https://twitter.com/Chirvir

Tweet me @chirvir







Sunday, December 29, 2019

म तालु



बासु श्रेष्ठ

(एलोपेसिया एरिएटा एक प्रकारको छाला सम्बन्धि रोग हो । यसले टाउको लगायत शरीरका कुनै पनि अँगका हरु चक्काकारमा झर्दै जाने हुन्छ र यो रोग जो कसैलाईपनि लाग्नसक्छ । यसको निदान नभएपनि उपचार र बैकल्पिक उपायहरु चाहिँ पाईन्छ । प्रस्तुत लेख कुनै सल्लाह या उपचारनिहित नभएर एक नितान्त व्यक्तिगत अनुभूति रहेको हुँदा सोहि अनुसार मनन गर्नहुन पाठकलाई अनुरोध छ । तपाई आफुपनि यस रोगबाट प्रभावित हुनुभएको छ भने तुरुन्त छाला विशेषज्ञसँग सम्पर्क गर्नुहोला ।
हालै मैले दुई हिन्दी सिनेमा बाला तथा गन केश हेरेर प्रभावित भएको आधारमा यो आफ्नै कथाब्यथा लेख्ने रहर पलायो । मेरो यस लेखले कसैलाई प्रभावित तुल्यायो भने आफुलाई भाग्यशाली ठान्ने छु ।)

(शीतल निवासको कार्यक्रममा सहभागी हुन जाँदै गर्दाको सेल्फी)
शायद विसँ २०४३ को कुरा हुनुपर्छ । हजुर बा बिहानभर देवी देवताको दर्शन गरेर घर फर्किई खाना खाई ओछ्यानमा पल्टनु भयो । खुट्टा छेउमा मेरो कान्छा काका हजुर बाको खुट्टामा मालिस गर्दै बस्नुभयो । यत्तिकैमा हजुर बाले म यता पल्टन्छु भनेर कोल्टे फेर्नुभयो । काका हजुर बाको सेवामा लागी रहनुभयो । निकै बेरसम्म बाबाट कुनै प्रतिक्रिया नआएको र शरीर हलचल गर्न छोडेको अनुभव गरेपछि काकाले बालाई झक्झक्याउनु भयो । अहँ, बाबाट कुनै प्रतिक्रिया आएन । बाको खुट्टा चिसो हुँदै गएको अनुभव गरेपछि काकाले सबैलाई बोलाउनु भयो । सबैले आआफ्नै ढँगले बासँग कुरा गर्न खोजे । तर कुनै प्रतिक्रिया नआए पछि सबैजना आत्तिएर डाक्टर बैद्य बोलाउने तर्फ लागे । टोलको जान्ने झारफुक गर्ने रामेश्वर पण्डित तथा टोलको डाक्टर मधुलाई बोलाएर ल्याए । दुबैले बा अब नरहनु भएको घोषणा गरे । कस्तो अचम्म ! न कुनै रोग, न कुनै समस्या । बिहानभर देवी देवताको दर्शन गरेर खाना खाएर पल्टिएको मानिस अब नरहेको भन्दा कसले पत्याउने? तर दुई विज्ञले भनेपछि मान्नै पर्यो । बालाई हृदयाघात भएको रहेछ । कसैलाई कुनै दुख नदिई तर सबैलाई घोर आश्चर्यमा पारेर सबैलाई छोडेर अचानक जानुभयो कतै । घरमा अचानक रुवाबासी चल्यो । टोलछिमेक सबै जम्मा भए । अनि अन्त्येष्टिको तयारी भयो ।

हाम्रो नेवार चलन अनुसार १० दिनमा कपाल खौरिएर चोख्याउने चलन छ । सोहि अनुसार हामी सबै कपाल खौरँदै थियौँ । सो क्रममा मेरी श्रीमतीले मेरो टाउकोमा कुनै खत जस्तो सानो कपाल नभएको चक्का देखिन् र मलाई पहिले कुनै घाउ या चोटपटक लागेको थियो भनेर सोधिन् । मैले अहँमा जवाफ दिएँ । यो कुरा यत्तिकै सेलायो । किनभने योभन्दा महत्वपूर्ण काम बाको किरिया पुरा गर्नु थियो । त्यसैमा ब्यस्त भईयो । केहि महिनापछि मेरी श्रीमतीले अर्काे कपालरहितको चक्का देखिन् । अब भने हामी दुबै केहि सजग भयौँ । म आफ्नो हातले ति चक्का छुँदा चिल्लो अनुभव गर्थेँ ।

