https://twitter.com/Chirvir

Tweet me @chirvir







Sunday, September 2, 2012

.....छ भने अमेरिका जाउँ


बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया


रोजगारी तथा शिक्षाकोलागी जन्मथलोबाट सदरमुकाम हुँदै राजधानी र विदेश जानु नयाँ कुरा होईन न त यो हामी नेपालीकोमात्र चलन हो । यस्तो चलन अविकसित तथा विकासोन्मुख राष्ट्र्वासीकोमात्र होइन कि विकसति राष्ट्र्का व्यक्तिहरुपनि वैदेशिक रोजगारकोलागी बाहिर गएका छन् । नभए बेलायत या जर्मनी या फ्रान्सका मानिस किन अमेरिका आउँथे या कोहि अमेरिकाबाट ति देशमा किन जान्थे? र यो प्रथा निकै पुरानोपनि हो । वैदेशिक रोजगारकोलागी प्रत्येक मुलुकबाट प्रत्येक मुलुकमा मानिसहरु गई रहेका हुन्छन । या त आफ्नो थलोमा अवसरको कमी देखेर या साँच्चै नै अवसरको अभाव भएको देखेर । उदाहरणकोलागी भारतीयहरु रोजगारकोलागी हाम्रो देशमा दिनहुँ आई रहेका छन् । त्यसको ठिक उल्टो हामी नेपालीहरु दिनहुँ विदेशतर्फ लागीरहेका छौँ । मलाई एकजना साथीको भनाई यहाँ राख्न मन लाग्योः एकपटक कलकत्ताबाट काठमाण्डौँ आउने हवाईजहाजमा कलकत्ताका एकजना वासिन्दा उनिसँगै परेछन् । कुराकानीको क्रममा ति वासिन्दाले नेपालमा बसोबास गर्ने र कारोवार गर्ने मनसुवाले नेपाल जान लागेका बताएछन् । मेरा ति साथी (जो नेपालमा केहि छैन, केहि गर्न सकिन्न भन्ने हामी जस्तै मनस्थिति भएका)ले सोधेछन् “नेपालमा तिमिले त्यस्तो के देख्यौ र ?” ति कलकतियाले नेपालमा चारैतिर पैसै पैसा छ, मात्र त्यसलाई टिप्न जान्नुपर्छ र कसरी टिप्ने त्यो मलाई थाहा छ भनेछन् । र यो कुरा एकदम ठिकपनि हो । अवसर र उपायको अन्त नेपालमा कदापी भएको छैन । तर हामी अल्छि, अनुद्योगी र हतारमा धनी हुने मनशाय भएकोले ति अवसर र उपाय हाम्रालागी अदृश्य या दृष्टिगोचर भई दिन्छन् । फलतः हामी आफ्नै वीनाको खोजीमा विदेश विदेश चाहार्ने जमर्को गर्छौं अनि मानवतस्करको धन्दालाई विकसित तुल्याउँदै, उनिहरुलाई पोस्ने अनि आफु र आफन्तलाई मारिरहेका छौ ।

प्रसँग हो हालसालै प्रकाशित भएको समाचार जसमा २५-३० लाख रुपैँया भन्दा बढि दलालमार्फत खर्च गरेर अमेरिकाको कठिनपूर्ण यात्रा गर्ने मृगतृष्णित नेपालीहरुको जसले अमेरिकाको सपनाको बोझले बाटोमा आईपर्ने कष्ट, दुख र जेलयात्राको कुनै परिकल्पना गर्दैनन् । अमेरिकी सपनाले तिनका आँखामा या त ति आसन्न कठिनहरुको बारेमा सोच्न मस्तिष्कलाई पारालाईज गरिदिन्छन् या त त्यसतर्फ निस्फिक्रि जानाजान बेवास्ता गरिदिन्छन् । किनभने मानवतस्करको लोभ लाग्दा र आशलाग्दा भनाईहरुले उनिहरुको आँखामा रँगीन सपना यसरी पोतिदिएका हुन्छन् कि ति जाबो २५-३० लाख रुपैँया केहि होईन र शुरु हुन्छ कठिन यात्रा । अनि जब कुनै विरानो मुलुकमा दलालको बेईमानी अथवा त्यस देशको कानुनी पञ्जामा पर्छन अनिमात्र तिनको चेत खुल्छ । अनिमात्र २५-३० लाखको मूल्य थाहा हुन्छ । अनिमात्र जिउ र ज्यानकोमाया लाग्ने हुन्छ । तर त्यतिबेला समय घर्किई सकेको हुन्छ । सिवाय रुने, कराउने या आत्महत्या गर्ने बाहेक अरु उपाय हुन्न । यस्तो अवस्थामा देशमा रहेको आफ्नो परिवारले थाहा नपाएसम्म उनिहरुपनि रँगीन सपनामा नै डुबीरहेका हुन्छन् र जब यो विपतको बारेमा थाहा पाउँछन् उनिहरुमापनि अफसोच र आपतको पहाड खस्छ । एकछिन्को लोभ र अन्धताले परिवारका कतिजनामा आपत आईलाग्छ त्यो बेहोर्नेलाई नै थाहा हुन्छ । ऋण लिने त डुब्यो डुब्यो, ऋण दिनेपनि मानसिक तनावमा डुब्छ । ऋण दिएको ठुलो रकम डुबेपछि उसको परिवारमापनि हलचल र तरँग उत्पन्न हुन्छ ।

मानवतस्करलाई पैसा खुवाएर अमेरिका पस्ने सपना बोकेकाहरुको यात्रा अमेरिकामा नै आएर टुँगिएपनि सुखका दिन शुरु हुन्छ भन्ने ग्यारेण्टि हुँदैन । एक त यस्तो अवैध बाटोबाट सबैजना अमेरिका पस्छन् भन्ने नै ग्यारेण्टि छैन । किनभने एक त अमेरिका आउने बाटोमा पर्ने विभिन्न दक्षिणी मुलुकहरुमा नै समातिने सम्भावना हुन्छ तर कथम ति सम्भावना पार भएपनि अमेरिकाको सिमानामा चौविसै घण्टा अमेरिकी अध्यागमनका प्रहरीहरु अत्याधुनिक हतियारका साथ स्थल र आकाशबाट पहरा दिई रहेका हुन्छन् । यसको बारेमा यहाँ हेर्नुहोला । र योपनि हेर्नुहोला । तर कथम यि पहरालाईपनि छलेर अमेरिका पस्न सफल भई हालियो भनेपनि डलर खेति त्यसै शुरु हुँदैन । मेरो एकजना मित्र समुद्रिबाटोमा छ महिनाको अवधि लगाएर क्यानाडाबाट ट्र्कको पँजाबी ड्र्राईभरको सिटमुनी गुन्द्रुक खाँदिए झै खाँदिएर अमेरिका त पसे । यसकोलागी तिनले झण्डै दशवर्ष अगाडि छ लाख रुपैँया खर्च गरेका रहेछन् । अमेरिकामा आफुले सोचेभन्दा तल्लो स्तरको काम गर्नुपर्ने र भनेजति आम्दानी नहुने अनि भएको आम्दानीले खान र बस्न नै नपुग भएपछि उनको ठुलो गुनासो सुनिन्थ्यो । उनलाई अमेरिका आउनुअघि त्यो छलाख जति सानो लागेको थियो अमेरिका पसेपछि त्यो छलाख त्यति नै ठुलो र बोझ बनेको थियो । अहिले उनि देश फर्की सकेका छन् |

