https://twitter.com/Chirvir

Tweet me @chirvir







Monday, November 26, 2012

झापड काण्डले उठाएको प्रश्न


बासु श्रेष्ठ

एकाविहानै श्रीमतिले समाचार सुनाईन 'प्रचण्डलाईपनि झापड हानेछन्' । मैले लगत्तै ठट्टाको स्वरमा भनेँ 'लौ त्यसो भए प्रचण्ड फेरी प्रधानमन्त्री हुनेभयो ।' तर तुरुन्तै म सोच्न बाध्य भएँ आखिर किन यस्तो भई रहेको छ त ? केहि महिना पहिला सुशील कोईराला, त्यसभन्दा अघि झलनाथ खनाल, त्यसभन्दा अघि झक्कु प्रसाद र अहिले प्रचण्ड ।
'पन्ध्रहजार नेपालीको रगतले मुछिएको प्रचण्डलाई नहाने कसलाई हान्ने त?' 'झापड होईन म भएको भए लात दिन्थेँ' या यस्तै यस्तै टिका टिप्पणी अनलाईनमा देखिए । धेरैले आफ्नै मनको चाहना पुरा भएको भाव व्यक्त गरे । अनलाईनमा त के छ र बकि दिए पुग्यो । कोठामा बसेर जे भनेपनि भयो । तर त्यत्तिका सुरक्षाको माझ थप्पड हान्दा के परिणाम हुन्छ भन्ने जान्दाजान्दै किन हाने होलान् त? आखिर ज्यानको खतरा त पदम कुँवरकै छ । पिटाई उसैले खायो रक्ताम्य हुनेगरी । धन्न प्रहरीले सुरक्षामा लिईहाल्यो । नत्र उसको मृत्यु त्यहिँ हुन बेर लाग्दैनथ्यो । यो परिणामको सम्भावना हुँदाहुँदै किन हिम्मत गर्यो होला त ? तर नेपालको राजनैतिक वृत्तमा जुन परिस्थिति देखा परेको छ त्यो कदापी प्रिय होईन । अपितु एउटा अहम् प्रश्न भने उठेको छ आखिर किन यस्तो भई रहेको छ त ?

नेताप्रतिको वितृष्णा जनताको त छँदै छ तर यिनकै पछि लागेर जयजयकार गर्ने कार्यकर्ताहरुको वितृष्णा देखेर सोच्नैपर्ने भएको छ आखिर किन ? यस्तो व्यवहारले के कस्तो परिणाम निम्त्याउन सक्छ ? विरोधको शैली किन र कसरी यस्तो कठोर र हिँसात्मक हुँदैछ ? यि प्रश्नहरु मेरो मन मथिँगलमा घुम्न थाल्यो ।

दुर्भाग्यवश नेपालको ईतिहासमा अहिलेसम्म हामी एकापसमै लडिरहेका छौँ । एकिकरणको युद्ध होस् या राणा विरुद्ध होस्, २०३६ होस् या २०४६ होस् या २०६३ हामी आपसमा आपसकैलागी लडिरहेका छौँ । एकिकरणको युद्धलाई छोडेर बाँकि सबै लडाईँमा जनताले विश्वास गरेकाहरुबाट जनताले धोका पाएको अनुभव गरेका छन् । विसँ २००७ देखि २०१७ सम्मको उतार चढाव र अनिश्चिततामा नै जनता थाकि सकेका थिए । त्यसैको फाईदा लिएर पँचायत व्यवस्थाको उदय भयो । तर तीसवर्षपछि निरङ्कुश पँचायतको अवसान भएपनि अर्को यस्तो उदार पँचायतको उदय भयो जहाँ नेता मन्त्रीहरुमात्र रातारात सडकबाट महलमा पुगे । तर जनआन्दोलनमा लडेका मरेकाहरुको र आम जनताको परिस्थितिमा कुनै आशातित परिवर्तन भएन । फलतः जनतामा पलाएको आशा निमोठिएर कुँजिन बाध्य भयो ।

