https://twitter.com/Chirvir

Tweet me @chirvir







Tuesday, May 12, 2026

काठमाण्डौँ कोरला काठमाण्डौँ

काठमाण्डौँ कोरला काठमाण्डौँ

बासु श्रेष्ठ


प्रकृतिको धनी देश नेपालको प्राकृतिक सौन्दर्यपानमा मन्त्रमुग्ध नहुने को होला? नेपालमा साँस्कृतिक विविधता जति छ भौगोलिक विविधता पनि उत्तिकै छ । यसको समानान्तर बगेको छ साँस्कृतिक र भाषिक विविधता पनि । देश सानो तर धार्मिक बहुलता पनि छ । सानो नेपालको यति विशाल विशेषताले विभुषित मुलुकसरह सँसारमा अन्य मुलुक शायदै कतै होला ।

यीनै विशेष विविधताको आँशिक रसस्वादन गर्ने हेतुले अपर्झट माथिल्लो मुस्ताँगसहित मुक्तिनाथ तथा बाटोमा पर्ने पर्यटकीय दृष्टिले रमाइला र राम्रा स्थलहरु पुग्न बैशाख ६ गते आइतवारका दिन बिहान ७ बजे काठमाण्डौँबाट पोखराकोलागी प्रस्थान गरियो ।

यो भ्रमण कार्यक्रम बन्नुमा मूख्यतया हालै एसईई दिएर बसेका दुई नातिनी क्रिष्टल र क्रिम्सनको भूमिका छ । आफ्ना बाबालाई जाँच सकिए पछि ट्र्टि नै अपर मुस्ताँगको ट्र्पि मागेछन् । अनि साथमा जाने अनुरोध र सल्लाह ज्वाँई रविन्द्रबाट मकहाँ आइपुग्यो ।

जे होस्, पोखरामा एक रात होटलको बासपछि भोलीपल्ट बिहानको चियाकफी पछि सरोज भाईको ब्यबस्थापनमा फोरव्हिल ड्र्राइभको स्कार्पियोबाट बागलुँग पोखरा सडक हुँदै उत्तरतर्फ लाग्यौँ । पोखराबाट १८ किमी उत्तर पहाडी सडकमा रहेको नौ डाँडामा नौ बजे ब्रेकफाष्टकोलागी एकछिन रोकियौं र पुन गन्तव्यको बाटो समात्यौँ । अपितु आजको हाम्रो गन्तव्य बिस्तारै उचाई ग्रहण गर्दै जाने उदेश्यले मार्फामा बास बस्ने र त्यसकोलागी बाटामा पर्ने बागलुँग कालिका मन्दिर अनि नौ रोपनीको एउटै शिलामा निर्मित गलेश्वर महादेवको मन्दिर अवलोकनका साथै यहीँ दिवा भोजन गर्ने योजनालाई पूर्णता दिँदै बेलुकी चारबजे २६५० मिटरको उचाईमा रहेको मार्फाको होटलमा बासकोलागी अवतरण गर्याैँ । यसरी आज पोखराबाट बागलुँग, गलेश्वर महादेव हुँदै मार्फा पुग्दा २०० चानचुन किमीको दूरी पार गरेका रहेछाँै । ८२२ मिटरको उचाईमा रहेको पोखरा तथा १३२४ मिटरको उचाईमा रहेको हामी काठमण्डौँबासीलाई खास्सै लेक नलाग्ने भएपनि आगामी यात्राको सहजताकोलागी बिश्राम लिएका थियाँै ।

यस अघि बागुलँग कालिका मन्दिर पश्चात नेपालको त के एशियाकै सबैभन्दा लामो मानिने गण्डकी गोल्डेन फुटब्रिज नामक झोलुँगे पूलको अवलोकन पनि गरियो । यसको लम्बाई ५६७ मिटर अर्थात १८६० फिट रहेछ भने यसको उचाई नदीबाट १२२ मिटरमाथि रहेछ । बिसँ २०२० मा उद्घाटित यस पूलले पर्वत जिल्लाको कुश्मा तथा बागलुँग जोड्ने काम गरेकोे रहेछ । तथापी लम्बाईको दृष्टिले सुस्ताको पुल नेपालको सबैभन्दा लामो पुल (१५७८ मिटर) रहेछ तर यो झोलुँगे पूल नभई सस्पेन्सन बृज हो ।

जे होस्, मार्फा बजारका चलचित्रका नाममा राखिएका गल्ली लगायत भ्रमण गर्नुकासाथै केही किनमेल, त्योभन्दा पनि महत्वपूर्ण फोटा खिच्ने काम पश्चात होटेल फर्कियाँै । निकै बर्ष अगाडि ईन्द्रबहादुर राईको आज रमिता छ नामक उपन्यासमा दार्जिलिँगका पहाडी घरहरुको गरिएको वर्णनमा प्रत्येक घरको धुरी पछिल्लो घरको आँगन भनेर पढेको थिएँ । यहाँ पनि ठ्याक्कै त्यस्तै दृश्य देख्दा सोही वर्णन सम्झन पुगेँ ।

यतिञ्जेलसम्म मार्फाले हावा हुरीको रुपमा ओकल्न थालिसकेको थियो । तसर्थ घुम्न छोडेर रातीको खाना खाईवरी ओछ्यानमा घुप्लुकिइयो ।

बैशाख ८ गते बिहानको चिया चमेनापछि मार्फाबाट उकालो लाग्यौँ । ८ किमीमा रहेको जोमसोम जहाँ हाम्रो चालकले चिट पायो, जहाँ बिना पेट्रेल पम्प हाम्रो चालक सरोजले गाडीमा डिजेल भरे, जहाँ नेपाली सेनाको विपद् व्यवस्थापन तालिमको अँश रक क्लाइम्बिँग शाखा, जहाँ मैले बाल्यकालदेखि सुन्दै आएको, नेपाल वायुसेवामा जागीरे भएर पनि देख्न नपाएको जोमसोम विमानस्थल देख्ने अवसर पाएँ ।

कालीगण्डकी कोरिडोरको राजमार्ग समाएपछि एउटा अचम्मको सूचना पाटी देख्दै आईरहेको थिएँ । यहाँ पेट्रेल, डिजेल पाईन्छ भन्ने लेखिएका सूचनाहरु पसलका घरघरका भित्तामा झुण्डिएका, टाँसिएका हुँदा रहेछन् मानौ यो खतरनाक झोल पदार्थ दाल, चामल, बिस्कुट या ओषधिमूलो हुन् । तथापी यस भेगमा यात्रा गर्ने सवारी साधनलाई भने यस्तो आपूर्तिले निकै सहयोग पुग्ने रहेछ । कोरिडोरभर कतै पेट्रेल पम्प नभएको अबस्थामा चलनचल्तीको मूल्यभन्दा बीस तीस रुपैँया प्रति लिटर बढि लिएर यस्ता ईन्धन आपूर्ति गराउँदा रहेछन् । विभिन्न भ्लगरहरुव्दारा दूर्गम पहाडी क्षेत्रमा गरिएका यात्राका भिडियो हेर्दा यीनले इन्धनको आपूर्ति कहाँबाट कसरी गर्दा हुन् भन्ने लाग्ने गरेको कौतुुहलताको समाधान पनि यसैबाट पाएँ । जे होस् यहाँबाट २८ किमी पूर्वाेत्तरमा रहेको मुक्तिनाथ मन्दिरकोलागी प्रस्थानकालागी कागबेनीतर्फ लागियो । त्यहाँ केही धार्मिक अनुष्ठान पुरा गर्दै मुक्तिनाथको पार्किँग स्थल पुग्दा शायद बिहानको नौ बजेको थियो । पार्किँग स्थलबाट मुक्तिनाथ मन्दिरको मुनी रहेका भर्याँगसम्म पुग्न हिँड्नु पर्ने रहेछ । लगभग चालिस डिग्रीको कोणमा उकालो लागेर सामुन्ने तेर्सिएको झण्डै ११४ खुडकिलो चढ्न हामीलाई लगभग ११ मिनेट लाग्यो । हामीले कुनै हतार बिना तर कहिँ कतै नरोकिई सासलाई नियन्त्रणमा राख्दै चढेका थियाँै जसले गर्दा लेक लाग्नुबाट बच्न सकियोस् । मुक्तिनाथको उचाई ३७१० मिटर रहेछ । अर्थात दुईघण्टाको अन्तरमा हामीले झण्डै ११०० मिटरको उचाई लिईसकेका रहेछौँ । यो सामान्य थिएन । तसर्थ सावधानी र धैर्यतापूर्वक यात्रा जारी राख्यौँ ।

मन्दिरमा तिर्थालुको भीड अपेक्षाकृत थिएन । मन्दिरलाई एकफन्को घुम्न पुग्ने लाईनमा बसेर दर्शन गर्दा ४० मिनेटमा बाहिर निस्किएछ । तथापी, लाइनमा घुसपैठ गर्ने, पुजामा देउतालाई समातिराखुँ जस्तो गर्ने तिर्थालुले समय लिएका थिए । यीनमा मूलतः भारतीय तिर्थालु तथा हाम्रा उमेरदार बाआमाको बाहुल्य थियो । तीन जनपद प्रहरीमा यस्ता अटेरी तिर्थालुका कारण क्षोभ देख्न सकिन्थ्यो । एक प्रहरीलाई मन्दिरको स्वयँसेवकहरु छैनन् भन्ने मेरो प्रश्नको उत्तरमा उनले विरक्तिएको आवाजमा छ न छन्, तर तिनका ध्यान पैसा उठाउनेमै छ भने । लाइन व्यवस्थापनकोलागी त्यहाँ उपस्थित भई प्रहरीलाई सहयोग पुर्याउन सल्लाह दिन्छु भन्ने मनशायले दाँयाबाँया परपरसम्म हेरेँ तर कोही देखिएनन् । अनि आफुलाई चुपचाप लाइनमा गति दिनु बाहेक अरु विकल्प थिएन । ४० मिनेटको लाईन बसेर ३० सेकेण्ड पनि नलगाई मुक्तिनाथको दर्शन गरि भित्री मन्दिर परिसरबाट निस्किईसकेको थिएँ । तर, केही तिर्थालु अझै भिड बनाईरहेका थिए ।

अब, १० १२ मिनेटको भर्याँगबाट तल ओर्लिएर दिवा भोजन गर्दै कागबेनी (जहाँबाट माथ्लो मुस्ताँग आरम्भ हुन्छ) को बाटो समाउनेतर्फ लाग्यौँ । यस क्रममा सेल्फी डाँडामा बेजोडको हावाका बिच देम्फी र सेल्फी फोटो, भिडियो खिचेर बाटो समात्यौँ ।

कागबेनीबाट ३६६० मिटरको उचाईमा रहेको समर पुग्न काली गण्डकी कोरिडरबाट नदीलाई बाँया पार्दै माथि अघि बढ्यौँ । लगभग एकघण्टा तीस मिनेटको यो बाटो जम्मा २५ किलोमिटरको थियो । एकरात यहाँ बसेर ब्अअष्mिबतष्शबतष्यल एक्लीमाटाइजेशन (शरीरलाई उचाईको वायुमा हुने पातलो अक्सिजनको तहसँग प्राकृतिक तवरले बानी पार्दै जाने प्रक्रिया) पछि भोली सरासर कोरला नाका ४६५० मीटर पुग्न सजिलो हुन्छ भन्ने हाम्रो निक्र्याैल रहेको थियो । किनभने सबैले स्वास्थ्यको हेक्का राख्नुपर्ने थियो । चालक भाई सरोजको काम नै यही भएकोले उनलाई बानी परेको कारणले खास फरक पर्ने थिएन । समर पुग्दा लगभग तीन बजेको थियो । केहीछिन होटेलमा आराम गरि चिया खाए पछि गाउँ घुम्न निस्कियौँ । समय थुप्रै थियो तर हेर्ने घुम्ने ठाउँ सिमित थियो भने मौसम पनि चिसिँदै थियो । तसर्थ, समय बिताउने उपक्रममा तास समातियो । रातीको खानापछि सुतियो ।

