाडिपट्टि थियो भने म बसेको घरबेटीका दुई छोराहरु सोहि अदालतमा लेखन्दासको काम गर्थे । यसैगरि छिमेकीका एकजनापनि अदालतमा काम गर्थे ।
यिनै घरबेटी लेखन्दासको सँसर्गमा आएर मैलेपनि फुर्सदको समयमा लेखन्दासको काम गर्न थालेँ । विभिन्न मिसिलहरुको नक्कल सार्ने, वारेसनामा लेख्ने लगायतका अदालती काम सिक्दै आफ्नो पकेट खर्च निकालिन्थ्यो र साँझ नजिकै रहेको सीमापारी बैरगनिया बजारमा सिनेमा हेर्न या किनमेल गर्न गईन्थ्यो । यो मेरो जिवनको पहिलो काम र आम्दानीको माध्यम थियो ।
अदालतमा दिनभरि अदालतका कर्मचारी सरह रहँदा त्यहाँ हुने अनेक प्रकारका लेनदेन, मुद्धाका छिनोफानो, नाङ्गा तथा गरिबहरुको रोदन र चित्कार, मुद्धा जित्नकोलागी अपनाईने विभिन्न तिकडमबाजीहरुको साक्षी बन्ने मौका जुरेको थियो । अल्लारे र काँचो उमेरको म त्यसबेला जे देख्थेँ सामान्य मान्थेँ र सहजताकासाथ लिने गर्थेँ । तर उमेर बढदै गएपछि ति अनुभवहरुले अदालत र न्यायप्रतिको मेरो धारणा नकारात्मक बन्दै गयो र अहिले त झन् पराजुली परिघटनाहरुले ति धारणाले अझ सबल हुने मौका पायो ।
माथि उल्लेख गरिएको मेरो डेरा नजिकको अदालतमा कार्यरत कर्मचारीको अदालतका तीनै न्यायधिशहरुको (न्यायाधिशहरुको जेष्ठताक्रम अनुसार १ नँ, २ नँ र ३ नँ ईजलास भनि तोकिएको हुन्थ्यो) घरमा बेलुका या साँझ परेपछि आवतजावत हुने गरेको देखिन्थ्यो । यसैगरि ति कर्मचारीको घरमा झगडियाहरुको आवतजावत देखिन्थ्यो । अधिकाँश झगडियाहरु स्वभावतः मधिसेहरु नै बढि हुने गथ्र्याे । तर यसको अर्थ स्पष्टै थियो । यि सबै आवतजावतहरु मुद्धाको लेनदेनकोलागी आवतजावत थियो । जसमा जसले बढि पैसा वा नजराना चढाउन सक्यो फैसला उसैको पक्षमा हुन्थ्यो । भोली या अर्काे कुनै दिन यसको असर अदालतमा स्पष्ट देखिन्थ्यो । यि परिघटनाहरु त्यतिखेर मेरालागी सामान्य अथवा निष्प्रभावि भए ता पनि पछिपछि अदालतप्रतिको मेरो नकारात्मक धारणा बन्दै गयो ।
हाल यता आएर पराजुलीको व्यक्तिगत भन्दापनि उनी तथा उनका प्रवृत्तिबाट हुँदै आएका कतिपय फैसलाहरु विवादित हुँदै आएका छन् । सरकारवादी भ्रष्टाचारका मुद्धामा समेत विपक्षीलाई रिहा गर्ने, धरौटीमा छोडिने या मुद्धा नै खारेज गरिएका छन् । न्यायको नाममा यसरी सर्वाेच्चको फैसलालाई कुन हदसम्म जनताले स्विकार्ने भन्ने अहम् प्रश्न उठेको छ । सँबैधानिक निकाय र न्यायपालिका भन्दैमा जनता सर्वाेपरी ठानिएको देशमा जनताले आवाज उठाउन नपाईने भन्ने कहाँ छ? तर यदि अदालतले यसरी फैसला गर्दै जाने हो र जनता चुपचाप बस्ने हो भने त न्यायको नाममा निरङ्कुशता पो ठहरिन्छ । के अदालत यतैतर्फ उन्मुख हुन खोजेको हो?