सत्तामा पालैपालो पुगेका दलहरुले राष्ट्र् र जनताको नाममा केहि नगरी दल अनि आफ्नै र आफन्तकोमात्र पृष्ठपोषक भएको फलस्वरुप अर्को आन्दोलनले जन्म लियो माओवादी आन्दोलन । तर यो आन्दोलन राष्ट्र्कोलागी सबैभन्दा विकास घातक, वृहत, लामो र परिवर्तनकारी ठहरियो । किनभने यस आन्दोलनले १३ हजार नेपालीको ज्यान लियो नेपालीबाटै । देशमा निर्मित विकासका पूर्वाधारहरु ध्वस्त भए । तर यसको बदलामा राजतन्त्रले विदा लियो । लोकतन्त्र गणतन्त्रको स्थापना भयो । १३ वर्षे माओवादी आन्दोलनको अवधिमा देशका युवाहरुले रँगीन र मीठो सपनाकोलागी सरकार विरुद्ध आफुलाई होमे । देशमा परिवर्तन आए आफुलाई र सन्ततीलाई केहि हुन्छ कि भनेर ज्यान हत्केलामा राखेर बन्दुक बोके । कतिले जबर्जस्ती बन्दुक बोकेपनि मीठो सपनामा आफ्नो बाध्यता भुले । कतिपय बाबुआमाले तिनै सपनाकोलागी आफ्ना छोराछारी डरले, करले या रहरले सरकारविरुद्ध सुम्पे । आज नभए नि भोली दुई छाक राम्रोसँग खान पाइएला, शान्ति सुरक्षाकासाथ बस्न पाईएला भनेर ।

आन्दोलनले केहि परिवर्तन त ल्यायो तर आम जनताको स्थितिभने जस्ताको त्यस्तै रह्यो । अपितु नेताका आर्थिक स्थितिमा उल्लेखित सुधार आयो । बसउठ, खानपिनमा सुधार आयो । हिजो आन्दोलनको बखत एउटै रुखमुनी बसेको, एउटै थालमा खाएको या एउटै ओछ्यानमा सुतेको व्यक्ति आज दुर्लभ र चिल्लो मोटरमा चढ्छ भने परिवर्तन कसकोलागी थियो रहेछ भन्ने प्रश्न सजिलै उठ्नसक्छ र कार्यकर्ताहरुमा नैराश्य, क्रोध या हिँसाको भावना जागेको हुनसक्छ ।

सुशील कोईराला, झलनाथ खनाल तथा झक्कुप्रसादप्रतिको आक्रोस स्पष्ट थियो । तर प्रचण्डप्रतिको आक्रमणको कारण भने अझै गर्भमै छ । हुन त माओवादीले यसमा षडयन्त्रको आशँका गरेका छन् । अझ देश विदेशको आशँका गरिएको छ । तर जब प्रतिपक्षीले षडयन्त्र नै गर्छ भने यस्तो हलुका षडयन्त्र किन गरीरहन्थ्यो र ? त्यसप्रति शँका गर्नु प्रतिपक्षीलाई फितलो या कमजोर आँक्नु हो । बरु माओवादीले यसको कारण पत्ता लगाएर निदानको मार्ग खोज्नु नै बुद्धिमत्ता हुन्छ । यदि प्रचण्डले आत्मालोचना गर्नुपर्छ भने त्योपनि गर्न पछि हट्नु हुन्न । पदम कुँवरलाई भेटेर उनको मनको कुरा प्रचण्डले आफैँ बुझ्न गए आफ्ना कार्यकर्ताप्रतिको मान, सम्मान र माया देखिन्छ र कुँवरले सजिलै आत्मग्लानी बोध गर्नेछ ।

उल्लेखित अड्कलका अतिरिक्त अर्को कारण के पनि हुनसक्छ भने माओवादी मूल धारमा आएपछि हिँसात्मक मार्ग त्यागेको छ । सर्वहाराकोलागी लड्ने भनिएको दल सर्वसत्तावादमा गएर फसेको अनुभव गर्ने कार्यकर्ताहरुपनि छन् । आफुले जुन उदेश्यकोलागी लडेको हो त्यो उदेश्य पुरा हुनु पूर्व नै आन्दोलन रोकेको हुनाले कार्यकर्ताप्रति असन्तुष्टि जागेको हुन सक्छ र यो घटना निम्त्याएको हुन सक्छ ।

तर, कारण जुनसुकै या जेसुकै भएपनि आवेगमा आउने, हिँसात्मक मार्ग अवलम्बन गर्नु भनेको कुनैपनि शान्तिप्रिय मानिसकोलागी पाच्य हुनसक्दैन । अपितु यस्तो स्थिति निम्त्याउने र अवलम्बन गर्ने दुबै पक्ष दोषी हुन् र दुबै सच्चिनु पर्दछ ।

Thursday, November 8, 2012

राष्ट्र्पतिय चुनावमा मतदानको पहिलो अनुभव


बासु श्रेष्ठ
भर्जिनीया

झण्डै अठाह्र वर्ष पहिले जतिबेला अमेरिकामा पाईला टेकेँ त्यतिबेला कुनैदिन अमेरिकी नागरिक भएर राष्ट्र्पतिय चुनावमा मतदान गरौँला भन्ने चिताएको थिईनँ । तर सन् २०१२ को नोभेम्बर ६ कादिन त्यो अवसर आयो ।
अमेरिका बसाईको क्रम अनपेक्षित ढँगले लम्बिदै गयो । सोहि अनुसार ग्रीनकार्डको प्रक्रियामा हात हालियो र स्वाभाविकवश अमेरिकी नागरिककोलागीपनि प्रक्रिया थालियो । अनि विगतका दुई वर्षपनि मतदानमा सहभागी हुन पाएको भएता पनि राष्ट्र्पतिय चुनावमा मतदान गर्न चाहिँ यहि वर्ष पहिलो पटक जुर्याे ।
अँगीकृत नागरिकको हैसियतले अमेरिकी व्यवस्था, कानुन आदिको अवलम्बन गर्नु मेरो कत्र्तव्य हो भने यसप्रति अरुलाई जागरुक तथा सजग बनाउनु, आफ्नो हक, हित र अधिकारप्रति सजग हुनु, सरकारले गरेका र गर्ने कार्यहरुप्रति आफुलाई लागे बमोजिम सहमति असहमति जनाउनु मेरो अधिकार र कर्तव्य भएर सहज ढँगले आए । त्यसै कारणले राष्ट्र्पतिय चुनाव मेरोलागी चाख र चासोको विषयमा रुपान्तर हुँदै गयो ।
अमेरिकी नागरिक ग्रहण गरेपछि मतदाता नामावलीमा आफ्नो नाम समावेश गराउनु एक प्रमुख कार्य मानिनुपर्छ जसले आफ्नो मतदानको अधिकार सुरक्षित गर्दछ । जहाँसम्म लाग्छ यहि मतदाता नामावलीमा चुनावमा सहभागी अन्य उम्मेदवार लगायत दुबै प्रमुख दललाई उपलब्ध हुन्छ । त्यसैले जब जब नोभेम्बर ६ नजिक आउँथ्यो, मुख्यतः दुबै दलको तर्फबाट फोन, मेल र स्वयँसेवकहरुको मात्रा बढदै गयो । घरको फोनमा स्वचालित आवाजले भरिएका फोनहरु आउँदा फोन उठाउन नै छोडियो । हुलाकबाट दिनदिनै दुबै पार्टिका प्रचार सामाग्रीहरुका पुलिन्दा हेर्नु र फाल्नुमात्र भएको थियो भने बेला न कुबेला घरको दैलो ढकढक गर्न आउने स्वयँसेवकहरुलाई जवाफ दिँदापनि वाक्क वाक्क भईएको थियो । तर जे भएपनि यि सबले एउटा कुरामा चाहिँ मदत गरेको थियो । त्यो हो चुनावप्रति मेरो चाख दिनदिनै वृद्धि हुँदै थियो ।
डेमोक्र्याटिक पार्टीतर्फ सामान्य झुकाव भएकोले जबजब स्वयँसेवक या फोनमा कुरा हुन्थ्यो मैले राष्ट्र्पति मेरो घर शहर छेउ आउनुपर्छ भन्दै आएको थिएँ । आउने नआउने उनको काम हो तर मैले ति स्वयँसेवकलाई भन्दा राष्ट्र्पतिको कानमा पुग्नेपनि होईन भन्ने मेरो धारणा रहेको थियो । तर अचानक मैले सुनेँ राष्ट्र्पति मेरै घर शहरमा आउँदैछन् भनेर । जुन कुरा मैले कुनै गहनता विना भन्दै आएको थिएँ त्यहि पो हुँदैछ । अनि उनि आउने दिन अफिसमा सिक कल गरेर उनको र्यालीमा सहभागी हुन श्रीमतिसहित गईयो । यसरी यस पार्टीसँग प्रत्यक्ष सम्बन्ध बढ्न थाल्यो । सोहि समयमा त्यस र्यालीमा उपस्थित केहि पत्रकारहरुले मसँग अन्तरवार्तापनि लिए । जसमध्ये स्लेट नामक ब्लगमापनि पढ्न सकिन्छ ।
मैले डेमोक्र्याटिक पार्टी छान्नुको कारण र यसपटक ओबामा मेरो छनौटमा पर्नाको कारण चाहिँ एक) यो दल विशेष गरी आप्रवासीहरुप्रति नरम व्यवहार गर्ने दलको रुपमा लिईन्छ । दुई) यस दलबाट राष्ट्र्पति बन्नेहरुको ईतिहास हेर्ने हो भने प्रायशः सबै मध्यम परिवारबाट नै आएका छन् र यिनले मध्यम परिवारको मार्का र समस्या बुझ्छन् । तीन) ओबामाले राष्ट्र्पतिको पद ग्रहण गर्दा अमेरिकाको आर्थिक अवस्था, घरजग्गाको भाउ र बेरोजगारी ओह्रालो लागी रहेको थियो । ईराक र अफगानिस्तानमा प्रतिदिन थाम्नै नसकिने डलर खर्च भई रहेको थियो । तर ओबामाले त्यसमा रोक लगाए । तिब्र गतिमा गईरहेको गाडिमा ब्रेक लगाएपनि पूर्ण रुपमा रोकिन केहि समय लाग्छ । मलाई लाग्छ त्यो तिब्रगतिको गाडी रोकिएपनि सुधारको गति लिन पाएको छैन र ओबामाले सो मौका पाउनु पर्छ ।
तर प्रतिव्दन्दी रिपब्लिकन पार्टी भने ओबामाले सन् २००९ मा सपथ लिएदेखि नै एक पटकको राष्ट्र्रपति बनाउने वाचा गरेका थिए भने सोहि दिनदेखि ओबामाको विरोधमा लागेको थिए । त्यसकारण प्रतिस्पर्धा कडामात्र होईन कतिपय राज्यमा यसै भन्न सकिने अवस्था थिएन ।
