https://twitter.com/Chirvir

Tweet me @chirvir







Saturday, September 19, 2015

स्वागतम् नेपालको सँविधान २०७२!

बासु श्रेष्ठ
उडब्रिज, भर्जिनीया

२००७ सालदेखि नेपालीले देख्दै आएको सँविधान सभाव्दारा लिखित सँविधानको सपना अन्ततोगोत्वा २०७२ असोज ३ मा पुरा हुने भएको छ । यसकोलागी थुप्रै नेपालीहरुले बलिदान दिएका छन् । थुप्रै राजनैतिक उथलपुथलपछि २०६२/२०६३ को आन्दोलनले बल्ल सँविधान सभाको बाटो कोरेपनि सँविधान निर्माण नगरीकनै यसको अवसान भयो । दोश्रो पटक फेरी सँविधान सभाको चुनावमा जनताहरु पहिलेको जस्तो उत्साहित नदेखिएपनि यस कार्यमा सहभागी भए र नेता तथा निति निर्माताहरुलाई एक पटक फेरी मौका दिए । त्यहि मौकाले अहिले सफलताको बाटोमा हिँडेको अनभूति गर्न पाईने भएको छ । पहिलो पटकको सँविधान सभाको स्थापना र अवसानमा राष्ट्र्को अमूल्य समय र धनको खर्च भएको छ जुन फर्केर कहिल्यै आउने छैन । त्यसैको कारणले नेता तथा साँसदहरुप्रति जनताको अविश्वास बढ्दै गएको प्रत्यक्ष अनुभूत गर्न सकिन्थ्यो । तर त्यो अविश्वासपनि असोज ३ गते पखालिने अवस्थामा पुगेको छ भन्दा अत्युक्ति नहोला । सँविधान निर्माणमा आएको ढिलाई र कचकचले आफ्नो निर्वाचन क्षेत्रमा कसरी मुख देखाउन जाने होला भन्ने धुकचुक भई रहेका साँसदहरुपनि अब उज्यालो मुख गरेर अविरजात्रा गर्न पाउने लायक भएका छन् । सँधै क्लान्त देखिने यिनका अनुहारमा नयाँ सँविधान बहुमतले पारित भएपछि उज्यालो थपिएको प्रष्ट देख्न पाईन्छ ।

आठवर्ष र अरबौँ रुपैँया खर्चेको सँविधान सभाले निर्माण गरेको यो सँविधान भने पूर्ण होईन भनेर ठोकुवा गर्न सकिन्छ । किनभने यसमा जनताका अधिकाँश चाहना उल्लेख भएपनि सम्पूर्ण चाहनाहरु समाहित भएका छैनन् । सबैभन्दा मूख्य कुरा त मधेशवादीहरुलाई शक्ति मानि सकेको नेपालको राजनैतिक परिप्रेक्ष्यमा यिनै दलहरुलाई बाहिर राखेर सँविधान पारित गरिएको छ । यसको दीर्घकालिन कस्तो असर पर्छ भन्ने त भविष्यले देखाउला नै ।

त्यसैगरि, प्रदेशको नामाँकन र सिमाँकनलाईपनि थाति राखिएको छ । झ्वाट्ट हेर्दा तीन दललाई सँविधान जारी गर्न हतार भएको जस्तोपनि देखिन्छ । हुन त सँविधानको हतारो जनतालाईपनि नभएको त कहाँ हो र? त्यसैगरी कतिपय आरक्षण र सँरक्षण जस्ता विषयहरुलाईपनि सँविधानमा समेटेर निर्माणकर्ताहरुले उदारपना देखाएपनि यस्ता विषयहरुलाई कानुनबाट नै व्यवस्था गर्न सकिन्थ्यो । त्यसकारण, मधेशवादीहरुलाई छेउ पारेर र नामाँकन तथा सिमाँकनलाई थाति राख्दै सँविधान जारी गर्न तत्पर भएका छन् यि दलका नेताहरु ।

अर्कोतर्फ सँविधान जारी भएपछि सबै सिद्धियो, टुँगो लाग्यो भन्नेपनि होईन । सँविधान लेखिनु भनेको ढुँगामा लेखिनु होईन । यो पटक पटक राष्ट्र्को अवस्था र जनताको चाहना बमोजिम समय समयमा सँशोधन भईरहन्छ । यो परिवर्तनशील हुन्छ । यो प्रगतिशीलपनि हुन्छ । यो लचकदारपनि हुन्छ । सँविधान कति लचकदार र परिवर्तनशील छ भन्ने कुरा त अन्तरिम सँविधानमा भएका कतिपय सँशोधनले नै प्रमाणित गरिसकेको छ ।

