https://twitter.com/Chirvir

Tweet me @chirvir







Wednesday, July 8, 2015

पैँचो मागेको खुट्टा


बासु श्रेष्ठ
उडब्रिज, भर्जिनीया
अमेरिका


मैले कतै पढेको या सुनेको थिएँ । त्यो के भने, हिरोशिमा र नागाशाकिमा अमेरिकाले विध्वँसकारी दुई बम खसालेपछि तहसनहस भएको जापानलाई अमेरिकाले केकस्तो सहयोग चाहिन्छ भनेर सोधेको जवाफमा हामीलाई प्रविधि देउ, त्यसैको भरमा हामी उठछौँ भनेको थियो रे । कुरो कत्तिको सत्य हो ईतिहास खोतले थाहा भईहाल्छ । तर कुरोको चुरो भने सान्दर्भिक छ हाम्रो देश नेपालको सन्दर्भमा ।

नेपालमा गएको दुई विध्वँसकारी भूकम्पले जेजति हानी नोक्सानी गर्यो त्यो सबैको सामू छ । यो नोक्सानको मौद्रिक रुपमा राष्ट्र्यि योजना आयोगले खर्ब रुपैयामा परिणत गरेको छ । राष्ट्र निर्माण गर्न लम्केका हातहरु पुननिर्माण, पुनस्र्थापनामा लाग्नु पर्ने भएको छ । त्यसकोलागी सरकारले सारा शक्ति राष्ट्र्हरुको सामू हात फैलाएको छ । टोपी खोलेर विश्वसामू थापेको छ । जसरी भूकम्प लगत्तै पिडितहरु सरकार या अन्य सहयोगको मुख ताकेर बसेका थिए त्यसैगरी अहिले नेपाल विश्वसामू मुख ताकेर बसेको छ ।

दैवी प्रकोपले ध्वस्त भएको देशलाई बाह्य सहयोग अपरिहार्य हुन्छ । त्यसमाथि नेपालजस्तो विश्वको गरीब राष्ट्र्हरुको नेतालाई त झन् चाहिने नै हुन्छ । तर यस्तो सहयोग कतिसम्मकालागी या कुन कुन क्षेत्रकालागी भन्ने प्रश्न चाहिँ अहम् ठहरिन्छ । तर बुझ्नुपर्ने के हो भने सहयोग भनेको सदाकालागी होईन । यसको समय र सीमा हुन्छन् । दिनेले दिई रहन सक्दैन । त्यस्तै माग्नेलेपनि मागीरह्यो भने उ पिडित नभई माग्ने ठहरिन्छ । कतै हामी माग्नेतर्फ उन्मुख त भएका छैनौँ?

यसै मेसोमा भर्खर सम्पन्न भएको 'नेपालको पुनर्निर्माणकालागी अन्तर्राष्ट्रिय सम्मेलन २०७२' मार्फत नेपालले झण्डै चारशय अर्ब रुपैँयाको सहयोगको वचन पायो । हामी दँग छौ सहयोग ओईरिएकोमा । तर यो सहयोगको उपयोग कसरी हुन्छ भन्ने कुरामा हामी अर्थात योजनाकारहरु कत्तिको सचेत र सजग छन् उनै जानुन् । शुन्य भ्रष्टाचारको आधारमा जनता तथा सहयोगी राष्ट्र्हरुको मन जितेर प्राप्त सहयोग शतप्रतिशत योजनामा कार्यान्वयन हुन्छ कि हुँदैन । उनै जानुन् । तर जनताकोमाझ भने शँकाको अवस्था सँधै नै रहिरहनेछ । भ्रष्टाचारको शिखर चढ्दै गरेको र विश्वसनियता गुमाउँदै गएका अस्थिर सरकार तथा कर्मचारीतन्त्रले मन, वचन र कर्मले काम गरेर ति दागहरुको सफाई गर्ने मौका भने यहि हो ।

तर, मलाईचाहिँ सबैभन्दा वेश के लाग्थ्यो भने माथि जापानले भनेको प्रसँग नेपालले विश्वकासामू उठाएको भए कति राम्रो हुन्थ्यो? नगदको सट्टा प्रविधि मागिनुपथ्र्याे भन्ने मलाई लागेको छ । यसरी पाएको प्रविधिले देश आत्मनिर्भर हुन धेरै समय लाग्दैनथ्यो । पाएको सोहि प्रविधिका उत्पादनहरु सहयोग दिने तिनै राष्ट्र या अन्य राष्ट्र्हरुमा निर्यात गर्न सकिन्थ्यो । उनिहरुका प्रविधि, उनिहरुकै देशमा आयात गरेर नेपालजस्तो देशलाई सहयोग गर्न पाउँदा पक्कै खुशी नै हुने थिए होलान् । केहि वर्षपछि नेपाल आत्मनिर्भर भएको देखेपछि उनिहरुका आत्मालेपनि शान्ति पाउँदा हुन्, आफुले गरेको सहयोगप्रति गौरव गर्दा हुन् ।

तर, हामीले यो सबै मौका गुमायौँ । र फगत टोपीमा परेको सहयोगमा हामी आत्मनिर्भरको विपरित परनिर्भरोन्मुख भईरहेका छौँ । यसरी पैँचो मागेको खुट्टाले हामी कति दिन हिँड्न सक्छौँ कुन्नी ।

(हिमालखवर २०-२६ असार, २०७२ मा प्रकाशित)