https://twitter.com/Chirvir

Tweet me @chirvir







Monday, February 13, 2017

बँक पक्राउ परेपछि |

आजको कान्तिपुरमा प्रकाशित 'लभ ईन काश्मिर' शीर्षकको ब्लगमा क्लास बँक गर्ने बारेको लेख पढेपछि बाल्यकालमा आफुले बँक गरेको सम्झना टड्कारो भएर आयो । यस्ता बँकको बारेमा थुप्रै समाचार तथा लेखहरु पढेको भएपनि आज कुन्नी किन हो आफुले गरेका ति बँकको सम्झनामात्र आएन कि लेखेर तपाईहरुलाईपनि शेयर गर्न मन लाग्यो । पढेर तपाईहरुले मप्रतिको धारणा जेजस्तो बनाउनुस् स्वतन्त्र हुनुहुन्छ ।
म र मेरो टोले साथी उ ले गर्ने बँक आजकलका प्रेमी प्रेमीकाको कारण जस्तो चाहिँ थिएन । बँक भन्ने शब्दको उत्पत्ति नै भएको थिएन कि । बल्कि हामी भाग्थ्यौँ । म चेतभवनको नवजिवन विद्याश्रममा पढथेँ । कक्षा ६ मा । मेरो साथी उ क्षेत्रपाटीको जेपी हाईस्कूलमा पढ्थ्यो । उपनि ६ कक्षामा नै । कसोकसो एकदिन हामीले सल्लाह गर्याैँ क्लास नगई घुम्न जाने । मेरो बुवाआमा जनकपुरमा भएको हुँदा घरमा सोझा हजुरबा हजुरआमालाई छल्न ढाँट्न सजिलो थियो । तर उलाई भने त्यस्तो थिएन । तरपनि हामीले यस्तो निर्णय लियौँ ।
बाँसबारी घर भएका हामीमध्ये सामान्यतया म चेतभवनको स्टपमा बसबाट ओर्लिएर स्कूल जान्थेँ भने उ लैनचौरको स्टपमा ओर्लिएर क्षेत्रपाटी पुग्थ्यो । तर बँक गर्ने दिनमा भने म लाजिम्पाटमा या शँकर होटेलमा ओर्लिने गर्थेँ । अर्थात चेतभवनभन्दा एक स्टप अगाडी या पछाडि । उ भने लैनचौरमा नै ओर्लिईन्थ्यो । अनि त्यहाँ भेटेर आफ्नो गन्तव्यतिर हानिन्थ्यौँ । अक्सर नजिकै रहेको भारतीय दूतावासमा गएर दिनभर चाकलचुकल या यस्तै खेलेर स्कूल छुटेको समुहमा मिसिन दूतावासको लाजिम्पाटको व्दारबाट निस्किएर त्यहिँबाट बस चढेपछि हामी स्कूलबाटै भर्खर निस्किएका जस्ता हुन्थ्यौँ । या कहिले लैनचौरबाट विभिन्न बाटो हुँदै स्वयम्भू अनि त्यहाँबाट निर्माणाधिन चक्रपथ हुँदै एयरपोर्ट अनि पाखापाखाबाट गुह्यश्वरी, चावेल हुँदै स्कूलबाट घर पुग्ने समयमा टुप्लुक्क पुग्थ्यौँ ।
यसैगरी कहिले विश्वज्योति या जयनेपाल सिनेमाहलमा दिन बित्थ्यो । दुबैले पुरा टिकट किनेर हेर्न पैसा नपुग्ने हुँदा एउटा टिकट किन्ने अनि पहिला एकजना पस्ने । अर्काे बाहिर बस्ने । हाफ टाईममा पालो साट्ने । अर्थात भित्र पसेको अब बाहिर बस्ने, बाहिर बसेको चाहिँ सिनेमा हेर्न भित्र पस्ने । यसरी दुबैले आधाआधा सिनेमा हेरपछि घर जाने क्रममा एकार्काको छुटेको भाग सुनाउने गरेर एउटा सिनेमा पुरा गथ्र्याैँ । तर कहिलेकाहिँ हाफटाईममा मौका मिले दुबै भित्रै हुन्थ्यौं । यस्तो भएको मौकामा चाहिँ दुबैले दुबैलाई कथा भन्नुपर्ने स्थितिको अन्त्य हुन्थ्यो र साह्रै दँग पथ्यौँ ।
