बासु श्रेष्ठ
एकाविहानै श्रीमतिले समाचार सुनाईन 'प्रचण्डलाईपनि झापड हानेछन्' । मैले लगत्तै ठट्टाको स्वरमा भनेँ 'लौ त्यसो भए प्रचण्ड फेरी प्रधानमन्त्री हुनेभयो ।' तर तुरुन्तै म सोच्न बाध्य भएँ आखिर किन यस्तो भई रहेको छ त ? केहि महिना पहिला सुशील कोईराला, त्यसभन्दा अघि झलनाथ खनाल, त्यसभन्दा अघि झक्कु प्रसाद र अहिले प्रचण्ड ।
'पन्ध्रहजार नेपालीको रगतले मुछिएको प्रचण्डलाई नहाने कसलाई हान्ने त?' 'झापड होईन म भएको भए लात दिन्थेँ' या यस्तै यस्तै टिका टिप्पणी अनलाईनमा देखिए । धेरैले आफ्नै मनको चाहना पुरा भएको भाव व्यक्त गरे । अनलाईनमा त के छ र बकि दिए पुग्यो । कोठामा बसेर जे भनेपनि भयो । तर त्यत्तिका सुरक्षाको माझ थप्पड हान्दा के परिणाम हुन्छ भन्ने जान्दाजान्दै किन हाने होलान् त? आखिर ज्यानको खतरा त पदम कुँवरकै छ । पिटाई उसैले खायो रक्ताम्य हुनेगरी । धन्न प्रहरीले सुरक्षामा लिईहाल्यो । नत्र उसको मृत्यु त्यहिँ हुन बेर लाग्दैनथ्यो । यो परिणामको सम्भावना हुँदाहुँदै किन हिम्मत गर्यो होला त ? तर नेपालको राजनैतिक वृत्तमा जुन परिस्थिति देखा परेको छ त्यो कदापी प्रिय होईन । अपितु एउटा अहम् प्रश्न भने उठेको छ आखिर किन यस्तो भई रहेको छ त ?
नेताप्रतिको वितृष्णा जनताको त छँदै छ तर यिनकै पछि लागेर जयजयकार गर्ने कार्यकर्ताहरुको वितृष्णा देखेर सोच्नैपर्ने भएको छ आखिर किन ? यस्तो व्यवहारले के कस्तो परिणाम निम्त्याउन सक्छ ? विरोधको शैली किन र कसरी यस्तो कठोर र हिँसात्मक हुँदैछ ? यि प्रश्नहरु मेरो मन मथिँगलमा घुम्न थाल्यो ।
दुर्भाग्यवश नेपालको ईतिहासमा अहिलेसम्म हामी एकापसमै लडिरहेका छौँ । एकिकरणको युद्ध होस् या राणा विरुद्ध होस्, २०३६ होस् या २०४६ होस् या २०६३ हामी आपसमा आपसकैलागी लडिरहेका छौँ । एकिकरणको युद्धलाई छोडेर बाँकि सबै लडाईँमा जनताले विश्वास गरेकाहरुबाट जनताले धोका पाएको अनुभव गरेका छन् । विसँ २००७ देखि २०१७ सम्मको उतार चढाव र अनिश्चिततामा नै जनता थाकि सकेका थिए । त्यसैको फाईदा लिएर पँचायत व्यवस्थाको उदय भयो । तर तीसवर्षपछि निरङ्कुश पँचायतको अवसान भएपनि अर्को यस्तो उदार पँचायतको उदय भयो जहाँ नेता मन्त्रीहरुमात्र रातारात सडकबाट महलमा पुगे । तर जनआन्दोलनमा लडेका मरेकाहरुको र आम जनताको परिस्थितिमा कुनै आशातित परिवर्तन भएन । फलतः जनतामा पलाएको आशा निमोठिएर कुँजिन बाध्य भयो ।
