https://twitter.com/Chirvir

Tweet me @chirvir







Tuesday, May 12, 2026

काठमाण्डौँ कोरला काठमाण्डौँ

काठमाण्डौँ कोरला काठमाण्डौँ

बासु श्रेष्ठ


प्रकृतिको धनी देश नेपालको प्राकृतिक सौन्दर्यपानमा मन्त्रमुग्ध नहुने को होला? नेपालमा साँस्कृतिक विविधता जति छ भौगोलिक विविधता पनि उत्तिकै छ । यसको समानान्तर बगेको छ साँस्कृतिक र भाषिक विविधता पनि । देश सानो तर धार्मिक बहुलता पनि छ । सानो नेपालको यति विशाल विशेषताले विभुषित मुलुकसरह सँसारमा अन्य मुलुक शायदै कतै होला ।

यीनै विशेष विविधताको आँशिक रसस्वादन गर्ने हेतुले अपर्झट माथिल्लो मुस्ताँगसहित मुक्तिनाथ तथा बाटोमा पर्ने पर्यटकीय दृष्टिले रमाइला र राम्रा स्थलहरु पुग्न बैशाख ६ गते आइतवारका दिन बिहान ७ बजे काठमाण्डौँबाट पोखराकोलागी प्रस्थान गरियो ।

यो भ्रमण कार्यक्रम बन्नुमा मूख्यतया हालै एसईई दिएर बसेका दुई नातिनी क्रिष्टल र क्रिम्सनको भूमिका छ । आफ्ना बाबालाई जाँच सकिए पछि ट्र्टि नै अपर मुस्ताँगको ट्र्पि मागेछन् । अनि साथमा जाने अनुरोध र सल्लाह ज्वाँई रविन्द्रबाट मकहाँ आइपुग्यो ।

जे होस्, पोखरामा एक रात होटलको बासपछि भोलीपल्ट बिहानको चियाकफी पछि सरोज भाईको ब्यबस्थापनमा फोरव्हिल ड्र्राइभको स्कार्पियोबाट बागलुँग पोखरा सडक हुँदै उत्तरतर्फ लाग्यौँ । पोखराबाट १८ किमी उत्तर पहाडी सडकमा रहेको नौ डाँडामा नौ बजे ब्रेकफाष्टकोलागी एकछिन रोकियौं र पुन गन्तव्यको बाटो समात्यौँ । अपितु आजको हाम्रो गन्तव्य बिस्तारै उचाई ग्रहण गर्दै जाने उदेश्यले मार्फामा बास बस्ने र त्यसकोलागी बाटामा पर्ने बागलुँग कालिका मन्दिर अनि नौ रोपनीको एउटै शिलामा निर्मित गलेश्वर महादेवको मन्दिर अवलोकनका साथै यहीँ दिवा भोजन गर्ने योजनालाई पूर्णता दिँदै बेलुकी चारबजे २६५० मिटरको उचाईमा रहेको मार्फाको होटलमा बासकोलागी अवतरण गर्याैँ । यसरी आज पोखराबाट बागलुँग, गलेश्वर महादेव हुँदै मार्फा पुग्दा २०० चानचुन किमीको दूरी पार गरेका रहेछाँै । ८२२ मिटरको उचाईमा रहेको पोखरा तथा १३२४ मिटरको उचाईमा रहेको हामी काठमण्डौँबासीलाई खास्सै लेक नलाग्ने भएपनि आगामी यात्राको सहजताकोलागी बिश्राम लिएका थियाँै ।

यस अघि बागुलँग कालिका मन्दिर पश्चात नेपालको त के एशियाकै सबैभन्दा लामो मानिने गण्डकी गोल्डेन फुटब्रिज नामक झोलुँगे पूलको अवलोकन पनि गरियो । यसको लम्बाई ५६७ मिटर अर्थात १८६० फिट रहेछ भने यसको उचाई नदीबाट १२२ मिटरमाथि रहेछ । बिसँ २०२० मा उद्घाटित यस पूलले पर्वत जिल्लाको कुश्मा तथा बागलुँग जोड्ने काम गरेकोे रहेछ । तथापी लम्बाईको दृष्टिले सुस्ताको पुल नेपालको सबैभन्दा लामो पुल (१५७८ मिटर) रहेछ तर यो झोलुँगे पूल नभई सस्पेन्सन बृज हो ।

जे होस्, मार्फा बजारका चलचित्रका नाममा राखिएका गल्ली लगायत भ्रमण गर्नुकासाथै केही किनमेल, त्योभन्दा पनि महत्वपूर्ण फोटा खिच्ने काम पश्चात होटेल फर्कियाँै । निकै बर्ष अगाडि ईन्द्रबहादुर राईको आज रमिता छ नामक उपन्यासमा दार्जिलिँगका पहाडी घरहरुको गरिएको वर्णनमा प्रत्येक घरको धुरी पछिल्लो घरको आँगन भनेर पढेको थिएँ । यहाँ पनि ठ्याक्कै त्यस्तै दृश्य देख्दा सोही वर्णन सम्झन पुगेँ ।

यतिञ्जेलसम्म मार्फाले हावा हुरीको रुपमा ओकल्न थालिसकेको थियो । तसर्थ घुम्न छोडेर रातीको खाना खाईवरी ओछ्यानमा घुप्लुकिइयो ।

बैशाख ८ गते बिहानको चिया चमेनापछि मार्फाबाट उकालो लाग्यौँ । ८ किमीमा रहेको जोमसोम जहाँ हाम्रो चालकले चिट पायो, जहाँ बिना पेट्रेल पम्प हाम्रो चालक सरोजले गाडीमा डिजेल भरे, जहाँ नेपाली सेनाको विपद् व्यवस्थापन तालिमको अँश रक क्लाइम्बिँग शाखा, जहाँ मैले बाल्यकालदेखि सुन्दै आएको, नेपाल वायुसेवामा जागीरे भएर पनि देख्न नपाएको जोमसोम विमानस्थल देख्ने अवसर पाएँ ।

कालीगण्डकी कोरिडोरको राजमार्ग समाएपछि एउटा अचम्मको सूचना पाटी देख्दै आईरहेको थिएँ । यहाँ पेट्रेल, डिजेल पाईन्छ भन्ने लेखिएका सूचनाहरु पसलका घरघरका भित्तामा झुण्डिएका, टाँसिएका हुँदा रहेछन् मानौ यो खतरनाक झोल पदार्थ दाल, चामल, बिस्कुट या ओषधिमूलो हुन् । तथापी यस भेगमा यात्रा गर्ने सवारी साधनलाई भने यस्तो आपूर्तिले निकै सहयोग पुग्ने रहेछ । कोरिडोरभर कतै पेट्रेल पम्प नभएको अबस्थामा चलनचल्तीको मूल्यभन्दा बीस तीस रुपैँया प्रति लिटर बढि लिएर यस्ता ईन्धन आपूर्ति गराउँदा रहेछन् । विभिन्न भ्लगरहरुव्दारा दूर्गम पहाडी क्षेत्रमा गरिएका यात्राका भिडियो हेर्दा यीनले इन्धनको आपूर्ति कहाँबाट कसरी गर्दा हुन् भन्ने लाग्ने गरेको कौतुुहलताको समाधान पनि यसैबाट पाएँ । जे होस् यहाँबाट २८ किमी पूर्वाेत्तरमा रहेको मुक्तिनाथ मन्दिरकोलागी प्रस्थानकालागी कागबेनीतर्फ लागियो । त्यहाँ केही धार्मिक अनुष्ठान पुरा गर्दै मुक्तिनाथको पार्किँग स्थल पुग्दा शायद बिहानको नौ बजेको थियो । पार्किँग स्थलबाट मुक्तिनाथ मन्दिरको मुनी रहेका भर्याँगसम्म पुग्न हिँड्नु पर्ने रहेछ । लगभग चालिस डिग्रीको कोणमा उकालो लागेर सामुन्ने तेर्सिएको झण्डै ११४ खुडकिलो चढ्न हामीलाई लगभग ११ मिनेट लाग्यो । हामीले कुनै हतार बिना तर कहिँ कतै नरोकिई सासलाई नियन्त्रणमा राख्दै चढेका थियाँै जसले गर्दा लेक लाग्नुबाट बच्न सकियोस् । मुक्तिनाथको उचाई ३७१० मिटर रहेछ । अर्थात दुईघण्टाको अन्तरमा हामीले झण्डै ११०० मिटरको उचाई लिईसकेका रहेछौँ । यो सामान्य थिएन । तसर्थ सावधानी र धैर्यतापूर्वक यात्रा जारी राख्यौँ ।

मन्दिरमा तिर्थालुको भीड अपेक्षाकृत थिएन । मन्दिरलाई एकफन्को घुम्न पुग्ने लाईनमा बसेर दर्शन गर्दा ४० मिनेटमा बाहिर निस्किएछ । तथापी, लाइनमा घुसपैठ गर्ने, पुजामा देउतालाई समातिराखुँ जस्तो गर्ने तिर्थालुले समय लिएका थिए । यीनमा मूलतः भारतीय तिर्थालु तथा हाम्रा उमेरदार बाआमाको बाहुल्य थियो । तीन जनपद प्रहरीमा यस्ता अटेरी तिर्थालुका कारण क्षोभ देख्न सकिन्थ्यो । एक प्रहरीलाई मन्दिरको स्वयँसेवकहरु छैनन् भन्ने मेरो प्रश्नको उत्तरमा उनले विरक्तिएको आवाजमा छ न छन्, तर तिनका ध्यान पैसा उठाउनेमै छ भने । लाइन व्यवस्थापनकोलागी त्यहाँ उपस्थित भई प्रहरीलाई सहयोग पुर्याउन सल्लाह दिन्छु भन्ने मनशायले दाँयाबाँया परपरसम्म हेरेँ तर कोही देखिएनन् । अनि आफुलाई चुपचाप लाइनमा गति दिनु बाहेक अरु विकल्प थिएन । ४० मिनेटको लाईन बसेर ३० सेकेण्ड पनि नलगाई मुक्तिनाथको दर्शन गरि भित्री मन्दिर परिसरबाट निस्किईसकेको थिएँ । तर, केही तिर्थालु अझै भिड बनाईरहेका थिए ।

अब, १० १२ मिनेटको भर्याँगबाट तल ओर्लिएर दिवा भोजन गर्दै कागबेनी (जहाँबाट माथ्लो मुस्ताँग आरम्भ हुन्छ) को बाटो समाउनेतर्फ लाग्यौँ । यस क्रममा सेल्फी डाँडामा बेजोडको हावाका बिच देम्फी र सेल्फी फोटो, भिडियो खिचेर बाटो समात्यौँ ।

कागबेनीबाट ३६६० मिटरको उचाईमा रहेको समर पुग्न काली गण्डकी कोरिडरबाट नदीलाई बाँया पार्दै माथि अघि बढ्यौँ । लगभग एकघण्टा तीस मिनेटको यो बाटो जम्मा २५ किलोमिटरको थियो । एकरात यहाँ बसेर ब्अअष्mिबतष्शबतष्यल एक्लीमाटाइजेशन (शरीरलाई उचाईको वायुमा हुने पातलो अक्सिजनको तहसँग प्राकृतिक तवरले बानी पार्दै जाने प्रक्रिया) पछि भोली सरासर कोरला नाका ४६५० मीटर पुग्न सजिलो हुन्छ भन्ने हाम्रो निक्र्याैल रहेको थियो । किनभने सबैले स्वास्थ्यको हेक्का राख्नुपर्ने थियो । चालक भाई सरोजको काम नै यही भएकोले उनलाई बानी परेको कारणले खास फरक पर्ने थिएन । समर पुग्दा लगभग तीन बजेको थियो । केहीछिन होटेलमा आराम गरि चिया खाए पछि गाउँ घुम्न निस्कियौँ । समय थुप्रै थियो तर हेर्ने घुम्ने ठाउँ सिमित थियो भने मौसम पनि चिसिँदै थियो । तसर्थ, समय बिताउने उपक्रममा तास समातियो । रातीको खानापछि सुतियो ।

