https://twitter.com/Chirvir

Tweet me @chirvir







Saturday, January 5, 2013

बेलायती सरकारको मिचाहापन!


नेपाली सेनाका कर्नेल कुमार लामालाई बेलायती सरकारले पक्राउ गरेर कुटनैतिक सम्बन्धको मर्यादा नाघेको छ | कुमार लामालाई कारवाही गर्ने अधिकार नेपाल सरकारसँगमात्र छ या नेपाल सरकारले अनुरोध नगरेसम्म कुनै पनि देशलाई पक्राउ गर्ने अधिकार छैन |

कुमार लामा के हो, को हो मलाई केहि थाहा छैन | मलाई के मात्र थाहा छ भने उ कुनै एक देश (नेपाल)को नागरिक हो, त्यहि देशको सरकारमा बहालवाला सैनिक व्यक्ति हो | यस्तो बहालबाल...ा अधिकृतलाई बेलायतले नेपाल सरकारको पूर्व अनुमति बिना या पूर्व जानकारीविना पक्राउ गर्नु बेलायती सरकारको मिचाहापन र हेपाहापन बाहेक केहि होइन |

कतिपय व्यक्ति यस घटनाप्रति खुशी मनाएका छन् | तर देशको सार्वभौम र स्वतन्त्रतामा आँच आएको नदेख्ने बुद्धिजीवीहरुको सोचप्रति मेरो खेद छ |

नेपाल सरकारले बेलायती राजदूतसँग यस बारे गरेको विरोध गरेकोमा भने नेपाल सरकारको आँट नै मान्नु पर्छ |

उनले नेपालमा आओवादी युद्धकालीन अवधिमा पदको दुरुपयोग गरेको आरोप लगाएर पक्राउ गरिएको छ | त्यो त नेपालको आन्तरिक मामला होइन र ? के नेपालले लामाको पक्राउ गर्न बेलायती सरकारसँग अनुनय विनय गरेको थियो ? या लामाले बेलायती कानुनको अपहेलना गरेको छो या गरेको थियो ?

एक सार्वभौम नेपालको सचेत नेपाली नागरिक भएको हैसियतले  मैले या घटनाको विरोध गर्ने निर्णय गरेको हुँ |

Wednesday, December 12, 2012

अमेरिका नेपाल सोसाईटी अदालतको ढोकामा


बासु श्रेष्ठ

अमेरिकामा नेपालीहरुको सबैभन्दा ठुलो सँस्था एशोसिएसन अफ नेपलिज ईन अमेरिकामा केहि पहिले पदकोलागी उठेको खिचलोको कारण अदालत धाएर समुदायको झण्डै २५००० डलर रकम कानुनी प्रक्रियाकोलागी खर्च गरेपछि सो मुद्धा टुँगिएको थियो । तर सो कुरा सेलाउन नपाउँदै अमेरिकाकै वासिँगटन डिसीस्थित सबैभन्दा पुरानो सँस्था अमेरिका नेपाल सोसाईटीलेपनि त्यहि नियति भोग्ने अवस्था आएको छ ।

गत दशैँताका सम्पन्न निर्वाचनमा सभापति पदमा पराजय भएका श्रीधर कँडेलले निर्वाचनमा धाँधली भएको, आफ्ना पक्षका मतदाताहरुलाई समय अघि नै मतदानबाट बँचित गराईएको, निर्वाचन आयोगको सदस्यमा स्वार्थवश हेरफेर गरिएको, मतपत्रको गणना ठिक ढँगले नभएको आदि लगायत ११ बुँदाहरु सहित वर्तमान पदाधिकारी तथा निर्वाचन आयोग विरुद्ध मुद्धा हाल्न स्थानिय वकिलसँग परामर्श थालेका छन् । सोहि बमोजिम श्रीधर पक्षका वकिलले अमेरिका नेपाल सोसाईटीका वर्तमान पदाधिकारी तथा तत्कालिन निर्वाचन आयोगलाई एक पत्र पठाई सो बारे जानकारी मागेको छ र समय सीमा भित्र जानकारी नपाए अदालतमा मुद्धा दायर गर्ने भनिएको छ ।

