https://twitter.com/Chirvir

Tweet me @chirvir







Wednesday, March 21, 2018

स्वास्थ्य क्षेत्रमा हेलचेक्र्याईका नमूना


@chirvir

केहि दिन अघिमात्र काठमाण्डौँको एक अस्पतालमा देब्रे घुँडाको उपचार गर्नुको सट्टा दाहिने घुँडाको उपचार गरिएको समाचारले सबै जना छक्क र त्रसित भएका थिए । तर यस्तो उल्टो र गलत उपचारका घटनामा यो पहिलो भने होईन । यसभन्दा पहिले पनि निकै यस्ता दुर्घटनाहरु भई सकेका छन् र कतिले ज्यानपनि गुमाई सकेका छन् ।

२०४६ को आन्दोलनपछि च्याउ सरह खुल्लम्खुल्ला खुलेका अस्पताल, कलेज, विद्यालयहरु स्थापना त भएका छन् तर केहीमा बाहेक यिनमा हुनुपर्ने गुणस्तर भने न्यून भन्दा न्यूनपनि छैन । किनभने यि सबै व्यवशायिक उदेश्यमामात्र निहित भएर स्थापना भएका हुन् । अर्कोतिर, यसका उत्पादक विद्यार्थीहरु जसोतसो कलेज विद्यालय उत्तिर्ण हुने र पैसा कमाउने हतारमा हुन्छन् । फलस्वरुप न कारखाना गतिलो, न त उत्पादन नै । जसले गर्दा सेवाग्राही तथा उपभोक्ताहरु ठगी, नक्कली तर महँगोको मारमा पर्न बाध्य भएका छन् । र सबैभन्दा उदेक लाग्दो बिषय त के भने अनुगमन गर्ने सरकारी निकायहरुको उदासिनताले समेत उपभोक्ता वर्ग यि सबैका चपेटामा परेका छन् ।

विदेश जाने रहर गर्ने विद्यार्थीहरुलाई आकर्षित गर्न या भनौँ विदेशमा नै अध्ययन गरिएको भान दिन विदेशी नाममा खुलेका यि कलेज तथा स्कूलहरुले मूलतः यिनका तथा यिनका बाबुआमाको आँखामा छारो हाल्ने काम गरेर पैसा कमाउने बाहेक आफ्नो उत्पादनको गुणस्तरमा ध्यान दिएको पटक्कै भेटिँदैन, पाईँदैन । अन्यथा सेवाग्राहीले किन यसरी दुःख र महँगी खेप्न परेको छ?

अस्पताल तथा अन्य स्वास्थ्य क्षेत्रमा भएका चरम लापरवाही तथा सेवाग्राहीप्रतिको चरम अवहेलनाका थुप्रै समाचारहरु आई नै रहेका छन् । तर हालैका दुई घटनाले यो लेख लेख्न बाध्य तुल्यायो ।

पहिलोः
मेरी श्रीमति काठमाण्डौँ बसाईको क्रममा तीलगँगा आँखा अस्पतालमा आँखाको उपचार गराउन गईन् । डा. सन्दुक रुइतबाट सन्चालित यो अस्पताल सेवाकोलागी लोकप्रिय छ | यस अस्पतालमा उपचार गराउनेहरु गर्व गर्दछन् र यहि गौरवता अनुभव गर्न उनीपनि त्यहाँ पुगेकी थिइन् |

दुई पटकको सोधपुछ पछि उनले आफ्नो पालोमा आफुमा भएको समस्या भनेपछि रगतको रिपोर्ट लिएर आउने सल्लाह पाईन् र पछि बोलाईएको दिन रिपोर्ट लिएर अस्पताल पुगिन् । सम्बन्धित काउण्टरमा रिपोर्टहरु दिँदै थप पैसा कति तिर्नु पर्छ भनेर जानकारीकोलागी अनुरोध गरिन् । काउण्टरका उपबुज्रुग र बेसोमति कर्मचारीले एकहजार पचास दिनुस् भन्दै एउटा रसिद दिएर यसको रिपोर्ट ल्याउनुस् भनेछन् । फेरि रिपोर्टको कुरा सुनेर अलमलमा परेकी उनले थप बुझ्न खोज्दा झर्काे मान्दै तपाई अर्काे बिल्डिँगमा जानुपर्छ भनेछन् । भिडको माझमा त्यहाँ अझ अलमल गर्नुको सट्टा त्यहाँबाट निस्किएर एउटा गार्डलाई कागजपत्र देखाउँदै कता जानुपर्छ होला भने जिज्ञासा राखेपछि उनले कागजपत्र हेर्दै ल, तपाईलाई त फेरि रगत जाँच्ने रिपोर्ट पो मागेको छ । तर तपाईँको रिपोर्ट त हातमै छ । त्यसै तपाईँसँग पैसा लिएछ । जानुस् फिर्ता माग्नुस् भन्ने सल्लाह दिएपछि फेरि काउण्टरमा गएर बिस्तृत भनेर पैसा फिर्ता माग्दा हाकिमको तोक लगाउनु पर्ने भनेपछि तोक लगाउने हाकिमको कोठा खोज्दै तोक लगाएर पुनः त्यहि काउण्टरमा आएर पैसा फिर्ता लिन पाईछन् । आफुले भूल गरेकोमा किञ्चित दुख तथा क्षमा मान्न नजान्ने ति कर्मचारीले के कति गल्ती गरेका होलान्, के कति व्यक्तिहरुले दुख पाएका होलान् सहजै अनुमान गर्न सकिन्छ । सेवाग्राहीप्रति के कस्तो व्यवहार गरिनुपर्छ भन्ने सामान्य औपचारिकता नसिकाउने अस्पताल प्रशासन तथा ११/१२ पास या कुनै कलेजबाट उत्तिर्ण भुतपूर्व सो विद्यार्थीले स्कूल कलेजबाट के कस्तो सिक्यो होला सहजै अनुमान गर्न सकिन्छ । र यो साह्रै बिरक्त लाग्दोमात्र नभएर स्वास्थ्य जस्तो क्षेत्रमा यस्ता लापरवाही अति सम्बेदनशील बिषय हो ।