बैशाख ९ गते बिहान हामी कोरलाबाट बेलुका यहीँ फर्किने भन्दै बिहान ७ बजे कोरला नाकातर्फको उकालो समात्यौँ । समरबाट कोरलाको दूरी ८३ किमि रहेछ भने गन्तव्यमा पुग्न तीनघण्टाभन्दा बढि समय लाग्ने रहेछ । हामी नेपाल चीनको सीमा नाका कोरलामा बिहान लगभग १०।३० बजे बडो उत्साहकासाथ पुग्यौँ । तर त्यहाँ पुग्दा देख्नु परेको दृश्यले निरास र वैराग बनायो । किनभने सीमापाारी चीनको भव्य भवनहरु फलामे बारले बारिएका थिए । नेपालको सीमा स्तम्भ २४ र ती भवनका बिच नो मेन्स ल्याण्ड थियो । त्यसको बिपरीत यतातर्फ भने पालभित्र सानासाना पसलहरु खडा गरिएका रहेछन् । फोन आफसेआफ रिसेट भएर वासिँगटन डिसीको समय देखायो । फोनको नेटवर्क पुर्णतया मृत थियो । न एनसेल न एनटिसी । शायद चीनले आफ्नो सुरक्षार्थ यो विधि अपनाएको थियो । यो मित्र राष्ट्र्ले अर्काे गरिब मित्र राष्ट्र्लाई गरेका हेपाहा प्रवृति हो । यसप्रति नेपाल सरकार कतिको सजग छ छैन कुन्नी । तर, नेपाल सरकारको त्यहाँ कुनै उपस्थितिको चिन्ह देखिँदैन थियो । तथापी, त्यहाँ सशस्त्रको चौकी निर्माणाधिन छ भन्ने सुनियो ।

त्यहाँ दुबै देशको नेटवर्क चल्दैन भन्ने आधार पनि छैन । किनभने चीनको सँरचनाहरुका बिच टावर स्पष्ट देखिन्थ्यो । यस बारे नेपाल सरकारले दह्रो भएर चीनसँग प्रतिवाद गर्नुपर्छ ।

पालभित्र सँचालन गरिएका पसलहरु लगभग ७० ८० को सँख्यामा थिए होलान् । पाल पसलहरुका बिचमा नेपालको एउटा ठुलो झण्डा फहराई रहेको थियो । शायद नेपाल सरकारलाई आएर उपस्थिति जनाउन आव्हान गरिरहेको थियो । त्यहाँ न कुनै शौचालयको व्यवस्था थियो न कुनै पानी बत्तीको । पालमा पसल थाप्नेहरु प्रत्येक दिन चीनतर्फको प्रवेशाज्ञा लिएर खित्रिमित्रि सामान ल्याएर यताबाट गएका पर्यटकहरुलाई बिक्रि गरेर जिविका चलाउँदा रहेछन् । हामीले शौचालयको बारेमा सोधपुछ गर्दा पाल पछाडि पर्ने दशगजाको खुला मैदानमा जान भने । त्यसै गर्याैँ । उपाय थिएन । प्राकृतिक निकासलाई रोकिरहन पनि सकिँदैन । रोके पनि कतिञ्जेल र कहाँसम्म?

यताबाट गएकाहरुको गाडी देख्ने बित्तिकै आआफ्नो पसलमा लगेर ब्यापार गर्न खोज्ने ती हिमाली शेर्पा शेर्पिनीहरुप्रति करुणा जागेर आयो । यीनका दिनचर्या र सरकारको व्यवहारले दुखी बनायो । एकपालमा पसेर हामीले आठदश हजारको किनमेल गरेर त्यहाँको बजारलाई सानो योगदान गर्यौँ । तर महँगो भने उस्तै । लगभग एकघण्टा बिताएर हामी अब फर्किन उपक्रममा समरमा बास बस्ने गरि ओरालो झर्याैँ ।

तिब्वतको पठारमा पर्ने यो क्षेत्रमा समथल देख्न पाउँदा अचम्म र पुलकित नै हुँदो रहेछ । झण्डै १०० वटा टुंडिखेल आकारको क्षेत्रमा फेलिएको यो नाकाबाट ३६० डिग्रीमा हिमशिखरहरु देखिन्छ । यो अभुतपूर्व दृश्यले भने यतै बसिरहुँ जस्तो लाग्ने रहेछ ।

यस कोरला नाकामा राखिएको २४ नम्बरको सिमा स्तम्भले मलाई बिगतमा पुर्यायो । म सानो हुँदा मेरो बुवा नापीकोलागी मुस्ताङ्ग आउनुभएको भन्ने आमा बुवाबाट सुन्दै आएको थिएँ । यो सिमा स्तम्भ खडा हुनुमा बुवाको पनि योगदान रहेको अनुभूत गरेँ । स्तम्भ मुसारेर थोरै भावुक पनि बनेँ ।

समर पुग्दा समय निकै बाँकी रहेकोले आगो ताप्दै मनोरञ्जन गरेर रात बितायौँ । अब लेक लाग्ने डर थिएन । ओरालो लाग्दै गर्दा मुस्ताङ्ग राज्यको राजधानी लो मन्थाँग गाउँ, केभ सिटी, धुम्बा ताल, रुप्से झरना आदिको दृश्यावलोकन गर्दै दानामा पुगेर पेटमा दाना हालियो । लेतेमा रहेको रुप्से झरनामा दाँयातर्फबाट माथिसम्म जाने फलामे भर्याँगको निर्माण कार्य हुँदै रहेछ । यसबाट पर्यटकहरुले झरनाको माथिसम्म र अझ नजिक पुगेर थप आनन्द लिन पाउने छन् । सम्भवतः यसको शुल्क पनि लाग्ने छ होला । म्याग्दी जिल्लाको दाना गाउँ भएर दौडिने बेनी जोमसोम राजमार्गमा पर्ने यो झरना ३०० मिटर लामो रहेछ भने राजमार्ग पारी तल नजिकै रहेको काली गण्डकी नदीमा समाहित हुने रहेछ । यी सबैको अवलोकनपछि तातोपानीमा पुगेर बास बसियो । यहाँ तातोपानी कुण्ड नदी वारी र पारी गरि दुईवटा रहेछन् । काली गण्डकी गल्छीले धौलागिरी र अन्नपूर्ण हिमाललाई बिचबाट छुट्याउँदै सँसारको सबैभन्दा गहिरो गल्छी बनेको रहेछ ।

भोलीपल्ट बैशाख ११ गते तातोपानीबाट पोखरा जाने क्रममा नजिकको सराँगकोट पनि पुग्यौँ । कहिल्यै नसुनिएको पञ्चमुखी गणेशको मूर्ति अवलोकन गर्दै पोखरामा रात बिताइयो ।

जे होस् ७ दिने यात्रा टुँग्याउने क्रममा आज रातीको बास पोखरालाई बनाएर शनिबार बिहान बैशाख १२ गते काठमाण्डौँकोलागी हिँडियो ।

Thursday, June 5, 2025

गैरआवासीयहरुप्रति नेपालको अर्घेल्याईं!!!

गैरआवासीयहरुप्रति नेपालको अर्घेल्याईं!!!

बासु श्रेष्ठ
हाल: काठमाडौँ

आर्थिक, सामाजिक तथा राजनैतिक कारणले बसाई सर्ने क्रम सदियौंदेखि मानव सभ्यतामा चल्दै आएको चलन हो | यस क्रममा केहि देश समेत स्थापना भएका उदाहरण छन् | मानिसहरु आफ्नो भविष्यको सुरक्षा र सुनिश्चितताको निर्क्यौल नभएसम्म एक ठाउँबाट अर्को ठाउँ सरिरहेको हुन्छ | त्यो चाहे देशको सीमाभित्र होस् चाहे विदेशसम्मको साहसिक यात्रा होस् | विदेशमा पनि जबसम्म निश्चित हुँदैन एक सहरबाट अर्को सहर सर्ने उपक्रम गरि नै रहेको हुन्छ |

यस उपक्रममा नेपाली पनि अछुतो छैन | नेपालीहरु पनि देशभित्रको कुनाकन्दराका आफ्नो जन्मथलो छोडेर भविष्यकोलागी सदरमुकाम हुँदै राजधानी र अझ राजधानी छोडेर विदेशको यात्रा गरिरहेका छन् | अझ, लाहुरे भएर विदेशलागी लड्न जाने, अनि त्यस यात्राको क्रममा उतै बसोबास गर्ने क्रममा नेपाली नै यस्तो जात होला जो संसारका सानाठुला देशहरुमा व्याप्त भइसकेका छन् | भारतको आसाम, मेघालय लगायत भुटान, बर्मा, फिजीमा स्थायी नेपालीहरुको भेटिनुको कारण यही हो | तर विशेषगरि विसं २०४६ यता रोजगारीकोलागी भनेर युरोप, अमेरिका, जापान, कोरिया आदि मुलुकहरुमा विदेशिने नेपालीको सङ्ख्या उल्लेखनीय रहेको छ | यो विदेशिने पनि दुई प्रकारका हुन्छन् | एक, विशुद्द रोजगारी र निश्चित अवधिकोलागी कोरिया अनि खाडी तथा पूर्वी-एशियन मुलुक तथा भारत जाने आउने गरिरहेका हुन्छन् | दुई, विकसित देशहरुले प्रदान गर्ने स्थायी बसोबासको कार्यक्रममा सहभागी हुने होस् चाहे अध्ययन या सुविधामा पाएको कार्यक्रममा सहभागी हुन जाने र उतै बसोबास गर्ने होस्, यी सब कारणले विदेशिने नेपालीको सङ्ख्या झन्डै ६० लाखको हाराहारीको अनुमानमा छन् | यो चानचुने संख्या होइन |

जुनसुकै कारणले मानिस विदेशिएर विदेशमै बसोबास गरे पनि आफु जन्मिएको देशको सम्झना तथा भाषा अनि संस्कृतिलाई प्रचलनमा ल्याई नै रहेका हुन्छन् | यसमा नेपाली पनि अछुतो र अपवाद रहन सक्दैन | किनभने यो मानवीय स्वभाव हो | परदेशमा नेपालीहरु पनि नेपाल, नेपाली भाषा र संस्कृतिलाई
चलनमा राखेर सम्बर्धन गरिरहेका छन् | विश्वमा नेपाल देश छ भन्ने पहिचान पुर्याइरहेका छन् | देश सानो भए पनि यसको विशालताको चिनारी विश्वलाई दिइरहेका छन् | एकप्रकारले यिनीहरु देशको अघोषित, बेतलबी र स्वयंसेवी साँस्कृतिक दुत हुन् | तर देशले यिनीहरुलाई चिन्दैन | चिने पनि भगुवा, देश छोडुवाको रुपमा चिन्छ | यिनीहरुले देशमा पठाएको रेमिट्यान्सले देश चलेको छ भनेर त चिन्छ तर उसलाई चिन्दैन | उ स्वदेश आउँदा उसलाई विदेशीसरह व्यवहार हुन्छ | तर, गाउँबाट शहर र शहरबाट राजधानी गर्दै जसोतसो दुई चार आना जग्गामा घडेरी जोडेर रोजगारीमा जीवन धान्ने तर गाउँ पहाड बिर्सने या यदाकदा जाने यी काठमाण्डौबासी र एनआरएनमा के फरक छ? यी नव-काठमाडौँबासीहरु आफ्नो थातथलो फर्किन खोज्दा त्यहाँका रैथानेले निषेध गर्यो भने या प्रवेशमा बन्देज गर्यो भने कस्तो अनुभव हुन्छ होला? एकपटक अनुभव गरौँ त |

माथि भनिए झैँ वैदेशिक रोजगारीकोलागी एक देशबाट अर्को देशमा जाने नेपालीमात्र होइन चाइनिज, कोरियन, भारतीय लगायत बंगलादेशी, पाकिस्तानी, श्रीलंकन, अफ्रिकीहरु पनि छन् | यीनका मुलुकले यीनका योगदान र उपादेयता बुझेर यीनले कमाएको पैसालाई देशमा आएर लगानी गर्न प्रोत्साहन दिएको छ | सकेसम्म धेरै सुविधा र अधिकार दिएर देशमा फिर्ता आउन आव्हान गरिरहेका छन् | विदेशी नागरिकता लिईसकेकाहरुलाई पनि देशको नागरिक घोषित गरेर अर्थ दोहोरो नागरिकताको सुविधा या सो सरहका सुविधा र अधिकार दिएर फिर्ता बोलाई रहेका छन् |
   

