https://twitter.com/Chirvir

Tweet me @chirvir







Thursday, March 14, 2013

भगवानविरुद्ध किन खनिए लोभीपापी

काठमाडौ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको कार्यकारी निर्देशक पदबाट बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले १ सय ८ दिनमा फागुन १८ गते राजीनामा दिएपछि कोइरालाका असहयोगी र भ्रष्ट कर्मचारी, डाक्टर, नर्स को को हुन? भन्ने खोजी सुरु भएको छ। डाक्टर कोइरालाले राजीनामा दिनुपर्ने १२ वटा कारणहरू अर्मूत रूपमा उल्लेख गरेका छन। सहिद गंगालाल हृदय रोग केन्द्र, बाँसबारीलाई दक्षिण एशियाकै नमुना मुटुरोग अस्पताल बनाएका डाक्टर कोइराला शिक्षण अस्पतालमा तीन महिना १८ दिनभन्दा बढी किन टिक्न सकेनन? भन्ने प्रश्न सर्वसाधारणले उठाएका छन। विगत १० बर्षदेखि निरन्तर घाटामा सञ्चालन भइरहेको शिक्षण अस्पतालमा करिब तीन महिनामा कार्यकारी निर्देशक कोइरालाले थुप्रै सुधारका काम गरेको कर्मचारीको दावी छ। 
कमिशनतन्त्रमा रमाइरहेका त्रिवि केही उच्च पदाधिकारीदेखि अस्पतालका केही लोभीपापी कर्मचारी, डाक्टर, नर्स तथा प्राध्यापकहरूले नियुक्ति पाएकै दिनदेखि नै उनलाई गम्भीर असहयोग गर्न थालेको अस्पताल परिसरमा भेटिएका कर्मचारीको भनाइ छ। घाटामा गएको अस्पताललाई सुधार गर्ने तथा अस्पतालको गुम्दै गएको साख पुनर्जीवित गर्न सहयोग गर्ने भन्दै नेकपा एमाले र एमाओवादीनिकट कर्मचारी संगठनका नेताहरूले डाक्टर कोइराला नियुक्त भए लगत्तै अस्पतालमा कुनै प्रकारको आन्दोलन नगर्ने लिखित सहमति गरेका थिए। अस्पताल स्रोतका अनुसार, कोइराला नियुक्तिको महिना दिनपछि नै कर्मचारी युनियनका नेतादेखि प्राध्यापक संगठन र डाक्टर्स एशोसिएशनका डाक्टरहरू, प्राध्यापक संगठनका प्राध्यापकहरू कोइराललाई असफल बनाउने रणनीतिमा लाग्न सुरु गरे। कतिसम्म भने डाक्टर कोइरालाविरुद्धको गठबन्धनमा सन्त चिकित्सिक, असल शासनका पक्षपाती मानिएका अर्थोपेडिक विभागका डाक्टर गोविन्द केसी पनि लागेको आरोप लागेको छ। घाटामा गएको र साख गुमेको अस्पताल सुधारका लागि गैरराजनीतिक तथा स्वच्छ छविको व्यक्तिलाई कार्यकारी निर्देशक बनाउनुपर्ने माग राखी आमरण अनशन समेत बसेका केसी कोइरालाविरुद्ध किन लागे? यस भित्रको रहस्यको पनि खोजी हुन थालेका छ। 
भगवानविरुद्ध लाग्नेहरू चिन्नुस् 
निर्देशक कोइरालालाई राजीनामा गराउन बाध्य पार्ने केही कारण कोइराला स्वम्ले उल्लेख गरेका भएपनि त्यसरी बाध्य पार्नेहरू को को हुन भन्ने चाहिं खुलाएका छैनन्। अस्पतालका सिनियर डाक्टर, प्राध्यापक तथा कर्मचारीबाट उचित सहयोग नपाएको गुनासो डाक्टर कोइरालाले दुई महिना पहिलादेखि नै गर्न थालेका थिए। भगवानको राजीनामा फिर्ता गराउनुपर्ने माग राख्दै आन्दोलन तथा हस्ताक्षर अभियानमा लागेका अस्पतालका इमानदार, कर्तब्यनिष्ट कर्मचारी, नर्स, डाक्टरहरू पनि भगवानविरुद्ध लाग्नेको नाम भन्न चाहँदैनन। तर, अस्पताल स्रोतका अनुसार, कोइरालाले नियुक्ति पाएकै