सबैजना ति मित्रजस्तो भाग्यमानी हुँदैनन् । अमेरिकास्थित नेपाली दूतावासमा कामगर्ने मेरा एक मित्र यसरी विभिन्न दक्षिणी अमेरिकी मुलुकमा समातिएका नेपालीहरुलाई ति समातिएका मुलुकबाट नेपाल डिपोर्टेशनकोलागी कागजात बनाउने काममा अति व्यस्त भएको देखेको छुँ । अर्थात जति अवैध ढँगबाट अमेरिका पस्नेको सँख्या बढ्दो छ त्यति नै पक्राउ पर्ने र डिपोर्टेशनको सँख्यापनि बढ्दो छ । त्यसकारण यसतर्फ सोच्दै नसोचेको राम्रो र फलदायी र आनन्ददायी हुन्छ भन्ने मलाई लाग्छ । अमेरिका मेरो अर्थमा बम्बईको लड्डु हो जो खान्छ, पछुताउँछ, जो खाँदैन उपनि पछुताउँछ । तर दुख खाएर पछुताउनु भन्दा आरामकासाथ नै पछुताउनु बेश होला भन्ने मलाई लाग्छ ।

माथी नै भने झैँ अमेरिका पसि हालियो भनेपनि डलरको खेती शुरु हुँदैन । किनभने तपाईमा जस्तोसुकै शीप छ भनेपनि एक) स्थापित ठुला साना कुनैपनि कम्पनिहरुले कसैलाई यहाँको वर्कपरमिट बिना काम दिँदैन । त्यस्ता कम्पनिहरुमा कामगर्न शुरुमानै दुई कुराको आवश्यक पर्छ त्यो हो यहाँको सोसल सेक्युरिटी नम्बर जो कसैको कसैसँग मेल खाँदैन । दोश्रो) वर्क परमिट । यि दुबै उपलब्ध गराउने भिन्दा भिन्दै निकाय हुन् । वर्कपरमिट उपलब्ध गराउने अध्यागमन कार्यालयको पत्रको आधारमा सोसल सेक्युरिटी नम्बर उपलब्ध हुन्छ । तर अध्यागमन कार्यालयबाट त्यस्तो पत्र पाउनकोलागी सो व्यक्ति अमेरिकी सरकारबाट बसोबासको स्विकृति पाएर अमेरिका आएको हुनुपर्छ । अर्थात डिभी परेर या पारिवारिक स्पोन्सरबाट आएको हुनुपर्छ । तर माथिको बाटोबाट आउनेले त बाटोमा नै पासपोर्ट फालेर आफु परिचय विहिन भैसकेको अवस्थामा यि केहि पनि पाउने सम्भावन नै रहन्न ।

त्यसकारण अमेरिका पस्ने ति भाग्यमानीले या त भारतीय या पाकिस्तानी या बँगाली या चाईनिज या मूलतः अन्य आप्रवासीको रेष्टुराँ या ग्यास स्टेशन या यस्तै कुनै सानोतिनो व्यवशायमा काम गर्ने बाहेक अरु उपाय हुन्न । र यि कामदाताहरुलाई काम खोज्ने व्यक्तिको कमजोरी थाहा पाएको आधारमा चाहे जति प्रतिघण्टाको अर्थात् कम भन्दा कम प्रतिघण्टाको हिसाबले काममा लगाउँछन् अनि चाहेको घण्टाजति अर्थात् बढी भन्दा बढी । अमेरिकी केन्द्रिय सरकारको निर्णय अनुसार अहिले न्यूनतम प्रतिघण्टा ज्याला ७.२५ डलर हो र हप्ताको ४० घन्टा बढी काम गर्नेलाई डेढी ओभरटाइम दिनु पर्ने प्रावधान छ | तरपनि अक्सर जहाँपनि ७.२५ भन्दा बढि नै मानिसले पाई रहेका हुन्छन् । तर यसको ठिक उल्टो अवैधहरुलाई काम दिने र कमजोरी थाहा पाउने माथिका कामदाताहरुले भने यसभन्दा कम र दिनको चौध पन्ध्रघण्टासम्म काममा लगाउँछन् । यो सिधै मानव शोषण हो तर यसको बाटो खोलिदिनेपनि हामी नै हौँ । त्यसकारण मानौँ कसैले दिनको १४ घण्टा काम गरेपनि दिनको १०१ डलर हुन्छ र सातैदिन काम गर्यो भने हप्ताको ७१० र महिनाको २८४० डलर कमाउँछ । यदि आय कर नकटाउने हो भने । कारिन्दाको कमजोरी बुझेर काम दिने ति कामदाताले आयकर भनेर करको रकम कटायो भने झण्डै १९८९ डलर महिनाको हात पर्ने हुन्छ । किन मेरो कर काटेको भनि विरोध गर्ने हिम्मत शायदै कसैले गर्ला किनभने बल्ल बल्ल पाएको कामपनि गुम्ला भन्ने डर हुन्छ । त्यस आम्दानीबाट खाना लगायत वासकोलागी खर्च हुँदा बचतको खासै बाटो देखिन्न । किनभने आम्दानीको सबैभन्दा ठुलो भाग नै कोठाको भाडामा पर्ने हुन्छ । जस्तै सस्तो र समूहमा बसेपनि कोठाको भाडा महिनाको कम्तिमा ५ देखि ६ शयसम्म पर्नेहुन्छ । तर यो बेस्ट सिनारियोको आधारमा कल्पना गरिएको हो । सबैमा यो कल्पना लागु हुनसक्छ भन्ने छैन । तरपनि सातैदिन, दिनको १४ १५ घण्टा त्योपनि शारिरिक काम गर्दा शरीरले कति मानसिक यातना पाउने गर्छ सहजै कल्पना गर्नसकिन्छ । कल्पना नगरेको काम, लामो घण्टाको कामपछि घर पुग्दा छुट्टिएको परिवारको सम्झनाले जोपनि चाँडै विक्षिप्त बन्न सक्छ ।

तर दलाललाई दिईने त्यो २४-२५ लाखको सट्टा त्यस रकमको पाँचभागको एकभागजतिमात्र खर्च गरेर कुनै सानोतिनो पसल या उद्यम गरेर बसे यि सब झण्झटबाट मुक्त भइने कुरा कसैले सोचिदिए हुनेथियो ।