सो पत्रको प्रतिउत्तरमा निर्वाचन आयोगका तर्फबाट तत्कालिन आयुक्त कृष्ण सबले ११ बुँदामा जवाफ पठाई सकेको विश्वस्त सूत्रबाट थाहा हुन आएको छ ।

यस सम्बन्धमा श्रीधर कँडेलसँग सम्पर्क गर्दा उनले यस विषयलाई स्विकार्दै चुनावमा भएका धाँधली र अनियमितताको विरुद्ध आफुले अदालतको ढोका गुहारेको बताए । कँडेलले आफ्नो वकिलको भनाई उधृत गर्दै वकिलले पठाएको पत्रको जवाफ कृष्ण सबबाट पाईसकेको तर त्यस जवाफमा विपक्षीहरुले सहमतिको कुनै सँकेत नदेखाएको उल्लेख भएको बताए ।

यस अघि सँस्थालाई के कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा नव निर्वाचित पदाधिकारीहरुले समुदायसँग राय सल्लाह लिन यहि डिसेम्बर ९ का दिन एक भेलाको आव्हान गरेको थियो । तर उल्लेखित कारणले अनेसोव्दारा सो भेला कारणवश रद्द गरिएकोजानकारी समुदायलाई गराएको भए ता पनि कारण भने जनाईएको थिएन ।

Friday, December 7, 2012

राजेश हमालसँगको छोटो अन्तरँग कुराकानी


बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया
 
दुई बिच गहिरो वार्तालाप?

अक्टोबर १४ मा सम्पन्न 'युनाईटेड नेपालको दशैँ ईभ २०१२' को कार्यक्रममा सहभागी हुन वासिँगटन डिसी आएका कलाकार राजेश हमालसँग नेपाल होराईजोन्स डट कमका सँचालक मित्र सुबु केसीको घरमा नोभेम्बर १७ कादिन भएको एक आतिथ्य साँझको समय केहि बेर अन्तरँग कुराकानी गर्ने अवसर मिलेको थियो । अनौपचारिक रुपमा भएका ति कुराकानी सार्वजनिक चासोको विषय हुनसक्ने भएकोले ति कुराकानीका सारहरु यस लेख मार्फत व्यक्त गर्ने जमर्को गरेको छुँ ।

माथि भनिएको उक्त इभ कार्यक्रमपछि अमेरिकाका विभिन्न शहरहरुमा पालैपालो कार्यक्रम प्रस्तुत गरेपछि नेपाल फर्किनु एकदिन अघि आयोजित सो विदाई कार्यक्रमको आयोजनामा मपनि निम्तालु भएर पुगेको थिएँ । कलाकार सरोज खनाल, किरणप्रताप केसी, सारँगा श्रेष्ठ, नविन केसी, लुना श्रेष्ठ लगायत लोक गायक कुमार बस्नेत तथा प्रेमराजा महत सहितको उपस्थिति रहेको सो रात्री भोजमा स्थानिय प्रबुद्धवर्गका केहि सदस्यहरुकोपनि सहभागीता रहेको थियो ।

राजेश मेरो अन्तरंग कुराकानी सुन्दै


चिनजानका सबैसँग अनौपचारिक भलाकुसारीपछि एकछिन राजेश हमालसँगपनि बसेर कुराकानी गर्ने ईक्षा स्वाभाविकवश जाग्यो । सोफामा सँगै बसेर कुराकानी गर्ने मनशायले म उनी छेउ बसेँ । तर निम्तालुहरुको आउने जाने क्रममा राजेशलाई 'हाई''बाई'को आवाजले बाधा पुर्याएपनि (जुन स्वाभाविक नै हो) हाम्रो कुराकानी रोकिँदै अगाडि बढ्यो । मभने हामीविच कसैले बाधा नपुर्याओस् भन्ने चाहिरहेको थिएँ ।