दिनदेखि विरोधमा उत्रिनेहरूको समूह भने ठूलो थियो। पूर्व कार्यकारी निर्देशक केपी सिंहको नेतृत्वमा सुरु भएको भगवान विरोधी रणनीतिमा अर्थोपेडिक विभागका डाक्टरहरू बढी सक्रिय रहेको बताइएको छ। अर्थोपेडिक विभागका डाक्टरहरू दीपक महरा, अर्जुन लामिछानेका अलवा डाक्टर सरोज ओझा, डाक्टर प्रतापकुमार, डाक्टर प्रदीप ज्ञवालीहरू बढी सक्रिय रहेको कुरा अस्पताल बचाउन चाहने कर्मचारीहरू बताउछन। त्यसलाई अप्रत्यक्ष साथ दिनेमा अर्थोपेडिक विभागकै प्राडा गोविन्द केसी पनि हुन्। डाक्टर करबीरनाथ योगी पनि यही टीममा जोडिएका थिए। 
केपी सिंह आफ्नो पालामा भएका आर्थिक अनियमितता पर्दाफास हुने डरले त्रस्त थिए भने डाक्टर महरा र लामिछाने विरामी प्राइभेट अस्पतालमा रिफर गर्न नपाएको रिसमा छन। योगी, डाक्टर केसीको आडमा कार्यकारी निर्देशक बन्ने धुनमा थिए, तर डीन कार्यालयको दबाबमा त्रिवि कार्यकारी परिषदले डाक्टर कोइरालालाई नियुक्त गरेको थियो। 
त्यसैगरी अस्पतालकै मेट्रोन धर्मलक्ष्मी श्रेष्ठ पनि कोइरालाको विपक्षीमा थिइन। श्रेष्ठलाई साथ दिनेमा पूर्वमेट्रोन जमुना सायमी पनि जोडिएकी थिइन। यता, डाक्टर कोइरालाको विपक्षमा पहिलादेखि नै उभिदै आएका थिए चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडीन प्राडा अरुण सायमी। कोइरालालाई राजीनामा गराउन बाध्य पार्ने यो टीमको नेतृत्वलाई अस्पतालको कर्मचारी प्रशासनको पूर्ण समर्थन थियो। कार्यकारी निर्देशक कोइरालालाई कर्मचारीले धेरै सूचना अपुरा तथा गलत दिने र कतिपय सूचना त ब्ल्याकआउट समेत गर्ने गरेको अस्पताल स्रोतको भनाइ छ। 
त्यसैगरी, त्रिभुवन विश्वविद्यालयका सबै पदाधिकारी डाक्टर कोइरालाको विपक्षमा छन्। पदाधिकारीले कमिशन नपाउने तथा डीन कार्यालयलाई पनि आफू अनुकूल चलाउन नसकेको रिस कोइरालामाथि पोख्न थालेका थिए। त्यही कारण एकैदिनमा स्वीकृत गर्नुपर्ने फाइल हप्तौसम्म अड्काउने गरेको कोइरालाले बताउने गरेका छन। कोइरालालाई बाध्यतामा नियुक्त गर्नु परेकोले त्रिवि पदाधिकारी कोइरालासहित चिकित्साशास्त्र अध्ययन संस्थानको डीन कार्यालयलाई नै असहयोग गर्दै आएका छन। अस्पतालका कार्यकारी निर्देशक कोइरालाले कारबाहीका लागि सिफारिस गरेका कर्मचारीलाई रजिस्टार चन्द्रमणि पौडेलले अस्वीकार गरेका थिए। अस्पतालका कार्यकारी निर्देशकलाई नायब सुव्बा सोसरहका कर्मचारीलाई मात्रै कारबाही गर्ने अधिकार छ। सो तहभन्दा माथिका कर्मचारीलाई कारबाही गर्नुपर्दा रजिस्टारको कार्यालयले स्वीकृत लिनु पर्छ। डाक्टर कोइरालाले २५ जना कर्मचारीले अस्पतालको हित विपरीत काम गरेको भन्दै कारबाही गर्न रजिस्टारको कार्यालयलाई सिफारिस गरेका थिए। 
