बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया
रोजगारी तथा शिक्षाकोलागी जन्मथलोबाट सदरमुकाम हुँदै राजधानी र विदेश जानु नयाँ कुरा होईन न त यो हामी नेपालीकोमात्र चलन हो । यस्तो चलन अविकसित तथा विकासोन्मुख राष्ट्र्वासीकोमात्र होइन कि विकसति राष्ट्र्का व्यक्तिहरुपनि वैदेशिक रोजगारकोलागी बाहिर गएका छन् । नभए बेलायत या जर्मनी या फ्रान्सका मानिस किन अमेरिका आउँथे या कोहि अमेरिकाबाट ति देशमा किन जान्थे? र यो प्रथा निकै पुरानोपनि हो । वैदेशिक रोजगारकोलागी प्रत्येक मुलुकबाट प्रत्येक मुलुकमा मानिसहरु गई रहेका हुन्छन । या त आफ्नो थलोमा अवसरको कमी देखेर या साँच्चै नै अवसरको अभाव भएको देखेर । उदाहरणकोलागी भारतीयहरु रोजगारकोलागी हाम्रो देशमा दिनहुँ आई रहेका छन् । त्यसको ठिक उल्टो हामी नेपालीहरु दिनहुँ विदेशतर्फ लागीरहेका छौँ । मलाई एकजना साथीको भनाई यहाँ राख्न मन लाग्योः एकपटक कलकत्ताबाट काठमाण्डौँ आउने हवाईजहाजमा कलकत्ताका एकजना वासिन्दा उनिसँगै परेछन् । कुराकानीको क्रममा ति वासिन्दाले नेपालमा बसोबास गर्ने र कारोवार गर्ने मनसुवाले नेपाल जान लागेका बताएछन् । मेरा ति साथी (जो नेपालमा केहि छैन, केहि गर्न सकिन्न भन्ने हामी जस्तै मनस्थिति भएका)ले सोधेछन् “नेपालमा तिमिले त्यस्तो के देख्यौ र ?” ति कलकतियाले नेपालमा चारैतिर पैसै पैसा छ, मात्र त्यसलाई टिप्न जान्नुपर्छ र कसरी टिप्ने त्यो मलाई थाहा छ भनेछन् । र यो कुरा एकदम ठिकपनि हो । अवसर र उपायको अन्त नेपालमा कदापी भएको छैन । तर हामी अल्छि, अनुद्योगी र हतारमा धनी हुने मनशाय भएकोले ति अवसर र उपाय हाम्रालागी अदृश्य या दृष्टिगोचर भई दिन्छन् । फलतः हामी आफ्नै वीनाको खोजीमा विदेश विदेश चाहार्ने जमर्को गर्छौं अनि मानवतस्करको धन्दालाई विकसित तुल्याउँदै, उनिहरुलाई पोस्ने अनि आफु र आफन्तलाई मारिरहेका छौ ।
प्रसँग हो हालसालै प्रकाशित भएको समाचार जसमा २५-३० लाख रुपैँया भन्दा बढि दलालमार्फत खर्च गरेर अमेरिकाको कठिनपूर्ण यात्रा गर्ने मृगतृष्णित नेपालीहरुको जसले अमेरिकाको सपनाको बोझले बाटोमा आईपर्ने कष्ट, दुख र जेलयात्राको कुनै परिकल्पना गर्दैनन् । अमेरिकी सपनाले तिनका आँखामा या त ति आसन्न कठिनहरुको बारेमा सोच्न मस्तिष्कलाई पारालाईज गरिदिन्छन् या त त्यसतर्फ निस्फिक्रि जानाजान बेवास्ता गरिदिन्छन् । किनभने मानवतस्करको लोभ लाग्दा र आशलाग्दा भनाईहरुले उनिहरुको आँखामा रँगीन सपना यसरी पोतिदिएका हुन्छन् कि ति जाबो २५-३० लाख रुपैँया केहि होईन र शुरु हुन्छ कठिन यात्रा । अनि जब कुनै विरानो मुलुकमा दलालको बेईमानी अथवा त्यस देशको कानुनी पञ्जामा पर्छन अनिमात्र तिनको चेत खुल्छ । अनिमात्र २५-३० लाखको मूल्य थाहा हुन्छ । अनिमात्र जिउ र ज्यानकोमाया लाग्ने हुन्छ । तर त्यतिबेला समय घर्किई सकेको हुन्छ । सिवाय रुने, कराउने या आत्महत्या