https://twitter.com/Chirvir

Tweet me @chirvir







Tuesday, November 16, 2010

नमस्ते अमेरिका कार्यक्रम सहभागीता र समय


अमेरिका नेपाल सोसाईटि, पासा पुचः, नेवाः अर्गनाईजेसन अफ अमेरिकाय, अन्तर्राष्ट्रि्य कलाकार मँच, अमेरिका नेपाल चौपारी, धरान अमेरिका समाज तथा नेपाली साहित्य प्रतिष्ठान अमेरिकाको सँयुक्त प्रयासमा आयोजित 'नमस्ते अमेरिका' कार्यक्रम अगस्त १४ कादिन फल्स चर्चको एक विद्यालयको प्रेक्षालयमा सम्पन्न भयो ।

सात-सात वटा स्थानिय उल्लेखित सँस्थाहरुको आयोजनामा आयोजित सो कार्यक्रममा दर्शकहरुको उल्लेखनिय उपस्थितको अपेक्षाको विपरित रहेको थियो । नेपालको चर्चित गायिका अन्जु पन्त लगायत जगदिश समाल, मनोजराज शिवाकोटि, रँजना शर्मा, बिन्दु तामाँग, आशा कार्की, हिमगेप लामाको प्रस्तुति रहेको सो कार्यक्रममा वरिष्ठ सँगीतकार शम्भुजित बास्कोटाको समेत सहभागिता रहेको थियो । झण्डै दुईमहिना पहिले नै सार्वजनिक गरिएको यस कार्यक्रममा आशातित दर्शकहरुको सहभागिता न्यून देखिएकोले आयोजकहरुले यस न्यून सहभागीताको कारण र निराकरणतर्फ ध्यान दिनैपर्ने आभास गराएको छ । यत्तिका सँस्थाहरुका सहभागितामा 'कसो छ सातशय दर्शक नजुट्ला' भन्ने आयोजकको आशाप्रति तुषारापात भएको पाईयो ।

सातशय क्षमताको सो प्रेक्षालयमा झण्डै ३५० दर्शकको सहभागीता रहेको थियो भने २५० मात्र टिकट विक्री भएको कुरा आयोजकहरुबाट थाहा हुन आएको छ ।

.३० मा शुरु हुने भनिएको सो कार्यक्रम ८ बजे शुरु भएको थियो ।  कार्यक्रम ढिलो आरम्भ भएको कारणले समयको अभावमा दुईवटा नाच तथा दुईवटा गीतको प्रस्तुति काट्न परेको थियो । शम्भुजित बासकोटा लगायत अन्य कलाकारहरुलाई सम्मान समेत गरिएको सो कार्यक्रमको समाप्ति १०.३० बजे गर्नुपरेको थियो ।

कारणवश कार्यक्रम शुरु भईसकेपछि कार्यक्रमस्थलमा पुगेको यो पँक्तिकार प्रेक्षालयमा दर्शकको उपस्थिति देखेर अचम्म मानेको थियो । किनभने सातवटा सँस्थाहरुको तत्वावधानमा आयोजित कार्यक्रममा पक्कैपनि उल्लेखनिय दर्शक होलान् भन्ने अनुमान आयोजकले झै यसलेपनि गरेको थियो ।

किन न्यून सहभागीता  ?
बाल्टिमोर क्षेत्रलाई छोडेर मात्रपनि यस उत्तरी भर्जिनीया तथा वासिँगटन डिसी क्षेत्रमा बस्ने नेपालीहरुको अनुमानित सँख्या १५ देखि २० हजारसम्म रहेको छ । तर यसै क्षेत्रमा झण्डै घोषित अघोषित ५० वटा सँस्थाहरुको नाम सुनिन्छन् । ति मध्ये कतिपय घरेलु सँस्थाका रुपमा खडा भएका छन् । अर्थात न कुनै औपचारिक दर्ता न कुनै सदस्य तथा न कुनै निति नियम र उदेश्य भएका सँस्थाहरुपनि उल्लेखित नामावलीमा चढेका छन् । त्यसकारण सँस्थाको नाम उल्लेख गरिनु भनेको एक व्यक्तिको नाम उल्लेख गरिनु सरह भएकोलेपनि आशातित सहभागीता जुटाउन असफल भएको हो भन्ने अनुमान गर्न गाहारो छैन ।  

अर्को कुरा कार्यक्रमको भेल । सँस्थाहरु जसरी बढदै गए त्यहि अनुरुप कार्यक्रमहरुको आयोजनामा बृद्धि हुन थालेको छ । हप्तैपिच्छे गरिने कार्यक्रम कार्यक्रमको खस्कँदो स्तर तथा आपसी मनमुटाव तथा खिँचातानीलेपनि सहभागीहरुमा न्यूनता आएको भन्न सकिन्छ । एकले गरेको कार्यक्रममा अर्को सहभागी नभईदिने हुँदापनि आशातित सहभागी नजुटेको अनुभव गरिएको छ । यसरी विभाजित हुन नदिएर कार्यक्रममा सहभागीता बढाउने उदेश्यले गरिएको सो कार्यक्रमलाईपनि आशातित सफलता मिलेको देखिएन ।

किन ढिलो शुरु र अन्त्य हुन्छ कार्यक्रम ?
आयोजकले कार्यक्रम समयमा शुरु गर्दैनन् भन्ने दोषारपणको कारणले दर्शकहरु कार्यक्रमस्थलमा ढिलो पुगिदिन्छन् । हुनपनि हो कतिपय कार्यक्रमहरुमा आयोजकहरुको अन्तिम समयको तयारी, यथेष्ट गृहकार्यको अभाव, कार्यक्रमप्रतिको अनुभवको कमी आदिको कारणले दर्शकहरु प्रेक्षालयमा प्रवेश गर्न लाईनमा बसिसकेपछि पनि प्रवेश पाएका हुन्नन भने घोषित समय घर्किइ सकेको हुन्छ । जसले गर्दा सहभागीहरुमा नकारात्मक सन्देश पुगेको हुन्छ । यसैको फलस्वरुप अर्को कार्यक्रममा दर्शकहरु ढिला पुगीदिन्छन् । जबकि यसपटक आयोजक पूर्ण तयारीकासाथ प्रस्तुत हुन खोजिरहेको हुन्छ । तर यथेष्ट दर्शकको अभावमा आयोजक कार्यक्रम आरम्भ गर्न हिच्किचाई रहेका हुन्छन् । भनाईको तात्पर्य कार्यक्रम ढिलो आरम्भ हुनुमा आयोजक तथा दर्शक दुबै उत्तिकै जिम्मेवार रहेका छन् । न आयोजकले उपस्थित दर्शक जतिभएपनि समयमा कार्यक्रम आरम्भ गर्न आँट गरेर ढिलो आउने दर्शकलाई पाठ सिकाउन सक्षम भएको छ न त उपस्थित दर्शकहरुले आयोजकलाई समयमा कार्यक्रम शुरु गर्न यथेष्ट दबाब दिन सफल भएको छ । तर समयसिमालाई ध्यानमा राखेर आफ्नो कार्यतालिका बमोजिम सहभागी हुन पुग्ने दर्शकहरुभने सँधै निराश तथा नकारात्मक सन्देश नै लिएर फर्कन बाध्य भएको पाइएको छ ।  

विगतका केहि कार्यक्रमहरुमा कलाकारहरुलाई कुदाकुद गर्नुपरेको देखेर यो पँक्तिकारको सास नै अड्किएको भान भएको थियो । कुनै अर्को राज्यमा कार्यक्रम सकिएको भोलिपल्ट नै अर्को कार्यक्रमको प्रस्तुतिकोलागी भ्याई नभ्याई गर्नुपरेको प्रत्यक्ष देखेको छुँ । फलतः कार्यक्रम आरम्भमा बाधा अनि समाप्तिमा समस्या परेको देखिएको छ । तसर्थ यसको पनि निदान गर्नेतर्फ आयोजकहरु सजग रहनुपर्ने देखिन्छ । 'नमस्ते अमेरिका'को सो कार्यक्रममापनि कलाकारहरुको आगमनमा ढिलो भएकोले कार्यक्रम आरम्भमा ढिलो भएको आयोजकहरुको भनाई रहेको छ ।

तसर्थ कार्यक्रम सफल र समयमा सँचालन गर्न तिनैथरि अर्थात आयोजक, कलाकार तथा सहभागीहरुको उत्तिकै समान रुपले दायित्व रहेको कुरा सबैले मनन गर्नुपर्छ । यसको ठिक विपरीत 'हामीले पैसा तिरेका छौ' या 'हामीले मनोरँजन प्रदान गरेका छौ' भन्ने जस्ता अहँवादी हुँकारले समुदायमा कुसँस्कार प्रवृत्तिको श्रीवृद्धि भईरहेको कुरा शायदै कसैले मनन गरेका होलान् ।

यसको साथै कार्यक्रम ढिलो शुरु भएको कारणले ढिलो समाप्त हुनु स्वाभाविकै हो । तर यसको नकारात्मक असर भाडामा लिईएको कार्यक्रम स्थलको व्यवस्थापनमा पनि पर्न गएको छ । निश्चित समयमा हल खाली गरिसक्नुपर्नेमा कार्यक्रम सँचालन भईरहँदा व्यवस्थापन पक्षले कतिपय स्थानमा जबर्जस्ती कार्यक्रम समाप्त गराउन लगाएको थुप्रै घटनाहरु हाम्रा सामु छन् । यहि 'नमस्ते अमेरिका' कार्यक्रममापनि व्यवस्थापन पक्षले सुरक्षा गार्डलाई बोलाएर कार्यक्रम समाप्त गर्न जोड गरेको थियो र त अन्जु पन्तका केहि गीत तथा दुईवटा नाचहरुको प्रस्तुतीमा कटौती गर्नु परेको थियो ।  

यसरी निश्चित समयमा हल खाली नगरिँदा तथा सम्झौता बमोजिम हल फिर्ता नगरिँदा अर्को पटककोलागी सो हल प्राप्त गर्न असम्भव प्रायः भएको अनुभव धेरै आयोजकले भोग्नु परेको छ । तर यसबाट शिक्षा लिएर सहि कदम भने कुनै आयोजकले चालेको नदेखिँदा मन खिन्न हुनु स्वाभाविकै हॊ ।

यसैगरि कार्यक्रम समयमा समाप्त हुन नसक्नु, अनावश्यक ढँगले लामो हुनु अर्को पाटो हो। किनभने माईक समातेर दुई शब्द बोल्न आउनेले अनावश्यक दुई हजार शब्द बोलिदिने, प्रस्तोता कलाकारहरुले आफुलाई सुम्पिएको जिम्मेवारीमामात्र केन्द्रित नरहि आफ्नै ओज घटाउनमा उद्यत भएर बढि बोलिदिने या लामो प्रस्तुति गरिदिनाले पनि कार्यक्रमको लम्बाई बढेको हुन्छ । दर्शकको माग र चाहनालाई ध्यानमा राखेर छोटो मीठो प्रस्तुतिमा कँजुस्याई गर्ने कलाकारहरुपनि कार्यक्रम लम्ब्याउनमा उत्तिकै जिम्मेवार छन् । यस बारेमा छुट्टै कुनै अर्को लेखमा चर्चा गरिने छ ।

के गरिनु पर्ला ?
कार्यक्रममा सहभागीता बढाउन बढि भन्दा बढि सँस्थाहरुको सहभागीतामा पहिलो पटक गरिएको यो कार्यक्रमको एउटा सबल पक्ष थियो भन्न कर लाग्छ । तर माथि नै भनिए झै विविध कारणले यस कार्यक्रममा उल्लेखनीय सहभागी नभए ता पनि सातवटा सँस्थाको सहभागीता भने सकारात्मक रुपले लिईनु पर्छ । तर सोहि अनुसार एउटा सटिक सन्देश दर्शकवर्गलाई दिन सकेको भए अझ सफल मानिन्थ्यो होला । जे होस् यो शुरुवात हो र आगामी दिनहरुमा यस्ता कमी कमजोरी वाधा विध्नहरु पन्छाउँदै जालान् भन्ने आशा गर्न सकिन्छ ।  
उदाहरणकोलागी वर्षमा निश्चित मितिमा तर स्तरीय कार्यक्रमको निधो गर्ने, यथेष्ट समयावधि राखेर प्रचार प्रसार गर्ने, आयोजक सँस्थाहरुको प्रचार प्रसारमा समान सहभागीता जनाउने, एकै प्रकारका तथा एकै उदेश्यका सँस्थाहरुले समान कार्यक्रम नगर्ने- जसले गर्दा दर्शकले विविध कार्यक्रमहरुको स्वाद लिने मौका पाओस्, कार्यक्रमको बारेमा जानिफकार हुने र यसकोलागी यथेष्ट गृहकार्य गर्ने-गराउने, कलाकारहरुलाई कार्यक्रम प्रस्तुतिकोलागी यथेष्ट समय प्रदान गर्ने जस्ता सल्लाहहरुले कार्यक्रमको ओज, कलाकारको सम्मान तथा आयोजक सँस्थाहरुको सफलता हात पर्ला भनेर यकिन र ठोकुवाका साथ भन्न सकिन्छ । 
त्यसैगरि दर्शकवर्गपनि समयमा सीटमा बसेर आफ्नो दायित्व पुरा गर्नुपर्ने देखिन्छ । पैसा तिरेको भन्दैमा आफुलाई पूर्ण अनुत्तरदायी बनाउनु दुखको कुरा हो । त्यसैगरि आफ्नो दायित्व पुरा गरेपछि आयोजकलाई उसको दायित्व पुरा गर्न लगाउनु या यसकोलागी बल दिन सक्नु पर्छ र सकिन्छ पनि । तर पहिले आफुले आफ्नो दायित्व बोध र पुरा गर्नुपर्छ भन्ने मेरो तर्क रहेको छ । साथसाथै आयोजकहरुले दर्शकहरुको समयसीमालाई मध्यनजर राखि उच्चकोटिको कार्यक्रम समयमा शुरु र अन्त्य गरेर आयोजक हुनुको गौरव सँगाल्न सक्नुपर्छ । कलाकार, दर्शकहरुलाई कार्यक्रम अवधिभर आफ्नो पकड र बन्धनमा राख्न सक्नु नै सफल आयोजकको ध्येय र लक्ष्य हुनुपर्छ र यो नै आयोजकको लक्षण हो । यसो भयो भने आयोजक, दर्शक, हल व्यवस्थापक सम्पुर्ण पक्ष सबल ठहरिने छ ।

अर्को कुरा नेपालदेखि कार्यक्रम प्रस्तुत गर्न आएका कलाकारहरुमाझ आफुहरु बढि भन्दा बढि सहभागी भई दिए ति कलाकारहरु स्वदेश फर्कँदा सकारात्मक सन्देश लिएर जानेछन् भन्ने कुरामा दुईमत नहोला । प्रवासी नेपालीका रुपमा रहेका हामीले बढि भन्दा बढि भेला भएर 'लौ हेर, हाम्रो भाषा र सँस्कृतिप्रतिको मोह' भनेर गौरवकासाथ सन्देश प्रक्षेपण गर्न सक्ने थियौँ । तर फेरि कसैले 'कलाकारहरुको ओइरो र सँधै जसो भईरहने कार्यक्रमहरुमा सहभागी भएर साध्य छ त?'  भन्ने तर्कपनि गर्लान् जुन ठिकपनि हो । त्यसैले आयोजकहरुले कार्यक्रमको प्रस्तुतिमा स्तर र सँख्यामा ध्यान दिनु आवश्यक छ भन्ने मेरो तर्क रहेको छ ।  
कलाकारहरुको ओइरो र कार्यक्रमको सघनताको कुरा गर्दा यहाँ निर भन्नै पर्ने अर्को कुरा के भने ति आउने कलाकारहरु साँच्चिकै कला प्रस्तुत गर्ने उदेश्यले आएका हुन् कि यो एक बहानामात्र हो ? 'नमस्ते अमेरिका'का उपरोक्त कलाकारहरुले पनि यस कार्यक्रम प्रस्तुती एक बहानामात्र थियो भन्ने सन्देश गयो भने आउँदा कार्यक्रमहरुमा दर्शकहरुको प्रतिक्रिया माथि भनेझै नकारात्मक नहोला भन्न सकिन्न । र वास्तवमा यस्तै सुनिएको पनि छ, अर्थात ति कलाकार समुहले अमेरिकी आप्रवासकोलागी आवेदन हालीसकेका छन् भन्ने सुन्नमा आएको छ ।

जे होस् 'नमस्ते अमेरिका' साँस्कृतिक कार्यक्रमले केहि मापदण्ड खडा गरेको छ र यसको निरन्तरताकोलागी शुभकामना व्यक्त गर्नैपर्छ र यसपटक सामना गर्नुपरेका कमी, कमजोरी तथा गल्तीहरुलाई नदोहोर्याई छोटो, मीठो, पृथक, आकर्षक अनि ठिक समयमा आरम्भ र समाप्तिको वचन लिएर समुदायसामु देखा परोस् भन्ने हाम्रो शुभेक्षा रहेको छ । अस्तु !