बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया
धर्म कर्ममा विश्वास गर्ने अध्यात्मवादी मेरी आमा दोश्रो पटक अमेरिका आउनु भएको झण्डै एक वर्ष हुनलागीसकेको थियो । भन्दा भन्दै नेपाल फर्किने दिन नजिकिँदै थियो । त्यसकारण फर्किनु अघि धार्मिक तिर्थस्थल भ्रमण गराउने रहरले आमालाई यस पटकपनि वेष्ट भर्जिनीयाको माउण्ड्सभिल भन्ने स्थानमा रहेको वृन्दावन जाने पटक पटकको प्रयासपछि बल्ल जुन ३० का दिन लगभग ६ घण्टा ड्रईभ गरेर त्यता जाने र भोलिपल्ट फर्किने निर्णय गरियो ।
वासिँगटन डिसीबाट झण्डै २७० माईल टाढा रहेको यस वृन्दावनलाई न्यु वृन्दावन या गोल्डेन टेम्पलको नामलेपनि चिनिन्छ । उत्तरी अमेरिकामा बस्ने हिन्दुजनहरुकोलागी एउटा असल तिर्थस्थलको रुपमा यसलाई लिन सकिन्छ । किनभने अमेरिकाका विभिन्न राज्यमात्र नभएर क्यानाडाका हिन्दुजनहरुपनि समुहमा होस् या एक दुईजना होस् आईपुग्ने गरेका छन् । हामी पुगेको दिन एउटा सिँगै बसमा न्यु योर्कबाट बँगाली मूलका मानिसहरु तथा क्यानाडाबाट आएका थुप्रै गाडीहरु देखिएका थिए । त्यस्तै केहि भर्जिनीयाबाट तथा केहि न्यूयोर्कबाट आएका नेपालीहरुपनि भेटिएका थिए । वेष्ट भर्जिनीयाको व्हिलिँग भन्ने बजारबाट झण्डै १५ माईल पूर्वमा अवस्थित यो वृन्दावन सानो उपत्यकामा रहेको त्यहाँ पुगेपछि अनुभव गर्न सकिन्छ । विहान ५ बजेदेखि बेलुका ८.३० बजेसम्म राधाकृष्ण आरती, राजभोग आरती, व्यायाम, गौरा आरती, गौ पुजा लगायत अन्य विभिन्न धार्मिक गतिविधिहरु भई रहनु यसको आकर्षण हो । वास बस्ने उदेश्यले टाढा टाढाबाट आउनेहरुकोलागी लजको व्यवस्था गरिएको छ । एउटा कोठामा चारवटा बँक बेड राखी आठजनासम्मकोलागी सुत्ने व्यवस्था छ भने भिन्दै कटेजकोपनि व्यवस्था गरिएको छ । बँक बेड भएको कोठा भाडामा लिन चाहनेले सार्वजनिक बाथरुम प्रयोग गर्नुपर्छ भने कटेज भाडामा लिनेले आफैँ पकाई तुल्याई गर्न मिल्ने गरी भाँडाकुँडाहरुको समेत व्यवस्था गरिएको छ । तर यो कटेजभने मन्दिरको परिसरभन्दा अलिक टाढा पर्छ । पहाडको खोँचमा अवस्थित भएकोले त्यहाँ पुगेपछि फोन या इण्टरनेटको सुविधा भने हरण हुनसक्छ । अर्थात उपलब्ध नहुन सक्छ । ब्रेकफास्ट तथा डिनर उपलब्ध गराउने गोविन्दाज रेष्टुराँपनि यहिँ छ जसलाई मन्दिर प्रशासनले सँचालन गरेको छ । शुद्ध शाकाहारी भोजनमात्र उपलब्ध हुने हुनाले एकछाक मासु छोड्न नसक्ने व्यक्ति त्यहाँ नगए हुन्छ । तर धार्मिक र पर्यटकीय ध्येयले त्यहाँ जानेले मासु एकछाक सजिलै छोड्न सक्छन् ।
यस पटकको यो यात्रा मेरो पाँचौ हो र पनि असाध्य श्रद्धा तथा जागरुक भएर गइयो । साथमा छोराको दोश्रो पटक अनि श्रीमतिको चौथो पटक थियो भने आमाकोपनि यो दोश्रो पटक नै थियो । जुन २९ का दिन दिनभरको प्रचण्ड गर्मीपछि राती ११ बजेतिर आएको आँधि बेहरीले घरमामात्र होईन ठुलै क्षेत्र ओगटेर बत्ति गएको थियो । रातभर त बत्ति आएन आएन, शनिवार विहान यात्राकोलागी निस्कने समयसम्मपनि विजुलीको अत्तोपत्तो थिएन । कहिले फर्किने हो कसैलाई थाहा थिएन । माछाको ट्याँकीपनि वत्तिविना उजाड देखिएको थियो । फर्किएर आउन्जेल माछा रहने नरहनेको चिन्ता, रेफ्रिजेरटरमा रहेको खानाहरु विग्रने नविग्रने चिन्ता लिँदै यात्राकोलागी प्रस्थान गर्यौं । अपरान्ह चारबजे चेकईन समय भएकोले सोहि अनुसार पुग्ने ध्येयले सवा दशबजे यात्रा थाल्यौँ । तीन घण्टाको गाडी यात्रापछि केहि खाने तथा शौचादि कार्यकोलागी रोकिँदा त्यहाँपनि विजुली नभएको थाहा पाईयो । र त्यहिँ केपनि थाहा भयो भने हाम्रो गन्तव्य स्थान वृन्दावनमापनि विजुली रहेनछ । वृन्दावनको लज प्रशासनले मेरो मोवाईलमा फोन गरेर त्यहाँ बत्ति नभएको र 'बत्तिकोलागी टर्चलाईट आदिको व्यवस्था गर्दै आउनु' भन्दै म्यासेज छोडेको रहेछ । जे होस् सम्पूर्ण यात्राको आधा बाटो तय भईसकेपछि थाहा भएको सो समाचारलाई उपेक्षा गर्दै हामीले निर्धारित गन्तव्यतर्फ यात्रा जारी राख्यौँ । भर्जिनीयाबाट मेरिल्याण्ड अनि पेन्सिलभेनिया हुँदै वेष्ट भर्जिनीयाको भित्री र पहाडी बाटोमा गाडी हुँईक्याउँदै बेलुका ठिक चारबजे मन्दिर परिसरमा रहेको लजको चेकईन काउण्टर अगाडि उभिन पुगेका थियौँ ।
बाटोमा पाएको समाचार सत्य रहेछ, बत्ति त त्यहाँपनि रहेनछ । अर्थात बत्ति अझै आएको रहेनछ । बत्तिको अनुपस्थितिमा नै चेकईन गरेरर कोठामा सामान राखेर त्यहाँको धार्मिक क्रियाकलापमा सक्रिय हुन थालियो । धन्न समरको समयमा राती नौ बजेसम्म घामकै उज्यालो हुने भएकोले यतिबेलासम्म बत्तिको अभाव अनुभव गरिएको थिएन ।
गोविन्दाज रेष्टुराँमा दश डलर प्रतिव्यक्तिका दरले बफे खाईसकेपछि आरती कार्यक्रममा सहभागी भईयो । 'हरे राम, हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे...' भन्दै ताली पिट्दै अलि पर रहेको तालसम्म पुगियो । जहाँ राधा कृष्णको मुर्तिलाई राजहाँसको आकृति रहेको डुँगामा राखेर तालको वरपर सयर गराईदो रहेछ । बाँकि हामीचाहिँ तालको छेउमा बसेर हरे राम, हरे राम...भन्दै ताली बजाउँदै भजनमा लिप्त भयौँ । सो कार्यत्रम सकिएपछि मयुर भेट्न गइयो । जहाँ मयुरले प्वाँख फैलाएर हामीलाई स्वागत गरेको भान दिएको थियो ।
अब भने अँध्यारोले आफ्नो साम्राज्य फैलाउन आरम्भ गरिसकेको थियो । शौचादिकोलागी बाथरुम जान चेकइन काउण्टरबाट पाएको सानो टर्चलाईट लिएर जानुपर्ने भयो । भित्र कोठामा गर्मीको साम्राज्य भएकोले राती ११ बजेसम्म भनौँ सकेसम्म बाहिरै चहुरमा गफ गरेर बस्यौँ । तर सुत्नुबाहेक अन्य विकल्प नरहेकोले कोठामा गएर सुत्ने उद्यम गर्दा के सुत्न सकिन्थ्यो र ? हामी चारैजना आआफ्नो ओछ्यानमा सुतेको बहानामा ओल्टेकोल्टे पर्ने बाहेक केहि गर्न सकिएन । एकार्काले अर्कोलाई विध्न होला भन्दै गर्मीको तापलाई पचाउन खोज्दै ओछ्यानमा छटपट गर्दा गर्दै झण्डै रातको एक बजिसकेको रहेछ । सुत्ने उपक्रममा गर्मीको ताप अनुहारमा परेको अनुभव गर्न सकिन्थ्यो । बल्ल बल्ल आँखा लागेपनि सुस्तरी मुहारमा तापको प्रभाव बढ्दै गएको अनुभवले बिऊँझाई दिने गर्थ्यो । निदाउने कुनै उपाय नदेखेर मैले बाहिर पार्किँग लटमा रहेको गाडीमा सुत्न जाने निधो गरेँ र लागेँ एउटा तकिया बोकेर । केहि पछि त्यहि गाडीमा सुत्न भनेर छोरापनि आईपुग्यो । उसकोपनि भित्रै सुत्ने उपक्रमपनि खेर गएछ । बिहान पाँचबजेमात्र कोठामा फर्किइयो । तर निद्रा गुमाउने कामभने प्रशस्तै भईसकेको थियो । ओछ्यान लिएर बाहिर सुत्ने अरुपनि देखिए । यहि कुरा चेक आउट गर्ने बेलामा काउण्टरमा बसेकी अमेरिकी महिला महालक्ष्मीलेपनि भनिन् । वृन्दावनमा वस्ने र कम गर्नेहरुमध्ये केहि अमेरिकीहरू पनि छन् र ति सबका नाम हिन्दु नै छन् | जस्तै राम, सिता, गीता, तुलसी, श्याम, नारायण आदि | बत्ति नभएको र गर्मीको कारणले महालक्ष्मीपनि बाहिर नै सुतिन् रे । महालक्ष्मीले हामीलाई परेको असुविधालाई ध्यानमा राखेर कोठाको भाडामा १५ प्रतिशत छुट दिईन् ।
जे होस् विहानको सम्पूर्ण धार्मिक गतिविधिमा सरिक हुँदै चियापान आदि सकेर बेलुका चारबजे आफ्नै घरमा पुग्ने विचारले १०.३० मा सो परिसर हामीले छोड्यौँ । अब बाटोमा आउने क्रममा जति जति घरको दुरी घट्दै गयो, घरमा रहेको विजुली र माछाको चिन्ता उति उति बढ्दै जान थाल्यो । 'घरमा अझैपनि बत्ति रहेनछ' भने के गर्ने होला, कसरी बस्ने होला, माछा के भयो होला, मर्यो या जिउँदै होला भन्ने चिन्ताले झन बढि सताउन थाल्यो । तर जब ठिक चार बजे घरमा प्रवेश गरियो तब सारा चिन्ता छुमन्तर भएर विलाए । किनभने घरमा कुन्नी कतिखेर बत्ति आएछ, माछाको ट्याँकी र माछा, अनि घरको वातावरण तापक्रम उस्तै र उत्तिकै । अनि बल्ल लामो शास लिएर आराम गरियो ।
यसरी यस क्षेत्रमा कहिल्यै नआएको अनौठो आँधिबाट गरेको नोक्सान र पारेका बत्तिविहिन रातहरुको अनुभव पहिलो पटक अनुभव गरियो । आफ्नो घरमामात्र होईन बाहिर पैसा तिरेर बसेको ठाउँमा समेत बत्तिविहिन रात विताइएको खटमैलो अनुभव सँचित गरियो ।
तपाईहरुपनि आफ्नो विदामा धार्मिक यात्रा गर्न उक्त वृन्दावन जाने रहर गर्नुभयो भने सो को जानकारीकोलागी यहाँ क्लिक गर्नुहोला ।
केहि फोटोहरु:
No comments:
Post a Comment