यि त भए दलालमार्फत चोरीको बाटो अमेरिका पस्ने या पस्ने सपना देख्नेहरुको कुरा । अर्कोथरी पनि छन् जो कानुनी प्रक्रिया पुरा गरेर ठुलै सपनाकासाथ भिसा लगाएर अमेरिका पुग्छन् । टुरिष्ट या अन्य कुनैपनि भिसा (जसले अमेरिकामा काम गर्न प्रतिबन्ध लगाएको हुन्छ) लिएर यतै बस्ने विचारले आउनेकोपनि हालत झण्डै झण्डै उस्तै हुन्छ । तर यस्तो भिसामा आउनेहरुकोलागी भने केहि वैधबाटो खुलेका हुन्छन् । जस्तै कलेज भर्ना हुने र बसाईको अवधि लम्ब्याउने र ग्रीनकार्डकोलागी प्रक्रिया शुरु गर्ने । तर ग्रीनकार्डको प्रक्रिया शुरु गरेर हात नपरुन्जेल उसले आफुलाई वैध नै बनाई राखेको हुनुपर्छ । जसकोलागी कलेजको नियमित र पूर्णकालीन विद्यार्थी भई रहनुपर्यो, कलेजकोलागी फिको जोहो गर्नुपर्यो, त्यसकोलागी काम गर्नुपर्यो । उता स्पोन्सर गर्ने कामदाताले आफुकहाँ बढि भन्दा बढि घण्टा र कम भन्दा कम तलबमा काम गरोस् भन्ने चाहेको हुन्छ । अनि पूर्णकालीन कलेज, लामो समयको काम गर्दा गर्दै उ चाँडै नै थाकिसकेको हुन्छ ।

तर यसलाई नकारात्मक ढँगले नलिई यो सँघर्ष हो पनि भन्न सकिन्छ । अमेरिका मौकाको देश हो । शीप, प्रविधि र बुद्धि छ भने उ तुरुन्तै विक्छ र रातारात प्रख्यात हुनपुग्छ । यसका थुप्रै उदाहरणहरु छन् । तर सबैभन्दा पहिले उ वैध हुनुपर्यो ।

कोहि अमेरिका आउन चाहनु कसैको अधिकार र स्वेच्छाको कुरा हो । तर कसरी र किन आउने भन्ने कुरा चाहिँ अहम् प्रश्न हो । जसरी भएपनि अमेरिका पस्ने भन्ने मनशाय भन्दापनि वैध तरिकाले आएको खण्डमा परिणाम राम्रै हुन्छ यदि माथि भनिएको सँघर्ष गर्ने क्षमता छ भने । त्यसैले त्यस्ता मानिस वैध तरिकाले आउन जो कम्युटरमा राम्रो ज्ञान भएको होस्, जसको बोलाई र लेखाईमा अँग्रेजी राम्रो होस् र परिआएको खण्डमा सँघर्ष गर्नसक्ने होस् । अनि यस्तो सँघर्ष २० देखि ३५ वर्षसम्मकाले सजिलै गर्न सक्ने भएकोले यी उमेरकाहरुलाई अलि सजिलो हुनसक्छ । तर बाँकिकोलागी भने कठिनमात्र होईन महाकठिन नै हुन्छ । आफु बसेको देशमा व्यक्ति डाक्टर, इन्जिनियर या कुशल प्रशासक या प्रख्यात कलाकार आदि जे भएपनि उसले यहाँ आएर सँघर्ष गर्नैपर्छ । अहिलेको समयमा विश्वव्यापी मान्यता पाएको विद्या भनेको कम्प्युटर नै हो र यसमा राम्रो ज्ञान हुने र वैध तरिकाले आउनेलाई भने त्यति सँघर्ष गर्नु नपर्ला । USA को बारेमा एउटा भनाई छ You Start Again.

केहि सूचनामूलक वेबसाईटहरुः

(यो लेख कुनै कानुनी उपचार या कानुनी सल्लाह नभई एउटा सोचनीय र जागृतिमूलक लेखमात्र हो । यसलाई नितान्त अनौपचारिक सल्लाहको रुपमा लिनुहोला र ठिक लागे आफ्ना आफन्तहरुलाई सजग गर्नु गराउनु होला भन्ने अनुरोध छ | आशा छ अमेरिकी सपना बोक्नेहरुकोलागि यो लेखले नकारात्मक नभई सकारात्मक भूमिका खेल्ने छ |)

basushrestha@gmail.com

Thursday, August 2, 2012

नेताहरुलाई प्रश्न |


बासु श्रेष्ठ


आदरणीय नेताहरु,

देशमा परिवर्तनकोलागी आन्दोलन गर्नु भयो, त्यसकोलागी हामीले पनि साथ दियौं | तर सुखद परिणाम भोग्न भने अझै पाएका छैनौं | यो तपाईंहरुकै अकर्मन्यताले हो भन्दा कस्तो लाग्छ ?

चार चार वर्ष संविधान सभाको नाममा देश र हामीलाई भुल्याउनु भयो | देशको अमूल्य समय, हाम्रो अमूल्य भावना र अरवौं रुपैयाँसंग खेल्नु भयो | अलिकति पनि पश्चाताप छ तपाईंहरुमा ? दोषको भागी बन्न कहिले सिक्ने ? एकार्कालाइ दोष दिएर आफु चोखो बनेर हामीलाई कस्तो शिक्षा दिन खोजेको हो ?

सविधान निर्माणमा असफल भएपछि के हामीप्रति तपाईंहरुले जिम्मेवारी महसुश गरेर "हामीले विरायौं" भनेर माफ माग्ने आँट र आफ्नो उत्तरदायित्व देखाउन सक्नु भयो ? यहि हो तपाईंहरुको उत्तरदायित्व  ?

संविधान सभाकोलागी त्यत्तिका संसदहरुलाई समेत आफ्नो कठपुतली बनाउनु भयो | र तपाईंहरुको लिंडे ढिपीले उनीहरु रित्तो हात घर फर्किन बाध्य भए | र हामी "हिस्स बुढी हरियो दाँत" भयौं | छ अलिकति पनि पश्चाताप तपाईंहरुमा ?

एउटा अन्तर्वार्तामा माधव नेपालजीले संविधान नबन्नाको कारण 'संविधान सभालाई गार्जियनशिपको कमी थियो' भन्नु भयो | के वहाँले २०४७ को संबिधान बने ताकाको जस्तै गार्जियनशिप खोज्नु भएको हो ? यदि त्यसो हो भने तपाईंहरु आफु कमजोर भएको अनुभव गर्नु भएको हो ?

देश चलाउन कुरा गरे जति सजिलो छ रहेन छ भनेर बुझे पनि पछि हट्न नसकेर तपाईंहरु देशलाई बन्धक बनाउदै हुनुहुन्छ | हो कि होइन ?

वर्षौं देखिको एक्लो पारिवारिक (तथाकथित) अभिभावकलाइ  त्यागेर हामी मध्यबाट नै तपाईंहरुलाइ त्यो अभिभावकत्व सुम्पेका थियौं आत्मविश्वासका साथ | तर त्यसको लायक हुनुहुन्न रहेछ भन्ने भान हामीलाई दिंदै हुनुहुन्छ | कुरा साँचो हो ? 

