https://twitter.com/Chirvir

Tweet me @chirvir







Saturday, October 20, 2012

एउटा रमाईलो दशैँ साँझ

बासु श्रेष्ठ
उडव्रिज

वासिँगटन डिसि क्षेत्रमा बस्ने कलाकारको सँस्था युनाईटेड नेपालले सन् २००९ देखि दशैँको पूर्व सन्ध्यामा  गर्दै आएको दशैँ ईभ कार्यक्रम यस पटकपनि जर्ज मेसन युनिभर्सिटीको एक भव्य प्रेक्ष्यालयमा सफलतापूर्वक सम्पन्न गर्यो । सन् २०११ मा सो कार्यक्रम कारणवश नगरेपनि सन् २०१२ अर्थात यस पटक भने राम्रो तयारी र बन्दोबस्तकासाथ प्रस्तुत भएको थियो ।

लगभग सोह्रवर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका तथा नेपालका चर्चित कलाकार सरोज खनालको सभापतित्वमा गठित सो युनाईटेड नेपालले दशैँ अगाडि यस्तो रमाईलो साँझ प्रस्तुत गर्दै आएको छ । यसका अन्य पदाधिकारीहरुमा कलाकार किरणप्रताप केसी, सुनिल उप्रेती, नाट्यकार नविन केसी, नृत्याँगना सारँगा श्रेष्ठ आदि रहेका छन् ।

तिनचार महिनाको तयारीपछि प्रस्तुत सो दशैँ ईभ कार्यक्रम सफल रहेको थियो । सबै कलाकारहरुले आफ्नो कामबाट विदा लिएर होस या फुर्सतको समयमा होस् नाट्य प्रस्तुतीकोलागी कडा मेहनत गरेका थिए ।

दुई भागमा बाँडिएको सो कार्यक्रमको पहिलो भाग दर्शक दिर्घाबाट लाखे नाचको प्रवेश गर्दै कुमारी पुजाबाट आरम्भ भएको थियो भने लगत्तै गौरी मल्लव्दारा दुर्गा वन्दना नृत्य, सुनिल उप्रेती, रतन सुवेदी, कर्ण दासको गीत, किशोर क्षेत्री, सुजिता, गीता तथा कृष्णको सँयुक्त नृत्य, मरिना लेपर्टको बेली नृत्य, लुना तथा नविन केसीको नृत्य प्रस्तुत गरिएको थियो भने यस साँझको मुख्य आकर्षणको रुपमा रहेको “प्रेयसीका यादहरु” दर्शकहरुले विशेष मन पराएका थिए । स्व. नारायण गोपालव्दारा गाइएका विभिन्न गीतका टुक्राहरुको सँयोजनमा गीती नाटकको रुपमा प्रस्तुत गरिएको यो नौलो प्रकारको प्रस्तुतीमा सरोज खनाल अभिनयमा अझै चुकेका छैनन् र चुक्ने छैनन् भन्ने सन्देश दिन सफल भएका थिए । सरोज खनालकै अवधारणामा निर्मित २० मिनेटको सो गीती नाटकमा उनका पार्टनर असिमाको नाट्य अनुभवको कमी प्रष्ट झल्किन्थ्यो भने सोहि कारणले सरोज खनाललाई प्रस्तुती धान्न असजिलो भएको भएपनि सरोजले कुशलतापूर्वक सो प्रस्तुती पुरा गरेको अनुभव गर्न सकिन्थ्यो । र मध्यान्तरको घोषणा गरिएको थियो ।

मध्यान्तरपछि प्रस्तुत गरिएका कार्यक्रममा महामहिम राजदुत डा. शँकरप्रसाद शर्माव्दारा राजेश हमाललाई सम्मान गरिनुका साथै अन्य कलाकारलाईपनि सम्मान गरिएको थियो । त्यसपछि अगाडि बढेको कार्यक्रममा लोकगीत गायक रामप्रसाद खनालको हास्य लोकगीत, गौरी मल्ल, लुना, नविन केसी र सारँगा श्रेष्ठ अनि राजेश हमाल र करिश्मा मानन्धर तथा आस्थाको नृत्य प्रस्तुत भएको थियो भने गोपाल नेपालको प्रहसनबाट कार्यक्रम अन्त्य भएको थियो