आफ्नो क्षेत्राधिकारभित्र पर्नेमध्ये १२ जना कर्मचारीलाई दुई महिना अगाडि नै कोइरालाले कारबाही गरिसकेका थिए। तर, रजिस्टार पौडेलले २५ जना कर्मचारीको कारबाही प्रक्रिया नै अगाडि बढाएनन्। रजिस्टार पौडेललाई उपकुलपति हीराबहादुर महर्जन, रेक्टर गुणनिधि न्यौपानेले समेत दिएका छन। त्यसमा प्रधानमन्त्री बाबुराम भट्टराईपत्नी हिसिला यमीको नाम पनि मुछिएको छ। यमीलाई अस्पतालकै डाक्टरहरू केपी सिंह, अरुण सायमी, करबीरनाथ योगीलगायतले भेटेर कोइरालाविरुद्ध उचालेको आरोप छ। अरुण सायमीलाई पुनःडीन हुन नपाएको ठूलो रिस छ। त्रिविको कार्यकारी परिषद् सदस्य समेत रहेकी विज्ञान तथा प्रविधि अध्ययन संस्थानकी डिन चिरिकशोभा ताम्राकार पनि कोइरालाको विरुद्धमा रहेको चर्चा अस्पतालका कर्मचारीमा छ। डाक्टर केदारनरसिंह केसी पनि कोइरालाको राजीनामा स्वीकृत गराउने अभियानमा लागेको बताइन्छ। त्यसैगरी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज शिक्षक संघ समेत औपचारिक रूपमा भगवानको विरोध उत्रिएको छ। संघका अध्यक्ष रमेशप्रसाद आचार्य र का.ब.सचिव सुरेशप्रसाद आचार्यले विज्ञप्ति नै निकालेर अस्पतालको भविष्य बनाउन सुधार गर्न चाहने भगवानको विरोधमा उत्रिए। 
भगवानको किन भयो विरोध
कार्यकारी निर्देशक डाक्टर कोइरालालाई असहयोग गर्नुपर्ने कारण के थियो? अस्पतालका सो अस्पतालका इमानदार कर्मचारीले दिएको जानकारी अनुसार, निजी अस्पतालमा काम गर्ने डाक्टरहरू बढी विरोधमा उत्रिए। त्यसमा साथ दिनेमा आर्थिक अनियमितता तथा कमिशनमा रमाउने केही भ्रष्ट कर्मचारीहरू थिए। ह्याम्स अस्पतालमा काम गर्ने दीपक महरा, ओम अस्पतालमा काम गर्ने अर्जुन लामिछाने र मेडिकेयरमा काम गर्ने केपी सिंह निर्देशक कोइरालाविरुद्ध बढी आक्रमक रूपमा उभिएका थिए। त्यसमा साथ दिनेमा हेल्पिङ ह्याण्डसमा काम गर्ने डाक्टर प्रदीप ज्ञवाली पनि रहेको बताइन्छ। उनीहरू शिक्षण अस्पतालमा आएका विरामीलाई आफूले काम गर्ने निजी अस्पतालमा रिफर गर्दथे। 
अधिकांश डाक्टर अस्पतालको बेड खाली हँदाहुँदै बेड खाली नभएको भन्दै निजी अस्पतालमा जान सुझाव दिन्थे। यस्तो अनैतिक कार्य भगवान कोइरालाले रोकेका थिए। निजी अस्पतालका एम्बुलेन्स विरामी लिनकै लागि शिक्षण अस्पताल प्रागणमा ताँती लाग्ने गर्दथे। आकस्मिक कक्षकै कर्मचारीले कमिशन लिएर निजी अस्पतालमा विरामी पठाउने गरेको रंगेहात पक्राउ गरी कोइरालाले तत्कालै कारबाही गरेका थिए। सो कार्यमा संलग्न डाईभर र सुरक्षागार्डलाई महाराजगञ्ज प्रहरी बृत्तमा लगेर केही दिन हिरासतमा राखिएको थियो। त्यसरी विरामी लैजान नपाएपछि अधिकांश डाक्टर विदामा पनि बस्न थालेका थिए। त्यही क्रममा ह्याम्स अस्पतालमा काम गर्ने युरोलोजीस्ट डाक्टर उत्तम शर्मा लामो समय विदामा बस्ने मध्येका एक भएको कर्मचारीको भनाइ छ।
 यसरी विस्तारै रुष्ट हुदै गएका केही मुठ्ठीभर लोभीपापी कर्मचारी र डाक्टरहरूलाई पूर्व कार्यकारी निर्देशक सिंहसहितको टोली आफ्ना पुराना आर्थिक अनियमितताको पर्दाफास हुने डरले कोइरालाविरुद्ध उकासेको आरोप छ। पूर्व कार्यकारी निर्देशक सिंहले गत बर्ष खरिद गरेको ३ करोड रूपैयाँ बराबरको अस्पतालको सामाग्री काण्ड पनि अहिले जोडिन आएको छ। सिंहले शिक्षण अस्पतालका नाममा सो मूल्य बराबरको सामाग्री खरिद गरेको भन्दै भुक्तानी गर्ने प्रक्रियामा रहेको थियो। तर, ती सामान अस्पतालमा नभेटिएपछि डाक्टर कोइरालाले सप्लायर्सको भुक्तानी रोकेका थिए। 
