https://twitter.com/Chirvir

Tweet me @chirvir







Thursday, May 3, 2018

तास खेलेको हेर्दा भर्ना छुट्यो

जनकपुरबाट २०३२ मा एसएलसीको जाँच दिएर गौर सरेको तीनचार महिनापछि भएको रिजल्टमा म तेश्रो श्रेणीमा पास भएछु । त्यसैले केहि दिनपछि काठमाण्डौँमा कलेज पढ्ने तयारीकोलागी आवश्यक प्रमाणपत्रहरु लिन जनकपुर गएँ । हाम्रो स्कुलबाट झण्डै ६०-६५ विद्यार्थीले दिएको एसएलसीमा टेष्टको जाँचमा पाएको नम्बरको हिसाबले पहिलो, दोश्रो, तेश्रो र चौथोहरुमात्र पास भएका रहेछन् । अर्थात त्यतिकामा जम्मा चारजनामात्र पास । टेष्टमा म चौथो भएको थिएँ । यस अघिका कक्षाहरुमा म औसत विद्यार्थी थिएँ । तर एसएलसीको त्रासले मलाई मेहनती बनाएको थियो र धन्न सफलता मेरो हात लागेको थियो ।
डाक्टर बन्ने धोको र रहर बोकाइएको थियो । तर हातमा भने पुँजी थिएन । के जातिको उखान भने झैँ चाहिँ थियो । तर पनि आवश्यक प्रमाणपत्रहरु बनाएर काठमाण्डौँ गएँ र महाराजगँज क्याम्पसमा भर्ना हुनकोलागी आवेदन भरेँ । त्यतिबेला प्रवेश परिक्षा दिनुपर्ने थियो र गोरखापत्रमा प्रकाशित भए अनुसार मेरो केन्द्र थियो अमृत साईन्स कलेज । सो कलेजको कक्षाका बेन्चहरु पहिलो लहरबाट पछिल्ला लहरहरु उकालो लाग्दै जाने हुँदा रहेछन् र मचाहिँ त्यहि उकालोको पछिल्लो लहरमा परेको थिएँ । अर्थात डाँडाको टुप्पोमा बसे झैँ । सबैले सबैलाई देखिने । जे होस् टेष्टको परिक्षा केहि हप्तामा गोरखापत्रमा प्रकाशित भयो । नेपालमा त्यसताका भर्खर कम्प्युटरको प्रयोग भएको थियो र यो टेष्ट परिक्षाको परिणामपनि सोहि कम्प्युटरले गरेको भन्ने हल्ला सुनिन्थ्यो ।
टेष्टको परिणाममा म पास भएछु । तर, मलाई मैले दिएका उत्तरहरुको आधारमा मलाई बायोलोजी समूह अन्तर्गत अस्कल क्याम्पसमा भर्ना हुने गरि परिणाम प्रकाशित गरिएको रहेछ । यसै गरि विज्ञानका विभिन्न समूहमा भर्ना हुने गरी गोरखापत्रमा परिणाम प्रकाशित भएको थियो ।
आफु भर्ना हुन खोजेको महाराजगँज मेडिसिन क्याम्पसमा, परिणामले अस्कल जान भन्यो । तर पनि बायोलोजी समूहपनि विज्ञान अन्तर्गत र पछि मेडिसिनमा जान पाईन्छ भन्ने सल्लाह पाएकोले यस तर्फ भर्ना हुन सुरसार कसेँ ।
बाआमा गौरमा, आफु बसेको पुख्र्यौली घरमा हजुरबाहजुरआमासँग । पैसा माग्दा गौरबाट मगाउनु पर्छ भन्ने जवाफ पाए अनुसार गौरमा बाआमालाई चिठ्ठि लेखेँ । अब पैसा कुर्नु र भर्ना हुनु बाहेक गर्नु केहि थिएन ।
छिमेकी साथीको घरमा दिनदिनै तास खेलाईन्थ्यो । कुनै नाफा नोक्सान या व्यवशायीक प्रयोजनले होईन । टोलेहरु फुर्सदिलो भएपछि जमघट हुने र फिटौँ फिटौँ भन्दै अखाडा जमीहाल्थ्यो । तर यो दैनिकी भई सकेको थियो भने मेरोपनि दिन काट्ने मेलो बन्दै थियो ।