बैशाख ९ गते बिहान हामी कोरलाबाट बेलुका यहीँ फर्किने भन्दै बिहान ७ बजे कोरला नाकातर्फको उकालो समात्यौँ । समरबाट कोरलाको दूरी ८३ किमि रहेछ भने गन्तव्यमा पुग्न तीनघण्टाभन्दा बढि समय लाग्ने रहेछ । हामी नेपाल चीनको सीमा नाका कोरलामा बिहान लगभग १०।३० बजे बडो उत्साहकासाथ पुग्यौँ । तर त्यहाँ पुग्दा देख्नु परेको दृश्यले निरास र वैराग बनायो । किनभने सीमापाारी चीनको भव्य भवनहरु फलामे बारले बारिएका थिए । नेपालको सीमा स्तम्भ २४ र ती भवनका बिच नो मेन्स ल्याण्ड थियो । त्यसको बिपरीत यतातर्फ भने पालभित्र सानासाना पसलहरु खडा गरिएका रहेछन् । फोन आफसेआफ रिसेट भएर वासिँगटन डिसीको समय देखायो । फोनको नेटवर्क पुर्णतया मृत थियो । न एनसेल न एनटिसी । शायद चीनले आफ्नो सुरक्षार्थ यो विधि अपनाएको थियो । यो मित्र राष्ट्र्ले अर्काे गरिब मित्र राष्ट्र्लाई गरेका हेपाहा प्रवृति हो । यसप्रति नेपाल सरकार कतिको सजग छ छैन कुन्नी । तर, नेपाल सरकारको त्यहाँ कुनै उपस्थितिको चिन्ह देखिँदैन थियो । तथापी, त्यहाँ सशस्त्रको चौकी निर्माणाधिन छ भन्ने सुनियो ।

त्यहाँ दुबै देशको नेटवर्क चल्दैन भन्ने आधार पनि छैन । किनभने चीनको सँरचनाहरुका बिच टावर स्पष्ट देखिन्थ्यो । यस बारे नेपाल सरकारले दह्रो भएर चीनसँग प्रतिवाद गर्नुपर्छ ।

पालभित्र सँचालन गरिएका पसलहरु लगभग ७० ८० को सँख्यामा थिए होलान् । पाल पसलहरुका बिचमा नेपालको एउटा ठुलो झण्डा फहराई रहेको थियो । शायद नेपाल सरकारलाई आएर उपस्थिति जनाउन आव्हान गरिरहेको थियो । त्यहाँ न कुनै शौचालयको व्यवस्था थियो न कुनै पानी बत्तीको । पालमा पसल थाप्नेहरु प्रत्येक दिन चीनतर्फको प्रवेशाज्ञा लिएर खित्रिमित्रि सामान ल्याएर यताबाट गएका पर्यटकहरुलाई बिक्रि गरेर जिविका चलाउँदा रहेछन् । हामीले शौचालयको बारेमा सोधपुछ गर्दा पाल पछाडि पर्ने दशगजाको खुला मैदानमा जान भने । त्यसै गर्याैँ । उपाय थिएन । प्राकृतिक निकासलाई रोकिरहन पनि सकिँदैन । रोके पनि कतिञ्जेल र कहाँसम्म?

यताबाट गएकाहरुको गाडी देख्ने बित्तिकै आआफ्नो पसलमा लगेर ब्यापार गर्न खोज्ने ती हिमाली शेर्पा शेर्पिनीहरुप्रति करुणा जागेर आयो । यीनका दिनचर्या र सरकारको व्यवहारले दुखी बनायो । एकपालमा पसेर हामीले आठदश हजारको किनमेल गरेर त्यहाँको बजारलाई सानो योगदान गर्यौँ । तर महँगो भने उस्तै । लगभग एकघण्टा बिताएर हामी अब फर्किन उपक्रममा समरमा बास बस्ने गरि ओरालो झर्याैँ ।

तिब्वतको पठारमा पर्ने यो क्षेत्रमा समथल देख्न पाउँदा अचम्म र पुलकित नै हुँदो रहेछ । झण्डै १०० वटा टुंडिखेल आकारको क्षेत्रमा फेलिएको यो नाकाबाट ३६० डिग्रीमा हिमशिखरहरु देखिन्छ । यो अभुतपूर्व दृश्यले भने यतै बसिरहुँ जस्तो लाग्ने रहेछ ।

यस कोरला नाकामा राखिएको २४ नम्बरको सिमा स्तम्भले मलाई बिगतमा पुर्यायो । म सानो हुँदा मेरो बुवा नापीकोलागी मुस्ताङ्ग आउनुभएको भन्ने आमा बुवाबाट सुन्दै आएको थिएँ । यो सिमा स्तम्भ खडा हुनुमा बुवाको पनि योगदान रहेको अनुभूत गरेँ । स्तम्भ मुसारेर थोरै भावुक पनि बनेँ ।