त्यसैगरी, युरोपका पोर्चुगल
, स्पेन, ग्रीस, साइप्रस लगायत बेलायत, फ्रान्स, इटाली, जर्मनी आदिहरुले निश्चित रकम आर्थिक कारोबारमा लगानी गरेको खण्डमा चार पाँचबर्ष अस्थायी नगरिकता र त्यसपछि पूर्ण नागरिकता प्रदान गर्ने योजनाहरु जगजाहेर नै छ | प्रायश: अमरिकी नागरिकहरु यस सुविधाको प्रयोग गर्नेमा पर्छन् |

कतार
, दुबई, साउदी अरबजस्ता देशहरुले पनि विदेशी लगानीकर्ताहरुलाई प्रोत्साहन र सुरक्षा प्रदान गरेर देशमा आर्थिक चहलपहल बढाएको छ मात्रै होइन कि विकासको नाममा विश्वलाई नै चकित परि उदाहरणीय बनेको छ |
 
माथिका तिनै प्रकारका विदेशीहरुलाई प्रदान गरिने आकर्षणहरुको मुख्य उदेश्य हो देशमा आर्थिक
विकासलाई तिब्रता दिनु | देशमा वैदेशिक लगानीको बाटो खोल्नु, रोजगारीको राजमार्ग खोल्नु | जबकि यी कतिपय देशहरु नेपालको तुलनामा आफैं अति विकसित देशहरु हुन् | तर पनि यिनमा आर्थिक विकासको चाहनामा कमी आएको छैन | यता नेपाल भने आर्थिक विकासमा गरिब त छँदैछ, मानसिक रुपमा पनि झन् गरिब नै छ | किनभने नेपालले अथाह आर्थिक सम्भावना भएका तर विदेशिएका आफ्नै नेपालीहरुलाई देशमा खुला मनले आमन्त्रण गर्न सकेको छैन | विदेशीलाई त परको कुरा हुन आउँछ |

यसैलाई मध्यनजर राखेर विदेसिएका नेपालीहरुको लामो समयको मागले बल्ल गैरआवासीय नेपाली भनेर नेपालले चिन्यो | क्रमशः नागरिकता दिएर पनि चिन्यो तर दिने मन्त्रालय तथा मन्त्रीलेमात्र चिन्यो | बाँकि देशका प्रशासनले चिनेन | अध्यागमन, मालपोतले नचिन्ने, बैंकले नचिन्ने | अर्थात, बालकलाई दुधको नाममा चौलानी दिएर झुक्याउने बदनियतपूर्ण काम गर्यो | नागरिकता छ, तर शुल्कसहितको भिसा चाहिने | छैन त अचम्म नेपालमा? आठौँ आश्चर्य भएन?

नेपाल सरकारको नेपाली मूलका विदेशीहरुप्रतिको यस्तो अर्घेल्याईं कहिलेसम्म हो? नागरिकता प्रदान गर्छ तर भिसा शुल्क लगाउँछ | सो नागरिकता लिन पाँचसय डलर शुल्क तिर्नुपर्छ | तर, यो भन्दा पहिले एनआरएनको कार्ड लिइएको हुनुपर्छ | र सोहि एनआरएन कार्ड लिन पनि ५२५ डलर तिरेर लिनुपर्ने हुन्छ | नागरिकता प्राप्तिको प्रक्रियामा वडाबाट सिफारिस लिन दश हजार (?) शुल्क तिर्नुपर्ने रहेछ | यो काठमाण्डौका वडाहरुको शुल्क हो | अन्य जिल्लाहरुमा पनि सोहि अनुपातको शुल्क हुनुपर्छ | अर्थात्, नेपाल सरकारका कर्मचारीतन्त्रहरुको आँखा विषाक्त छ | मात्र शुल्क उठाउन जानेको छ | यीनलाई एनआरएन भनेको पैसाका खानी हुन्, यिनीहरुसँग जति शुल्क लिए पनि हुन्छ भन्ने कलुषित सोच रहेको पाइन्छ |

अर्कोतिर एनआरएनको मागमा पनि एकरुपता छैन | पहिला त उ आफैँ खण्डित छ, त्यसमाथि, सरकारको आँखै ठुलो हुने गरि वंशजको नागरिकता माग गर्छ | यो तातो खाउँ, छिटै मरौं जस्तो भएन? एनआरएन कार्ड मार्फत सरकारले चिन्न थालेको पाइला अहिले आएर कलुषित नागरिकतामा अड्किएको छ | तसर्थ, सरकारको आशयलाई बुझेर वंशजको नागरिकताको जिद्दी छोडेर बरु हाल पाइरहेको अधिकारलाई मुलुकभरका सम्पूर्ण प्रशासनिक संयन्त्रहरुमा व्यवहारमा ल्याउने प्रयास गराउनु नै उचित हो |

उसो त सरकार उदार र मनकारी हुने हो भने, देशको दीर्घकालीन आर्थिक हितलाई ध्यानमा राख्ने हो भने दोहोरो नागरिकता दिनु नै सर्वोत्तम उपाय हो | यी देश छोडेर गएकाहरु भन्ने सोचको मानसिकता सरकारका दुबैथरी चालकले चटक्क त्याग्नैपर्छ | तर यी चालकहरुले बुझ्ने पर्ने अर्को के पनि हो भने संसारमा यस्ता धेरै देशहरु छन् जसको मूल आयश्रोत नै रेमिट्यान्स थियो र त्यसैको भरमा विकसित देशको लहरमा उभिएका छन् | त्यसो हो भने नेपाललाई पनि त्यसै लहरमा किन नउभ्याउने? मात्र दृढ विचार, दृढ योजना, दीर्घकालीन राष्ट्रको हितार्थ नियम कानुन हुनुपर्यो |

सरकार र प्रशासनमा रहेका उच्चस्तरीय कर्मचारीहरुले पनि टोपी टेबुलमा राखेर ठण्डा मनले सोचे एनआरएन देशको आर्थिक विकासको काममा ठुलो लाभदायी हुनेछ भन्ने बुझ्न सकिन्छ | हिजो देश छोडेर गएकाहरु फेरी देश नै फर्किन्छु, उता दुख गरेर कमाएको पैसा देशमै लगानी गर्छु, केहि रोजगारी सिर्जना गर्छु, विदेशमा सिकेको शीप र जाँगर तथा अनुभव प्रयोगमा ल्याउँछु भन्छ भने यसमा नराम्रो के छ र? तर कर्मचारीतन्त्रको असाध्य पूर्वाग्रही र संकुचित मानसिकताले देशमा भित्रिन सम्भव भएको यो अथाह श्रोत समुद्रपार नै रोकिएको छ |

माथिका लगानीकर्ता एनआरएनमात्र होइन, त्यस्ता एनआरएनले पनि विदेशी मुद्रा भित्र्याउन सक्छन् जो सामान्य, शान्त तथा आरामदायी अवकाश जीवन नेपालमा बिताउन चाहन्छन् | यीनले रोजगार गरेको सरकारबाट पाउने अवकाश भत्ता, कामबाट पाउने आजीवन भत्ता, संचित संचयकोष र आफ्ना साना बचतकासाथ नेपाल आएर शान्त जीवन बिताउने चाहना पालेका हुन्छन् | र यसरी भित्रिने विदेशी मुद्रा पनि ठुलो हुने अनुमान छ | साथै, यीनकालागी विदेशमा रहेका सन्तानले पठाउने नियमित भरथेगका रकमसमेत नेपालको आम्दानीमा जोडिंदा अर्थतन्त्रमा ठुलो सकारात्मक प्रभाव पर्छ भन्ने सरकार र कर्मचारीतन्त्रले बुझ्नुपर्यो | र यसरी भित्रिने अर्थले देशमा ल्याउने रोजगारीलगायतका आर्थिक तरङ्गहरु विशाल हुनेछ भन्ने पनि बुझ्नुपर्यो |

विदेश गएका पहिलो पुस्ता अब स्वदेश फर्किने क्रमको आशयमा छन् | तिनको आशयमा तिनका सन्तानहरुको सोच पनि गाँसिएको छ | तसर्थ, यदि यी जिम्मेवार सरकारी संयन्त्रले देशको वास्तविक विकास चाहन्छन् भने नेपालले समयमै वृहत र उदार सोच राखेर यो शृंखलालाई विशृंखलित हुनबाट रोकोस् | किनभने, देशमा सुरक्षा, सुनिश्चितता र स्थिरता भएन भने सन्तानहरु विदेशमा रहेका यताका अभिभावकहरु समेत यताका सम्पति बेचबिखन गर्दै विदेश पलायन हुनेका सङ्ख्यामा वृद्धि हुँदै जाने सम्भावना रहेको छ | यसले गर्दा देशले दोहोरो आर्थिक नोक्सान भोग्नु पर्नेछ | जुन दुर्भाग्यपूर्ण नै हुनेछ |

एउटा अर्को तितो सत्य के हो भने, शायद कुनै धुरी यस्ता नहोला जसको एक न एक सदस्य विकसित मुलुकमा बसोबास गरिरहेका नहोलान् | यसमा राजनैतिक पार्टीका नेताहरु, सरकारी संयन्त्रका कर्मचारीहरु, व्यापारी तथा उद्योगीहरु छन् जसको ति विकसित देशहरुमा कुनै न कुनै रुपमा पारिवारिक सम्बन्ध गाँसिएको छ र आवतजावत भैरहेको हुन्छ | अझ कति उच्च पदका पदाधिकारीहरु त उतैको बसोबासमा अवकाश जीवन व्यतित गरिरहेका छन् | अर्थात ने
पालका यस्ता कुनै बहुधा घर छैन होला जसको नेक्सस विदेश नहोस् | यीनलाई पनि भविष्यमा वर्तमानमा उठिरहेको आवाजमा सामेल हुनु पर्नेहुन्छ | अहिलेका कतिपय सरकारी पदाधिकारी अवकाश जीवन सन्तानकासाथ विदेशमा बिताउने भन्ने सोचले हाललाई त ढुक्क होलान् | तर त्यो बसाई दीर्घकालीन हुनेछैन भन्ने कुरामा यो पंक्तिकार ढुक्क छ |

सामाजिक सञ्जालमा चिनजान रहेका एक सचिवले अवकास पाएपछि पेन्सन पट्टा बनाउन किताबखानाले दिएको दुखप्रति सञ्जालमा गुनासो गर्दै थिए | प्रतिक्रियामा मैले यत्रो बर्ष सरकारी ओहदामा रहँदा आफ्नै सरकारको कमजोरी कसरी नदेखेको र सुधारमा किन केहि नगरेको त भन्ने प्रश्न मैले गरेको थिएँ | अर्थात्, अहिले वर्तमान एनआरएनले भोगेको समस्या समयमै निराकरण नगरे माथिका नेक्ससवालाहरुलाई पनि सोहि समस्या ढिलोचाँडो आइलाग्ने नै छ | तसर्थ, समाधानकोलागी अहिले नै जुटेको बेस |

एनआरएनको यस संवेदनशील मुद्दामा अब विदेशिएका सन्तानका अधिकारकालागी, तिनबाट देशले पाउनसक्ने आर्थिक लाभकालागी यता रहेका अभिभावकहरुले पनि आआफ्ना क्षेत्रबाट सम्भावित अधिकारिक क्षेत्र अर्थात् संसद, मन्त्री या नेताहरुका माझ आवाज उठाउनु पर्ने बेला आयो जस्तो छ | सरकारले पनि कान खोलेर सुनोस् ताकी देशले ठुलो आर्थिक फड्को मार्न सफल होस् |

Thursday, August 15, 2024

धार्मिक नेतृत्वमा समाज सुधारकको सम्भावना

 धार्मिक नेतृत्वमा समाज सुधारकको सम्भावना 

बासु श्रेष्ठ 

हाल: काठमाडौँ 


अहिले काठमाडौँ पशुपति क्षेत्रमा जारी एक महिने कोटी होमको विशेष चर्चा छ | यो कोटीहोम मानवसेवा फाउन्डेसनकोतर्फबाट गरिएको हो | महायज्ञ अवधिभरी एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण,  वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने भनिएको छ | कुनै सङ्घसंस्थाको सहायतार्थ यस्तो धार्मिक कार्यको अनुष्ठान गरिएको यो पहिलो पटक भने होइन | तर यस स्तरको र पशुपति क्षेत्र विकास कोषको परिसरमा गरिएको भने पहिलो नै हुनुपर्छ |


यस महायज्ञमा नेपालबाट वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, भारतबाट राधिका दासी तथा बेलायतबाट श्री राम कथावाचक चन्द्रकला सखी लगायतले कथावाचन गर्ने जनाइएको छ । यीनका कथा वाचन सुन्न र धर्म, भजन किर्तनमा लिप्त हुन हज्जारौंको संख्यामा दिनहुँ सहभागी भैरहेका छन् | अपवादका रुपमा सिने कलाकारहरु आफ्नो आगामी चलचित्रको बिज्ञापन गर्न समेत पुगेका छन् | किनभने यीनले त्यहाँ अपार जनसमूहका बीच आफ्ना भनाई राख्न पाउँछन् | तर यो सुविधा आयोजकले के कसरी दियो त्यो गर्भकै बिषय हो |


यी वाचनकर्ताको मूल उदेश्य हो अनुष्ठानको उदेश्य पुरा गर्नु अर्थात आयोजककोलागी बढी भन्दा बढी चन्दा सङ्कलन गरिदिनु हो | यसबापत वाचकले पनि निश्चित रकम पारिश्रमिक स्वरूप लिने गर्छन् | जति बढी सङ्कलन भयो उति दुवै पक्षलाई फाइदा | तर कबूल गरिएको रकम सङ्कलन नभएको खण्डमा चाहीं आयोजक घाटामा पर्न जाने हुन्छ र यो मैले देखेको छु | कथा वाचकले कबूल गरेको रकमको प्रतिशत लिने हो, सङ्कलित रकमको होइन | तसर्थ, यस्ता आयोजनामा बढी भन्दा बढी नगद सङ्कलन भएको राम्रो ठहरिन्छ | 


जे होस्, चाहेमा यी कथावाचकहरु धार्मिक प्रवचन दिनुका साथै समाज सुधारकको भूमिका पनि सहजै खेल्न सक्छन् | हिन्दु धर्म त्यो पनि नेपालका अनुयायीहरुमा अलि बढी अन्धविश्वासले ग्रस्त देखिन्छ | पूजाआजा धर्मको नाममा मूर्ति त के प्रकृतिलाई नै समेत हानी पुर्याउने, वातावरण दुषित बनाउने, फोहोरमैलाको कारण बन्ने आदि सजिलै हुने गरेको पाइन्छ | यसका उदाहरणहरु बाटो हिंड्दा नै पनि प्रशस्त देख्न पाइन्छ | काठमाडौँमा बग्ने नदीको हालत पनि देखि नै रहेका छौ | जबकि हाम्रो धर्मले प्रकृतिलाई पनि देवताको रुपमा पुज्ने गर्छ |

 

तर बिडम्बना के भने हामी जसलाई पूजा गरिरहेका हुन्छौं, उसैलाई हानी पुर्याईरहेका हुन्छौं | एक शनिवार, पीपलको रुखको फेदमा बाक्लो धुँवा आइरहेको देखेँ | स्वभाविक कौतुहलतावश नजिक गएर हेर्दा कसैले पीपल रुखलाई आरतीको बत्ती बालेको रहेछ | ति अज्ञात भक्तजनको बुद्धिप्रति आक्रोशित हुनु बाहेक अन्य उपाय थिएन | बत्तीलाई सक्दो शमन गरेर म आफ्नो बाटो लागें | तर यो घटना मेरो मानसपटल अटल भएर रहेको छ |

हामी भूतप्रेत मन्साउने, ग्रहदशा शान्त पार्ने तथा देवतालाई चढाउने नाममा टपरी या दुनामा खानेकुराहरु राखेर दोबाटो चौबाटोमा राख्छौं | तर ती खानेकुराहरु छरिएर वरपर फोहोर हुने, दुर्गन्ध फैलिनेप्रति रत्ती सजग हुँदैनौं | यो हाम्रो धर्मान्धता हो |


म यी प्रभावकारी कथावाचकहरुले यस्ता विकृतिका विरुद्ध श्रोता भक्तजनहरुलाई सजग बनाउन् भन्ने आग्रह गर्दछु | त्यसै गरी, पुरेत, पण्डितहरुले पनि धर्मको माध्यमबाट आआफ्ना ठाउँबाट भक्तजनहरुलाई अन्धविश्वास, छुवाछुत तथा अन्य विकारहरुबाट मुक्त गराउन सक्छन् जुन सरकार तथा सरकारका कानुन नीति नियमले पनि सकिरहेका छैनन् |


बागमती फोहोर, रुग्ण र जीर्ण हुनुमा म पनि दोषी छु | तथापी, ममाथि घटेको घटनाभन्दा पहिले नै बागमतीको दुर्गति आरम्भ भैसकेको थियो | तर त्यस कुकृत्यमा म पनि धार्मिक बाध्यताको कारणले समावेस भएँ |


बागमती किनारको पशुपतिस्थित किरियापुत्री घरमा १३ दिन बुवाको किरिया बस्ने क्रममा त्यस रुग्ण नदीमा मैले दिनहुँ पितृको नाममा कपडा बगाएँ, (पानी भए त बग्नु, फालें भन्नु उचित होला) अन्नादीहरु फालें, फलादी फालें र थप फोहोर बनाएँ | यो उपक्रममा मलाई अति ग्लानी भैरहेको थियो | तर आफूभन्दा जेठाबाठाहरु, विद्वान पुरेतहरुसँग युगौँदेखि चल्दै आएको यस रीतप्रथाको बिरुद्ध बोल्न असमर्थ रहें | विदेशबाट आएर किरिया बसेको मलाई नास्तिक भयो, विदेशी भयो, भ्रष्ट भयो भन्ने आक्षेपबाट बच्नुकासाथै आमाको मन पनि दुखाउन चाहिनँ | तसर्थ, १३ दिनका हरेक दिनका हरेक क्रियाकलापमा बागमतीसँग मनमनै क्षमा माग्दै यी कृत्य गर्दैरहें |


यी र यस्ता अन्धविश्वासहरु हटाउन शिक्षा नै महत्वपूर्ण हो र यसले बिस्तारै निर्मूल गर्दै जाने छ भन्ने निकै वर्ष पहिलेको मेरो विश्वास असफल भएको छ | शिक्षा नै अपूरो, अधूरो र शिक्षकहरु पनि सोहि अनुसारका भएको पाएको छुँ | र त, आजका युवाहरुमासमेत अन्धविश्वास र रुढिवादीले झन् जरा गाडेको पाइन्छ | 


तर पछि शिक्षामात्र यी अन्धविश्वास हटाउन पर्याप्त छैन यसलाई धर्मले नै काट्नु पर्छ र यो नै प्रभावकारी हुन्छ भन्ने मेरो निर्क्यौल योगमाया उपन्यास पढेपछि आएको हो | योगमायाका अनिगिन्ती अनुयायीहरु योगमायाले महिलाको पक्षमा उठाएको आवाजको पक्षमा त लागे | तर, धर्मको नाममा हुने या भैरहेका पश्चगामी अन्धविश्वासका बिपक्षमा यस सुधारको पक्षमा बोलेको पाइन्न | धार्मिक प्रवचन दिएर असँख्य अनुयायी बटुल्न सक्ने वक्ता आफु पनि सजग भएर धर्ममा रहेको या धर्मको आधारमा उत्पन्न गरिएका अन्धविश्वास तथा रुढिवादीलाई धार्मिक प्रवचन मार्फत चिर्न, फाल्न या कम गर्न सक्छ | तर त्यो गरेको पाइँदैन | जुन दुखद कुरा हो | अब सबै धर्म गुरुहरुको ध्यान यता पनि जाओस् |


Saturday, June 22, 2024

पाहुनासँग खसखस


अमर न्यौपाने 
डा. शङ्करप्रसाद शर्मा
आनी छोइंग डोल्मा
अनुराधा कोइराला
बालकृष्ण पोखरेल
चन्द्रकला नेवा
दयाराम श्रेष्ठ
गङ्गाप्रसाद उप्रेती १
गङ्गाप्रसाद उप्रेती २

गुहनाथ पौडेल
हरि अधिकारी 
हरिबहादुर थापा 
हिरण्यकुमारी पाठक 
इन्द्रबहादुर राई
कालीप्रसाद रिजाल
किशोर पहाडी
कृष्ण धरावासी
कुमारबहादुर जोशी
लीलबहादुर क्षेत्री
माधव घिमिरे
मीरा राना
नगेन्द्र थापा
नयनराज पाण्डे
नीलम निहारिका
ओमवीर सिंह बस्न्यात 
परशु प्रधान
प्रेमध्वज प्रधान
राजेश्वर देवकोटा
रमेश खकुरेल
रत्नशम्शेर थापा
शिव रेग्मी
श्याम तमोट
सोमनाथ घिमिरे
एस्पी कोइराला
सुनिल पोखरेल
ठाकुर पराजुली
तुलसी दिवस
तुलसी घिमिरे

 

Friday, June 14, 2024

बाटो विहीन गन्तव्यहरु

बासु श्रेष्ठ

हाल: काठमाडौँ

नेपालका सडककोलागी नवचालक म आफन्तसहित चर्चामा रहेको सुकुटे बीच 'बाटो राम्रो रहेको' जानकारीको आधारमा सपत्नी गईयो। किनभने नेपालका थुप्रैसडक खण्डहरु या त आँशिक रुपले होस् या पूर्णतया होस् सडकहरु घाईते भएका नै हुन्छन्। प्रायश: मानिसहरुलाई यो दुरावस्था यति सामान्य लागिसकेको छ कि बाटोको अवस्था सोधे 'राम्रो छ, सवारी साधन चल्न सक्छन्' भन्ने जस्ता जवाफ पाइन्छ। तर, कतिपय सडकहरु सवारीसाधन चलाउन योग्य पटक्क हुँदैनन्। सम्भवत: तिनले सद्दे देखेको भोलीपल्ट नै सडक कुरुप बनेको हो कि? त्यो पनि सम्भव छ। खन्न, खोस्रिन कुनै समय नलाग्ने तर बनाउन बर्षौं लगाउने प्रवृत्तिले जरो गाडेको रहेछ।

जे होस् , अन्तरिक पर्यटकले धानेको, कोदारीबाट ४५ किमी वर, बुढानिलकण्ठबाट ७६ किमी पर अनि दोलालघाटबाट २० किमी पर सुनकोशीको तीरमा रहेको यो स्थललाई किन 'बीच' भनियो भन्ने प्रश्न अनुत्तरित नै छ। तर, दुई पहाडको खोंचमा रहेको यो क्षेत्रमा सानाठूला, नयाँ पुराना गरि झण्डै १७ वटा रिसोर्टहरु रहेछन्। नेपाल चीन जोड्ने तथा ऐतिहासिक अनि व्यापारिक दृष्टिले महत्वपूर्ण अरनिको राजमार्गको यो खण्डखण्डमा देखिने र भोगिने दूराबस्था जेजति छ बुझिनसक्नु छ। भक्तपुरसम्म ब्यबस्थित सडक लगभग साॅगाबाट अनावश्यक तथा अर्थहीन तरिकाले असॅख्य स्थानमा खुँडेर खण्डित गरिएको छ। यसकासाथै सडक निर्माण तथा चौडा गर्ने उदेश्यकालागी सडक भताभुङ्ग गरिएका असॅख्य ठाउॅले आवागमनमा प्रत्यक्ष बाधा त पुगेकै छ। यसले समय र अर्थतन्त्रमा अथाह नकारात्मक प्रभाव पनि पारेको छ जुन सरकारको किताबमा कहिल्यै पर्दैन।

अर्थतन्त्रमा पर्ने नकारात्मक सामान्य उदाहरणका रुपमा: सडक दूरावस्थाको कारणले दुई मिनेटको दूरी पार गर्न बीस मिनेट लाग्नसक्छ। यो बीस मिनेटमा गति कम हुनाको कारणले ईन्धनको खपत बढि हुन्छ। खाल्डाखुल्डीमा सवारी साधन ठोक्किने या खसेर भौतिक क्षति हुन्छ र मर्मत आदिकोलागी ईन्धनसरह पार्ट्सहरु बिदेशबाट आयात गरिनुपर्छ। सडक दाॅयाबाँया बसोबास गर्ने बस्तीबासीहरुलाई धूलो र धूॅवाको प्रदूषणले स्वास्थ्यमा पार्ने प्रतिकूल असर लगायत सवारी साधन मर्मत आदिको ज्याला आदि सबैलाई आर्थिक दृष्टिकोणमा परिणत गर्दा परिणाम भयावह र सोचनीय हुन आउॅछ।

जे होस्, धुलिखेलपछि केराघारीसम्म शायद लगभग सात किलोमिटर सडकको अवर्णनीय दूर्दशा छ। उकालीमा रहेको यो खण्ड धूलो, हिलो, खाल्डाखुल्डी बाहेक केही छैन। कुनै खण्डमा छेउतिर निर्माण काम त भैरहेको छ। तर, न अगाडी काम छ, न पछाडी। वैकल्पिक तथा अस्थायी लेन सिर्जना गरेर आवागमनमा सहजता पुर्याउन सहजै सकिन्थ्यो। तर यस्ता सामान्य बिषयमा निर्माण व्यवसायी तथा सम्बन्धित निकायहरुको ध्यान नपुग्नु दुखदायी छ। यसतर्फ तिनका लापरवाहीले तिनका स्तर उजागर गरेको छ। कमसेकम आन्तरिक पर्यटनको भए पनि गन्तव्यको रुपमा स्थापित यस्ता स्थल जोडिने सडकहरु छिटोभन्दाछिटो सम्पन्न गरेर ति पर्यटन व्यवसायीहरूलाई सहयोग गर्नुपर्ने सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार किन अन्धो र बहिरो भएर बसेको छ? यो भन्दा महत्वपुर्ण त चीनसंग जोड्ने मैत्री तथा व्यापारिक राजमार्ग हो। यसको महत्तालाई मात्र ध्यान दिएको भए शायद यो अवस्था आउने थिएन कि?