जे होस् अब नोभेम्बर ६ को व्यग्र प्रतिक्षा रह्यो । समाचार विश्लेषण आदि हेर्दा सुन्दा यस पटकको चुनावमा दुबै पक्षविच कडा प्रतिस्पर्धा हुने छ जसको कारणले आफ्नो एक मतको असाध्य महत्व बढेको अनुभवपनि गरियो । त्यसकारण मतदान गर्न झन्झन् दृढ निश्चय हुन थाल्यो ।
अन्तत नोभेम्बर ६ कादिन । नेपालमा जस्तो चुनावको दिन विदा दिने चलन अमेरिकामा छैन । आफुले समय अनुकूल बनाएर मतदान गर्न जानुपर्छ ।
सोहि अनुसार अफिसबाट घर फर्किने क्रममा मतदान गर्ने निधो गरेँ र सोहि अनुसार मतदान केन्द्र पुगेँ । झ्वाट्ट हेर्दा थोरै व्यक्ति देखेपछि यस समयमा मतदान गर्ने आफ्नो निर्णयप्रति गौरव गरेँ र लाईनमा बसेँ । तर जब लाईन केन्द्रको भित्रीभागमा प्रवेश गर्याे, त्यतिबेला पो थाहा भयो म कति गलत रहेछुँ । मैले बाहिर देखेको लाईनको चार गुणा भिड भित्र रहेछ । जे होस् मतदान गर्ने दृढ निश्चय गरेको मेरो विचार अझ तिनमहिनाको बच्चा बोकेकी आमा, व्हिल चेयरमा बसेर आएका विकलाँगहरु, मभन्दा उमेरमा जेठाहरु लाईनमा लागेको देखेपछि मेरो हौसलामा झन बृद्धि भएको थियो ।
झण्डै दुईघण्टा विस मिनेटपछि मेरो हातमा भोटिँग काड हात पर्याे जसलाई भोटिँग मेशिनको कार्ड रिडरमा पसाएपछि स्क्रिनमा मतदान पत्र देखा पर्दाे रहेछ । आफुले चाहेका उम्मेदवारको दायाँतर्फ सानो गोलो चक्का जसलाई औलाले छोएपछि छानिएको ठहरिँदो रहेछ । सोहि अनुसार मतदानमा रहेका अन्य केहि प्रश्नका उत्तर दिँदै अन्त्यमा आफुले छानिएको त्यस मतलाई वैधता दिन स्क्रिन छोएर गर्नुपर्दाे रहेछ । यसरी सकियो लामो समय प्रतिक्षित मतदानको चासो ।
तर अब अर्काे चिन्ता थपियो । कसले जित्ला भनेर । पहिलो पटक आफुले दिएको मत खेर नजाओस् भन्ने चिन्ताकासाथै आफुले चाहेको व्यक्ति या समुह विजयी हुने नहुने चिन्ता र चासो लाग्नु स्वाभाविक हो । समाचारमा धमाधम मतगणनाको परिणाम आउँदैथियो तर अति प्रतिस्पर्धाकासाथ ।
अन्त्यमा , जे सुकै होस् भनेर सुत्न गएको म एकैपटक भोलिपल्ट आफ्नो सम्पूर्ण मतले विजय पाएको समाचारकासाथ ब्युँझिएँ । मध्यरात नहुँदै विजयीको टुँगो लागीसकेको रहेछ र दुई राष्ट्रपतिका प्रतिव्दन्दीबिच शुभकामना आदान प्रदान भईसकेको रहेछ । यो सबै विउँझिएपछि थाहा भयो र दिन शुभ भयो ।