नेपालबाट विशेष निम्तामा आएका महानायक राजेश हमालको उल्लेखित दुई नृत्य प्रस्तुतीमा हमाल खासै जम्न नसकेको अनुभव दर्शकले गरेका थिए । नृत्यको क्रममा खासै अनुहारमा हावभावको अभिव्यक्ति दिन असफल रहेका महानायक यसरी मँचमा कहिल्यै प्रस्तुती नगरेको भन्ने थाहा हुन आयो । तर यसको सट्टा उनलाई सुहाउने एकाँकीको अभिनय गर्न लगाएको भए कार्यक्रममा निखार आउँथ्यो होला भन्ने यो पँक्तिकारलाई लागेको छ । तरपनि ति दुई नृत्यको तयारीकोलागी राजेशले तिन दिन अर्थात नेपालबाट आउने वित्तिकै विहान देखी बेलुकासम्म अभ्यास गरेको जानकारी कोरियोग्राफर नविन केसीले दिएका थिए ।

कार्यक्रमलाई निर्वाध र सफलतापूर्वक सँचालन गर्न उध्घोषकको कुशलतामापनि निर्भर गर्दछ । र यो कुशलता कार्यक्रम उध्घोषिका सुनिता सन्ज्यालमा प्रष्ट देखियो ।

मैले तिमीलाई माया गरेँ, तिमीले अरुलाई माया गर्यौ
तर उसले तिमीलाई होईन अरुलाई नै माया गर्यौ,
त्यसैले तिमीलाई.......... खुच्चिँग"

कहिले उल्लेखित हास्य मुक्तक तथा कहिले शायरी त कहिले जोकहरु सुनाएर दर्शकहरुलाई मनोरँजन दिन सफल रहेकी सँचालिका सुनिता सन्ज्याल एक पेशेवर एमसी झैँ अनुभुत हुन्थ्यो । पर्दा खुल्ने र बन्द हुने तारतम्य बिग्रन लागेको समयमापनि चलाखीपूर्ण दर्शकको ध्यान अन्त मोडेर स्थितिलाई नियन्त्रणमा लिन सफल देखिन्थिन् ।

गौरी मल्लको नृत्य तथा अन्य केहि नृत्यलाई छोडेर अधिकाँश नृत्यमा नविन केसीको कोरियोग्राफि रहेको थियो जसमा नविनको नविनता देख्न पाईन्थ्यो । नीर शाह लगायत थुप्रै कलाकारहरुको कोरियोग्राफि गरिसकेको नविन यस क्षेत्रमा सफल देखिन्छन् ।

विना आर्थिक लाभको लोभमा यि सारा कलाकारहरुले सँयुक्त रुपमा उल्लेखित कार्यक्रमहरु दशैँको पूर्व सन्ध्यामा प्रस्तुत गरेर विदेशको यस क्षेत्रमा बसेका नेपालीहरुलाई आफ्नो घर आँगनको तिर्सना मेटाई दिने प्रयास गरेकोमा ति सबै कलाकारहरु तथा आयोजक प्रशँसाको पात्र बनेका छन् ।

समग्रमा यस भेगका नेपालीहरुलाई युनाईटेड नेपालको यो कार्यक्रम दशैँ ईभले दशैँ आयो भन्ने अनुभुती दिन सफल भएको मान्नुपर्छ र आगामी वर्षहरुमापनि यस्तै र अझ राम्रा कार्यक्रमकासाथ प्रस्तुत हुन सकोस् भन्ने कामना निर्धक्क यो पँक्तिकार गर्दछ ।