https://twitter.com/Chirvir

Tweet me @chirvir







Friday, May 18, 2018

मोदी भ्रमणःकारण र परिणाम


बासु श्रेष्ठ
भर्जिनीया

सत्र बर्षसम्म भारतीय प्रधानमन्त्रीको नभएको भ्रमणको क्षतिपूर्ति भारतका बर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले चारबर्षको अवधिमा तीन पटक नेपाल भ्रमण गरेर पुरा गरेका छन् । छिमेकी पहिला भन्ने नाराकासाथ सन् २०१४ मे २६ मा भारतको प्रधानमन्त्री पदमा आसिन भएका मोदीले तेश्रो पटक हालै नेपालको भ्रमण पुरा गरे । यद्यपी यो भ्रमणलाई धार्मिक भ्रमणको नाम दिइएको थियो ।

नरेन्द्र मोदीले नेपालको पहिलो भ्रमण सन् २०१४ को अगस्तमा गरेका थिए । त्यसबेला उनले नेपालको सँबिधान सभालाई सम्बोधन गर्ने मौका समेत पाएका थिए । नेपालको आन्तरिक मामिलामा कदापी हस्तक्षेप नगर्ने, नेपालले अबलम्बन गरेको मार्गमा सदा साथ र सहयोग हुने वचन दिँदै पञ्चेश्वर आयोजना लगायत अन्य योजनाकोलागी सहयोगको थैली खोलेर स्वदेश फर्किएका थिए । नेपाली जनताको अपार समर्थन देखेर मोटरकेडबाट ओर्लिएर जनतासँग हात मिलाउन पुगेका मोदी रातारात नेपालीमाझ लोकप्रिय भएका थिए । किनभने उनले दिएका र बोलेका वचनहरु आकर्षक र बिश्वासिलो थियो ।

तर नेपालीहरुको उनीप्रतिको श्रद्धामा स्खलन त्यतिखेर भयो जब उनले नेपालले जारी गर्न लागेको सँबिधानप्रति खुल्ला हस्तक्षेप गरे । २०१५ सेप्टेम्बर २० मा जारी गरिन लागेको सँविधानमा चित्त नबुझाएर हस्तक्षेपकारी दूत पठाएका थिए । सोहि सालको अप्रील महिनामा महाभूकम्पले थलथलिएको नेपाल बिरुद्ध सँविधान जारी भएको तेश्रो दिनदेखी अर्थात सेप्टेम्बर २३ बाट नाकाबन्दी लगाएर पहिलो भ्रमणमा गरेका सम्पूर्ण वाचाहरुलाई तिलाञ्जली दिएर नेपालीको मनमा घृणाका पात्र भए । त्यस उप्रान्त आजसम्म मोदीले नेपालीको सम्मान फिर्ता पाउन सफल भएका छैनन् ।

यहि घृणालाई पखाल्न या भनौँ पश्चाताप गर्नकोलागी उनले ओलीलाई स्थानिय, प्रान्तीय र सँघिय चुनावदेखि प्रधानमन्त्री पदमा नियुक्त भएसम्म पटकपटक फोन गरिरहे । मोदीको यसरी बहुधा फोन पाउने नेपालको पहिलो व्यक्ति ओली नै हुनुपर्छ । अनि सदाको झैँ ओलीलाई भारत भ्रमणको निम्ता दिए । यदि ओली नाकाबन्दीताका झैँ आफ्नो देश, जनता र वचनप्रति पक्का रहेका भए उनले यस पटक आफ्नो विदेश भ्रमण चीनबाट नै गर्ने थिए । सारा नेपालीको विश्वास पनि यहि थियो । तर उनी मोदीको अगाडि नौनी झैँ गले । जे होस्, कुनै कुटनैतिक मर्यादाको बन्धनमा परेर ओली पहिले भारत गए होलान् भन्ने हामी शँकाको लाभ दिउँ । र यसको रेसिप्रोकेटमा तेश्रो पटक मोदीले नेपालको भ्रमण गरे त्यो पनि नवसँविधानले व्यवस्था गरेको नवप्रदेश नम्बर २ को जनकपुरबाट ।