समर पुग्दा समय निकै बाँकी रहेकोले आगो ताप्दै मनोरञ्जन गरेर रात बितायौँ । अब लेक लाग्ने डर थिएन । ओरालो लाग्दै गर्दा मुस्ताङ्ग राज्यको राजधानी लो मन्थाँग गाउँ, केभ सिटी, धुम्बा ताल, रुप्से झरना आदिको दृश्यावलोकन गर्दै दानामा पुगेर पेटमा दाना हालियो । लेतेमा रहेको रुप्से झरनामा दाँयातर्फबाट माथिसम्म जाने फलामे भर्याँगको निर्माण कार्य हुँदै रहेछ । यसबाट पर्यटकहरुले झरनाको माथिसम्म र अझ नजिक पुगेर थप आनन्द लिन पाउने छन् । सम्भवतः यसको शुल्क पनि लाग्ने छ होला । म्याग्दी जिल्लाको दाना गाउँ भएर दौडिने बेनी जोमसोम राजमार्गमा पर्ने यो झरना ३०० मिटर लामो रहेछ भने राजमार्ग पारी तल नजिकै रहेको काली गण्डकी नदीमा समाहित हुने रहेछ । यी सबैको अवलोकनपछि तातोपानीमा पुगेर बास बसियो । यहाँ तातोपानी कुण्ड नदी वारी र पारी गरि दुईवटा रहेछन् । काली गण्डकी गल्छीले धौलागिरी र अन्नपूर्ण हिमाललाई बिचबाट छुट्याउँदै सँसारको सबैभन्दा गहिरो गल्छी बनेको रहेछ ।

भोलीपल्ट बैशाख ११ गते तातोपानीबाट पोखरा जाने क्रममा नजिकको सराँगकोट पनि पुग्यौँ । कहिल्यै नसुनिएको पञ्चमुखी गणेशको मूर्ति अवलोकन गर्दै पोखरामा रात बिताइयो ।

जे होस् ७ दिने यात्रा टुँग्याउने क्रममा आज रातीको बास पोखरालाई बनाएर शनिबार बिहान बैशाख १२ गते काठमाण्डौँकोलागी हिँडियो ।

Thursday, June 5, 2025

गैरआवासीयहरुप्रति नेपालको अर्घेल्याईं!!!

गैरआवासीयहरुप्रति नेपालको अर्घेल्याईं!!!

बासु श्रेष्ठ
हाल: काठमाडौँ

आर्थिक, सामाजिक तथा राजनैतिक कारणले बसाई सर्ने क्रम सदियौंदेखि मानव सभ्यतामा चल्दै आएको चलन हो | यस क्रममा केहि देश समेत स्थापना भएका उदाहरण छन् | मानिसहरु आफ्नो भविष्यको सुरक्षा र सुनिश्चितताको निर्क्यौल नभएसम्म एक ठाउँबाट अर्को ठाउँ सरिरहेको हुन्छ | त्यो चाहे देशको सीमाभित्र होस् चाहे विदेशसम्मको साहसिक यात्रा होस् | विदेशमा पनि जबसम्म निश्चित हुँदैन एक सहरबाट अर्को सहर सर्ने उपक्रम गरि नै रहेको हुन्छ |

यस उपक्रममा नेपाली पनि अछुतो छैन | नेपालीहरु पनि देशभित्रको कुनाकन्दराका आफ्नो जन्मथलो छोडेर भविष्यकोलागी सदरमुकाम हुँदै राजधानी र अझ राजधानी छोडेर विदेशको यात्रा गरिरहेका छन् | अझ, लाहुरे भएर विदेशलागी लड्न जाने, अनि त्यस यात्राको क्रममा उतै बसोबास गर्ने क्रममा नेपाली नै यस्तो जात होला जो संसारका सानाठुला देशहरुमा व्याप्त भइसकेका छन् | भारतको आसाम, मेघालय लगायत भुटान, बर्मा, फिजीमा स्थायी नेपालीहरुको भेटिनुको कारण यही हो | तर विशेषगरि विसं २०४६ यता रोजगारीकोलागी भनेर युरोप, अमेरिका, जापान, कोरिया आदि मुलुकहरुमा विदेशिने नेपालीको सङ्ख्या उल्लेखनीय रहेको छ | यो विदेशिने पनि दुई प्रकारका हुन्छन् | एक, विशुद्द रोजगारी र निश्चित अवधिकोलागी कोरिया अनि खाडी तथा पूर्वी-एशियन मुलुक तथा भारत जाने आउने गरिरहेका हुन्छन् | दुई, विकसित देशहरुले प्रदान गर्ने स्थायी बसोबासको कार्यक्रममा सहभागी हुने होस् चाहे अध्ययन या सुविधामा पाएको कार्यक्रममा सहभागी हुन जाने र उतै बसोबास गर्ने होस्, यी सब कारणले विदेशिने नेपालीको सङ्ख्या झन्डै ६० लाखको हाराहारीको अनुमानमा छन् | यो चानचुने संख्या होइन |

जुनसुकै कारणले मानिस विदेशिएर विदेशमै बसोबास गरे पनि आफु जन्मिएको देशको सम्झना तथा भाषा अनि संस्कृतिलाई प्रचलनमा ल्याई नै रहेका हुन्छन् | यसमा नेपाली पनि अछुतो र अपवाद रहन सक्दैन | किनभने यो मानवीय स्वभाव हो | परदेशमा नेपालीहरु पनि नेपाल, नेपाली भाषा र संस्कृतिलाई
चलनमा राखेर सम्बर्धन गरिरहेका छन् | विश्वमा नेपाल देश छ भन्ने पहिचान पुर्याइरहेका छन् | देश सानो भए पनि यसको विशालताको चिनारी विश्वलाई दिइरहेका छन् | एकप्रकारले यिनीहरु देशको अघोषित, बेतलबी र स्वयंसेवी साँस्कृतिक दुत हुन् | तर देशले यिनीहरुलाई चिन्दैन | चिने पनि भगुवा, देश छोडुवाको रुपमा चिन्छ | यिनीहरुले देशमा पठाएको रेमिट्यान्सले देश चलेको छ भनेर त चिन्छ तर उसलाई चिन्दैन | उ स्वदेश आउँदा उसलाई विदेशीसरह व्यवहार हुन्छ | तर, गाउँबाट शहर र शहरबाट राजधानी गर्दै जसोतसो दुई चार आना जग्गामा घडेरी जोडेर रोजगारीमा जीवन धान्ने तर गाउँ पहाड बिर्सने या यदाकदा जाने यी काठमाण्डौबासी र एनआरएनमा के फरक छ? यी नव-काठमाडौँबासीहरु आफ्नो थातथलो फर्किन खोज्दा त्यहाँका रैथानेले निषेध गर्यो भने या प्रवेशमा बन्देज गर्यो भने कस्तो अनुभव हुन्छ होला? एकपटक अनुभव गरौँ त |