बारम्वार छिमेकी राजदूत तपाईंका घर दैलो मात्र नभई बेडरुममा नै पस्न पाउनाका कारण के होला ? के त्यस्तो राष्ट्रको पक्षमा उचित सम्बन्ध छ भनि दिनु हुन्छ कि ?

हामी हाम्रो देशको समस्यामा कोहि विदेशी बोल्न आए तपाईंहरुले "हामी हाम्रो समस्या हामी आफैं सुल्झाउन काबिल छौं, यो समस्याबाट तपाईंहरु टाढै बस्नुस, धन्यवाद" भनेको सुन्न चाहन्छौं | छ त्यो आँट र हिम्मत तपाईंहरुमा ? र हामी तपाईंहरुले त्यसो गर्नु भएको हेर्न सुन्न आतुर छौं | कहिले आउने हो त्यो समय ? भन्न सक्नुहुन्छ ?

कि विदेशीको साथ र सहयोग बिना तपाईंहरु केहि गर्न सक्नु हुन्न ? हामीले दुइ राष्ट्र बिच हुने द्विपक्षीय सम्बन्धको बारेमा कुरा गरेका होइनौ |

देशको अन्तरिक मामिलामा विदेशीकोको हस्तक्षेप, उपस्थितिको औचित्य के हो हामीलाई भनि दिनु हुन्छ कि ?

आफ्नो पक्षमा बोले विदेशी सहयोग, विपक्षीको पक्षमा बोले विदेशी हस्तक्षेप भन्ने नकच्चरो बानी र केटाकेटीपन कहिले छोड्ने ?

दलगत स्वार्थभन्दा माथि उठेर देश र हाम्रो बारेमामात्र सोच्न र काम गर्न तपाईंहरुले जिम्मा लिनु भएको कि दलको र आफ्नोमात्र पोषणकोलागी यो नाटक रच्नु भएको ?

हाम्रो अगाडी देशकोलागी रुने, तर पर्दा पछाडी आफ्नैलागी रुने बानी छोड्ने कि नछोड्ने ?

हालै तपाईंहरुले मुलुकका पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री र पूर्वप्रधानन्यायाधीशलगायतलाई आजीवन इन्धन खर्च, सेवासुविधा र आवास खर्च दिने निर्णय गरेपछि हामी जनता अवाक भएका छौं | अवाक भएपछि एकछिन बोल्न सकिन्न | त्यही बोल्न नसकेको मौनता हो अहिले | हामीले बोल्यौं भने कस्तो हुन्छ तपाईंलाइ थाहै छ | राज्य संचालनमा सहभागी राष्ट्र सेवकहरुको सुरक्षा र नियमले पाउने भत्ता  आदि पक्कै पाउनु पाउनु पर्छ | त्यो उचित हुनु पर्छ | त्यसमा शंकै छैन | तर आजीवन इन्धन खर्च, सेवा सुविधा र आवास जस्ता थप खर्चले  राज्यको ढुकुटीले कहिलेसम्म धान्न सक्छ ?|

त्यस्तो सुविधा पाउन कति दिनको मन्त्री भएको हुनु पर्ने ? एक दिन या शय दिन या कति  ? यत्रो पार्टी रहेको देशमा जहाँ सत्ताकोलागी मरीहत्ते गर्ने दलहरु र सरकार बनाउन जुन दलले पनि अर्को दलको मुख हेर्नु पर्ने र सहयोग लिनु पर्ने अवस्थामा अनुमान लगाउनुस त कति मन्त्री, कति प्रधान मन्त्री हुनेछन | ति सबले देशकोलागी मरी हत्ते गर्ने भए त केहि छैन | तर यहाँ त सत्ता र पैसाको लोभमा मन्त्री बन्ने छन् र बनेका छन् | त्यस्तालाई किन आजीवन पोस्ने हाम्रो करको पैसाले ? काम नै नगरी माममात्र खाने तपाईंहरुको यो बानी कहिले जाने ?

तपाईंहरु पार्टी खोल्न, पार्टी जोड्न र फुटाउनमा नै व्यस्त हुने हो भने त्यही काममा व्यस्त भएँ भन्नु, हामीले केहि गर्ने छौं देश चलाउन | छोड्नुस सत्ता र सत्ताको लोभ |

राष्ट्रले सुगम मार्ग कहिले भेट्ने हो ? तपाईंहरुको देश चलाउने यो केटाकेटीपन कहिले जाने हो ? हामीले राष्ट्र विकासको सपनालाइ दिवा स्वप्न मानेर कहिलेसम्म बस्ने हो ? जवाफ छ ?

कालगतिले या आपसी द्वन्दमा मृत्यु हुनेहरुलाई समेत जथाभावी शहिद घोषणा गर्दै आफ्नो स्वार्थकोलागि देशको ढुकुटी कहिले सम्म रित्याउने काम गर्नु हुन्छ ?

सबै भन्दा पहिले  ढाँटन कहिले देखि छोड्ने ? एकार्कालाई दोष दिएर हामीलाई कहिलेसम्म मूर्ख बनाउने ?

यी माथिका प्रश्नको जवाफ दिने आँट कसैमा छ ? छ भने कृपया यसैमा र तपाईंहरु सबैको एक मुखले बोल्नु होला | अनि देशको जय हुन बेर लाग्दैन |

धन्यवाद |

Wednesday, July 4, 2012

अमेरिकी वृन्दावनको यात्रा र विजुलीको समस्या


बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया
धर्म कर्ममा विश्वास गर्ने अध्यात्मवादी मेरी आमा दोश्रो पटक अमेरिका आउनु भएको झण्डै एक वर्ष हुनलागीसकेको थियो । भन्दा भन्दै नेपाल फर्किने दिन नजिकिँदै थियो । त्यसकारण फर्किनु अघि धार्मिक तिर्थस्थल भ्रमण गराउने रहरले आमालाई यस पटकपनि वेष्ट भर्जिनीयाको माउण्ड्सभिल भन्ने स्थानमा रहेको वृन्दावन जाने पटक पटकको प्रयासपछि बल्ल जुन ३० का दिन लगभग ६ घण्टा ड्रईभ गरेर त्यता जाने र भोलिपल्ट फर्किने निर्णय गरियो ।