मोदीको भ्रमण जनकपुरबाट हुनुमा पहिलो कारण उनले मधेशवादीहरुलाई खुशी तुल्याउनु नै हो । किनभने नेपालको सँविधानमा शुरुमा रहेको भारतीय असन्तुष्टि भनेकै मधेशवादीहरुप्रतिको समर्थन थियो । र यसकोलागी नेपालमा नाकाबन्दी समेत लगाईयो । तर, सँविधानप्रति आफ्नो कुनै प्रभाव नपरेको तर उल्टै नाकाबन्दीबाट आफुलाई आईलागेको नकारात्मक परिणामले मोदी पछि हट्न बाध्य भए । अपितु उनी मधेशवादीहरुलाई खुशी नै राखेर आफ्नो समर्थन जारी छ है भन्ने उदेश्यले जनकपुरबाट भ्रमण थालेका हुन् भनेर अनुमान गर्न सकिन्छ भने दोश्रो कारणमा उनको जनकपुर भ्रमणको पुरानो अभिलाषा हो । तर, यो अभिलाषापनि राजनैतिक कारणबाट नै प्रेरित थियो भन्ने स्पष्ट छ ।

एक सजग नेपालीको दृष्टिकोणमा मोदीको भ्रमण जनकपुरबाट आरम्भ हुनै हुँदैनथ्यो, विशेषतः अहिलेको अवस्थामा । बिगतका केहि बर्षहरुमा तराईमा जेजति उत्पात भएका थिए र सँविधानको निहुँमा भारतको मधेशप्रतिको सदाशयता स्पष्ट हुँदाहुँदै पनि नेपाल सरकारले मोदीलाई जनकपुरबाट भ्रमण गर्ने स्विकृति दियो । स्विकृति के भन्नु, भारतले पठाएको आईटिनरीमा नेपाल सरकारले हस् भनेर ल्याप्चे ठोक्यो । ओली सरकारले चाहेको भए सुशील कोईरालाले गरे झैँ तर्कसँगत आँट गरेर भारतको यस आईटिनरीलाई अस्विकृत गर्नसक्थ्यो ।

यो स्वागतसम्म त ठिक थियो तर परराष्ट्र् मन्त्रालयले कसले के कहिले र कसरी बोल्ने भनेर प्रदेश उपर कुनै अँकुश या नियन्त्रण लगाउन सकेन । या निर्देशन जारी गर्न सकेन । जसको कारणले उनै विदेशी पाहुना मोदीको अगाडी देशको आन्तरिक मामिलालाई उचालेर लाजको पसारो बनाए मुख्यमन्त्री राउतले । मोदीमा राउतको यो एक प्रकारको उजुरी थियो । यो एक प्रकारको परालम्बनको द्योतक थियो । हामी अझै तिम्रो मुख ताक्दै छौँ है भन्ने सन्देश, अनुरोध या अनुनय विनय थियो । यदि परराष्ट्र् मन्त्रालयले विगतका ईतिहासलाई सम्झिएर सजगताकासाथ पाईला चालेको भए यो अवस्था कदापी आउने थिएन होला । यस्तै विवादको आशँकाको कारणले हुनसक्छ तत्कालिन प्रधानमन्त्री सुशील कोईराला सरकारले मोदीको जनकपुर भ्रमण रद्ध गर्न बाध्य भएको थियो । त्यसबेला त अझ प्रदेश सरकारको गठन भएको थिएन तर मोदी भने दश हजार साईकल लिएर आउँदै थिए ।

