एसएलसी नोष्टाल्जिया
बासु श्रेष्ठ आजदेखि शुरु भएको एसएलसी जाँचले २०३२ सालको माघमा ३१९९८ 'आर' सिम्बल लिएर जनकपुरको सरस्वती हाई स्कुल केन्द्रमा आफुले दिएको जाँचको सम्झना हरेक वर्ष झैँ यसपालीपनि गरायो | फरक, त्यो फलामे ढोका छिर्न जाँच दिएको यस पटक ४० वर्ष ३ महिना भएछ | तरपनि किन हो हिजोमात्र जाडोको कुहिरो छिचोल्दै त्यो जाँच दिन गए झैँ लाग्छ | जनकपुर शहरको केहि किलोमिटरको दूरीमा तीन हाई स्कुल रहेका छन् | पहिलो, बाह्र बिघाको बाहिर मध्य-पश्चिममा रहेको जानकी हाई स्कुल, दोश्रो बाह्रबिघाको बाहिर उत्तर-पूर्वमा रहेको सरस्वती हाई स्कुल अनि यसै स्कुलको पूर्वपट्टी रहेको पोखरीको पारीपट्टी कन्या हाई स्कुल रहेका छन् | यति सानो परिधि भित्र तीनतीन हाई स्कुल शायदै अन्त कतै होला कि भन्ने लाग्छ | यि तीनै हाई स्कुलका बिच एकापसमा कुन स्कुलको हेड सर कडा छन् र कुन स्कुलबाट धेरै विध्यार्थी पास हुन्छन् भन्ने विषयमा अघोषित प्रतिस्पर्धा थियो | तर, यस विषयमा प्रायशः कन्या स्कुल नै कमजोर देखिन्थ्यो | शायद कन्या स्कुल अलि लिबरल भएकोले हो कि? २०२८ सालमा लागु भएको नयाँ शिक्षा पद्धतिको हामी दोश्रो ब्याच थियौं | पहिलो ब्याच चितवन र भरतपुरपछि दोश्रो ब्याचको रुपमा धनुषा र महोत्तरी (शायद)मा लागु भएको थियो | धनुषा जिल्लाको पहिलो ब्याच चितवन र भरतपुरसँग आफ्नै प्रकारको अघोषित शैक्षिक प्रतिस्पर्धा थियो | त्यसैले यो ब्याचप्रति हाम्रा गुरुहरुको भरोसा र आश थियो | मेरो स्कुल थियो जानकी हाई स्कुल र जानकी हाई स्कुलबाट म लगायत झण्डै ६५ जना एसएलसी जाँचमा सम्मिलित भएका थियौं | हाम्रो केन्द्र थियो सरस्वती हाई स्कुल | त्यस स्कुलका हेड सरपनि आफ्नो हेड सर उपेन्द्र झा झैँ सार्है कडा सरमा गनिन्थे | केन्द्रको सुपरिन्टेन्डेट उनै हुने हुनाले हामी अलि थर्कमान नै थियौं | यो एसएलसीमा नयाँ शिक्षा र पुरानो शिक्षाका दुवै एकै पटक समावेश भएका थिए | परिक्षा हलमा एउटा बेन्चको एक छेउमा नयाँ शिक्षा, अर्को छेउमा पुरानो शिक्षा अनि तिनको ठिक अगाडी र पछाडी विपरित शिक्षा प्रणालीको विध्यार्थी पार्ने गरी सिट प्लान गरिएको थियो | तर मेरो एकजना साथीले मसँग उनको सिट पार्न अर्को ठाउँमा टाँसिएको आफ्नो सिट प्लान उप्काएर म बस्ने बेन्चमा ल्याएर अर्कोसँग साटासाट गरे | उनले पहिले नै मसँग बस्ने र मेरो सहयोग लिने भनेका थिए | ति साथीसँग अरु त अरु सुपरिन्टेन्डेटलेपनि केहि नबोली नदेखे झैँ गरे | म पनि साथीलाई सहयोग हुन्छ भने राम्रै हुन्छ भनेर खुशी नै मानेको थिएँ | फेरी कथम् चिट सार्नु परेको खण्डमा त्यस साथीको आड भरोस पनि हुने भएको थियो | जाँचमा उनले प्राय: सबै विषयको उत्तर मबाट हुबहु सारेको हुनाले या दुवै जना पास या दुवै जना फेल भन्ने मैले अठोट गरिसकेको थिएँ | तर त्यसो भएन | मेरो स्कुलबाट जम्मा ४ जना