वासिँगटन डिसीबाट झण्डै २७० माईल टाढा रहेको यस वृन्दावनलाई न्यु वृन्दावन या गोल्डेन टेम्पलको नामलेपनि चिनिन्छ । उत्तरी अमेरिकामा बस्ने हिन्दुजनहरुकोलागी एउटा असल तिर्थस्थलको रुपमा यसलाई लिन सकिन्छ । किनभने अमेरिकाका विभिन्न राज्यमात्र नभएर क्यानाडाका हिन्दुजनहरुपनि समुहमा होस् या एक दुईजना होस् आईपुग्ने गरेका छन् । हामी पुगेको दिन एउटा सिँगै बसमा न्यु योर्कबाट बँगाली मूलका मानिसहरु तथा क्यानाडाबाट आएका थुप्रै गाडीहरु देखिएका थिए । त्यस्तै केहि भर्जिनीयाबाट तथा केहि न्यूयोर्कबाट आएका नेपालीहरुपनि भेटिएका थिए । वेष्ट भर्जिनीयाको व्हिलिँग भन्ने बजारबाट झण्डै १५ माईल पूर्वमा अवस्थित यो वृन्दावन सानो उपत्यकामा रहेको त्यहाँ पुगेपछि अनुभव गर्न सकिन्छ । विहान ५ बजेदेखि बेलुका ८.३० बजेसम्म राधाकृष्ण आरती, राजभोग आरती, व्यायाम, गौरा आरती, गौ पुजा लगायत अन्य विभिन्न धार्मिक गतिविधिहरु भई रहनु यसको आकर्षण हो । वास बस्ने उदेश्यले टाढा टाढाबाट आउनेहरुकोलागी लजको व्यवस्था गरिएको छ । एउटा कोठामा चारवटा बँक बेड राखी आठजनासम्मकोलागी सुत्ने व्यवस्था छ भने भिन्दै कटेजकोपनि व्यवस्था गरिएको छ । बँक बेड भएको कोठा भाडामा लिन चाहनेले सार्वजनिक बाथरुम प्रयोग गर्नुपर्छ भने कटेज भाडामा लिनेले आफैँ पकाई तुल्याई गर्न मिल्ने गरी भाँडाकुँडाहरुको समेत व्यवस्था गरिएको छ । तर यो कटेजभने मन्दिरको परिसरभन्दा अलिक टाढा पर्छ । पहाडको खोँचमा अवस्थित भएकोले त्यहाँ पुगेपछि फोन या इण्टरनेटको सुविधा भने हरण हुनसक्छ । अर्थात उपलब्ध नहुन सक्छ । ब्रेकफास्ट तथा डिनर उपलब्ध गराउने गोविन्दाज रेष्टुराँपनि यहिँ छ जसलाई मन्दिर प्रशासनले सँचालन गरेको छ । शुद्ध शाकाहारी भोजनमात्र उपलब्ध हुने हुनाले एकछाक मासु छोड्न नसक्ने व्यक्ति त्यहाँ नगए हुन्छ । तर धार्मिक र पर्यटकीय ध्येयले त्यहाँ जानेले मासु एकछाक सजिलै छोड्न सक्छन् ।

यस पटकको यो यात्रा मेरो पाँचौ हो र पनि असाध्य श्रद्धा तथा जागरुक भएर गइयो । साथमा छोराको दोश्रो पटक अनि श्रीमतिको चौथो पटक थियो भने आमाकोपनि यो दोश्रो पटक नै थियो । जुन २९ का दिन दिनभरको प्रचण्ड गर्मीपछि राती ११ बजेतिर आएको आँधि बेहरीले घरमामात्र होईन ठुलै क्षेत्र ओगटेर बत्ति गएको थियो । रातभर त बत्ति आएन आएन, शनिवार विहान यात्राकोलागी निस्कने समयसम्मपनि विजुलीको अत्तोपत्तो थिएन । कहिले फर्किने हो कसैलाई थाहा थिएन । माछाको ट्याँकीपनि वत्तिविना उजाड देखिएको थियो । फर्किएर आउन्जेल माछा रहने नरहनेको चिन्ता, रेफ्रिजेरटरमा रहेको खानाहरु विग्रने नविग्रने चिन्ता लिँदै यात्राकोलागी प्रस्थान गर्यौं । अपरान्ह चारबजे चेकईन समय भएकोले सोहि अनुसार पुग्ने ध्येयले सवा दशबजे यात्रा थाल्यौँ । तीन घण्टाको गाडी यात्रापछि केहि खाने तथा शौचादि कार्यकोलागी रोकिँदा त्यहाँपनि विजुली नभएको थाहा पाईयो । र त्यहिँ केपनि थाहा भयो भने हाम्रो गन्तव्य स्थान वृन्दावनमापनि विजुली रहेनछ । वृन्दावनको लज प्रशासनले मेरो मोवाईलमा फोन गरेर त्यहाँ बत्ति नभएको र 'बत्तिकोलागी टर्चलाईट आदिको व्यवस्था गर्दै आउनु' भन्दै म्यासेज छोडेको रहेछ । जे होस् सम्पूर्ण यात्राको आधा बाटो तय भईसकेपछि थाहा भएको सो समाचारलाई उपेक्षा गर्दै हामीले निर्धारित गन्तव्यतर्फ यात्रा जारी राख्यौँ । भर्जिनीयाबाट मेरिल्याण्ड अनि पेन्सिलभेनिया हुँदै वेष्ट भर्जिनीयाको भित्री र पहाडी बाटोमा गाडी हुँईक्याउँदै बेलुका ठिक चारबजे मन्दिर परिसरमा रहेको लजको चेकईन काउण्टर अगाडि उभिन पुगेका थियौँ ।

बाटोमा पाएको समाचार सत्य रहेछ, बत्ति त त्यहाँपनि रहेनछ । अर्थात बत्ति अझै आएको रहेनछ । बत्तिको अनुपस्थितिमा नै चेकईन गरेरर कोठामा सामान राखेर त्यहाँको धार्मिक क्रियाकलापमा सक्रिय हुन थालियो । धन्न समरको समयमा राती नौ बजेसम्म घामकै उज्यालो हुने भएकोले यतिबेलासम्म बत्तिको अभाव अनुभव गरिएको थिएन ।

गोविन्दाज रेष्टुराँमा दश डलर प्रतिव्यक्तिका दरले बफे खाईसकेपछि आरती कार्यक्रममा सहभागी भईयो । 'हरे राम, हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे...' भन्दै ताली पिट्दै अलि पर रहेको तालसम्म पुगियो । जहाँ राधा कृष्णको मुर्तिलाई राजहाँसको आकृति रहेको डुँगामा राखेर तालको वरपर सयर गराईदो रहेछ । बाँकि हामीचाहिँ तालको छेउमा बसेर हरे राम, हरे राम...भन्दै ताली बजाउँदै भजनमा लिप्त भयौँ । सो कार्यत्रम सकिएपछि मयुर भेट्न गइयो । जहाँ मयुरले प्वाँख फैलाएर हामीलाई स्वागत गरेको भान दिएको थियो ।