तास खेलेको हेर्दै चिया चमेनापनि त्यहिँ गरेर बेलुका घर गएर हजुरआमाको होटेलमा भात लुँड्यायो । घुप्लुक्क सुत्यो, भोली त्यहिँ पुग्यो । यसो गरुन्जेल पैसा आउन ढिलो भएको, भर्ना हुने म्याद सकिन लागेको तर्फ म उति चिन्तनशील भईनँ । अर्थात कलेज भर्ना हुनप्रति म उदासीन बन्दै पढाईप्रति बेवास्ता गर्न थालेँ । किनभने दिनभर तासमा रत्तिने मेरा आफ्नै बाल्यकालका दौँतरीहरु थिए । यिनलाई पढ्नु पर्दैन भने मलाईमात्र किन? भन्ने जस्ता भावनाले समात्न थालेको थियो ।
तर, जबजब भर्ना हुने समय अन्तिम हुन लाग्यो मेरो घैँटोको ढोका कसरी हो आफँै खुल्यो र पैसाको जोहो गर्न चलमलाउन थालेँ । केहि आफन्तका घरमा ढोका ढकढक्याएँ । कसैले हिजोमात्र आएको भए...., कसैले ठ्याम्मै छैन भने । अहिले सम्झन्छु, १७-१८ वर्षको अल्लारे केटोलाई कसले र किन पैसा सापट दिन पत्याउँदो हो? दोष तिनका थिएन । दोष मेरै थियो काँचो उमेर हुनु र समयमै बुद्धि नपुर्याउनु ।
अब अन्तिम सहाराको रुपमा मेरो डा. मामा र बाल विशेषज्ञ योगेन्द्रभक्त श्रेष्ठको घर गएँ । अरुसँग पैसा माग्ने, आवतजावत गर्ने क्रममा भर्नाको म्याद सकिई सकेको थियो । मामालाई सबै बृतान्त सुनाएँ । दुई छोराका बाबु र पढाईको महत्व बुझेका मामाले तुरुन्त चाहिने पैसा दिए र म अस्कल पुगेँ । त्यहाँ भर्ना हुने कार्यालयमा भाई, तपाईको ठाउँमा त अरु नै भर्ना भईसक्यो । अब साउने सेमेष्टरमा प्रयास गर्नु भने । बिवाद, अनुनय, बिनय, अनुरोध, तर्क बितर्क गर्ने मेरो प्रकृति थिएन । अर्थात सोझो भएकोले म बिना टिकटको चिठ्ठि झैँ लुरुक्क फर्किएँ ।
भोलीपल्ट मामाघर गएर भएका घटना भनेँ । मामाले त्यहिँ भात खुवाउन लगाई आफ्नै गाडीमा राखेर कान्ती बाल अस्पताल लगे । मलाई बाहिर नै राखे । मेरो टेष्टको नम्बर मागे अनि भित्र गए । दश पन्ध्र मिनेटपछि रातारातो अनुहार बनाउँदै मेरो नम्बर टिपेको कागज मेरै हातमा राख्दै ल केहि लागेन, जाओ जनकपुर जाओ भन्दै मेरो गर्दनमा हात राखेर बाहिर घचेटे । टन्न बिरामीहरु पालो कुरेर बसिरहेका ठाउँमा मामाले गरेको त्यस ब्यवहारमा आफैँ लज्जित हुँदै घर फर्किएँ ।
अब काटमाण्डौँ बस्ने जरुरी थिएन । माघे सेमेष्टर शुरु नै भएको थिएन भने साउने सेमेष्टर त कता हो कता । बरु गौर जान्छु अनि फेरि साउने सेमेष्टरकोलागी आउँछु भन्दै गौर पुगेँ । केहि दिनपछि साउने सेमेष्टरकोलागी काठमाण्डौँ नगएसम्मकोलागी भन्दै राष्ट्रिय वाणिज्य बैँकमा अस्थायी जागीरे भएँ र २०४३ सालसम्म जागीरे भएको भएँ ।
यसरी तास खेलेको हेरेर मेरो जीवनको बाटो नै मोडियो र आज यस ठाउँमा छु ।


यस अघिका प्रसङ्ग यस लिङ्कमा पढ्नु होला: https://myv4.blogspot.com/2016/03/blog-post_31.html


Wednesday, March 21, 2018

स्वास्थ्य क्षेत्रमा हेलचेक्र्याईका नमूना


@chirvir

केहि दिन अघिमात्र काठमाण्डौँको एक अस्पतालमा देब्रे घुँडाको उपचार गर्नुको सट्टा दाहिने घुँडाको उपचार गरिएको समाचारले सबै जना छक्क र त्रसित भएका थिए । तर यस्तो उल्टो र गलत उपचारका घटनामा यो पहिलो भने होईन । यसभन्दा पहिले पनि निकै यस्ता दुर्घटनाहरु भई सकेका छन् र कतिले ज्यानपनि गुमाई सकेका छन् ।

२०४६ को आन्दोलनपछि च्याउ सरह खुल्लम्खुल्ला खुलेका अस्पताल, कलेज, विद्यालयहरु स्थापना त भएका छन् तर केहीमा बाहेक यिनमा हुनुपर्ने गुणस्तर भने न्यून भन्दा न्यूनपनि छैन । किनभने यि सबै व्यवशायिक उदेश्यमामात्र निहित भएर स्थापना भएका हुन् । अर्कोतिर, यसका उत्पादक विद्यार्थीहरु जसोतसो कलेज विद्यालय उत्तिर्ण हुने र पैसा कमाउने हतारमा हुन्छन् । फलस्वरुप न कारखाना गतिलो, न त उत्पादन नै । जसले गर्दा सेवाग्राही तथा उपभोक्ताहरु ठगी, नक्कली तर महँगोको मारमा पर्न बाध्य भएका छन् । र सबैभन्दा उदेक लाग्दो बिषय त के भने अनुगमन गर्ने सरकारी निकायहरुको उदासिनताले समेत उपभोक्ता वर्ग यि सबैका चपेटामा परेका छन् ।

विदेश जाने रहर गर्ने विद्यार्थीहरुलाई आकर्षित गर्न या भनौँ विदेशमा नै अध्ययन गरिएको भान दिन विदेशी नाममा खुलेका यि कलेज तथा स्कूलहरुले मूलतः यिनका तथा यिनका बाबुआमाको आँखामा छारो हाल्ने काम गरेर पैसा कमाउने बाहेक आफ्नो उत्पादनको गुणस्तरमा ध्यान दिएको पटक्कै भेटिँदैन, पाईँदैन । अन्यथा सेवाग्राहीले किन यसरी दुःख र महँगी खेप्न परेको छ?

अस्पताल तथा अन्य स्वास्थ्य क्षेत्रमा भएका चरम लापरवाही तथा सेवाग्राहीप्रतिको चरम अवहेलनाका थुप्रै समाचारहरु आई नै रहेका छन् । तर हालैका दुई घटनाले यो लेख लेख्न बाध्य तुल्यायो ।

पहिलोः
मेरी श्रीमति काठमाण्डौँ बसाईको क्रममा तीलगँगा आँखा अस्पतालमा आँखाको उपचार गराउन गईन् । डा. सन्दुक रुइतबाट सन्चालित यो अस्पताल सेवाकोलागी लोकप्रिय छ | यस अस्पतालमा उपचार गराउनेहरु गर्व गर्दछन् र यहि गौरवता अनुभव गर्न उनीपनि त्यहाँ पुगेकी थिइन् |

दुई पटकको सोधपुछ पछि उनले आफ्नो पालोमा आफुमा भएको समस्या भनेपछि रगतको रिपोर्ट लिएर आउने सल्लाह पाईन् र पछि बोलाईएको दिन रिपोर्ट लिएर अस्पताल पुगिन् । सम्बन्धित काउण्टरमा रिपोर्टहरु दिँदै थप पैसा कति तिर्नु पर्छ भनेर जानकारीकोलागी अनुरोध गरिन् । काउण्टरका उपबुज्रुग र बेसोमति कर्मचारीले एकहजार पचास दिनुस् भन्दै एउटा रसिद दिएर यसको रिपोर्ट ल्याउनुस् भनेछन् । फेरि रिपोर्टको कुरा सुनेर अलमलमा परेकी उनले थप बुझ्न खोज्दा झर्काे मान्दै तपाई अर्काे बिल्डिँगमा जानुपर्छ भनेछन् । भिडको माझमा त्यहाँ अझ अलमल गर्नुको सट्टा त्यहाँबाट निस्किएर एउटा गार्डलाई कागजपत्र देखाउँदै कता जानुपर्छ होला भने जिज्ञासा राखेपछि उनले कागजपत्र हेर्दै ल, तपाईलाई त फेरि रगत जाँच्ने रिपोर्ट पो मागेको छ । तर तपाईँको रिपोर्ट त हातमै छ । त्यसै तपाईँसँग पैसा लिएछ । जानुस् फिर्ता माग्नुस् भन्ने सल्लाह दिएपछि फेरि काउण्टरमा गएर बिस्तृत भनेर पैसा फिर्ता माग्दा हाकिमको तोक लगाउनु पर्ने भनेपछि तोक लगाउने हाकिमको कोठा खोज्दै तोक लगाएर पुनः त्यहि काउण्टरमा आएर पैसा फिर्ता लिन पाईछन् । आफुले भूल गरेकोमा किञ्चित दुख तथा क्षमा मान्न नजान्ने ति कर्मचारीले के कति गल्ती गरेका होलान्, के कति व्यक्तिहरुले दुख पाएका होलान् सहजै अनुमान गर्न सकिन्छ । सेवाग्राहीप्रति के कस्तो व्यवहार गरिनुपर्छ भन्ने सामान्य औपचारिकता नसिकाउने अस्पताल प्रशासन तथा ११/१२ पास या कुनै कलेजबाट उत्तिर्ण भुतपूर्व सो विद्यार्थीले स्कूल कलेजबाट के कस्तो सिक्यो होला सहजै अनुमान गर्न सकिन्छ । र यो साह्रै बिरक्त लाग्दोमात्र नभएर स्वास्थ्य जस्तो क्षेत्रमा यस्ता लापरवाही अति सम्बेदनशील बिषय हो ।