व्यापारिक तथा आर्थिक दृष्टिले नेपालको अर्को लाइफ लाइन राजमार्ग पूर्व पश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड तथा त्रिभुवन राजपथको थानकोट नौबिसे सडक खण्ड जीर्ण र यातायातकोलागी अनुपयुक्त भएको कैयौँ बर्ष भैसकेको छ। यसबाट भैरहेको क्षति अतूलनीय र अवर्णीय छ। तर सरकार मूलत: सङ्घीय सरकारको अकर्मण्यताले आर्थिक नोक्सानकासाथै मानवीय क्षति भोगिरहनु परेको छ। यस सडक खण्डमा गतबर्ष काठमाण्डौॅबाट सौराहा हुॅदै बुटवल, स्याङ्जा, पोखरा काठमाण्डौॅको यात्रामा भोग्नुपरेको सडकीय सजायँले फेरि दोहोर्याएर यात्रा गर्ने बिचार र ऑट पटक्कै आएको छैन।

हुन त, वैकल्पिक साधनमा हवाई यात्रा पनि गर्न सकिन्छ, तर, स्थलमार्गमा पाईने रमणीय दृश्यावलोकन आदिको हवाई यात्रामा सम्भव छैन। र म यिनै दृश्यहरुको लोभी हुॅ। साथै स्थानीय ब्यापारमा सानो तथा झिनो योगदान पुर्याउन सकिन्छ। तर हवाई यात्रा पनि सबै स्थानमा उपलब्ध छैन र उपलब्ध गराउन सम्भव पनि छैन।

यसैगरी गतबर्ष चालकसहित भाडाको गाडीमा नगरकोटको यात्रा गर्दा पनि भक्तपुरको सैनिक इलाकापछि नगरकोटको रिसोर्टसम्म मुश्किलले केही किमी सडकमात्र स्तरीय पाएँ। बाँकि खण्ड खाल्डाखुल्डीले भरिपूर्ण थिए। धुलो र धुवाँका कारणले पहाडी क्षेत्रको स्वच्छ हावा पनि वर्जितसरह थियो। अरु त अरु, मूल सडकबाट छुट्टिएर रिसोर्ट जोड्ने सडक समेत दूर्दशामा थियो । स्वाभाविक रुपले यो सडकको भित्री खण्ड रिसोर्टको स्वामित्वमा देखिन्छ। स्थापनाकोलागी करोडौँ खर्च गर्नसक्ने रिसोर्टले यो सानो सडक खण्ड बिजोग अबस्थामा राख्नुको औचित्य बुझिनसक्नु छ। नगरकोटबाट फर्किएको केही अवधिपछि त्यस भक्तपुर नगरकोट सडकखण्डका वासिन्दाले तत्कालीन मन्त्री नारायणकाजी श्रेष्ठसँग वादविवाद भएको समाचार हेरेको थिएँ। अहिले त्यो खण्डको हालत यथावत छ या आवश्यक मर्मत गरियो थाहा हुनसकेन।

यसैगरि केहि हप्ता पहिले मेरा आत्मीय मित्रसँग ललितपुर जिल्लाको लाँकुरी भन्ज्याङ्ग जाने निधो गरियो। स्वभावत: बाटोको अबस्था राम्रो छ भन्ने जानकारी पाएपछि हुँईकिएर गइयो। उकालो चढ्ने क्रममा हाम्रो गन्तव्य पुग्न झन्डै तीन किमी सवारी साधन चलाउन योग्य थिएन। झन् रातो माटो रहेको खोस्रिएको सडक(?) र त्यसमाथि पानी पर्न थालेपछि त यात्रा खतरापूर्ण हुन थालेको अनुभव गरियो र निर्दिष्ट गन्तव्य नपुगीकनै फर्किन बाध्य भइयो।

यसका अतिरिक्त बाटामा पर्ने कतिपय स्थानमा पर्यटक स्थल तथा धार्मिक स्थल स्थापना त भएका छन् तर, तिनलाई पहुँच दिने सडकको चाहीॅ ब्यबस्था स्तरीय छैन। अझ, ति सडक नै होईनन् जुन फगत डोजरले खनेर रेखाङ्कनमात्र गरिएको हुन्छ। स्थानीय नेता तथा मन्त्री, साॅसदहरु आफ्ना मत सुरक्षित गर्न यस्ता झिनामसिना कामद्वारा 'ल हेर, मैले ल्याएको विकास' भन्ने झुटो, अपूरो र अधुरो योजना ल्याउॅछन्। तर, निर्माण व्यवसायी, स्थानीय सरकार तथा सवारी चालकका मनपरि र लापरवाहीको कारणले ति रेखाङ्कनले सडकको प्रमाणपत्र पाउनु अघि नै सवारी साधन चलाईदिन्छ। फलतः हुने दूर्घटना तथा तिनले हुने मानवीय क्षतिको दुखदायी समाचार सुन्नसमेत हामी अभ्यस्त भएका छौॅ। तसर्थ सरकार तथा निर्माण व्यवसायीहरुले सडकको पूर्णतया निर्माण सम्पन्न नभएसम्म सवारी आवागमन रोकिनुपर्छ।

मैले माथि उल्लेख गरेको विवरण निसन्देह प्रतिनिधि विवरण हुनसक्छ। देशभर यस्तो दुरावस्था असंख्य होलान् भन्न सकिन्छ। यो सबै खुद्रे विकासको सोच, जसलेपनि निर्माण ठेक्का पाउने परिपाटी र हतारमा मत तान्ने स्वार्थको कारणले हो जुन यथाशक्य बन्द गरिनुपर्छ।


Thursday, June 6, 2024

'आफ्नै भूतको कथा' वेबसाइटमा

वरिष्ठ साहित्यकार तथा छन्दकवि Ramesh Khakurel रमेश खकुरेलकृत २०६३ मा प्रकाशित यो 'आफ्नै भूतको कथा' वहाँका फेसबुकका थुप्रै पाठकहरु पढ्न इच्छुक भए ता पनि कृतिको अनुपलब्धताको कारण ति पाठकहरुको पठन भोक मेट्न मैले टाईप गरेर अनलाईनमा उपलब्ध गराउने जमर्को गर्ने क्रममा यो कृति हात पारेर यहाँ प्रकाशित गरेको छु । अपितु, टाइप गर्न नजान्ने र जाने पनि थोरैमात्र जान्ने भएकोले टाइप गरिरहने झन्झट र समय खर्च नगरी कृतिका फोटो पीडीएफमा हालेको छु । फोटो खिच्ने क्रममा केहि हरफहरु नमिलेका हुनसक्छन् , तिनलाई मिलाएर पढ्नुहोला । तपाईंले पढ्नकोलागि राख्नु भएको तीब्र चाहनाको तुलनामा यो 'अमिलाई' केहि होइन भन्ने ठान्नु होला ।

यस कामकोलागी फेसबुकमा कृतिकारको स्विकृती र सहमत रहेको छ र मैले साहित्यकार माणिकरत्न शाक्यसँग यो कृति मागेर यो वेबसाइटमा राख्ने निधो गरेको हुँ । यो कृति नै किन त भन्ने प्रश्नको उत्तरको प्रसङ्ग- नैराश्य र असफल जीवनको कारण आत्महत्या गर्ने सोच बनाएका कुनै एक ब्यक्तिले यो कृति पढेपछि मर्ने बिचार छोडेर बाॅच्ने हिम्मत र हौसला पाएको प्रेरक प्रसङ्ग हो। र खकुरेलका पाठकहरुले यो कृति पढ्न माग गरिरहेका हुन्।

बजारमा अनुपलब्ध कृतिलाई फेसबुकका पाठकको माग बमोजिम यसरी उपलब्ध त गराएँ तर पाठकका तिर्सना मेट्न म कति सफल भएँ भन्न सक्दिन। तर, मैले केही त गरेँ भन्नेमा चाहिँ सन्तुष्ट छु । HAPPY READING !!!


आफ्नै भूतको कथा  
सानो छँदा

Thursday, June 9, 2022

उहिलेका बाँसबारी र अहिलेका बन्चरे डाँडाबासीहरु

 

बासु श्रेष्ठ

उडब्रिज, भर्जिनिया

मेरो जन्मघर महाराजगन्ज, बाँसबारीमा भएको हो | मेरो घरको उत्तरपश्चिममा विसं २०२२ मा छालाजुत्ता कारखाना निर्माण भयो | चीनको सहयोगमा निर्मित उक्त कारखानाले झन्डै ५०० जनालाई रोजगारी दियो | बिहान नौबजे काम शुरु हुने समय नौ बजे, दिउँसो खाजा खाने समय एक बजे र काम समाप्तीको समय पाँच बजे टांगटांग टांगटांग घन्टी बज्थ्यो भने प्रत्येक घण्टा समय जनाउने घन्टी बज्ने गर्थ्यो र टोलबासीकालागी त्यहि घन्टी समयको सूचक हुन्थ्यो | बिहान कारखानाका कर्मचारीहरु मेरो बारीको छेउबाट लाम लागेर काममा जान्थे भने बेलुका त्यसै गरि लाम लागेर फर्कन्थे | घन्टीको आवाज नसुनेकाले या सुन्न नपाएकाले यो लाम देखेर समय खुट्याउँथे | सवारी साधनको सुविधा नहुनेहरु यो बाटो प्रयोग गर्थे भने अर्को दिशाका मजदुरहरु लिनपुर्याउन ट्रकहरु उत्तरमा बुढानिलकण्ठ तथा दक्षिणमा जावलाखेल (शायद) सम्म पुग्थे | बिहान बेलुका यी ट्रकहरु आउनेजाने गर्ने समय शुन्यप्राय: सडक भरिभराउ हुन्थ्यो | अनि खहरे सुके झैं सामसुम्म हुन्थ्यो |

उता बाह्रबजे टुंडिखेलमा मध्यान्हको सूचक तोप पड्किन्थ्यो| त्यो तोपको आवाज बाँसबारीसम्म सुनिन्थ्यो | हामीभन्दा पनि हाम्रा अग्रजहरु सोहि सूचक अनुसार चल्थे | यो लेख्दा अहिले आफैंलाई अचम्म लाग्छ |

सो कारखाना संचालनमा सहयोगार्थ आएका चिनिया कर्मचारीहरुकोलागी कारखानाको ठिक दक्षिणपट्टि झन्डै २५ वटा सानासाना आवासगृह बनाइएका थिए | ति चिनियाहरू जे पनि खाने भएकाले मेरा केहि साथीहरु काग, चिल आदिको शिकार गरेर तिनलाई दिन्थे | सट्टामा माओका हत्केलाजत्रो देखि लिएर सानासाना ब्याज तथा पाउरोटी आदि दिने गर्थे | हामी त्यो खाएर, लगाएर हिँड्ने गर्थ्यौँ | पछि यो वितरण अनि पहिरनमा सरकारले रोक लगाएछ | यतिबेला म जनकपुर गईसकेको थिएँ |