स्वभावतः यसको कारण र निराकरणतर्फ ध्यान जान थाल्यो । किनभने यो अब प्रष्ट देखिन थालिसकेको थियो र चक्काको सँख्या बढ्दै पनि थियो । कुनै दुई चक्का बढ्दै गरेर एक हुँदा झन् ठुलो चक्का बन्न थाल्यो । मानौँ दुई राज्य एकिकरण भएर एक भए जस्तै । अनि अर्को राज्य जोडिन्थ्यो, झन् ठुलो हुन्थ्यो ।
 
साबुन लगाउँदा नलाग्ने मेरो बाक्लो र घना कपाल अब पातलो देखिन थाल्यो । हुँदाहुँदा आँखिभौँ पनि पातलिन थाल्यो । दाह्रिजुँगाका ठाउँमा पनि सानासाना चक्का देखिन थाले । काँइयो नपस्ने घना कपालमा अब कपाल कोर्दा काँइयोका दाँत ति चक्कामा पर्दा दुख्ने हुनथाल्यो । त्यसैले तेह्रचौध वर्षको उमेरदेखि खल्तीमा बोक्न थालेको काँइयो अब बोक्न छोडियो ।

सोधखोज गर्दा कसैले यसलाई खोईरोले खाएको भने । कहिल्यै नसुनेको रोग लागेर दिनरात चिन्तामा डुब्न थालेँ । कसैले माकुराले छेर्यो भने यस्तो हुन्छ भने । खास कारण चाहिँ थाहा हुन सकेन । तर उपचारकोलागी भने कसैले अदुवा दल्न भने । केहि दिन अदुवा दलियो । राती सुत्ने बेलामा अदुवा दलेर भोलिपल्ट नुहाउथेँ । यसैबिच कसैले लसुन दल्न भने । अब अदुवा छोडेर लसुन दल्न थालेँ । बिचरा श्रीमती श्रीमान्को श्रृँगारमा ग्रहण लागेको देखेर मभन्दापनि बढी चिन्तित थिईन् । त्यसैले अदुवा होस् या लसुन होस् या कुनै पनि उपचारको विधिमा झर्काे नमानी सहयोग गर्थिन् । केहि दिन लसुन दलेपछि ज्यानमारा खोर्सानी दल्ने सल्लाह कसैले दिए । चाहिँदो मात्रामा ज्यानमारा खोर्सानी ल्याएर राती दल्न थालियो । ओहो, नामै ज्यानमारा । खाँदा असह्य पीरो हुने भएर नै ज्यानमारा भनिएको खोर्सानी झन् दल्दा कस्तो हुँदो हो अनुमान गर्न सकिन्छ । दलुन्जेल टाउकोका छालामा जलन त हुन्थ्यो नै । त्यसलाई पखाल्न परेको पानी तुरुर्र बगेर गाला, कान र घाँटि हुँदै जताजता बग्यो उताउता भतभत पोल्थ्यो । तर कपाल पलाउने आशामा यो पिडा सहजै वरण गर्दै गएँ । तर परिणाम भने शुन्य ।

फेरि यसैबिच कसैले अण्डिको गेडा दले कपाल आउँछ भन्ने आशा देखाए । अण्डि भनेको तराईमा पाइने एक प्रकारको सानो दाना हो जुन रुखमा फल्ने गर्दछ र यो गेडा पिनेर तेल निकालिने गरिन्छ । जे होस् अब तराई मधेश ओहोरदोहोर गर्ने मानिसको सोधखोज गर्न थालियो । नेपाल वायुसेवा निगमको कर्मचारी भएको हैसियतले तराई खटिएका सहकर्मी मार्फत मगाईयो । शीरमा दल्दा योपनि ज्यानमारा खोर्सानी झैँ भतभत पोल्दो रहेछ । तर यो पोलाई पनि कपाल आउने रहरमा गौण नै रह्यो । तर परिणाम भने उस्तै, अर्थात शुन्य । एकजना बिद्धानले कपाल चाँडैचाँडै खौरने गर्नु, कपाल आउँछ भने । तसर्थ हरेक हप्ता हजामको शरण पर्न थालेँ । अब हजामकोलागी म एउटा खुवा ग्राहक भएको थिएँ । पातलो कपाललाई सुरुर्र खौरिन पाँच मिनेट पनि नलाग्ने, तर उसको पैसा भने सामान्यकै लाग्ने । त्यसमाथि मैले दिने टिप्स । म हजामकोमा पुग्ने बित्तिकै ग्राहक कुरेर बसेका हजामहरु तँछाड मछाड गर्थे । तर म भने एउटा निश्चित हजामबाटै काट्ने भएकोले बाँकि ठुस्स पर्थे । किनभने काम सजिलो तर टिप्स दिने ग्राहकको सेवा गर्न नपाएर । तर, मलाई त्यसको मतलब हुन्नथ्यो ।

