https://twitter.com/Chirvir

Tweet me @chirvir







Wednesday, December 12, 2012

अमेरिका नेपाल सोसाईटी अदालतको ढोकामा


बासु श्रेष्ठ

अमेरिकामा नेपालीहरुको सबैभन्दा ठुलो सँस्था एशोसिएसन अफ नेपलिज ईन अमेरिकामा केहि पहिले पदकोलागी उठेको खिचलोको कारण अदालत धाएर समुदायको झण्डै २५००० डलर रकम कानुनी प्रक्रियाकोलागी खर्च गरेपछि सो मुद्धा टुँगिएको थियो । तर सो कुरा सेलाउन नपाउँदै अमेरिकाकै वासिँगटन डिसीस्थित सबैभन्दा पुरानो सँस्था अमेरिका नेपाल सोसाईटीलेपनि त्यहि नियति भोग्ने अवस्था आएको छ ।

गत दशैँताका सम्पन्न निर्वाचनमा सभापति पदमा पराजय भएका श्रीधर कँडेलले निर्वाचनमा धाँधली भएको, आफ्ना पक्षका मतदाताहरुलाई समय अघि नै मतदानबाट बँचित गराईएको, निर्वाचन आयोगको सदस्यमा स्वार्थवश हेरफेर गरिएको, मतपत्रको गणना ठिक ढँगले नभएको आदि लगायत ११ बुँदाहरु सहित वर्तमान पदाधिकारी तथा निर्वाचन आयोग विरुद्ध मुद्धा हाल्न स्थानिय वकिलसँग परामर्श थालेका छन् । सोहि बमोजिम श्रीधर पक्षका वकिलले अमेरिका नेपाल सोसाईटीका वर्तमान पदाधिकारी तथा तत्कालिन निर्वाचन आयोगलाई एक पत्र पठाई सो बारे जानकारी मागेको छ र समय सीमा भित्र जानकारी नपाए अदालतमा मुद्धा दायर गर्ने भनिएको छ ।

सो पत्रको प्रतिउत्तरमा निर्वाचन आयोगका तर्फबाट तत्कालिन आयुक्त कृष्ण सबले ११ बुँदामा जवाफ पठाई सकेको विश्वस्त सूत्रबाट थाहा हुन आएको छ ।

यस सम्बन्धमा श्रीधर कँडेलसँग सम्पर्क गर्दा उनले यस विषयलाई स्विकार्दै चुनावमा भएका धाँधली र अनियमितताको विरुद्ध आफुले अदालतको ढोका गुहारेको बताए । कँडेलले आफ्नो वकिलको भनाई उधृत गर्दै वकिलले पठाएको पत्रको जवाफ कृष्ण सबबाट पाईसकेको तर त्यस जवाफमा विपक्षीहरुले सहमतिको कुनै सँकेत नदेखाएको उल्लेख भएको बताए ।

यस अघि सँस्थालाई के कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा नव निर्वाचित पदाधिकारीहरुले समुदायसँग राय सल्लाह लिन यहि डिसेम्बर ९ का दिन एक भेलाको आव्हान गरेको थियो । तर उल्लेखित कारणले अनेसोव्दारा सो भेला कारणवश रद्द गरिएकोजानकारी समुदायलाई गराएको भए ता पनि कारण भने जनाईएको थिएन ।

Friday, December 7, 2012

राजेश हमालसँगको छोटो अन्तरँग कुराकानी


बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया
 
दुई बिच गहिरो वार्तालाप?

अक्टोबर १४ मा सम्पन्न 'युनाईटेड नेपालको दशैँ ईभ २०१२' को कार्यक्रममा सहभागी हुन वासिँगटन डिसी आएका कलाकार राजेश हमालसँग नेपाल होराईजोन्स डट कमका सँचालक मित्र सुबु केसीको घरमा नोभेम्बर १७ कादिन भएको एक आतिथ्य साँझको समय केहि बेर अन्तरँग कुराकानी गर्ने अवसर मिलेको थियो । अनौपचारिक रुपमा भएका ति कुराकानी सार्वजनिक चासोको विषय हुनसक्ने भएकोले ति कुराकानीका सारहरु यस लेख मार्फत व्यक्त गर्ने जमर्को गरेको छुँ ।