गर्ने बाहेक अरु उपाय हुन्न । यस्तो अवस्थामा देशमा रहेको आफ्नो परिवारले थाहा नपाएसम्म उनिहरुपनि रँगीन सपनामा नै डुबीरहेका हुन्छन् र जब यो विपतको बारेमा थाहा पाउँछन् उनिहरुमापनि अफसोच र आपतको पहाड खस्छ । एकछिन्को लोभ र अन्धताले परिवारका कतिजनामा आपत आईलाग्छ त्यो बेहोर्नेलाई नै थाहा हुन्छ । ऋण लिने त डुब्यो डुब्यो, ऋण दिनेपनि मानसिक तनावमा डुब्छ । ऋण दिएको ठुलो रकम डुबेपछि उसको परिवारमापनि हलचल र तरँग उत्पन्न हुन्छ ।
मानवतस्करलाई पैसा खुवाएर अमेरिका पस्ने सपना बोकेकाहरुको यात्रा अमेरिकामा नै आएर टुँगिएपनि सुखका दिन शुरु हुन्छ भन्ने ग्यारेण्टि हुँदैन । एक त यस्तो अवैध बाटोबाट सबैजना अमेरिका पस्छन् भन्ने नै ग्यारेण्टि छैन । किनभने एक त अमेरिका आउने बाटोमा पर्ने विभिन्न दक्षिणी मुलुकहरुमा नै समातिने सम्भावना हुन्छ तर कथम ति सम्भावना पार भएपनि अमेरिकाको सिमानामा चौविसै घण्टा अमेरिकी अध्यागमनका प्रहरीहरु अत्याधुनिक हतियारका साथ स्थल र आकाशबाट पहरा दिई रहेका हुन्छन् । यसको बारेमा यहाँ हेर्नुहोला । र योपनि हेर्नुहोला । तर कथम यि पहरालाईपनि छलेर अमेरिका पस्न सफल भई हालियो भनेपनि डलर खेति त्यसै शुरु हुँदैन । मेरो एकजना मित्र समुद्रिबाटोमा छ महिनाको अवधि लगाएर क्यानाडाबाट ट्र्कको पँजाबी ड्र्राईभरको सिटमुनी गुन्द्रुक खाँदिए झै खाँदिएर अमेरिका त पसे । यसकोलागी तिनले झण्डै दशवर्ष अगाडि छ लाख रुपैँया खर्च गरेका रहेछन् । अमेरिकामा आफुले सोचेभन्दा तल्लो स्तरको काम गर्नुपर्ने र भनेजति आम्दानी नहुने अनि भएको आम्दानीले खान र बस्न नै नपुग भएपछि उनको ठुलो गुनासो सुनिन्थ्यो । उनलाई अमेरिका आउनुअघि त्यो छलाख जति सानो लागेको थियो अमेरिका पसेपछि त्यो छलाख त्यति नै ठुलो र बोझ बनेको थियो । अहिले उनि देश फर्की सकेका छन् |
सबैजना ति मित्रजस्तो भाग्यमानी हुँदैनन् । अमेरिकास्थित नेपाली दूतावासमा कामगर्ने मेरा एक मित्र यसरी विभिन्न दक्षिणी अमेरिकी मुलुकमा समातिएका नेपालीहरुलाई ति समातिएका मुलुकबाट नेपाल डिपोर्टेशनकोलागी कागजात बनाउने काममा अति व्यस्त भएको देखेको छुँ । अर्थात जति अवैध ढँगबाट अमेरिका पस्नेको सँख्या बढ्दो छ त्यति नै पक्राउ पर्ने र डिपोर्टेशनको सँख्यापनि बढ्दो छ । त्यसकारण यसतर्फ सोच्दै नसोचेको राम्रो र फलदायी र आनन्ददायी हुन्छ भन्ने मलाई लाग्छ । अमेरिका मेरो अर्थमा बम्बईको लड्डु हो जो खान्छ, पछुताउँछ, जो खाँदैन उपनि पछुताउँछ । तर दुख खाएर पछुताउनु भन्दा आरामकासाथ नै पछुताउनु बेश होला भन्ने मलाई लाग्छ ।
