https://twitter.com/Chirvir

Tweet me @chirvir







Tuesday, January 11, 2011

मोबाईल फोन

 
विज्ञानको चमत्कारिक आविष्कारहरु मध्येको एक आविष्कार हो टेलिफोन । धागोको दुबैछेउमा सलाईको बट्टा राखेर बोल्ने र सुन्ने परिकल्पनालाई साकार पार्दै अलेक्जेण्डर ग्राहम् बेलले टेलिफोनको आविष्कार गरे । त्यहि टेलिफोनले विभिन्न चरणहरु पार गर्दै आज हामी मोबाईल फोनको यस युगमा प्रवेश गरेका छौं ।  
  
मोबाईल फोन आज मानिसको अभिन्न अङ्ग भइसकेको छ । मोबाईल फोन सञ्चार तथा समाचार आदान प्रदान गर्ने प्रमुख माध्यम भई सकेको छ । हुन त ल्याण्ड लाइन फोनको पनि उत्तिकै महत्व छ तर मोबाईल फोनमार्फत तपाई जहाँ र जहिलेपनि जो सुकैसँग सम्पर्क राख्न सक्नुहुन्छ । नाडीघडी या अन्य शरीरमा लगाईने गहना झै यो मोबाईल फोनले पनि शरीरको गहनाको रुप धारण गरिसकेको छ ।   
  
मोबाईल फोन आज प्रत्येक व्यक्तिको हातमा पुगेको छ र प्रत्येक व्यक्तिको हात कानमा पुगिरहेको हुन्छ । दुखेको कानमा हात राखेर सन्चो अनुभुति गरेको भान हुनेगरि कानमा हात राखेको
र सडकमा आवत जावत गर्ने सबै एकै रोगले पिडित झै देखिने गरी सबै फोनमा कुरा गर्दै हिँडिरहेका हुन्छन् । यो 'वाकिटाकि' अर्थात 'हिँडदै कुरा गर्दै'को आधुनिकतम रुप हो ।   
  
मोबाईल फोनको जतिसुकै महत्व र गाथा गाएपनि यसको उपयोग सहि तरिकाले गरिएन भने यसको महत्व घट्न सक्छ । भनाईको मतलब तपाई कुनै महत्वपूर्ण मिटिङ्गमा हुनुहुन्छ र अति सम्वेदनशील विषयमा छलफल भईरहेको बेलामा तपाईंको खल्तीमा रहेको फोन टिर्ररर…टिर्ररररर बज्यो भने त्यस मिटिङ्गका सहभागीले तपाईप्रति कसरी हेर्छन् विचार गर्नुभएको छ ? त्यस्तै अरुको खल्तिको फोन बजेको खण्डमा तपाई आफै के भन्नुहुन्छ ?  
  
कुनै कार्यक्रममा सहभागी भएर वक्ताको रुपमा माईक समाउन पाउनु भएको छैन खल्तीभित्रबाट फोन बज्छ । एकछिन फोन कुन खल्तीमा छ छामछाम छुमछुम गर्दैमा समय जान्छ फोन खल्तीबाट निकालेर यस्सो कलर आई डी हेर्नुहुन्छ र कानेखुशी स्वरमा 'म एकछिनपछि फोन गर्छु है?' भनेर फोन खल्तीमा राख्न पाएको हुन्न फेरी टिर्ररर…॥ टिर्ररररर बज्छ । यसपटक जवाफ नदिएपनि हुने भन्ने ठानेर फोनलाई खल्तीमा फर्काउनु हुन्छ र बल्ल ङिच्च हाँसेर दर्शकतर्फ फर्केर दुई अक्षर 'सरी' भनेर आफ्नो वक्तव्य थाल्नुहुन्छ । तर यतिञ्जेल तपाईलाई दर्शकदिर्घावाट दर्शकहरुले मानौ तपाई त्यहाँ वक्तव्य दिन नभई मनोरंजन प्रदान गर्न उपस्थित हुनुभएको पात्रको रुपमा रमाईलो मानेर हेरिरहेको तपाईलाई हेक्का नै नभएको हुनसक्छ । यदि त्यसप्रति तपाई सचेत हुनुहुन्थ्यो भने फोनलाई माइक समाउनु पहिले नै अफ गर्नुहुन्थ्यो होला ।  
  
यस्तै घटना दर्शकदिर्घामा पनि घट्न सक्छ र मेरै नजिक भएको छ कैयौपटक । एक त हामी असल श्रोता नै होइनौ | नपत्याए कुनैपनि कार्यक्रममा शतप्रतिशत दर्शक तथा श्रोताको ध्यान मंचमा पुगेको या पुर्याएको हामी पाउँदैनौ । कोहि दाँया बाँयाका मित्रसँग कुरागर्नमा मस्त, कोहि बाथरुम जान या खाना कता छ खोज्नैमा मस्त । मंचतर्फ एकाग्र भएर कार्यक्रमलाई सफल बनाउने र प्रस्तोतालाई प्रोत्साहन दिने हाम्रो चलन नै छैन । त्यसमाथि कार्यक्रम चलिरहेको बेलामा कसैको फोन टिर्ररर… टिर्ररर बजेपछि कार्यक्रमका अन्य सहभागीलाई समेत बाधा पुगेको हामी विचार नै गर्दैनौ । कोहि मित्र त त्यहिँ बसेर फोनमा कुरा गर्न थाल्छन् मसिनो स्वरमा दाँयाबाँयाका मित्रलाई बाधा पुग्नेगरि । बाहिर निस्कने या फोन बन्द गर्ने धृष्टता उनले गर्न जान्दैनन् र त्यस्ता मित्रहरुप्रति मेरो दया जागेर आउँछ ।  
  