सँसारको सबैभन्दा छोटो सँविधान भएको अमेरिकाको सँविधान नै पनि २७ पटक सँशोधन गरिएको छ । अर्कोतर्फ सँसारको सबैभन्दा ठुलो सँविधान भएको हाम्रै छिमेकी मुलुक भारतको सँविधानमापनि ९९ औँ पटक सँशोधन भईसकेको छ भने १०० औँ पटकको सँशोधन प्रस्तावना पारित गर्न बाँकि छ । हामीले न अमेरिकाको जत्रो सँविधान न भारतको जत्रो सँविधान बोक्ने भएका छौँ भने यो सँविधान अकाट्य हुन्छ र यहि नै अन्तिम हो भनेर कोकोहोलो गर्नु आवश्यक छैन जस्तो लाग्छ । फरक कतिमात्र हो भने परिवर्तन नभएसम्म यो अकाट्य नै रहन्छ र सँविधानको मूल विशेषता भनेको नै यहि हो ।

सँविधानमा आफ्नो आवाज नपुगेकाहरुले आफ्नो आवाज जारी राख्नुपर्छ र त्यसमा बढि भन्दा बढि आवाज थपिँदै गयो भने त्यो आवाजले एकदिन सँविधानमा ठाउँ पाउने निश्चित छ । किनभने यो समयको माग अनुरुप परिवर्तशील छ ।

त्यसैले अहिलेको सँविधान जस्तोसुकै भएपनि एक प्रकारले 'नहुनु भन्दा कानो बेश' भने झैँ हो र हामीले यसमा खुशी नै मान्नुपर्ने हुन्छ । खुशी मान्नु पर्ने यस अर्थमा कि यसको अनुपस्थितिमा देशले विकासको गति लिन पाएको छैन । अघि बढ्नुको साटो पछि परिरहेको छ । शान्ति, सुरक्षा, रोजगार लगायत आर्थिक विकासमा बाधा भई रहेको छ । देश र जनता अन्यौलमा छन् । विदेशीहरुको खुल्लमखुल्ला चलखेल, निर्देशन र सहभागिता भईरहेको छ । सँविधान सभाको नाममा साँसदहरुको खर्च धान्न धौधौ परिसकेको छ । त्यसकारण केहि हदसम्म यस सँविधानले देशलाई विकासको पथमा फर्काएर ल्याउने छ भन्ने विश्वास गर्न सकिन्छ । यो सँविधानले देशलाई दौडिन मद्धत नगरेपनि थला परेको स्थानबाट हिँड्न अबश्य मद्धत गर्ने छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । त्यसैले, नयाँ सँविधान २०७२ लाई हामीले स्वागत गर्नैपर्छ र गरौँ ।
स्वागतम् नेपालको सँविधान २०७२!