सत्तामा पालैपालो पुगेका दलहरुले राष्ट्र् र जनताको नाममा केहि नगरी दल अनि आफ्नै र आफन्तकोमात्र पृष्ठपोषक भएको फलस्वरुप अर्को आन्दोलनले जन्म लियो माओवादी आन्दोलन । तर यो आन्दोलन राष्ट्र्कोलागी सबैभन्दा विकास घातक, वृहत, लामो र परिवर्तनकारी ठहरियो । किनभने यस आन्दोलनले १३ हजार नेपालीको ज्यान लियो नेपालीबाटै । देशमा निर्मित विकासका पूर्वाधारहरु ध्वस्त भए । तर यसको बदलामा राजतन्त्रले विदा लियो । लोकतन्त्र गणतन्त्रको स्थापना भयो । १३ वर्षे माओवादी आन्दोलनको अवधिमा देशका युवाहरुले रँगीन र मीठो सपनाकोलागी सरकार विरुद्ध आफुलाई होमे । देशमा परिवर्तन आए आफुलाई र सन्ततीलाई केहि हुन्छ कि भनेर ज्यान हत्केलामा राखेर बन्दुक बोके । कतिले जबर्जस्ती बन्दुक बोकेपनि मीठो सपनामा आफ्नो बाध्यता भुले । कतिपय बाबुआमाले तिनै सपनाकोलागी आफ्ना छोराछारी डरले, करले या रहरले सरकारविरुद्ध सुम्पे । आज नभए नि भोली दुई छाक राम्रोसँग खान पाइएला, शान्ति सुरक्षाकासाथ बस्न पाईएला भनेर ।
आन्दोलनले केहि परिवर्तन त ल्यायो तर आम जनताको स्थितिभने जस्ताको त्यस्तै रह्यो । अपितु नेताका आर्थिक स्थितिमा उल्लेखित सुधार आयो । बसउठ, खानपिनमा सुधार आयो । हिजो आन्दोलनको बखत एउटै रुखमुनी बसेको, एउटै थालमा खाएको या एउटै ओछ्यानमा सुतेको व्यक्ति आज दुर्लभ र चिल्लो मोटरमा चढ्छ भने परिवर्तन कसकोलागी थियो रहेछ भन्ने प्रश्न सजिलै उठ्नसक्छ र कार्यकर्ताहरुमा नैराश्य, क्रोध या हिँसाको भावना जागेको हुनसक्छ ।
सुशील कोईराला, झलनाथ खनाल तथा झक्कुप्रसादप्रतिको आक्रोस स्पष्ट थियो । तर प्रचण्डप्रतिको आक्रमणको कारण भने अझै गर्भमै छ । हुन त माओवादीले यसमा षडयन्त्रको आशँका गरेका छन् । अझ देश विदेशको आशँका गरिएको छ । तर जब प्रतिपक्षीले षडयन्त्र नै गर्छ भने यस्तो हलुका षडयन्त्र किन गरीरहन्थ्यो र ? त्यसप्रति शँका गर्नु प्रतिपक्षीलाई फितलो या कमजोर आँक्नु हो । बरु माओवादीले यसको कारण पत्ता लगाएर निदानको मार्ग खोज्नु नै बुद्धिमत्ता हुन्छ । यदि प्रचण्डले आत्मालोचना गर्नुपर्छ भने त्योपनि गर्न पछि हट्नु हुन्न । पदम कुँवरलाई भेटेर उनको मनको कुरा प्रचण्डले आफैँ बुझ्न गए आफ्ना कार्यकर्ताप्रतिको मान, सम्मान र माया देखिन्छ र कुँवरले सजिलै आत्मग्लानी बोध गर्नेछ ।
उल्लेखित अड्कलका अतिरिक्त अर्को कारण के पनि हुनसक्छ भने माओवादी मूल धारमा आएपछि हिँसात्मक मार्ग त्यागेको छ । सर्वहाराकोलागी लड्ने भनिएको दल सर्वसत्तावादमा गएर फसेको अनुभव गर्ने कार्यकर्ताहरुपनि छन् । आफुले जुन उदेश्यकोलागी लडेको हो त्यो उदेश्य पुरा हुनु पूर्व नै आन्दोलन रोकेको हुनाले कार्यकर्ताप्रति असन्तुष्टि जागेको हुन सक्छ र यो घटना निम्त्याएको हुन सक्छ ।
तर, कारण जुनसुकै या जेसुकै भएपनि आवेगमा आउने, हिँसात्मक मार्ग अवलम्बन गर्नु भनेको कुनैपनि शान्तिप्रिय मानिसकोलागी पाच्य हुनसक्दैन । अपितु यस्तो स्थिति निम्त्याउने र अवलम्बन गर्ने दुबै पक्ष दोषी हुन् र दुबै सच्चिनु पर्दछ ।
No comments:
Post a Comment