हाल उक्त बाँसबारी छाला तथा जुत्ता कारखाना निजीकरणको नामबाट खोष्टाको मोलमा बिक्री भएर विसं २०५२ बाट शहिद गंगालाल हृदय केन्द्र अस्पतालले विस्थापन गरेपछि ईतिहास भैसकेको छ |

तर, छालाजुत्ता कारखानाले बाँसबारीबासीलाई दिएको परोक्ष दुखको भने सरकारले कुनै वास्ता गरेन | किनभने उक्त कारखानाबाट फालिएका आलो छाला, बेलुका प्रशोधनबाट निस्किएको दुर्गन्धमिश्रित धुँवा तथा प्रशोधन गरि फालिएको रगत मिसिएको रातो पानी नजिकको खहरेमा फालिनाले टोलबासी दिक्क मान्थे | यो खहरेको दुषित पानी मण्डीखाटार हुँदै शायद धोबीखोलामा मिसिन्थ्यो | त्यस खहरे छेउछाउका बालीनाली नष्ट हुन्थे |

विशेष गरि बेलुकाको खाना खान बस्ने बेलामा यो दुर्गन्ध टोलका घरघरमा प्रवेश गर्थ्यो | त्यतिमात्र नभई कारखानाको पछाडि पूर्वपट्टी पर्खालबाहिर प्रशोधनपछि फालिएका आलो छाला तथा अन्य अङ्गहरू जस्तै भुँडी, हाडहरु स्थानीय कुकुर तथा चिल, कागहरू लगायत अन्य चराहरुले बोकेर घरका छाना, पाली, आँगनमा ल्याउने, खसाल्ने गर्नाले थप फोहोर र दुर्गन्धको त्रासमा बस्नुपर्ने हुन्थ्यो |

र त त्यतिबेला कसैले बाँसबारीको नाम लिँदा त्यो छाला गन्हाउने टोल? भनेर हियाउने आशयले भन्थे |

कारखानाकोलागी उतिबेलाको शहर असन, इन्द्रचोक, ठमेल, क्षेत्रपाटी लगायतका भित्री शहरबाट राँगाको मासु ब्यापारीहरुबाट किनिएको कच्चा पदार्थको रुपमा छाला लगायतका अन्य भागहरु ट्रकमा ओसारिन्थ्यो | त्यसबाट चुहिएको रगत सडकमा पनि देख्न पाइन्थ्यो | तर पछि यसलाई छोपेर, प्लाष्टिकमा राखेर ल्याउने व्यवस्था चाहिं गरियो |

कारखानाबाट टोलबासीले पाएको यो दुखको बारेमा कतै गुनासो, उजुरवाजुर गरेको मैले कहिल्यै अनुभव गरिनँ | गरेको भए पनि मैले थाहा नपाएको हुनसक्छ | तर अवस्थामा सुधार नआएकोले त्यस पंचायतकालमा उजुर नसुनिएको वा उजुर गर्ने आँट कसैले नगरेको हुनसक्छ |

तर परिस्थिति ठ्याक्कै उस्तै नभए पनि अहिले सिसडोल र बन्चरे डाँडाका बासिन्दाहरुले फोहोर ब्यबस्थापनप्रति गरेको प्रतिरोधले मलाई त्यो बाल्यकालमा पुर्यायो | ति बासिन्दाहरुको जागरुकतालाई मैले कताकता आफ्नो बाल्यकालको सोहि समस्यासँग जोडेर हेर्दा प्रशंसा गर्न बाध्य भएँ | भलै त्यहाँ डम्पिङ्ग साइटको नाममा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्न खोजिएको भएपनि समयमा योजना पुरा नगरेर स्थानीयबासीलाई सरकारले परोक्ष दुख दिएको छ |

अहिलेको यो डम्पिङ्ग साइट र छाला कारखानाको त्यो डम्पिङ्ग साइटमा भने केहि फरक छैन | फरक के भने त्यतिबेला बाँसबारीबासीले सहे | अहिले बन्चरे डाँडाबासीहरु बिरोधमा बन्चरो लिएर उर्लिएका छन् | यसलाई त्यहाँका जनतामा आफ्नो स्वास्थ्य लगायत हक अधिकारकोलागी प्रतिकार गर्न जागरुक भएको मैले ठानेको छु | तथापी, फोहोरमा राजनीति गर्ने किराहरुको प्रवेश भएको समेत पनि हुनसक्छ | यस कुरामा चाहिँ ति बासिन्दाहरु सजग रहनुपर्छ | साथै स्थानीय सरकार, केन्द्रीय सरकार तथा सबै सरोकारवालाहरुपनि यसप्रति चनाखो रहनु पर्छ भन्ने मलाई लाग्छ |

फोहोर व्यवस्थापनकै वाचा गरेर मेयर पदमा विजेता बालेन साहलाई यो चुनौतिको रुपमा पहाड भएर खडा भएको छ | अहिले शायद यो समस्या सोचेजस्तो सहज रहेनछ भन्ने अनुभूति हुँदैहोला | तर, समाधान गर्न असम्भव भने पक्कै होइन | मात्र सम्बन्धित निकाय, जनताको एकापसमा संयोजनको, बुद्धिमत्ताको र प्रतिबद्धताको अति आवश्यक छ |

फोहोरको यो फोहोरी राजनीति यथाशक्य चाँडो सुल्झियोस भन्ने सम्बन्धित सम्पूर्णमा शुभकामना |

Friday, January 28, 2022

अनि म छुच्चोमा गनिन्छु

बासु श्रेष्ठ

उडब्रिज, भर्जिनिया

कुरा २०२६ २०२७ को हुनुपर्छ । शायद म त्यतिखेर कक्षा चार या पाँचमा थिएँ होला । जनकपुरको बाह्रबिघाको पश्चिम साँधमा रहेको जानकी हाई स्कूलको विद्यार्थी थिएँ । डेराबाट स्कूल जान झण्डै आधाघण्टा पैँतालिस मिनेट लाग्ने दुई बाटाहरु थिए । एउटा सोझो र भित्रिबाटो जुन केहि पोखरीको डिलैडिल र बस्ती भएर बाह्रबिघाको बाहिर तर ठिक पूर्वतर्फ र जनकपुर अँचल अस्पतालको उत्तरपट्टि पुर्याउँथ्यो । अनि बाह्रबिघाको बिचैबिच भएर स्कूल प्राँगणमा प्रवेश गरिन्थ्यो । अर्काे बाटो थियो, बजारको बाटो । अर्थात स्टेशन रोड भएर जनक चोक हुँदै जानकी मन्दिरको प्राँगण हुँदै जनकपुर अँचल अस्पतालको दक्षिणबाट बाह्रबिघा प्रवेश गर्ने अनि पश्चिमउत्तर हुँदै स्कूलको प्राँगणमा प्रवेश गर्ने । यि दुई बाटो घरस्कूल आउजाउ गर्ने दिन अनुसार फरकफरक हुन्थे । आईतबार देखि शुक्रबार विहानसम्म पहिलो बाटो हुने गथ्र्याे भने शुक्रबार आधा बिदा पछि रल्लिँदै घर जाने हुँदा बजारको बाटो जानकी मन्दिरको प्राँगण हुँदै ढिलै गरि घर गईन्थ्यो ।

जानकी मन्दिरको अगाडि ठुलो चोक छ जसलाई अहिले ढलान गरिएको छ । त्यस चोकसँगै पूर्वतर्फ उद्यान थियो र छ । अनि चोकको उत्तरतर्फ प्रहरी चौकी तथा मिठाईका पसल थिए भने चोकको दक्षिणतर्फ पनि मिठाई तथा किराना पसल लहरै थिए । त्यसताका मन्दिरको चारैतर्फ ईँट ओछ्याइएको हुन्थ्यो । र यो चोकमा विभिन्न प्रकारका झिना मसिना सामान तथा पुजा सामाग्रीका पसल लगायत मानिसहरु भेला हुनेदेखि जादुखेला देखाउने र हेर्नेका भिड लागीरहन्थ्यो ।

एक शुक्रबारको दिन सँधैजस्तो आधा दिनपछि स्कूल छुटेपछि साथीहरुसँग रल्लिँदै जानकी चोकको बाटो समातेर घरतिर लागियो । तर, जानकी मन्दिरको चोकमा डमरु बजाएर दर्शक तानेर जादुखेला देखाउने र गोलबन्दि गरेर बसेको भीडले हामीलाई आकर्षित गर्याे । यस्तो पहिलापहिला पनि देखिएको भएपनि यस पटक खोई कुन आकर्षणले हो हामी भिडभित्र पस्यौँँ। पस्ने ठाउँ साँघुरो भएकोले कोहि कताबाट पसे भने म कतैबाट पसेँ । शायद खेलको बिच भागमा हामी पुगेछौँ । फुच्चे भएकोले खस्याकखुसुक गरेर पहिलो लहरमा पुग्दा एउटा कालो कपडाले सम्पूर्ण शरीर छोपेर कसैलाई लमतन्न सुताइएको रहेछ । यता एउटा डमरुवालाचाहिँ ड्रम्ड्रम् गर्दै डमरु बजाउँदै गोलचक्करभित्र हिँड्दै यो बच्चा सुतेको छ तर मरे सरह छ । तपाईँहरुले दिनुभएको पैसाले यो बच्चा उठ्ने छ भन्दै सबैका सामु थैली फैलाउन थाल्यो । 

ड्रम्ड्रम् डमरुको आवाज, सबैले आआफ्ना ईक्षा अनुसारको पैसा खल्तीबाट झिक्दै दिँदै गरेको देखेर मलाई पनि दिउँदिउँ लाग्यो । मैले दिएको पैसाले सुतेको मानिस कसरी उठ्दो रहेछ भन्ने थाहा पाउन म उत्सुक भएँ । तसर्थ घरबाट खाजा खान दिएको एक मोहर मैले पनि त्यस थैलीमा हालिदिएँ । अरु दिन भएको भए म यो पैसाले अलि पर जनक चोकको कुनै पसलबाट खाजा किनेर खाईसकेको हुने थिएँ । तर, आज यो जादुखेलामा हालेँ । किनभने मलाई त्यो सुतेको व्यक्ति उठेको हेर्नु थियो र त मोहर उसका थैलीमा हालेको थिएँ ।

जादुखेलाका नाईकेले नानाभाँति बोलेर अनेक प्रकारका कथा ठट्टा सुनाएर, कहिले यो तानेर या लुकाएर हामीलाई भुलाईरह्यो । निकै लामो समयसम्म पनि त्यो सुतेको व्यक्ति पूर्व घोषणा अनुसार उठेन । म भने कतिखेर र कसरी उठ्ला भनेर एकाग्र भएर त्यहि कालो कपडालाई हेरिरहेको थिएँ । हेर्दाहेर्दा त्यस नाईकेले के उद्घोष गर्याे कुन्नी, सबैजना लाखापाखा लाग्नथाले । हुँदाहुँदा मानिसकोे गोलबन्द भिड खुकुलो भएर म र त्यो जादु नाईकेमात्र रह्यौँ । सबै गएर पनि म नगएको अनि कालो कपडालाई हेरिरहेको देखेर मलाई के भयो, किन नगएको भनि सोध्यो । मैले आफ्नो असन्तोष पोख्दै त्यो मान्छे उठेन, मेरो पैसा फिर्ता दे भनेर बाझ्न थालेँ । उसले यो खेला हो र अरु कुन्नी केके भन्यो मैले बुझिनँ या बुझ्ने कोशिस नै गरिनँ । किनभने मेरोलागी उसले झुटो बोलेको थियो । झुटो बोलेर मेरो खाजाको पैसा लिएको थियो । तसर्थ मेरालागी या त त्यो मान्छे उठ्नु पर्याे या मेरो पैसा फिर्ता दिनु पर्याे । म यो कुरामा अडिग भई नै रहेँ र मैले आफ्नो पैसा फिर्ता मागी नै रहँे । पैसा फिर्ता गर्न उ जति चाम्रो हुन्थ्यो म उति दुरुह बन्दै तैँले किन ढाँटिस्, मेरो पैसा फिर्ता दे भनिरहेँ । 