अब भने अँध्यारोले आफ्नो साम्राज्य फैलाउन आरम्भ गरिसकेको थियो । शौचादिकोलागी बाथरुम जान चेकइन काउण्टरबाट पाएको सानो टर्चलाईट लिएर जानुपर्ने भयो । भित्र कोठामा गर्मीको साम्राज्य भएकोले राती ११ बजेसम्म भनौँ सकेसम्म बाहिरै चहुरमा गफ गरेर बस्यौँ । तर सुत्नुबाहेक अन्य विकल्प नरहेकोले कोठामा गएर सुत्ने उद्यम गर्दा के सुत्न सकिन्थ्यो र ? हामी चारैजना आआफ्नो ओछ्यानमा सुतेको बहानामा ओल्टेकोल्टे पर्ने बाहेक केहि गर्न सकिएन । एकार्काले अर्कोलाई विध्न होला भन्दै गर्मीको तापलाई पचाउन खोज्दै ओछ्यानमा छटपट गर्दा गर्दै झण्डै रातको एक बजिसकेको रहेछ । सुत्ने उपक्रममा गर्मीको ताप अनुहारमा परेको अनुभव गर्न सकिन्थ्यो । बल्ल बल्ल आँखा लागेपनि सुस्तरी मुहारमा तापको प्रभाव बढ्दै गएको अनुभवले बिऊँझाई दिने गर्थ्यो । निदाउने कुनै उपाय नदेखेर मैले बाहिर पार्किँग लटमा रहेको गाडीमा सुत्न जाने निधो गरेँ र लागेँ एउटा तकिया बोकेर । केहि पछि त्यहि गाडीमा सुत्न भनेर छोरापनि आईपुग्यो । उसकोपनि भित्रै सुत्ने उपक्रमपनि खेर गएछ । बिहान पाँचबजेमात्र कोठामा फर्किइयो । तर निद्रा गुमाउने कामभने प्रशस्तै भईसकेको थियो । ओछ्यान लिएर बाहिर सुत्ने अरुपनि देखिए । यहि कुरा चेक आउट गर्ने बेलामा काउण्टरमा बसेकी अमेरिकी महिला महालक्ष्मीलेपनि भनिन् । वृन्दावनमा वस्ने र कम गर्नेहरुमध्ये केहि अमेरिकीहरू पनि छन् र ति सबका नाम हिन्दु नै छन् | जस्तै राम, सिता, गीता, तुलसी, श्याम, नारायण आदि | बत्ति नभएको र गर्मीको कारणले महालक्ष्मीपनि बाहिर नै सुतिन् रे । महालक्ष्मीले हामीलाई परेको असुविधालाई ध्यानमा राखेर कोठाको भाडामा १५ प्रतिशत छुट दिईन् ।

जे होस् विहानको सम्पूर्ण धार्मिक गतिविधिमा सरिक हुँदै चियापान आदि सकेर बेलुका चारबजे आफ्नै घरमा पुग्ने विचारले १०.३० मा सो परिसर हामीले छोड्यौँ । अब बाटोमा आउने क्रममा जति जति घरको दुरी घट्दै गयो, घरमा रहेको विजुली र माछाको चिन्ता उति उति बढ्दै जान थाल्यो । 'घरमा अझैपनि बत्ति रहेनछ' भने के गर्ने होला, कसरी बस्ने होला, माछा के भयो होला, मर्यो या जिउँदै होला भन्ने चिन्ताले झन बढि सताउन थाल्यो । तर जब ठिक चार बजे घरमा प्रवेश गरियो तब सारा चिन्ता छुमन्तर भएर विलाए । किनभने घरमा कुन्नी कतिखेर बत्ति आएछ, माछाको ट्याँकी र माछा, अनि घरको वातावरण तापक्रम उस्तै र उत्तिकै । अनि बल्ल लामो शास लिएर आराम गरियो ।
यसरी यस क्षेत्रमा कहिल्यै नआएको अनौठो आँधिबाट गरेको नोक्सान र पारेका बत्तिविहिन रातहरुको अनुभव पहिलो पटक अनुभव गरियो । आफ्नो घरमामात्र होईन बाहिर पैसा तिरेर बसेको ठाउँमा समेत बत्तिविहिन रात विताइएको खटमैलो अनुभव सँचित गरियो ।

तपाईहरुपनि आफ्नो विदामा धार्मिक यात्रा गर्न उक्त वृन्दावन जाने रहर गर्नुभयो भने सो को जानकारीकोलागी यहाँ क्लिक गर्नुहोला ।

केहि फोटोहरु:







Tuesday, May 29, 2012

अपूर्व सँविधान सभाको अवसानःदोष कसलाई ?


बासु श्रेष्ठ
भर्जिनीया


२००७ साल देखि नेपालीले बोक्दै आएको सँविधान सभाको सपना झण्डै छपन्न सन्ताउन्न वर्षपछि बल्ल पुरा भएको थियो । नेपालको ईतिहासमा सँविधान सभाको चुनाव २०६४ चैत्र २८ का दिन भएको थियो । अनेक आशँका, डर, त्रास र रोमाञ्चले भरिपूर्ण थियो यो निर्वाचन । यसभन्दा अघि दुईपटक अर्थात जेठ २४, २०६४ तथा मँसिर ६, २०६४ मा हुने भनिएको चुनावको मिति सारिएको थियो । त्यसैले यो तेश्रो मितिमापनि सबै आशँकित, सशँकित, सजग, आरोप प्रत्यारोपको मध्यमा अडेको थियो । तरपनि सबैले ईतिहाससतर्फ हेर्दै गौरव गरेका थिए यस सँविधान सभाको निर्वाचनप्रति । अनि कति उत्साह थियो यस निर्वाचनककोलागी । कति सशँकित थिए यसको निर्वाचनप्रति । कति सजग थिए यसको कोमलपना र परिणामप्रति । सबैले बडो हौसला, जोश र जाँगरकासाथ आफुले चुनेका व्यक्तिबाट देशकोलागी सँविधान बन्ने कुरामा ढुक्क भएर मतदान गरेका थिए । तर लामो समयदेखि बोकेको सँविधान सभाको सपना पुरा गर्न जुन हौसला, उत्साह, जोश र जाँगर थियो र त्यसप्रति जुन आशा र सुखद परिणामको अपेक्षा गरेका थिए ति सब जेठ १४, २०६९ मा सजिलै धुलिसार हुन पुग्यो । यो दुखद घटना नेपालकोलागीमात्र होईन प्रजातान्त्रिक पक्षधर विश्वका जोकोहिकोलागीपनि लाजमर्दाे घटना हो ।

