https://twitter.com/Chirvir

Tweet me @chirvir







Friday, February 5, 2010

मित्रता

मित्रतामानिसले आफ्नो जिवनमा आर्जन गर्ने धन सम्पत्तिको रुपमा रुपैया पैसा जग्गा सुनचाँदि बाहेक अर्काे महत्वपूर्ण सम्पत्ति हो मित्रता । अन्य सम्पत्ति नितान्त व्यक्तिगत हुन्छ भने मित्रता एक आपसमा निर्भर हुने कुरा हो । मित्रता अति महात्म्य छ । असल मित्रता दुर्लभ हुन्छ । मित्रता कुनै वाद या सिध्दान्तमा अडेको हुँदैन न त यो कुनै स्वार्थपरक सम्बन्ध हो । असल मित्रप्राप्तिमा अति सुखद अनुभव हुन्छ । मलाई लाग्छ एकपटक गााँसएको मित्रता कहिल्यै नटुटोस् । यो अविच्छिन्न र अटूट रहोस् ।
तर के यो सम्भव छ ? आआफ्नो जन्मथलो देश नेपाल छोडेर हामी अमेरिकालाई कर्मथलो बनाई रहेका छौ । आफ्नो नाता कुटुम्ब बाबु आमा सबैलाई जन्मथलोमा छोडेर नितान्त विरानो देशमा आफ्नो कर्म जारी राख्न हामी सबै कि्रयाशील छौं । नितान्त नौलौ देशमा पाईला राखेदेखि नै नवआगन्तुकलाई आरम्भदेखि सहयोग पुर्याई आड भरोसा दिने अरु कोहि होईन आफैले चिनेजानेका मित्र नै हुन् । कोहिकोहि यस प्रसङ्गमा अपवादको रुपमा होलान् त्यो बेग्लै कुरा हो । तर शुन्यबाट आरम्भ गर्न हौसला तथा सहयोग दिने मित्रहरुको गुणगान गर्न हामी पछि पर्न हुँदैन । बिस्तारै नौलो स्थान पुरानो हँदै जान्छ । नवआगन्तुक नयाँ स्थानमा अभ्यस्त हँदै जान्छ र जसरी आफुले सहयोग सल्लाह पाएको हो त्यसैगरि आफन्त या अन्य मित्रहरुलाई उ आफै सहयोग सल्लाह दिन सक्षम हुन्छ र यो क्रम जारी रहिरहन्छ । तर समयकालमा आआफ्नो कामको प्रकृति बसाई व्यक्तिगत विचारधारामा भिन्नता आएको कारणले पहिलेका मित्रहरुमा मित्रता नदेखिनु एकदमै उदेक लाग्दो कुरा हो ।
यस परिप्रेक्ष्यमा खासगरि यस वासिङ्गटन क्षेत्रमा देखा परेको आपसी वैमनस्यपन टड्कारो रुपमा देखिएको छ । हिजोका एकै अपार्टमेण्टका सहभागी एकैथालमा खाने साथी र एक अर्काका पूरक मानिने मित्रहरु आज एक अर्काका आलोचक बनेका छन् । छद्म नाममा होस् या आफ्नै नाममा होस् एक अर्काको उछितो खन्ने निकृष्ट काम भई रहेको छ । अचम्म त के छ भने तिनै मित्रहरु कुनैपनि कार्यक्रममा झ्वास्झ्वास्ती भेटिई रहन्छन् । मलाई अचम्म लाग्छ कसरी त्यस साथीसँग आँखा जुधाउने र के मुखले साचो विसाचो सोध्ने । एक आपसमा दुरी बढेका कारण कुनै व्यक्तिगत स्वार्थ या रिसईवि नभई आफ्नै देशको राजनैतिक घटनाक्रम भएको छ । शेर बहादुर देउबाको बर्खास्तगीबाट राजावादी र प्रजातन्त्र या लोकतन्त्रवादी खेमामा विभाजित दुई समुहमा आआफ्नै मित्रगणहरु परे । आआफ्नै वैचारिक डम्फु बजाउने क्रममा विभिन्न साधनहरुको प्रयोग भयो । एक आपसमा शङ्का उपशङ्काको दृष्टिले या हेय या अपमान या विपरित नजरले हेर्न थाले । कोहि छेपारे भए त कोहि माओवादी या माओवादीका नजिक मानिए । कोहि गिरिजा माधव नेपालको पुच्छरमा दरिए । कसैले कसैको काट्टो खाएको आरोप प्रत्यारोप आरम्भ भयो । तर दुबैथरिको एउटै मुद्या हो आफ्रनै देश नेपाल । आहा मातृभूमिप्रतिको प्रेमको क्या ज्वलन्त उदाहरण ! हो यसमा कोहि कोहि आफ्नो व्यक्तिगत स्वार्थको कारणले एक न एक खेमामा लाग्नेपनि छन् तर अधिकाशँ भने नेपालको नितान्त राजनैतिक कारणले नै कि्रयाशील भएका हुन् ।आफ्नो देशको गतिविधिसँग टाढा रहन सकिन्न र कोहि त्यस्तो छ भने त्यसलाई देशप्रेमी या देशभक्त भन्न मिल्दैन । जहाँ बसेपनि देशको लागी केहि गरौ भन्ने भावनाले ओतप्रोत हुनु गौरवको विषय हो ।
राजनैतिक विचारधारा रोज्ने या छान्ने स्वतन्त्रता सबैलाई छ र हुनुपर्छ । र हरेक सचेत नागरिकले यसको सदुपयोग गर्छ नै । तर राजनैतिक विचारधारामा भिन्नता छ भन्दैमा आफ्नो मित्रतालाई तिलााजली दिने या मित्रतालाई दुष्टतामा परिणत गर्नु के बुध्दिमानी हो राजनैतिक विचार जे जस्तो भएपनि तिनलाई यथास्थानमा राखेर आफ्नो मित्रतालाई निरन्तरता दिनु बुध्दिमानी नठहर्ला परदेश जहाँ यिनै मित्रबाहेक आपत विपतमा सहयोग गर्ने कोहि छैन त्यस्तो ठाउँमा मित्रता नै उपयुक्त र सर्वाेत्तम सम्बन्ध हो भन्नॆ हामीले बुझे एक आपसका तिक्तता मेटिइन्थ्यो कि यदि तपाईहरुमध्ये कसैले मलाई मित्रता बिना बाँच्न नसक्ने परजीवि ठान्नुभएको छ भने म सहर्ष स्विकार्छु । यस विरानो देशमा मेरा मित्रबाहेक अरु को नै छ र अस्तु |