आखिर खेलावालाले हार खायो । उसले सुतेकोलाई उठाउने भनेको त फगत एउटा खेल र नितान्त झुटो भएकोले के उठाउन सक्थ्यो र? त्यसमाथि बालहठ तर यथार्थ चाहने मलाई चित्त बुझाउने उसको हातमा एउटै उपाय थियो मेरो मोहर फिर्ता दिने र अन्ततोगोत्वा दियो पनि।

त्यसपछि म त्यस्ता जादुखेला हेर्न भीडमा कहिल्यै सामेल भईनँ किनभने ति ठग हुन् भन्ने मेरो मानसपटलमा छापा बनेर रह्यो जबकि त्यो तिनका पेट पाल्ने विधि थियो भन्ने बुझ्न मैले वयस्क नै हुनुपर्याे । तर, अहिलेसम्म त्यसरी अनुचित या भ्रममा राखेर या ढाँटेर कसैले कुनै काम गर्छ भने त्यो मेरोलागी असह्य हुने त्यो बानी ममा अझै छ र प्रतिकारमा बोलेकै हुन्छु अनि म छुच्चोमा गनिन्छु । 


Wednesday, July 21, 2021

प्रसङ्ग बाँदरे विरोधको:

कुरा २०४६ को आन्दोलनपछिको हो | देश भर्खर खुल्ला राजनीतिमा गएको थियो | यस्तो खुल्ला राजनीतिले जसले जे गरे पनि छुट छ/हुन्छ भन्ने गलत धारणा धारण गर्ने पनि थिए | फलस्वरूप दिनदिनै नारा जुलुस, विरोधका दृश्यहरु देखिन थालेका थिए र जनता यसबाट वाक्क हुनथाली सकेका थिए |

त्यसबखत म नेपाल वायुसेवा निगम, नयाँ सडकमा कार्यरत थिएँ | झ्यालबाट दिनहुँ सडकमा भएका नारा जुलुस स्वभाविकरुपले हेरिन्थ्यो |

यसरी हेर्ने क्रममा मैले एकदिन 'नेपालमा ३० वर्ष अगाडी प्रजातन्त्र आयो र यसको महत्व अहिलेकाले बुझेनन् |' भनेको थिएँ | वरपरका सहकर्मीहरुले मप्रति असहमति जनाएको दृष्टिले हेरेपनि कसैले केहि बोलेनन् | भनौं कसैले प्रतिकार गरेनन् | तर, त्यसबेला जसले पनि मेरो भनाइको प्रतिकार गर्न सक्ने अवस्था थियो |

तर पछि आफैँलाई ...'अबका पुस्ताले तीस वर्षपछि यसको महत्व बुझ्लान् नै | किनभने यिनीहरु सुशिक्षित, सुपठित अनि वैचारिक हुनेछन्' भन्दै आफैँलाई सम्झाएँ |

तर मेरो त्यो स्वचित्तबुझाई कति गलत रहेछ भन्ने आजको अवस्था देख्नुपर्दा अनुभव हुन्छ | सचेत हुँदै जाँदा कुनै एउटा राजनैतिक विचारधार बोक्नु, त्यसकोलागी समर्पित हुनु आदि व्यक्तिगत स्वतन्त्रता र हकको विषय हो | तर, यो हकको प्रयोग गर्दा कुन हदसम्म विवेक प्रयोग गरिएको छ भन्ने प्रश्न पनि अहम् हुनेगर्छ | त्यसबखतका बालक अहिले युवाकारुपमा देशका भविष्य भएर उभिएका छन् तर तिनका गतिविधि भने गौरवलायक रहेको पाइन्न भन्दा दुख अनुभूति हुन्छ |

हालै आएर नेपालको राजनीतिमा आएको द्वेषात्मक तरङ्गले देशमा नकारात्मक प्रभाव परेको त छ नै, राजनैतिक दलसँग आबद्ध युवाहरुमा समेत विपक्षीप्रतिको द्वेष खपी नसक्नु देखिएको छ | संयम भन्दा आवेग, विवेक भन्दा आक्रोश, मिठो भन्दा तीतो भावनाहरु पोखेर नेताहरुले आफ्नो भडाँस निकालेकोमा त्यसैको पछिपछि लागेर गधा, कुकुर या बाँदरका प्रतिक बनेर उल्टो नेतालाई साथ दिईरहेका छन् | अपितु, यिनले त्यस्ता नेताहरुलाई खबरदारी गरेर संयम अपनाउन सल्लाह सुझाव दिनसक्थे/पर्थ्यो | युवाहरु नेता तथा देशको शक्ति हुन् | यिनले खबरदारीका औंलामात्र उठाएपनि नेताहरु झस्किने छन् | यसमा कुनै शङ्का छैन | तर आफैंमा भएको शक्ति नबुझेर/नदेखेर नेताहरुबाट दुरुपयोग भईरहेका छन् अनि उल्टो आफैँ जनावर बनेर जग हसाई गरेका छन् |

प्रश्न उठ्छ, अब यी युवाहरुबाट किन आश गर्ने, गरेपनि के कस्तो आश गर्ने? र कुन बेला गर्ने?

एकथरी युवा बिहान उठ्ने बित्तिकै कुन देश र कहिले जाने होला भन्दै निर्क्यौल गर्दैमा दिन बित्छ, अर्कोथरि युवा नेताबाट दुरुपयोग भइरहेकाछन् | के यो देशको दुर्भाग्य होइन?

अहिलेका युवाजति शिक्षित कुनै पुस्ता थिएनन् | अहिलेका युवाजति प्रविधिमैत्री

कुनै पुस्ता थिएनन् | तर राजनीतिको फोहोरीपना भने पहिले पनि उस्तै छ, अहिले पनि उस्तै छ | हुनुपर्ने त युवा पुस्ता शिक्षित र दिक्षित हुँदै गएपछि राजनीति संग्लिंदै जानुपर्ने हो | तर, युवाकै कारणले बरु धमिलो हुँदै गयो भन्दा अतिशयोक्ति नहोला

यसमा कसैले 'बुढाहरुले छोडे त हो नि' भनेर तर्क गर्लान् | तर त्यसकोलागी युवाहरुले संरचनात्मक हस्तक्षेपकारी भूमिका खेल्नपर्यो | यो गुट या त्यो गुट नभनि नितान्त दल र देशको स्वार्थमा निर्लिप्त हुनुपर्यो | अनिमात्र युवाका देशप्रतिको समर्पण सफल हुन्छ | नत्र भने देशप्रतिको ओठेभक्ति र नेताप्रतिको अघोर आशक्तिमात्र देखियो भने यी युवाप्रति 'लज्जा शरणम्!!!' बाहेक भन्ने केहि रहँदैन |


Sunday, December 29, 2019

म तालु



बासु श्रेष्ठ

(एलोपेसिया एरिएटा एक प्रकारको छाला सम्बन्धि रोग हो यसले टाउको लगायत शरीरका कुनै पनि अँगका हरु चक्काकारमा झर्दै जाने हुन्छ यो रोग जो कसैलाईपनि लाग्नसक्छ यसको निदान नभएपनि उपचार बैकल्पिक उपायहरु चाहिँ पाईन्छ प्रस्तुत लेख कुनै सल्लाह या उपचारनिहित नभएर एक नितान्त व्यक्तिगत अनुभूति रहेको हुँदा सोहि अनुसार मनन गर्नहुन पाठकलाई अनुरोध तपाई आफुपनि यस रोगबाट प्रभावित हुनुभएको भने तुरुन्त छाला विशेषज्ञसँग सम्पर्क गर्नुहोला
हालै मैले दुई हिन्दी सिनेमा बाला तथा गन केश हेरेर प्रभावित भएको आधारमा यो आफ्नै कथाब्यथा लेख्ने रहर पलायो मेरो यस लेखले कसैलाई प्रभावित तुल्यायो भने आफुलाई भाग्यशाली ठान्ने छु )

(शीतल निवासको कार्यक्रममा सहभागी हुन जाँदै गर्दाको सेल्फी)
शायद विसँ २०४३ को कुरा हुनुपर्छ हजुर बा बिहानभर देवी देवताको दर्शन गरेर घर फर्किई खाना खाई ओछ्यानमा पल्टनु भयो खुट्टा छेउमा मेरो कान्छा काका हजुर बाको खुट्टामा मालिस गर्दै बस्नुभयो यत्तिकैमा हजुर बाले यता पल्टन्छु भनेर कोल्टे फेर्नुभयो काका हजुर बाको सेवामा लागी रहनुभयो निकै बेरसम्म बाबाट कुनै प्रतिक्रिया नआएको शरीर हलचल गर्न छोडेको अनुभव गरेपछि काकाले बालाई झक्झक्याउनु भयो अहँ, बाबाट कुनै प्रतिक्रिया आएन बाको खुट्टा चिसो हुँदै गएको अनुभव गरेपछि काकाले सबैलाई बोलाउनु भयो सबैले आआफ्नै ढँगले बासँग कुरा गर्न खोजे तर कुनै प्रतिक्रिया नआए पछि सबैजना आत्तिएर डाक्टर बैद्य बोलाउने तर्फ लागे टोलको जान्ने झारफुक गर्ने रामेश्वर पण्डित तथा टोलको डाक्टर मधुलाई बोलाएर ल्याए दुबैले बा अब नरहनु भएको घोषणा गरे कस्तो अचम्म !  कुनै रोग, कुनै समस्या बिहानभर देवी देवताको दर्शन गरेर खाना खाएर पल्टिएको मानिस अब नरहेको भन्दा कसले पत्याउने? तर दुई विज्ञले भनेपछि मान्नै पर्यो बालाई हृदयाघात भएको रहेछ कसैलाई कुनै दुख नदिई तर सबैलाई घोर आश्चर्यमा पारेर सबैलाई छोडेर अचानक जानुभयो कतै घरमा अचानक रुवाबासी चल्यो टोलछिमेक सबै जम्मा भए अनि अन्त्येष्टिको तयारी भयो

हाम्रो नेवार चलन अनुसार १० दिनमा कपाल खौरिएर चोख्याउने चलन सोहि अनुसार हामी सबै कपाल खौरँदै थियौँ सो क्रममा मेरी श्रीमतीले मेरो टाउकोमा कुनै खत जस्तो सानो कपाल नभएको चक्का देखिन् मलाई पहिले कुनै घाउ या चोटपटक लागेको थियो भनेर सोधिन् मैले अहँमा जवाफ दिएँ यो कुरा यत्तिकै सेलायो किनभने योभन्दा महत्वपूर्ण काम बाको किरिया पुरा गर्नु थियो त्यसैमा ब्यस्त भईयो केहि महिनापछि मेरी श्रीमतीले अर्काे कपालरहितको चक्का देखिन् अब भने हामी दुबै केहि सजग भयौँ आफ्नो हातले ति चक्का छुँदा चिल्लो अनुभव गर्थेँ 

स्वभावतः यसको कारण निराकरणतर्फ ध्यान जान थाल्यो किनभने यो अब प्रष्ट देखिन थालिसकेको थियो चक्काको सँख्या बढ्दै पनि थियो कुनै दुई चक्का बढ्दै गरेर एक हुँदा झन् ठुलो चक्का बन्न थाल्यो मानौँ दुई राज्य एकिकरण भएर एक भए जस्तै अनि अर्को राज्य जोडिन्थ्यो, झन् ठुलो हुन्थ्यो
 
साबुन लगाउँदा नलाग्ने मेरो बाक्लो घना कपाल अब पातलो देखिन थाल्यो हुँदाहुँदा आँखिभौँ पनि पातलिन थाल्यो दाह्रिजुँगाका ठाउँमा पनि सानासाना चक्का देखिन थाले काँइयो नपस्ने घना कपालमा अब कपाल कोर्दा काँइयोका दाँत ति चक्कामा पर्दा दुख्ने हुनथाल्यो त्यसैले तेह्रचौध वर्षको उमेरदेखि खल्तीमा बोक्न थालेको काँइयो अब बोक्न छोडियो