प्रकाशित समाचार आदिहरुको आधारमा भन्ने हो भने मोदीको यस पटकको भ्रमणमा जहाँजहाँ मोदी पुगे त्यहाँत्यहाँ सुरक्षाकोलागी भारतीय सुरक्षा दस्ताको बाहुल्यता र प्रधानता रह्यो । यो देशकोलागी अति नै लज्जास्पद र सार्वभौकिताप्रतिको प्रश्न हो । किनभने मोदीको उपस्थिति रहेको विभिन्न स्थानहरुमा प्रेस पास पाएका नेपाली सँचारका पत्रकारहरुलाई निषेध गरिएको थियो भने भारतीय पत्रकार र क्यामेरामेनको भने निर्बाध प्रवेश र छायाँकनको सुविधा पाएका थिए । उदाहरणकोलागी काठमाण्डौँ महानगरपालिकाबाट गरिएको अभिनन्दन समारोहमा नेपाली प्रेस पास पाएका सँचारकर्मीहरुको प्रवेशमा रोक लगाईयो । प्रवेश पास दिने, तर प्रवेश नदिने सरकारको यो दोधारे निति बुझ्न कठिन छ । सरकारले प्रेक्षालयमा स्थानाभावको कारणले रोक लगाईएको भन्ने लँगडो र हाँसो उठ्दो कारण सार्वजनिक गरेको छ । तर प्रश्न के उठ्छ भने राष्ट्रिय सभा गृहको सो प्रेक्षालयमा कति मानिस अट्छन्, को कति कहाँ र कसरी बस्छन् भन्ने योजना नै गर्न सकेको थिएन? विदेशी पाहुनाको अभिनन्दन गर्न सक्नेले यति सामान्य योजना बनाउन नसक्नु लाजमर्दो विषय होईन? यदि योजना अनुसार भएको थियो भने बढि पास कसरी वितरण गरियो? दुबै दृष्टिबाट सरकार र अभिनन्दन समारोहका आयोजक चुकेका छन् ।

त्यसैगरि मुक्तिनाथ पुजाको भिडियो लाईभ रेकर्ड गर्ने अनुमति भारतीय क्यामराले कसरी पायो? के मुक्तिनाथको पुजाको खुल्ला तस्बिर या भिडियो कहिल्यै सार्वजनिक भएको थियो?

अर्को कुरा, नाकाबन्दीको घाउ अझै आलो छ भन्ने देखाउन विवेकशील दलको ललितपुरमा रहेको मुख्य कार्यालयमा एउटा कालो ब्यानर राखियो । मलाई जहाँसम्म लाग्छ यो ठाउँ मोदीको भ्रमणको बाटोमा पर्दै परेन । तर पनि माथिको आदेशमा भनेर प्रहरी आएर त्यो ब्यानर झिक्यो । यसले सरकारको उपस्थिति र सरकारको चनाखोपन त देखियो तर यो चनाखोपन प्रतिगामी, उल्टो र अनुत्पादक थियो । किनभने उता जनकपुरमा मोदीको अभिनन्दन समारोहमा भने फ्रि मधेसको दुईदुईवटा ब्यानर देखाईएको थियो । अर्कोतिर मोदी-ओली बसेका मञ्चमा राष्ट्रिय झण्डाको बिजोग थियो । तर ति ब्यानरधारीहरुलाई कारवाहि या नियन्त्रणमा लिन माथिको आदेश पटक्कै जाँदै गएन न त स्थानिय प्रशासन र प्रहरीले आफ्नोतर्फबाट कुनै सजगता या सक्रियता देखाए ।

अन्त्यमा, भ्रमणको कारण जे भनिए पनि मोदीले नाकाबन्दी ठिक थिएन भन्ने दुई शब्द बोल्ने हिम्मत गरेनन् र नेपालीको पुनः मन जित्ने मौका गुमाए । यता, ओली सरकारले पनि आफ्नै चीन भ्रमणमा बाधा पुर्याउने नियतले भारतले छ्वास्स पठाएको आईटिनरीमा ल्याप्चे हान्दै मोदीको धुमधामसँग स्वागत गरेर नेपालीहरुको ओलीप्रति रहेको सद्भाव कायम राख्ने मौका गुमाए । अब यस्तो नाबालकपनको अबस्था देशमा कहिल्यै नआओस् । छिमेकी पहिला भन्ने नारा लिएका मोदीको छिमेकी नितिबाट छिमेकी राष्ट्र्हरु कति प्रभावित छन् भन्ने कुरा भुटान बाहेक अन्य सबै सार्क राष्ट्र्लाई हेरे पुग्छ । त्यसकारण, मोदी शतप्रतिशत विश्वास गर्न लायकका होईनन् भन्ने देखिन्छ र नेपालले सोहि अनुसार सतर्कता र सजगताकासाथ पाईला चालोस् भन्ने कामना गर्नु अत्यूक्ति नहोला ।