यसरी क्लास बँक गरेपनि हाम्रो एउटा सिद्धान्त भने थियो । त्यो थियो आईतवार चाहिँ स्कूल जाने । किनभने आईतवार हप्ताको पहिलो दिन र हप्ताको पहिलो दिन स्कूल जानुपर्छ भन्ने हाम्रो आफ्नै केटौले मान्यता थियो । तर, आईतवार सरबाट पाईने गोदाईबाट भने त्राहित्राहि हुनुपथ्र्याे । उलाई त के गर्थ्यो कुन्नी । सम्झना भएन । तर मलाई भने सरले क्लासमा देखेपछि हाजिर लिने समयमा 'मेरो प्यारो साथी बासु' भनेर बोलाउँथ्यो । म भने सँकुचनमा परेर 'यस् सर' भन्न पाउँदा नपाउँदै मेरो कन्चटको रौँ तानिई सकेको हुन्थ्यो । बाँयापट्टि केटिको लहरमा हाँसो चल्थ्यो भने मेरो मनमा ग्लानीको आगो रन्कन्थ्यो । र भोलीदेखी फेरी टाप ।
त्यो नवजीवन स्कूल निशुल्क भएपनि पढाई र कडाई राम्रो थियो । अहिले मलाई अलि ग्लानी नै हुन्छ । त्यहाँ सँस्कृत लगायत सामान्य पढाई बाहेक कारपेण्ट्र्री तथा अन्य व्यावशायिक शिक्षा र प्रयोगात्मक शिक्षा पनि दिईन्थ्यो । यि दुबै विषयमा भने म कक्षा टप थिएँ । भलै अरु मूख्य विषयमा भने सामान्य पासमात्र हुन्थेँ ।
यसरी हप्ताको पाँचदिन बँक गर्ने बानी हामीलाई परिसकेको थियो । एकदिन सँधैको झैँ बँक गरेर स्कूलबाट घर पुग्ने समयमा साँखुल्ले भएर घर पुग्यौँ । मपनि उकै घर गएको थिएँ । उ भित्र पस्यो । उको बुवा (मपनि बुवा नै भन्थेँ) भने उलाई कुरेर बस्नुभएको रहेछ । उभित्र पस्ने बित्तिकै एक लपटा हान्दै 'तँ आज स्कूल नगएर कहाँ गएको थिईस्' भनेर सोध्नुभयो । आज नमज्जाले भेद खुलेको रहेछ । हामी स्कूल नहुँदा बुवा उको स्कूलमा जानुभएको रहेछ र उ स्कूलमा नभएको थाहा पाएर रीसले आगो हुनुभएको रहेछ । उको घरभित्र पस्ने मेरो आँट आएन । नत्र मैलेपनि लपटा खान बेर थिएन । उले स्पष्टिकरण दिई रहेकै बेलामा मैले आफ्नो घरको बाटो तताएँ । म आफ्नो घरमा भने अझै भाले नै थिएँ । सोझा र नातीलाई माया गर्ने हजुरआमा बालाई नातिको करतुतबाट अनभिज्ञ मलाई सदा झैँ खाजाले स्वागत गर्नुभयो । मलाई आज भने कताकता ग्लानी भयो ।
यहि गाली र ग्लानीको कारणले अब उपरान्त क्लास छोडेर नभाग्ने भयौँ त्यहाँ उपरान्त असल विद्यार्थीका रुपमा पढदा भयौं ।