कर्मचारी स्रोतका अनुसार, कोइरालाले सो भुक्तानी गर्नु पहिला विगतको लेखा परीक्षणसमेत हेर्ने भन्न थालेपछि सिंहलगायतको टोली आक्रोशित भइरहेको थियो। सोही कारण सप्लायर्स पनि कोइरालाको विरोधमा जे गर्न पनि तयार थिए। 
मंहगो शुल्कमा विरामीलाई औषधि बेच्ने गरेका भ्रष्ट पसललाई हटाएर अस्पताल आफैले औषधि पसल सञ्चालन गर्ने अभियानमा थिए कोइराला। यो काण्ड पनि त्यही प्रकरणमा जोडिएको छ। यता, कार्यकारी निर्देशक बन्ने दौडमा रहेका डाक्टर करबीरनाथ योगी र दीपक महरा आफ्नो सपना हावाले उडाएपछि कोइरालाविरुद्ध उभिए। हिजो अस्पतालको उन्नति―प्रगति लागि भनेर प्राडा.गोविन्द केसी आमरण अनशनमा समेत बसेका थिए। डा. केसीले चाहेकै सुब्यवस्था कायम गर्न भगवान कोइरालाले थालेको ब्यापक परिवर्तनको अभियानमा भने सुधारवादी भनिएका डा. केसील एक कन्चो सहयोग गरेनन्। 
त्यसैगरी, कर्मचारीलेे एकसय रूपैयाँ शुल्कमा खरिद गरेको सामानको विल ४ सय रूपैयाँसम्म बनाउने गरेको भेटिएको थियो। फिजोयोथेरापी विभागमा यस्तै घटना भएको चर्चा पनि अस्पतालमा छ। त्यसैगरी ६० हजार रूपैयाँमा खरिद गरिएको अस्पतालको समाग्रीलाई एक लाख २० हजार रूपैयाँमा खरिद गरेको विल पेश भएको पनि पाइएको छ। उक्त विल अस्वभाविक लागेपछि कोइराला आफैले सप्लायर्सलाई बोलाएर सोद्धा ६० हजार रूपैयाँमा खरिद गरेको पुष्टि भएको थियो। तर, अहिलेसम्म कुन सामान खरिदमा यस्तो भएको हो भन्ने चाहिं सार्वजनिक गरिएको छैन। 
के के गरेका थिए कोइरालाले? अस्पतालमा आर्थिक चुहावटका प्वालहरू पत्ता लगाएर त्यसलाई रोक्ने र अनावश्यक खर्च कटौती गर्ने क्रमको शुभ सुरुवात कोइरालाले गरेका थिए। सोही कारण दुई महिनामै अस्पतालको आम्दानी एक करोडको हाराहारीमा बढेको कर्मचारीको भनाई छ। १० वर्षदेखि घाटामा रहेको शिक्षण अस्पताल तीन महिनामै आन्तरिक खर्च धान्ने अवस्थामा पुग्यो। सेवाको स्तर र चिकित्सक उपलब्ध हुने क्रम बढेर बिरामी रिफर गर्ने काममा कमी भयो। यसबाट निजी अस्पतालतिर तान्ने दलालहरू बिच्किए। कमिसनको लोभमा इमर्जेन्सीबाटै जथाभावी बिरामी फर्काउने र रेफर गर्ने प्रवृत्ति रोक्ने कडा नीति लिएका कोइरालाले रेफर गर्नुपरे विशेषज्ञले त्यसको कारण खुलाउनुपर्ने नियम लगाए। रेफर गरे पनि पहिला अन्य सरकारी अस्पतालमा मात्र गर्नुपर्ने व्यवस्था बनाए। कहाँ रेफर गरियो, किन गरियो भन्ने अभिलेख नै राख्न लगाइयो। त्यसैगरी कामै नगरी सबै कर्मचारीले ओभरटाइम वापत पाउने थप भत्ता पनि रोकिदिए। अत्यावश्यक देखिएको अवस्थामा बाहेक उक्त रकम नदिने नीति लगाएर कोइरालाले अस्पताल समयमै काम गरेर ओभरटाइमका नाममा वर्षको झण्डै ७० लाख रूपैयाँ भार कम गराउने अवस्था सिर्जना भयो। हाजिर गरेर टाप ठोक्ने हाटालाई नियन्त्रण गर्न फिङ्गर फ्रिन्टसहितको आएको समय र गएको समयको हाजिर गर्ने व्यवस्था गरियो। हाजिर गरेर निजी अस्पताल र क्लिनिकतिर दौडिने भ्रष्ट डाक्टर, नर्स र कर्मचारीहरूलाई अफठ्यारो सिर्जना भयो। जसले गर्दा उनीहरू कोइरालको सुब्यवस्था कायम अभियान विरुद्ध उभिए। 