माथी नै भने झैँ अमेरिका पसि हालियो भनेपनि डलरको खेती शुरु हुँदैन । किनभने तपाईमा जस्तोसुकै शीप छ भनेपनि एक) स्थापित ठुला साना कुनैपनि कम्पनिहरुले कसैलाई यहाँको वर्कपरमिट बिना काम दिँदैन । त्यस्ता कम्पनिहरुमा कामगर्न शुरुमानै दुई कुराको आवश्यक पर्छ त्यो हो यहाँको सोसल सेक्युरिटी नम्बर जो कसैको कसैसँग मेल खाँदैन । दोश्रो) वर्क परमिट । यि दुबै उपलब्ध गराउने भिन्दा भिन्दै निकाय हुन् । वर्कपरमिट उपलब्ध गराउने अध्यागमन कार्यालयको पत्रको आधारमा सोसल सेक्युरिटी नम्बर उपलब्ध हुन्छ । तर अध्यागमन कार्यालयबाट त्यस्तो पत्र पाउनकोलागी सो व्यक्ति अमेरिकी सरकारबाट बसोबासको स्विकृति पाएर अमेरिका आएको हुनुपर्छ । अर्थात डिभी परेर या पारिवारिक स्पोन्सरबाट आएको हुनुपर्छ । तर माथिको बाटोबाट आउनेले त बाटोमा नै पासपोर्ट फालेर आफु परिचय विहिन भैसकेको अवस्थामा यि केहि पनि पाउने सम्भावन नै रहन्न ।
त्यसकारण अमेरिका पस्ने ति भाग्यमानीले या त भारतीय या पाकिस्तानी या बँगाली या चाईनिज या मूलतः अन्य आप्रवासीको रेष्टुराँ या ग्यास स्टेशन या यस्तै कुनै सानोतिनो व्यवशायमा काम गर्ने बाहेक अरु उपाय हुन्न । र यि कामदाताहरुलाई काम खोज्ने व्यक्तिको कमजोरी थाहा पाएको आधारमा चाहे जति प्रतिघण्टाको अर्थात् कम भन्दा कम प्रतिघण्टाको हिसाबले काममा लगाउँछन् अनि चाहेको घण्टाजति अर्थात् बढी भन्दा बढी । अमेरिकी केन्द्रिय सरकारको निर्णय अनुसार अहिले न्यूनतम प्रतिघण्टा ज्याला ७.२५ डलर हो र हप्ताको ४० घन्टा बढी काम गर्नेलाई डेढी ओभरटाइम दिनु पर्ने प्रावधान छ | तरपनि अक्सर जहाँपनि ७.२५ भन्दा बढि नै मानिसले पाई रहेका हुन्छन् । तर यसको ठिक उल्टो अवैधहरुलाई काम दिने र कमजोरी थाहा पाउने माथिका कामदाताहरुले भने यसभन्दा कम र दिनको चौध पन्ध्रघण्टासम्म काममा लगाउँछन् । यो सिधै मानव शोषण हो तर यसको बाटो खोलिदिनेपनि हामी नै हौँ । त्यसकारण मानौँ कसैले दिनको १४ घण्टा काम गरेपनि दिनको १०१ डलर हुन्छ र सातैदिन काम गर्यो भने हप्ताको ७१० र महिनाको २८४० डलर कमाउँछ । यदि आय कर नकटाउने हो भने । कारिन्दाको कमजोरी बुझेर काम दिने ति कामदाताले आयकर भनेर करको रकम कटायो भने झण्डै १९८९ डलर महिनाको हात पर्ने हुन्छ । किन मेरो कर काटेको भनि विरोध गर्ने हिम्मत शायदै कसैले गर्ला किनभने बल्ल बल्ल पाएको कामपनि गुम्ला भन्ने डर हुन्छ । त्यस आम्दानीबाट खाना लगायत वासकोलागी खर्च हुँदा बचतको खासै बाटो देखिन्न । किनभने आम्दानीको सबैभन्दा ठुलो भाग नै कोठाको भाडामा पर्ने हुन्छ । जस्तै सस्तो र समूहमा बसेपनि कोठाको भाडा महिनाको कम्तिमा ५ देखि ६ शयसम्म पर्नेहुन्छ । तर यो बेस्ट सिनारियोको आधारमा कल्पना गरिएको हो । सबैमा यो कल्पना लागु हुनसक्छ भन्ने छैन । तरपनि सातैदिन, दिनको १४ १५ घण्टा त्योपनि शारिरिक काम गर्दा शरीरले कति मानसिक यातना पाउने गर्छ सहजै कल्पना गर्नसकिन्छ । कल्पना नगरेको काम, लामो घण्टाको कामपछि घर पुग्दा छुट्टिएको परिवारको सम्झनाले जोपनि चाँडै विक्षिप्त बन्न सक्छ ।
तर दलाललाई दिईने त्यो २४-२५ लाखको सट्टा त्यस रकमको पाँचभागको एकभागजतिमात्र खर्च गरेर कुनै सानोतिनो पसल या उद्यम गरेर बसे यि सब झण्झटबाट मुक्त भइने कुरा कसैले सोचिदिए हुनेथियो ।
