https://twitter.com/Chirvir

Tweet me @chirvir







Thursday, March 31, 2016

एसएलसी नोष्टाल्जिया

एसएलसी नोष्टाल्जिया

बासु श्रेष्ठ

आजदेखि शुरु भएको एसएलसी जाँचले २०३२ सालको माघमा ३१९९८ 'आर' सिम्बल लिएर जनकपुरको सरस्वती हाई स्कुल केन्द्रमा आफुले दिएको जाँचको सम्झना हरेक वर्ष झैँ यसपालीपनि गरायो | फरक, त्यो फलामे ढोका छिर्न जाँच दिएको यस पटक ४० वर्ष ३ महिना भएछ | तरपनि किन हो हिजोमात्र जाडोको कुहिरो छिचोल्दै त्यो जाँच दिन गए झैँ लाग्छ |

जनकपुर शहरको केहि किलोमिटरको दूरीमा तीन हाई स्कुल रहेका छन् | पहिलो, बाह्र बिघाको बाहिर मध्य-पश्चिममा रहेको जानकी हाई स्कुल, दोश्रो बाह्रबिघाको बाहिर उत्तर-पूर्वमा रहेको सरस्वती हाई स्कुल अनि यसै स्कुलको पूर्वपट्टी रहेको पोखरीको पारीपट्टी कन्या हाई स्कुल रहेका छन् | यति सानो परिधि भित्र तीनतीन हाई स्कुल शायदै अन्त कतै होला कि भन्ने लाग्छ | यि तीनै हाई स्कुलका बिच एकापसमा कुन स्कुलको हेड सर कडा छन् र कुन स्कुलबाट धेरै विध्यार्थी पास हुन्छन् भन्ने विषयमा अघोषित प्रतिस्पर्धा थियो | तर, यस विषयमा प्रायशः कन्या स्कुल नै कमजोर देखिन्थ्यो | शायद कन्या स्कुल अलि लिबरल भएकोले हो कि?

२०२८ सालमा लागु भएको नयाँ शिक्षा पद्धतिको हामी दोश्रो ब्याच थियौं | पहिलो ब्याच चितवन र भरतपुरपछि दोश्रो ब्याचको रुपमा धनुषा र महोत्तरी (शायद)मा लागु भएको थियो | धनुषा जिल्लाको पहिलो ब्याच चितवन र भरतपुरसँग आफ्नै प्रकारको अघोषित शैक्षिक प्रतिस्पर्धा थियो | त्यसैले यो ब्याचप्रति हाम्रा गुरुहरुको भरोसा र आश थियो |

मेरो स्कुल थियो जानकी हाई स्कुल र जानकी हाई स्कुलबाट म लगायत झण्डै ६५ जना एसएलसी जाँचमा सम्मिलित भएका थियौं | हाम्रो केन्द्र थियो सरस्वती हाई स्कुल | त्यस स्कुलका हेड सरपनि आफ्नो हेड सर उपेन्द्र झा झैँ सार्है कडा सरमा गनिन्थे | केन्द्रको सुपरिन्टेन्डेट उनै हुने हुनाले हामी अलि थर्कमान नै थियौं |

यो एसएलसीमा नयाँ शिक्षा र पुरानो शिक्षाका दुवै एकै पटक समावेश भएका थिए | परिक्षा हलमा एउटा बेन्चको एक छेउमा नयाँ शिक्षा, अर्को छेउमा पुरानो शिक्षा अनि तिनको ठिक अगाडी र पछाडी विपरित शिक्षा प्रणालीको विध्यार्थी पार्ने गरी सिट प्लान गरिएको थियो | तर मेरो एकजना साथीले मसँग उनको सिट पार्न अर्को ठाउँमा टाँसिएको आफ्नो सिट प्लान उप्काएर म बस्ने बेन्चमा ल्याएर अर्कोसँग साटासाट गरे | उनले पहिले नै मसँग बस्ने र मेरो सहयोग लिने भनेका थिए | ति साथीसँग अरु त अरु सुपरिन्टेन्डेटलेपनि केहि नबोली नदेखे झैँ गरे | म पनि साथीलाई सहयोग हुन्छ भने राम्रै हुन्छ भनेर खुशी नै मानेको थिएँ | फेरी कथम् चिट सार्नु परेको खण्डमा त्यस साथीको आड भरोस पनि हुने भएको थियो | जाँचमा उनले प्राय: सबै विषयको उत्तर मबाट हुबहु सारेको हुनाले या दुवै जना पास या दुवै जना फेल भन्ने मैले अठोट गरिसकेको थिएँ | तर त्यसो भएन |