यसै क्रममा मेरो टाउकोमा देखिने चक्का, झरेका आँखिभौँ लुकाउन मैले टोपी तथा चश्मा लगाउन थालेँ । कलेज होस् या अफिस या बाटोघाटो यि दुबै मेरा अनुहारबाट छुट्दैनथे । पातलिएको आँखिभौँ छोप्न चश्मा तथा पातलिएको र टाटे कपाल छोप्न टोपी लगाउनु पर्ने बाध्यता आईलाग्यो । कसैले सोधिहाले टालटुले जवाफ दिने गर्थेँ । नजिकका साथी तथा आफन्तले सोधे स्पष्ट जवाफ दिन्थेँ । यहि बेला कसैले छालाको डाक्टरलाई देखाउने सल्लाह दिए । भोलीपल्टै म छालाको डाक्टरको शरणमा पुगीसकेको थिएँ । ति डाक्टरले एलोपेसिया एरिएटा भन्ने छालाको रोग लागेको भन्दै केहि औषधि लेखे र पछि फेरि आउन भने । फलोअपको समयसम्मपनि कुनै निदानको लक्षण देखिएको थिएन । तसर्थ उनले दिल्लीस्थित गँगाराम अस्पताल जान सल्लाह दिए । अर्को  हप्ता म दिल्ली पुगीसकेको थिएँ । किनभने नेपाल वायुसेवा निगममा कार्यरत भएकोले टिकटको कुनै समस्या थिएन । भिसाको त कुरै भएन । रह्यो एकरात होटलको खर्च, अनि अस्पताल जानआउन सवारी खर्च । तर, मैले होटेल अस्पताल नजिकै पाँच मिनेटको दुरीमा लिने गरेँ । तसर्थ एयरपोर्टबाट होटलको सवारी साधन र होटल अनि रातीको खाना खर्चमात्र हुने थियो । भोली बिहान एयरपोर्ट आउने कर्मचारी साथीहरुसँगै आउने, काठमाण्डौँकोलागी प्लेन चढने । कति सजिलो ।

गँगाराम अस्पतालमा मलाई एउटा इन्जेक्सन दिईयो र यो हरेक पन्ध्रदिनमा लगाउनु पर्ने डाक्टरले बताए । अरु सामान्य मान्छेलाई भए यो उपचार असामान्य र महँगो हुनेथियो । हरेक पन्ध्रदिनमा काठमाण्डौ दिल्ली आउजाउ कसले गर्नसक्छ र? तर, वायुसेवा निगममा कार्यरत भएकोले मलाई आउजाउको कुनै समस्या थिएन । तसर्थ म प्रत्येक पन्ध्रदिनमा काठमाण्डौँ दिल्ली गर्न थालेँ । कसैले एकदिन काठमाण्डौँ नहुँदा पत्तो पाउँदैनथिए । कथम् म दिल्ली गएर आएको भन्दा पत्याउन गाहारो मान्थे । तर, जे होस् केहि महिनाको ईन्जेक्सनपछि कपालमा केहि सुधार आएजस्तो भएको अनुभव गर्दैथिएँ, म अमेरिका हान्निएँ । अब यो क्रम यहिँ रोकियो ।

अमेरिका आएको केहि दिनपछि मलाई वास र साथ दिने रुममेटकी भाई रोहितले मलाई डिसीस्थित हाउवार्ड जोन्सन अस्पताल लगे । त्यहाँ कार्यरत एक बँगाली डाक्टरले एकशय डलर लिएर एउटा ईन्जेक्सन दिए र यहि नै कपालकोलागी मेरो अन्तिम उपचार रह्यो । अन्तिम यस अर्थमा कि केहि कपाल फिर्ता आएको थियो । तर, यसलाई निरन्तरता दिन समय र अमेरिकी कमाईको औसतमा अनि स्वास्थ्य बिमा बिना खर्चिलोपनि थियो । त्यसकारण अब जेजति छ त्यसैमा चित्त बुझाउन थालियो । अनि चश्मा र टोपी पनि लगाउन छोडियो । किनभने यहाँ कसैले अनुहार हेरेर केकसो भनेर खोजिनिती गर्देनथे । नानाभाँतिका प्रश्न र सल्लाहको सामना गर्नुपर्दैनथ्यो । नेपालमा भए भेट भएपिच्छेकालाई स्पष्टिकरण दिनुपर्ने कारणले लाज छोप्न या लुकाउन टोपी र चश्मा लगाउने गरेको थिएँ । अब अमेरिका आएपछि म बिना चश्मा र टोपी निर्धक्क हिँड्न थालेँ । त्यसमाथि अलिअलि कपाल त फर्किई पनि सकेको थियो ।