यि त भए दलालमार्फत चोरीको बाटो अमेरिका पस्ने या पस्ने सपना देख्नेहरुको कुरा । अर्कोथरी पनि छन् जो कानुनी प्रक्रिया पुरा गरेर ठुलै सपनाकासाथ भिसा लगाएर अमेरिका पुग्छन् । टुरिष्ट या अन्य कुनैपनि भिसा (जसले अमेरिकामा काम गर्न प्रतिबन्ध लगाएको हुन्छ) लिएर यतै बस्ने विचारले आउनेकोपनि हालत झण्डै झण्डै उस्तै हुन्छ । तर यस्तो भिसामा आउनेहरुकोलागी भने केहि वैधबाटो खुलेका हुन्छन् । जस्तै कलेज भर्ना हुने र बसाईको अवधि लम्ब्याउने र ग्रीनकार्डकोलागी प्रक्रिया शुरु गर्ने । तर ग्रीनकार्डको प्रक्रिया शुरु गरेर हात नपरुन्जेल उसले आफुलाई वैध नै बनाई राखेको हुनुपर्छ । जसकोलागी कलेजको नियमित र पूर्णकालीन विद्यार्थी भई रहनुपर्यो, कलेजकोलागी फिको जोहो गर्नुपर्यो, त्यसकोलागी काम गर्नुपर्यो । उता स्पोन्सर गर्ने कामदाताले आफुकहाँ बढि भन्दा बढि घण्टा र कम भन्दा कम तलबमा काम गरोस् भन्ने चाहेको हुन्छ । अनि पूर्णकालीन कलेज, लामो समयको काम गर्दा गर्दै उ चाँडै नै थाकिसकेको हुन्छ ।
तर यसलाई नकारात्मक ढँगले नलिई यो सँघर्ष हो पनि भन्न सकिन्छ । अमेरिका मौकाको देश हो । शीप, प्रविधि र बुद्धि छ भने उ तुरुन्तै विक्छ र रातारात प्रख्यात हुनपुग्छ । यसका थुप्रै उदाहरणहरु छन् । तर सबैभन्दा पहिले उ वैध हुनुपर्यो ।
कोहि अमेरिका आउन चाहनु कसैको अधिकार र स्वेच्छाको कुरा हो । तर कसरी र किन आउने भन्ने कुरा चाहिँ अहम् प्रश्न हो । जसरी भएपनि अमेरिका पस्ने भन्ने मनशाय भन्दापनि वैध तरिकाले आएको खण्डमा परिणाम राम्रै हुन्छ यदि माथि भनिएको सँघर्ष गर्ने क्षमता छ भने । त्यसैले त्यस्ता मानिस वैध तरिकाले आउन जो कम्युटरमा राम्रो ज्ञान भएको होस्, जसको बोलाई र लेखाईमा अँग्रेजी राम्रो होस् र परिआएको खण्डमा सँघर्ष गर्नसक्ने होस् । अनि यस्तो सँघर्ष २० देखि ३५ वर्षसम्मकाले सजिलै गर्न सक्ने भएकोले यी उमेरकाहरुलाई अलि सजिलो हुनसक्छ । तर बाँकिकोलागी भने कठिनमात्र होईन महाकठिन नै हुन्छ । आफु बसेको देशमा व्यक्ति डाक्टर, इन्जिनियर या कुशल प्रशासक या प्रख्यात कलाकार आदि जे भएपनि उसले यहाँ आएर सँघर्ष गर्नैपर्छ । अहिलेको समयमा विश्वव्यापी मान्यता पाएको विद्या भनेको कम्प्युटर नै हो र यसमा राम्रो ज्ञान हुने र वैध तरिकाले आउनेलाई भने त्यति सँघर्ष गर्नु नपर्ला । USA को बारेमा एउटा भनाई छ You Start Again.
केहि सूचनामूलक वेबसाईटहरुः
(यो लेख कुनै कानुनी उपचार या कानुनी सल्लाह नभई एउटा सोचनीय र जागृतिमूलक लेखमात्र हो । यसलाई नितान्त अनौपचारिक सल्लाहको रुपमा लिनुहोला र ठिक लागे आफ्ना आफन्तहरुलाई सजग गर्नु गराउनु होला भन्ने अनुरोध छ | आशा छ अमेरिकी सपना बोक्नेहरुकोलागि यो लेखले नकारात्मक नभई सकारात्मक भूमिका खेल्ने छ |)
basushrestha@gmail.com
No comments:
Post a Comment