हेक्का के रहोस् भने उनको आँखा जाँच्ने सबै चिकित्सक तथा परिचारिकाहरुको व्यवहार र बोलीचाली भने असाध्य राम्रो र पेशागत (प्रोफेशनल) रहेको उनले पाइन् | साथै अस्पतालको परिसर लगायत जता गएपनि ज्यादै सफा सुग्घर रहेको तिनले पाइन् |

दोश्रोः
अझ माथिको भन्दा पनि चरम लापरवाहीको यो अर्को नमूना हो । हालै एक महिला गर्दनको नसा दुखेकोले डाक्टरलाई देखाउन गईन् । डाक्टरले चलनचल्तीको डाक्टरी अक्षरमा नभई स्पष्ट DIPLAR लेखेको प्रेस्क्रिप्सन दिएछन् । नजिकैको श्रीराम फार्माबाट औषधि किनेर घर आई खान थाल्दा गर्दन निको हुनुको सट्टा नदुखेको व्यथाले समातेछ । शरीरमा असहजता, बढि पिसाब लाग्ने आदि हुन थालेपछि आफन्तले औषधि र प्रेस्क्रिप्सन भिडाएर हेर्दा DYTOR औषधि पो दिईएको रहेछ । अलि लेखपढ गर्न जान्ने आफन्त भएको कारणले सो औषधि खान त रोकियो र शारिरिक क्षति हुन पाएन । तर, तिनि या तिनका आफन्त लेखपढ गर्न नजान्ने या कम्प्युटरबाट शोधखोज गर्न नजान्ने भएको भए त्यस गलत औषधिले के कति शरीरमा क्षति पुर्याउँथ्यो अकल्पनिय छ । तर यसको जिम्मेवार को हो? औषधि पसल र औषधि बिक्रेता नै हो । गलत औषधि दिएको जानकारी दिन ति महिला औषधि पसल गएको जस्तो चाहिँ देखिन्न । तर मलाई लाग्छ उनि जानु पर्थ्यो र खबरदारी गर्नु पर्थ्यो । नजानुको कारण या त्यस औषधिको रसिद नलिएको कारणले या आउजाउको समस्याले गुनासो तथा खबरदारी गर्न गाहारो मानिएको हुनसक्छ । कतिपयले टाढा बसाई गरेकाले 'आ... होस्' भनेर नीच मारिदिन्छन् तर यो औषधि पसलेको लापरवाही जारी नै रहन्छ र अन्जानमा कतिले शारिरिक तथा आर्थिक क्षति अनि मानसिक तनाव ब्यहोरी रहेका हुन्छन् ।

असँख्य मात्रामा विदेशिएका नेपालीहरुलाईमात्र ध्यानमा राख्ने हो भने नेपाल स्वास्थ्य पर्यटनको सम्भावना रहेको देश हो । किनभने स्वास्थ्य क्षेत्रमा निजि क्षेत्रबाट अपार लगानी गरिएको छ । नयाँनयाँ प्रबिधि अपनार्ईएको समाचारमा पढ्न पाईन्छ । र विदेशमा भएका प्रबिधिबाट नेपालमा नै उपचार हुन्छ भने थुप्रै नेपालीहरु उपचार गराउन आउने छन् । किनभने, बिदेशी मुद्राको दाँजोमा नेपाली मुद्रा सस्तो छ, भाषामा सहजता छ र आफ्नै माटोमा उपचार गराउन पाउने भए बिदेशमा हुने महँगो र भाषिक असहजताका बिच किन उपचार गराउँथे? सस्तो तथा उच्चस्तरीय उपचार उपलब्ध भयो भने बिदेशिएका नेपालीमात्र होइन बिदेशीहरु नै पनि उपचार गराउन आउने छन् र यसैलाई स्वास्थ्य पर्यटन भनिन्छ |

तर, यि असहजताका साथै रहर हुँदाहुँदै कतिपयले बिदेशमा नै उपचार गराउनाका मूल कारण अस्पतालहरुको लापरवाही, बिरामीहरुप्रतिको अवहेलना तर पैसा चाहिँ खनखनी गनेर लिने प्रवृत्तिले नै हो । यदि स्वास्थ्यकर्मीहरु तथा स्वास्थ्यसेवा प्रदायकहरु आफ्नो पेशा र व्यवशायको उच्चतम विश्वास र उच्चतम गुणस्तर निर्माण गर्नुका साथै सेवाग्राहीमुखी हुन चाहने प्रबल ईच्छा छ भने यसतर्फ उन्मुख हुने बित्तिकै नेपाल स्वास्थ्य क्षेत्रकोलागी एक गतिलो गन्तब्य बन्न सक्ने निश्चित छ ।