मेरो स्कुलबाट जम्मा ४ जना मात्र उत्तीर्ण भए | त्यस चारजनामा आफुपनि परेकोमा खुशी नहुनुपर्ने कारण नै थिएन | टेष्टको जाँचमा उत्तीर्ण नम्बरको आधारमा पहिलो, दोश्रो, तेश्रो र चौथो भएकामात्र एसएलसीमा पास भएछन् | त्यसमध्ये एक म परेको थिएँ | मुकुन्द घिमिरे, शत्रुघ्न यादव, अखिलेश सिंहपनि सँगै पास भएका थिए | यसरी टेष्टमा पहिलो र दोश्रो भएका दोश्रो श्रेणी र तेश्रो र चौथो भएका तेश्रो श्रेणीमा पास भयौं | देशभरी कूल विध्यार्थीको ३१.०९% मात्र पास हुनेमा आफु पर्नु भाग्यमानी नै ठान्नु परेको थियो |

तर अर्को वर्ष एसएलसी उत्तीर्ण गर्ने मेरा कतिपय साथीहरु अहिले कोहि अध्यापनमा छन् या कोहि न्यायाधिस भएका छन् त कोहि सम्पादक तथा अन्य सम्मानजनक पेशामा पुगेका छन् | त्यसैले ति साथीहरुको प्रगतिप्रति मलाई गौरवको अनुभूति हुन्छ |

तर दूर्भाग्य, मैले यो जाँच पास गरेको खुशियाली यि साथीहरुसँग मनाउने मौका मिलेन | किनभने जाँचको लगत्तै र रिजल्ट आउनु पहिले नै बुवाको जागीरले गौरतिर हिँड्नु परिसकेको थियो |

एसएलसीको रीजल्ट मैले गौरमा पुगेको केहि महिनापछि असार या साउनतिर थाहा पाएँ | गोरखापत्र आउन दुईहप्ता लाग्ने | त्यसबेला संचारको छरितो एकमात्र माध्यम आवा (आकाशवाणी) महँगो थियो | त्यसकारण गोरखापत्र कुर्नै पर्ने भयो | स्थानीय पुस्तकालयमा संधै जाने गरेकोले एकदिन गोरखापत्र आइपुगेको थाहा भयो | गोरखापत्र हातमा लिएपछि पो सारा शरीर सुस्त, मुटुको चाल तिब्र अनि आँखा रसाएर शरीर कामेजस्तो अनुभव हुन थाल्यो | जाँचमा राम्रै गरेकोले माथिल्लो श्रेणीबाट आफ्नो नम्बर खोज्न शुरु गरेँ | यो क्रममा पहिलो, दोश्रोमा नभेटेपछि आश मार्दै अन्तिममा हेर्दा आफ्नो नम्बर टकरक्क देखें | विश्वास भएन | फेरी हेरेँ | आफ्नै नम्बर हो | फेरी हेरेँ | हो म पास भएछु | अब यसपटक चाहि खुशीले मुटु बाहिर आउला झैं भयो | तुरुन्त पुस्तकालयबाट निस्किएर दौडेर घर गएँ अनि आमालाई यो खबर सुनाएँ | खुशी नहुने कुरै थिएन | आमा सगुनको तयारी गर्न थाल्नु भयो | म भने फेरी एक पटक पुस्तकालय गएर हो कि होइन निर्क्यौल गर्न गएँ | घरबाट दश मिनेटको दूरीमा रहेको त्यो पुस्तकालय र घरको ओहोरदोहोर मैले त्यो दिन कम्तीमा तीनचार पटक गरेँ हुँला |

यस पछि मैले देखेका सपना के कसरी पुरा भए भएनन् कुनै अर्को प्रसँगमा उल्लेख गरुँला | तर आज देखि शुरु भएको एसएलसीले मलाई प्रत्येक वर्ष झैँ माथिका सम्झना ताजा गरिदिएको छ | तपाईकोपनि केहि सम्झना बाँड्ने कि?

हालको एसएलसीको प्रारूप केहि फेरिएको भएपनि यसको महत्व र चर्चा उत्तिकै छ | त्यसैले आजदेखि यो जाँचमा संग्लग्न हुने बहिनी भाईहरु लगायत सबैलाई उज्ज्वल भविष्यकोलागी मेरो शुभकामना |