माथि भनिए झैँ वैदेशिक रोजगारीकोलागी एक देशबाट अर्को देशमा जाने नेपालीमात्र होइन चाइनिज, कोरियन, भारतीय लगायत बंगलादेशी, पाकिस्तानी, श्रीलंकन, अफ्रिकीहरु पनि छन् | यीनका मुलुकले यीनका योगदान र उपादेयता बुझेर यीनले कमाएको पैसालाई देशमा आएर लगानी गर्न प्रोत्साहन दिएको छ | सकेसम्म धेरै सुविधा र अधिकार दिएर देशमा फिर्ता आउन आव्हान गरिरहेका छन् | विदेशी नागरिकता लिईसकेकाहरुलाई पनि देशको नागरिक घोषित गरेर अर्थ दोहोरो नागरिकताको सुविधा या सो सरहका सुविधा र अधिकार दिएर फिर्ता बोलाई रहेका छन् |
   

त्यसैगरी, युरोपका पोर्चुगल
, स्पेन, ग्रीस, साइप्रस लगायत बेलायत, फ्रान्स, इटाली, जर्मनी आदिहरुले निश्चित रकम आर्थिक कारोबारमा लगानी गरेको खण्डमा चार पाँचबर्ष अस्थायी नगरिकता र त्यसपछि पूर्ण नागरिकता प्रदान गर्ने योजनाहरु जगजाहेर नै छ | प्रायश: अमरिकी नागरिकहरु यस सुविधाको प्रयोग गर्नेमा पर्छन् |

कतार
, दुबई, साउदी अरबजस्ता देशहरुले पनि विदेशी लगानीकर्ताहरुलाई प्रोत्साहन र सुरक्षा प्रदान गरेर देशमा आर्थिक चहलपहल बढाएको छ मात्रै होइन कि विकासको नाममा विश्वलाई नै चकित परि उदाहरणीय बनेको छ |
 
माथिका तिनै प्रकारका विदेशीहरुलाई प्रदान गरिने आकर्षणहरुको मुख्य उदेश्य हो देशमा आर्थिक
विकासलाई तिब्रता दिनु | देशमा वैदेशिक लगानीको बाटो खोल्नु, रोजगारीको राजमार्ग खोल्नु | जबकि यी कतिपय देशहरु नेपालको तुलनामा आफैं अति विकसित देशहरु हुन् | तर पनि यिनमा आर्थिक विकासको चाहनामा कमी आएको छैन | यता नेपाल भने आर्थिक विकासमा गरिब त छँदैछ, मानसिक रुपमा पनि झन् गरिब नै छ | किनभने नेपालले अथाह आर्थिक सम्भावना भएका तर विदेशिएका आफ्नै नेपालीहरुलाई देशमा खुला मनले आमन्त्रण गर्न सकेको छैन | विदेशीलाई त परको कुरा हुन आउँछ |

यसैलाई मध्यनजर राखेर विदेसिएका नेपालीहरुको लामो समयको मागले बल्ल गैरआवासीय नेपाली भनेर नेपालले चिन्यो | क्रमशः नागरिकता दिएर पनि चिन्यो तर दिने मन्त्रालय तथा मन्त्रीलेमात्र चिन्यो | बाँकि देशका प्रशासनले चिनेन | अध्यागमन, मालपोतले नचिन्ने, बैंकले नचिन्ने | अर्थात, बालकलाई दुधको नाममा चौलानी दिएर झुक्याउने बदनियतपूर्ण काम गर्यो | नागरिकता छ, तर शुल्कसहितको भिसा चाहिने | छैन त अचम्म नेपालमा? आठौँ आश्चर्य भएन?

नेपाल सरकारको नेपाली मूलका विदेशीहरुप्रतिको यस्तो अर्घेल्याईं कहिलेसम्म हो? नागरिकता प्रदान गर्छ तर भिसा शुल्क लगाउँछ | सो नागरिकता लिन पाँचसय डलर शुल्क तिर्नुपर्छ | तर, यो भन्दा पहिले एनआरएनको कार्ड लिइएको हुनुपर्छ | र सोहि एनआरएन कार्ड लिन पनि ५२५ डलर तिरेर लिनुपर्ने हुन्छ | नागरिकता प्राप्तिको प्रक्रियामा वडाबाट सिफारिस लिन दश हजार (?) शुल्क तिर्नुपर्ने रहेछ | यो काठमाण्डौका वडाहरुको शुल्क हो | अन्य जिल्लाहरुमा पनि सोहि अनुपातको शुल्क हुनुपर्छ | अर्थात्, नेपाल सरकारका कर्मचारीतन्त्रहरुको आँखा विषाक्त छ | मात्र शुल्क उठाउन जानेको छ | यीनलाई एनआरएन भनेको पैसाका खानी हुन्, यिनीहरुसँग जति शुल्क लिए पनि हुन्छ भन्ने कलुषित सोच रहेको पाइन्छ |