हेक्का के रहोस् भने उनको आँखा जाँच्ने सबै चिकित्सक तथा परिचारिकाहरुको व्यवहार र बोलीचाली भने असाध्य राम्रो र पेशागत (प्रोफेशनल) रहेको उनले पाइन् | साथै अस्पतालको परिसर लगायत जता गएपनि ज्यादै सफा सुग्घर रहेको तिनले पाइन् |

दोश्रोः
अझ माथिको भन्दा पनि चरम लापरवाहीको यो अर्को नमूना हो । हालै एक महिला गर्दनको नसा दुखेकोले डाक्टरलाई देखाउन गईन् । डाक्टरले चलनचल्तीको डाक्टरी अक्षरमा नभई स्पष्ट DIPLAR लेखेको प्रेस्क्रिप्सन दिएछन् । नजिकैको श्रीराम फार्माबाट औषधि किनेर घर आई खान थाल्दा गर्दन निको हुनुको सट्टा नदुखेको व्यथाले समातेछ । शरीरमा असहजता, बढि पिसाब लाग्ने आदि हुन थालेपछि आफन्तले औषधि र प्रेस्क्रिप्सन भिडाएर हेर्दा DYTOR औषधि पो दिईएको रहेछ । अलि लेखपढ गर्न जान्ने आफन्त भएको कारणले सो औषधि खान त रोकियो र शारिरिक क्षति हुन पाएन । तर, तिनि या तिनका आफन्त लेखपढ गर्न नजान्ने या कम्प्युटरबाट शोधखोज गर्न नजान्ने भएको भए त्यस गलत औषधिले के कति शरीरमा क्षति पुर्याउँथ्यो अकल्पनिय छ । तर यसको जिम्मेवार को हो? औषधि पसल र औषधि बिक्रेता नै हो । गलत औषधि दिएको जानकारी दिन ति महिला औषधि पसल गएको जस्तो चाहिँ देखिन्न । तर मलाई लाग्छ उनि जानु पर्थ्यो र खबरदारी गर्नु पर्थ्यो । नजानुको कारण या त्यस औषधिको रसिद नलिएको कारणले या आउजाउको समस्याले गुनासो तथा खबरदारी गर्न गाहारो मानिएको हुनसक्छ । कतिपयले टाढा बसाई गरेकाले 'आ... होस्' भनेर नीच मारिदिन्छन् तर यो औषधि पसलेको लापरवाही जारी नै रहन्छ र अन्जानमा कतिले शारिरिक तथा आर्थिक क्षति अनि मानसिक तनाव ब्यहोरी रहेका हुन्छन् ।

असँख्य मात्रामा विदेशिएका नेपालीहरुलाईमात्र ध्यानमा राख्ने हो भने नेपाल स्वास्थ्य पर्यटनको सम्भावना रहेको देश हो । किनभने स्वास्थ्य क्षेत्रमा निजि क्षेत्रबाट अपार लगानी गरिएको छ । नयाँनयाँ प्रबिधि अपनार्ईएको समाचारमा पढ्न पाईन्छ । र विदेशमा भएका प्रबिधिबाट नेपालमा नै उपचार हुन्छ भने थुप्रै नेपालीहरु उपचार गराउन आउने छन् । किनभने, बिदेशी मुद्राको दाँजोमा नेपाली मुद्रा सस्तो छ, भाषामा सहजता छ र आफ्नै माटोमा उपचार गराउन पाउने भए बिदेशमा हुने महँगो र भाषिक असहजताका बिच किन उपचार गराउँथे? सस्तो तथा उच्चस्तरीय उपचार उपलब्ध भयो भने बिदेशिएका नेपालीमात्र होइन बिदेशीहरु नै पनि उपचार गराउन आउने छन् र यसैलाई स्वास्थ्य पर्यटन भनिन्छ |