(उ मेरो बाल्यकालको असाध्य मिल्ने साथी भएकोले उको नाम सार्वजनिक नगरेको हुँ)



Monday, December 26, 2016

हामी, बाँसबारी छाला जुत्ता कारखाना र माओ |

हामी, बाँसबारी छाला जुत्ता कारखाना र माओ |

आज डिसेम्बर २६ माओ त्से तुड़्गको जन्मदिनपनि रहेछ। त्यसैले उनि सम्बन्धि आफ्नो बाल्यकालको सम्झना आयो।
शायद २२ २३ सालको कुरा हुँदो हो। बाँसबारी छाला जुत्ता कारखाना चीनको सहयोगबाट भर्खर सॅचालनमा आएको थियो। यो कारखाना मेरो घरबाट पाँच मिनेटको दूरीमा थियो। कारखाना पुग्न त्यसको दक्षिणपट्टि रहेको चौर भएर जानु पर्थ्यो। त्यहि चौरको पश्चिमपट्टि भने पर्खाल लगाईएको थियो। त्यस पर्खालभित्र चीनबाट छाला कारखाना सॅचालनकोलागी सहयोगार्थ आएका चिनिया कर्मचारीहरु बस्थे।
यो जुत्ता कारखाना संचालनमा आएपछि हामी बाँसबारीका वासिन्दामा भने दुर्गन्ध त्रासले वास गरेको थियो | विशेष गरि बेलुका खान खान बस्दा कारखानाबाट आलो छालाहरू प्रशोधन गरिंदा त्यसबाट निस्किएको दुर्गन्ध घरघर पसेर आतंक झैँ मच्चिन्थ्यो | त्यसकारण त्यस समय भन्दा अगाडी या पछाडी खाने पनि गर्नु पर्थ्यो | तर जतिबेला खाएपनि दूर्गंधको प्रकोप भने रही नै रहन्थ्यो | अर्को कुरा कारखानाको पछाडी त्यसै फालिएका कम नलाग्ने आलो छालाहरु भुस्याहा कुकुरहरुले घर घर बोकेर आउँदा अर्को दूर्गंध आतंक फैलने गर्थ्यो | यो भयो हामी टोलवासीहरुले भोग्नु परेको भोगाई |
कतिले त छाला गन्हाउने टोलमा घर? भनेर होच्याउने या जिस्काउने गर्थे | तर यो बाँसबारी अहिले छुन नसकिने भएको छ जग्गाको हिसाबले |
यसका साथै यस कारखानाले जुत्ता संस्कारमा ल्याएको परिवर्तन र आर्थिक देनपनि उत्तिकै छ | धनीमानीहरुले मात्र लगाउने या विदेशको विशेष गरि बाटा जुत्ताको बजार रहेको शहरहरुमा विस्तारै बाँसबारी जुत्ताले प्रतिस्थापन गर्न खोज्यो | त्यसैगरी जुत्ता नलगाउनेहरुकोलागि पनि किफायती या सस्तो भएकोले लगाउने चलन बढ्दै जान सहयोग पुर्याएको थियो | यसले देशको आर्थिक ढुकुटीमा पक्कै मद्दत गरेको थियो होला भने रोजगारीको समस्यापनि केहि हदसम्म कम नै गरेको थियो होला | लौ, कुरा अन्तै तिर पो लाग्न थाल्यो | जे होस्, प्रसंगमा फर्कौं |
हामी भुराहरु त्यो चौरमा खेल्न जाँदा ति चिनिया कर्मचारीहरुले  खानकोलागी पाउरोटिहरु दिने गरेर हामीलाई पल्काएका थिए| त्यसको साथै माओको सा...नो तक्मा देखि हत्केलाभन्दा ठुला तक्माहरुपनि दिने गर्थे। हामी ति तक्मा असाध्य रमाईलो मान्दै ओजपूर्ण लगाएर घर, स्कुल आउजाउ गर्थ्यौं। हामीलाई के र किन तक्मा लगायौं भन्ने विषयमा रत्तिपनि ज्ञान थिएन। अपितु त्यो एक बाल लहड या फैसनमात्र थियो।