सबैलाई थाहा छ मोबाईल फोन जहाँतहिँ जतिबेला पनि बजिदिन सक्छ । तपाई मोबाईल बोकेर बाथरुममा लघुशङ्का या दीर्घशङ्का गरिरहनु भएको बेला एक्कासी खल्तीको फोन बज्न सक्छ । प्रेमी या प्रेमीकासँग प्रेमालाप गरिरहनु भएको बेलामा फोन बज्न सक्छ । बजार या पसलमा मोलतोल गरिरहनु भएको हुन सक्छ । या कुनै बन्दव्यापारको सम्झौता गर्न तयार भईरहनु भएको हुनसक्छ । अर्थात तपाई जे पनि गरिरहनु भएको हुनसक्छ । समय कुसमय बज्ने यस्तो फोनको जवाफ दिउँ नदिउँ हुन्छ | तपाईको कार्यक्रममा बाधा पुग्न सक्छ । तपाईको मोबाईलमा फोन गर्ने अर्कोतर्फको व्यक्तिलाई तपाई कहाँ र के गर्द्रै हुनुहुन्छ भनेर थाहा नभई फोन गरेको हुन सक्छ र प्रायशः यस्तै भएको हुन्छ । तर फोन गर्नेको होईन कि फोन बोक्ने तपाई हामीले जिम्मवारीपुर्ण तरिकाले फोनको सदुपयोग गर्न जान्नु पर्यो भन्ने मेरो धारणा हो ।   
  
कम से कम कुनै कार्यक्रम वा नियमित सामुहिक भेटघाटको बेलामा आफ्नो फोन बन्द गरेमा त्यो भेटघाट कार्यक्रम निर्बाध चल्नमा सहयोग पुग्छ । यदि तपाईले कुनै महत्वपुर्ण फोनको अपेक्षा गर्नुभएको छ भने फोनलाई भाइब्रेट मोडमा राखे फोनपनि मिस नहुने, कसैलाई बाधा या डिस्टर्ब पनि नहुने । सबैभन्दा असल त कार्यक्रम अवधिभर नै फोन बन्द गरेको जाति र यसले कार्यक्रम या भेटघाटलाई सफलता प्रदान गर्दछ भन्ने कुरामा म विश्वस्त छुँ । तपाईलाई कस्तो लाग्छ कुन्नी ?   

बसाईं सराईं


सुखमय जीवनको खोजमा मान्छे संधै लागी रहेका हुन्छन् । यसै क्रममा वर्तमान स्थानवाट अर्को स्थानमा सर्ने चलन छ जसलाई बसाईं सराईं भनिन्छ । गाउंवाट सदरमुकाम, सदरमुकामबाट अर्को शहर अथवा राजधानी, त्यहांपनि नभए विदेश अनि विदेशमा पनि एक शहर नभए अर्को शहरमा सर्ने काम शायद सबैले गर्छन् । तर यो सराईको हद कहांसम्म छ भन्न गाहारो भए ता पनि के चाहिं भन्न सकिन्छ भने मानिसले आफुलाई केही वचत हुने गरी कमाउन सकियो भने वा आफुले खोजे जस्तो शान्ती जहां पाउंछ उ त्यहीं अड्ने हुंदो रहेछ ।

यसै सन्दर्भमा हामी नेपाली पनि यस अमेरिका भन्ने देशमा नेपालको विभिन्न कुनावाट आएका छौं । नेपालको गाउं पहाडवाट सदरमुकाम वा अन्य शहर हुंदै राजधानीसम्म पुग्छौं । त्यहांपनि आफुले खोजे जस्तो नभए पछि वा नपाए पछि विदेशको ईक्षा जागेर आउंछ र कोही अमेरिका त कोही वेलायत कोही अष्ट्रेलिया त कोही जापान पुगेका छौं । यसरी हामी अमेरिका आउने मध्ये कोही न्यूयोर्क कोही वािसंगटन डिसी, कोही क्यालिफोर्निया त कोही टेक्सस पुगेका छौं । यी स्थानहरुवाट पनि आफुले अझ भनेजस्तो नपाएपछि अमेरिकाकै अन्य शहरतर्फलाग्ने पुनः विचार आउंछ ।

यो पंक्तिकारलाई खसखस के कुरामा भएको भने अमेरिकामा आफ्नो लक्ष्य पुरा हुने सपना बोकेर आएका हामी अझै एक शहर पछि अर्को शहर कहिलेसम्म गरिरहने हो र त्यति गर्दा पनि आफुले भने जस्तो भएन भने वसाईं सराईको टुंगो कहिले र कसरी लाग्ला? अर्थात माथी भने जस्तै जति वसाई सराईं गर्दापनि आफुले चिताए जस्तो पाइएन भने के गर्ने ? अस्तु ।