Thursday, May 3, 2018

तास खेलेको हेर्दा भर्ना छुट्यो

जनकपुरबाट २०३२ मा एसएलसीको जाँच दिएर गौर सरेको तीनचार महिनापछि भएको रिजल्टमा म तेश्रो श्रेणीमा पास भएछु । त्यसैले केहि दिनपछि काठमाण्डौँमा कलेज पढ्ने तयारीकोलागी आवश्यक प्रमाणपत्रहरु लिन जनकपुर गएँ । हाम्रो स्कुलबाट झण्डै ६०-६५ विद्यार्थीले दिएको एसएलसीमा टेष्टको जाँचमा पाएको नम्बरको हिसाबले पहिलो, दोश्रो, तेश्रो र चौथोहरुमात्र पास भएका रहेछन् । अर्थात त्यतिकामा जम्मा चारजनामात्र पास । टेष्टमा म चौथो भएको थिएँ । यस अघिका कक्षाहरुमा म औसत विद्यार्थी थिएँ । तर एसएलसीको त्रासले मलाई मेहनती बनाएको थियो र धन्न सफलता मेरो हात लागेको थियो ।
डाक्टर बन्ने धोको र रहर बोकाइएको थियो । तर हातमा भने पुँजी थिएन । के जातिको उखान भने झैँ चाहिँ थियो । तर पनि आवश्यक प्रमाणपत्रहरु बनाएर काठमाण्डौँ गएँ र महाराजगँज क्याम्पसमा भर्ना हुनकोलागी आवेदन भरेँ । त्यतिबेला प्रवेश परिक्षा दिनुपर्ने थियो र गोरखापत्रमा प्रकाशित भए अनुसार मेरो केन्द्र थियो अमृत साईन्स कलेज । सो कलेजको कक्षाका बेन्चहरु पहिलो लहरबाट पछिल्ला लहरहरु उकालो लाग्दै जाने हुँदा रहेछन् र मचाहिँ त्यहि उकालोको पछिल्लो लहरमा परेको थिएँ । अर्थात डाँडाको टुप्पोमा बसे झैँ । सबैले सबैलाई देखिने । जे होस् टेष्टको परिक्षा केहि हप्तामा गोरखापत्रमा प्रकाशित भयो । नेपालमा त्यसताका भर्खर कम्प्युटरको प्रयोग भएको थियो र यो टेष्ट परिक्षाको परिणामपनि सोहि कम्प्युटरले गरेको भन्ने हल्ला सुनिन्थ्यो ।
टेष्टको परिणाममा म पास भएछु । तर, मलाई मैले दिएका उत्तरहरुको आधारमा मलाई बायोलोजी समूह अन्तर्गत अस्कल क्याम्पसमा भर्ना हुने गरि परिणाम प्रकाशित गरिएको रहेछ । यसै गरि विज्ञानका विभिन्न समूहमा भर्ना हुने गरी गोरखापत्रमा परिणाम प्रकाशित भएको थियो ।
आफु भर्ना हुन खोजेको महाराजगँज मेडिसिन क्याम्पसमा, परिणामले अस्कल जान भन्यो । तर पनि बायोलोजी समूहपनि विज्ञान अन्तर्गत र पछि मेडिसिनमा जान पाईन्छ भन्ने सल्लाह पाएकोले यस तर्फ भर्ना हुन सुरसार कसेँ ।
बाआमा गौरमा, आफु बसेको पुख्र्यौली घरमा हजुरबाहजुरआमासँग । पैसा माग्दा गौरबाट मगाउनु पर्छ भन्ने जवाफ पाए अनुसार गौरमा बाआमालाई चिठ्ठि लेखेँ । अब पैसा कुर्नु र भर्ना हुनु बाहेक गर्नु केहि थिएन ।
छिमेकी साथीको घरमा दिनदिनै तास खेलाईन्थ्यो । कुनै नाफा नोक्सान या व्यवशायीक प्रयोजनले होईन । टोलेहरु फुर्सदिलो भएपछि जमघट हुने र फिटौँ फिटौँ भन्दै अखाडा जमीहाल्थ्यो । तर यो दैनिकी भई सकेको थियो भने मेरोपनि दिन काट्ने मेलो बन्दै थियो ।
