https://twitter.com/Chirvir

Tweet me @chirvir







Sunday, October 2, 2016

छक्का पन्जाले दुखायो भुँडी

धेरैपछि गत महिना प्रियंका कार्कीद्वारा अभिनित माला हेरेपछि आज अर्को चलचित्र छक्का पन्जा हेर्ने अवसर जुट्यो |
भिन्तुना इन्टर्नेशनलद्वारा भर्जिनियाको लोमेन्स प्लाजामा प्रस्तुत गरिएको यो हास्य चलचित्र हास्य कलाकार दीपा श्री निरौलाद्वारा निर्देशन गरिएको हो | अन्य हास्य कलाकारहरु जितु नेपाल, शिवहरि पौड्याल, दीपकराज गिरी, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, नम्रता सापकोटा आदि कलाकारले अभिनय गरेका छन्। यसो भन्दा यो चलचित्र हास्य कलाकारको सँगम भने हुन्छ |




वैदेशिक रोजगार र यसले भित्र्याएको दुष्परिणाम तथा कुप्रवृत्तिलाइ कथावस्तुको मूल आधार बनाइ निर्माण गरिएको यो चलचित्रमा कुनैपनि कलाकारले आफ्नो अभिनयमा चुकेका छैनन् | त्यसैगरी पहिलो पटक निर्देशनमा ओर्लिएकी दीपाश्रीले पनि सफलतापूर्वक निर्देशन गरेकी छिन् भन्दा अतिशयोक्ति नहोला |
चलचित्रभित्र नाटक गर्ने प्रियंका कार्की कतै कतै सबल र सचेत नारीको रुपमा देखा परेकी भएकी पनि चलचित्रको अन्त्यमा तिनले गरेको नाटक बारेको पर्दा खुल्दा भने पहिले देखिएको तिनको नारीवाद र सचेतता फिक्का पर्न जान्छ | यस बारे निर्देशन, लेखनमा ध्यान नपुर्याएको जस्तो देखिन्छ |
तर थुप्रै हास्य उखान टुक्काहरुलाई संवाद बनाएर दर्शकलाई हँसाउन सक्नु संवाद र पटकथाको खुबी मान्नु पर्ने हुन्छ |
छायांकनकोलागी ड्रोन समेत प्रयोग गरिएको यस हास्य चलचित्रमा कुशल छायाँकन, कुशल संवाद, कुशल सम्पादन र कुशल अभिनयको सङ्गम हो भन्न सकिन्छ |
दुइ घण्टा १० मिनेट अवधिको यो चलचित्रमा खट्किने एउटा विषय चाहिं द्वन्द हो | अर्थात् लोग्ने स्वास्नी बिचका झगडा | एक अर्कालाई थप्पड हान्ने दृश्यले भने अमेरिकामा हुर्कीई रहेका बालबालिकामा सकारात्मक संदेश जान्छ भन्न सकिन्न | चलचित्र हेर्न आफैसँग लग्न बाध्य अभिभावकहरु ति बालबालिकाबाट अबोध प्रश्नको सामना नगर्लान भन्न सकिन्न | तसर्थ, चलचित्रको प्रचार प्रसार गर्दा नै अभिभावकहरुलाई यसबारे केहि सचेत गराउन सके तिनले सावधानी अपनाउंथे होलान् | यस अघि प्रदर्शन गरिएको माला चलचित्रमा बालबालिकाहरु डराएर अभिभावकहरु प्रेक्षालय छोडेर बाहिर निस्कन परेको कुराको साक्षी यो लेखक रहेको छ | त्यसकारण आयोजकहरुले यस बारेमा ध्यान पुर्याउन् भन्ने चाहेको छु |
जे होस्, भिन्तुना इन्टरनेशलले नियमित रुपमा नेपाली चलचित्र प्रदर्शन गर्ने जमर्को गरेको कुरा यससँग सम्बद्ध सुरेश सापकोटाले बताएका छन् | हाम्रो शुभकामना सहित |



Friday, April 15, 2016

खोई अनलाईन समाचारको विश्वसनियता?

बासु श्रेष्ठ
भर्जिनिया
  
एउटै समाचारको श्रोत र एउटै फोटो राखेर दुई भिन्दाभिन्दै समाचार दुई अनलाईनमा प्रकाशित हुनुले के जनाउँछ?