अर्कोतिर एनआरएनको मागमा पनि एकरुपता छैन | पहिला त उ आफैँ खण्डित छ, त्यसमाथि, सरकारको आँखै ठुलो हुने गरि वंशजको नागरिकता माग गर्छ | यो तातो खाउँ, छिटै मरौं जस्तो भएन? एनआरएन कार्ड मार्फत सरकारले चिन्न थालेको पाइला अहिले आएर कलुषित नागरिकतामा अड्किएको छ | तसर्थ, सरकारको आशयलाई बुझेर वंशजको नागरिकताको जिद्दी छोडेर बरु हाल पाइरहेको अधिकारलाई मुलुकभरका सम्पूर्ण प्रशासनिक संयन्त्रहरुमा व्यवहारमा ल्याउने प्रयास गराउनु नै उचित हो |

उसो त सरकार उदार र मनकारी हुने हो भने, देशको दीर्घकालीन आर्थिक हितलाई ध्यानमा राख्ने हो भने दोहोरो नागरिकता दिनु नै सर्वोत्तम उपाय हो | यी देश छोडेर गएकाहरु भन्ने सोचको मानसिकता सरकारका दुबैथरी चालकले चटक्क त्याग्नैपर्छ | तर यी चालकहरुले बुझ्ने पर्ने अर्को के पनि हो भने संसारमा यस्ता धेरै देशहरु छन् जसको मूल आयश्रोत नै रेमिट्यान्स थियो र त्यसैको भरमा विकसित देशको लहरमा उभिएका छन् | त्यसो हो भने नेपाललाई पनि त्यसै लहरमा किन नउभ्याउने? मात्र दृढ विचार, दृढ योजना, दीर्घकालीन राष्ट्रको हितार्थ नियम कानुन हुनुपर्यो |

सरकार र प्रशासनमा रहेका उच्चस्तरीय कर्मचारीहरुले पनि टोपी टेबुलमा राखेर ठण्डा मनले सोचे एनआरएन देशको आर्थिक विकासको काममा ठुलो लाभदायी हुनेछ भन्ने बुझ्न सकिन्छ | हिजो देश छोडेर गएकाहरु फेरी देश नै फर्किन्छु, उता दुख गरेर कमाएको पैसा देशमै लगानी गर्छु, केहि रोजगारी सिर्जना गर्छु, विदेशमा सिकेको शीप र जाँगर तथा अनुभव प्रयोगमा ल्याउँछु भन्छ भने यसमा नराम्रो के छ र? तर कर्मचारीतन्त्रको असाध्य पूर्वाग्रही र संकुचित मानसिकताले देशमा भित्रिन सम्भव भएको यो अथाह श्रोत समुद्रपार नै रोकिएको छ |

माथिका लगानीकर्ता एनआरएनमात्र होइन, त्यस्ता एनआरएनले पनि विदेशी मुद्रा भित्र्याउन सक्छन् जो सामान्य, शान्त तथा आरामदायी अवकाश जीवन नेपालमा बिताउन चाहन्छन् | यीनले रोजगार गरेको सरकारबाट पाउने अवकाश भत्ता, कामबाट पाउने आजीवन भत्ता, संचित संचयकोष र आफ्ना साना बचतकासाथ नेपाल आएर शान्त जीवन बिताउने चाहना पालेका हुन्छन् | र यसरी भित्रिने विदेशी मुद्रा पनि ठुलो हुने अनुमान छ | साथै, यीनकालागी विदेशमा रहेका सन्तानले पठाउने नियमित भरथेगका रकमसमेत नेपालको आम्दानीमा जोडिंदा अर्थतन्त्रमा ठुलो सकारात्मक प्रभाव पर्छ भन्ने सरकार र कर्मचारीतन्त्रले बुझ्नुपर्यो | र यसरी भित्रिने अर्थले देशमा ल्याउने रोजगारीलगायतका आर्थिक तरङ्गहरु विशाल हुनेछ भन्ने पनि बुझ्नुपर्यो |

विदेश गएका पहिलो पुस्ता अब स्वदेश फर्किने क्रमको आशयमा छन् | तिनको आशयमा तिनका सन्तानहरुको सोच पनि गाँसिएको छ | तसर्थ, यदि यी जिम्मेवार सरकारी संयन्त्रले देशको वास्तविक विकास चाहन्छन् भने नेपालले समयमै वृहत र उदार सोच राखेर यो शृंखलालाई विशृंखलित हुनबाट रोकोस् | किनभने, देशमा सुरक्षा, सुनिश्चितता र स्थिरता भएन भने सन्तानहरु विदेशमा रहेका यताका अभिभावकहरु समेत यताका सम्पति बेचबिखन गर्दै विदेश पलायन हुनेका सङ्ख्यामा वृद्धि हुँदै जाने सम्भावना रहेको छ | यसले गर्दा देशले दोहोरो आर्थिक नोक्सान भोग्नु पर्नेछ | जुन दुर्भाग्यपूर्ण नै हुनेछ |

एउटा अर्को तितो सत्य के हो भने, शायद कुनै धुरी यस्ता नहोला जसको एक न एक सदस्य विकसित मुलुकमा बसोबास गरिरहेका नहोलान् | यसमा राजनैतिक पार्टीका नेताहरु, सरकारी संयन्त्रका कर्मचारीहरु, व्यापारी तथा उद्योगीहरु छन् जसको ति विकसित देशहरुमा कुनै न कुनै रुपमा पारिवारिक सम्बन्ध गाँसिएको छ र आवतजावत भैरहेको हुन्छ | अझ कति उच्च पदका पदाधिकारीहरु त उतैको बसोबासमा अवकाश जीवन व्यतित गरिरहेका छन् | अर्थात ने
पालका यस्ता कुनै बहुधा घर छैन होला जसको नेक्सस विदेश नहोस् | यीनलाई पनि भविष्यमा वर्तमानमा उठिरहेको आवाजमा सामेल हुनु पर्नेहुन्छ | अहिलेका कतिपय सरकारी पदाधिकारी अवकाश जीवन सन्तानकासाथ विदेशमा बिताउने भन्ने सोचले हाललाई त ढुक्क होलान् | तर त्यो बसाई दीर्घकालीन हुनेछैन भन्ने कुरामा यो पंक्तिकार ढुक्क छ |