Email:basushrestha@gmail.com
Twitter: chirvir


Monday, August 24, 2015

फेरी सरोजकै कुरा

बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया


सन् १९९७ को कुरा हो महिना चै विर्सेँ । सन् १९९४ मै अमेरिका आईसकेको मैले सरोज खनालपनि टेक्ससको अमेरिका पसे रे भन्ने सुनेँ । सरोज खनाललाई व्यक्तिगतरुपमा नचिनेको, उनको एउटै चलचित्र नहेरेको भएपनि उनको बारेमा भने मैले सुने पढेको थिएँ । यस हिसाबले उनी नेपाली चलचित्र जगतमा र नाट्य क्षेत्रमा चर्चित र स्थापित व्यक्ति थिए । केहि महिनापछि उनी भर्जिनीया सरेको सुनेँ । त्यसैताका हाम्रो अपार्टमेण्टमा हरि शिवाकोटी न्यूयोर्कबाट आएर बसेका थिए । उनले सरोज खनाललाई भेट्न जान राईड मागे । मलाईपनि सरोज भेट्ने लालसा भएकोले हुन्छ भनेर राजेश चालिसेको अपार्टमेण्टमा गयाँै । नेपालको चर्चित कलाकार, मात्र पढेको भरमा बुझेका व्यक्ति र थुप्रैका फ्यान सरोज खनाल आफ्नो अगाडि पाउँदा हो र भने जस्तै भयो । चिनाजान, कुराकानी, खानपानको क्रममा जब उनी यतै बस्नेगरी आएको थाहा पाएँ मैले उनलाई सोधेको थिएँ यस्तो व्यक्ति किन यहाँ? उनले दिएको जवाफ अझै मेरो कानमा गुँजीरहेको छ र शायद गुँजिई रहने छ । मेरो प्रश्नको जवाफमा उनले भनेका थिए ‘म जति माथि पुग्नुपर्ने थिएँ त्यहाँ पुगेँ र त्यहाँबाट झर्न नपरोस् भनेर त्यसलाई छोडेर म यता आएको हुँ ।’
रहँदाबस्दा सरोजको घरमा आउने जाने लगायत व्यक्तिगत सम्बन्ध नै कायम हुनपुग्यो । सरोजसँगको सम्बन्धलाई मैले सदा गौरवकासाथ लिएको छुँ । समुदायका विभिन्न कार्यक्रम लगायत उनी आफैँ सामेल भएको युनाईटेड नेपालकोतर्फबाट गरिने कार्यक्रमहरुमा सहभागिताको कारण भेटघाट जारी नै रहन्थ्यो । यहि भेटघाटको क्रममा उनकी धर्मपत्नी सूर्यमाला शर्मासँगपनि स्वाभाविक रुपले चिनजान भएपछि उनीप्रति मेरो सम्बोधन सदा भाउजु नै रह्यो । र केपनि थाहा भयो भने अमेरिकाको बसाईमा भाउजुको रत्ती मन छैन । मात्र सरोजको करबलले अमेरिकी बसाई लम्बिएको रहेछ । अन्ततगोत्वा, सरोज नेपाल फर्किए र यसबारे थुपै समाचारहरु प्रकाशित भए र उनीसँग सम्बन्धित कुनैपनि समाचार बनि नै रहेको छ । र हालै कान्तिपुरमा प्रकाशित ‘सूर्यमालाका कारण पश्चाताप’ शिर्षकको एक समाचारमा सरोजले गरेका कुरा सत्य हुन् भन्ने मलाई लाग्छ ।
मलाई लाग्छ सरोजमा कलाकारिताको पुट भएकोले उनी कलाकारिता बिना आफु अधुरो ठान्छन् । उनी मौका पाउने वित्तिकै आफ्नो कला प्रदर्शन गर्न कदापी पछि हट्दैनन् । यहाँसम्म कि साहित्यकार वसन्त चौधरीको काव्य यात्रा कार्यक्रममा समेत कवितामा अभिनय गरेर दर्शकलाई मनोरँजन दिए भने आफ्नो चाहनाको तुष मेटे । तर त्यहाँपनि कान्तिपुरको समाचारमा झैँ भाउजु सूर्यमालाको उपस्थिति थिएन ।
१७ १८ वर्षको अमेरिकी बसाईपछि उनले स्थायी रुपले नेपाल फर्किने निर्णय गरे । तर त्यसको मतलब उनले अमेरिकालाई परित्याग गरे भनेर बुझ्नु गलत हुनेछ र नेपालका धेरै मिडियाले यसै अनुरुप बुझेर समाचार प्रसारण गरे । पाठकलेपनि स्वभाविकवश सोहि बुझेर केहि नमीठा, तीता तर भद्र विरोधको आवाजपनि उराले । उनी चाहे अमेरिकाको ग्रीनकार्ड होल्डर हुन् चाहे अमेरिकी नागरिक भईसकेका हुन्, नेपाल बस्ने या अमेरिका बस्ने उनको निजी विचार र अधिकार हो । हामीले त उनीबाट के लिने र के सिक्ने भन्नेमात्र कुरा हो ।
थुप्रै अरुजस्तै सरोजपनि अमेरिका पसे । किनभने यो देश नै यस्तै छ । क्यानाडा लगायत अन्य देशका थुप्रै गायक तथा कलाकारहरु हलीउडमा जमेका छन् । धेरैले ग्रीनकार्ड लिएका छन् । युवा गायक जस्टिन विवर समेत क्यानाडाका हुन् र अमेरिकी ग्रीनकार्ड होल्डर हुन् । त्यसैगरी हलिउडका थुप्रै कलाकारहरु जस्तै आर्नाेल्ड, चार्लिज थेरोन, ब्रुस विलिस, सिल्भस्टर स्टालन लगायत विख्यात गायक कार्लाेस् सान्तना, ग्लोरिया स्टेफन, जन लेनन अनि बब मार्लेहरु समेत अमेरिकामा सरेका छन् । त्यसकारण कलाकारले जहाँ जसरी आफुलाई प्रदर्शन गर्ने मौका पाउँछ त्यहाँ त्यसैगरी रमाउन दिनुपर्छ ।
सरोजका छोरा बुहारी यतै छन्, भविष्यमा सन्तान वृद्धि पक्कै होलान र तिनलाई भेट्न या अमेरिकी सरकारको तर्फबाट पाउने सुविधा उपभोग गर्न पनि अवश्यै समय समयमा आई नै हाल्छन् । १६ १७ वर्ष अमेरिकाको सेवा गरे वापतको कानुनतः पाउने सुविधा लिनु सरोजको अधिकारको कुरा हो । फरक कति भने उनको अधिकाँश समय अब नेपालमा वित्ने भयो । अर्थात १७ १८ वर्षको अवधिमा उनी छोटो समय नेपाल जान्थे भने अब छोटो समयकोलागी अमेरिका आउँछन् होला । उनले अमेरिका छोड्ने अघिल्लो दिन मसँग फोनमापनि भनेका भनेका थिए ‘यो वर्षको अन्तिममा आउने छु ।’
देश प्रेम देशको सिमानाभित्र बसेरमात्र हुन्न । देश छोड्नेले देशको माया गर्न पाउने अधिकार हुन्न भन्नु परिवारको माया लाग्यो भन्दैमा तिनलाई छोडेर कहिल्यै कतै नजा भन्नु हो । जुन कदापी सम्भव छैन । परिवारको माया लाग्दैमा लालनपालन भरणपोषणको समस्या समाधान हुँदैन । माया लाग्यो भनेर घर नछोड्न सम्पन्न हुनुपर्याे, होईन भने जागीर या व्यवशाय गर्न घरबाट निस्कनु पर्याे । त्यसको व्यवस्था गर्न घरको धुरी छोड्नै पर्छ । सामान्य चराचुरुँगी या जनावरहरु त परिवारको पेट भर्नकोलागी गुँडगुफा छोडेर निस्कन्छन् भने हामी त मानिस हौँ । त्यसैले देश छोड्नु अलि ठुलो परिवेश हो भने गुँडगुफा या घर छोड्नु सानो परिवेश हो । तर कुरा एकै हो ।
अमेरिकामा लामो बसाई गरेर नेपाल फर्कने थुपै्र छन् । कतिपय अमेरिकामा राम्रो पदमा राम्रो तलब भएपनि नेपाल फर्किएका छन् । तिनको चर्चा कहिल्यै भएन । किनभने उनिहरु सर्वसाधारण हुन् । चर्चा त चर्चित व्यक्तिको नै हुन्छ । जसरी सरोजको भएको छ । तर एउटा कुरा निर्धक्क के पनि भन्न सकिन्छ भने ति सबै फर्किनेहरु नेपालमा आफ्नोलागी कुनै न कुनै अवसर देखेर या पाएरै गएका हुन् । देशभक्तिकोमात्र कारण भने पक्कै होईन । यो तीतो स्तयपनि हो । त्यति हुँदाहुँदै अमेरिकाको तुलनामा नेपालमा भोग्नु पर्ने असुविधाहरुलाई बेवास्ता गर्नुपनि एक प्रकारको आँट नै हो भन्ने मलाई लाग्छ ।
अमेरिकाको स्थायी बासिन्दा भएपछि दुबै देशमा पालोपालो आउने जाने गर्ने थुप्रै नेपालीहरु छन् । त्यसकारण सरोजलेपनि त्यसो गरे भन्दैमा कसैले अन्यथा लिनु पर्दैन । बरु सरोजको कलाकारिता हेर्न पाईयो भनेर खुशी मनाए हुन्छ भने हामी अमेरिकावासीहरु उनको सँगत र कलाकारिताबाट बँचित भयौँ भन्छौ । तर समय समयमा भेट भईहाल्छ भनेरपनि ढुक्क छौँ । सरोज र सूर्यमाला दुबैको कलाकारितामा अभिवृद्धि होस् भन्ने कामना ।

