https://twitter.com/Chirvir

Tweet me @chirvir







Sunday, October 2, 2016

छक्का पन्जाले दुखायो भुँडी

धेरैपछि गत महिना प्रियंका कार्कीद्वारा अभिनित माला हेरेपछि आज अर्को चलचित्र छक्का पन्जा हेर्ने अवसर जुट्यो |
भिन्तुना इन्टर्नेशनलद्वारा भर्जिनियाको लोमेन्स प्लाजामा प्रस्तुत गरिएको यो हास्य चलचित्र हास्य कलाकार दीपा श्री निरौलाद्वारा निर्देशन गरिएको हो | अन्य हास्य कलाकारहरु जितु नेपाल, शिवहरि पौड्याल, दीपकराज गिरी, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, नम्रता सापकोटा आदि कलाकारले अभिनय गरेका छन्। यसो भन्दा यो चलचित्र हास्य कलाकारको सँगम भने हुन्छ |




वैदेशिक रोजगार र यसले भित्र्याएको दुष्परिणाम तथा कुप्रवृत्तिलाइ कथावस्तुको मूल आधार बनाइ निर्माण गरिएको यो चलचित्रमा कुनैपनि कलाकारले आफ्नो अभिनयमा चुकेका छैनन् | त्यसैगरी पहिलो पटक निर्देशनमा ओर्लिएकी दीपाश्रीले पनि सफलतापूर्वक निर्देशन गरेकी छिन् भन्दा अतिशयोक्ति नहोला |
चलचित्रभित्र नाटक गर्ने प्रियंका कार्की कतै कतै सबल र सचेत नारीको रुपमा देखा परेकी भएकी पनि चलचित्रको अन्त्यमा तिनले गरेको नाटक बारेको पर्दा खुल्दा भने पहिले देखिएको तिनको नारीवाद र सचेतता फिक्का पर्न जान्छ | यस बारे निर्देशन, लेखनमा ध्यान नपुर्याएको जस्तो देखिन्छ |
तर थुप्रै हास्य उखान टुक्काहरुलाई संवाद बनाएर दर्शकलाई हँसाउन सक्नु संवाद र पटकथाको खुबी मान्नु पर्ने हुन्छ |
छायांकनकोलागी ड्रोन समेत प्रयोग गरिएको यस हास्य चलचित्रमा कुशल छायाँकन, कुशल संवाद, कुशल सम्पादन र कुशल अभिनयको सङ्गम हो भन्न सकिन्छ |
दुइ घण्टा १० मिनेट अवधिको यो चलचित्रमा खट्किने एउटा विषय चाहिं द्वन्द हो | अर्थात् लोग्ने स्वास्नी बिचका झगडा | एक अर्कालाई थप्पड हान्ने दृश्यले भने अमेरिकामा हुर्कीई रहेका बालबालिकामा सकारात्मक संदेश जान्छ भन्न सकिन्न | चलचित्र हेर्न आफैसँग लग्न बाध्य अभिभावकहरु ति बालबालिकाबाट अबोध प्रश्नको सामना नगर्लान भन्न सकिन्न | तसर्थ, चलचित्रको प्रचार प्रसार गर्दा नै अभिभावकहरुलाई यसबारे केहि सचेत गराउन सके तिनले सावधानी अपनाउंथे होलान् | यस अघि प्रदर्शन गरिएको माला चलचित्रमा बालबालिकाहरु डराएर अभिभावकहरु प्रेक्षालय छोडेर बाहिर निस्कन परेको कुराको साक्षी यो लेखक रहेको छ | त्यसकारण आयोजकहरुले यस बारेमा ध्यान पुर्याउन् भन्ने चाहेको छु |
जे होस्, भिन्तुना इन्टरनेशलले नियमित रुपमा नेपाली चलचित्र प्रदर्शन गर्ने जमर्को गरेको कुरा यससँग सम्बद्ध सुरेश सापकोटाले बताएका छन् | हाम्रो शुभकामना सहित |