अब समयले फेरि कोल्टे फेरेर मसँग निहुँ खोज्यो । अबभने चक्का भएर रौँ झर्ने नभई अँग्रेजीको भी आकारमा निधारबाट रौँ पातलिँदै गयो । अबभने साँच्चिकै तालु हुँदै जान थालेँ । यो वँशानुगत रोग हो भन्ने सुनेको मैले न मेरो बुबालाई तालु देखेको थिएँ न हजुरबा नै तालु देखेको थिएँ  । तथापी एउटा थप जानकारीमा यस्तो रोग मावलीबाटपनि आउँछ रे भन्ने सुनेँ । तसर्थ आमालाई के हजुरबा तालु हुनुहुन्थ्यो भनेर सोधेको । बरा, वहाँलाई मेरो मावली हजुरबाको अनुहार नै सम्झनामा रहेनछ । मन नै कुँढियो । जे होस् अमेरिका आएर हजामकहाँ कपाल खौरन नभई कपाल काट्न जाने हुन थालेको थिएँ । तर, यसरी कपाल अर्काे तरिकाबाट पातलिँदै गएपछि घरमै कपाल काट्ने मेसिन ल्याएर श्रीमतिको सहयोगमा काट्न थालेँ । एकपटकको हजामगमनमा पन्ध्रदेखि सत्र डलर खर्च हुन्थ्यो । त्यो बचत भएको थियो । तरपनि यताभने हेर्दाहेर्दै निधार बडेमानको चौडा र ठुलो हुँदै थियो । कपाल टाउको पछाडिको भीरमामात्र उतिसको बोट झैँ रह्यो । गर्धनबाट हात माथि ल्याउँदा बिस्तारै कपालहरु अलप हुँदै निधारको छेउछाउ पुग्दा झिँगा चिप्लने चिल्लो भेटिन थाल्यो । त्यसकारण अब यस नाथे भिरलाई पनि किन राख्ने भनेर कपाल सफाचट गर्न थालेको आजकल सात बर्ष भईसक्यो ।

यसरी युवावस्थामा साह्रै बाक्लो कपाल भएको मैले मानिसको श्रँगार मानिने कपालको मज्जा शायद सत्ताईस अठ्ठाईस बर्षको उमेरसम्ममात्र लिएँ हुँला । त्यसपछि यता पछिल्ला सातआठ बर्ष बाहेक बिचका समय म कपाल पिडित नै रहेँ र यताका सातआठ बर्ष भने गर्विलो तालु नै रहेको छु । त्यसैले अब थुप्रै टोपे र कपालेका बिच आफुमात्र तालु भएर उभिँदा या बस्दा गौरब पो अनुभूति हुन्छ । अनि आफुजस्तै कोहि अरु तालु देखिए दौँतरी या सहयात्री झैँ लाग्छन् र खुशी मान्छु । त्यतिमात्र होइन अर्काे कोहि तालु भेटियो भने म टाउको जुधाएर सत्कार गर्न शुरु गरेको छ । तालु हुँदै गएको मेरो युवा भतिजासँग पहिलो पटक भेट्दासमेत टाउको जुधाएर अभिवादन फर्काएको थिएँ ।

हालै राष्ट्रपति भवनमा सम्पन्न एक समारोहमा सहभागी हुँदा मँचासिन राष्ट्र्पतिले सबैलाई छोडेर म दर्शकदीर्घामा बसेको चिल्लो तालुलाई नै हेरिरहेको भान परेको थियो । चारैतिर आँखा घुमाउँदा सारा टोपे या कपाले थिए । सम्पूर्ण सहभागीहरुमा चिल्लो तालु टल्किनेमा म एक्लै भएकोले मलाई हेर्न सहज भएकोले राष्ट्र्पतिको आँखा मैमामात्र परेको भान मलाई भईरहेको थियो । अनि त्यहि बेला गर्बकासाथ आफुलाई विशेष व्यक्ति ठान्दै आफ्नो चिल्लो तालुमा एकपटक हात पुर्याएको थिएँ

तालु हुनुको अर्को फाईदा के हो भने हालै एउटा रेष्टुराँमा एकजना महिलाले मेरो सामु आएर अपर्झट मेरो चिल्लो टाउको तिनका दुबै हातले मुसार्दै 'ओ आई लभ दिस' भनिन् । अनि आफु तालु हुनुमा झन् गर्व गर्ने अर्को कारण पाएको छु । त्यसैले म हप्तामा तीन दिन टाउकोमा रेजर दौडाउने र क्रिम दलेर चिल्लो बनाएर टल्काउँदै हिँड्ने गरेको सातआठ बर्ष भैसक्यो र यो क्रम जारी छ । अहिले यहि मेरो चिनारी भएको छ भन्न म कत्ति हिच्किचाउँदिन । अब रौ उमार्ने कुनैपनि बिधिबिधानका पछि नलाग्ने भईसकेको छु ।