सोधखोज गर्दा कसैले यसलाई खोईरोले खाएको भने कहिल्यै नसुनेको रोग लागेर दिनरात चिन्तामा डुब्न थालेँ कसैले माकुराले छेर्यो भने यस्तो हुन्छ भने खास कारण चाहिँ थाहा हुन सकेन तर उपचारकोलागी भने कसैले अदुवा दल्न भने केहि दिन अदुवा दलियो राती सुत्ने बेलामा अदुवा दलेर भोलिपल्ट नुहाउथेँ यसैबिच कसैले लसुन दल्न भने अब अदुवा छोडेर लसुन दल्न थालेँ बिचरा श्रीमती श्रीमान्को श्रृँगारमा ग्रहण लागेको देखेर मभन्दापनि बढी चिन्तित थिईन् त्यसैले अदुवा होस् या लसुन होस् या कुनै पनि उपचारको विधिमा झर्काे नमानी सहयोग गर्थिन् केहि दिन लसुन दलेपछि ज्यानमारा खोर्सानी दल्ने सल्लाह कसैले दिए चाहिँदो मात्रामा ज्यानमारा खोर्सानी ल्याएर राती दल्न थालियो ओहो, नामै ज्यानमारा खाँदा असह्य पीरो हुने भएर नै ज्यानमारा भनिएको खोर्सानी झन् दल्दा कस्तो हुँदो हो अनुमान गर्न सकिन्छ दलुन्जेल टाउकोका छालामा जलन हुन्थ्यो नै त्यसलाई पखाल्न परेको पानी तुरुर्र बगेर गाला, कान घाँटि हुँदै जताजता बग्यो उताउता भतभत पोल्थ्यो तर कपाल पलाउने आशामा यो पिडा सहजै वरण गर्दै गएँ तर परिणाम भने शुन्य

फेरि यसैबिच कसैले अण्डिको गेडा दले कपाल आउँछ भन्ने आशा देखाए अण्डि भनेको तराईमा पाइने एक प्रकारको सानो दाना हो जुन रुखमा फल्ने गर्दछ यो गेडा पिनेर तेल निकालिने गरिन्छ जे होस् अब तराई मधेश ओहोरदोहोर गर्ने मानिसको सोधखोज गर्न थालियो नेपाल वायुसेवा निगमको कर्मचारी भएको हैसियतले तराई खटिएका सहकर्मी मार्फत मगाईयो शीरमा दल्दा योपनि ज्यानमारा खोर्सानी झैँ भतभत पोल्दो रहेछ तर यो पोलाई पनि कपाल आउने रहरमा गौण नै रह्यो तर परिणाम भने उस्तै, अर्थात शुन्य एकजना बिद्धानले कपाल चाँडैचाँडै खौरने गर्नु, कपाल आउँछ भने तसर्थ हरेक हप्ता हजामको शरण पर्न थालेँ अब हजामकोलागी एउटा खुवा ग्राहक भएको थिएँ पातलो कपाललाई सुरुर्र खौरिन पाँच मिनेट पनि नलाग्ने, तर उसको पैसा भने सामान्यकै लाग्ने त्यसमाथि मैले दिने टिप्स हजामकोमा पुग्ने बित्तिकै ग्राहक कुरेर बसेका हजामहरु तँछाड मछाड गर्थे तर भने एउटा निश्चित हजामबाटै काट्ने भएकोले बाँकि ठुस्स पर्थे किनभने काम सजिलो तर टिप्स दिने ग्राहकको सेवा गर्न नपाएर तर, मलाई त्यसको मतलब हुन्नथ्यो

यसै क्रममा मेरो टाउकोमा देखिने चक्का, झरेका आँखिभौँ लुकाउन मैले टोपी तथा चश्मा लगाउन थालेँ कलेज होस् या अफिस या बाटोघाटो यि दुबै मेरा अनुहारबाट छुट्दैनथे पातलिएको आँखिभौँ छोप्न चश्मा तथा पातलिएको टाटे कपाल छोप्न टोपी लगाउनु पर्ने बाध्यता आईलाग्यो कसैले सोधिहाले टालटुले जवाफ दिने गर्थेँ नजिकका साथी तथा आफन्तले सोधे स्पष्ट जवाफ दिन्थेँ यहि बेला कसैले छालाको डाक्टरलाई देखाउने सल्लाह दिए भोलीपल्टै छालाको डाक्टरको शरणमा पुगीसकेको थिएँ ति डाक्टरले एलोपेसिया एरिएटा भन्ने छालाको रोग लागेको भन्दै केहि औषधि लेखे पछि फेरि आउन भने फलोअपको समयसम्मपनि कुनै निदानको लक्षण देखिएको थिएन तसर्थ उनले दिल्लीस्थित गँगाराम अस्पताल जान सल्लाह दिए अर्को  हप्ता दिल्ली पुगीसकेको थिएँ किनभने नेपाल वायुसेवा निगममा कार्यरत भएकोले टिकटको कुनै समस्या थिएन भिसाको कुरै भएन रह्यो एकरात होटलको खर्च, अनि अस्पताल जानआउन सवारी खर्च तर, मैले होटेल अस्पताल नजिकै पाँच मिनेटको दुरीमा लिने गरेँ तसर्थ एयरपोर्टबाट होटलको सवारी साधन होटल अनि रातीको खाना खर्चमात्र हुने थियो भोली बिहान एयरपोर्ट आउने कर्मचारी साथीहरुसँगै आउने, काठमाण्डौँकोलागी प्लेन चढने कति सजिलो

गँगाराम अस्पतालमा मलाई एउटा इन्जेक्सन दिईयो यो हरेक पन्ध्रदिनमा लगाउनु पर्ने डाक्टरले बताए अरु सामान्य मान्छेलाई भए यो उपचार असामान्य महँगो हुनेथियो हरेक पन्ध्रदिनमा काठमाण्डौ दिल्ली आउजाउ कसले गर्नसक्छ ? तर, वायुसेवा निगममा कार्यरत भएकोले मलाई आउजाउको कुनै समस्या थिएन तसर्थ प्रत्येक पन्ध्रदिनमा काठमाण्डौँ दिल्ली गर्न थालेँ कसैले एकदिन काठमाण्डौँ नहुँदा पत्तो पाउँदैनथिए कथम् दिल्ली गएर आएको भन्दा पत्याउन गाहारो मान्थे तर, जे होस् केहि महिनाको ईन्जेक्सनपछि कपालमा केहि सुधार आएजस्तो भएको अनुभव गर्दैथिएँ, अमेरिका हान्निएँ अब यो क्रम यहिँ रोकियो

अमेरिका आएको केहि दिनपछि मलाई वास साथ दिने रुममेटकी भाई रोहितले मलाई डिसीस्थित हाउवार्ड जोन्सन अस्पताल लगे त्यहाँ कार्यरत एक बँगाली डाक्टरले एकशय डलर लिएर एउटा ईन्जेक्सन दिए यहि नै कपालकोलागी मेरो अन्तिम उपचार रह्यो अन्तिम यस अर्थमा कि केहि कपाल फिर्ता आएको थियो तर, यसलाई निरन्तरता दिन समय अमेरिकी कमाईको औसतमा अनि स्वास्थ्य बिमा बिना खर्चिलोपनि थियो त्यसकारण अब जेजति त्यसैमा चित्त बुझाउन थालियो अनि चश्मा टोपी पनि लगाउन छोडियो किनभने यहाँ कसैले अनुहार हेरेर केकसो भनेर खोजिनिती गर्देनथे नानाभाँतिका प्रश्न सल्लाहको सामना गर्नुपर्दैनथ्यो नेपालमा भए भेट भएपिच्छेकालाई स्पष्टिकरण दिनुपर्ने कारणले लाज छोप्न या लुकाउन टोपी चश्मा लगाउने गरेको थिएँ अब अमेरिका आएपछि बिना चश्मा टोपी निर्धक्क हिँड्न थालेँ त्यसमाथि अलिअलि कपाल फर्किई पनि सकेको थियो

अब समयले फेरि कोल्टे फेरेर मसँग निहुँ खोज्यो अबभने चक्का भएर रौँ झर्ने नभई अँग्रेजीको भी आकारमा निधारबाट रौँ पातलिँदै गयो अबभने साँच्चिकै तालु हुँदै जान थालेँ यो वँशानुगत रोग हो भन्ने सुनेको मैले मेरो बुबालाई तालु देखेको थिएँ हजुरबा नै तालु देखेको थिएँ  तथापी एउटा थप जानकारीमा यस्तो रोग मावलीबाटपनि आउँछ रे भन्ने सुनेँ तसर्थ आमालाई के हजुरबा तालु हुनुहुन्थ्यो भनेर सोधेको बरा, वहाँलाई मेरो मावली हजुरबाको अनुहार नै सम्झनामा रहेनछ मन नै कुँढियो जे होस् अमेरिका आएर हजामकहाँ कपाल खौरन नभई कपाल काट्न जाने हुन थालेको थिएँ तर, यसरी कपाल अर्काे तरिकाबाट पातलिँदै गएपछि घरमै कपाल काट्ने मेसिन ल्याएर श्रीमतिको सहयोगमा काट्न थालेँ एकपटकको हजामगमनमा पन्ध्रदेखि सत्र डलर खर्च हुन्थ्यो त्यो बचत भएको थियो तरपनि यताभने हेर्दाहेर्दै निधार बडेमानको चौडा ठुलो हुँदै थियो कपाल टाउको पछाडिको भीरमामात्र उतिसको बोट झैँ रह्यो गर्धनबाट हात माथि ल्याउँदा बिस्तारै कपालहरु अलप हुँदै निधारको छेउछाउ पुग्दा झिँगा चिप्लने चिल्लो भेटिन थाल्यो त्यसकारण अब यस नाथे भिरलाई पनि किन राख्ने भनेर कपाल सफाचट गर्न थालेको आजकल सात बर्ष भईसक्यो

यसरी युवावस्थामा साह्रै बाक्लो कपाल भएको मैले मानिसको श्रँगार मानिने कपालको मज्जा शायद सत्ताईस अठ्ठाईस बर्षको उमेरसम्ममात्र लिएँ हुँला त्यसपछि यता पछिल्ला सातआठ बर्ष बाहेक बिचका समय कपाल पिडित नै रहेँ यताका सातआठ बर्ष भने गर्विलो तालु नै रहेको छु त्यसैले अब थुप्रै टोपे कपालेका बिच आफुमात्र तालु भएर उभिँदा या बस्दा गौरब पो अनुभूति हुन्छ अनि आफुजस्तै कोहि अरु तालु देखिए दौँतरी या सहयात्री झैँ लाग्छन् खुशी मान्छु त्यतिमात्र होइन अर्काे कोहि तालु भेटियो भने टाउको जुधाएर सत्कार गर्न शुरु गरेको तालु हुँदै गएको मेरो युवा भतिजासँग पहिलो पटक भेट्दासमेत टाउको जुधाएर अभिवादन फर्काएको थिएँ

हालै राष्ट्रपति भवनमा सम्पन्न एक समारोहमा सहभागी हुँदा मँचासिन राष्ट्र्पतिले सबैलाई छोडेर दर्शकदीर्घामा बसेको चिल्लो तालुलाई नै हेरिरहेको भान परेको थियो चारैतिर आँखा घुमाउँदा सारा टोपे या कपाले थिए सम्पूर्ण सहभागीहरुमा चिल्लो तालु टल्किनेमा एक्लै भएकोले मलाई हेर्न सहज भएकोले राष्ट्र्पतिको आँखा मैमामात्र परेको भान मलाई भईरहेको थियो अनि त्यहि बेला गर्बकासाथ आफुलाई विशेष व्यक्ति ठान्दै आफ्नो चिल्लो तालुमा एकपटक हात पुर्याएको थिएँ

तालु हुनुको अर्को फाईदा के हो भने हालै एउटा रेष्टुराँमा एकजना महिलाले मेरो सामु आएर अपर्झट मेरो चिल्लो टाउको तिनका दुबै हातले मुसार्दै ' आई लभ दिस' भनिन् अनि आफु तालु हुनुमा झन् गर्व गर्ने अर्को कारण पाएको छु त्यसैले हप्तामा तीन दिन टाउकोमा रेजर दौडाउने क्रिम दलेर चिल्लो बनाएर टल्काउँदै हिँड्ने गरेको सातआठ बर्ष भैसक्यो यो क्रम जारी अहिले यहि मेरो चिनारी भएको भन्न कत्ति हिच्किचाउँदिन अब रौ उमार्ने कुनैपनि बिधिबिधानका पछि नलाग्ने भईसकेको छु