माथि भनिएको उक्त इभ कार्यक्रमपछि अमेरिकाका विभिन्न शहरहरुमा पालैपालो कार्यक्रम प्रस्तुत गरेपछि नेपाल फर्किनु एकदिन अघि आयोजित सो विदाई कार्यक्रमको आयोजनामा मपनि निम्तालु भएर पुगेको थिएँ । कलाकार सरोज खनाल, किरणप्रताप केसी, सारँगा श्रेष्ठ, नविन केसी, लुना श्रेष्ठ लगायत लोक गायक कुमार बस्नेत तथा प्रेमराजा महत सहितको उपस्थिति रहेको सो रात्री भोजमा स्थानिय प्रबुद्धवर्गका केहि सदस्यहरुकोपनि सहभागीता रहेको थियो ।

राजेश मेरो अन्तरंग कुराकानी सुन्दै


चिनजानका सबैसँग अनौपचारिक भलाकुसारीपछि एकछिन राजेश हमालसँगपनि बसेर कुराकानी गर्ने ईक्षा स्वाभाविकवश जाग्यो । सोफामा सँगै बसेर कुराकानी गर्ने मनशायले म उनी छेउ बसेँ । तर निम्तालुहरुको आउने जाने क्रममा राजेशलाई 'हाई''बाई'को आवाजले बाधा पुर्याएपनि (जुन स्वाभाविक नै हो) हाम्रो कुराकानी रोकिँदै अगाडि बढ्यो । मभने हामीविच कसैले बाधा नपुर्याओस् भन्ने चाहिरहेको थिएँ ।

'यसपटक त निकै शहरमा कार्यक्रम गर्नुभयो । कस्तो रह्यो भ्रमण र कार्यक्रम?' मेरो पहिलो अनौपचारिक प्रश्नको उत्तरमा छोटोमा भने एकदम हेक्टिक। कुरा सजिलै बुझ्न सकिन्थ्यो । वासिँगटन डिसीपछि, टेक्सस, एरिजोना, एटलाण्टा, कोलोराडो, इलीनोइ आदि विभिन्न राज्यका शहरहरुमा कार्यक्रम गर्नुपरेपछि हेक्टिक त हुने नै भयो ।

नेपालको चलचित्र उद्योगमा अहँ भूमिका निभाएका र अहिलेसम्म सक्रियताकासाथ झण्डै २५ वर्षदेखि लागी पर्दै आएका र अहिलेसम्मका सबैभन्दा शिक्षित कलाकारका रुपमा चिनिने राजेश हमालसँग निस्सन्देह चलचित्रकै बारेमा कुराकानी गरिन्छ र हाम्रो कुराकानीपनि त्यसैमा आधारित थियो ।

उनि लामो समयसम्म चलचित्रमा संलग्न भएको हैसियतले मेरो अनौपचारिक प्रश्न थियो 'नेपालको चलचित्रको भविष्य कस्तो छ र यसले समाउनु पर्ने बाटो समाएको छ कि छैन ?' तिनको उत्तर थियो छैन। कुरा प्रष्ट छ नेपाली चलचित्रले नक्कलमात्र गर्न जानेको छ । अक्कल लगाउन जानेको छैन । विदेशी अझ भन्ने हो भने भारतीय चलचित्रबाट नक्कल गरेर कुनै सन्देश प्रवाह गर्न सकेको छैन । कमर्सियल फिल्मको नाममापनि दिशाहिन चलचित्र बनिरहेका छन् । झन् अहिले त कतिपय चलचित्रहरुकोलागी सेक्स, बेड सिनहरु मसला भएको छ र यस मसलामा चलचित्र निर्माता र कलाकारहरुमाझ कसले बढि शरीरको अँग देखाउन सक्छ र छाडा भाषा बोल्न सक्छ भन्ने अघोषित प्रतिस्पर्धा नै भएको देखिन्छ ।

'तपाईले त्यस्ता चलचित्रको बारेमा कस्तो धारणा बनाउनु भएको छ त?' भन्ने मेरो प्रश्नमा उनले यो कदापी राम्रो होईन । एउटा चलचित्रमा बोलिचालीको भाषा र केहि एडल्ट सीन राखेर चलेको आधार बनाएर सबै त्यसैको पछि लागेकोमा उनीपनि खुशी रहेनछन् । यसले चलचित्रको स्तर बढ्नुको साटो खस्किई रहेको उनको धारणा थियो ।