'यसपटक त निकै शहरमा कार्यक्रम गर्नुभयो । कस्तो रह्यो भ्रमण र कार्यक्रम?' मेरो पहिलो अनौपचारिक प्रश्नको उत्तरमा छोटोमा भने एकदम हेक्टिक। कुरा सजिलै बुझ्न सकिन्थ्यो । वासिँगटन डिसीपछि, टेक्सस, एरिजोना, एटलाण्टा, कोलोराडो, इलीनोइ आदि विभिन्न राज्यका शहरहरुमा कार्यक्रम गर्नुपरेपछि हेक्टिक त हुने नै भयो ।

नेपालको चलचित्र उद्योगमा अहँ भूमिका निभाएका र अहिलेसम्म सक्रियताकासाथ झण्डै २५ वर्षदेखि लागी पर्दै आएका र अहिलेसम्मका सबैभन्दा शिक्षित कलाकारका रुपमा चिनिने राजेश हमालसँग निस्सन्देह चलचित्रकै बारेमा कुराकानी गरिन्छ र हाम्रो कुराकानीपनि त्यसैमा आधारित थियो ।

उनि लामो समयसम्म चलचित्रमा संलग्न भएको हैसियतले मेरो अनौपचारिक प्रश्न थियो 'नेपालको चलचित्रको भविष्य कस्तो छ र यसले समाउनु पर्ने बाटो समाएको छ कि छैन ?' तिनको उत्तर थियो छैन। कुरा प्रष्ट छ नेपाली चलचित्रले नक्कलमात्र गर्न जानेको छ । अक्कल लगाउन जानेको छैन । विदेशी अझ भन्ने हो भने भारतीय चलचित्रबाट नक्कल गरेर कुनै सन्देश प्रवाह गर्न सकेको छैन । कमर्सियल फिल्मको नाममापनि दिशाहिन चलचित्र बनिरहेका छन् । झन् अहिले त कतिपय चलचित्रहरुकोलागी सेक्स, बेड सिनहरु मसला भएको छ र यस मसलामा चलचित्र निर्माता र कलाकारहरुमाझ कसले बढि शरीरको अँग देखाउन सक्छ र छाडा भाषा बोल्न सक्छ भन्ने अघोषित प्रतिस्पर्धा नै भएको देखिन्छ ।

'तपाईले त्यस्ता चलचित्रको बारेमा कस्तो धारणा बनाउनु भएको छ त?' भन्ने मेरो प्रश्नमा उनले यो कदापी राम्रो होईन । एउटा चलचित्रमा बोलिचालीको भाषा र केहि एडल्ट सीन राखेर चलेको आधार बनाएर सबै त्यसैको पछि लागेकोमा उनीपनि खुशी रहेनछन् । यसले चलचित्रको स्तर बढ्नुको साटो खस्किई रहेको उनको धारणा थियो ।

'तपाई निर्माता तथा निर्देशकहरुलाई त्यस्ता चलचित्र नबनाउन किन भन्नुहुन्न त?' भन्ने मेरो क्रस कोइश्चनको उत्तरमा हामीले त्यसो भन्न मिल्दैन । तर के चाहिँ गर्न सकिन्छ भने त्यस्ता फिल्महरुलाई नाई भन्ने ।तर के 'नाई' भन्दैमा निर्माता निर्देशकले कलाकारको आशय बुझ्छन् त? प्रश्न अनुत्तरित रह्यो ।

'कस्तो चलचित्र बन्नुपर्छ भन्ने तपाईको विचार छ त?' भन्ने मेरो जिज्ञासामा "फिल्म समाजलाई सन्देशमूलक र एक निश्चित गोरेटोमा डोर्याउन सक्ने खालको बन्नुपर्छ" भने । विचार असाध्य राम्रो छ । आम नेपाली र प्रबुद्धवर्गको चाहनापनि यहि हो । तर दुर्भाग्यवश यसो भएको देखिएको छैन, सुनिएको छैन ।