तर, यि असहजताका साथै रहर हुँदाहुँदै कतिपयले बिदेशमा नै उपचार गराउनाका मूल कारण अस्पतालहरुको लापरवाही, बिरामीहरुप्रतिको अवहेलना तर पैसा चाहिँ खनखनी गनेर लिने प्रवृत्तिले नै हो । यदि स्वास्थ्यकर्मीहरु तथा स्वास्थ्यसेवा प्रदायकहरु आफ्नो पेशा र व्यवशायको उच्चतम विश्वास र उच्चतम गुणस्तर निर्माण गर्नुका साथै सेवाग्राहीमुखी हुन चाहने प्रबल ईच्छा छ भने यसतर्फ उन्मुख हुने बित्तिकै नेपाल स्वास्थ्य क्षेत्रकोलागी एक गतिलो गन्तब्य बन्न सक्ने निश्चित छ ।

Sunday, January 14, 2018

पराजुली, अदालत र म

पराजुली, अदालत र म

बासु श्रेष्ठ
उडब्रिज, भर्जिनीया

म २०३२ सालमा जनकपुरबाट एसएलसी दिएर रौतहटको गौरमा बुवासँगै सरेको थिएँ । हामी बसेको घर रौतहट जिल्ला अदालतकै अगाडिपट्टि थियो भने म बसेको घरबेटीका दुई छोराहरु सोहि अदालतमा लेखन्दासको काम गर्थे । यसैगरि छिमेकीका एकजनापनि अदालतमा काम गर्थे ।
यिनै घरबेटी लेखन्दासको सँसर्गमा आएर मैलेपनि फुर्सदको समयमा लेखन्दासको काम गर्न थालेँ । विभिन्न मिसिलहरुको नक्कल सार्ने, वारेसनामा लेख्ने लगायतका अदालती काम सिक्दै आफ्नो पकेट खर्च निकालिन्थ्यो र साँझ नजिकै रहेको सीमापारी बैरगनिया बजारमा सिनेमा हेर्न या किनमेल गर्न गईन्थ्यो । यो मेरो जिवनको पहिलो काम र आम्दानीको माध्यम थियो ।
अदालतमा दिनभरि अदालतका कर्मचारी सरह रहँदा त्यहाँ हुने अनेक प्रकारका लेनदेन, मुद्धाका छिनोफानो, नाङ्गा तथा गरिबहरुको रोदन र चित्कार, मुद्धा जित्नकोलागी अपनाईने विभिन्न तिकडमबाजीहरुको साक्षी बन्ने मौका जुरेको थियो । अल्लारे र काँचो उमेरको म त्यसबेला जे देख्थेँ सामान्य मान्थेँ र सहजताकासाथ लिने गर्थेँ । तर उमेर बढदै गएपछि ति अनुभवहरुले अदालत र न्यायप्रतिको मेरो धारणा नकारात्मक बन्दै गयो र अहिले त झन् पराजुली परिघटनाहरुले ति धारणाले अझ सबल हुने मौका पायो ।
माथि उल्लेख गरिएको मेरो डेरा नजिकको अदालतमा कार्यरत कर्मचारीको अदालतका तीनै न्यायधिशहरुको (न्यायाधिशहरुको जेष्ठताक्रम अनुसार १ नँ, २ नँ र ३ नँ ईजलास भनि तोकिएको हुन्थ्यो) घरमा बेलुका या साँझ परेपछि आवतजावत हुने गरेको देखिन्थ्यो । यसैगरि ति कर्मचारीको घरमा झगडियाहरुको आवतजावत देखिन्थ्यो । अधिकाँश झगडियाहरु स्वभावतः मधिसेहरु नै बढि हुने गथ्र्याे । तर यसको अर्थ स्पष्टै थियो । यि सबै आवतजावतहरु मुद्धाको लेनदेनकोलागी आवतजावत थियो । जसमा जसले बढि पैसा वा नजराना चढाउन सक्यो फैसला उसैको पक्षमा हुन्थ्यो । भोली या अर्काे कुनै दिन यसको असर अदालतमा स्पष्ट देखिन्थ्यो । यि परिघटनाहरु त्यतिखेर मेरालागी सामान्य अथवा निष्प्रभावि भए ता पनि पछिपछि अदालतप्रतिको मेरो नकारात्मक धारणा बन्दै गयो ।
