https://twitter.com/Chirvir

Tweet me @chirvir







Sunday, May 20, 2012

एक स्मरणीय साँझ

बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया

सोमवार मे १४ का दिन सगरमाथा टेलिभिजन तथा नेपाल दर्शन टेलिभिजनका सँचालक तथा मित्र राम खरेलले फोन गर्दै नेपालबाट उद्योग वाणिज्य महासँघको एक प्रतिनिधि टोली अमेरिका भ्रमणमा आएको छ । वहाँहरुको सम्मानमा एनआरएन अमेरिकाको तर्फबाट एक रात्री भोज तथा सामान्य कुराकानी गर्ने कार्यक्रम राखिएकोले त्यसमा सहभागी हुन निम्ता दिए । आफुले पत्रकरिता नगरे पनि सो को हैसियतले पाएको त्यस निम्तामा अन्य स्थानीय पत्रकार मित्रहरुकोपनि उपस्थिति पाएँ | राम खरेलजीको तर्फबाट आधिकारिक तवरले पाएको पहिलो निम्ता नकार्ने कुरै थिएन । 'पक्कै आउँछु' भनेँ । फोन विच्छेद भएपछि ला, डिनरकोलागी आफुले कति तिर्नुपर्ने हो र आफुले के गर्नु पर्ने हो सोध्नै बिर्सेछुँ । तर जे भएपनि नेपाल उद्योग वाणिज्य महासँघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा एघार सदस्यीय यो टोली अमेरिकामा रहेको समाचार त पढेकै हो । अनि यस सम्बन्धि केहि कौतुहलता आफ्नो मनमा रहेकोले त्यस कार्यक्रममा सहभागी हुने विचारले अझ दृढ भएँ ।

कार्यक्रममा समयभन्दा पहिले नै पुगीसक्ने मनशायले बाटो समातेपनि ट्रफिकले झण्डै १५ मिनेट ढिलो पुर्यायो । मित्र राम खरेल बाहिर बसेर प्रतिक्षामा रहेछन् । उनकै अगुवाईमा कार्यक्रम कक्षमा गई एक मेच समाति बसियो । केहि चमेना, वाईन या वियर खाईसकेपछि कार्यक्रम आरम्भ गरे राम खरेलले नै । एनआरएनको तर्फबाट यसका वर्तमान अध्यक्ष जिवा लामिछानेले आफुलाई सुरज वैद्यको स्वागतमा एक कार्यक्रम गर्न अनुरोध गरेका उल्लेख गर्दै यस कार्यक्रमको खानपिनको जिम्मा घर ए कवावले समेत लिएको र कार्यक्रम स्थल समेत उपलब्ध गराएको प्रष्ट पारे ।

स्थानीय प्रबुद्ध बर्ग समेतलाई निम्त्याइएको सो कार्यक्रममा आगन्तुक सुरज वैद्य तथा उनका दल लगायत सबैलाई  स्वागत गर्दै उपस्थितहरुलाई आआफ्नो परिचय दिन भनेका राम खरेलले सँघका सुरज वैद्यको मन्तव्यपछि प्रश्नोत्तर कार्यक्रमपनि रहेको बताएपछि मैले आफुपनि त्यसमा सहभागी हुने मनमनै फेरी सोचेँ ।
एघार सदस्यको टोली नेता भएका नेपाल उद्योग वाणिज्य महासँघका सभापति सुरज वैद्यको नेतृत्वमा निर्मलराज पौडेल, टिकाराज ढकाल, मिँगमा दोर्जे शेर्पा, सुभाष पाण्डे, गोपाल खनाल, हेमराज ढकाल,रोशी खनाल, उषा खतिवडा, मिलन महर्जन, छिरिँग लामा तथा प्रविना पाण्डे लगायत सम्पूर्ण आगन्तुकले आआफ्नो ठाउँबाट उठेर आआफ्नो परिचय दिएपछि टोली नेता सुरज वैद्यले नेपालको आर्थिक स्थिति, आर्थिक विकासका सम्भावना, विदेशमा बसेका नेपालीहरुले देशकोलागी गर्न सकिने सम्भावित योगदानहरु असाध्य सकारात्मक ढँगले प्रस्तुत गरेका थिए । तिनले नेपालको बारेमा रत्तिपनि नकारात्मक कुरा गरेनन् । उनि देश र देशको वातावरण, परिस्थितिप्रति यति सकारात्मक भएको पाएँ कि मनमनै सोचेँ यस्तो सकारात्मक सोच राख्ने दशजना देशमा भए कति राम्रो हुने थियो । फेरी उनको यहि र यस्ता सकारात्मक कुराहरु किन कहिल्यै मिडियामा आउँदैन । आए न कोहि न कोहि प्रभावित हुने थिए । तर मिडियाको धर्म नै नकारात्मक समाचार बेचेर आफ्नो पेट पाल्ने भएपछि आप्mनो पेट काट्ने काम कसले गर्थ्यो ? तर म भने उनको प्रस्तृतीबाट असाध्य प्रभावित भएँ । अमेरिका आएको झण्डै १९ वर्षको अन्तरालमा मैले थुप्रै मन्त्री, नेता, गभर्नर, उच्च पदस्थ सरकारी कर्मचारीहरुसँग भेट गर्ने अवसर पाएको छुँ । ति सबैसँगको भेटमा कसैले यस्तो सकारात्मक कुरा गरेका थिएनन् । बरु जिस्केर, ठट्टा गरेरै भएपनि आफुलाई यतै बस्ने बन्दोबस्त मिलाई दिने या आफ्नो सन्तान झिकाउन सहयोग गर्न भन्थे । ति कसैलेपनि 'नेपाल अब राम्रो छ, यो प्रकारले राम्रो भएको छ, आउनोस्, फर्कनोस् देशमा, उतै केहि गरौँ' भनेको सुनिएको थिएन । तर त्यसरी भन्ने पहिलो व्यक्तिको रुपमा मैले सुरज वैद्यलाई भेटेँ । खासै भन्ने हो भने ममात्र होईन त्यहाँ उपस्थित अमेरिकावासी नेपालीहरु सबै मजस्तै प्रभावित भएका थिए र सबैले उनको प्रस्तुतीको प्रशँसा गर्दैथिए ।

सुरजको भनाई अनुसार नेपालमा व्दन्द हुँदाहुँदैपनि विगत केहि वर्षमा वैदेशिक लगानीमा बृद्धि, पर्यटक सँख्यामा सत्ताईस प्रतिशतले बृद्धि भएको छ भन्दै नेपाल गरीबपनि होईन, सानोपनि छैन । यहाँ विकासका थुप्रै सम्भावनाहरु रहेको तर यसको सदुपयोगीहरुको अभाव रहेको जानकारी दिए । वर्षमा एकलाख रोजगारी उत्पन्न गर्न सकेको खण्डमा युवाहरुको विदेशीने क्रम रोकिन सकिने तथा देशको विकासले तिब्रता लिने छ भने ।

उनको त्यस सकारात्मक भनाइपछि प्रश्नोत्तर कार्यक्रमपनि राखिएको थियो । जुन देशको विषयमा नै केन्द्रित थियो । त्यहाँ सोधिएका प्रश्नहरुकोपनि सुरजले सटिक र सँयमपूर्ण उत्तर दिएका थिए । त्यसपछि रात्री भोजन तथा व्यक्तिगत परिचय भएको थियो ।

म घर फर्कंदा बाटोमा यो आजको साँझ चाहिँ मेरोलागी एक अविस्मरणीय साँझ रह्यो भन्ने मनमनै सोच्दै गाडी चलाई रहेको थिएँ ।