तास खेलेको हेर्दै चिया चमेनापनि त्यहिँ गरेर बेलुका घर गएर हजुरआमाको होटेलमा भात लुँड्यायो । घुप्लुक्क सुत्यो, भोली त्यहिँ पुग्यो । यसो गरुन्जेल पैसा आउन ढिलो भएको, भर्ना हुने म्याद सकिन लागेको तर्फ म उति चिन्तनशील भईनँ । अर्थात कलेज भर्ना हुनप्रति म उदासीन बन्दै पढाईप्रति बेवास्ता गर्न थालेँ । किनभने दिनभर तासमा रत्तिने मेरा आफ्नै बाल्यकालका दौँतरीहरु थिए । यिनलाई पढ्नु पर्दैन भने मलाईमात्र किन? भन्ने जस्ता भावनाले समात्न थालेको थियो ।
तर, जबजब भर्ना हुने समय अन्तिम हुन लाग्यो मेरो घैँटोको ढोका कसरी हो आफँै खुल्यो र पैसाको जोहो गर्न चलमलाउन थालेँ । केहि आफन्तका घरमा ढोका ढकढक्याएँ । कसैले हिजोमात्र आएको भए...., कसैले ठ्याम्मै छैन भने । अहिले सम्झन्छु, १७-१८ वर्षको अल्लारे केटोलाई कसले र किन पैसा सापट दिन पत्याउँदो हो? दोष तिनका थिएन । दोष मेरै थियो काँचो उमेर हुनु र समयमै बुद्धि नपुर्याउनु ।
अब अन्तिम सहाराको रुपमा मेरो डा. मामा र बाल विशेषज्ञ योगेन्द्रभक्त श्रेष्ठको घर गएँ । अरुसँग पैसा माग्ने, आवतजावत गर्ने क्रममा भर्नाको म्याद सकिई सकेको थियो । मामालाई सबै बृतान्त सुनाएँ । दुई छोराका बाबु र पढाईको महत्व बुझेका मामाले तुरुन्त चाहिने पैसा दिए र म अस्कल पुगेँ । त्यहाँ भर्ना हुने कार्यालयमा भाई, तपाईको ठाउँमा त अरु नै भर्ना भईसक्यो । अब साउने सेमेष्टरमा प्रयास गर्नु भने । बिवाद, अनुनय, बिनय, अनुरोध, तर्क बितर्क गर्ने मेरो प्रकृति थिएन । अर्थात सोझो भएकोले म बिना टिकटको चिठ्ठि झैँ लुरुक्क फर्किएँ ।
भोलीपल्ट मामाघर गएर भएका घटना भनेँ । मामाले त्यहिँ भात खुवाउन लगाई आफ्नै गाडीमा राखेर कान्ती बाल अस्पताल लगे । मलाई बाहिर नै राखे । मेरो टेष्टको नम्बर मागे अनि भित्र गए । दश पन्ध्र मिनेटपछि रातारातो अनुहार बनाउँदै मेरो नम्बर टिपेको कागज मेरै हातमा राख्दै ल केहि लागेन, जाओ जनकपुर जाओ भन्दै मेरो गर्दनमा हात राखेर बाहिर घचेटे । टन्न बिरामीहरु पालो कुरेर बसिरहेका ठाउँमा मामाले गरेको त्यस ब्यवहारमा आफैँ लज्जित हुँदै घर फर्किएँ ।
अब काटमाण्डौँ बस्ने जरुरी थिएन । माघे सेमेष्टर शुरु नै भएको थिएन भने साउने सेमेष्टर त कता हो कता । बरु गौर जान्छु अनि फेरि साउने सेमेष्टरकोलागी आउँछु भन्दै गौर पुगेँ । केहि दिनपछि साउने सेमेष्टरकोलागी काठमाण्डौँ नगएसम्मकोलागी भन्दै राष्ट्रिय वाणिज्य बैँकमा अस्थायी जागीरे भएँ र २०४३ सालसम्म जागीरे भएको भएँ ।
यसरी तास खेलेको हेरेर मेरो जीवनको बाटो नै मोडियो र आज यस ठाउँमा छु ।


यस अघिका प्रसङ्ग यस लिङ्कमा पढ्नु होला: https://myv4.blogspot.com/2016/03/blog-post_31.html