 यातायातमा इन्धन र माइलेज बढी देखाएर खाएको देखेपछि अनुगमन कडा बनाई बिना स्वीकृति सवारी सञ्चालन गर्न पनि रोकेको बताइएको छ। अस्पतालका सर्जिकल उपकरण सुटुक्क निजी अस्पतालमा लैजाने गरेको आरोप पहिलादेखि नै लाग्दै आएको थियो, सो क्रम नरोकिएपछि कोइरालाले सामान लैजान नपाउने कडा व्यवस्था लागू गरे। जुनसुकै वार्डमा पनि बेड खाली भएसम्म भर्ना लिने नीति बनाएका कोइरालाले ल्याबका लागि जथाभावी केमिकल किन्ने प्रवृत्तिमा पनि रोक लगाएका थिए। अस्पतालभित्र र बाहिरको औषधि पसललाई मर्ज गरेर २४ सै घन्टा अस्पताल फार्मेसी खुला राख्ने व्यवस्था पनि गरियो। टिफिन टाइम भन्दै एक घण्टा ल्याबलगायत सेवा बन्द गरिने व्यवस्था खारेज गरी पालो मिलाएर खाजाका लागि जाने तर सेवा बन्द नहुने सुव्यवस्था गरिएको पनि अस्पतालका कर्मचारीले बताए। 
सामानहरू किन्दा कीर्ते बिल बनाएर अनियमितता गर्ने काममा कडाइ गरे। साथै दल र ट्रेड युनियनको दबाबमा आफ्ना मान्छेलाई निःशुल्क उपचार गराउने अनियमित कार्यमा समेत नियन्त्रण प्रयास गरेका थिए। डाक्टर, नर्सलाई विहान ९ बजेदेखि साँझ ५ बजेसम्म अनिवार्य अस्पतालमा काम गर्नुपर्ने बताएका थिए। हाटा गर्ने कर्मचारीलाई नियन्त्रण गर्न यस्तो निर्देशन दिए। अस्पतालका प्रशासकीय प्रमुख चन्द्रकुमार राई भने सो कुरामा कोइरालालाई साथ दिइरहेका थिए। त्यसो त, कोइरालालाई जिम्मेवारी दिइने समयमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नै अस्पतालको पुरानो ऋण तिर्न केही अनुदान दिने वाचा गरेका थिए। अस्पतालको झन्डै ६६ करोड ऋण तिर्न सघाउने र विश्वविद्ययालयले पनि कर्मचारी बराबरको तलब अनुदान दिने बाचा गरेको थियो। तर, यो दुवै काम हुन सकेन। अस्पतालका कर्मचारीका अनुसार, अस्पतालको आन्तरिक आम्दानी वार्षिक करिब ३० करोड रूपैयाँ बराबर हुने तर खर्च भने ६१ करोड रूपैयाँभन्दा बढी रहेको बताईएको छ। प्रशासन सूत्रका अनुसार, अस्पतालमा कार्यरत स्थायी कर्मचारीका लागि तलब खुवाउन पुग्ने बराबर रकमसमेत त्रिविले दिँदैन। तलबमा ४२ करोड रूपैयाँ हाराहारी खर्च हुन्छ। सोही कारण कोइरालाले पहिलो चरणमा कम्तीमा १० करोड अनुदान सरकारसँग मागेका थिए। 
झन्डै एक हजार ५ सय बिरामीले सेवा लिन आउने यस अस्पतालका सबै सेवामा गरी १ हजार ५ सय कर्मचारी कार्यरत छन । तीमध्ये ८ सयको हाराहारी स्थायी कर्मचारीलाई तलब खुवाउन ठूलो रकम आवश्यक पर्छ। त्यसैगरी, कोइरालाले डिनको कार्यालयको सहायताले पुराना करको बक्यौता, नागरिक लगानी कोषमा रकम तिर्न सुरु भएको थियो। उनले कडा अनुगमन र सर्जिकल सामाग्रीको अभिलेख राख्नाले अपरेटिङ रुम र वार्डको खर्च झण्डै २० प्रतिशतले घटेको पनि कर्मचारीको भनाइ छ।
-- योगेश ढकाल
(विक्लीनेपाल डट कमबाट साभार)