Thursday, November 1, 2012

स्याण्डीले ल्याएको बाढी र गौरको बाढी

basu
बासु श्रेष्ठ
टिभीमा स्याण्डी हरिकेनको कारणले हेर्दा हेर्दै पानीको सतह बढेको देख्दा २०३६ सालमा आफैंले भोगेको एउटा घटनाको सम्झना भयो |
गौर, रौतहट, २०३६ आषाढ मसान्तको दिन | राष्ट्रिय वाणिज्य बैंकको खाताबन्दिको दिन | बेलुका सम्पूर्ण कर्मचारीहरु खातावंदिको काम सकेर पार्टी हुने गर्छ | त्यसदिन पकाउने जिम्मा लिनेहरु पकाई रहेका हुन्थे भने हामी खातावंदी सम्पन्न गरेर पार्टीकोलागी तयारीमा थियौं | दिनभर पानी परि रहेको थियो मूसलधार | वार्षिक नाफा नोक्सानको काम सकेर हामी बाहिरका निम्तालुहरु सहित मिलेर बेलुका पार्टीको रमाइलो गर्न थाल्यौं | बाहिर मूसलधार पानी | भित्र भोज, भतेर र जाँड पानीको रमाइलो | तर अतिवृष्टि र बाढीको आशंकामा पार्टी छोट्याईयो | तै पनि रातको ११ बजि सकेको थियो | अफिसबाट बाहिर सडकमा निस्कँदा पानी कुर्कुच्चा डुबाउने भइ सकेको थियो | संधै हिंड्ने बाटो भएकोले पानीमाथि पनि सजिलै टेक्दै घर पुग्दा सबै जना सुति सकेका थिए | त्यसैले एउटा तन्ना लिएर पिंडीमा भएको खाटमा सुत्ने तरखर गरेँ | तर अविरल वर्षात र आसन्न बाढीको आशंकाले तुरुन्तै निदाउन भने सकेको थिइनँ | पानीको सतह भने कुर्कुच्चा माथि पुगी सकेको थियो | स्मरण रहोस् तराइमा गर्मी हुने भएकोले सबैको घरमा एउटा न एउटा खाट राखिएको हुन्छ ताकि साँझ बिहान त्यसमा बसेर भलाकुसारी गर्न सकियोस |
गौर बजारको एकातिर बागमती नदि र अर्को तर्फ बकैया नदि छ | अनि ति दुवै नदीमा भारतले आफ्नो तर्फ बाँध बनाएको र आफु खुशी पानी छोड्ने/नछोड्ने गर्ने गरेकोले त्यहाँ वर्षेनी वर्षातको समयमा बाढी आउने भएकोले गौरका घरहरु (हुने खानेहरुको) प्रायश अग्लो बनाइएको हुन्छ | जमिनको सतहबाट झन्डै ४-५ फिट अग्लो हुन्छ | त्यस्तै म बसेको यो घरपनि अग्लो थियो |
तन्नाको भरमा खाटमा एकछिन निदाए पनि बिउँझेर हेर्दा पानीको सतह अलिकति माथि बढेको थाहा हुन्थ्यो | यो भन्दा बढी नभए हुन्थ्यो भन्ने कामना गर्दै आँखा झिमिक्क लागेपनि फेरी बिउँझदा सतह पहिलेको भन्दा माथि भइ सकेको हुन्थ्यो | अहिले टिभीमा प्रत्यक्ष प्रसारण हेरे जस्तो | मन ढक ढक गर्थ्यो | रोक्ने उपाय केहि थिएन सिवाय चिताउनु बाहेक | तर रातभर अविरल पानी पर्दै रह्यो | पानी पर्दै रह्यो, बाग्मती र बकैयामा पानीको मात्रा बढ्दै रह्यो र त्यो पोखिएर गौर बजारमा फैलँदै गयो र म बसेको घरको पिंडिमा पनि पस्न दुइ इन्च बाँकी रह्यो |
त्यस रीतले परेको पानी विहानी पख रोकियो | गौर बजारको सडक जलमग्न भइ सकेको थियो | वरपर रहेका पोखरी र बाटो सरावर भयो | कता बाटो, कता पोखरी, कता खाल्डो कता खुल्डी | ट्युववेल धाराको टुप्पी मात्र देखिन्थ्यो | तल्लो तहमा बनेका घरहरुको आधा पर्खाल पानीले भिजाई सकेको थियो | आँखाले भ्याएर देखेसम्म जताततै जलमग्न देखिन्थे | घरका छाना, अग्ला वस्तुहरु सामुद्रिक टापु जस्ता देखिन्थे |