हाल यता आएर पराजुलीको व्यक्तिगत भन्दापनि उनी तथा उनका प्रवृत्तिबाट हुँदै आएका कतिपय फैसलाहरु विवादित हुँदै आएका छन् । सरकारवादी भ्रष्टाचारका मुद्धामा समेत विपक्षीलाई रिहा गर्ने, धरौटीमा छोडिने या मुद्धा नै खारेज गरिएका छन् । न्यायको नाममा यसरी सर्वाेच्चको फैसलालाई कुन हदसम्म जनताले स्विकार्ने भन्ने अहम् प्रश्न उठेको छ । सँबैधानिक निकाय र न्यायपालिका भन्दैमा जनता सर्वाेपरी ठानिएको देशमा जनताले आवाज उठाउन नपाईने भन्ने कहाँ छ? तर यदि अदालतले यसरी फैसला गर्दै जाने हो र जनता चुपचाप बस्ने हो भने त न्यायको नाममा निरङ्कुशता पो ठहरिन्छ । के अदालत यतैतर्फ उन्मुख हुन खोजेको हो?
मेरो विचारमा न्यायको नाममा कानुनका रेसा केलाउनु मात्र होईन, अदालतले व्यवहारिकतापनि हेर्नुपर्छ भन्ने लाग्छ । फेरि कानुन सँधै आफैँमा पूर्ण पनि त हुँदैन ।
अदालतले आफु कानुनसम्मत हुँदाहुँदैपनि व्यवहारिकतामापनि ध्यान दिनुपर्छ भन्ने कुराको उदाहरणकोलागी अमेरिकाको न्युजर्सीको अदालतको एक फैसलालाई लिन सकिन्छ । एउटी १८ बर्षकि रैचेल क्यानिँगले बाबुआमाको कडाईपन र अनुशासन सहन नसकि, बाबुआमाबाट अलग हुन पाउँ र आफ्नो खर्चको सम्पूर्ण व्ययभार पनि बाबुआमाले नै ब्यहोरुन् भन्दै घर छोडि साथीको घरमा बसेर बाबुआमा बिरुद्ध मुद्धा हालिन् । तर अदालतले यसरी वादीको दाबीलाई अदालतले मान्यता दिँदै जाने हो भने भोली यो चलनकै रुपमा स्थापित हुनसक्छ भन्दै उनको मुद्धालाई खारेज गरिएको थियो । अर्थात अदालतले वर्तमानको निर्णयले भविष्यमा स्थापित हुन सक्ने नजिरलाई ध्यानमा राखेर ति वादी केटीलाई आफ्ना परिवारसँग पुनर्मिलनको आदेश दियो । अदालतले कानुनमा के छ भन्नेमात्र ध्यान नदिई व्यवहारिकतामापनि ध्यान दिएर फैसला गर्याे । हाम्रा देशका अदालतलेपनि यस्तै फैसला गरुन् या गरे हुन्थ्यो भन्ने चाहना कतिपय अदालतको निर्णय पढेसुनेपछि यो पँक्तिकारमा पलाएका छन् ।
जिवनको यात्राक्रममा अदालतका फैसलाहरुमा अधिकाँश फैसलाहरु भ्रष्टाचारीपक्षमा भएकोबाटपनि अदालतका फैसला के प्रति उन्मुख छ भन्ने आँकलन गर्न सकिन्छ ।
त्यसो भन्दैमा सबै अदालतका सबै न्यायाधिशहरुप्रति मेरो नकारात्मक धारणा छ भन्ने पनि होईन । कतिपय फैसलाहरु पिडितकै पक्षमा भएको पनि पाएको छु । त्यतिबेला मेरो धारणामा धुमिलपना आउने गर्छ र केहि उज्याला पक्षहरु देख्ने गर्छु । यसैगरि मेरो स्कूलका सहपाठी नै अहिले कुनै पुनरावेदन अदालतको मूख्य न्यायाधिश छन् । उनिसँग कुरा भएको बेलामा म यि र यस्तै विषयमा कुरा हुँदा उनले आफु त्यस्तो नभएको कुरामा विश्वस्त तुल्याउँथे र म उनिप्रति खुशी हुन्थेँ । उनको कार्यपद्धतिप्रति मलाई गौरवपनि लाग्छ । भनाईको मतलब सबै न्यायाधिश, सबै अदालत भ्रष्ट छैनन् तर अधिकांश छन् भन्न भने ढुक्कै सकिन्छ |
तर, यो पक्षलाई धुलिसात गर्ने माथि उल्लेखित बहुसँख्यक घटनाहरुले भने नकारात्मक पक्षलाई नै पक्षपोषण गर्ने गरेकोले यो विचार लेख्न बाध्य तुल्यायो ।

