https://twitter.com/Chirvir

Tweet me @chirvir







Wednesday, December 12, 2012

अमेरिका नेपाल सोसाईटी अदालतको ढोकामा


बासु श्रेष्ठ

अमेरिकामा नेपालीहरुको सबैभन्दा ठुलो सँस्था एशोसिएसन अफ नेपलिज ईन अमेरिकामा केहि पहिले पदकोलागी उठेको खिचलोको कारण अदालत धाएर समुदायको झण्डै २५००० डलर रकम कानुनी प्रक्रियाकोलागी खर्च गरेपछि सो मुद्धा टुँगिएको थियो । तर सो कुरा सेलाउन नपाउँदै अमेरिकाकै वासिँगटन डिसीस्थित सबैभन्दा पुरानो सँस्था अमेरिका नेपाल सोसाईटीलेपनि त्यहि नियति भोग्ने अवस्था आएको छ ।

गत दशैँताका सम्पन्न निर्वाचनमा सभापति पदमा पराजय भएका श्रीधर कँडेलले निर्वाचनमा धाँधली भएको, आफ्ना पक्षका मतदाताहरुलाई समय अघि नै मतदानबाट बँचित गराईएको, निर्वाचन आयोगको सदस्यमा स्वार्थवश हेरफेर गरिएको, मतपत्रको गणना ठिक ढँगले नभएको आदि लगायत ११ बुँदाहरु सहित वर्तमान पदाधिकारी तथा निर्वाचन आयोग विरुद्ध मुद्धा हाल्न स्थानिय वकिलसँग परामर्श थालेका छन् । सोहि बमोजिम श्रीधर पक्षका वकिलले अमेरिका नेपाल सोसाईटीका वर्तमान पदाधिकारी तथा तत्कालिन निर्वाचन आयोगलाई एक पत्र पठाई सो बारे जानकारी मागेको छ र समय सीमा भित्र जानकारी नपाए अदालतमा मुद्धा दायर गर्ने भनिएको छ ।

सो पत्रको प्रतिउत्तरमा निर्वाचन आयोगका तर्फबाट तत्कालिन आयुक्त कृष्ण सबले ११ बुँदामा जवाफ पठाई सकेको विश्वस्त सूत्रबाट थाहा हुन आएको छ ।

यस सम्बन्धमा श्रीधर कँडेलसँग सम्पर्क गर्दा उनले यस विषयलाई स्विकार्दै चुनावमा भएका धाँधली र अनियमितताको विरुद्ध आफुले अदालतको ढोका गुहारेको बताए । कँडेलले आफ्नो वकिलको भनाई उधृत गर्दै वकिलले पठाएको पत्रको जवाफ कृष्ण सबबाट पाईसकेको तर त्यस जवाफमा विपक्षीहरुले सहमतिको कुनै सँकेत नदेखाएको उल्लेख भएको बताए ।

यस अघि सँस्थालाई के कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा नव निर्वाचित पदाधिकारीहरुले समुदायसँग राय सल्लाह लिन यहि डिसेम्बर ९ का दिन एक भेलाको आव्हान गरेको थियो । तर उल्लेखित कारणले अनेसोव्दारा सो भेला कारणवश रद्द गरिएकोजानकारी समुदायलाई गराएको भए ता पनि कारण भने जनाईएको थिएन ।