बिहान भए पछि अफिस त जानै पर्यो | सानो ठाउँ भएकोले दश पन्ध्र मिनेट हिंडे पुगिने ठाउंमा अफिस थियो | तर सधैं हिंडी रहेको बाटो पानीले छोपिएर जलमग्न भए पनि पानीमा हेलिँदै बाटो हिँड्न कुनै समस्या भने परेन | पानीको सतह भने छाति सम्म आउने थियो | सधैं पाइन्ट शर्टमा अफिस जाने बबुरोले तराईमा चल्तीमा रहेको लुंगी र गन्जी लगाएर हातमा एउटा लठ्ठी लिएर पानीमा हेलिँदै अन्दाजको भरमा पाइला चाल्दै अफिसतिर लागियो | दुलो दुलोमा पानी छिरे पछि सर्प, भ्यागुताहरुपनि ज्यान रक्षाकोलागि पानी पानी दौडी रहेका देखिन्थे भने कति पटक त्यस्ता सर्पहरु सुलुलुल्लु बगेर आफ्नै अगाडी आइ पुग्थे | त्यसैबेला हातमा भएको लठ्टीले सर्पको टाउकोमा स्वाँ…ट हिर्काएर धपाईन्थ्यो | जस्तो सुकै विषालु सर्पले पनि पानीमा टोक्न सक्दैन भन्ने भनाइ सुनेकोले डर मान्नु पर्दैनथ्यो | तरपनि सर्प भनेको सर्प नै हो | लट्ठीको चोटले पानी भित्र पसेको सर्प भित्रभित्रै खुट्टामा बेरिन आउने हो कि भन्ने डरले जिउ सिरिंग हुन्थ्यो | त्यसमाथि पानीको चिसोले परेको असर त छँदै थियो |
जे होस बल्ल बल्ल अफिस पुग्दा बैंकको ढुकुटीमापनि पानी पसी सकेको रहेछ | ढुकुटी भित्र रहेको सेफमा राखिएको नोटका बिटाहरू पानीमा भिजि सकेका रहेछन लफ्रक्क | धरौटीमा राखिएका सुन चाँदीका गहनाहरुपनि भिजेका | धन्न त्यो दिन घाम लागेको थियो | असाध्य पानी परेपछि घाम लाग्ने प्रकृतिको नियम हो शायद | शोधभर्नाको रुपमा |
त्यसैले भिजेका ति नोटहरूलाई पंजीकृत गर्दै कौशीमा दिनभर सुकायौं धान सुकाए झैँ | वल्टाई पल्टाई गर्दै, मन्द मन्द चलेको हावाले नोट उडाउला कि भनेर सावधान हुँदै, या कुनै नोट यता उति होला कि भनेर सावधान हुँदै बेलुका बटुलेर ढुकुटी दाखिला गर्यौं |
त्यो वर्ष गौरका व्यापारीले नोक्सान सहनु पर्यो | सोहि मुताबिक बैंकलेपनि नोक्सान वेहोर्नु पर्यो | किनभने बैंकमा धितो राखिएको गोदामका अन्नहरु जस्तै धान, चामल, रहर, मुसुरो, आलस आदि सब बाढीमा डुबेको थियो | व्यापारीको ति अन्न डुबे पछि बैंक
को डुबे सरह नै थियो | विमाबाट शोधभर्ना लिने भनेको बेग्लै कुरा हो |
यो बाढीको असर आउँदो निकै वर्षसम्म रहे पनि दुर्भाग्यवश गौरले प्रत्येक वर्ष यस्तै दुर्दशा भोग्नु पर्थ्यो | तर अन्य वर्षहरुमा चाहिं यो सालको बाढी जस्तो थिएन | अर्थात् अहिले सम्मको ठुलो बाढी |
अहिले कतै बाढी आएको या वर्षातले ल्याएको आपति देख्न सुन्नासाथ मलाई यो गौरको घटनाको सम्झना आइ हाल्छ | तर आज चाहिं तपाईंहरुसँग यो सम्झना बाँड्न मन लागेर बाँडेको हुँ |