Saturday, January 5, 2013

बेलायती सरकारको मिचाहापन!


नेपाली सेनाका कर्नेल कुमार लामालाई बेलायती सरकारले पक्राउ गरेर कुटनैतिक सम्बन्धको मर्यादा नाघेको छ | कुमार लामालाई कारवाही गर्ने अधिकार नेपाल सरकारसँगमात्र छ या नेपाल सरकारले अनुरोध नगरेसम्म कुनै पनि देशलाई पक्राउ गर्ने अधिकार छैन |

कुमार लामा के हो, को हो मलाई केहि थाहा छैन | मलाई के मात्र थाहा छ भने उ कुनै एक देश (नेपाल)को नागरिक हो, त्यहि देशको सरकारमा बहालवाला सैनिक व्यक्ति हो | यस्तो बहालबाल...ा अधिकृतलाई बेलायतले नेपाल सरकारको पूर्व अनुमति बिना या पूर्व जानकारीविना पक्राउ गर्नु बेलायती सरकारको मिचाहापन र हेपाहापन बाहेक केहि होइन |

कतिपय व्यक्ति यस घटनाप्रति खुशी मनाएका छन् | तर देशको सार्वभौम र स्वतन्त्रतामा आँच आएको नदेख्ने बुद्धिजीवीहरुको सोचप्रति मेरो खेद छ |

नेपाल सरकारले बेलायती राजदूतसँग यस बारे गरेको विरोध गरेकोमा भने नेपाल सरकारको आँट नै मान्नु पर्छ |

उनले नेपालमा आओवादी युद्धकालीन अवधिमा पदको दुरुपयोग गरेको आरोप लगाएर पक्राउ गरिएको छ | त्यो त नेपालको आन्तरिक मामला होइन र ? के नेपालले लामाको पक्राउ गर्न बेलायती सरकारसँग अनुनय विनय गरेको थियो ? या लामाले बेलायती कानुनको अपहेलना गरेको छो या गरेको थियो ?

एक सार्वभौम नेपालको सचेत नेपाली नागरिक भएको हैसियतले  मैले या घटनाको विरोध गर्ने निर्णय गरेको हुँ |

Wednesday, December 12, 2012

अमेरिका नेपाल सोसाईटी अदालतको ढोकामा


बासु श्रेष्ठ

अमेरिकामा नेपालीहरुको सबैभन्दा ठुलो सँस्था एशोसिएसन अफ नेपलिज ईन अमेरिकामा केहि पहिले पदकोलागी उठेको खिचलोको कारण अदालत धाएर समुदायको झण्डै २५००० डलर रकम कानुनी प्रक्रियाकोलागी खर्च गरेपछि सो मुद्धा टुँगिएको थियो । तर सो कुरा सेलाउन नपाउँदै अमेरिकाकै वासिँगटन डिसीस्थित सबैभन्दा पुरानो सँस्था अमेरिका नेपाल सोसाईटीलेपनि त्यहि नियति भोग्ने अवस्था आएको छ ।

गत दशैँताका सम्पन्न निर्वाचनमा सभापति पदमा पराजय भएका श्रीधर कँडेलले निर्वाचनमा धाँधली भएको, आफ्ना पक्षका मतदाताहरुलाई समय अघि नै मतदानबाट बँचित गराईएको, निर्वाचन आयोगको सदस्यमा स्वार्थवश हेरफेर गरिएको, मतपत्रको गणना ठिक ढँगले नभएको आदि लगायत ११ बुँदाहरु सहित वर्तमान पदाधिकारी तथा निर्वाचन आयोग विरुद्ध मुद्धा हाल्न स्थानिय वकिलसँग परामर्श थालेका छन् । सोहि बमोजिम श्रीधर पक्षका वकिलले अमेरिका नेपाल सोसाईटीका वर्तमान पदाधिकारी तथा तत्कालिन निर्वाचन आयोगलाई एक पत्र पठाई सो बारे जानकारी मागेको छ र समय सीमा भित्र जानकारी नपाए अदालतमा मुद्धा दायर गर्ने भनिएको छ ।

सो पत्रको प्रतिउत्तरमा निर्वाचन आयोगका तर्फबाट तत्कालिन आयुक्त कृष्ण सबले ११ बुँदामा जवाफ पठाई सकेको विश्वस्त सूत्रबाट थाहा हुन आएको छ ।

यस सम्बन्धमा श्रीधर कँडेलसँग सम्पर्क गर्दा उनले यस विषयलाई स्विकार्दै चुनावमा भएका धाँधली र अनियमितताको विरुद्ध आफुले अदालतको ढोका गुहारेको बताए । कँडेलले आफ्नो वकिलको भनाई उधृत गर्दै वकिलले पठाएको पत्रको जवाफ कृष्ण सबबाट पाईसकेको तर त्यस जवाफमा विपक्षीहरुले सहमतिको कुनै सँकेत नदेखाएको उल्लेख भएको बताए ।

यस अघि सँस्थालाई के कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा नव निर्वाचित पदाधिकारीहरुले समुदायसँग राय सल्लाह लिन यहि डिसेम्बर ९ का दिन एक भेलाको आव्हान गरेको थियो । तर उल्लेखित कारणले अनेसोव्दारा सो भेला “कारणवश रद्द गरिएको” जानकारी समुदायलाई गराएको भए ता पनि कारण भने जनाईएको थिएन ।

Friday, December 7, 2012

राजेश हमालसँगको छोटो अन्तरँग कुराकानी


बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया
 
दुई बिच गहिरो वार्तालाप?