'तपाई निर्माता तथा निर्देशकहरुलाई त्यस्ता चलचित्र नबनाउन किन भन्नुहुन्न त?' भन्ने मेरो क्रस कोइश्चनको उत्तरमा हामीले त्यसो भन्न मिल्दैन । तर के चाहिँ गर्न सकिन्छ भने त्यस्ता फिल्महरुलाई नाई भन्ने ।तर के 'नाई' भन्दैमा निर्माता निर्देशकले कलाकारको आशय बुझ्छन् त? प्रश्न अनुत्तरित रह्यो ।

'कस्तो चलचित्र बन्नुपर्छ भन्ने तपाईको विचार छ त?' भन्ने मेरो जिज्ञासामा "फिल्म समाजलाई सन्देशमूलक र एक निश्चित गोरेटोमा डोर्याउन सक्ने खालको बन्नुपर्छ" भने । विचार असाध्य राम्रो छ । आम नेपाली र प्रबुद्धवर्गको चाहनापनि यहि हो । तर दुर्भाग्यवश यसो भएको देखिएको छैन, सुनिएको छैन ।

'तपाई आफैँ कुनै चलचित्र निर्माण या निर्देशन गर्ने ईक्षा वा चाहना छ कि छैन त?' भन्दा उनले भने । हेरौँ उनले निर्माण तथा निर्देशन गरेको चलचित्र कहिले आउने हो र कस्तो हुने हो । मैले यसबारे विस्तृत सोध्ने जमर्को गरिनँ ।

'तपाई यहाँबाट फर्किने वित्तिकै बाँकि रहेका थुप्रै कामहरु सक्नुमा नै व्यस्त हुने होला' भन्ने जिज्ञासामा त्यति सारो व्यस्त नभएपनि तिनवटा अधुरा चलचित्रहरु चाहिँ पुरा गर्नुपर्ने भएको छभने । चलचित्रको नाम सोध्नुपर्ने, मैले सोधिनँ ।

यत्तिकैमा डिनर टाईमको घोषणा भयो र कुराकानीको यो क्रम यहिँ टुँगियो ।

मैले तिनवर्ष अगाडि उनिसँग खसखस डटकमकालागी एक अन्तर्वार्ता लिएको थिएँ । त्यो उनलाई सम्झना रहेछ । अहिलेको यस कुराकानीमा मैले खसखस डटकमको बारेमा कुनै चर्चा चलाएको थिईनँ । तर उनले मबाट सँचालन भईरहेको साहित्यिक वेबसाईट खसखस डटकमकालागी अमेरिकी भ्रमणको बारेमा एक सँस्मरणात्मक लेख पठाउने वाचा गरे । शायद अहिले उनि लेख्दै होलान् भन्ने कल्पनामा छुँ । उनको वाचाबाट म अझ उत्साहित र लोभी हुँदै नेपाली चलचित्रको वर्तमान अवस्थाको बारेमापनि एक लेख लेख्न आग्रह गरेँ । उनले निस्सँकोच 'हुन्छ' भने । म त्यस लेखको पर्खाईमा छुँ । तर अधुरा चलचित्र पुरा गर्नु बाहेक कहिले उनि पोखरामा भएको शैक्षिक मेलामा सम्मानित हुने त कहिले दुवइमा बन्दै गरेको नयाँ सपिँग मलको उद्घाटन गर्न जाने जस्ता समाचारले उनको व्यस्तता बुझ्न सकिन्छ । यि व्यस्तताकाविच उनले वचन दिएको लेख कहिले मकहाँ आउने होला भन्ने प्रश्न भने बेलाबेलामा उब्जिईरहन्छ ।

यस कुराकानीको केहि दिनपछि चलचित्रकर्मी तथा साहित्यकार प्रकाश सायमीसँग यसबारे चर्चा चलाउँदा उनले भनेका अझै सम्झन्छु राजेश हमालले चाहेको भए नेपाली चलचित्रलाई सुधार्न सक्ने थिए ।कुरा कत्तिको सत्य हो यि दुबै जानुन् ।