Friday, September 22, 2017

राजा महेन्द्र कानो छ भन्दा

सँस्मरणः




बासु श्रेष्ठ
उडब्रिज, भर्जिनीया

अहिले म कुरा बुझ्दैछु । म त्यतिबेला पदेसी रहेछु । अर्थात मदेसमा बस्ने पहाडी । पहाडबाट मदेस झरेको पहाडी । त्यसैले मधेसमा मलाई सबैले पहडिया भन्थे र मपनि उनिहरुलाई निर्धक्क मदेसी भन्थेँ । तर त्यहाँ न कुनै रीस हुन्थ्यो, न राग हुन्थ्यो न त कुनै वैरभाव नै हुन्थ्यो । बरु अँगालो हालेर मदेसी र पहाडी बोली बोल्दा आत्मियतामा अझ बृद्धि हुन्थ्यो । दिनभर स्कुलमा या खेत चहुर, पोखरी या खलिहान अनि बाग (आँपको विशाल बगैँचा) मा सँगै हुन्थ्यौँ । तर त्यतिबेला म पहाडीको पहाडी नै रहेँ र त्यहाँबाट पहाडी नै भएर निस्किएँ । अहिले पो आभास हुन थाल्यो म त त्यतिबेला दुबै रहेछु अर्थात पदेसी । मदेसीपनि र पहाडीपनि ।

खासमा माथिको घटनाहरु जनकपुर तथा लुम्बिनी अँचलका विभिन्न गाउँहरुमा बस्दाको अनुभूति हो । बुवाको जागिर नापीमा थियो । जागीर अनौठो प्रकारको थियो । अहिले अचम्म लाग्छ । तर त्यतिखेर यसप्रति कहिल्यै ध्यान पुगेन ।

हरेक हिउँदमा शहरबाट हामी गाउँ पस्थ्यौँ । नापीकोलागी । प्रत्येक गाउँमा एक महिनाको बसाई हुन्थ्यो । मेरो बुवा अन्य पाँचसात जना अमीन र टोलीप्रमुखको जत्थामा सम्मिलित हुनुहुन्थ्यो । यो टोलीको काम प्रत्येक गाउँमा गएर नापी गर्ने हुन्थ्यो । र वर्षा लागेपछि शहर फिर्ता आईन्थ्यो र हिउँद नलागेसम्म जनकपुर या बुटवलमा नै बसिईन्थ्यो ।

यसरी प्रत्येक गाउँमा नापीकोलागी बस्दा म त्यहि गाउँको स्कुलमा पढ्न जान्थेँ । न भर्नाको कचकच न फिसको । काठमाण्डुबाट आएको सेतो छाला भएको पहडिया, त्यसमाथि अमीन सापको छोरो भएकोले असाध्य मानमनितो र माया पाईन्थ्यो । भनि रहनु परेन मेरो उमेरपनि सानै थियो । यि सबैको सँयोजनले गर्दा म ति जुनजुन गाउँमा गएपनि पुल्पुलिएको हुन्थेँ ।

एउटा गाउँमा पसेर झिटी गुण्टा राम्रोसँग फुकाउन नपाउँदै अर्काे गाउँमा जानकोलागी झिटीगुण्टा बाँध्ने समय भईसक्थ्यो । एक महिना बित्न कति नै लाग्दो रहेछ र? यदि प्रतिक्षा नगर्ने हो भने । तर म भने यस गाउँको अपनत्व अर्काे गाउँमा पस्ने बित्तिकै बिर्सिसक्थेँ । तिनिहरुप्रति म निर्घिणी हुनाको कारण चाहिँ शायद म सानै भएकोले होला । तर मेरो बुवाआमा भने पछिसम्मपनि छोडिएका ति गाउँहरुका कुरा गर्नुभएको सुन्ने गर्थेँ ।

हरेक महिना एक स्कुलबाट अर्काे स्कुल सर्ने क्रममा एकपटक जनकपुरबाट पूर्व पर्ने एउटा गाउँ तथा रेल्वे स्टेशन समेत भएको महिनाथपुरमा भएको घटना अझै ताजै छ । अन्य गाउँमा जस्तै त्यस गाउँकोपनि स्कुल गएँ । कुन कक्षा भने सम्झना छैन । म शायद आठ नौ वर्षको हुँदो हुँ । स्कुलको त्यस कक्षाको ब्ल्याकबोर्डमाथि तत्कालिन राजा महेन्द्रको फोटो झुण्ड्याईएको थियो । एकदिन विषय र सन्दर्भ सम्झना छैन तर पढाउने गुरुले महेन्द्रको फोटो देखाउँदै यो राजा कानो छ भने । किन हो मलाई त्यो भनाई सह्य भएन । मैले त्यस गुरुसँग हाम्रो राजालाई किन कानो भनेको? भनेर बाझ्न थालेँ । उनले पहिले मलाई सम्झाउन थाले । म शिक्षकसँग बाझेको देखेर सारा कक्षा स्तब्ध भयो । गुरुसँग त्यसरी बाझ्नु सामान्य घटना थिएन । त्यसको सजायँ सबैले अनुभूत गर्न सक्ने थियो । तर मलाई गुरुले छुने त के हप्काउने आँट सम्म गरेनन् । अहिले सम्झँदा यसका दुई कारण हुन सक्छन् । पहिलो म गोरो छाला भएको अमीनको पहाडी छोरा र दोश्रो, महेन्द्रको पक्षमा मैले बोल्नु र त्यसको विपक्षमा शिक्षक जानु भनेको पँचायत र महेन्द्रको उत्कर्षको समयमा आफैलाई समस्यामा होम्नु जत्तिकै थियो होला । अन्यथा जनकपुरमा पाठ बुझाउन नसकेर कैयौँ पटक लठ्ठिको स्वाँठ खाएको मैले त्यहाँपनि सजिलै कडा सजाय पाउन सक्ने थिएँ । तर मलाई केहि गरिएन ।