अक्टोबर १४ मा सम्पन्न 'युनाईटेड नेपालको दशैँ ईभ २०१२' को कार्यक्रममा सहभागी हुन वासिँगटन डिसी आएका कलाकार राजेश हमालसँग नेपाल होराईजोन्स डट कमका सँचालक मित्र सुबु केसीको घरमा नोभेम्बर १७ कादिन भएको एक आतिथ्य साँझको समय केहि बेर अन्तरँग कुराकानी गर्ने अवसर मिलेको थियो । अनौपचारिक रुपमा भएका ति कुराकानी सार्वजनिक चासोको विषय हुनसक्ने भएकोले ति कुराकानीका सारहरु यस लेख मार्फत व्यक्त गर्ने जमर्को गरेको छुँ ।

माथि भनिएको उक्त इभ कार्यक्रमपछि अमेरिकाका विभिन्न शहरहरुमा पालैपालो कार्यक्रम प्रस्तुत गरेपछि नेपाल फर्किनु एकदिन अघि आयोजित सो विदाई कार्यक्रमको आयोजनामा मपनि निम्तालु भएर पुगेको थिएँ । कलाकार सरोज खनाल, किरणप्रताप केसी, सारँगा श्रेष्ठ, नविन केसी, लुना श्रेष्ठ लगायत लोक गायक कुमार बस्नेत तथा प्रेमराजा महत सहितको उपस्थिति रहेको सो रात्री भोजमा स्थानिय प्रबुद्धवर्गका केहि सदस्यहरुकोपनि सहभागीता रहेको थियो ।

राजेश मेरो अन्तरंग कुराकानी सुन्दै


चिनजानका सबैसँग अनौपचारिक भलाकुसारीपछि एकछिन राजेश हमालसँगपनि बसेर कुराकानी गर्ने ईक्षा स्वाभाविकवश जाग्यो । सोफामा सँगै बसेर कुराकानी गर्ने मनशायले म उनी छेउ बसेँ । तर निम्तालुहरुको आउने जाने क्रममा राजेशलाई 'हाई' र 'बाई'को आवाजले बाधा पुर्याएपनि (जुन स्वाभाविक नै हो) हाम्रो कुराकानी रोकिँदै अगाडि बढ्यो । मभने हामीविच कसैले बाधा नपुर्याओस् भन्ने चाहिरहेको थिएँ ।

'यसपटक त निकै शहरमा कार्यक्रम गर्नुभयो । कस्तो रह्यो भ्रमण र कार्यक्रम?' मेरो पहिलो अनौपचारिक प्रश्नको उत्तरमा छोटोमा भने “एकदम हेक्टिक” । कुरा सजिलै बुझ्न सकिन्थ्यो । वासिँगटन डिसीपछि, टेक्सस, एरिजोना, एटलाण्टा, कोलोराडो, इलीनोइ आदि विभिन्न राज्यका शहरहरुमा कार्यक्रम गर्नुपरेपछि हेक्टिक त हुने नै भयो ।

नेपालको चलचित्र उद्योगमा अहँ भूमिका निभाएका र अहिलेसम्म सक्रियताकासाथ झण्डै २५ वर्षदेखि लागी पर्दै आएका र अहिलेसम्मका सबैभन्दा शिक्षित कलाकारका रुपमा चिनिने राजेश हमालसँग निस्सन्देह चलचित्रकै बारेमा कुराकानी गरिन्छ र हाम्रो कुराकानीपनि त्यसैमा आधारित थियो ।

उनि लामो समयसम्म चलचित्रमा संलग्न भएको हैसियतले मेरो अनौपचारिक प्रश्न थियो 'नेपालको चलचित्रको भविष्य कस्तो छ र यसले समाउनु पर्ने बाटो समाएको छ कि छैन ?' तिनको उत्तर थियो “छैन” । कुरा प्रष्ट छ नेपाली चलचित्रले नक्कलमात्र गर्न जानेको छ । अक्कल लगाउन जानेको छैन । विदेशी अझ भन्ने हो भने भारतीय चलचित्रबाट नक्कल गरेर कुनै सन्देश प्रवाह गर्न सकेको छैन । कमर्सियल फिल्मको नाममापनि दिशाहिन चलचित्र बनिरहेका छन् । झन् अहिले त कतिपय चलचित्रहरुकोलागी सेक्स, बेड सिनहरु मसला भएको छ र यस मसलामा चलचित्र निर्माता र कलाकारहरुमाझ कसले बढि शरीरको अँग देखाउन सक्छ र छाडा भाषा बोल्न सक्छ भन्ने अघोषित प्रतिस्पर्धा नै भएको देखिन्छ ।