थप तक्मा पाउने अर्को कारणपनि थियो। हाम्रो घरको उत्तरपूर्व पाँच मिनेटको दूरीमा रहेको पाखोमा एक विशाल बरको रुख थियो। यस रुखमा चील, गिद्ध, कागहरुको नियमित बास हुन्थ्यो। यहाँ आएर मेरो केहि साथी विशेष गरी विष्णु यि चील, गिद्ध या काग गुलेली हानी मार्ने या घाईते बनाएर ति चिनियाहरुलाई दिन लग्थे। पुरस्कार स्वरुप भनौँ जेसुकै वापत होस् ति तक्माहरु पाउॅथे। साथमा हामीलेपनि पाउँथ्यौं। अनि कसको तक्मा ठुलो या धेरै छ भन्ने एक प्रकारको प्रतिस्पर्धा हुन्थ्यो।
२४सालमा मैले काठमाण्डौ छोडें । अनि २८ सालमा फर्किॅदा यि तक्माहरु ईतिहास भैसकेका रहेछन्। कसैले घरमा लुकाएर राख्ने बाहेक कसैको छातिमा देखिएन। जनकपुर जाँदा छोडिएका ति मेरा तक्माहरु २८ सालमा फर्किॅदा खै गर्ने बुध्दि र स्मरण पक्कै थिएन । तर, अहिले सम्झॅदा शायद घरकाहरुले फालि दिएको हुनुपर्छ भन्ने मलाई लाग्छ।
र ति तक्मा त्यसरी फालिनु या ईतिहास हुनुको कारण अहिले सम्झिॅदा पक्कै सरकारले बन्देज लगाएको हुनुपर्छ । यसलाई अलि गहिरिएर अहिले बिचार गर्दा मलाई के लाग्छ भने चिनिया सरकारको सहयोगमा बनेको त्यो ऐतिहासिक जुत्ता कारखाना नेपाल सरकारको स्वामित्वमा नआएसम्म चिनिया कर्मचारीहरुले गरेको क्रियाकलापलाई नरोक्ने। तर, कारखाना नेपाल सरकारको स्वामित्वमा आएर चिनियाहरु फर्किने बित्तिकै ति तक्माहरुमा बन्देज लगाईने ध्येय थियो होला र सोहि मुताबिक गरिएको हुनुपर्छ भन्ने अनुमान गर्छु म ।
कारखाना ईतिहासको गर्भमा गएपनि कारखानाको त्यस भवनमा अहिले गड़ूगालाल अस्पतालले बास गरेको छ। चिनिया बस्ने ति क्वार्टरहरुमा अस्पतालका कर्मचारी बस्दा हुन्। चील गिद्ध बस्ने त्यो बुढो रुख अझै छ, तर ति विस्थापित भएर विचरा भएका छन्।
जे होस्, अहिल ति दिन सम्झिंदा चीनले माओको कति प्रचार प्रसार गरेका रहेछन् भन्ने सानो उदाहरणको रुपमा यसलाई लिन सकिन्छ | हामीभन्दा जेठाबाठाहरुले माओका रेड बुकहरु कति पढे हुन् | र कालान्तरमा आएर देश त माओकै नाममा द्वन्दमा समेत पर्यो | भलै यो द्वन्द मेरो बाल्यकालको सम्झनासँग कुनै तादात्म्य राख्दैन |
माओको जन्मदिन आजै परेकोले प्रसंगवस नोस्टाल्जिक भई यो सानो संस्मरण बाँड्न चाहें |