मात्र उत्तीर्ण भए | त्यस चारजनामा आफुपनि परेकोमा खुशी नहुनुपर्ने कारण नै थिएन | टेष्टको जाँचमा उत्तीर्ण नम्बरको आधारमा पहिलो, दोश्रो, तेश्रो र चौथो भएकामात्र एसएलसीमा पास भएछन् | त्यसमध्ये एक म परेको थिएँ | मुकुन्द घिमिरे, शत्रुघ्न यादव, अखिलेश सिंहपनि सँगै पास भएका थिए | यसरी टेष्टमा पहिलो र दोश्रो भएका दोश्रो श्रेणी र तेश्रो र चौथो भएका तेश्रो श्रेणीमा पास भयौं | देशभरी कूल विध्यार्थीको ३१.०९% मात्र पास हुनेमा आफु पर्नु भाग्यमानी नै ठान्नु परेको थियो | तर अर्को वर्ष एसएलसी उत्तीर्ण गर्ने मेरा कतिपय साथीहरु अहिले कोहि अध्यापनमा छन् या कोहि न्यायाधिस भएका छन् त कोहि सम्पादक तथा अन्य सम्मानजनक पेशामा पुगेका छन् | त्यसैले ति साथीहरुको प्रगतिप्रति मलाई गौरवको अनुभूति हुन्छ | तर दूर्भाग्य, मैले यो जाँच पास गरेको खुशियाली यि साथीहरुसँग मनाउने मौका मिलेन | किनभने जाँचको लगत्तै र रिजल्ट आउनु पहिले नै बुवाको जागीरले गौरतिर हिँड्नु परिसकेको थियो | एसएलसीको रीजल्ट मैले गौरमा पुगेको केहि महिनापछि असार या साउनतिर थाहा पाएँ | गोरखापत्र आउन दुईहप्ता लाग्ने | त्यसबेला संचारको छरितो एकमात्र माध्यम आवा (आकाशवाणी) महँगो थियो | त्यसकारण गोरखापत्र कुर्नै पर्ने भयो | स्थानीय पुस्तकालयमा संधै जाने गरेकोले एकदिन गोरखापत्र आइपुगेको थाहा भयो | गोरखापत्र हातमा लिएपछि पो सारा शरीर सुस्त, मुटुको चाल तिब्र अनि आँखा रसाएर शरीर कामेजस्तो अनुभव हुन थाल्यो | जाँचमा राम्रै गरेकोले माथिल्लो श्रेणीबाट आफ्नो नम्बर खोज्न शुरु गरेँ | यो क्रममा पहिलो, दोश्रोमा नभेटेपछि आश मार्दै अन्तिममा हेर्दा आफ्नो नम्बर टकरक्क देखें | विश्वास भएन | फेरी हेरेँ | आफ्नै नम्बर हो | फेरी हेरेँ | हो म पास भएछु | अब यसपटक चाहि खुशीले मुटु बाहिर आउला झैं भयो | तुरुन्त पुस्तकालयबाट निस्किएर दौडेर घर गएँ अनि आमालाई यो खबर सुनाएँ | खुशी नहुने कुरै थिएन | आमा सगुनको तयारी गर्न थाल्नु भयो | म भने फेरी एक पटक पुस्तकालय गएर हो कि होइन निर्क्यौल गर्न गएँ | घरबाट दश मिनेटको दूरीमा रहेको त्यो पुस्तकालय र घरको ओहोरदोहोर मैले त्यो दिन कम्तीमा तीनचार पटक गरेँ हुँला | यस पछि मैले देखेका सपना के कसरी पुरा भए भएनन् कुनै अर्को प्रसँगमा उल्लेख गरुँला | तर आज देखि शुरु भएको एसएलसीले मलाई प्रत्येक वर्ष झैँ माथिका सम्झना ताजा गरिदिएको छ | तपाईकोपनि केहि सम्झना बाँड्ने कि? हालको एसएलसीको प्रारूप केहि फेरिएको भएपनि यसको महत्व र चर्चा उत्तिकै छ | त्यसैले आजदेखि यो जाँचमा संग्लग्न हुने बहिनी भाईहरु लगायत सबैलाई उज्ज्वल भविष्यकोलागी मेरो शुभकामना | |
https://twitter.com/Chirvir
Tweet me @chirvir
Thursday, March 31, 2016
एसएलसी नोष्टाल्जिया
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment