https://twitter.com/Chirvir

Tweet me @chirvir







Tuesday, May 29, 2012

अपूर्व सँविधान सभाको अवसानःदोष कसलाई ?


बासु श्रेष्ठ
भर्जिनीया


२००७ साल देखि नेपालीले बोक्दै आएको सँविधान सभाको सपना झण्डै छपन्न सन्ताउन्न वर्षपछि बल्ल पुरा भएको थियो । नेपालको ईतिहासमा सँविधान सभाको चुनाव २०६४ चैत्र २८ का दिन भएको थियो । अनेक आशँका, डर, त्रास र रोमाञ्चले भरिपूर्ण थियो यो निर्वाचन । यसभन्दा अघि दुईपटक अर्थात जेठ २४, २०६४ तथा मँसिर ६, २०६४ मा हुने भनिएको चुनावको मिति सारिएको थियो । त्यसैले यो तेश्रो मितिमापनि सबै आशँकित, सशँकित, सजग, आरोप प्रत्यारोपको मध्यमा अडेको थियो । तरपनि सबैले ईतिहाससतर्फ हेर्दै गौरव गरेका थिए यस सँविधान सभाको निर्वाचनप्रति । अनि कति उत्साह थियो यस निर्वाचनककोलागी । कति सशँकित थिए यसको निर्वाचनप्रति । कति सजग थिए यसको कोमलपना र परिणामप्रति । सबैले बडो हौसला, जोश र जाँगरकासाथ आफुले चुनेका व्यक्तिबाट देशकोलागी सँविधान बन्ने कुरामा ढुक्क भएर मतदान गरेका थिए । तर लामो समयदेखि बोकेको सँविधान सभाको सपना पुरा गर्न जुन हौसला, उत्साह, जोश र जाँगर थियो र त्यसप्रति जुन आशा र सुखद परिणामको अपेक्षा गरेका थिए ति सब जेठ १४, २०६९ मा सजिलै धुलिसार हुन पुग्यो । यो दुखद घटना नेपालकोलागीमात्र होईन प्रजातान्त्रिक पक्षधर विश्वका जोकोहिकोलागीपनि लाजमर्दाे घटना हो ।

तोकिएको समयमा सँविधान निर्माण भएको भए अहिले सोहि सँविधान बमोजिम देश हिँड्न थालेको एक वर्ष हुने थियो । तर ठिक यसको उल्टो जेठ १४, २०६८ कादिन सँविधान ल्याउने भनेर दुईवर्षको म्याण्डेट पाएको यस सँविधान सभाले काम कुरा एकातिर, कुम्लो बोकि ठिमीतिर भने झैँ मूल उदेश्यबाट अभिमूख भई रह्यो । मूलतः सँविधान सभाकोलागी चुनिएका साँसदहरु आआफ्नो दलको पुतली भई रहे । योग्यताको आधारमा नभई वर्गीकरणको आधारमा छानिएका उम्मेदवारहरु दलको झण्डामूनि उभिएर साँसद हुने सौभाग्य पाए । तर न यिनमा (अधिकाँशतः) न कुनै चेतना थियो, न कुनै सजगता थियो, अनि न प्रजातन्त्र न गणतन्त्र या लोकतन्त्रको मूल्य र मान्यता नै बोकेका थिए । बोकेका थिए त केवल दलको झण्डा र दलको स्वार्थपरक निर्देशन । यदि यिनमा माथि भनिएका अभाव रहेका गुणले भरिपूर्ण भएका भए शायद आज सँविधान सभाको अवसान देख्नु पर्दैनथ्यो । सँविधान सभाको अवसान भनेको सम्पूर्ण ६०१ सभासद्को अवसान हुनु हो । यसको अवसानमा जनता त रोए नै तर आफ्नै मृत्युमा यि कति रोएका छन् हामीलाई थाहा छैन । तर स्वतः अनुमान के गर्न सकिन्छ भने सचेतताको अभाव, राष्ट्र्प्रेमको अभाव, आफ्नो कार्यप्रतिको उत्तरदायित्वको अभाव, नैतिकताको अभावको कारण यि जडवत छन्, मुढा जस्तै छन् र यिनमा किञ्चितपनि आत्मग्लानी, लाज र शरमको भावना छैन । यिनमा हिजो र आजमा केहि फरक छैन । बरु रातो पासपोर्ट कसलाई र कसरी बेच्ने या औषधिमूलोको नक्कली बिल कसरी बनाउने भन्ने ध्याउन्नमा लागीरहे । तर यदि जनताप्रति अलिकतिपनि उत्तरदायित्व वहन गरेका भए अवसान भएका यि साँसदहरुबाट अहिलेसम्म क्षमा याचनाको स्वर सुनिई सकिन्थ्यो । तर ख्वै ?

लौ, पहिलो पटक देशमा सँविधान सभाको चुनाव भएकोले माथि भनिएका कमी कमजोरी भए होलान् तर चारवर्षसम्म यिनले सुधारको कुनै लक्षण देखाएनन् । बरु विकृति, कुआचरण कुप्रवृतिकै उद्घाटित भई रह्यो । तथापी जनताले यिनमाथि सहँदै गरे । सहिष्णुता प्रदान गर्दै रहे । किनभने सँविधान निर्माण जस्तो गहन भूमिका निर्वाह गर्न जो दिएका थिए । तर अफसोचको कुरा, तिनै कुत्सित भावना र व्यवहार अनि कमजोरीहरुले गर्दा न आफ्ना दललाई सँविधान निर्माण कार्यमा दवाव दिन लायक रहे । न आफु नै यसप्रति सजग भएको कुनै उदाहरण प्रस्तुत गरे । उपरीमाथी थुपरी भने झैँ यस्ता साँसदहरुका दलका नेताहरुपनि आफ्नै दल र स्वार्थमा निर्लिप्त भएपछि त झन सँविधान निर्माण कार्य पुरा हुने सम्भावना क्षीण हुँदै गएको अनुभव हुन्थ्यो । तैपनि सास रहेसम्म आस गरेका थिए जनताले ।

तरपनि पहिलो पटक दुईवर्षको अवधि नपुग भएकोले अर्काे छ महिनाको म्याद थपियो र त्यसको क्रम बढदै अर्को छ महिना र अर्को छ महिना गर्दै अन्तिम पटक जेठ १४, २०६९ सम्मकोलागी म्याद थप गरियो । यसरी म्याद थप गरिएको समयमा सत्र अठार पटकसम्म प्रधानमन्त्रीको निर्वाचनमा समय खर्चियो । शक्तिकोलागी दलहरुको लोभको यो पराकाष्टाले यिनमा देश र जनता होईन आफुमध्ये को माथि बस्ने भन्ने भावनाको घम्साघम्सी हेर्न जनता बाध्य भए । यिनिहरुको यो घम्साघम्सीसँग वाक्क भएर झलनाथ खनालले थप्पड खाएको घटना त सबैलाई सम्झनै छ होला । तर यति हुँदाहुँदैपनि जनता यिनिहरुप्रति नयाँ सँविधान लिएर सँविधान सभा भवनबाट बाहिर निस्केको दृश्य हेर्न लालायित भईरहे र मूक दर्शक भएर कुर्न बाध्य भए । त्यो मूक दर्शकता सँविधानप्रतिको ठुलो आशाको द्योतक थियो ।

राजनैतिक दलका नेताहरुलेपनि देशको अखण्डतालाई होईन विखण्डतालाई प्राथमिकता दिए । आफ्नो स्वार्थपूर्तिकोलागी जातिय पहिचानको विषयलाई उछालेर एकआपसमा नै वैमनश्यताको विजारोपरण गरे । र त्यहि विजारोपण आफ्नैलागी बुमराँग भएको पत्तै पाएनन् । तर देशले भने यस मामलामा अपूरणीय घाटा नै सहनुपर्यो । किनभने हिजोसम्म रहेको भ्रातृत्व, बसुधैव कुटुम्बकम्को भनाईलाई अक्षरशः पालना गर्ने नेपाली हेर्दा हेर्दै जातजाति र सोहि अनुसारको राज्य या प्रदेश माग्न उद्दत भए । सँविधान निर्माणमा यस मुद्धालेपनि अहम् रुपमा ढिलाई गर्न मद्धत गर्यो

यसरी दलका आआफ्नै करतुत, साँसदहरुको नालायकिपन र अदूरदर्शीताले सँविधान निर्माणको म्याद सकिन लागेपछि सँविधान सभाको पटक पटक म्याद थप्ने क्रममा वृद्धि भएको फलस्वरुप अन्ततोगोत्वा सर्वोच्च अदालतले अब म्याद थप्न पाउँदैनौ, बरु यसको विकल्प खोज भन्ने आदेश जारी गरेपछि दुई करोड जनताको आशाको केन्द्र रहेको चारवर्ष पुरानो सँविधान सभाको स्वतः अवसान भयो । सँविधान सभाको अवसान हुनु नेपाली जनताको सपना पुरा नभएको मात्र हो सपनाको अवसान नै भने पक्कै भएको होईन । तर अबको सँविधान सभा वैज्ञानिक होस, बौद्धिक होस, राष्ट्र्यिताले ओतप्रोत होस्, कुनै जातजातीको नभई सारा नेपालीको प्रतिनिधित्व होस् र यसको आयु छोटो मीठो र सारयुक्त होस् भन्ने चाहना राखेका छन् । पहिलेको जस्तो जम्बो नहोस, खर्चिलो नहोस्, नैतिकवानपनि होस् । यसकोलागी कानुनी बाधा अड्चन आउनेछन्, आउलान् तर त्यसलाई बुद्धिमानीकासाथ निराकरण गर्ने सद्बुद्धि यि हामीले नेता भनेका व्यक्तिमा आओस् भन्ने कामना गर्दैछौँ ।

दोष अरु कसकसलाई?:
मूलतः राजनैतिक दललाई सबैभन्दा बढि अपजस जान्छ । यिनैको स्वार्थको घेराबन्दिमा सारा देश बन्दी भयो । ति राजनैतिक दलका अराजनैतिक क्रियाकलाप जगजाहेर नै छ । तर त्यसैगरि सँविधान सभाका सभामुख सुवासचन्द्र नेम्वाँगलाईपनि उत्तिकै जिम्मेवार मान्न सकिन्छ । दलहरुप्रति आफ्नो अधिकार प्रयोगकोलागी व्हिप जारी नगरी दलहरुकै हाहा हुुहुमा बतासिनु उनको कमजोरी थियो । सँसदमा छानिएका अभिभावकको रुपमा उनले कहिल्यै आफुलाई अभिभावकको रुपमा दह्रो र कडा अनुशासकको रुपमा प्रस्तुत गरेनन् र देशले यो दुर्गतिको सामना गर्नुपर्याे र आफैपनि स्वतः अवसानको शिकार हुनुपर्याे ।

विभिन्न जातजातीका माग र विदेशी हस्तक्षेप या चालः
सँविधानमा आफ्नो स्थान तथा अधिकार सुरक्षित राख्न जागरुक भएका विभिन्न जातजातीका समुहहरुपनि यसप्रति जिम्मेवार नै छन् । तर परोक्ष रुपमा भन्दा यि पनि राजनैतिक दलको कुत्सित विचारबाट प्रभावित भएका हुन् । तर अन्ततोगोत्वा यसलेपनि सँविधान निर्माण प्रक्रिया बाधा पुर्याएको थियो । सबैले के बुझ्नु पर्ने थियो सँविधान भनेको ड्यु प्रोसेस हो । अर्थात यो लागु हुने क्रममा शनैशनै परिपक्वतातर्फ लम्किई रहेको हुन्छ । र यो वयस्क हुन निकै समय लाग्छ । अमेरिकाकै सम्बिधानपनि सँविधान निर्माण भएदेखि दशपटकसम्म सँशोधन भई सकेको छ । तर जे होस्, यस पटक बनेको सँविधानमा आफु छुटियो भने सदाकालागी छुट्टिने अनुभव गरेका ति झुण्ड या समुहले सरकारलाई दवाव दिए । अनि सरकारपनि कसैले बन्द या हडताल गर्नेको मात्रै आवाज सुन्ने प्रवृत्तिको अबलम्बन गरेकोले सबैले सरकारको ध्यानाकर्षणकोलागी बन्द या हडतालकै बाटो अपनाए । यसरी विभिन्न झुण्ड या समुहसँगको वार्तामा सरकारको समय खेर जाने र सोहि अनुसार सँविधान निर्माणमा ढिलाई भएको देखियो ।

विदेशी हस्तक्षेपः एउटा उखान छ 'आफ्नो गाईको दाम्लो बलियो गरी बाँध्नु, अर्काको बारीलाई के को दोष ?' यसकोलागी हामी हाम्रै नेता भनाउँदाहरुलाई दोष दिनुपर्छ । आफ्नो देशको आन्तरिक मामलामा कसैले बोल्न आउँछ भने ति विदेशीहरुलाई माईण्ड योर बिजनेस" भन्ने हुति नभएका नेताहरुले उल्टो तिनका निर्देशनात्मक कुराहरु सुन्ने प्रवृत्तिले दलहरुको एकापसमा अविश्वासको वातावरण सिर्जना गर्यो । जसले स्वभावतः लक्ष्यात्मक उदेश्यमा असर पारेको नै थियो । हिजोसम्म हामीले हाम्रो नेता कुदाकुद गरेर विदेश जाने गरेको पाएका थियौँ । देशमा केहि हुन लाग्यो भने निर्देशन (सल्लाह) कोलागी विदेश जाने लर्को लाग्ने गर्थ्यो । तर त्यो क्रम अहिले रोकिएको छ । किनभने ति निर्देशन दिने विदेशी अब हाम्रै आँगनमा छन् र खुल्लम खुल्ला हाम्रो बैठकमा छिरेर निर्देशन दिने गर्दछन् । नेता हुन मिसन र भिजनको आवश्यकता हुन्छ । तर हामीले हाम्रा कुनैपनि नेतामा यसको अभाव पाउँछौँ । त्यहि अभावको कारणले अन्य विदेशीलाई गुरु थाप्ने प्रचलनले विदेशी हस्तक्षेप निम्तिएको हो । कार्यकर्ताको कार्यावधिको आधारमा केन्द्रिय कमिटीको सदस्य या नेता भएको आधारमा यि दलका नेता भएका हुन् । विदेशीको फोटो आफ्नो पछाडि झुण्ड्याएर देखाउने यिनको कस्तो राष्ट्रियता हो सबैलाई बुझ्न गाहारो छ्रैन । त्यसकारण विदेशी हस्तक्षेपलाई यिनले निम्त्याएको हो, आफैँ बस चढेर आएको होईन ।

पूर्व राजा ज्ञानेन्द्र:
देशलाई आजको यस गतिमा पुर्याउने अपजस अपरोक्ष रुपमा ज्ञानेन्द्रलाईपनि जान्छ । गणतन्त्रको शिकार भएका यि ज्ञानेन्द्रले समय छँदै कुनै लोभ लालचमा या पारिवारिक स्वार्थमा नपरि दूरदर्शितापूर्वक पाईला चालेका भए न उनको विजोग हुन्थ्यो न त देशको यो विजोग हुन्थ्यो होला भन्नेहरु थुप्रै भेटिन्छन् । सत्ता हातमा परेको समय राष्ट्र्को दिर्घकालीन हितलाई मध्यनजर राखेर विद्रोही लगायत सम्पूर्ण दलहरुसँग वार्ताको पाईला चालेर समस्या समाधान गरेका भए उनि एक सफल राजा होईन सफल राजनितिज्ञ हुने थिए । तर चिठ्ठामा परेको सत्ता,मुकुट र शक्तिको महत्व बुझ्ने क्षमताको अभावमा आफ्नो खुट्टामा होईन राष्ट्र्को ढाडमा नै बञ्चरो चलाए ।

अन्त्यमा, अब यि विगतका अक्षम्य गल्ती तथा भूलहरुलाई कोट्याएर केहि फाईदा छैन । जे नहुनु थियो भइसकेको छ । त्यसो भन्दैमा यी गल्तीहरुलाई पूर्णतयाः बेवास्ता गर्नु पनि मूर्खता ठहरिने छ | त्यसकारण यिनै गल्तीहरुबाट अमूल्य शिक्षालिई आगामी भविष्यकोलागी बाटो कोर्नु परेको छ हामीले । माथि नै भनिए झै हामी अझै आशातित छौँ तर बौद्धिकताको, सँयमको, एकताको र अखण्डताको अनि कुशलताको ।

Saturday, May 26, 2012

अनेसासको मतदाता नामावलीमा धाँधली?

यदि तपाईंलाई अनेसासको चुनावमा कसले चासो राख्ला र भन्ने सोच्नु भएको छ भने तपाईंको सोचाई गलत रहेछ भन्ने ठान्नु होस् | अनेसासको मतदाता नामावलीमा तपाईं हामीले चासो नराखे पनि अनेसासमा चासो राख्नेहरुले यसको मतदाता नामावलीमा चासो राख्दा रहेछन | त्यतिमात्र होइन, धाँधली गर्ने र गरेरै चासो राख्दा रहेछन भन्ने कुरा हालसालैका केहि गतिविधिले प्रष्ट परेको छ |
२० वर्षे अनेसासको इतिहासमा दोश्रो पटक हुन लागेको चुनावमा अपूर्ण नै सहि मतदाता नामावली प्रकाशित भए पछि त्यसमा आफ्नो पकड कसरि बनाउने र आफ्नो पक्षमा मत झार्ने भन्ने विचारले नक्कली इमेल एकाउन्ट खडा गरिएको वा मृत्यु भै सकेका सदस्यको नामबाट समेत इमेल फेर्ने वा इमेल एकाउन्ट खडा गरिएको व्यहोरा थाहा हुन आएको छ |
आफ्नो इमेल अध्यावधिक गर्न सदस्य नामावली प्रकाशित गरिएपछि प्राप्त केहि अनुरोधको आधारमा सच्याउँदै जाने क्रममा मृत्यु भैसकेको व्यक्ति (छन्त्याल थर) को नाममा समेत अनुरोध आएपछि अध्यावधिक गरि रहेका अनेसासका वर्तमान अध्यक्ष ज्ञानेन्द्र गदाल झस्किएका हुन् | एक कुराकानीमा हामी नेपालीहरु जाली काम गर्न कत्तिको उद्द्यत रहेछौं भन्ने कुरा प्रमाणित हुन्छ भन्दै यसैको कारणले पहिलो पटक प्रकाशित नामावली नै कायम राख्ने निर्णय गरिएको बताए |
हालसम्म ५५२ सदस्यको नाम रहेको यस मतदाता नामावली अझ कतिको नाम छुटेको छ स्पष्ट थाहा नभएको कुरा पनि गदालले बताए |
अनेसासमा जे जस्तो कमी कमजोरी भए पनि यस प्रति जान चासोमा वृद्धि हुँदै गएको कुरालाई ध्यानमा राख्ने हो र फर्जी मत रोक्ने हो भने वैज्ञानिक र सटिक मतदाता नामावली तयार पर्ने समय आइ सकेको छ | प्रत्येक सदस्यलाई सदस्यता नम्बर प्रदान गर्ने, सोको लागि जन्म मिति तथा अन्य कुनै बलियो परिचय पत्रको आधारमा मतदाता नामवलीमा दर्ता गर्ने परम्परा समयमै नबसाले ढिलो हुने कुरा पक्का छ | के अनेसास यसो गर्न तयार हुन्छ होला ? यो कुरा आगामी निर्वाचित केन्द्रिय कार्य समिति र बोर्ड अफ ट्रष्टिमा निर्भर हुने हुँदा के हुने छ आगामी दिनले नै देखाउने छ |

Sunday, May 20, 2012

एक स्मरणीय साँझ

बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया

सोमवार मे १४ का दिन सगरमाथा टेलिभिजन तथा नेपाल दर्शन टेलिभिजनका सँचालक तथा मित्र राम खरेलले फोन गर्दै नेपालबाट उद्योग वाणिज्य महासँघको एक प्रतिनिधि टोली अमेरिका भ्रमणमा आएको छ । वहाँहरुको सम्मानमा एनआरएन अमेरिकाको तर्फबाट एक रात्री भोज तथा सामान्य कुराकानी गर्ने कार्यक्रम राखिएकोले त्यसमा सहभागी हुन निम्ता दिए । आफुले पत्रकरिता नगरे पनि सो को हैसियतले पाएको त्यस निम्तामा अन्य स्थानीय पत्रकार मित्रहरुकोपनि उपस्थिति पाएँ | राम खरेलजीको तर्फबाट आधिकारिक तवरले पाएको पहिलो निम्ता नकार्ने कुरै थिएन । 'पक्कै आउँछु' भनेँ । फोन विच्छेद भएपछि ला, डिनरकोलागी आफुले कति तिर्नुपर्ने हो र आफुले के गर्नु पर्ने हो सोध्नै बिर्सेछुँ । तर जे भएपनि नेपाल उद्योग वाणिज्य महासँघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा एघार सदस्यीय यो टोली अमेरिकामा रहेको समाचार त पढेकै हो । अनि यस सम्बन्धि केहि कौतुहलता आफ्नो मनमा रहेकोले त्यस कार्यक्रममा सहभागी हुने विचारले अझ दृढ भएँ ।

कार्यक्रममा समयभन्दा पहिले नै पुगीसक्ने मनशायले बाटो समातेपनि ट्रफिकले झण्डै १५ मिनेट ढिलो पुर्यायो । मित्र राम खरेल बाहिर बसेर प्रतिक्षामा रहेछन् । उनकै अगुवाईमा कार्यक्रम कक्षमा गई एक मेच समाति बसियो । केहि चमेना, वाईन या वियर खाईसकेपछि कार्यक्रम आरम्भ गरे राम खरेलले नै । एनआरएनको तर्फबाट यसका वर्तमान अध्यक्ष जिवा लामिछानेले आफुलाई सुरज वैद्यको स्वागतमा एक कार्यक्रम गर्न अनुरोध गरेका उल्लेख गर्दै यस कार्यक्रमको खानपिनको जिम्मा घर ए कवावले समेत लिएको र कार्यक्रम स्थल समेत उपलब्ध गराएको प्रष्ट पारे ।

स्थानीय प्रबुद्ध बर्ग समेतलाई निम्त्याइएको सो कार्यक्रममा आगन्तुक सुरज वैद्य तथा उनका दल लगायत सबैलाई  स्वागत गर्दै उपस्थितहरुलाई आआफ्नो परिचय दिन भनेका राम खरेलले सँघका सुरज वैद्यको मन्तव्यपछि प्रश्नोत्तर कार्यक्रमपनि रहेको बताएपछि मैले आफुपनि त्यसमा सहभागी हुने मनमनै फेरी सोचेँ ।
एघार सदस्यको टोली नेता भएका नेपाल उद्योग वाणिज्य महासँघका सभापति सुरज वैद्यको नेतृत्वमा निर्मलराज पौडेल, टिकाराज ढकाल, मिँगमा दोर्जे शेर्पा, सुभाष पाण्डे, गोपाल खनाल, हेमराज ढकाल,रोशी खनाल, उषा खतिवडा, मिलन महर्जन, छिरिँग लामा तथा प्रविना पाण्डे लगायत सम्पूर्ण आगन्तुकले आआफ्नो ठाउँबाट उठेर आआफ्नो परिचय दिएपछि टोली नेता सुरज वैद्यले नेपालको आर्थिक स्थिति, आर्थिक विकासका सम्भावना, विदेशमा बसेका नेपालीहरुले देशकोलागी गर्न सकिने सम्भावित योगदानहरु असाध्य सकारात्मक ढँगले प्रस्तुत गरेका थिए । तिनले नेपालको बारेमा रत्तिपनि नकारात्मक कुरा गरेनन् । उनि देश र देशको वातावरण, परिस्थितिप्रति यति सकारात्मक भएको पाएँ कि मनमनै सोचेँ यस्तो सकारात्मक सोच राख्ने दशजना देशमा भए कति राम्रो हुने थियो । फेरी उनको यहि र यस्ता सकारात्मक कुराहरु किन कहिल्यै मिडियामा आउँदैन । आए न कोहि न कोहि प्रभावित हुने थिए । तर मिडियाको धर्म नै नकारात्मक समाचार बेचेर आफ्नो पेट पाल्ने भएपछि आप्mनो पेट काट्ने काम कसले गर्थ्यो ? तर म भने उनको प्रस्तृतीबाट असाध्य प्रभावित भएँ । अमेरिका आएको झण्डै १९ वर्षको अन्तरालमा मैले थुप्रै मन्त्री, नेता, गभर्नर, उच्च पदस्थ सरकारी कर्मचारीहरुसँग भेट गर्ने अवसर पाएको छुँ । ति सबैसँगको भेटमा कसैले यस्तो सकारात्मक कुरा गरेका थिएनन् । बरु जिस्केर, ठट्टा गरेरै भएपनि आफुलाई यतै बस्ने बन्दोबस्त मिलाई दिने या आफ्नो सन्तान झिकाउन सहयोग गर्न भन्थे । ति कसैलेपनि 'नेपाल अब राम्रो छ, यो प्रकारले राम्रो भएको छ, आउनोस्, फर्कनोस् देशमा, उतै केहि गरौँ' भनेको सुनिएको थिएन । तर त्यसरी भन्ने पहिलो व्यक्तिको रुपमा मैले सुरज वैद्यलाई भेटेँ । खासै भन्ने हो भने ममात्र होईन त्यहाँ उपस्थित अमेरिकावासी नेपालीहरु सबै मजस्तै प्रभावित भएका थिए र सबैले उनको प्रस्तुतीको प्रशँसा गर्दैथिए ।

सुरजको भनाई अनुसार नेपालमा व्दन्द हुँदाहुँदैपनि विगत केहि वर्षमा वैदेशिक लगानीमा बृद्धि, पर्यटक सँख्यामा सत्ताईस प्रतिशतले बृद्धि भएको छ भन्दै नेपाल गरीबपनि होईन, सानोपनि छैन । यहाँ विकासका थुप्रै सम्भावनाहरु रहेको तर यसको सदुपयोगीहरुको अभाव रहेको जानकारी दिए । वर्षमा एकलाख रोजगारी उत्पन्न गर्न सकेको खण्डमा युवाहरुको विदेशीने क्रम रोकिन सकिने तथा देशको विकासले तिब्रता लिने छ भने ।

उनको त्यस सकारात्मक भनाइपछि प्रश्नोत्तर कार्यक्रमपनि राखिएको थियो । जुन देशको विषयमा नै केन्द्रित थियो । त्यहाँ सोधिएका प्रश्नहरुकोपनि सुरजले सटिक र सँयमपूर्ण उत्तर दिएका थिए । त्यसपछि रात्री भोजन तथा व्यक्तिगत परिचय भएको थियो ।

म घर फर्कंदा बाटोमा यो आजको साँझ चाहिँ मेरोलागी एक अविस्मरणीय साँझ रह्यो भन्ने मनमनै सोच्दै गाडी चलाई रहेको थिएँ ।

Saturday, May 19, 2012

Beware All Nepalese living in USA

Beware All Nepalese living in US:
If you ever get a call from a so called telephone company Neu Era, regarding their cheap rate to Nepal .04c per minute, do not believe them at all. You may even get a call from a Nepali guy whose name is Yogesh Thapa on behalf of Neu Era Telecom. Do not consider him as well. Just tell them that not to call you again.
They will offer you a 90 minutes free per month, and then .04c per minute charge to Nepal and will ask for a deposit $38.95. Later they will charge you .22c per minute which will rip you off easily.
If you can just slap on them and hang up and have no mercy.
The bellow are some complaints found in the websites. Or you also may find some more.

http://www.consumercomplaints.in/complaints/nuera-telecom-c295717.html

http://www.paklinks.com/gs/all-views/346629-new-era-telecom.html

http://www.complaintsboard.com/complaints/neu-era-telecom-california-c499081.html

http://www.my3cents.com/showReview.cgi?id=57485

Wednesday, May 9, 2012

नोमोफोविया


 
बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया

के तपाई नोमोफोवियाबाट ग्रसित हुनुहुन्छ ? अहिले यदि तपाईको खल्तिमा मोबाईल फोन छ भने पक्कैपनि यो रोगबाट ग्रसित हुनुहुन्छ । No Mobile Phone Phobia हो यसको पुरा अर्थ । अर्थात मोबाईल फोन नहोला कि भन्ने डरले त्रसित व्यक्ति नै यस रोगबाट ग्रसित हुनु हो । र यो रोगको रोगीको सँख्या दिनहुँ बढदैछ भन्ने ल्फोरिडामा गरिएको एक अध्ययनले देखाएको छ ।
जहाँ जाँदापनि साथै लग्नु, अझ भनौँ भने बाथरुममा लघुशँका होस् या दीर्घशँका गर्न पसेको होस् उसले मोबाईल फोन बोकेकै हुन्छ । मानौँ उ अत्यन्त जरुरी फोनको प्रतिक्षामा छ या मोबाईल फोन छोड्ने कुनै सुरक्षित ठाउँ नै छैन । मोबाईलमा मसँग कुरा गर्ने अर्को तर्फको व्यक्तिले सौच गरी ल्फस गरेको आवाजपनि मैले सुनेको छुँ । अर्थात ति व्यक्ति सौच र फोन दुबै एकैपटक गरिरहेको पाएको छुँ । कतिजनाले लघुशँका गर्दागर्दै मैले गरेको फोनको उत्तर दिएको अनुभव गरेको छुँ । ति व्यक्ति न त करोडौँको कारोबार गर्ने व्यक्ति हुन् न त छिन् छिनमा फेरिइरहने राजनैतिक दलको नेता या कार्यकर्ता हुन् जसले मोबाईल एकछिन छोडेको खण्डमा पहिरो नै जानेछ । न त ति कुनै शेयर बजारसँग आबद्ध छन् जसले छिन छिनको खबर थाहा पाई राख्न परोस् । तर ति कसैले मोबाईल छोडेका हुन्नन र छोड्न चाहँदैनन् पनि ।
केहि वर्षअघिसम्म म मोबाईल फोनको सौखिन थिइनँ । थुप्रैले मोबाईल बोक्दापनि आफुलाई कहिल्यै रहर लागेन । तर घरको सल्लाह र यसको उपयोगितालाई ध्यानमा राखेर अन्ततोगोत्वा लिएँ । जुन दिन देखि मोबाईल मैले बोकेँ त्यस दिन देखि दिनको पचास पटक खल्तीबाट झिक्दै हेर्दै, खल्तीमा राख्ने गरेको छुँ । कसैको फोन नआए किन कसैको फोन आएन भनेर ओल्टाई पल्टाई कतै रिँगर अफ छ कि भन्दै हेर्नु, त्यसै कतै मिस कल छ कि भनेर हेर्नु, कण्ट्याक्ट व्यक्तिहरुको नामावली स्वार्रररर स्वार्रररर तलमाथी गर्दै हेर्नु, अनि खल्तिमा राख्नु, फेरी झिक्नु आदि मोबाईलप्रतिको आशक्ति हो । कतिपटक कतै जाँदा मोबाईल छुट्यो भने सँसार नै बिते सरह या आफ्नो मुटु नै छोडे सरह यथाशिघ्र फर्केर मोबाईल लिन पुगेको छुँ । आखिर न कसैको फोन आएको हुन्छ न त कसैलाई गर्नु नै परेको हुन्छ । त्यसैले यो शरीरको यस्तो अभिन्न अँग भएको छ कि यो विना अपूर्ण अनुभव गरिन्छ । यसै अनुभवलाई मोनोफोविया भनिन्छ ।
फेरी मोबाईल फोनले हामी सबैलाई व्यक्तिवादीपनि बनाएको छ भन्ने हामीले कत्तिको अनुभव गरेका छौँ कुन्नी । किनभने दुईचार जना बसेर केहि गफ या कुराकानी गरिरहेकोमध्ये अधिकाँशहरु मोबाईल हातमा लिएर स्वार्ररररर स्वार्र्रररर चलाई रहेको हुन्छ । या टेक्स्टिँग गरिरहेको हुन्छ । यो एक प्रकारले सामुन्ने बस्ने व्यक्तिप्रतिको अनुभिरुचीको नमूना हो ।
मोबाईल फोन आफन्तसँग सम्पर्कमा रहिरहने उत्तम साधन भएकोले नै यसो भएको होला । कुनैपनि भिड या सडकमा हेर्नुस्, दुखेको कानमा हात राखेर सञ्चोका अनुभूति गरेझैँ सबैले कानमा हात पुर्याएका हुन्छन् । कसैले जनै झुण्ड्याए झैँ दुबै कानमा एयरपिस घुसाएका हुन्छन् त कसैले निलदन्त (ब्लु टुथ) कानमा मुन्द्रि झैँ घुसारेका हुन्छन् । अनि एक्लै बरबर गरिरहेका हुन्छन् । मानौँ सबैलाई एक्लै बोल्ने रोगले सताएको छ ।
अहिले त झन् स्मार्ट फोनको नाममा आईफोन, विण्डोज फोन, एण्ड्रेइड आदि आदिले झन सबैलाई व्यक्तिवादी बनाएको छ । साथमा कोहि नचाहिने । टाढाकोसँग मोबाईलमा कुरा गर्यो या गीत सँगीत सुन्यो ।
जे भएपनि मोबाईल फोन अहिलेको समयमा सबैको प्रिय र अभिन्न अँग भएको छ । अनि आफ्ना सम्पुर्ण सूचनाहरु, फोटोहरु, गीतसँगीतहरु यसैमा सँचय गरेका हुन्छन् । अनि यस्तो अभिन्न अँग कतै छुट्ला कि या हराउला कि या कसैले चोरी गर्ला कि भन्ने त्रासले सबैलाई सताएको हुन्छ र यहि त्रास नै नोमोफोविया हो

Sunday, May 6, 2012

मागी मागी छोराऽऽऽ बे

बासु श्रेष्ठ, (उडव्रिज, भर्जिनीया)


शिर्षक पढेर तपाईले के अर्थ्याउनु भो कुन्नी मैले चैँ 'नसक्नेले बेमतलबको स्वाँग रचेर ढ्वाँग फुक्नु हो' भन्ने अर्थ्याएको छुँ । गन्हाउने सास हुनेले ल्वांग मुखमा हालेर स्वाँग पार्या झैँ हो | त्यस्तो स्वाँग पारेर के गर्नु ? बेहोर भने भ्वांग पर्या हुन्छ | यस्तो स्वाँग पार्नेलाई त हुने भए टाउकामा ट्वाँग हान्न मन लाग्छ | तर के गर्नु, स्वाँग पार्नेले पारेकै छ | अर्थात हातमा पैसा न कौडी, बजारतिर दौडी । माथीको शिर्षकलेपनि त्यै भन्छ । मागी मागी छोरा बे किन गर्नुपर्यो होला कसैलाई ? बुआरी खुसुक्क भित्र्याए त भैगो नि । ढ्वाँग फुकेरै भित्र्याउनु पर्छ र ? त्यसकोलागी दाम दुमडी नचाहिने भे त हो त नि । दाम दुमडी नि चाहिने, अनि त्यो चैँ छैन तर रहर चैँ पुरा गर्नुपर्ने रे । अनि त्यो पनि मागी मागी । अनि फेरी त्योपनि आफ्नो बे हो र ? छोराको बे । यसैले मैले भनेको हुँ 'स्वाँग रचेर ढ्वाँग फुक्नु ।'

हुन त हामी नेपालीहरु छोराको बेकोलागीमात्र काँ स्वाँग पार्छौं र ? दिव्य दृष्टिले हेर्नुभयो भने उत्तर देखि दख्खिन, पूर्वदेखि पश्चिम नेपालका हामी मनुवाहरुलाई यस्तै यस्तै रहर लागेको हुन्छ । सरकारमा बस्ने हुन् कि सडकमा बस्ने हुन्, महलमा बस्ने हुन् कि सार्वजनिक हलमा बस्ने हुन् सबैले यस्तै काँचो रहर पालेका छन् ।

नपत्याए अहिले ग्यासकै कुरा गरौँ । यो ग्यास भन्ने जिनिस न हामीकाँ बन्छ, न पाईन्छ । तर सोख गर्ने नामाँ हाम्ले ग्यास चुलो जहाजाँ हालेर विदेशबाट शान दे'र मगाउँछौँ, अनि ग्यास चैँ काधाँ बोकेर होस् या डोकोमा बोकेर होस् भित्र्याउँछौँ । यतिन्जेल त ठिकै छ रे लौ । तर जुन दिन 'साहुकाँ ग्यास सिद्ध्यो' भन्ने हल्ला चल्छ त्याँदेखि सबैको कन्त विजोग भा'को मैले देख्या छुँ । रित्तो ग्यासको सिलिण्डर बोकेर यो पसल, त्यो पसल गर्दा कम्ता गारो हुन्न । बल्ल बल्ल पाइहालेपनि राउ जस्तो साउले भन्या दराँ लिनुपर्ने हुन्छ । नलेर के गर्ने, भोकै बस्नु भे', तर खल्तीको क्यास चैँ महँगो ग्यासको नाममा झ्याम । अब, यै ग्यास हाम्रै नेपालाँ ठ्वास्स पाईदे'को भे' कति सजिलो हुन्थ्यो । आफ्नो माल, आफ्नै चाल हुन्थ्यो । आफ्नै मादल, आफ्नै ताल हुन्थ्यो । अनि राष्ट्रको क्यास भनौँ तपाई हाम्रो क्यास अहिल्या̕ ठिटाहरु विदेशीएका झैँ विदेशीने त थिएन । याँ त मागी मागी छोरा बे । तर तपाई भन्नु होला नि 'ति ठिटा त एकदिन फर्किहाल्छन् नि ।' तर म के भन्छु भने 'तिनमा भ'को करेण्ट अ‍ैले देशमा चलाउन पा' पो काम लाग्छ त । ति आउने बेलाँ चाउरेर आउँछन् । हात पाखुराका मासु झोल्लिइ सक्या हुन्छ । त्यतिखेर के काम । रिटायर्ड लाईफ पो विताउँछन् त ।' त्यसकारण तिनमा भ'को करेण्ट र ग्यासमा हालेको पैसा अहिले बाहिर गयो गयो, मरे नि फर्कन्न । अनि भेन मागी मागी छोरा बे ?

हुन त कसैले मलाई 'ए दाउरे, यो ग्यास नभा भे अहिल्या जंगल रहि रहन्थ्यो' भनेर सोध्लान पनि | त्यसरी सोध्नेलाई मेरो जवाफ हुनेछ- कहिलेमात्र जंगल रहेको छ र | ग्यास बालेर जंगलको बचत त भा छ हो तर त्यो तस्कर गर्नेहरुलाईमात्र ठिक्क भा चैं खोइ दिमागमा पस्या नि ?
 नभा क्यास हाली हाली ग्यास किन्यो, जंगल बचायो, तस्करलाई ठिक्क, अनि हुन्न मन दिक्क ?

अर्को कुरा
, मोटराँ हाल्नी प्याट्रोल नि त्यस्तै त हो । तर प्याट्रोल नि हामीकाँ बन्दैन । प्याट्रोल जस्तै पानी त छ नि । दिनरात त्यो प्याट्रोलरुपी पानी कुद्या कुदै छ । तर माल पा'र चाल पा' पो हाम्रा नेताहरुले । लौ है, कुरा भाँडिन थाल्यो । सँविधान बनाउन भाँडिया जस्तो । जे होस् नेता देखि जनता सबैलाई करोडपर्ने मोटर नेपालको थोत्रो र आन्द्राजस्तो मसिनो रोडमा कुदाउनु पर्या छ । त्योपनि बेला बेलाँ प्याट्रोल नपाएर कन्त विजोग । त्यसो त करोड पर्नेमात्र किन हुन्थ्यो र, सलाईको बट्टा जस्तो दुईचार लाखाँ पाउने नि गाडी छन् केरे । जसले करोड बेहोर्न सक्दैनन् तिनले सलाई किन्छन् । तर तिनलाईपनि प्याट्रोल नभै हुन्न । सदा सर्वदा, बाह्रै महिना, बाह्रै काल गण्डकि कोशी बग्या झै प्याट्रोल नि सललल बगे पो सलाई चढे नि जिप चढे नि मज्जा आउँथ्यो । तर ह्याँ पनि मागी मागी छोरा बे । जुनदिन प्याट्रोल भन्ने अमृत सकेको खबर चल्छ, अनि ति प्याट्रोल वाहनलाई चढेर, घचेटेर, घिसारेर विरामीलाई वैद्य वाकाँ लग्या जस्तो अमृत ख्वाउन लैजानु पर्छ । अनि लामको लामो लर्को देखिन्छ । यसमा अर्को थरी पनि मिसिएको हुन्छ भटभटे । यो भट्भटे नभा त घरै छैन । जसरी अहिले नेपालाँ कुनै पनि परिवारमा विदेश नजाने घरै छैन त्यसै गरि धेरैले घराँ भटभटे पाल्या हुन्छन् । जे भे नि यि सब मोटरकार, भटभटेका रहर हुने हाम्लाई प्याट्रोलको चटारोले जतिसुकै पेलेपनि हाम्ले यो रहर छोडेका छैनौ । अनि भेन मागी मागी छोरा' बे ? पितिक्क बिरालोको मूत झैँ अलिकति प्याट्रोल जर्किनमा हालेर घर आउँदा उसले नाक घिरौँला भन्दा नि ठुलो बनाएको हुन्छ मानौँ उ सँसारलाई पछारेर आ'को छ । एकछिन अघिसम्म लाईनमा कतिचोटि पछारियो त्यसको चैँ बाल मतलब छैन ।

त्यसो त ग्यासकोमात्रै के कुरा गरम् र । अब हाम्रा बाउरामले गँडतन्त्र इस्मारक बनाउने रे किर्तिपुराँ । अनि त्यो बनाउन चैँ एक अरब एक्काईस करोड चाहिने रे । तर त्यो पैसा काँबाट आउँछ होला भन्ने हाम्लाई लाई राख्या छ । जे गर्न नि विदेशीको मुखाँ हेर्नुपर्ने हाम्ले यत्रो रकम यस्तो सुइरो झैँ खामो बनाउनलाई खर्च गर्ने रे । व्हाँ गाउँघराँ, पहाडाँ पुल नभेर तुर्लुँगमा तुर्लुँ....ग झुण्डेर मान्छेहरु आउजाउ गरिराख्या छन् । त्यै पैसाले त्याँ पुल बनाई दे कति जाति हुन्थ्यो । नभे, कति स्कूले बच्चाहरु नाममात्रको स्कूलाँ बाहिर चौराँ बसेर पढ्नु परिराख्या छ, तिनलाई त्यै चैने स्कूल बनाई दे' हुन्थ्यो । तर मागी मागी छोरा बे गर्ने हाम्रो बानी भा'कोले त्यतातिर के बुद्धि जान्थ्यो र ? उसमाथी यै स्तम्भ रत्नपार्काँ राख्ने भनेर माकुनेले उद्घाटन गर्दा 'पेरीसको आईफल टावर जस्तै बनाउ है' भनेर आदेश दि बक्स्या 'थ्यो रे । म त्याँ भैद्या भे 'ईस् खा.. पैसा नि पेरीसबाट आउँछ कि' भनेर सोध्ने थेँ । फेरी घरमा खानलाई जाईफल छैन आईफलको नक्कल गर्नुपर्ने । अनि त भनेको नि मागी मागी छोरा बे ।

यै बेलाँ मैले प्रपुले सगरमाथा चढ्ने भनेर हिन्या खबर पनि सुनेँ । बाउरामबाट दुई करोड फुत्काई सक्या 'थ्यो । बाउरामलाई नि के 'थ्यो र? आफ्नो जाने होइन । यामीको जाने होईन । दिएछन् ख्वात्तै 'लाउ, बाउ लाउ' भन्दै । नदिए बाउको बाउबाट खप्की सुन्नु पर्ने 'थ्यो क्यारे । के गर्नु, तपाई हामीले कर बलले तिरेको करको पैसा उसले रहरै रहरमा झण्डै उडाई देको थियो । त्यो त धन्न नेपालीको एकले अर्काको खुट्टा तान्ने बानी भ'को भे'र सब चिच्याएर, कराएर पैसा फिर्ता दिनुपर्यो विचराले । सर्वहारा वर्गकोलागी जिउ ज्यान फालेर लागेका बाउको त्यस्तो छोराको चाला देखेर मन उदेकमात्र होईन झण्डै हुलुक्क नि भाथ्यो मेरो । सरकारसँग लेर, बरु उल्टो सरकारलाई राजस्व नै नतिरी सगरमाथा चढ्न हिँडेका प्रपुको पारापनि मागी मागी छोरा बे भन्या झैँ भाथ्यो । बरु त्यै पैसाले सर्वहारा वर्गलाई यसो बाँड्या भे कति आशिक लाग्ने थ्यो नाई । तर के गर्नु र, बुद्धिमा बिर्को लागेपछि मागी मागी भे नि सगरमाथा चढनै पर्ने । आखिराँ नाकाँ ठोसो बोकेर फर्केछन् । भको नाक नि सिद्ध्याएर । हुन त नाकै भन्न लायकको नाक त काँ थ्यो र ? हेर्दा फुलौरा टाँस्या जस्तो ।

तपाईपनि मागी मागी छोरा बे कत्तिको गर्नुहुन्छ कोनी । गर्ने भे आफ्नो बे मागी मागी गर्नुम नि हाल्दिउँला यस्सो तपाईको ट्वाकाँ एक दुई सिक्का ट्याँगर्याँग खसालेर । तर मागी मागी छोरा बे चैँ कत्ति नगर्नुस है । सुहाउँदैन के, पटक्कै सुहाउँदैन ।