(जूम गरिएको फोटो)
 माथिको फोटो राखेर राससको हवाला दिँदै अनलाईन खबरमा अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाहभन्ने शिर्षकमा समाचार प्रकाशित गर्याे । पुरा समाचारकोलागी लिँकमा क्लिक गरेर हेर्नुहोस्ः http://www.onlinekhabar.com/2016/04/415142/

                                                            (जूम नगरिएको फोटो)
तर अर्काेतिर सेतोपाटीले भने यहि फोटो जूम नगरी राखेर छोरीले नै अन्माईन् आमाशिर्षकमा राससकै श्रोतमा सुरुँगा, झापाको भनेर बेग्लै समाचार प्रकाशित गरेको छ । पुरा समाचारकोलागी लिँकमा क्लिक गर्नुहोला http://setopati.com/samaj/45168/

पक्कैपनि समाचार प्रकाशित गर्ने हतारमा यस्तो भएको हुनुपर्छ । तर यसले पाठकमा कस्तो असर पर्न जान्छ भन्ने कुरा विचारणीय छ ।

Thursday, March 31, 2016

एसएलसी नोष्टाल्जिया

एसएलसी नोष्टाल्जिया

बासु श्रेष्ठ

आजदेखि शुरु भएको एसएलसी जाँचले २०३२ सालको माघमा ३१९९८ 'आर' सिम्बल लिएर जनकपुरको सरस्वती हाई स्कुल केन्द्रमा आफुले दिएको जाँचको सम्झना हरेक वर्ष झैँ यसपालीपनि गरायो | फरक, त्यो फलामे ढोका छिर्न जाँच दिएको यस पटक ४० वर्ष ३ महिना भएछ | तरपनि किन हो हिजोमात्र जाडोको कुहिरो छिचोल्दै त्यो जाँच दिन गए झैँ लाग्छ |

जनकपुर शहरको केहि किलोमिटरको दूरीमा तीन हाई स्कुल रहेका छन् | पहिलो, बाह्र बिघाको बाहिर मध्य-पश्चिममा रहेको जानकी हाई स्कुल, दोश्रो बाह्रबिघाको बाहिर उत्तर-पूर्वमा रहेको सरस्वती हाई स्कुल अनि यसै स्कुलको पूर्वपट्टी रहेको पोखरीको पारीपट्टी कन्या हाई स्कुल रहेका छन् | यति सानो परिधि भित्र तीनतीन हाई स्कुल शायदै अन्त कतै होला कि भन्ने लाग्छ | यि तीनै हाई स्कुलका बिच एकापसमा कुन स्कुलको हेड सर कडा छन् र कुन स्कुलबाट धेरै विध्यार्थी पास हुन्छन् भन्ने विषयमा अघोषित प्रतिस्पर्धा थियो | तर, यस विषयमा प्रायशः कन्या स्कुल नै कमजोर देखिन्थ्यो | शायद कन्या स्कुल अलि लिबरल भएकोले हो कि?

२०२८ सालमा लागु भएको नयाँ शिक्षा पद्धतिको हामी दोश्रो ब्याच थियौं | पहिलो ब्याच चितवन र भरतपुरपछि दोश्रो ब्याचको रुपमा धनुषा र महोत्तरी (शायद)मा लागु भएको थियो | धनुषा जिल्लाको पहिलो ब्याच चितवन र भरतपुरसँग आफ्नै प्रकारको अघोषित शैक्षिक प्रतिस्पर्धा थियो | त्यसैले यो ब्याचप्रति हाम्रा गुरुहरुको भरोसा र आश थियो |

मेरो स्कुल थियो जानकी हाई स्कुल र जानकी हाई स्कुलबाट म लगायत झण्डै ६५ जना एसएलसी जाँचमा सम्मिलित भएका थियौं | हाम्रो केन्द्र थियो सरस्वती हाई स्कुल | त्यस स्कुलका हेड सरपनि आफ्नो हेड सर उपेन्द्र झा झैँ सार्है कडा सरमा गनिन्थे | केन्द्रको सुपरिन्टेन्डेट उनै हुने हुनाले हामी अलि थर्कमान नै थियौं |

यो एसएलसीमा नयाँ शिक्षा र पुरानो शिक्षाका दुवै एकै पटक समावेश भएका थिए | परिक्षा हलमा एउटा बेन्चको एक छेउमा नयाँ शिक्षा, अर्को छेउमा पुरानो शिक्षा अनि तिनको ठिक अगाडी र पछाडी विपरित शिक्षा प्रणालीको विध्यार्थी पार्ने गरी सिट प्लान गरिएको थियो | तर मेरो एकजना साथीले मसँग उनको सिट पार्न अर्को ठाउँमा टाँसिएको आफ्नो सिट प्लान उप्काएर म बस्ने बेन्चमा ल्याएर अर्कोसँग साटासाट गरे | उनले पहिले नै मसँग बस्ने र मेरो सहयोग लिने भनेका थिए | ति साथीसँग अरु त अरु सुपरिन्टेन्डेटलेपनि केहि नबोली नदेखे झैँ गरे | म पनि साथीलाई सहयोग हुन्छ भने राम्रै हुन्छ भनेर खुशी नै मानेको थिएँ | फेरी कथम् चिट सार्नु परेको खण्डमा त्यस साथीको आड भरोस पनि हुने भएको थियो | जाँचमा उनले प्राय: सबै विषयको उत्तर मबाट हुबहु सारेको हुनाले या दुवै जना पास या दुवै जना फेल भन्ने मैले अठोट गरिसकेको थिएँ | तर त्यसो भएन |