मेरो विचारमा न्यायको नाममा कानुनका रेसा केलाउनु मात्र होईन, अदालतले व्यवहारिकतापनि हेर्नुपर्छ भन्ने लाग्छ । फेरि कानुन सँधै आफैँमा पूर्ण पनि त हुँदैन ।
अदालतले आफु कानुनसम्मत हुँदाहुँदैपनि व्यवहारिकतामापनि ध्यान दिनुपर्छ भन्ने कुराको उदाहरणकोलागी अमेरिकाको न्युजर्सीको अदालतको एक फैसलालाई लिन सकिन्छ । एउटी १८ बर्षकि रैचेल क्यानिँगले बाबुआमाको कडाईपन र अनुशासन सहन नसकि, बाबुआमाबाट अलग हुन पाउँ र आफ्नो खर्चको सम्पूर्ण व्ययभार पनि बाबुआमाले नै ब्यहोरुन् भन्दै घर छोडि साथीको घरमा बसेर बाबुआमा बिरुद्ध मुद्धा हालिन् । तर अदालतले यसरी वादीको दाबीलाई अदालतले मान्यता दिँदै जाने हो भने भोली यो चलनकै रुपमा स्थापित हुनसक्छ भन्दै उनको मुद्धालाई खारेज गरिएको थियो । अर्थात अदालतले वर्तमानको निर्णयले भविष्यमा स्थापित हुन सक्ने नजिरलाई ध्यानमा राखेर ति वादी केटीलाई आफ्ना परिवारसँग पुनर्मिलनको आदेश दियो । अदालतले कानुनमा के छ भन्नेमात्र ध्यान नदिई व्यवहारिकतामापनि ध्यान दिएर फैसला गर्याे । हाम्रा देशका अदालतलेपनि यस्तै फैसला गरुन् या गरे हुन्थ्यो भन्ने चाहना कतिपय अदालतको निर्णय पढेसुनेपछि यो पँक्तिकारमा पलाएका छन् ।
जिवनको यात्राक्रममा अदालतका फैसलाहरुमा अधिकाँश फैसलाहरु भ्रष्टाचारीपक्षमा भएकोबाटपनि अदालतका फैसला के प्रति उन्मुख छ भन्ने आँकलन गर्न सकिन्छ ।
त्यसो भन्दैमा सबै अदालतका सबै न्यायाधिशहरुप्रति मेरो नकारात्मक धारणा छ भन्ने पनि होईन । कतिपय फैसलाहरु पिडितकै पक्षमा भएको पनि पाएको छु । त्यतिबेला मेरो धारणामा धुमिलपना आउने गर्छ र केहि उज्याला पक्षहरु देख्ने गर्छु । यसैगरि मेरो स्कूलका सहपाठी नै अहिले कुनै पुनरावेदन अदालतको मूख्य न्यायाधिश छन् । उनिसँग कुरा भएको बेलामा म यि र यस्तै विषयमा कुरा हुँदा उनले आफु त्यस्तो नभएको कुरामा विश्वस्त तुल्याउँथे र म उनिप्रति खुशी हुन्थेँ । उनको कार्यपद्धतिप्रति मलाई गौरवपनि लाग्छ । भनाईको मतलब सबै न्यायाधिश, सबै अदालत भ्रष्ट छैनन् तर अधिकांश छन् भन्न भने ढुक्कै सकिन्छ |
तर, यो पक्षलाई धुलिसात गर्ने माथि उल्लेखित बहुसँख्यक घटनाहरुले भने नकारात्मक पक्षलाई नै पक्षपोषण गर्ने गरेकोले यो विचार लेख्न बाध्य तुल्यायो ।