गाउँगाउँको भ्रमणले म अवधि र मैथिली भाषा राम्रै बोल्न सक्ने भएको थिएँ । यहाँसम्म कि घरमा जग्गाजमीनको समस्या लिएर आउने स्थानिय मधिसेहरु र बुबाको बिच दोभाषेको काम समेत गरिदिन्थेँ । उनिहरु गएपछि घरमा नेपाली नै बोलिन्थ्यो । घरबाट बाहिर निस्कने बित्तिकै स्थानिय भाषा विशेष गरी अवधि या मैथिली बोल्ने गर्थेँे ।

यसरी सर्ने क्रममा हामी जनकपुरको डाँकुहरुको नामुद गाउँ झिँझापनि पुग्नु पर्ने भएको थियो । यो गाउँ डाँकुहरुको गाउँ थियो । वरपरका गाउँहरु या सिमापारी समेत गएर डकैती गर्नेहरुको त्यो बस्ती झिँझा नामले प्रख्यात थियो र यो नामबाट जोपनि त्रसित थिए । तर, जागिरको क्रममा बुवाहरुको टोलीपनि सोहि गाउँमा जानु पर्ने भएकोमा मेरो बुवा त्रसित हुनुहुन्थ्यो । त्यसकारण, बुवाले आफुलाई नजिकको अर्काे गाउँमा जाने पारेर यो गाउँ छल्नु भयो । तर, दुरी भने खास्सै टाढा नभएकोले हाम्रो परिवार लगायत अन्य अमीन टोलीका परिवारहरु त्रसित नै रहन्थे ।

तर, जब त्यस गाउँको नापी सकिएर अर्काे गाउँ जाने समयमा ति झिँझा गाउँका डाँकु भनिनेहरुले त्यस गाउँमा कार्यरत अमीनहरुको विभिन्न उपहार दिएर भब्य बिदाई गरेको सन्दर्भ हाम्रो परिवार र बुवाका साथीहरुमा पछिसम्मपनि चलिरहेको म सम्झन्छु ।

यहि क्रममा मैले केपनि देखेको छु भने गाउँगाउँमा ठुलाबडा भनाउँदा जमिन्दारहरुले गरीबहरुप्रति गरेको शोषण । त्यतिबेला मैले यहि हो भनेर अनुभूत नगरेपनि अहिले सम्झँदा ति हरवाह चरवाह भजाउँदाहरुले मालिकले पकाएको भातको माड र मालिकको घरबाट मारिएको मुसा खाएर आफुलाई धन्य ठान्ने विचराहरुप्रति ति धनि जमिन्दारहरुबाट शोषण पक्कै गरिएको हो । मलाई लाग्छ तिनै जमिन्दारहरु अहिले मधिसेको हकहितकोलागी आवाज उठाएर आन्दोलन गर्दैछन् । समय परिस्थिति अनुसार ति हरवाह चरवाहहरुप्रति व्यवहार फेरिएको भए बेग्लै कुरा । तर यसमा कुनै परिवर्तन भएको छैन भनेर ठोकुवा गर्न नसकेपनि आशँका चाहिँ पक्कै छ । त्यसकारण तराई मधेशकोलागी भएको यो आन्दोलन नेता भनाउँदाहरुकैलागी या सिमित वर्गकोलागीमात्र हो भन्दा केहि फरक पर्दैन । हालै भएको प्रदेश २ को निर्वाचनमा मधेशवादी दलहरुको पराजयलेपनि यहि जनाएको छ ।

यसरी अधिकाँश समय जनकपुरमा नै बसोबास गरेको मैले त्यहिँबाट २०३२ सालमा एसएलसी दिएको केहि महिनामा नै बुवाको सरुवा रौतहटको सदरमुकाम गौर सरुवा भयो र मपनि त्यतै लागेँ । यसरी २०३३ सालको जेठ महिनादेखि २०३८ साल जेठ महिनासम्म गौरको बासिन्दा रहँदा भएँ । यसर्थमा म २०२४ सालमा तराई झरेर २०३८ सालसम्म पदेसी हुँदा भएँ ।