'तपाईले त्यस्ता चलचित्रको बारेमा कस्तो धारणा बनाउनु भएको छ त?' भन्ने मेरो प्रश्नमा उनले “यो कदापी राम्रो होईन । एउटा चलचित्रमा बोलिचालीको भाषा र केहि एडल्ट सीन राखेर चलेको आधार बनाएर सबै त्यसैको पछि लागेको”मा उनीपनि खुशी रहेनछन् । यसले चलचित्रको स्तर बढ्नुको साटो खस्किई रहेको उनको धारणा थियो ।

'तपाई निर्माता तथा निर्देशकहरुलाई त्यस्ता चलचित्र नबनाउन किन भन्नुहुन्न त?' भन्ने मेरो क्रस कोइश्चनको उत्तरमा “हामीले त्यसो भन्न मिल्दैन । तर के चाहिँ गर्न सकिन्छ भने त्यस्ता फिल्महरुलाई नाई भन्ने ।” तर के 'नाई' भन्दैमा निर्माता निर्देशकले कलाकारको आशय बुझ्छन् त? प्रश्न अनुत्तरित रह्यो ।

'कस्तो चलचित्र बन्नुपर्छ भन्ने तपाईको विचार छ त?' भन्ने मेरो जिज्ञासामा "फिल्म समाजलाई सन्देशमूलक र एक निश्चित गोरेटोमा डोर्याउन सक्ने खालको बन्नुपर्छ" भने । विचार असाध्य राम्रो छ । आम नेपाली र प्रबुद्धवर्गको चाहनापनि यहि हो । तर दुर्भाग्यवश यसो भएको देखिएको छैन, सुनिएको छैन ।

'तपाई आफैँ कुनै चलचित्र निर्माण या निर्देशन गर्ने ईक्षा वा चाहना छ कि छैन त?' भन्दा उनले “छ” भने । हेरौँ उनले निर्माण तथा निर्देशन गरेको चलचित्र कहिले आउने हो र कस्तो हुने हो । मैले यसबारे विस्तृत सोध्ने जमर्को गरिनँ ।

'तपाई यहाँबाट फर्किने वित्तिकै बाँकि रहेका थुप्रै कामहरु सक्नुमा नै व्यस्त हुने होला' भन्ने जिज्ञासामा “त्यति सारो व्यस्त नभएपनि तिनवटा अधुरा चलचित्रहरु चाहिँ पुरा गर्नुपर्ने भएको छ” भने । चलचित्रको नाम सोध्नुपर्ने, मैले सोधिनँ ।

यत्तिकैमा डिनर टाईमको घोषणा भयो र कुराकानीको यो क्रम यहिँ टुँगियो ।

मैले तिनवर्ष अगाडि उनिसँग खसखस डटकमकालागी एक अन्तर्वार्ता लिएको थिएँ । त्यो उनलाई सम्झना रहेछ । अहिलेको यस कुराकानीमा मैले खसखस डटकमको बारेमा कुनै चर्चा चलाएको थिईनँ । तर उनले मबाट सँचालन भईरहेको साहित्यिक वेबसाईट खसखस डटकमकालागी अमेरिकी भ्रमणको बारेमा एक सँस्मरणात्मक लेख पठाउने वाचा गरे । शायद अहिले उनि लेख्दै होलान् भन्ने कल्पनामा छुँ । उनको वाचाबाट म अझ उत्साहित र लोभी हुँदै नेपाली चलचित्रको वर्तमान अवस्थाको बारेमापनि एक लेख लेख्न आग्रह गरेँ । उनले निस्सँकोच 'हुन्छ' भने । म त्यस लेखको पर्खाईमा छुँ । तर अधुरा चलचित्र पुरा गर्नु बाहेक कहिले उनि पोखरामा भएको शैक्षिक मेलामा सम्मानित हुने त कहिले दुवइमा बन्दै गरेको नयाँ सपिँग मलको उद्घाटन गर्न जाने जस्ता समाचारले उनको व्यस्तता बुझ्न सकिन्छ । यि व्यस्तताकाविच उनले वचन दिएको लेख कहिले मकहाँ आउने होला भन्ने प्रश्न भने बेलाबेलामा उब्जिईरहन्छ ।

यस कुराकानीको केहि दिनपछि चलचित्रकर्मी तथा साहित्यकार प्रकाश सायमीसँग यसबारे चर्चा चलाउँदा उनले भनेका अझै सम्झन्छु “राजेश हमालले चाहेको भए नेपाली चलचित्रलाई सुधार्न सक्ने थिए ।” कुरा कत्तिको सत्य हो यि दुबै जानुन् ।