'तपाई आफैँ कुनै चलचित्र निर्माण या निर्देशन गर्ने ईक्षा वा चाहना छ कि छैन त?' भन्दा उनले भने । हेरौँ उनले निर्माण तथा निर्देशन गरेको चलचित्र कहिले आउने हो र कस्तो हुने हो । मैले यसबारे विस्तृत सोध्ने जमर्को गरिनँ ।

'तपाई यहाँबाट फर्किने वित्तिकै बाँकि रहेका थुप्रै कामहरु सक्नुमा नै व्यस्त हुने होला' भन्ने जिज्ञासामा त्यति सारो व्यस्त नभएपनि तिनवटा अधुरा चलचित्रहरु चाहिँ पुरा गर्नुपर्ने भएको छभने । चलचित्रको नाम सोध्नुपर्ने, मैले सोधिनँ ।

यत्तिकैमा डिनर टाईमको घोषणा भयो र कुराकानीको यो क्रम यहिँ टुँगियो ।

मैले तिनवर्ष अगाडि उनिसँग खसखस डटकमकालागी एक अन्तर्वार्ता लिएको थिएँ । त्यो उनलाई सम्झना रहेछ । अहिलेको यस कुराकानीमा मैले खसखस डटकमको बारेमा कुनै चर्चा चलाएको थिईनँ । तर उनले मबाट सँचालन भईरहेको साहित्यिक वेबसाईट खसखस डटकमकालागी अमेरिकी भ्रमणको बारेमा एक सँस्मरणात्मक लेख पठाउने वाचा गरे । शायद अहिले उनि लेख्दै होलान् भन्ने कल्पनामा छुँ । उनको वाचाबाट म अझ उत्साहित र लोभी हुँदै नेपाली चलचित्रको वर्तमान अवस्थाको बारेमापनि एक लेख लेख्न आग्रह गरेँ । उनले निस्सँकोच 'हुन्छ' भने । म त्यस लेखको पर्खाईमा छुँ । तर अधुरा चलचित्र पुरा गर्नु बाहेक कहिले उनि पोखरामा भएको शैक्षिक मेलामा सम्मानित हुने त कहिले दुवइमा बन्दै गरेको नयाँ सपिँग मलको उद्घाटन गर्न जाने जस्ता समाचारले उनको व्यस्तता बुझ्न सकिन्छ । यि व्यस्तताकाविच उनले वचन दिएको लेख कहिले मकहाँ आउने होला भन्ने प्रश्न भने बेलाबेलामा उब्जिईरहन्छ ।

यस कुराकानीको केहि दिनपछि चलचित्रकर्मी तथा साहित्यकार प्रकाश सायमीसँग यसबारे चर्चा चलाउँदा उनले भनेका अझै सम्झन्छु राजेश हमालले चाहेको भए नेपाली चलचित्रलाई सुधार्न सक्ने थिए ।कुरा कत्तिको सत्य हो यि दुबै जानुन् ।