Sunday, October 2, 2016

छक्का पन्जाले दुखायो भुँडी

धेरैपछि गत महिना प्रियंका कार्कीद्वारा अभिनित माला हेरेपछि आज अर्को चलचित्र छक्का पन्जा हेर्ने अवसर जुट्यो |
भिन्तुना इन्टर्नेशनलद्वारा भर्जिनियाको लोमेन्स प्लाजामा प्रस्तुत गरिएको यो हास्य चलचित्र हास्य कलाकार दीपा श्री निरौलाद्वारा निर्देशन गरिएको हो | अन्य हास्य कलाकारहरु जितु नेपाल, शिवहरि पौड्याल, दीपकराज गिरी, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, नम्रता सापकोटा आदि कलाकारले अभिनय गरेका छन्। यसो भन्दा यो चलचित्र हास्य कलाकारको सँगम भने हुन्छ |




वैदेशिक रोजगार र यसले भित्र्याएको दुष्परिणाम तथा कुप्रवृत्तिलाइ कथावस्तुको मूल आधार बनाइ निर्माण गरिएको यो चलचित्रमा कुनैपनि कलाकारले आफ्नो अभिनयमा चुकेका छैनन् | त्यसैगरी पहिलो पटक निर्देशनमा ओर्लिएकी दीपाश्रीले पनि सफलतापूर्वक निर्देशन गरेकी छिन् भन्दा अतिशयोक्ति नहोला |
चलचित्रभित्र नाटक गर्ने प्रियंका कार्की कतै कतै सबल र सचेत नारीको रुपमा देखा परेकी भएकी पनि चलचित्रको अन्त्यमा तिनले गरेको नाटक बारेको पर्दा खुल्दा भने पहिले देखिएको तिनको नारीवाद र सचेतता फिक्का पर्न जान्छ | यस बारे निर्देशन, लेखनमा ध्यान नपुर्याएको जस्तो देखिन्छ |
तर थुप्रै हास्य उखान टुक्काहरुलाई संवाद बनाएर दर्शकलाई हँसाउन सक्नु संवाद र पटकथाको खुबी मान्नु पर्ने हुन्छ |
छायांकनकोलागी ड्रोन समेत प्रयोग गरिएको यस हास्य चलचित्रमा कुशल छायाँकन, कुशल संवाद, कुशल सम्पादन र कुशल अभिनयको सङ्गम हो भन्न सकिन्छ |
दुइ घण्टा १० मिनेट अवधिको यो चलचित्रमा खट्किने एउटा विषय चाहिं द्वन्द हो | अर्थात् लोग्ने स्वास्नी बिचका झगडा | एक अर्कालाई थप्पड हान्ने दृश्यले भने अमेरिकामा हुर्कीई रहेका बालबालिकामा सकारात्मक संदेश जान्छ भन्न सकिन्न | चलचित्र हेर्न आफैसँग लग्न बाध्य अभिभावकहरु ति बालबालिकाबाट अबोध प्रश्नको सामना नगर्लान भन्न सकिन्न | तसर्थ, चलचित्रको प्रचार प्रसार गर्दा नै अभिभावकहरुलाई यसबारे केहि सचेत गराउन सके तिनले सावधानी अपनाउंथे होलान् | यस अघि प्रदर्शन गरिएको माला चलचित्रमा बालबालिकाहरु डराएर अभिभावकहरु प्रेक्षालय छोडेर बाहिर निस्कन परेको कुराको साक्षी यो लेखक रहेको छ | त्यसकारण आयोजकहरुले यस बारेमा ध्यान पुर्याउन् भन्ने चाहेको छु |
जे होस्, भिन्तुना इन्टरनेशलले नियमित रुपमा नेपाली चलचित्र प्रदर्शन गर्ने जमर्को गरेको कुरा यससँग सम्बद्ध सुरेश सापकोटाले बताएका छन् | हाम्रो शुभकामना सहित |



Friday, April 15, 2016

खोई अनलाईन समाचारको विश्वसनियता?

बासु श्रेष्ठ
भर्जिनिया
  
एउटै समाचारको श्रोत र एउटै फोटो राखेर दुई भिन्दाभिन्दै समाचार दुई अनलाईनमा प्रकाशित हुनुले के जनाउँछ?

(जूम गरिएको फोटो)
 माथिको फोटो राखेर राससको हवाला दिँदै अनलाईन खबरमा अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाहभन्ने शिर्षकमा समाचार प्रकाशित गर्याे । पुरा समाचारकोलागी लिँकमा क्लिक गरेर हेर्नुहोस्ः http://www.onlinekhabar.com/2016/04/415142/

                                                            (जूम नगरिएको फोटो)
तर अर्काेतिर सेतोपाटीले भने यहि फोटो जूम नगरी राखेर छोरीले नै अन्माईन् आमाशिर्षकमा राससकै श्रोतमा सुरुँगा, झापाको भनेर बेग्लै समाचार प्रकाशित गरेको छ । पुरा समाचारकोलागी लिँकमा क्लिक गर्नुहोला http://setopati.com/samaj/45168/

पक्कैपनि समाचार प्रकाशित गर्ने हतारमा यस्तो भएको हुनुपर्छ । तर यसले पाठकमा कस्तो असर पर्न जान्छ भन्ने कुरा विचारणीय छ ।