सामाजिक सञ्जालमा चिनजान रहेका एक सचिवले अवकास पाएपछि पेन्सन पट्टा बनाउन किताबखानाले दिएको दुखप्रति सञ्जालमा गुनासो गर्दै थिए | प्रतिक्रियामा मैले यत्रो बर्ष सरकारी ओहदामा रहँदा आफ्नै सरकारको कमजोरी कसरी नदेखेको र सुधारमा किन केहि नगरेको त भन्ने प्रश्न मैले गरेको थिएँ | अर्थात्, अहिले वर्तमान एनआरएनले भोगेको समस्या समयमै निराकरण नगरे माथिका नेक्ससवालाहरुलाई पनि सोहि समस्या ढिलोचाँडो आइलाग्ने नै छ | तसर्थ, समाधानकोलागी अहिले नै जुटेको बेस |

एनआरएनको यस संवेदनशील मुद्दामा अब विदेशिएका सन्तानका अधिकारकालागी, तिनबाट देशले पाउनसक्ने आर्थिक लाभकालागी यता रहेका अभिभावकहरुले पनि आआफ्ना क्षेत्रबाट सम्भावित अधिकारिक क्षेत्र अर्थात् संसद, मन्त्री या नेताहरुका माझ आवाज उठाउनु पर्ने बेला आयो जस्तो छ | सरकारले पनि कान खोलेर सुनोस् ताकी देशले ठुलो आर्थिक फड्को मार्न सफल होस् |

Thursday, August 15, 2024

धार्मिक नेतृत्वमा समाज सुधारकको सम्भावना

 धार्मिक नेतृत्वमा समाज सुधारकको सम्भावना 

बासु श्रेष्ठ 

हाल: काठमाडौँ 


अहिले काठमाडौँ पशुपति क्षेत्रमा जारी एक महिने कोटी होमको विशेष चर्चा छ | यो कोटीहोम मानवसेवा फाउन्डेसनकोतर्फबाट गरिएको हो | महायज्ञ अवधिभरी एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण,  वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने भनिएको छ | कुनै सङ्घसंस्थाको सहायतार्थ यस्तो धार्मिक कार्यको अनुष्ठान गरिएको यो पहिलो पटक भने होइन | तर यस स्तरको र पशुपति क्षेत्र विकास कोषको परिसरमा गरिएको भने पहिलो नै हुनुपर्छ |


यस महायज्ञमा नेपालबाट वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, भारतबाट राधिका दासी तथा बेलायतबाट श्री राम कथावाचक चन्द्रकला सखी लगायतले कथावाचन गर्ने जनाइएको छ । यीनका कथा वाचन सुन्न र धर्म, भजन किर्तनमा लिप्त हुन हज्जारौंको संख्यामा दिनहुँ सहभागी भैरहेका छन् | अपवादका रुपमा सिने कलाकारहरु आफ्नो आगामी चलचित्रको बिज्ञापन गर्न समेत पुगेका छन् | किनभने यीनले त्यहाँ अपार जनसमूहका बीच आफ्ना भनाई राख्न पाउँछन् | तर यो सुविधा आयोजकले के कसरी दियो त्यो गर्भकै बिषय हो |


यी वाचनकर्ताको मूल उदेश्य हो अनुष्ठानको उदेश्य पुरा गर्नु अर्थात आयोजककोलागी बढी भन्दा बढी चन्दा सङ्कलन गरिदिनु हो | यसबापत वाचकले पनि निश्चित रकम पारिश्रमिक स्वरूप लिने गर्छन् | जति बढी सङ्कलन भयो उति दुवै पक्षलाई फाइदा | तर कबूल गरिएको रकम सङ्कलन नभएको खण्डमा चाहीं आयोजक घाटामा पर्न जाने हुन्छ र यो मैले देखेको छु | कथा वाचकले कबूल गरेको रकमको प्रतिशत लिने हो, सङ्कलित रकमको होइन | तसर्थ, यस्ता आयोजनामा बढी भन्दा बढी नगद सङ्कलन भएको राम्रो ठहरिन्छ | 


जे होस्, चाहेमा यी कथावाचकहरु धार्मिक प्रवचन दिनुका साथै समाज सुधारकको भूमिका पनि सहजै खेल्न सक्छन् | हिन्दु धर्म त्यो पनि नेपालका अनुयायीहरुमा अलि बढी अन्धविश्वासले ग्रस्त देखिन्छ | पूजाआजा धर्मको नाममा मूर्ति त के प्रकृतिलाई नै समेत हानी पुर्याउने, वातावरण दुषित बनाउने, फोहोरमैलाको कारण बन्ने आदि सजिलै हुने गरेको पाइन्छ | यसका उदाहरणहरु बाटो हिंड्दा नै पनि प्रशस्त देख्न पाइन्छ | काठमाडौँमा बग्ने नदीको हालत पनि देखि नै रहेका छौ | जबकि हाम्रो धर्मले प्रकृतिलाई पनि देवताको रुपमा पुज्ने गर्छ |

 

तर बिडम्बना के भने हामी जसलाई पूजा गरिरहेका हुन्छौं, उसैलाई हानी पुर्याईरहेका हुन्छौं | एक शनिवार, पीपलको रुखको फेदमा बाक्लो धुँवा आइरहेको देखेँ | स्वभाविक कौतुहलतावश नजिक गएर हेर्दा कसैले पीपल रुखलाई आरतीको बत्ती बालेको रहेछ | ति अज्ञात भक्तजनको बुद्धिप्रति आक्रोशित हुनु बाहेक अन्य उपाय थिएन | बत्तीलाई सक्दो शमन गरेर म आफ्नो बाटो लागें | तर यो घटना मेरो मानसपटल अटल भएर रहेको छ |