Monday, November 26, 2012

झापड काण्डले उठाएको प्रश्न


बासु श्रेष्ठ

एकाविहानै श्रीमतिले समाचार सुनाईन 'प्रचण्डलाईपनि झापड हानेछन्' । मैले लगत्तै ठट्टाको स्वरमा भनेँ 'लौ त्यसो भए प्रचण्ड फेरी प्रधानमन्त्री हुनेभयो ।' तर तुरुन्तै म सोच्न बाध्य भएँ आखिर किन यस्तो भई रहेको छ त ? केहि महिना पहिला सुशील कोईराला, त्यसभन्दा अघि झलनाथ खनाल, त्यसभन्दा अघि झक्कु प्रसाद र अहिले प्रचण्ड ।
'पन्ध्रहजार नेपालीको रगतले मुछिएको प्रचण्डलाई नहाने कसलाई हान्ने त?' 'झापड होईन म भएको भए लात दिन्थेँ' या यस्तै यस्तै टिका टिप्पणी अनलाईनमा देखिए । धेरैले आफ्नै मनको चाहना पुरा भएको भाव व्यक्त गरे । अनलाईनमा त के छ र बकि दिए पुग्यो । कोठामा बसेर जे भनेपनि भयो । तर त्यत्तिका सुरक्षाको माझ थप्पड हान्दा के परिणाम हुन्छ भन्ने जान्दाजान्दै किन हाने होलान् त? आखिर ज्यानको खतरा त पदम कुँवरकै छ । पिटाई उसैले खायो रक्ताम्य हुनेगरी । धन्न प्रहरीले सुरक्षामा लिईहाल्यो । नत्र उसको मृत्यु त्यहिँ हुन बेर लाग्दैनथ्यो । यो परिणामको सम्भावना हुँदाहुँदै किन हिम्मत गर्यो होला त ? तर नेपालको राजनैतिक वृत्तमा जुन परिस्थिति देखा परेको छ त्यो कदापी प्रिय होईन । अपितु एउटा अहम् प्रश्न भने उठेको छ आखिर किन यस्तो भई रहेको छ त ?

नेताप्रतिको वितृष्णा जनताको त छँदै छ तर यिनकै पछि लागेर जयजयकार गर्ने कार्यकर्ताहरुको वितृष्णा देखेर सोच्नैपर्ने भएको छ आखिर किन ? यस्तो व्यवहारले के कस्तो परिणाम निम्त्याउन सक्छ ? विरोधको शैली किन र कसरी यस्तो कठोर र हिँसात्मक हुँदैछ ? यि प्रश्नहरु मेरो मन मथिँगलमा घुम्न थाल्यो ।

दुर्भाग्यवश नेपालको ईतिहासमा अहिलेसम्म हामी एकापसमै लडिरहेका छौँ । एकिकरणको युद्ध होस् या राणा विरुद्ध होस्, २०३६ होस् या २०४६ होस् या २०६३ हामी आपसमा आपसकैलागी लडिरहेका छौँ । एकिकरणको युद्धलाई छोडेर बाँकि सबै लडाईँमा जनताले विश्वास गरेकाहरुबाट जनताले धोका पाएको अनुभव गरेका छन् । विसँ २००७ देखि २०१७ सम्मको उतार चढाव र अनिश्चिततामा नै जनता थाकि सकेका थिए । त्यसैको फाईदा लिएर पँचायत व्यवस्थाको उदय भयो । तर तीसवर्षपछि निरङ्कुश पँचायतको अवसान भएपनि अर्को यस्तो उदार पँचायतको उदय भयो जहाँ नेता मन्त्रीहरुमात्र रातारात सडकबाट महलमा पुगे । तर जनआन्दोलनमा लडेका मरेकाहरुको र आम जनताको परिस्थितिमा कुनै आशातित परिवर्तन भएन । फलतः जनतामा पलाएको आशा निमोठिएर कुँजिन बाध्य भयो ।

सत्तामा पालैपालो पुगेका दलहरुले राष्ट्र् र जनताको नाममा केहि नगरी दल अनि आफ्नै र आफन्तकोमात्र पृष्ठपोषक भएको फलस्वरुप अर्को आन्दोलनले जन्म लियो माओवादी आन्दोलन । तर यो आन्दोलन राष्ट्र्कोलागी सबैभन्दा विकास घातक, वृहत, लामो र परिवर्तनकारी ठहरियो । किनभने यस आन्दोलनले १३ हजार नेपालीको ज्यान लियो नेपालीबाटै । देशमा निर्मित विकासका पूर्वाधारहरु ध्वस्त भए । तर यसको बदलामा राजतन्त्रले विदा लियो । लोकतन्त्र गणतन्त्रको स्थापना भयो । १३ वर्षे माओवादी आन्दोलनको अवधिमा देशका युवाहरुले रँगीन र मीठो सपनाकोलागी सरकार विरुद्ध आफुलाई होमे । देशमा परिवर्तन आए आफुलाई र सन्ततीलाई केहि हुन्छ कि भनेर ज्यान हत्केलामा राखेर बन्दुक बोके । कतिले जबर्जस्ती बन्दुक बोकेपनि मीठो सपनामा आफ्नो बाध्यता भुले । कतिपय बाबुआमाले तिनै सपनाकोलागी आफ्ना छोराछारी डरले, करले या रहरले सरकारविरुद्ध सुम्पे । आज नभए नि भोली दुई छाक राम्रोसँग खान पाइएला, शान्ति सुरक्षाकासाथ बस्न पाईएला भनेर ।