Wednesday, July 8, 2015

पैँचो मागेको खुट्टा


बासु श्रेष्ठ
उडब्रिज, भर्जिनीया
अमेरिका


मैले कतै पढेको या सुनेको थिएँ । त्यो के भने, हिरोशिमा र नागाशाकिमा अमेरिकाले विध्वँसकारी दुई बम खसालेपछि तहसनहस भएको जापानलाई अमेरिकाले केकस्तो सहयोग चाहिन्छ भनेर सोधेको जवाफमा हामीलाई प्रविधि देउ, त्यसैको भरमा हामी उठछौँ भनेको थियो रे । कुरो कत्तिको सत्य हो ईतिहास खोतले थाहा भईहाल्छ । तर कुरोको चुरो भने सान्दर्भिक छ हाम्रो देश नेपालको सन्दर्भमा ।

नेपालमा गएको दुई विध्वँसकारी भूकम्पले जेजति हानी नोक्सानी गर्यो त्यो सबैको सामू छ । यो नोक्सानको मौद्रिक रुपमा राष्ट्र्यि योजना आयोगले खर्ब रुपैयामा परिणत गरेको छ । राष्ट्र निर्माण गर्न लम्केका हातहरु पुननिर्माण, पुनस्र्थापनामा लाग्नु पर्ने भएको छ । त्यसकोलागी सरकारले सारा शक्ति राष्ट्र्हरुको सामू हात फैलाएको छ । टोपी खोलेर विश्वसामू थापेको छ । जसरी भूकम्प लगत्तै पिडितहरु सरकार या अन्य सहयोगको मुख ताकेर बसेका थिए त्यसैगरी अहिले नेपाल विश्वसामू मुख ताकेर बसेको छ ।

दैवी प्रकोपले ध्वस्त भएको देशलाई बाह्य सहयोग अपरिहार्य हुन्छ । त्यसमाथि नेपालजस्तो विश्वको गरीब राष्ट्र्हरुको नेतालाई त झन् चाहिने नै हुन्छ । तर यस्तो सहयोग कतिसम्मकालागी या कुन कुन क्षेत्रकालागी भन्ने प्रश्न चाहिँ अहम् ठहरिन्छ । तर बुझ्नुपर्ने के हो भने सहयोग भनेको सदाकालागी होईन । यसको समय र सीमा हुन्छन् । दिनेले दिई रहन सक्दैन । त्यस्तै माग्नेलेपनि मागीरह्यो भने उ पिडित नभई माग्ने ठहरिन्छ । कतै हामी माग्नेतर्फ उन्मुख त भएका छैनौँ?

यसै मेसोमा भर्खर सम्पन्न भएको 'नेपालको पुनर्निर्माणकालागी अन्तर्राष्ट्रिय सम्मेलन २०७२' मार्फत नेपालले झण्डै चारशय अर्ब रुपैँयाको सहयोगको वचन पायो । हामी दँग छौ सहयोग ओईरिएकोमा । तर यो सहयोगको उपयोग कसरी हुन्छ भन्ने कुरामा हामी अर्थात योजनाकारहरु कत्तिको सचेत र सजग छन् उनै जानुन् । शुन्य भ्रष्टाचारको आधारमा जनता तथा सहयोगी राष्ट्र्हरुको मन जितेर प्राप्त सहयोग शतप्रतिशत योजनामा कार्यान्वयन हुन्छ कि हुँदैन । उनै जानुन् । तर जनताकोमाझ भने शँकाको अवस्था सँधै नै रहिरहनेछ । भ्रष्टाचारको शिखर चढ्दै गरेको र विश्वसनियता गुमाउँदै गएका अस्थिर सरकार तथा कर्मचारीतन्त्रले मन, वचन र कर्मले काम गरेर ति दागहरुको सफाई गर्ने मौका भने यहि हो ।

तर, मलाईचाहिँ सबैभन्दा वेश के लाग्थ्यो भने माथि जापानले भनेको प्रसँग नेपालले विश्वकासामू उठाएको भए कति राम्रो हुन्थ्यो? नगदको सट्टा प्रविधि मागिनुपथ्र्याे भन्ने मलाई लागेको छ । यसरी पाएको प्रविधिले देश आत्मनिर्भर हुन धेरै समय लाग्दैनथ्यो । पाएको सोहि प्रविधिका उत्पादनहरु सहयोग दिने तिनै राष्ट्र या अन्य राष्ट्र्हरुमा निर्यात गर्न सकिन्थ्यो । उनिहरुका प्रविधि, उनिहरुकै देशमा आयात गरेर नेपालजस्तो देशलाई सहयोग गर्न पाउँदा पक्कै खुशी नै हुने थिए होलान् । केहि वर्षपछि नेपाल आत्मनिर्भर भएको देखेपछि उनिहरुका आत्मालेपनि शान्ति पाउँदा हुन्, आफुले गरेको सहयोगप्रति गौरव गर्दा हुन् ।

तर, हामीले यो सबै मौका गुमायौँ । र फगत टोपीमा परेको सहयोगमा हामी आत्मनिर्भरको विपरित परनिर्भरोन्मुख भईरहेका छौँ । यसरी पैँचो मागेको खुट्टाले हामी कति दिन हिँड्न सक्छौँ कुन्नी ।

(हिमालखवर २०-२६ असार, २०७२ मा प्रकाशित)