हामी भूतप्रेत मन्साउने, ग्रहदशा शान्त पार्ने तथा देवतालाई चढाउने नाममा टपरी या दुनामा खानेकुराहरु राखेर दोबाटो चौबाटोमा राख्छौं | तर ती खानेकुराहरु छरिएर वरपर फोहोर हुने, दुर्गन्ध फैलिनेप्रति रत्ती सजग हुँदैनौं | यो हाम्रो धर्मान्धता हो |


म यी प्रभावकारी कथावाचकहरुले यस्ता विकृतिका विरुद्ध श्रोता भक्तजनहरुलाई सजग बनाउन् भन्ने आग्रह गर्दछु | त्यसै गरी, पुरेत, पण्डितहरुले पनि धर्मको माध्यमबाट आआफ्ना ठाउँबाट भक्तजनहरुलाई अन्धविश्वास, छुवाछुत तथा अन्य विकारहरुबाट मुक्त गराउन सक्छन् जुन सरकार तथा सरकारका कानुन नीति नियमले पनि सकिरहेका छैनन् |


बागमती फोहोर, रुग्ण र जीर्ण हुनुमा म पनि दोषी छु | तथापी, ममाथि घटेको घटनाभन्दा पहिले नै बागमतीको दुर्गति आरम्भ भैसकेको थियो | तर त्यस कुकृत्यमा म पनि धार्मिक बाध्यताको कारणले समावेस भएँ |


बागमती किनारको पशुपतिस्थित किरियापुत्री घरमा १३ दिन बुवाको किरिया बस्ने क्रममा त्यस रुग्ण नदीमा मैले दिनहुँ पितृको नाममा कपडा बगाएँ, (पानी भए त बग्नु, फालें भन्नु उचित होला) अन्नादीहरु फालें, फलादी फालें र थप फोहोर बनाएँ | यो उपक्रममा मलाई अति ग्लानी भैरहेको थियो | तर आफूभन्दा जेठाबाठाहरु, विद्वान पुरेतहरुसँग युगौँदेखि चल्दै आएको यस रीतप्रथाको बिरुद्ध बोल्न असमर्थ रहें | विदेशबाट आएर किरिया बसेको मलाई नास्तिक भयो, विदेशी भयो, भ्रष्ट भयो भन्ने आक्षेपबाट बच्नुकासाथै आमाको मन पनि दुखाउन चाहिनँ | तसर्थ, १३ दिनका हरेक दिनका हरेक क्रियाकलापमा बागमतीसँग मनमनै क्षमा माग्दै यी कृत्य गर्दैरहें |


यी र यस्ता अन्धविश्वासहरु हटाउन शिक्षा नै महत्वपूर्ण हो र यसले बिस्तारै निर्मूल गर्दै जाने छ भन्ने निकै वर्ष पहिलेको मेरो विश्वास असफल भएको छ | शिक्षा नै अपूरो, अधूरो र शिक्षकहरु पनि सोहि अनुसारका भएको पाएको छुँ | र त, आजका युवाहरुमासमेत अन्धविश्वास र रुढिवादीले झन् जरा गाडेको पाइन्छ | 


तर पछि शिक्षामात्र यी अन्धविश्वास हटाउन पर्याप्त छैन यसलाई धर्मले नै काट्नु पर्छ र यो नै प्रभावकारी हुन्छ भन्ने मेरो निर्क्यौल योगमाया उपन्यास पढेपछि आएको हो | योगमायाका अनिगिन्ती अनुयायीहरु योगमायाले महिलाको पक्षमा उठाएको आवाजको पक्षमा त लागे | तर, धर्मको नाममा हुने या भैरहेका पश्चगामी अन्धविश्वासका बिपक्षमा यस सुधारको पक्षमा बोलेको पाइन्न | धार्मिक प्रवचन दिएर असँख्य अनुयायी बटुल्न सक्ने वक्ता आफु पनि सजग भएर धर्ममा रहेको या धर्मको आधारमा उत्पन्न गरिएका अन्धविश्वास तथा रुढिवादीलाई धार्मिक प्रवचन मार्फत चिर्न, फाल्न या कम गर्न सक्छ | तर त्यो गरेको पाइँदैन | जुन दुखद कुरा हो | अब सबै धर्म गुरुहरुको ध्यान यता पनि जाओस् |


Saturday, June 22, 2024

पाहुनासँग खसखस


अमर न्यौपाने 
डा. शङ्करप्रसाद शर्मा
आनी छोइंग डोल्मा
अनुराधा कोइराला
बालकृष्ण पोखरेल
चन्द्रकला नेवा
दयाराम श्रेष्ठ
गङ्गाप्रसाद उप्रेती १
गङ्गाप्रसाद उप्रेती २

गुहनाथ पौडेल
हरि अधिकारी 
हरिबहादुर थापा 
हिरण्यकुमारी पाठक 
इन्द्रबहादुर राई
कालीप्रसाद रिजाल
किशोर पहाडी
कृष्ण धरावासी
कुमारबहादुर जोशी
लीलबहादुर क्षेत्री
माधव घिमिरे
मीरा राना
नगेन्द्र थापा
नयनराज पाण्डे
नीलम निहारिका
ओमवीर सिंह बस्न्यात 
परशु प्रधान
प्रेमध्वज प्रधान
राजेश्वर देवकोटा
रमेश खकुरेल
रत्नशम्शेर थापा
शिव रेग्मी
श्याम तमोट
सोमनाथ घिमिरे
एस्पी कोइराला
सुनिल पोखरेल
ठाकुर पराजुली
तुलसी दिवस
तुलसी घिमिरे