आन्दोलनले केहि परिवर्तन त ल्यायो तर आम जनताको स्थितिभने जस्ताको त्यस्तै रह्यो । अपितु नेताका आर्थिक स्थितिमा उल्लेखित सुधार आयो । बसउठ, खानपिनमा सुधार आयो । हिजो आन्दोलनको बखत एउटै रुखमुनी बसेको, एउटै थालमा खाएको या एउटै ओछ्यानमा सुतेको व्यक्ति आज दुर्लभ र चिल्लो मोटरमा चढ्छ भने परिवर्तन कसकोलागी थियो रहेछ भन्ने प्रश्न सजिलै उठ्नसक्छ र कार्यकर्ताहरुमा नैराश्य, क्रोध या हिँसाको भावना जागेको हुनसक्छ ।

सुशील कोईराला, झलनाथ खनाल तथा झक्कुप्रसादप्रतिको आक्रोस स्पष्ट थियो । तर प्रचण्डप्रतिको आक्रमणको कारण भने अझै गर्भमै छ । हुन त माओवादीले यसमा षडयन्त्रको आशँका गरेका छन् । अझ देश विदेशको आशँका गरिएको छ । तर जब प्रतिपक्षीले षडयन्त्र नै गर्छ भने यस्तो हलुका षडयन्त्र किन गरीरहन्थ्यो र ? त्यसप्रति शँका गर्नु प्रतिपक्षीलाई फितलो या कमजोर आँक्नु हो । बरु माओवादीले यसको कारण पत्ता लगाएर निदानको मार्ग खोज्नु नै बुद्धिमत्ता हुन्छ । यदि प्रचण्डले आत्मालोचना गर्नुपर्छ भने त्योपनि गर्न पछि हट्नु हुन्न । पदम कुँवरलाई भेटेर उनको मनको कुरा प्रचण्डले आफैँ बुझ्न गए आफ्ना कार्यकर्ताप्रतिको मान, सम्मान र माया देखिन्छ र कुँवरले सजिलै आत्मग्लानी बोध गर्नेछ ।

उल्लेखित अड्कलका अतिरिक्त अर्को कारण के पनि हुनसक्छ भने माओवादी मूल धारमा आएपछि हिँसात्मक मार्ग त्यागेको छ । सर्वहाराकोलागी लड्ने भनिएको दल सर्वसत्तावादमा गएर फसेको अनुभव गर्ने कार्यकर्ताहरुपनि छन् । आफुले जुन उदेश्यकोलागी लडेको हो त्यो उदेश्य पुरा हुनु पूर्व नै आन्दोलन रोकेको हुनाले कार्यकर्ताप्रति असन्तुष्टि जागेको हुन सक्छ र यो घटना निम्त्याएको हुन सक्छ ।

तर, कारण जुनसुकै या जेसुकै भएपनि आवेगमा आउने, हिँसात्मक मार्ग अवलम्बन गर्नु भनेको कुनैपनि शान्तिप्रिय मानिसकोलागी पाच्य हुनसक्दैन । अपितु यस्तो स्थिति निम्त्याउने र अवलम्बन गर्ने दुबै पक्ष दोषी हुन् र दुबै सच्चिनु पर्दछ ।