मेरो स्कुलबाट जम्मा ४ जना मात्र उत्तीर्ण भए | त्यस चारजनामा आफुपनि परेकोमा खुशी नहुनुपर्ने कारण नै थिएन | टेष्टको जाँचमा उत्तीर्ण नम्बरको आधारमा पहिलो, दोश्रो, तेश्रो र चौथो भएकामात्र एसएलसीमा पास भएछन् | त्यसमध्ये एक म परेको थिएँ | मुकुन्द घिमिरे, शत्रुघ्न यादव, अखिलेश सिंहपनि सँगै पास भएका थिए | यसरी टेष्टमा पहिलो र दोश्रो भएका दोश्रो श्रेणी र तेश्रो र चौथो भएका तेश्रो श्रेणीमा पास भयौं | देशभरी कूल विध्यार्थीको ३१.०९% मात्र पास हुनेमा आफु पर्नु भाग्यमानी नै ठान्नु परेको थियो |

तर अर्को वर्ष एसएलसी उत्तीर्ण गर्ने मेरा कतिपय साथीहरु अहिले कोहि अध्यापनमा छन् या कोहि न्यायाधिस भएका छन् त कोहि सम्पादक तथा अन्य सम्मानजनक पेशामा पुगेका छन् | त्यसैले ति साथीहरुको प्रगतिप्रति मलाई गौरवको अनुभूति हुन्छ |

तर दूर्भाग्य, मैले यो जाँच पास गरेको खुशियाली यि साथीहरुसँग मनाउने मौका मिलेन | किनभने जाँचको लगत्तै र रिजल्ट आउनु पहिले नै बुवाको जागीरले गौरतिर हिँड्नु परिसकेको थियो |

एसएलसीको रीजल्ट मैले गौरमा पुगेको केहि महिनापछि असार या साउनतिर थाहा पाएँ | गोरखापत्र आउन दुईहप्ता लाग्ने | त्यसबेला संचारको छरितो एकमात्र माध्यम आवा (आकाशवाणी) महँगो थियो | त्यसकारण गोरखापत्र कुर्नै पर्ने भयो | स्थानीय पुस्तकालयमा संधै जाने गरेकोले एकदिन गोरखापत्र आइपुगेको थाहा भयो | गोरखापत्र हातमा लिएपछि पो सारा शरीर सुस्त, मुटुको चाल तिब्र अनि आँखा रसाएर शरीर कामेजस्तो अनुभव हुन थाल्यो | जाँचमा राम्रै गरेकोले माथिल्लो श्रेणीबाट आफ्नो नम्बर खोज्न शुरु गरेँ | यो क्रममा पहिलो, दोश्रोमा नभेटेपछि आश मार्दै अन्तिममा हेर्दा आफ्नो नम्बर टकरक्क देखें | विश्वास भएन | फेरी हेरेँ | आफ्नै नम्बर हो | फेरी हेरेँ | हो म पास भएछु | अब यसपटक चाहि खुशीले मुटु बाहिर आउला झैं भयो | तुरुन्त पुस्तकालयबाट निस्किएर दौडेर घर गएँ अनि आमालाई यो खबर सुनाएँ | खुशी नहुने कुरै थिएन | आमा सगुनको तयारी गर्न थाल्नु भयो | म भने फेरी एक पटक पुस्तकालय गएर हो कि होइन निर्क्यौल गर्न गएँ | घरबाट दश मिनेटको दूरीमा रहेको त्यो पुस्तकालय र घरको ओहोरदोहोर मैले त्यो दिन कम्तीमा तीनचार पटक गरेँ हुँला |

यस पछि मैले देखेका सपना के कसरी पुरा भए भएनन् कुनै अर्को प्रसँगमा उल्लेख गरुँला | तर आज देखि शुरु भएको एसएलसीले मलाई प्रत्येक वर्ष झैँ माथिका सम्झना ताजा गरिदिएको छ | तपाईकोपनि केहि सम्झना बाँड्ने कि?

हालको एसएलसीको प्रारूप केहि फेरिएको भएपनि यसको महत्व र चर्चा उत्तिकै छ | त्यसैले आजदेखि यो जाँचमा संग्लग्न हुने बहिनी भाईहरु लगायत सबैलाई उज्ज्वल भविष्यकोलागी मेरो शुभकामना |