तोकिएको समयमा सँविधान निर्माण भएको भए अहिले सोहि सँविधान बमोजिम देश हिँड्न थालेको एक वर्ष हुने थियो । तर ठिक यसको उल्टो जेठ १४, २०६८ कादिन सँविधान ल्याउने भनेर दुईवर्षको म्याण्डेट पाएको यस सँविधान सभाले काम कुरा एकातिर, कुम्लो बोकि ठिमीतिर भने झैँ मूल उदेश्यबाट अभिमूख भई रह्यो । मूलतः सँविधान सभाकोलागी चुनिएका साँसदहरु आआफ्नो दलको पुतली भई रहे । योग्यताको आधारमा नभई वर्गीकरणको आधारमा छानिएका उम्मेदवारहरु दलको झण्डामूनि उभिएर साँसद हुने सौभाग्य पाए । तर न यिनमा (अधिकाँशतः) न कुनै चेतना थियो, न कुनै सजगता थियो, अनि न प्रजातन्त्र न गणतन्त्र या लोकतन्त्रको मूल्य र मान्यता नै बोकेका थिए । बोकेका थिए त केवल दलको झण्डा र दलको स्वार्थपरक निर्देशन । यदि यिनमा माथि भनिएका अभाव रहेका गुणले भरिपूर्ण भएका भए शायद आज सँविधान सभाको अवसान देख्नु पर्दैनथ्यो । सँविधान सभाको अवसान भनेको सम्पूर्ण ६०१ सभासद्को अवसान हुनु हो । यसको अवसानमा जनता त रोए नै तर आफ्नै मृत्युमा यि कति रोएका छन् हामीलाई थाहा छैन । तर स्वतः अनुमान के गर्न सकिन्छ भने सचेतताको अभाव, राष्ट्र्प्रेमको अभाव, आफ्नो कार्यप्रतिको उत्तरदायित्वको अभाव, नैतिकताको अभावको कारण यि जडवत छन्, मुढा जस्तै छन् र यिनमा किञ्चितपनि आत्मग्लानी, लाज र शरमको भावना छैन । यिनमा हिजो र आजमा केहि फरक छैन । बरु रातो पासपोर्ट कसलाई र कसरी बेच्ने या औषधिमूलोको नक्कली बिल कसरी बनाउने भन्ने ध्याउन्नमा लागीरहे । तर यदि जनताप्रति अलिकतिपनि उत्तरदायित्व वहन गरेका भए अवसान भएका यि साँसदहरुबाट अहिलेसम्म क्षमा याचनाको स्वर सुनिई सकिन्थ्यो । तर ख्वै ?

लौ, पहिलो पटक देशमा सँविधान सभाको चुनाव भएकोले माथि भनिएका कमी कमजोरी भए होलान् तर चारवर्षसम्म यिनले सुधारको कुनै लक्षण देखाएनन् । बरु विकृति, कुआचरण कुप्रवृतिकै उद्घाटित भई रह्यो । तथापी जनताले यिनमाथि सहँदै गरे । सहिष्णुता प्रदान गर्दै रहे । किनभने सँविधान निर्माण जस्तो गहन भूमिका निर्वाह गर्न जो दिएका थिए । तर अफसोचको कुरा, तिनै कुत्सित भावना र व्यवहार अनि कमजोरीहरुले गर्दा न आफ्ना दललाई सँविधान निर्माण कार्यमा दवाव दिन लायक रहे । न आफु नै यसप्रति सजग भएको कुनै उदाहरण प्रस्तुत गरे । उपरीमाथी थुपरी भने झैँ यस्ता साँसदहरुका दलका नेताहरुपनि आफ्नै दल र स्वार्थमा निर्लिप्त भएपछि त झन सँविधान निर्माण कार्य पुरा हुने सम्भावना क्षीण हुँदै गएको अनुभव हुन्थ्यो । तैपनि सास रहेसम्म आस गरेका थिए जनताले ।

तरपनि पहिलो पटक दुईवर्षको अवधि नपुग भएकोले अर्काे छ महिनाको म्याद थपियो र त्यसको क्रम बढदै अर्को छ महिना र अर्को छ महिना गर्दै अन्तिम पटक जेठ १४, २०६९ सम्मकोलागी म्याद थप गरियो । यसरी म्याद थप गरिएको समयमा सत्र अठार पटकसम्म प्रधानमन्त्रीको निर्वाचनमा समय खर्चियो । शक्तिकोलागी दलहरुको लोभको यो पराकाष्टाले यिनमा देश र जनता होईन आफुमध्ये को माथि बस्ने भन्ने भावनाको घम्साघम्सी हेर्न जनता बाध्य भए । यिनिहरुको यो घम्साघम्सीसँग वाक्क भएर झलनाथ खनालले थप्पड खाएको घटना त सबैलाई सम्झनै छ होला । तर यति हुँदाहुँदैपनि जनता यिनिहरुप्रति नयाँ सँविधान लिएर सँविधान सभा भवनबाट बाहिर निस्केको दृश्य हेर्न लालायित भईरहे र मूक दर्शक भएर कुर्न बाध्य भए । त्यो मूक दर्शकता सँविधानप्रतिको ठुलो आशाको द्योतक थियो ।

राजनैतिक दलका नेताहरुलेपनि देशको अखण्डतालाई होईन विखण्डतालाई प्राथमिकता दिए । आफ्नो स्वार्थपूर्तिकोलागी जातिय पहिचानको विषयलाई उछालेर एकआपसमा नै वैमनश्यताको विजारोपरण गरे । र त्यहि विजारोपण आफ्नैलागी बुमराँग भएको पत्तै पाएनन् । तर देशले भने यस मामलामा अपूरणीय घाटा नै सहनुपर्यो । किनभने हिजोसम्म रहेको भ्रातृत्व, बसुधैव कुटुम्बकम्को भनाईलाई अक्षरशः पालना गर्ने नेपाली हेर्दा हेर्दै जातजाति र सोहि अनुसारको राज्य या प्रदेश माग्न उद्दत भए । सँविधान निर्माणमा यस मुद्धालेपनि अहम् रुपमा ढिलाई गर्न मद्धत गर्यो ।

यसरी दलका आआफ्नै करतुत, साँसदहरुको नालायकिपन र अदूरदर्शीताले सँविधान निर्माणको म्याद सकिन लागेपछि सँविधान सभाको पटक पटक म्याद थप्ने क्रममा वृद्धि भएको फलस्वरुप अन्ततोगोत्वा सर्वोच्च अदालतले अब म्याद थप्न पाउँदैनौ, बरु यसको विकल्प खोज भन्ने आदेश जारी गरेपछि दुई करोड जनताको आशाको केन्द्र रहेको चारवर्ष पुरानो सँविधान सभाको स्वतः अवसान भयो । सँविधान सभाको अवसान हुनु नेपाली जनताको सपना पुरा नभएको मात्र हो सपनाको अवसान नै भने पक्कै भएको होईन । तर अबको सँविधान सभा वैज्ञानिक होस, बौद्धिक होस, राष्ट्र्यिताले ओतप्रोत होस्, कुनै जातजातीको नभई सारा नेपालीको प्रतिनिधित्व होस् र यसको आयु छोटो मीठो र सारयुक्त होस् भन्ने चाहना राखेका छन् । पहिलेको जस्तो जम्बो नहोस, खर्चिलो नहोस्, नैतिकवानपनि होस् । यसकोलागी कानुनी बाधा अड्चन आउनेछन्, आउलान् तर त्यसलाई बुद्धिमानीकासाथ निराकरण गर्ने सद्बुद्धि यि हामीले नेता भनेका व्यक्तिमा आओस् भन्ने कामना गर्दैछौँ ।

दोष अरु कसकसलाई?:
मूलतः राजनैतिक दललाई सबैभन्दा बढि अपजस जान्छ । यिनैको स्वार्थको घेराबन्दिमा सारा देश बन्दी भयो । ति राजनैतिक दलका अराजनैतिक क्रियाकलाप जगजाहेर नै छ । तर त्यसैगरि सँविधान सभाका सभामुख सुवासचन्द्र नेम्वाँगलाईपनि उत्तिकै जिम्मेवार मान्न सकिन्छ । दलहरुप्रति आफ्नो अधिकार प्रयोगकोलागी व्हिप जारी नगरी दलहरुकै हाहा हुुहुमा बतासिनु उनको कमजोरी थियो । सँसदमा छानिएका अभिभावकको रुपमा उनले कहिल्यै आफुलाई अभिभावकको रुपमा दह्रो र कडा अनुशासकको रुपमा प्रस्तुत गरेनन् र देशले यो दुर्गतिको सामना गर्नुपर्याे र आफैपनि स्वतः अवसानको शिकार हुनुपर्याे ।

विभिन्न जातजातीका माग र विदेशी हस्तक्षेप या चालः
सँविधानमा आफ्नो स्थान तथा अधिकार सुरक्षित राख्न जागरुक भएका विभिन्न जातजातीका समुहहरुपनि यसप्रति जिम्मेवार नै छन् । तर परोक्ष रुपमा भन्दा यि पनि राजनैतिक दलको कुत्सित विचारबाट प्रभावित भएका हुन् । तर अन्ततोगोत्वा यसलेपनि सँविधान निर्माण प्रक्रिया बाधा पुर्याएको थियो । सबैले के बुझ्नु पर्ने थियो सँविधान भनेको ड्यु प्रोसेस हो । अर्थात यो लागु हुने क्रममा शनैशनै परिपक्वतातर्फ लम्किई रहेको हुन्छ । र यो वयस्क हुन निकै समय लाग्छ । अमेरिकाकै सम्बिधानपनि सँविधान निर्माण भएदेखि दशपटकसम्म सँशोधन भई सकेको छ । तर जे होस्, यस पटक बनेको सँविधानमा आफु छुटियो भने सदाकालागी छुट्टिने अनुभव गरेका ति झुण्ड या समुहले सरकारलाई दवाव दिए । अनि सरकारपनि कसैले बन्द या हडताल गर्नेको मात्रै आवाज सुन्ने प्रवृत्तिको अबलम्बन गरेकोले सबैले सरकारको ध्यानाकर्षणकोलागी बन्द या हडतालकै बाटो अपनाए । यसरी विभिन्न झुण्ड या समुहसँगको वार्तामा सरकारको समय खेर जाने र सोहि अनुसार सँविधान निर्माणमा ढिलाई भएको देखियो ।

विदेशी हस्तक्षेपः एउटा उखान छ 'आफ्नो गाईको दाम्लो बलियो गरी बाँध्नु, अर्काको बारीलाई के को दोष ?' यसकोलागी हामी हाम्रै नेता भनाउँदाहरुलाई दोष दिनुपर्छ । आफ्नो देशको आन्तरिक मामलामा कसैले बोल्न आउँछ भने ति विदेशीहरुलाई “माईण्ड योर बिजनेस" भन्ने हुति नभएका नेताहरुले उल्टो तिनका निर्देशनात्मक कुराहरु सुन्ने प्रवृत्तिले दलहरुको एकापसमा अविश्वासको वातावरण सिर्जना गर्यो । जसले स्वभावतः लक्ष्यात्मक उदेश्यमा असर पारेको नै थियो । हिजोसम्म हामीले हाम्रो नेता कुदाकुद गरेर विदेश जाने गरेको पाएका थियौँ । देशमा केहि हुन लाग्यो भने निर्देशन (सल्लाह) कोलागी विदेश जाने लर्को लाग्ने गर्थ्यो । तर त्यो क्रम अहिले रोकिएको छ । किनभने ति निर्देशन दिने विदेशी अब हाम्रै आँगनमा छन् र खुल्लम खुल्ला हाम्रो बैठकमा छिरेर निर्देशन दिने गर्दछन् । नेता हुन मिसन र भिजनको आवश्यकता हुन्छ । तर हामीले हाम्रा कुनैपनि नेतामा यसको अभाव पाउँछौँ । त्यहि अभावको कारणले अन्य विदेशीलाई गुरु थाप्ने प्रचलनले विदेशी हस्तक्षेप निम्तिएको हो । कार्यकर्ताको कार्यावधिको आधारमा केन्द्रिय कमिटीको सदस्य या नेता भएको आधारमा यि दलका नेता भएका हुन् । विदेशीको फोटो आफ्नो पछाडि झुण्ड्याएर देखाउने यिनको कस्तो राष्ट्रियता हो सबैलाई बुझ्न गाहारो छ्रैन । त्यसकारण विदेशी हस्तक्षेपलाई यिनले निम्त्याएको हो, आफैँ बस चढेर आएको होईन ।

पूर्व राजा ज्ञानेन्द्र:
देशलाई आजको यस गतिमा पुर्याउने अपजस अपरोक्ष रुपमा ज्ञानेन्द्रलाईपनि जान्छ । गणतन्त्रको शिकार भएका यि ज्ञानेन्द्रले समय छँदै कुनै लोभ लालचमा या पारिवारिक स्वार्थमा नपरि दूरदर्शितापूर्वक पाईला चालेका भए न उनको विजोग हुन्थ्यो न त देशको यो विजोग हुन्थ्यो होला भन्नेहरु थुप्रै भेटिन्छन् । सत्ता हातमा परेको समय राष्ट्र्को दिर्घकालीन हितलाई मध्यनजर राखेर विद्रोही लगायत सम्पूर्ण दलहरुसँग वार्ताको पाईला चालेर समस्या समाधान गरेका भए उनि एक सफल राजा होईन सफल राजनितिज्ञ हुने थिए । तर चिठ्ठामा परेको सत्ता,मुकुट र शक्तिको महत्व बुझ्ने क्षमताको अभावमा आफ्नो खुट्टामा होईन राष्ट्र्को ढाडमा नै बञ्चरो चलाए ।

अन्त्यमा, अब यि विगतका अक्षम्य गल्ती तथा भूलहरुलाई कोट्याएर केहि फाईदा छैन । जे नहुनु थियो भइसकेको छ । त्यसो भन्दैमा यी गल्तीहरुलाई पूर्णतयाः बेवास्ता गर्नु पनि मूर्खता ठहरिने छ | त्यसकारण यिनै गल्तीहरुबाट अमूल्य शिक्षालिई आगामी भविष्यकोलागी बाटो कोर्नु परेको छ हामीले । माथि नै भनिए झै हामी अझै आशातित छौँ तर बौद्धिकताको, सँयमको, एकताको र अखण्डताको अनि कुशलताको ।